म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा सोमबारदेखि गएको आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालित स्वास्थ्यतर्फका कार्यक्रमहरुको वार्षिक समीक्षा गरिएको छ । अन्नपूर्ण गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा पालिकाको केन्द्र पोखरेबगरस्थित गाउँपालिकाको सभाहलमा समीक्षा सञ्चालन गरिएको हो ।
वार्षिक समीक्षा कार्यक्रमको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले शुभारम्भ गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले गतवर्ष सञ्चालित स्वास्थ्यका कार्यक्रमहरुको समग्र गतिविधि, कार्यक्रमबाट प्राप्त प्रगतिसहित उपलब्धिहरु, पालिकाको स्वास्थ्य अवस्था, विनियोजित बजेट र कार्यक्रमसहित कार्यान्वयनको अवस्थाबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।
वार्षिक समीक्षामा आफ्नो प्रस्तुतिकरण गर्दै स्वास्थ्य शाखा प्रमुख बरुवालले गतवर्ष स्वास्थ्यको क्षेत्रमा पालिकाबाट छुट्टिएको कुल बजेटमध्ये ५३ प्रतिशत र सशर्ततर्फ प्राप्तमध्ये ८३ प्रतिशत बजेट खर्च भएको जानकारी दिनुभयो । उहाँले अन्नपूर्ण गाउँपालिका आर्थिक वर्ष ०८०/८१ देखि लगातार तीन आर्थिक वर्षसम्म घरमा हुने सुत्केरीमुक्त भई पूर्ण रुपमा संस्थागत सुत्केरी पालिका घोषित भएको बताउनुभयो । यसैगरी गाउँपालिकाले संस्थागत सुत्केरी हुने महिलालाई ४२ दिनभित्र गाउँपालिकामा बोलाएर कुखुराको भाले उपहार दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको जनाएको छ ।

गाउँपालिकाको स्वास्थ्य शाखामार्फत पालिकास्तरमा गतवर्ष बिएमआई परीक्षण, महिलामा पाठेघरको मुखमा हुने क्यान्सर रोग पत्ता लगाउन स्क्रिनिङ क्याम्प सञ्चालन, किशोरीहरुलाई आईरन फोलिक एसिड वितरणलगायत स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम तथा शिविरहरु आयोजना गरिएको स्वास्थ्य शाखा प्रमुख बरुवालको भनाइ छ । यसैगरी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नका लागि विभिन्न समयमा तालिम तथा गोष्ठीको आयोजना र सहभागिता गराउनुका साथै उत्प्रेरणा जगाउन तथा अनुभव साटासाट गर्नको लागि अन्तरजिल्ला भ्रमण जस्ता कार्यक्रमहरु पनि सञ्चालन गरिएको थियो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछाने, प्रदेश जनस्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख विद्या तामाङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, पालिका अन्तर्गत विभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य र स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको थियो । दुई दिनको समीक्षा कार्यक्रममा गतवर्ष सञ्चालित स्वास्थ्यका कार्यक्रमको समीक्षा गर्नुका साथै चालु आवमा सञ्चालन हुने कार्यक्रमबारे पनि अन्तत्र्रिmया र छलफल गरिने बताइएको छ । समीक्षा कार्यक्रमको उद्घाटनसत्र गाउँपालिकाका प्रशासकीय अधिकृत सविता पाठकको स्वागत र अहेव रोहित जोशीको सञ्चालनमा सम्पन्न भएको थियो ।













