पुन मगर समाज यूके र नेपाल पुन मगर समाजले म्याग्दी, बागलुङ र पर्वतका बाढीपहिरो प्रभावित तथा जटिल रोगबाट पीडितलाई १६ लाख ७४ हजार ३७५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्। गत असोज ८ देखि १२ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा ज्यान गुमाएका परिवार, विस्थापित तथा प्रभावितलाई राहतस्वरूप १५ लाख १९ हजार ३७५ रुपैयाँ र पर्वतका एक मिर्गौला रोगीलाई एक लाख ५५ हजार रुपैयाँ सहयोग गरिएको हो।
पुन मगर समाज यूके र नेपाल पुन मगर समाजका प्रतिनिधिले म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ परिवारलाई प्रतिपरिवार २५ हजारका दरले दुई लाख ७५ हजार रुपैयाँ र बागलुङमा ज्यान गुमाएका परिवारलाई प्रतिपरिवार १० हजारका दरले एक लाख ३० हजार रुपैयाँ सहयोग गरेका छन्। त्यसैगरी पर्वतका बाढीपहिरो प्रभावितलाई दुई लाख ५० हजार रुपैयाँ सहयोग गरिएको पुन मगर समाज यूकेका सल्लाहकार योगकुमार फगामीले बताउनुभयो।

अन्नपूर्ण गाउँपालिका–५ अन्तर्गत पहिरो प्रभावित पाउद्वार, गगनपानी र गिबाङका विस्थापितलाई तीन लाख रुपैयाँ, शिख, किन्दु, घरखे खोरे र स्वाँतका प्रभावितलाई दुई लाख रुपैयाँ तथा काफलडाँडा, राम्चे र महभीरका विस्थापितलाई दुई लाख रुपैयाँ राहत प्रदान गरिएको छ।त्यस्तै अन्नपूर्ण गाउँपालिका–२ अन्तर्गत ठूलो बगर, भुरुङ तातोपानी र नारच्याङका प्रभावितलाई ६४ हजार ३७५ रुपैयाँ सहयोग गरिएको छ।

बाढीपहिरो प्रभावितको उद्धार तथा राहतमा सक्रिय स्थानीय तहका विपद् व्यवस्थापन कोषमा समेत आर्थिक सहयोग गरिएको छ। रघुगंगा गाउँपालिकाको विपद् व्यवस्थापन कोषमा ५० हजार रुपैयाँ तथा मंगला र मालिका गाउँपालिकाको कोषमा प्रतिपालिका २५ हजार रुपैयाँका दरले सहयोग गरिएको नेपाल पुन मगर समाज रघुगंगा गाउँपालिकाकी अध्यक्ष टीका पुर्जा थजालीले बताउनुभयो।

अन्नपूर्ण गाउँपालिकामा आयोजित राहत हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुन, नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर गर्बुजा, खोज तथा अनुसन्धान समितिका अध्यक्ष मेजन पुन, सांस्कृतिक विभाग संयोजक टेकबहादुर पहरे पुन, केन्द्रीय सदस्य यामकुमार पुर्जा, पुन मगर समाज यूकेका सल्लाहकार गम तिलिजा, अन्नपूर्ण गाउँपालिका–५ का वडाध्यक्ष राजेश तिलिजा, वडा नं. ८ का वडाध्यक्ष खमबहादुर गर्बुजा र रघुगंगा गाउँपालिका–८ का वडाध्यक्ष गमान छन्त्याललगायतको उपस्थिति थियो।
कार्यक्रमको सञ्चालन पुन मगर समाज अन्नपूर्णका अध्यक्ष टकबहादुर पुनले गर्नुभएको थियो। राहत वितरण तथा सहजीकरणको संयोजन मोना यूकेका पूर्वअध्यक्षसमेत रहनुभएका योगकुमार फगामीले गर्नुभएको थियो।

पुन मगर समाज यूकेका अध्यक्ष तुलचन्द्र तिलिजाले साविक धौलागिरि अञ्चलका तीन जिल्लामा बाढीपहिरोबाट प्रभावित परिवारलाई सहयोग गर्न पहल गर्ने तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभयो। उहाँले आगामी दिनमा पनि संस्थामार्फत मानवीय सेवाका कार्यमा सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो। बाढीपहिरोबाट प्रभावित परिवारको तत्कालीन राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउने उद्देश्यले दुवै संस्थाले संयुक्त रूपमा आर्थिक सहयोग गरेका हुन्।












