Friday, June 27, 2025
26.3 C
Beni
26.3 C
Beni
Friday, June 27, 2025
Home Blog Page 1145

महिलालाई आत्मनिर्भर बनाउँदै बेनी नगर

महिलालाई आत्मनिर्भर बनाउन बेनी नगरपालिकाले तीन महिने सिलाई कटाई तालिम सुरु गरेको छ ।नगरपालिकाको गरिबी निवारणका लागि लघु उघम बिकास कार्यक्रमको आयोजनामा सोमबारदेखि सुरु भएको तालिमको उद्घाटन गदैं मेयर हरिकुमार श्रेष्ठले सिलाई कटाई व्यवसायबाट महिलाले प्रसस्तै आम्दानी गर्न सक्ने बताए

उनले घरायसी काममा मात्रै सिमित हुने महिलालाई आयमुलक क्षेत्रमा आवश्यक सीपमुलक तालिम उपलब्ध गराउने बताए । उद्यमशिल तालिम लिएका महिलाले सहरबजार देखि ग्रामिण क्षेत्रसम्म आम्दानी गरिरहेकाले तालिमको सिपलाई ब्यवहारमा उर्तान समेत अनुरोध गरिएको थियो ।

नगरप्रमुख श्रेष्ठको अध्यक्षता ,उप–प्रमुख सन्जु बरुवालको स्वागत र शाखा अधिकृत युवराज थापाले कार्यक्रमको संचालन गरेका तालिममा प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीको सहभागिता रहेको थियो । तालिममा १५ जना महिलाहरु सहभागि छन् । म्याग्दीमा उद्यमशिलता तालिम लिएर ब्यवहारमा लागु गर्नेले मासिक लाख भन्दा धेरै कमाई गरेका छन् । सिलाई कटाई ब्यवसायबाट थोरै लगानीमा राम्रो आम्दानी गर्न सकिन्छ ।

भिसा सकिएका अमेरिकी नागरिक आफ्नो देश फर्कन मानेनन्

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन्।नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन्।

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्रि जोइलले आफ्नो देश फर्कन अटेर गरेका हुन्। उनी ५२२४५ नम्बरको राहदानी बाहक हुन्।

भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाएको भन्दा बढी समय बस्न नपाउने कानून छ। बाध्यात्मक कारण भएमा अध्यागमन विभागबाट म्याद थप गर्नुपर्छ।अवैधरूपमा बस्नेलाई पक्राउ गरेर जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया छ।

नेपालमा कोरोना भाइरस रोकथामका लागि लकडाउन हुनुअघिनै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो।

जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो। लकडाउन हटेपछि अधिकांश भिसा सकिएका विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका छन्।

विसं २०७६ मङ्सिर महिनादेखि शिखको सियु होटलमा बस्दै आएका जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ गते सकिएको थियो।

त्यसपछि नेपाल बस्ने उनलाई कानूनी अनुमति छैन। होटल सञ्चालक यामकुमारी पुनले जोइलले आफ्नो देश फिर्ता हुन इच्छा नदेखाएको बताए।

‘केही समस्या बताउनुहुन्न, पैसा मगाएर खाएको बसेको तिरेर जान्छु भन्नुहुन्छ। कसरी पठाउने भन्ने अलमलमा परेका छौँ।गाउँपालिकाका अध्यक्षले एक दुई दिनमा दूतावासमा लगेर बुझाइदिने भन्नुभएको छ,’ उनले भने।

एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्छन्। खेतबारीमा खाडल खन्ने, किलो गाड्ने र एक्लै डुल्ने गर्छन्।

स्थानीयवासीले उनको मानसिक अवस्था र गतिविधिप्रति शङ्का गरेका छन्। कतिपय विदेशी नागरिक आफ्नो देशमा अपराधमा संलग्न भएको र मुद्दा चलेका कारण नेपालमा आएर लुकेर बस्ने गरेको पनि पाइएको छ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले ती नागरिकलाई आफ्नो देश पठाइदिन एक्यापले नै पहल गर्नुपर्ने भए पनि नगरेपछि आफैँले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको बताए।

म्याग्दीका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले अवैधरूपमा बसेका नागरिकको विषयमा सूचना नआएको र जानकारी आएमा पक्राउ गरेर अध्यागमन कार्यालयमा बुझाई स्वदेश फिर्ती प्रक्रिया अघि बढाउने बताए। रासस

काठको मुढा लडेर किशोरीको मृत्यु

रघुगंगा गाउँपालिका-४ दर्मिजाकी १५ वर्षीया किशोरी दीक्षा गर्बुजाको काठको मुढाले लाग्दा मृत्यु भएको छ । आफ्नो घर नजिकै रहेको दर्मिजा खोलामा कपडा धोइरहेको बेला माथि जंगलमा काटेको काठको मुढा लडेर लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने ४५ वर्षीय नुरबहादुर पुनलाई प्रहरीले नियन्त्रणामा लिइ यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । जनता मावि दग्नाममा कक्षा ९ मा अध्ययनरत पुनको मृत्युले स्तब्ध भएको विद्यालयका प्रधानाध्यापक गुन पुनले बताए । विद्यालयले आइतबार स्वर्गीय पुनको सम्झनामा शोक सभाको समेत आयोजना गरेको छ ।

कार्ययोजना नै बनाएर सेवा चुस्त बनाउँदै डीएसपी राई

जिल्ला प्रहरी कार्यालय म्याग्दीले नागरिकलाई आफूले दिने सेवा र सुरक्षा प्रभावकारी बनाउन कार्ययोजना तयार गरेको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख तथा प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले तयार गरेको कार्ययोजनामा विभिन्न ९ वटा बुँदाहरु उल्लेख गरिएको छ ।

प्रनाउ राईले तयार गरेको कार्ययोजनामा सरोकारवाला निकायहरुबीच समन्वय–सहकार्य, मानवअधिकारको संरक्षण–सम्बर्धनसम्बन्धी नविनतम कार्यको शुरुवातका कामहरु गर्ने, शुद्धिकरण अभियान, सूचना संकलन–विश्लेषण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन–सुधार, अपराध अनुसन्धान रोकथाम–न्युनिकरण, ट्राफिक व्यवस्थापन–सुधारलगायतका विभिन्न ९ बुँदा समेटिएको छ ।

कार्ययोजनाको प्राथमिकताका क्षेत्रहरुमा सरकारी निकाय, गैरसरकारी संघ संस्थाहरु, निजी क्षेत्रहरु, आम नागरिक, प्रचलित ऐन, नियम, कानुन, संबिधान, अन्तर्राष्ट्रिय सन्धि सम्झौता, कानुन, प्रचलित रीतिरिवाज, धर्म संस्कृति, परम्परा, प्रहरी कर्मचारी, भौतिक स्रोत साधन, सेवा प्रवाह (आन्तरिक–बाह्य), जनशक्तिमा आधारित, सामाजिक बिकृति–बिसंगति, महिला तथा बालबालिका, साईबर अपराध, लागुऔषध सेवन–कारोबार, जघन्य अपराध, फैसला कार्यान्वयनलाई बनाईएको छ ।

यस्तै कार्ययोजनाको अन्य प्राथमिकतामा ट्राफिक संकेत व्यवस्थापन, पार्किङ्ग व्यवस्थापन, चेकजाँच, समन्वय–सहकार्य, बिपद व्यवस्थापन, भौतिक पूर्वाधार निर्माण, परिचालन कक्ष व्यवस्थापनलगायतलाई समेटिएको प्रनाउ श्यामकुमार राईले जानकारी दिएका छन् ।

कार्ययोजना लागू गर्नका लागि विभिन्न सरकारी, गैरसरकारी संस्था, निजी संस्था, विद्यालयलगायतसँग छलफल अन्तरक्रिया गर्ने, प्रहरी कर्मचारीलाई प्रशिक्षण दिने, माधनअधिकारकर्मीहरुलाई अनुशिक्षण दिने, महिला, बालबालिकाका लागि जानकारीमुलक कार्यक्रममार्फत हिंसाबारे जानकारी गराउँदै सचेत गराउने, सामाजिक सञ्जालमार्फत मानवअधिकारका बारेमा सन्देश प्रवाह गर्ने, विद्यार्थीहरुका लागि विभिन्न सचेतनाका कार्यक्रमहरु गर्ने, आवश्यक निःशुल्क कानुनी दिने, थुनुवाहरुको मानवअधिकार रक्षाका लागि गतिविधि गर्ने लगायतका कार्यक्रमहरु गरिने उल्लेख छ ।

यस्तै नागरिकको सुरक्षाका लागि सुरक्षा चौकीहरु विस्तार गर्दै लैजाने, बजार क्षेत्रको शान्ति सुव्यवस्थाका लागि सुरक्षा पोष्टहरु खडा गर्ने, मातहतका सुरक्षा निकायहरुलाई चुस्त, व्यवस्थित र नागरिकमैत्री बनाउँदै लैजाने, यातायात क्षेत्रलाई व्यवस्थित गर्न सरोकारवालासँगको समन्वयमा विभिन्न गतिविधि सञ्चालन गर्ने, कारागार सुरक्षा र कैदीबन्दीको सहज बसाइका लागि आवश्यक संरचना र विधि तयार गर्ने, आपराधिक गतिविधि नियन्त्रण, लागूऔषधि प्रयोग र कारोबार नियन्त्रणका लागि आवश्यक सक्रियता बढाउने, नागरिकको गुनासो सुनुवाइका लागि द्रुतशैलीमा कार्य गर्नेलगायतका गतिविधिहरु अघि बढाइने कार्ययोजनामा उल्लेख गरिएको छ ।

पछिल्लो समय प्रनाउ राईको सक्रियतामा म्याग्दीको शान्ति सुरक्षाको अवस्थामा उल्लेख्य सुधार आइरहेको जिल्लाबासी बताउँछन् ।

‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर आरोही अन्नपूर्ण आधार शिविर जान थाले

म्याग्दीको ‘मौरिज हर्गोज’ पदमार्ग प्रयोग गरेर पर्वतारोहीहरु आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि जान थालेका छन् । म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्ण आधार शिविर जोड्ने हर्गोज पदमार्गको प्रयोग गरेर नेपाली पर्वतारोही पूर्णिमा श्रेष्ठको टोली आज आधार शिविरतर्फ लागेको हो । हिमाल आरोहणका लागि आधार शिविरतर्फ जान लागेको पत्रकारसमेत रहेकी श्रेष्ठको टोलीलाई अन्नपूर्ण गाउँपालिकाले शनिबार सम्मानसहित बिदाइ गरेको छ ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, वडाध्यक्ष कृष्णप्रसाद बरुवाल, लेखा अधिकृत जय सुवेदीलगायतले बिदाइ गर्नुभएको थियो । यसअघि शुक्रबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सो टोलीलाई बिदाइ गर्नुभएको थियो । कोरोनापछि र नारच्याङ हुँदै ‘मौरिज हर्गोज’ पदमार्ग भएर अन्नपूर्ण आरोहणका लागि जाने यो पहिलो टोली हो । सेभेन समिट टे«कमार्फत आरोहण गर्न लागेको यो टोलीमा अन्य १६ जना विदेशी आरोही छन् ।

जोखिमयुक्त ‘मौरिज हर्गोज’ पदमार्गमार्फत गरिने अन्नपूर्ण आरोहणको प्रचारप्रसारका लागि एक वर्षअघि बनाएको योजना कोरोनाले रोकिएको र अहिले त्यसलाई सफल पार्न लागेको आरोही श्रेष्ठले बताउनुभयो । पेम्बा शेर्पा यो आरोहण समूहको शेर्पा रहनुभएको छ ।

कारोबार आर्थिक दैनिकमा कार्यरत गोरखा आरुघाटकी पूर्णिमाले यसअघि सन २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गर्नुभएको थियो । करिब एक महिना आधार शिविर क्षेत्रमा रहने टोलीले जनाएको छ ।

फ्रान्सेली नागरिक मौरिस हर्गोजले सन १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको पहिलो पटक आरोहण गर्नुभएको थियो । अन्नपूर्ण आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको जेठो हिमाल हो । मौरिसले आरोहण गरेको ७० वर्षपछि नारच्याङ हुँदै आधार शिविर जोड्ने पदमार्ग पहिचान भएको छ ।

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष पुनले आरोही टोलीलाई व्यक्तिगतरूपमा रु एक लाख र गाउँपालिकाबाट रु चार लाख बजेट उपलब्ध गराएको बताउनुभयो । गत वर्ष नारच्याङमा प्रथम अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरेको गाउँपालिकाले मौरिज हर्गोज पदमार्ग नामकरण, नक्साङ्कन, पूर्वाधार निर्माण र प्रवद्र्धन शुरु गरेको अध्यक्ष पुनले बताउनुभयो । ‘अन्नपूर्ण पहिलो’ आरोहणको ७० वर्ष पुग्दा पनि त्यसको सफल आरोहण गर्नेको सङ्ख्या असाध्यै कम छ ।

जोखिमपूर्ण र कठिन भएकाले आरोहण गर्नेको सङ्ख्या कम भएको हो । नेपाली महिलाहरु त यसको चुचुरोमा पुगेकै छैनन् । गण्डकी प्रदेश सरकारले पूर्णिमाको आरोहण टोलीलाई रु आठ लाख आर्थिक सहयोग गरेको छ । सफलतासँगै पूर्णिमाको नाममा अन्नपूर्णको पहिलो महिला सफल आरोहीको कीर्तिमान रहनेछ । गण्डकीमा आठ हजार मिटरभन्दा अग्ला अन्नपूर्ण, धौलागिरि र मनास्लु हिमाल छन् ।

भकिम्ली जोड्ने सडक भोलीदेखि ११ दिन बन्द हुने

बेनी नगरपालिका भित्रकै सबैभन्दा जोखिमयुक्त मानिने भकिम्ली जोड्ने मुल सडक ढलान तथा अन्य स्तरोन्नतिका लागि भोली सोमबारदेखि ११ दिनसम्म बन्द हुने भएको छ ।

दूधेखोला–हल्लेगौडा–डाँडाखानी–डोले,स्वार्गाआश्रम हुदैं बागलुङको काठेखोला र ताराखोला गाउँपालिका जोड्ने सडकखण्ड अन्तरगत दुधेखोला आसपासमा सडक ढलानका लागि सानाठुला सवारीसाधन आवतजावत गर्न बन्द गरिएको दुधेखोल भकिम्ली सडक योजना उपभोक्ता समितिका अध्यक्ष यामबहादुर घर्ती मगरले बताए ।

‘बैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरेका छौ,‘सकेसम्म समयमै सम्पन्न गर्ने गरी काम भइरहेको छ’ अध्यक्ष मगरले भने । उनका अनुसार भकिम्ली जाने बैकल्पिक सडकअन्तरगत ज्यामरुककोट, बेनी–थामडाँडा सडकखण्ड अन्तरगत राखु र मरेक हुदै आवतजावत गर्न सकिन्छ ।

चैत ९ गते देखि २०७७ चैत २० गते सम्म बन्द हुने सडकको निर्माणकार्य आसपासमा बाटो बन्दको सूचना समेत राखिएको छ । निर्माणकार्य अवधिभर अटेर गरी ढलानलाई क्षती पुर्याउने प्रयास भएमा सम्बन्धित ब्यक्तिले नै क्षती अनुसारको मर्मत समेत गर्नुपर्ने भन्दै उक्त समयमा आवतजावत नगरिदिन अनुरोध सहित सूचना समेत जारी गरिएको सचिव ज्ञानबहादुर घर्तीले बताए ।

भकिम्लीका बासिन्दाले चन्दा सङ्कलन गरेरडेढ दशकअघि ट्र्याक खोलेको सडक कच्ची र साँघुरो अवस्थामै रहेको छ। गतबर्ष पहिरोले सडक बगाएपछि स्थानीयले सरकारी बजेटसँगै निर्माणकार्यमा श्रमदान समेत गर्ने गरेका छन् । सडकको स्तरोन्नतिले पछिल्लो केहीबर्ष यता निरन्तरता पाइरहेको छ। ढलान, नाली, सोलिङ, कच्ची नाली ग्याबिनजालीले जोखिम न्यूनिकरणको प्रयास भइरहेको छ ।

 

माधव पक्षको यूवा संघ केन्द्रिय उपाध्यक्षमा म्याग्दीका विश्वकर्मा चयन

नेकपा एमालेभित्र समानान्तर गतिविधि गर्दै आएको वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल समूहको युवा संघ नेपालको राष्ट्रिय भेलाबाट म्याग्दीका कृष्णकुमार विश्वकर्मा केन्द्रिय उपाध्यक्षमा चयन भएका छन् । राष्ट्रिय सभा गृहमा आयोजित भेलाबाट उपाध्यक्षमा चयन भएका विश्वकर्मा बेनी नगरपालिकाका कार्यपालिका सदस्य समेत हुन् ।

भेलाबाट केन्द्रिय सदस्यमा म्याग्दीका जिवन सापकोटा,चन्द्र जुग्जाली,नविन खत्री, अनुप गौचन, ममता जुग्जाली र मदन सापकोटा चयन भएको यूवा संघ नेपालले जनाएको छ । नेपाल–खनाल समूह निकटका देशभरका युवा कार्यकर्ता सहभागीता रहेको भेलाबाट जिम्मेबारी प्राप्त गरेका यूवाहरुलाई कार्यक्षेत्रमा खटिएर लाग्न समेत निर्देशन दिइएको छ ।

शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन

नेपाल शिक्षक संघ म्याग्दीको अध्यक्षमा नगेन्द्र खत्री चयन भएका छन् । आठौं जिल्ला अधिवेशनबाट अध्यक्षमा निर्वाचित दुर्गाराम सुबेदी दिर्घकालिन सेवा निवृत्त भएपछि उपाध्यक्षका रुपमा कार्यरत खत्रीलाई अध्यक्षमा चयन गरिएको संघले जनाएको छ ।

बेनीमा आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष सुबेदीले पद हस्तान्तरण गदैं म्याग्दी जिल्लामा शिक्षकको आन्दोलन र अभियानमा आफ्नो क्षेत्रबाट सक्दो सहयोग र सहकार्य हुने प्रतिबद्धता जनाए ।

उनले पेशागत हकहितका लागी संघमार्फत जिल्लामा महत्वपूर्ण भूमिका निर्वाह भएको बताउँदै आगामी दिनमा समेत शिक्षकलाई प्रोत्साहनका कार्यहरुलाई समेत थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

नवनिर्वाचत अध्यक्ष खत्रीले उपाध्यक्ष पदमा रहेर काम गर्दा निर्वतमान अध्यक्ष सुबेदीबाट भएको संस्थागत गतिविधिलाई निरन्तरता दिदैं शिक्षकको अभियानमा निरन्तर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६ दरबाङस्थित जनप्रिय माविमा कार्यरत खत्रीले अन्य पेशागत संघसंस्थासँग मुद्धाका आधारमा सहकार्य गर्ने तथा शिक्षकलाई प्रोत्साहन सहित अभिनन्दनका कार्यक्रमहरुलाई निरन्तरता दिने समेत बताए।

क्षत्री समाज म्याग्दीको अध्यक्षमा लक्ष्मी केसी

क्षत्री समाज नेपाल जिल्ला कार्यसमिति म्याग्दीको १५औं साधारणसभा तथा पाँचौं अधिवेशनबाट लक्ष्मी केसी कार्कीको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ । शनिबार सदरमुकाम बेनीमा सम्पन्न समाजको पाँचौं अधिवेशनले कार्कीको अध्यक्षतामा नयाँ समिति निर्वाचित गरेको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा कृष्णसिङ बानियाँ, उपाध्यक्ष देवेन्द्र घिमिरे, महिला उपाध्यक्ष कमला खत्री जिसी, सचिवमा हिमबहादुर भण्डारी, कोषाध्यक्षमा यामबहादुर बानियाँ, सहसचिवमा धनदेवी भण्डारी र सहकोषाध्यक्षमा भावना पौडेल क्षत्री निर्वाचित भएका छन् ।

‘राष्ट्रिय अखण्डता, जातीय सद्भावका निम्ती क्षत्री एकता, आजको आवश्यकता खस क्षत्रीहरुको साझा संस्था’ भन्ने मूल नारासहित आयोजित साधारणसभा तथा अधिवेशनको क्षत्री समाज नेपालका केन्द्रीय महासचिव केशबहादुर केसीले उद्घाटन गरेका थिए । कार्यक्रमको उद्रघाटन गर्दै प्रमुख अतिथि समेत रहेका समाजका केन्द्रीय महासचिव केसीले आरक्षण जातीयताको आधारमा नभई वर्गीय आधारमा हुनुपर्ने माग गरेका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसी, क्षत्री समाज म्याग्दीका संस्थापक अध्यक्ष एकेन्द्रबहादुर रावल, केन्द्रीय उपाध्यक्ष नरबहादुर कार्की, केन्द्रीय सदस्य अमृतदेवी बानियाँ, हेमा खड्का, गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री, सचिव लक्ष्मी अधिकारी, सदस्य डम्बर जिसी, जिल्ला सल्लाहकार सन्तोष रावल, केबि भण्डारी, रुद्रबहादुर केसी, नारायण जिसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, बेनी नगरपालिकाका उपप्रमुख सन्जु बरुवाल, समाजका पूर्व अध्यक्ष क्या. मिनबहादुर कार्की, पर्वत अध्यक्ष कृष्णबहादुर क्षत्री, सम्मानित व्यक्तित्व सुरत केसी र डा. नन्दबहादुर खत्रीले मन्तव्य राखेका थिए ।

कार्यक्रम क्षत्री समाज म्याग्दीका निवर्तमान अध्यक्ष विरबहादुर थापाको अध्यक्षता, उपाध्यक्ष कृष्णसिङ बानियाँको स्वागत र सचिव देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रमको अवसरमा जिल्लास्थित सामाजिक संघसंस्थाको नेतृत्वसहित विभिन्न तहमा पुगेका तथा सामाजिक क्षेत्रमा योगदान पु¥याएका क्षत्रीहरुलाई सम्मान समेत गरिएको थियो ।

सपनाको काम…

पशुपती आर्यघाटमा बेवारिसे शबलाई दागबत्ती दिदैं सपना रोका मगर । ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले सार्वजनिक गरेको संसारभरका १ सय प्रेरणादायी महिलाहरुको सूचीमा परेकी म्याग्दीको मंगला गाउँपालिका–४ बरंजा बुकेनीकी रोकाले पशुपतिमा बेवारिसे लासलाई दागबत्ती दिने कार्यलाई निरन्तरता दिएकी छन् ।

हरेक दिन बेवारिसेको अभियानमा सक्रिय रहेकी रोका मगरले पढाईलाई समेत अगाडी बढाएकी छन् । उनको अभियानलाई केही ब्यक्तिले अवरोधको प्रयास गरेपनि अस्पताल र सरोकारवाला निकायको साथमा निरन्तर बेवारिसे लासको अन्त्येष्टीमा सक्रिय छिन् ।