---Advertisement---

ब्रोड पिकमा निर्मल पुर्जाको आरोहण कसरी बन्यो घातक ?

On: August 3, 2026 8:24 PM
Follow Us:

पर्वतारोही डेभिड क्लाइन र नर्स इयान ओभरटनले आफूहरूले देखिरहेको दृश्य मन पराइरहेका थिएनन्। जुलाईको अन्तिम साता उनीहरू पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकको आधार क्षेत्रमा झन्डै एक महिनादेखि बसिरहेका थिए। यसबिच उनीहरूले हिमालको अवस्था नाटकीय रूपमा बदलिएको देखेका थिए।

हंगेरीका पर्वतारोही क्लाइन र अमेरिकी आपत्कालीन कक्षका नर्स ओभरटन अक्सिजन सिलिन्डर र भरियाको सहयोगबिना हिमाल आरोहण गर्न आएका थिए। क्लाइनले सन् २००० मा हंगेरीको पहिलो ब्रोड पिक आरोहण प्रयासको नेतृत्व गरेका थिए भने ओभरटनसँग उनले सन् २०१२ मा जाडो याममा नांगा पर्वत आरोहणको प्रयास गरेका थिए। यस वर्ष उनीहरूले फेरि ब्रोड पिक रोजेका थिए।

जुलाईको मध्यतिर क्लाइनले पर्वतारोहण वेबसाइट एक्सप्लोरर्स वेबलाई हिमालको अवस्था राम्रो रहेको र ‘हिमपहिरोको जोखिम कम’ भएको बताएका थिए। उनका अनुसार खस्न सक्ने अधिकांश हिउँ त्यसअघि नै खसिसकेको थियो।

जुलाई १९ मा उनले पाकिस्तानी डोरी जडान (रोप फिक्सिङ) टोलीसँगै पश्चिमी मार्ग हुँदै १९ घण्टा आरोहण गरे। अक्सिजनबिना चढिरहेका उनी शिखरभन्दा करिब ५० देखि ७० मिटर तलबाट फर्किए। यसअघि नै उचाइको असर देखिएपछि ओभरटन आधार शिविर फर्किसकेका थिए। क्लाइनले पुनः शिखर प्रयास गर्ने विषयमा सोचिरहेका थिए तर जुलाई २२ तिर सुरु भएको लगातारको भारी हिमपातले उनको निर्णय बदलियो। ‘धेरै हिउँ परेपछि केवल मौसम खुल्नु मात्र पर्याप्त हुँदैन,’ क्लाइनले भने, ‘केही दिनसम्म हिमपात नहुने मौसम चाहिन्छ। त्यस अवधिमा हिउँ या त हिमालमा राम्रोसँग टाँसिनुपर्छ, होइन भने सबै तल झर्नुपर्छ।’

त्यतिबेलासम्म आधार शिविरका अधिकांश टोली फर्किसकेका थिए। जुलाई २५ मा क्लाइन र ओभरटनले पनि सामान प्याक गरेर फर्कने निर्णय गरे। तर केही टोली भने अझै शिखर चढ्ने आशामा त्यहीं बसेका थिए। तीमध्ये एक टोली निर्मल ‘निम्स’ पुर्जाको थियो। सन् २०१९ मा संसारका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल कीर्तिमानी समयमै आरोहण गरेर चर्चित बनेका पुर्जा आफ्नो कम्पनी एलिट एक्स्पेडको टोलीसँग नजिकैको आधार शिविरमा थिए। उनीहरू किन त्यहाँ बसिरहे भन्ने अझै स्पष्ट छैन। तर त्यसको परिणाम अत्यन्त दुःखद बन्यो।  

जुलाई ३० बिहीबार बिहान करिब ९ बजे स्थानीय समयअनुसार ब्रोड पिकको मुख्य पश्चिमी कुलो (गल्ली) मा आएको विशाल हिमपहिरोले १० जना पर्वतारोहीलाई करिब एक माइलभन्दा बढी तलसम्म बगायो। त्यसलगत्तै उद्धार तथा खोजी अभियान सुरु गरियो।

सुरुमा उद्धारकर्ताहरूले जीवित भेटिने आशा गरेका थिए। केही पर्वतारोहीको अवस्था अझै केही समयसम्म स्पष्ट थिएन। तर शुक्रबार अल्पाइन क्लब अफ पाकिस्तानले ओमानकी पर्वतारोही नधिरा अल हार्थी र नेपाली पर्वतारोही पुरबहादुर गुरुङ ‘युक्ता’ को शव फेला परेको पुष्टि गर्यो। त्यसको भोलिपल्ट शनिबार एलिट एक्स्पेडले निम्स पुर्जा र उनका सहकर्मी तथा पर्वत मार्गदर्शक नमा शेर्पासमेत हिमपहिरोमा ज्यान गुमाएकामध्ये रहेको पुष्टि गर्यो।  

जिपिएसले देखाएको अन्तिम यात्रा

धेरैजसो पर्वतारोहीझैं निम्स पुर्जासँग पनि गार्मिन जिपिएस ट्य्राकर थियो। उनी क्याम्प–२ बाट हिँडेपछि करिब चार घण्टासम्म उक्त उपकरणले उनको अवस्थिति प्रसारण गरिरह्यो। पहिलो संकेत पाकिस्तान समयअनुसार जुलाई ३० बिहान ५ः३३ बजे आएको थियो। त्यसबेला उनी समुद्री सतहबाट ६,१६६ मिटर उचाइमा अर्थात् क्याम्प–२ वरिपरि थिए। नधिरा अल हार्थीको उपकरणले पनि लगभग त्यही अवस्थिति देखाएको थियो। त्यसपछि टोली क्रमशः माथि उक्लिँदै गयो। बिहान ७ः०३ बजेसम्म एलिट एक्स्पेडको टोली ६,४३० मिटरउचाइमा पुगेको देखिएको थियो। अर्को संकेत स्थानीय समयअनुसार बिहान ९ बज्नुअघिआयो। त्यसबेला पुर्जा र अल हार्थी दुवै ६,६६० मिटर (करिब २१,८५० फिट) उचाइमा पुगेका थिए। तर त्यसको करिब आधा घण्टापछि आएको अर्को संकेतले भयावह दृश्य देखायो। पुर्जाको जिपिएसले उनी अघिल्लो अवस्थितिभन्दा २,००० फिटभन्दा बढी तल पुगेको देखायो। अल हार्थीको जिपिएस संकेत पनि माथिल्लो भागबाट हरायो र पछि उनको उपकरण पनि करिब एक माइलभन्दा बढी तल देखियो।

एलिट एक्स्पेडका सहसंस्थापक मिङ्मा ग्याबु शेर्पा (मिङ्मा डेभिड)ले सुरुमा पुर्जा जीवितै हुन सक्ने आशा व्यक्त गरेका थिए। हिमपहिरोपछि पनि जीपीएस उपकरणले केही समय अवस्थिति देखाइरहेकाले उनी आशावादी थिए। खोजी अभियान सुरु भएको केही समयपछि उनले सन्देश पठाउँदै भनेका थिए, ‘निम्सको लोकेसन अझै सर्दै छ, उहाँ जीवित हुनुहुन्छ भन्ने आशा छ। जिपिएस चलिरहेको छ, तत्काल उद्धार आवश्यक छ।’

पुर्जाको ट्य्राकरबाट केही समयसम्म थप संकेतहरू आए पनि उपकरणले गति भने शून्य देखाइरहेको थियो। विज्ञहरूका अनुसार गहिरो हिउँ वा भिरालो स्थानमा पुरिएको जिपिएस उपकरणले प्रसारण गरिरहे पनि त्यसले देखाउने अवस्थिति पूर्ण रूपमा विश्वसनीय नहुन सक्छ। स्थिर अवस्थामा रहेको उपकरण पनि केही मिटर यताउता सरेजस्तो देखिन सक्छ। पुर्जा र अल हार्थी दुवैको जीपीएस तथ्यांकमा एउटै ढाँचा देखिएको थियो। पहिले अत्यन्त तीव्र गतिमा तल झरेको संकेत र त्यसपछि उत्तरतर्फ सानो मात्र अन्तिम विस्थापन।

इतिहास बदल्ने आरोही

तर पूर्व बेलायती विशेष सैनिक स्पेसल बोट सर्भिस (एसबिएस) का सदस्य रहेका पुर्जाले अप्रिल २३ मा अन्नपूर्णबाट सुरु गरेको अभियान अक्टोबर २९ मा सिसापाङ्मा पुगेर पूरा गरे। उनले यो अभियान १८९ दिन अर्थात् ६ महिना ६ दिनमै सम्पन्न गर्दै विश्व कीर्तिमान बनाए।

‘प्रोजेक्ट पोसिबल’

सन् २०२१ मा नेटफ्लिक्सले यसै अभियानमा आधारित ‘१४ पिक्स : नथिङ इज इम्पसिबल’ वृत्तचित्र सार्वजनिक गरेपछि पुर्जा विश्वव्यापी चर्चामा पुगे। त्यससँगै उनी स्ट्रिमिङ युगका पहिलो विश्वप्रसिद्ध पर्वतारोही बने। यसले हिमालयमा व्यावसायिक पर्वतारोहणको शैली नै बदलिदियो। एक सिजनमा एउटा मात्र हिमाल आरोहण गर्ने चलनको सट्टा धेरै आरोहीहरूले छोटो अवधिमै धेरै हिमाल आरोहण गर्न थाले। त्यसका लागि पुर्जा र उनको शेर्पा टोलीको सेवा व्यापक रूपमा लिन थालियो।

निम्सको अन्तिम सन्देश

विश्वका अन्य धेरै नेपाली पर्वतारोहीभन्दा फरक, निर्मल पुर्जाले जति प्रशंसा पाए, उति नै आलोचना पनि खेपे। सन् २०१९ को कीर्तिमानी अभियानपछि केहीले उनको उपलब्धिलाई असाधारण साहस र अद्वितीय नेतृत्वको उदाहरण माने। तर आलोचकहरूको तर्क फरक थियो। उनीहरूले भने, ‘पुर्जाले अक्सिजनको प्रयोग गरेका थिए। स्थायी डोरी (फिक्स्ड रोप) को सहारा लिएका थिए। संसारकै उत्कृष्ट शेर्पा आरोहीहरूको टोलीले बाटो बनाइसकेपछि व्यावसायिक मार्ग हुँदै हिमाल चढेका थिए। त्यसैले उनले हासिल गरेको सफलता पर्वतारोहणभन्दा बढी सैन्य शैलीको उत्कृष्ट व्यवस्थापन र रसदको परिणाम भएको उनीहरूको दाबी थियो।

पुर्जाले यस्ता आलोचनाको जवाफ सन् २०२१ को जनवरीमा दिए। त्यो वर्ष उनी नौ अन्य नेपाली पर्वतारोहीसँगै जाडो याममा के–टु को सफल आरोहण गर्ने ऐतिहासिक टोलीका सदस्य बने। दशकौंसम्म पर्वतारोहण जगत्ले ‘अन्तिम महान् पहिलो आरोहण (लास्ट ग्रेट फस्ट) भनेर वर्णन गरेको उक्त उपलब्धि अन्ततः नेपाली टोलीले हासिल गर्यो।  

ब्रोड पिकबारे अन्तिम सन्देश

ब्रोड पिक आरोहणअघि इन्स्टाग्राममा प्रकाशित आफ्नो अन्तिम सन्देशमध्ये एकमा पुर्जाले यो हिमाल यसपटकको अभियानमा ‘अन्तिम समयमा थपिएको’ बताएका थिए। यदि उनी सफलतापूर्वक शिखर पुगेर फर्किन्थे भने पूरक अक्सिजनबिना विश्वका सबै १४ वटा आठ हजार मिटरभन्दा अग्ला हिमाल दुई–दुई पटक आरोहण गर्ने संसारकै पहिलो व्यक्तिबन्ने लक्ष्यबाट उनी केवल एउटा हिमाल टाढारहने थिए। त्यस पोस्टमा उनले लेखेका थिए, ‘ब्रड पिक, म तिमीसँग केही माग्दिनँ, सुरक्षित रूपमा माथि पुगेर सकुशल तल फर्किन मात्रै चाहन्छु।’ तर त्यो कामना पूरा हुन सकेन।

मृत्यु निश्चित छ

संसारका सबैभन्दा अग्ला हिमालहरूमा समय बिताउने पर्वतारोहीहरूका लागि मृत्यु सधैं सँगै हिँड्ने जोखिम हो। पुर्जाले सन् २०२२मा दिएको एक अन्तर्वार्तामा यसबारे खुलेर बोलेका थिए। उनले भनेका थिए, ‘जन्मिएपछि मृत्यु निश्चित छ तर मेरो एउटा अझ ठुलो लक्ष्य छ। त्यसैले मैले आफ्नो यात्रा निरन्तर अगाडि बढाइरहनुपर्छ।’ आज ब्रोड पिकको भीषण हिमपहिरोले त्यही यात्रा अन्त्य गरिदिएको छ। तर विश्व पर्वतारोहणमा उनले छाडेको प्रभाव, नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय उचाइमा पुर्याएको योगदान र असम्भवजस्तो देखिने लक्ष्यलाई सम्भव बनाउने उनको साहस भने लामो समयसम्म सम्झिइरहनेछ।

– नेसनल जिओग्राफीको विश्लेषणमा आधारित

Leave a Comment