म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारस्थित बेनी नगरपालिका–७, म्याग्दी खोलामा देखिएको जंगली घोरलको सुरक्षित उद्धार गरी प्राकृतिक बासस्थान जंगलमा छाडिएको छ।
डिभिजन वन कार्यालय म्याग्दी, बेनी नगर प्रहरी, नेपाल प्रहरी तथा स्थानीयवासीको संयुक्त टोलीले घोरलको उद्धार गरेको हो।
बजार क्षेत्रमा घोरल देखिएपछि सम्भावित दुर्घटना तथा अन्य जोखिमबाट जोगाउन सुरक्षाकर्मी र वन कर्मचारी परिचालन भएका थिए। संयुक्त टोलीले घोरललाई सुरक्षित नियन्त्रणमा लिएर आवश्यक प्रक्रिया पूरा गरेपछि पुनः प्राकृतिक बासस्थान जंगलमा छाडेको हो।










