न्यू वेस्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालय बेनीमा आयोजित बृहत् खेलकुद सप्ताह भव्य कार्यक्रमका बीच सम्पन्न भएको छ। असोज ३ गते शनिबार विद्यालयले साप्ताहिक रूपमा सञ्चालन गरेको खेलकुद कार्यक्रमको समापन गरेको हो।
एक सातादेखि सञ्चालन हुँदै आएको खेलकुद सप्ताहको अन्तिम दिन ट्र्याकतर्फका विभिन्न विधाका फाइनल खेलहरू सञ्चालन गर्दै कार्यक्रमको औपचारिक समापन गरिएको थियो। विद्यार्थीहरूमा खेलकुदप्रतिको रुचि, अनुशासन, स्वस्थ प्रतिस्पर्धा र नेतृत्व क्षमताको विकास गर्ने उद्देश्यले विद्यालयले विभिन्न तहका विद्यार्थीलाई सहभागी गराएर खेलकुद कार्यक्रम आयोजना गरेको जनाएको छ।

समापन कार्यक्रमका अध्यक्ष तथा वेस्ट प्वाइन्ट एजुकेसन फाउन्डेसन म्याग्दी प्रालिका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले झण्डोत्तोलन तथा मशालदीप प्रज्वलन गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको थियो।

संविधान दिवसकै दिन कार्यक्रम आयोजना भएकाले लोकतन्त्र तथा संविधान निर्माणका लागि जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात शहीदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरिएको थियो। साथै भदौ १० गते चीनको लेन्दे खोला हुँदै भोटेकोसी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। कार्यक्रममा मृतकहरूको स्मरणमा एक मिनेट मौनधारणसमेत गरिएको थियो।

खेलकुद सप्ताहअन्तर्गत जुनियर तथा सिनियर तहदेखि प्लस टूसम्मका विद्यार्थीलाई सहभागी गराइएको थियो। अन्तिम दिन १०० मिटर, २०० मिटर, ४०० मिटर, ८०० मिटर दौडलगायत रिले दौड समाबेश गरिएको थियो।

खेलकुद कार्यक्रममा विद्यार्थी मात्र नभई अभिभावकलाई समेत सहभागी गराइएको थियो। अभिभावकतर्फ महिला तथा पुरुषका लागि छुट्टाछुट्टै लठ्ठो तान्ने खेल आयोजना गरिएको थियो। अभिभावकहरूको उत्साहजनक सहभागिताले खेलकुद कार्यक्रमलाई थप आकर्षक र मनोरञ्जनात्मक बनाएको विद्यालयले जनाएको छ।


कार्यक्रममा विद्यालयका प्रिन्सिपल डीबी दाहालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। अभिभावकको तर्फबाट जिल्ला फुटबल संघ म्याग्दीका अध्यक्ष कुमार बानियाँले मन्तव्य व्यक्त गर्दै विद्यार्थीको शैक्षिक विकाससँगै खेलकुद गतिविधिको महत्वबारे धारणा राख्नुभएको थियो।
त्यसैगरी खेलकुदका बारेमा जानकारी दिँदै विद्यालयका खेलकुद प्रशिक्षक दिपेन राईले न्यू वेस्ट प्वाइन आवासीय माध्यमिक विद्यालयबाट उत्पादन भएका खेलाडीहरू जिल्ला, प्रदेश हुँदै राष्ट्रिय स्तरसम्म पुग्न सफल भएको बताउनुभयो। विद्यालयले अध्ययनसँगै खेलकुदलाई पनि प्राथमिकतामा राख्दै आएको र विद्यार्थीको प्रतिभा पहिचान तथा विकासका लागि नियमित रूपमा विभिन्न खेलकुद गतिविधि सञ्चालन गर्दै आएको उहाँले जानकारी दिनुभयो।

समापन समारोहमा न्यू वेस्ट प्वाइन्ट मन्टेसरी तथा बालविकास तहका साना–साना नानीहरूले आकर्षक ड्रिल तथा नृत्य प्रस्तुत गरेका थिए। बालबालिकाको आकर्षक प्रस्तुति, विद्यार्थीहरूको खेलकुद प्रतिस्पर्धा तथा अभिभावकहरूको सहभागिताले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएको थियो।
विद्यालयले खेलकुदलाई केवल प्रतिस्पर्धाका रूपमा मात्र नभई विद्यार्थीको शारीरिक, मानसिक तथा सामाजिक विकासको महत्वपूर्ण माध्यमका रूपमा लिएको जनाएको छ। नियमित खेलकुद गतिविधिले विद्यार्थीमा अनुशासन, आत्मविश्वास, सहकार्य, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न सहयोग पुग्ने विद्यालयको भनाइ छ।
साप्ताहिक रूपमा सञ्चालन भएको बृहत् खेलकुद कार्यक्रमको अन्तिम दिन विभिन्न खेलका फाइनल प्रतिस्पर्धा, अभिभावकका खेल तथा विद्यार्थीहरूको सांस्कृतिक प्रस्तुतिसहित समापन गरिएको हो।
विद्यालयका अनुसार यस वर्षको खेलकुद दिवस विद्यार्थी, शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिताका कारण भव्य, उत्साहपूर्ण र स्मरणीय बनेको छ।










