---Advertisement---

चौथो बौद्ध कपको तयारी पूरा, ५० रुपैयाँको टिकटबाट उठेको रकम बाढीपहिरो पीडितलाई

On: November 3, 2026 10:09 PM
Follow Us:


बेनीमा बुधबारदेखि आयोजना हुने सर्वाधिक धनराशीको चौथो बौद्ध कप फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बेनीस्थित बौद्ध युवा क्लबको आयोजनामा बेनीको खुलामञ्च खेलमैदानमा सञ्चालन हुने प्रतियोगिताका बारेमा आयोजित पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दुर्गा बुढामगरले आर्थिक व्यवस्थापन, प्रचारप्रसार, खेलमैदान व्यवस्थापन तथा स्वयंसेवक परिचालन लगायतका काम सम्पन्न भएको बताउनुभयो ।


अध्यक्ष बुढा मगरका अनुसार प्रतियोगिताको विजेता, उपविजेता र तृतियलाई क्रमश २ लाख २२ हजार २२२ रुपैयाँ, १ लाख ११ हजार १११ र तेस्रो हुने टिमले ५५ हजार ५५५ रुपैयाँ पुरस्कार र ट्रफी प्रदान गरिने छ । त्यस्तै अनुशासित टिमलाई २२ हजार २२२, उत्कृष्ट खेलाडीलाई ७ हजार ७७७ प्रदान गरिने छ । उत्कृष्ट डिफेन्डर, मिडफिल्डर,स्ट्राइकर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समेत सात हजार ७७७ पुरस्कारको व्यवस्था गरिएको सचिव श्यामसुन्दर कँडेलले जानकारी दिनुभयो ।


प्रतियोगिता संचालन गर्न १६ लाख ५७ हजार ७७२ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगितामा उद्घाटन सत्र बाहेक दर्शकलाई रु ५० रुपैयाँको टिकटबाट खेल हेर्ने पाउने छन् । प्रतियोगितामा संकलित आर्थिकबाट ४० प्रतिशत रकम म्याग्दीका बाढीपहिरो प्रभावितहरुलाई राहत स्वरुप हस्तान्तरण गरिने छ भने अन्य बचत भएको टिकटको आम्दानीलाई समेत सामाजिक कार्यमा खर्च गरिने छ ।

यसैबीच प्रतियोगितामा प्रायोजक तथा सहप्रयोजक सहितका सहयोगदाताबाट प्राप्त आर्थिकबाट प्रतियोगिता सम्पन्न पछि बचतले क्लव भवनसहित संस्थागत गतिविधिमा खर्च गरिने छ ।

Leave a Comment