म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानामा जन्मिनुभएका विश्व प्रसिद्ध पर्वतारोही तथा कीर्तिमानी आरोही निर्मल पुर्जासहित हिमाल आरोहणका क्रममा दिवंगत भएका पर्वतारोहीहरूको सम्झनामा म्याग्दीको सदरमुकाम बेनीबजारस्थित वीरेन्द्रचोकमा सोमबार साँझ दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा भएको छ ।

म्याग्दीमा जन्मिएर विश्वका ८ हजार मिटर अग्ला १४ वटै हिमालको सफल आरोहण गरी हिमाल पर्यटनमा अग्रणी पूर्जाको निधनले सिंगो पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको भन्दै शुभचिन्तक भाबुक भएका थिए । दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभामा जिल्ला समन्वय समितिकी प्रमुख डिलकुमारी खत्री, बेनी नगरपालिकाका नगरप्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यसहित सुरक्षा निकायका प्रमुख राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिसहित सर्वसाधारणको उल्लेखनीय उपस्थिती रहेको थियो।

गएको फागुन महिनामा बेनीबजारमा भब्य स्वागत गरिएको पूर्जाको तस्वीरमा श्रद्धाञ्जली अर्पण गर्नुपर्ने अवस्थाले निकै चिन्तित भएको सहभागिहरुको भनाई थियो । स्व. पुर्जाको तस्बिर अगाडी मैनबत्ती बालेर भावपूर्ण श्रद्धाञ्जली व्यक्त गदैं शोकमा समेत अनावश्यक टिकाटिप्पणी स्वीकार्य नहुने भन्दै विश्वभर पर्वतारोहणका क्षेत्रमा पूर्जाको योगदान सधै अमर हुने बताइएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपालको पर्वतारोहण क्षेत्रको विकास र अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान स्थापित गर्न स्व. पुर्जाले पु¥याएको योगदान कहिल्यै पनि नमटिने बताएका थिए । म्याग्देली यूवाहरुको अपिलमा भएको ाँझ दीप प्रज्ज्वलन तथा श्रद्धाञ्जली सभाका बारेमा यूवा सुवास विश्वकर्माले जानकारी गराउनुभएको थियो । बिरेन्द्रचोकको चौतारीमा १३ दिनसम्म तस्वीर राखेर फुल चढाइने छ ।










