दशैलाई खसी लिन भनेर घरबाट निस्किएका म्याग्दीको बेनी नगरपालिका–४,ठुलोखोलाका श्यामलाल सिर्पाली २७ दिनदेखि सम्पर्कविहिन भएको भन्दै श्रीमतिले खोजीकार्यका लागि याचना गरेकी छन्। गत असोज २२ गते विहान ९ बजे घरबाट निस्किएपछि सम्पर्कमा नरहेको भन्दै श्रीमति लक्ष्मी सुनारले जिल्ला प्रहरी कार्यालय म्याग्दीमा निवेदन दिएर खोजीकार्यका लागि अनुरोध गरेकी थिइन् ।
घरबाट स्कुटर लिएर बेनीबजारमा पुगेपछि सम्पर्कविहिन भएपछि हालसम्म अत्तोपत्तो नभएको श्रीमति लक्ष्मीको भनाई छ ।
श्रीमान एकाएक घरबाट सम्पर्कविहीन भएपछि घरमा सानी छोरी र घरखर्च, भाडा तिर्ने पैसा समेत नभएको बताउँदै सम्पर्कमा आएर छोरीको जन्मदर्ता गरी आफ्नो कुरा राख्न समेत श्रीमति लक्ष्मीले आग्रह गरेकी छन् । ‘श्रीमानलाई मसँग अलग हुन मन छ भने कानुनी प्रक्रिया छ, परिवारलाई अलपत्र पारेर जानुभएको छ, अहिले घरधनीलाई भाडा तिर्ने पैसा पनि छैन, छोरीले बुबा भन्दै खोजीरहन्छ’ श्रीमति लक्ष्मीले बेनीअनलानसँग गुनासो गदै भनिन् ।
‘प्लिज जहाँ जुन अवस्थामा भए पनि एकपटक सम्पर्कमा आउ। मेरो लागि नभए पनि हाम्रो सानी छोरीको लागि सम्पर्कमा आउ’ लक्ष्मीले भाबुक हुदै भनिन् । प्रहरीमार्फत खोजीकार्यका लागि अनुरोधमा प्रहरीको सक्रियता धेरै रहेको बताउँदै श्रीमान श्यामलालको कुनै जानकारी छ भने कृपया परिवार, नजिकैको प्रहरी कार्यालयमा जानकारी दिएर सहयोग गरिदिन लक्ष्मीले अनुरोध गरेकी छन् ।













