बाढीपहिरोका कारण धवलागिरि हिमालको नियमित आरोहण मार्ग प्रभावित भएपछि यस वर्षको शरदयामीन आरोहण अभियानमा वैकल्पिक मार्ग र हेलिकप्टरको प्रयोग बढेको छ। म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने ८ हजार १६७ मिटर अग्लो धवलागिरि हिमाल आरोहणका लागि आएका विदेशी पर्वतारोहीहरू मार्फातर्फको पदमार्ग हुँदै तथा हेलिकप्टरबाट आधार शिविर पुगिरहेका छन्।
‘एठ के’, ‘सेभेन समिट’ र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत आरोहणमा आएका ३० जना विदेशी पर्वतारोही शनिबारसम्म आधार शिविर पुगिसकेको आरोहण टोलीका स्थानीय समन्वयकर्ता तथा पर्यटनकर्मी इन्द्रसिङ शेरचनले जानकारी दिनुभयो।
उहाँका अनुसार बगर गाउँतर्फबाट आधार शिविर पुग्ने चक्रीय धवलागिरि पदमार्गमा बाढीपहिरोले क्षति पुर्याएपछि आरोहण टोलीले मार्फातर्फको बाटो रोजेको हो। केही आरोहीलाई भने हेलिकप्टरबाट सिधैँ आधार शिविर पुर्याइएको छ।
आधार शिविर पुगेपछि आरोहण टोलीले अभियानको सफलताको कामना गर्दै धार्मिक विधिअनुसार पूजाआजा गरेका छन्। हिमाल आरोहणअघि विपद् र दुर्घटनाबाट सुरक्षित रहन शेर्पाहरूले पूजाआजा गर्ने परम्परा छ।
आरोहणका लागि आवश्यक खाद्यान्न, उपकरण तथा अन्य बन्दोबस्तीका सामानसमेत खच्चड र हेलिकप्टरबाट आधार शिविर पुर्याउन थालिएको शेरचनले बताउनुभयो। थप आरोहण टोली आधार शिविर जाने तयारीमा छन्।
आधार शिविरमा केही दिन मौसम अनुकूल हुने प्रतीक्षा गर्दै आरोहणको तयारी गरिनेछ। मौसम अनुकूल भएपछि शेर्पा टोलीले हिमालमा ‘रोप फिक्सिङ’ अर्थात् डोरीमार्फत आरोहण मार्ग तयार गर्नेछन्। त्यसपछि आरोहीहरू क्रमशः माथिल्ला शिविरतर्फ सर्दै चुचुरो पुग्ने तयारीमा लाग्नेछन्।
धवलागिरिमा मौसमको छिनछिनमा हुने परिवर्तनलाई आरोहणको प्रमुख चुनौती मानिन्छ। अन्य हिमालको तुलनामा कठिन र जोखिमयुक्त आरोहणका रूपमा चिनिने धवलागिरिमा यसपटक पदमार्गको क्षतिले आधार शिविर पुग्ने तयारीमै थप चुनौती थपेको छ।
पर्यटन विभागका अनुसार चालु शरदयाममा शुक्रबारसम्म धवलागिरि आरोहणका लागि चार समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन्। उनीहरूबाट रु ७७ लाख ८२ हजार ४५० सलामी दस्तुर प्राप्त भएको विभागकी शाखा अधिकृत सुधा रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ।
यसअघि गत वसन्तयाममा तीन समूहका १२ महिला र १६ पुरुष गरी २८ जनाले धवलागिरि आरोहणको अनुमति लिएका थिए। २०८२ सालको शरदयाममा भने ३६ जनाले आरोहण अनुमति लिएको विभागको अभिलेखमा छ।
धवलागिरि हिमालको पहिलो सफल आरोहण सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरको नेतृत्वमा भएको थियो। डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे र नवाङ दोर्जे पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए। यस वर्ष आरोहण टोलीहरू आधार शिविर पुग्न थालेसँगै धवलागिरि क्षेत्रमा फेरि पर्वतारोहण गतिविधि बढेको छ।










