---Advertisement---

मुस्ताङमा एउटै आलु डेढ किलोग्राम

On: August 4, 2026 8:23 AM
Follow Us:

मुस्ताङको घरपझोङ गाउँपालिका–३,स्थित स्याङमा एउटै आलु डेढ केजीको फलेको छ। स्थानीय जीवन थकालीले डेढ केजीको आलु फलाउनुभएको हो ।जोमसोमकी ब्यवसायी जिना तामाङले बारीबाटै खरिद गर्नुभएको आलुको तौलमापन गर्दा डेढ केजी रहेको बताउनुभयो।

ब्यवसायी तामाङले भन्नुभयो,‘‘पहिलोपटक डेढ केजीको आलु भेटिएको छ, मुस्ताङमा अहिलेसम्मकै ठूलो हुनुपर्छ ।’’ ब्यापारी तामाङले कृषक थकालीकै बारीबाट ९ ग्रामको आलु समेत भेटिएको बताउँदै अन्य खेतबारीको तुलनामा स्याङ गाउँमा औषत तौलभन्दा ठूलो आलु भेटिने गरेको बताउनुभयो । ठूलो आकारका आलु विभिन्न परिकार बनाउने होटल तथा रेष्टुरेन्ट ब्यवसायीको रोजाईमा पर्ने गरेको छ।

मुस्ताङको चिसो हावापानीमा फलेको आलुको आकार ठूलो भएपनि खाँदा मिठो हुन्छ भने जिल्ला बाहिरका ब्यापारीले आलु र बिउ समेत लैजाने गरेका छन् । डेढ केजीको आलु ब्यवसायी तामाङले सामाजिक सञ्जालमा राखेपछि कृषि तथा पशु विकास कार्यालय मुस्ताङले प्राविधिकको टोलीलाई थप जानकारी लिन पठाएको कार्यालयका प्रमुख डा.लालमणी अर्यालले बताउनुभयो ।

कार्र्यालय प्रमुख डा.अर्यालले भन्नुभयो,‘‘मुस्ताङको आलु स्वादिलो र पोषिलो हुन्छ,करिब ६० प्रतिशत आलु निर्यात हुन्छ।’’ मुस्ताङमा जिल्लाका पाँचवटै स्थानीय तहमा गत आव २०८२÷०८३ सालमा चार सय ७८ हेक्टर क्षेत्रमा ९ हजार ६ सय ६५ मेट्रिक टन आलु उत्पादन भएको तथ्याङ्कमा उल्लेख छ । यहाँ प्रतिहेक्टर २० दशमलव २२ प्रतिशत आलु उत्पादन हुने गरेको छ । हरेक बर्ष ६५ करोडको हाराहारीमा मुस्ताङबाट आलु बिक्री हुने गरेको छ । मुस्ताङमा कृषि र पशुपालनमा सक्रिय कृषकले आलु,स्याउ र भेडाच्याङ्ग्राबाट बार्षिक डेढ अर्वभन्दा बढी भित्राउने गरेका छन् ।

Leave a Comment