सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि जितेको छ । फाइनलमा लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम पहिलोपटक च्याम्पियन बनेको हो । यससँगै टोलीले अघिल्ला दुई संस्करणमा लगातार उपविजेतामा सीमित हुनुपरेको अवस्थासमेत अन्त्य गरेको छ ।
लुम्बिनीले दिएको १५६ रनको लक्ष्य सुदूरपश्चिमले १३.३ ओभरमै कुनै विकेट नगुमाई पूरा गर्यो । सुदूरपश्चिमको जितमा जर्ज मन्सेले विस्फोटक ब्याटिङ गर्दै अविजित १२५ रन बनाउनुभयो । उहाँले १२ छक्का र आठ चौका प्रहार गर्नुभयो । अर्का ओपनर विनोद भण्डारी ३० रनमा अविजित रहनुभयो ।
सुदूरपश्चिमले सुरुदेखि नै आक्रामक ब्याटिङ गरेको थियो । पहिलो ओभरमा १२ रन जोडेको टोलीले तीन ओभरको समाप्तिमा बिना विकेटको क्षति २५ रन बनाएको थियो ।
ओपनरद्वय मन्से र भण्डारीले उत्कृष्ट साझेदारी गर्दै टोलीलाई बलियो सुरुवात दिलाउनुभयो । सुदूरपश्चिमले पावरप्लेमा कुनै विकेट नगुमाई ६० रन जोडेको थियो ।
यसक्रममा मन्सेले ६.४ ओभरमा जीवनदान पाउनुभयो । लुम्बिनीका सन्दीप जोराले उहाँको क्याच छाड्नुभएको थियो । त्यसपछि थप आक्रामक देखिनुभएका मन्सेले २८ बलमा अर्धशतक पूरा गर्नुभयो ।
सुदूरपश्चिमले १० ओभरको समाप्तिमा बिना विकेटको क्षति ९० रन बनाएको थियो । मन्सेले ४९ बलमा शतक पूरा गर्दै एनपीएल फाइनलमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाउनुभयो ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५५ रन बनाएको थियो ।
लुम्बिनीको सुरुवात कमजोर रह्यो । पहिलो ओभरमा एक रन मात्रै जोडेको टोलीले २.१ ओभरमा पहिलो विकेट गुमायो । ओपनर आसिफ शेख चार बलमा एक रन बनाएर आउट हुनुभयो । उहाँलाई सुदूरपश्चिमका स्कट कुगलेइनले पभेलियन पठाउनुभयो ।
त्यसपछि क्रिजमा आउनुभएका कप्तान रोहित पौडेलले डार्सी शर्टसँग मिलेर इनिङ्स सम्हाल्ने प्रयास गर्नुभयो । तर, ५.३ ओभरमा शर्ट १८ बलमा २१ रन बनाएर आउट हुनुभयो । उहाँलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले आउट गर्नुभयो ।
लुम्बिनीले पावरप्लेमा दुई विकेट गुमाएर ३७ रन जोडेको थियो । त्यसपछि रोहित र निरोशन डिकवेलाले टोलीको इनिङ्स अघि बढाउनुभयो । आक्रामक ब्याटिङ गरिरहनुभएका डिकवेला १७ बलमा २८ रन बनाएर आउट हुनुभयो । उहाँलाई थरिन्दु रत्नायकेले बोल्ड गर्नुभयो ।
त्यसपछि क्रिजमा आउनुभएका दिलिप नाथले आक्रामक ब्याटिङ गर्दै टोलीको स्कोर उकास्नुभयो । तर, १४औँ ओभरमा कप्तान रोहित पौडेल रनआउट हुनुभयो । दिलिपसँगको तालमेल नमिल्दा आउट हुनुभएका उहाँले ३१ बलमा ३० रन बनाउनुभयो ।
त्यसपछि आएका सन्दीप जोराले पाँच बलमा चार रन मात्रै बनाउनुभयो । अलि शेखले भने आक्रामक ब्याटिङ गर्दै १२ बलमा दुई छक्का र दुई चौकासहित २४ रन जोड्नुभयो । दिलिप नाथ ३९ रनमा अविजित रहनुभयो ।
सुदूरपश्चिमका लागि स्कट कुगलेइनले दुई विकेट लिनुभयो भने हेमन्त धामी, दीपेन्द्रसिंह ऐरी र थरिन्दु रत्नायकेले समान एक–एक विकेट लिनुभयो ।
उपाधिसँगै सुदूरपश्चिमले एक करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता लुम्बिनीले ८० लाख रुपैयाँमा चित्त बुझाएको छ ।
यसअघिका दुवै संस्करणमा फाइनल पुगेको सुदूरपश्चिम क्रमशः पाँच र छ विकेटले पराजित भएको थियो । तेस्रो प्रयासमा भने उसले फाइनलमा १० विकेटको शानदार जित निकाल्दै एनपीएलको उपाधि आफ्नो नाममा लेखाउन सफल भएको छ ।













