---Advertisement---

अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै देशभर छठ पर्व मनाइयो

On: November 15, 2026 10:19 PM
Follow Us:

सूर्य उपासना तथा आराधनाको महापर्व छठ देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइएको छ ।

छठ पर्वको तेस्रो दिन आइतबार व्रतालुहरूले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गरी पर्व मनाएका हुन् । छठको पहिलो दिन नहाय–खाय र दोस्रो दिन खरना विधि सम्पन्न गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो तथा अन्तिम दिन सोमबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरेपछि व्रत समापन गरिन्छ ।

छठ पर्वका अवसरमा मधेस, तराई तथा मिथिलाञ्चलका गाउँदेखि सहरसम्मका पोखरी, नदीघाट र तालतलैयाहरू आकर्षक रूपमा सजाइएका छन् । स्थानीय बासिन्दा तथा युवाहरूले घाट र पोखरीको सरसफाइ गरी रंगीन बत्ती, पण्डाल तथा टेन्टले सजावट गरेका छन् । यसले गाउँगाउँमा छठ पर्वको रौनक थप बढाएको छ ।

साँझको सन्ध्या अघ्र्य र सोमबार बिहानको प्रातः अघ्र्यका लागि व्रतालु तथा उनीहरूका परिवारजन पूजा सामग्रीको तयारीमा व्यस्त देखिएका छन् ।

छठ पर्वका लागि आवश्यक बाँसका ढाकी, डाला, सुप, फलफूल, नयाँ कपडा तथा प्रसादका सामग्री खरिद गर्न बजारमा सर्वसाधारणको भीड लागेको छ । सूर्यदेवता र छठीमाताको आराधना गर्दै मनाइने यस पर्वले धार्मिक आस्था, पारिवारिक सुख, समृद्धि र सामाजिक सद्भावको सन्देश दिने विश्वास गरिन्छ ।

Leave a Comment