‘जोमसोमे बजारमा १२ बजे हावा सरर…’ गीतको धुन बज्नासाथ बेनीको खुलामञ्चमा उपस्थित हजारौँ दर्शक एकैसाथ झुम्न थाले। कसैले मोबाइलमा दृश्य कैद गरिरहेका थिए, कसैले गीतको लयमा हात हल्लाइरहेका थिए त कसैले गायक अमृत गुरुङसँगै स्वर मिलाइरहेका थिए।
बुधबार साँझ म्याग्दीको सदरमुकाम बेनी बजारस्थित खुलामञ्च नेपथ्यका लोकप्रिय गीतले गुञ्जायमान बन्यो। नेपाली मौलिक संगीत, लोकलय र सामाजिक सन्देश बोकेका गीतमार्फत चर्चित साङ्गीतिक समूह नेपथ्यले करिब दुई घण्टा दर्शकलाई सङ्गीतको दुनियाँमा डुबायो।

साँझ ६ बजे रातो टिसर्ट र जिन्सको ज्याकेटमा स्टेज उक्लिएका गायक गुरुङलाई दर्शकले हुटिङ र तालीले स्वागत गरे। ‘आँगनैभरि’ गीतबाट सुरु भएको प्रस्तुति ‘भेडाको ऊनजस्तो’, ‘रामारामा’, ‘खान्न म त लामपाते सुरती’ हुँदै लोकप्रिय गीतहरूको शृङ्खलामा अघि बढ्यो।
‘चरी मर्यो सिसैको गोलीले, माया बस्यो त्यो मीठो बोलीले’ गाउँदा दर्शकले पनि स्वरमा स्वर मिलाए। ‘उडायो रेलैले’, ‘हो कि होइन हो’, ‘जीवन हो घामछाया’ र ‘म नाचेँ छमछमी’ जस्ता गीतले माहोल थप तताए। आफ्नै गीतमा छमछमी नाच्दै गाएका अमृतले दर्शकलाई पनि नचाए।
तर बेनीको यो साँझ केवल मनोरञ्जनमा मात्र सीमित रहेन। गीतसँगै अमृतले म्याग्दी, धौलागिरि र कालीगण्डकीसँग जोडिएका पुराना सम्झना पनि सुनाए।

करिब ३० वर्षअघि जोमसोममा गीतको छायाङ्कन गरेर बेनी हुँदै पैदल पोखरा पुगेको प्रसङ्ग सम्झिएका उनले पुर्खाको जीवनशैली, संस्कृति र मौलिक भाकाको चर्चा गरे।
धान काटेर दाइँ हाल्ने र हिउँदेबाली लगाउने समयको प्रसङ्ग जोड्दै धौलागिरिको काख र कालीगण्डकीको किनारसँग जोडिएको सांस्कृतिक विरासत सम्झिए। पुर्खाले गाएको शिरफुले भाकाको खोजीमा बेनीबाट रुकुमसम्म पुगेको अनुभव सुनाउँदै उनले ‘धौलागिरि’ गीत प्रस्तुत गरे।
गीत र सङ्गीतको बीचमा उनले सामाजिक सद्भाव, मानवता र देश निर्माणको सन्देश पनि दिए। मानिस यो धरतीमा केही वर्षका लागि पाहुना बनेर आएको उल्लेख गर्दै पैसाको पछि मात्र नलाग्न र असहाय तथा अशक्तलाई सहयोग गर्न आग्रह गरे। मानव कल्याणभन्दा ठूलो धर्म अरू हुन नसक्ने उनको भनाइ थियो।
राजनीतिकर्मीलाई मनपरी नगर्न खबरदारी गर्दै उनले कर्मचारीलाई विचलित नभई न्यायपूर्ण राज्य सञ्चालनमा जिम्मेवार भएर काम गर्न आग्रह गरे। विभिन्न जातजाति, धर्म र समुदायबीचको एकता नै समाजको शक्ति भएको सन्देश पनि उनले दिए।

गाउँका घर खाली हुँदै गएको र खेतीयोग्य जमिन बाँझिने क्रम बढेकोप्रति चिन्ता व्यक्त गरेका अमृतले पर्वतको बाँसखर्कमा बजार र विदेशबाट फर्किएर सुन्तला खेतीमा लागेका किसानको उदाहरण प्रस्तुत गरे। आफ्नै गाउँ फर्किएर माटोमा पसिना बगाउने किसानको प्रशंसा गर्दै उनले गाउँ र उत्पादनसँग जोडिनुपर्ने सन्देश दिए।
प्रस्तुतिको अन्तिम चरणमा ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ’ गीतमार्फत देश निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरे। त्यसपछि ‘जोगले हुन्छ भेट, मायाले हुन्छ सम्झना’ गाउँदा दर्शकको उत्साह थप चुलियो।
नेपथ्यको प्रस्तुतिमा ड्रम्समा ध्रुव लामा, बेस गिटारमा सुविन शाक्य, मादलमा शान्तिबहादुर रायमाझी, किबोर्डमा दिनेशराज रेग्मी र लिड गिटारमा निरज गुरुङले साथ दिएका थिए।
म्याग्दी र कालीगण्डकी नदीको दोभानमा आयोजित कार्यक्रममा म्याग्दीसहित पर्वत, बागलुङ, कास्की र मुस्ताङबाट समेत दर्शक आएका थिए। स्थानीय आयोजक सोभन इन्टरटेनमेन्टका सञ्चालक सोभन श्रेष्ठका अनुसार बेनीमा १५ वर्षपछि नेपथ्यको प्रस्तुति भएको हो।
लोकलय, आधुनिक सङ्गीत र सामाजिक चेतनालाई एकै मञ्चमा प्रस्तुत गरेको नेपथ्यको बेनी यात्रा दर्शकका लागि लोकप्रिय गीतमा रमाउने अवसर मात्र बनेन, पुर्खाको संस्कृति, सामाजिक सद्भाव र देशप्रतिको जिम्मेवारी सम्झाउने सांगीतिक साँझसमेत बन्यो।









