प्रदेश सभा सदस्य भण्डारीलाई म्याग्दी जेसीजको मानार्थ सदस्यता प्रदान म्याग्दी, ९ साउन । म्याग्दी जेसीजले गण्डकी प्रदेश सभा सदस्य हरिबहादुर भण्डारीलाई मानार्थ सदस्यता प्रदान गरेको छ । शनिवार बेनीमा आयोजित म्याग्दी जेसीजको अर्धबार्षिक समिक्षा तथा मानार्थ सदस्यता प्रदान कार्यक्रममा भण्डारीलाई म्याग्दी जेसीजको विधानमा भएको व्यवस्था बमोजिम मानार्थ सदस्यता प्रदान गरिएको थियो । म्याग्दी जेसीजको संस्थागत विकासमा दिएको योगदानको र जेसीज अभियानप्रतिको समर्पणको कदर गर्दै भण्डारीलाई सदस्यता प्रदान गरिएको म्याग्दी जेसीजका शाखा अध्यक्ष दिनेशकुमार विश्वकर्माले बताउनुभयो ।
म्याग्दी जेसीजको इतिहासमा मानार्थ सदस्यता प्राप्त गर्ने भण्डारी पहिलो व्यक्ति बन्नुभएको छ । भण्डारी म्याग्दी जेसीजको पूर्व बरिष्ट कार्यकारिणी उपाध्यक्ष समेत रहनुभएको थियो । कार्यक्रममा म्याग्दी जेसीजका शाखा अध्यक्ष निदेश कुमार विश्वकर्मा, म्याग्दी जेसीजका पूर्व अध्यक्ष एवं नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष धनञ्जयकुमार श्रेष्ठले मानार्थ सदस्यता र जेसीजको पिन प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य भण्डारीले जेसीज अभियानमा लागेर गरेको व्यक्तित्व विकासले समाजको नेतृत्व विकासमा सघाउने बताउँदै आफुलाई प्रदान गरिएको मानार्थ सदस्यताले म्याग्दी जेसीजसंगको सहकार्यलाई निरन्तरता दिन झकझाउने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष श्रेष्ठले प्रदेश सभा सदस्य भण्डारीलाई म्याग्दी जेसीजको इतिहासमा पहिलो मानार्थ सदस्यता प्रदान गरिनु गौरवको कुरा भएको बताउँदै जेसीज अभियानमा जोडिएका युवापुस्ताले आफ्नो व्यक्तित्व र नेतृत्व विकास मार्फत समाजको सामाजिक कार्यमा योगदान दिन सक्ने धारणा राख्नुभयो ।
कार्यक्रममा म्याग्दी जेसीजका पूर्व अध्यक्ष भिमसेन बराईली, पूर्व अध्यक्ष विजयकुमार श्रेष्ठलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा म्याग्दी जेसीजले अर्धबार्षिक समिक्षा तथा पुरस्कार वितरण समेत गरिएको थियो । कार्यक्रममा महासचिब गोकुल सुनार, उपाध्यक्षहरु मञ्जुर कटुवाल क्षेत्री, सुष्मा खत्री, निदेश खत्री र सहसचिब कपिल बानियाँले प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । शाखा अध्यक्ष विश्वकर्माको स्वागत, बरिष्ट कार्यकारिणी उपाध्यक्ष डेकमाया केसीको धन्यबाद मन्तव्य र महासचिब गोकुल सुनारको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।










