म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान औपचारिक रूपमा सुरु भएको छ। एकीकृत सेवा कार्यालय बेनी, म्याग्दी र मिलन म्याग्दीको आयोजनामा तथा इन्सेक लगायत विभिन्न सरकारी तथा गैरसरकारी निकायको समन्वयमा आज मंसिर १० गते (नोभेम्बर २५, २०२६) अभियानको शुभारम्भ गरिएको हो।
अभियानको पहिलो दिन आज बेनीको वीरेन्द्रचोकदेखि शुरुआत भएको प्रभातफेरी जिल्ला समन्वय समितिको सभाहलसम्म पुगेर सकिएको थियोे । र्याली, डकुमेन्ट्री प्रदर्शनी तथा सरोकारवालाहरूसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । यस वर्षको अभियानका लागि “लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता: पीडितको संरक्षण, दण्डहीनताको अन्त्य र न्यायको सुनिश्चितता” भन्ने राष्ट्रिय नारा तथा “UNiTE to End Violence Against Women and Girls: Ensure Justice, Protect Survivors, end impunity” भन्ने अन्तर्राष्ट्रिय नारा साथ कार्यक्रम गरिएको हो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गण्डकी प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री रेशम बहादुर जुग्जालीले अभियानलाई महत्त्वपूर्ण रूपमा लिनुपर्ने बताए । कार्यक्रममा विशिष्ट अतिथिका रूपमा गण्डकी प्रदेश सभा सदस्य हरि भण्डारी, जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख दिल कुमारी खत्री र बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको उपस्थिति रहेको थियो।
अभियानको पृष्ठभूमि र उद्देश्यबारे जानकारी गराउँदै कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सुरुवात डोमिनिकन गणतन्त्रको निरङ्कुश शासनविरुद्ध आवाज उठाउने तीन दिदीबहिनीको स्मरण तथा क्यानडामा युवाहरूले सेतो रिबन लगाएर सुरु गरेको अभियानको ऐतिहासिक सन्दर्भ जोडिएको उल्लेख गरिएको थियोे । नेपाल सरकारले २०७५ सालदेखि औपचारिक रूपमा यो अभियान मनाउने निर्णय गरेअनुसार हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० (मंसिर १० देखि पुस २५) सम्म यो अभियान मनाइने गरिएको छ।
कार्यक्रमका सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाउँदै ब्यानरमा हस्ताक्षर गरेका छन्। वक्ताहरूले हिंसा केवल महिला र बालबालिकाको मात्र नभई समग्र समाज र राष्ट्रकै साझा समस्या भएकाले परिवार, विद्यालय, समुदाय, स्थानीय तह, सरकारी निकाय र नागरिक समाज सबैको साझा जिम्मेवारीबाट मात्र हिंसामुक्त समाज निर्माण सम्भव हुने धारणा राखेका थिए ।
कार्यक्रममा एकीकृत सेवा कार्यालय म्याग्दीका कार्यालय प्रमुख मिताकुमारी थापाकाे अध्यक्षता, निमित्त प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, विभिन्न संघसंस्था, पत्रकार महासंघ, शिक्षण संस्था तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो।










