म्याग्दीको एक गाउँमा पुरातात्विक महत्वका दुईसय वर्ष पुराना घरहरु भेटिएका छन् । जिल्लाको मंगला गाउँपालिका वडा नं २ सिममा २ सय वर्ष पुराना मल्लकालीन वास्तुकलाका आकर्षक घरहरु भेटिएका हुन् । ती घरहरु अझैसम्म पनि इतिहाँसको साक्षी बनेर रहेका छन्
विसं १८७०को दशकमा बागलुङका श्रीप्रसाद कडेंलले तत्कालिन शासकबाट विर्ता स्वरुप यो गाउँ पाउनुभएको र उहाँले नै यहाँ घरनिर्माण गर्नुभएको जानकारहरु बताउँछन् ।
त्यतिवेला जुन निर्माण सामाग्री र जुन स्वरुपमा निर्माण गरिएको थियो अहिले पनि यथावत अवस्थामा नै ती घरहरु रहेका छन् ।विर्ता स्वरुप पाएको यो गाउँ कडेलका सन्ततिले विसं १९७४ मा पोखराका लप्टन कोमलसिंह खत्रीलाई विक्रि गर्नुभएको र त्यसयता यहाँ कोमलसिंह खत्रीका सन्तानहरुको बसोबास रहेको छ ।
सिर्मु र सालका काठका कलात्मक बुट्टा भरिएका दलिन,बला र टुडाल समेत रहेका ती घरहरुमा आँखिभm्याल,फलाँटे ढोका रहेका छन् भने गाह्रोमा लगाइएका ढुङ्गा पनि आकर्षक तरिकाले कुँदिएका छन् ।
बेनी –दरवाङ सडक खण्डको नजिकै करिब ५ सय मिटरको दुरीमा रहेको सिम गाउँमा ६ वटा पुराना घरहरु रहेका छन् ।
तीमध्ये ‘बूढोघर’ नाम दिइएको तीन तले एउटा घर यहाँको सबैभन्दा पुरानो घर भएको हाल यहाँ बस्दै आउनुभएका लप्टन कोमलसिंह खत्रीका नाति ६३ वर्षिय मनोज कुमार केसीले बताए ।यी घरहरु पुरातात्विक र प्राकृतिक खोज र अनुसन्धानका लागि समेत निकै महत्वपूर्ण भएकाले आफूले यी सम्पदाहरुको संरक्षण गरेको उनको भनाइथियो ।
घरको तल्लोपट्टि म्याग्दी नदी, माथिल्लोपट्टि बेनी–दरबाङ सडक, वरिपरि फराकिलो खेतीयोग्य फाँट,सिंचाइकुलो, ढुङ्गा विच्छ्याएर बनाइएको चिटिक्कको बाटो,घर वरपर आँप र विभिन्न फलफूलहरुको बगैंचा,खानेपानी,विद्युत र संचारको सुविधा भएको यो गाउँ अत्यन्त आकर्षक देखिन्छ ।
यहाँका घरहरुको इतिहाँस दुईसय वर्ष पुरानो रहेको र आफूहरु यी सम्पदाहरुको संरक्षण गर्नका लागि बसाइ सरेर कतै पनि नगएको कोमलसिंह खत्रीकी नातिनीबुहारी विष्णु केसीले बताइन् । खत्री परिवारका सदस्यहरु अष्ट्रेलिया र अमेरिकामा छन् ।
जिल्लाकै प्राचिन सम्पदा र ऐतिहाँसिक महत्वको हुँदाहुँदै पनि सिम गाउँ ओझेलमा परेको र सरोकारवालाहरुले कुनै चासो नलिएको खत्री परिवारका सदस्यहरुको भनाइ रहेको छ ।
मल्लकालिन इतिहाँस,कला,संस्कृति र तत्कालिन समयको सामाजिक परिवेश झल्कने यो गाउँ र यहाँका घरहरुको प्रचारप्रसार गरी यी सम्पदाहरुको ऐतिहाँसिक महत्वलाई बुझाउन सक्ने हो भने यो गाउँ पर्यटकीय महत्वको गाउँ बन्न सक्ने प्रवल सम्भावना रहेको छ ।
यी घरहरुको संरक्षणमा जुटेका मनोज कुमारले जति महंगो मूल्य पाए पनि घर विक्रि नगर्ने बताए । उनले भने ‘पैसाको लोभमा हामीले हाम्रो थाँत थलोको अपमान गर्नु हुँदैन । मैले करोडौं रुपयाँ पाए पनि यी सम्पदाहरु नास हुन दिन्न ।’
शनिवार सम्पन्न भएको निःशुल्क आँखा परीक्षणमा मंगला गाउँपालिकामा सबैभन्दा धेरै मोतियाविन्दुका बिरामीको पहिचान भएको छ । सामाजिक तथा मानवीय सेवामा सक्रिय लायन्स क्लवको आयोजनामा मंगला माविमा आयोजित शिविरमा २ सय ५१ जनाको आँखाको जाँच गरिएकोमा १९ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।
त्यस्तै धवलागिरी गाउँपालिका–३मुनाको फलियागाउँमा १ सय ८७ बिरामीको उपचार गरिएकोमा ९ जना मोतियाविन्दु र छिमेकी पर्वतको जलजला गाउँपालिका–३,मल्लाजमा आयोजित शिविरमा १ सय ५१ जनाले चेकजाँच गरेकोमा ८ जनामा मोतियाविन्दुको समस्या देखिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए ।
यसअगाडी शुक्रबार अन्नपूर्ण र रघुगंगा गाउँपालिकामा १५ जनामा मोतियाविन्दुको समस्या देखिएको थियो ।
जनचेतनाको अभाव तथा उपचारको अभावमा ग्रामिण क्षेत्रमा रहेका बिरामीको पहिचान गरी निशुल्क सेवा दिने उद्देश्यले शिविरको आयोजना गरिएको लायन्स क्लवले जनाएको छ ।
शिविरमा मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, धवलागिरी गाउँपालिका अध्यक्ष थमसरा पुन लगायत स्थानीय जनप्रतिनिधि, सामाजिक संघसंस्थाका प्रतिनिधिकिो उपस्थिती रहेको थियो । शिविरमा नेत्रज्योती संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरका उपचारपछि बृद्धबृद्धा खुसी हुदै घर फर्किएका थिए ।
लायन्स क्लवमार्फत म्याग्दीमा सबै स्थानीय तहमा शिविर सञ्चालन पछि मोतियाविन्दुको समस्या भएका बिरामीलाई बेनी अस्पतालमा चैत्र १४ र १५ गते शल्यक्रिया गरिने छ । आइतबार मालिका गाउँपालिकामा शिविरको आयोजना गरिएको छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन लायन्स क्लवले अपिल गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनीको उत्तरबाट पूर्व बग्दै गरेको कालीगण्डकी र पश्चिमबाट पूर्व बग्दै गरेको म्याग्दी खोलाको तीरमा बसेको बेनी बजार निकै सुन्दर छ । त्यही सुन्दर बेनी बजारको दक्षिणतर्फ म्याग्दी खोला बग्छ, जसको तीरमा राज्यको औपचारिक बसाई छ । अर्थात सरकारी कार्यालयहरु त्यहीँ बसेका छन् ।
आजभन्दा १७ बर्षः अघि २०६० चैत्र ७ गते (राती १० बजेर ५५ मिनेटमा) यहि बेनी बजारको सुन्दर वगानमा भिषण युद्ध चल्यो । बन्दुकको नालबाट सत्ता जन्मन्छ र त्यो सत्ता जनपक्षिय सत्ता हुनेछ भन्ने सोचका साथ युद्धमा होमिएका थिए, गलकोट नगरपालिका ५ हरिचौरका पूर्णबहादुर राना ।
उनी त्यो भन्दा पहिले भारतीय सेनामा कार्यरत थिए । गोरखा फौजमा कार्यरत उनी त्यहाँ पेन्सनमा फर्केपछि माओवादी राजनैतिक आन्दोलनमा लागे । हतियार चलाउन, फौजलाई युद्धको लागि तयार गर्न उनको लागि नौलो कुरा थिएन त्यसैले उनले तत्कालिन विद्रोही पक्ष माओवादीको लागि रुकुम लगायतका जिल्लामा रहेर युद्धका लागि फौजी नक्सा योजना बनाउन लागे ।
जनसेनालार्ई हतियार चलाउन सिकाउनेदेखि युद्धमा आक्रमणको रणनीति बनाउने काममा उनको अनुभवले महत्वपुर्ण काम गर्यो । त्यतिबेला उनले अहिलेका उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ, विप्लबको कमाण्डमा काम गरे ।
बेनी आक्रमण गर्दा उनले नै नक्सा तयार गरी पासाङलाई दिएका रहेछन् । नन्दबहादुर पुन आफ्नो कमाण्डर भएका कारण उनले बेनी आक्रमण गर्दा कसरी जित्न सकिन्छ भन्ने रणनीतिक योजनासहितको नक्सा तयार गरेर देखाएका रहेछन् । ‘मैले कमेरड पासाङलाई बेनी आक्रमण कसरी गर्दा राम्रो हुन्छ भन्ने नक्साको डिजाइन गरी बुझाएको थिए र त्यही नक्साको आधारमा हमला भएको थियो ’ उनले भने ।
माओवादी पार्टीको योजना अनुरुप बेनी सदरमुकाममा हमला गर्ने योजना चैत्र ९ गतेको थियो तर १५० को संख्यामा रहेको तत्कालिन शाहि सेनाको कमाण्डो फोर्स सदरमुकाम आएको सुचना पाए लगत्तै आक्रमण तोकिएको मितिभन्दा दुई दिनअघि नै गर्नु परेको राना बताउँछन् ।
त्यस आक्रमणको राजनीतिक कमाण्ड नेत्रविक्रम चन्द ‘विप्लव’ले तथा सैन्य कमाण्ड नन्दकिशोर पुन ‘पासाङ’ले गरेका थिए । समयले आज विप्लवलाई पछिल्लो नवगठित माओवादी पार्टीको अध्यक्ष बनायो भने पासाङलाई मुलुकको दोस्रो उपराष्ट्रपति बनायो । तर समयले नै माओवादी आन्दोलनलाई पनि यसरी नै कैयौ धारमा विभाजित गरिदेला भन्ने उनले अनुमान गरेका थिएनन् ।
सदरमुकाम बेनी हमला राज्य पक्षका लागि मात्र नभई स्वयंम आक्रमणको योजना बनाउने तत्कालिन माओवादी पार्टीका लागि पनि ठुलो नोक्सानी बेहोर्न परेको युद्ध मोर्चा थियो ।
तर, सो भिषण युद्धमा ज्यान गुमाउनेको यकिन तथ्यांक न राज्य पक्षले सार्वजनिक गर्यो न विद्रोही माओवादीले । सोही भिडन्तमा १० सर्वसाधारणको पनि ज्यान गएको थियो । युद्धको भौतिक क्षतिको तथ्यांक राज्यले राखे पनि मानवीय क्षतिको तथ्यांक अझै एकिन छैन ।
रातभर चलेको भिडन्तमा विद्रोहीले सदरमुकाममा पुरै कब्जा गर्न सफल भए पनि तत्कालिन शाही नेपाली सेनाको कालिप्रसाद गण भने कब्जा गर्न सकेन । तर तत्कालिन प्रमुख जिल्ला अधिकारी सागरमणी पराजुली र डिएसपी रणबहादुर गौतम सहित १२७ जनालाई युद्धबन्दी बनाई लगे ।
जसमध्ये विभिन्न स्थानमा गरी विद्रोहीले ३७ जनालाई दुई दिनको अन्तरालमा रिहा गरे भने अन्य ९० जनालाई १७ दिन लगाई रोल्पाको थवाङ र्पुयाएका थिए । रोल्पाको थवाङबाट विद्रोहीले राज्यसँग विभिन्न माग राख्दै माग पुरा गरिदिने शर्तमा राज्यपक्षका कुल ९० जना युद्धबन्दीलाई विद्रोहीले हेलिकप्टर चढाई काठमाडौं पठाएका थिए ।
प्रमुख जिल्ला अधिकारी तथा डीएसपी अपहरणमा परेको भन्दै विभिन्न राष्ट्रिय, अन्तराष्ट्रिय मिडियामा निकै चर्चा पाएको माओवादीले उनीहरुलाई रिहा गर्ने सर्तमा आफ्ना पोलिटव्युरोका नेताहरुलाई राज्यले रिहा गर्नु पर्ने माग राखेको थियो । जसलाई सरकारले पुरा गर्नासाथ उनीहरुलाई मुक्त गरिएका थियो ।
जनयुद्धको शुरु भएको पनि डेढ दशक पुरा भयो । तर अझै पनि ती घाउहरु निको हुन सकेका छैनन् । ७ दलसँग विद्रोही माओवादीले दिल्लीमा गरेको १२ बुँदे विस्तृत शान्ति सम्झौता र त्यसपछिको परिर्वतनले अहिलेको यो अवस्थासम्म मुलुक आउने थिएन ।विस्तृत शान्ति सम्झौता भएसँगै माओवादी शान्ति प्रक्रियामा आयो र पहिलो संविधान सभाको निर्वाचनमा पहिलो पार्टीको रुपमा उदायो तर माओवादीको हिजोको त्यो एकिकृत मोर्चा अहिले विभाजित अवस्थामा छ । माओवादी आन्दोलन टुट, फुट र गुट कारण जनयुद्धको मुद्दाहरु कमजोर बन्दै गइरहेका छन्
बेनी आक्रमण गर्न माओबादीले १ करोड ५० लाख खर्च गरेको खुलासा
माओवादीले २०६० साल चैत ७ गते म्याग्दीमा गरेकॊ बेनी आक्रमणमा एक करोड २५ लाख रुपैयाँ खर्च भएको थियो। विकेन्द्रित भनिएको बेनी आक्रमणमा माओवादीले आफ्नो सबै शक्ति केन्द्रित गरेको कारण सबैभन्दा महङ्गो आक्रमण भएको थियो।
बेनी आक्रमणका लागि खर्च जुटाउन माओवादी हेडक्वार्टरलाई समेत अप्ठेरो परेको थियो। गोलीगठ्ठाको व्यवस्था गर्ने ‘सप्लाई विभाग’मा लामो समय इन्चार्ज खनालका अनुसार युद्धका बेला पार्टीको सम्पूर्ण खर्चको ६० प्रतिशतभन्दा बढी खर्च, हतियार गोली विस्फोटक पदार्थ र सञ्चार साधनहरुको खरिद तथा प्रयोगमा हुन्थ्यो।
बेनी हान्न ठूलो सङ्ख्यामा हतियार र गोलाबारुद खर्चिएको थियोपहिलोपटक यही आक्रमणमा भारतीय सेनाले प्रयोग गर्ने एके ४७ बन्दुक पनि माओवादीले प्रयोग गरेका थिए। वेनी हान्न फिलीपिन्स र ब्याङ्ककबाट मगाइएका ७० हजार रुपैयाँदेखि ९० हजारसम्म मूल्यका ९० वटा स्याटेलाइट फोनसँगै ४० हजार मूल्यका थुप्रै ‘बेस स्टेसन सहितका ‘इन्टरकम’को ठूलै सन्जाल बनाइएको थियो। पार्टीको आन्तरिक सन्चारलाई सहज बनाउन प्रयोग गरिएको इन्टरकम सन्जालमा एउटा बेससँग सम्बन्ध राखेर ४० भन्दा बढी टेलिफोन सेट प्रयोग हुन सक्थ्यो।
तत्कालिन नेकपा (माओवादी)ले म्याग्दी सदरमुकाम बेनी आक्रमण गरेको १७ बर्ष पूरा भएको छ। २०६० साल चैत ७ गते राति ११ बजेदेखि भोलिपल्ट १०ः४५ बजेसम्म माओवादीले आक्रमण गर्दा रणभूमिमा परिणत भएको बेनीबजार रक्तमुछेल थियो। आक्रमणमा १६ जना सर्वसाधारण, ३८ जना सुरक्षाकर्मी र ४२ जना माओवादी गरी ९६ जनाले ज्यान गुमाएका थिए।
सदरमुकाम बेनीबजार र आसपासका क्षेत्रमा प्राप्त भएका शबहरुका आधारमा ९६ जना भनिएको भएता पनि जिल्लाका बिभिन्न ठाउँहरुमा गरी करिब चार सयको ज्यान गएको अनुमान छ।आक्रमणपछि बेनीबजारमा शबहरु छरपष्ट थिए। रगतको आहाल बनेको थियो। र, घाइतेहरुका चित्कारले बेनीबजार स्तब्ध थियो।
घरहरु जलिरहेका थिए। जिल्ला प्रशासन, प्रहरी, जिबिस, म्याग्दी पुस्तकालय, बन, अदालतलगायतका भबनमा आगो बलिरहेको थियो। कैयौं संरचना ध्वस्त भएका थिए। तत्कालीन प्रमुख जिल्ला अधिकारी सागरमणि पराजुली, डिएसपी रणबहादुर चन्दलगायतलाई माओवादीले चैत ८ गते अपहरण गरी लगेका थिए। ८ गते बेलुकीसम्म पनि बजार सुनसान थियो। मान्छेहरु घरबाट बाहिर निस्कन सकिरहेका थिएनन्। आकाशमा हेलिकोप्टर घुम्दा मानिसहरु त्रसित हुन्थे। हुन्थे आशावादी पनि।
बेनीबजारवासीले यस्तो अवस्था भोगेको आइतबारदेखि १२ बर्ष पुगेको छ। ‘१२ वर्षमा त खोला पनि फर्किन्छ’ भन्ने नेपाली लोकोक्तिलाई पत्याउने हो भने आक्रमणमा ध्वस्त संरचना, आक्रमणमा मारिएका आफन्त, घाइते र सो आक्रमणबाट प्रभाबित सबैको जीव्बनमा धेरै परिवर्तनहरु आइसक्नुपर्ने हो। तर घाउ चहराइरहेको छ। आक्रमणमा ध्वस्त भौतिक संरचनाका पुनर्निर्माण गरिए पनि मान्छेका पीडा र सपना भने उस्तै छन्। अलपत्र छन्। छरपष्ट छन्। र, छन् आक्रामक र अभिशप्त पनि।
माओवादी आक्रमणबाट ध्वस्त भौतिक संरचना फेरिए पनि बेनीबजारको मौलिकता गुमेको छ। सुन्दरता हराएको छ।आक्रमणमा ज्यान गुमाएका अबस्था दयनीय छ। माओवादी र सरकारी पक्षबाट ज्यान गुमाएकाहरुको परिवारको अवस्था अझै उस्तै छ । माओवादीले शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेपछि दुईपटक संविधानसभा, प्रतिनिधि र प्रदेशसभामा निर्वाचित भएपनि माओवादीकै लागि यूद्धमा होमिएका लडाकुको अवस्था दयनीय छ ।
माओवादी २०६२÷०६३ पछि पटकपटक सत्तामा पुग्यो। केही नेता नवधनाध्य भए। सत्ताको उपभोगमा मस्त रहे। तर अधिकांश लडाकु खाडीमुलुक गए कि नेपालमा नै दयनीय जीवन बिताइरहेका छन्। कोही गाउँमै कृषि पेशामा छन । बेनी आक्रमणका कमाण्डर नन्दकिशोर पुन दुईपटक नेपालको उपराष्टपतिमा आसिन भए पनि अधिकांश तत्कालीन लडाकुहरुको अबस्था दयनीय छ।
बेनी आक्रमणलाई ‘एउटा नमिठो सपना र सम्झन नचाहने क्षण’को रुपमा लिन्छन् बेनी आक्रमणका प्रत्यक्षदर्शी र तत्कालिन नेपाल टेलिभिजनका म्याग्दी संवाददाता अमर बानियाँ। बेनी आक्रमणको भिडियो खिचेर नेपाल टेलिभिजनमा प्रसारण गरेका बानियाँलाई त्यतिबेलाको ‘विभत्स दृश्य’ले अहिले पनि झस्काइरहन्छ। जीवनमा यति ठूलो घटना र विभत्सरुप देख्नुपर्ला भनेर कल्पना पनि नगरेको बताउने बानियाँले बेनी आक्रमणको १२ बर्षपछि पनि घटनाबाट पीडित भएकाका व्यथा कम नभएको र सपना पनि तुहिएको अनुभव सुनाए।
आफन्त गुमाएको पीडा राज्यले दिने राहतले कुनै अबस्थामा पनि पूर्ति गर्न नसक्ने बताउने उनीहरुको अबस्था ज्यूँका त्यूँ छ।त्यसैगरी पुलाचौरका फौदबहादुर दर्जी, सूर्य दर्जी, ठेगाने दर्जी, खम्बे दर्जी र सुन्ते दर्जीका परिवारको अबस्था अहिलेसम्म पनि अत्यन्त दयनीय रहेको स्थानीय शिक्षक शिव बानियाँले बताए। दर्जी परिवारको गुजारा अझैसम्म पनि अरुको ज्याला मजदुरी गरेर चलेको छ।
जनयूद्धमा माओवादीबाट मारिएकाहरुले समेत अहिलेसम्म न्याय पाएका छैनन् भने राज्यपक्षबाट बेपत्ता भएकाहरुको खोजीकार्यमा समेत चासो देखाइएको छैन् । फाईल स्टोरी\ धुब्रसागर शर्मा
जिल्ला समन्वय समिति म्याग्दीको पाँचौ जिल्ला सभाले १७ बर्ष अगाडी तत्कालिन नेकपा (माओवादी)ले बेनी आक्रमणको क्रममा दोहोरो भिडन्तमा गोली लागेको यूद्ध पोल फिर्ता ल्याउने निर्णय गर्यो । म्याग्दीमा ६ वटै स्थानीय तहका प्रमुख, उपप्रमुखले समेत उक्त प्रस्तावमा सहमति जनाए। जिल्ला सभाको भोलीपल्ट नै उक्त प्रस्ताव अनुसार पोल फिर्ता ल्याउने निर्णय मूर्तता नपाउँदै सेलायो ।
पछिल्लो एकदशक यता ललितपुर महानगरपालिकाको पाटन ढोकास्थित मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रमा रहेको युद्ध पोल ल्याउन दर्जनौ ज्ञापनपत्र, ध्यानार्कषणका साथै स्थानीय तहदेखि केन्द्रसम्म प्रतिबद्धतासँगै ढुवानीका लागि हेलिकप्टर चार्टर सम्मका चर्चा भएपनि रातारात केही ब्यक्तिले अनुचित फाईदा लिएर गायब बनाइएको पोल ल्याउने चर्चा केवल मनोरञ्जन र लोकप्रिय बन्नका लागि मात्रै भएको छ।
जिसस, बेनी नगरपालिकाले पोल ल्याउन अहिलेसम्म ठोस पहल गर्न सकेको छैन् ।साना–साना योजनामा रमाउने जनप्रतिनिधिको नजरमा पोल पर्न सकेको छैन् ।वडादेखि केन्द्रसम्मका जनप्रतिनिधिले चुनावी चर्चाका लागि पोललाई सम्झिने गरेपनि यूद्ध संग्रालयका लागि आर्कषक मानिने पोलबाट मदन पुस्तकालय गुठीको हाताभित्र यालमाया केन्द्रले प्रसस्तै लाभ लिइरहेको छ । केन्द्रमा आउने विदेशीको प्रमुख आर्कषक नै सयौं गोली लागेर छियाछिया भएको बिजुलीको पोल बन्ने गरेको छ ।
नेपालमा चलेको १० बर्षे सशस्त्र युद्धको उदाहरण दिने गरी आयोजना हुने कार्यक्रमका लागि उक्त स्थानको छनौट गर्ने गरिएको छ । मंगलाघाट जाने बाटोबाट विद्युतका कर्मचारी र मानवअधिकारकर्मीको मिलेमतोमा केन्द्रमा पुर्याइएको पोलमा दैनिक फोटा खिच्नेको भिड लाग्ने गरेको छ । पोल फिर्ता दिनका लागि जिल्लाबाट आधिकारिक पत्रको खोजीमा रहेको केन्द्रलाई एउटा पत्र समेत जिल्लाबाट पठाउन सकिएको छैन् ।
पोलको नजिकै भित्तामा अंग्रेजी र नेपालीमा पोलको बारेमा लेखिएको विवरणहरूलाई आफ्नो मोवाइलमा खिच्ने नेपाली पर्यटकले समेत पोल सम्बन्धित जिल्लामै लैजानुपर्ने सुझाव दिने गरेका छन् । २०६० चैत ७ गते तात्कालीन नेकपा माओवादीले गरेको बेनी आक्रमणका बेला सरकारी सेना र माओवादी सेनाबीच दोहोर भीडन्तमा बेनी–मंगलाघाट सडकअन्तरगत हाल रहेको सिचाँई कार्यालय नजिक सयौं गोली लागेको पोलबाट केन्द्रले लाखौं आम्दानी गरेको छ ।
गुठीका सञ्चालक कनकमणि दीक्षितले तत्कालिन समयमा विद्युत प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा विना जानकारी सुटुक्क रातीमा पोल परिवर्तन गरी पाटन ढोका पु¥याएका थिए । लामो खोजीपछि सञ्चालक दीक्षितले आवश्यक प्रक्रिया पुरा गरेर आए पोल फिर्ता दिने प्रतिबद्धता जनाएपनि म्याग्दीका सरोकारवाला निकायकै बेवास्ताका कारण फिर्ता ल्याउने साइत जुरेको छैन् ।
बेनी आक्रमणको साँक्षी
माओवादीले बेनी आक्रमण गर्दा गुमाएका हतियारहरु मुस्किलले भेटिने गरेको अवस्थामा पोल एउटा साँक्षीको रुपमा रहेको छ । बेनी आक्रमणका बेलामा भेटिएका हतियार सहित महत्वपूर्ण दस्तावेजहरु तत्कालिन राज्यपक्ष र केही ब्यक्तिले राखेका छन् । बेनी आक्रमण भन्दा वित्तिकै अहिले यो पोललाई सम्झिने गरिन्छ ।
युद्धका अवशेसहरु बिस्तारै हराउँदै जान थालेको बेलामा नयाँ पुस्ता र विदेशीलाई यूद्ध संग्रालयमार्फत आर्कषित गर्न सकिने ऐतिहासिक महत्व बोकेको पोलका बारेमा सामाजिक सञ्जालमा बेलाबेलामा भाइरल समेत हुने गरेको छ ।
बेनी आक्रमणको क्रममा भेटिएका बन्दुक लगायतका दस्तावेजहरुसंग्रह गरेर भावी पुस्तालाई जानकारी दिने र यूद्ध संग्रालयको प्रचार गर्न सकेमा बेनी घुम्न आउने एउटा मुख्य आर्कषण बन्न सक्ने पर्यटन क्षेत्रका जानकारहरु बताउँछन्। लडाइँका चिन्ह र अवशेषहरुलाई जोगाएर राखिएमा जिल्लामा नयाँ किसिमका पर्यटकहरुलाई समेत बेनीसम्म ल्याउन सकिन्छ । पोलसँगै आक्रमणका बेलामा प्रयोग गरिएका बजारभित्रका केही स्थानमा कृतिम संरचना समेत बनाउन सकिने धौलागिरी पर्यटन परिषद्का अध्यक्ष अमर बानियाँको भनाई छ ।
म्याग्दी सदरमुकाम बेनीमा नयाँ वर्ष २०७८ का अवसरमा प्रथम लोक साँस्कृतिक उत्सवको आयोजना गरिने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले उत्सवको आयोजना गर्न लागेको हो ।
शुक्रवार बेनीमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानले बैशाख १ देखि ३ गते सम्म बेनीको खुल्ला मञ्चमा उत्सव आयोजना गर्न लागेको प्रतिष्ठानका जिल्ला अध्यक्ष एवम् कार्यक्रमका मुल संयोजक देवेन्द्रबहादुर घिमिरेले बताए । उनले कोरोनाको कारण अन्य जिल्लामा सांस्कृतिक कार्यक्रमहरु सञ्चालन गरिएपनि म्याग्दीमा नियमित हुन नसकेको अवस्थामा प्रतिष्ठानमार्फत सांगितिक महोल बनाउने प्रयास सुरु भएको बताए ।
‘‘हाम्रो अभियान,लोक संस्कृतिको संरक्षण,स्रष्टाको सम्मान,नवप्रतिभाको प्रोत्साहन’’ भन्ने मुल नाराका साथ आयोजित उत्सवमा पालिका स्तरीय लोकदोरी गीत प्रतियोगिता र खुल्ला एकल लोकनृत्य प्रतियोगिता राखिएको प्रतिष्ठान गण्डकी प्रदेश कमिटिका संगठन विभाग सदस्य अमित विश्वकर्माले बताए ।पालिका स्तरीय लोकदोहोरी प्रतियोगितामा प्रथम,द्धितिय र तितृय हुनेलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ ।
उत्कृष्ट गायक र गायिकालाई समेत ३÷३ हजार पुरस्कारको व्यवस्था गरिएको छ । यसैगरी खुल्ला एकल लोकदोहोरी प्रतियोगितामा प्रथम, द्धितिय र तितृय हुनेलाई क्रमशः १० हजार,७ हजार र ४ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।उत्सवका अवसरमा प्रतिष्ठानका पूर्व अध्यक्षहरु सहित लोकदोहोरी क्षेत्रमा योगदान पु¥याएका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ ।
उत्सवको आम्दानीबाट बचत हुने रकमबाट जिल्लामा कलाकार लोककल्याणकारी कोषको स्थापना गरिने प्रतिष्ठानका सचिब पदम विश्वकर्माले बताए । उत्सव आयोजनामा रु १० लाख बढी खर्च हुने अनुमान गरिएको आयोजनकले जनाएको छ ।प्रतिष्ठानका अध्यक्ष घिमिरेको अध्यक्षता, सचिब विश्वकर्माले सञ्चालन गरेको कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघको पूर्व अध्यक्ष जिवनबहादुर विश्वकर्मा र पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष तारानाथ शर्माले मन्तब्य राखेका थिए ।
सामाजिक तथा मानविय सेवामा सक्रिय लायन्स क्लवको आयोजनामा शुक्रबार रघुगंगा र अन्नपूर्ण गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा परीक्षणको क्रममा १५ जना मोतियाविन्दुका बिरामीको पहिचान भएको छ ।
जनचेतनाको अभाव तथा उपचारको अभावमा ग्रामिण क्षेत्रमा रहेका बिरामीको पहिचान गरी निशुल्क सेवा दिने उद्देश्यले आयोजित शिविरमा रघुगंगामा ७ जना र अन्नपूर्ण गापामा ८ जना मोतियाविन्दुका बिरामी भेटिएको लायन्स क्लव ३२५ बि १ नेपालका रिजन चियरपर्सन एवम् शिविरको मुल संयोजक लोकबहादुर पुनले बताए ।
शिविरमा रघुगंगामा २ सय ८० र अन्नपूर्ण गापामा १ सय ८० जना विरामीले सेवा लिएका थिए । रघुगंगा गापा–२ भगवतीमा आयोजित शिविरको गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीले उद्घाटन गदैं लायन्स क्लवमार्फत आँखाको उपचारबाट बन्चित भएकालाई दिएको सेवाबाट उत्साहित भएको बताउँदै आगामी दिनमा समेत सहकार्य गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा वडा नं २ का अध्यक्ष रिम कटुवाल, लायन्स क्लव दोभानकी पूर्व अध्यक्ष अमृतदेवी बानियाँ लगायतले मन्तब्य राखेका थिए । लायन्स क्लव बेनी सिटी र लायन्स क्लव म्याग्दी दोभानको संयुक्त आयोजनामा सम्पन्न भएको शिविरको अध्यक्षता दोभानकी सर्मिला थापा र स्वागत बेनी सिटीका अध्यक्ष अमृत बानियाँले गरेका थिए ।
त्यसैगरी अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आयोजित शिविरको गाउँपालिका अध्यक्ष डमबहादुर पुनले उद्घाटन गरेका थिए । लायन्स क्लव ३२५ बि वान नेपालका को–चिप एडभाइजर चन्द्रकुमार केसी, स्पेशल सेक्रेटरियट एडभाईजर सन्तोष रावलले मन्तब्य राखेका थिए ।
शिविरमा नेत्रज्योती संघ आँखा उपचार केन्द्रको प्राविधिक सहयोगमा आयोजित शिविरका उपचारपछि बृद्धबृद्धा खुसी हुदै घर फर्किएका थिए । लायन्स क्लवमार्फत म्याग्दीमा सबै स्थानीय तहमा शिविर सञ्चालन पछि मोतियाविन्दुको समस्या भएका बिरामीलाई बेनी अस्पतालमा चैत्र १४ र १५ गते शल्यक्रिया गरिने छ । आँखामा समस्या भएका बृद्धबृद्धाको सफल शल्यक्रिया हुने भएकाले अन्धकारमा जीवन नबिताउन लायन्स क्लवले अपिल गरेको छ ।
मनको इच्छा पुर्याइदिने म्याग्दीको प्रख्यात मालिका मन्दिरको काखमा थुपुक्क बसेको दुखु गाउँमा मगर समुदायको परम्परागत संस्कृतिले पुर्नजीवन पाएको छ। माओवादी द्वन्दका बेला लोप भएको पुख्र्यौली नाचलाई गाउँलेले पुर्नजीवन दिएका हुन्। अचेल उनीहरूले संगठित रुपमा नाचगान गर्न थालेका छन् । संस्कृति संरक्षण गर्न गाउँलेले देवबहादुर रोकाको संयोजकत्वमा ‘पुख्र्यौली नाच संरक्षण समिति’ गठन गरेका छन्।
समितिमा आबद्ध भएर मनपुरे रोका, मनप्रसाद रोका, हरिप्रसाद रोका, सुकदेवी रोका, लायनसेरा, टिकामाया रोका, चन्द्रकला रोका, लिलामती पाइजा, नरदेवी रोका, पुर्ण रोका, तारा रोका लगायत कलाकारले नाचगान गर्दै आएका छन्।यसमा कलाकार टंकप्रसाद पुनले जोक्करको भूमिका निवार्ह गर्छन्।
‘दुई वर्ष भयो हामीले फेरि पुख्र्यौली नाच्न थालेको’, संयोजक देवबहादुरले भने, ‘अब बालबालिका र युवालाई पनि सिकाएर संस्कृति संरक्षण अभियान अघि बढाउँदैछौं।’
पुर्ख्यौली अर्थात सोरठी मगर समुदायको मौलिक नाच हो । उनीहरू दुःखमा पनि र सुखमा पनि नाच्छन्। उनीहरू सुखका गीतमा गीत गाउँछन्, नाच्छन् । दुःखका बेला चाहिँ नाच्दैनन्, गाउँछन् मात्र। भूमे पूजा, विवाह, ब्रतबन्ध, भोजभतेर आदिमा पनि पुख्र्यौली नाच्छन्। विवाह र ब्रतबन्धमा रातभर नाचगान गरिन्छ। सन्दर्भअनुसार गीतको बोल फरकफरक हुन्छ। मेलापर्वमा रमाइलो गर्न चुड्का गाइन्छ।
परम्परादेखि पुरुष नै महिलाको भेषमा नाच्छन। महिलाको भेषमा नाच्ने कलाकारलाई मारुनी भनिन्छ भने मादल बजाउने पुरुषलाई मादले। नाचमा मादल र झ्याली बाजा प्रयोग गरिन्छ।
मालिकाको दर्शन गर्न उकालो लाग्दा होस् वा फर्कंदा दुखु गाउँमा पुख्र्यौली नाच अवलोकन गर्न सकिन्छ। गाउँमा सालैजो, यानिमाया, शिरफूले, ठाडी भाका लगायत गीत पनि सुन्न सकिन्छ। वैदेशिक रोजगार र कृषि कर्ममा बाँचेको दुखु गाउँमा पर्यटनको संभावना देखिन्छ। यसलाई पर्यटन धाम बनाउने अभियानमा गाउँपालिका लागेको छ। गाउँसम्मै मोटर बाटो खुलिसकेको छ।
मालिका गाउँपालिका–६, दुखुबाट ४ घन्टा उकालो हिँडेमा मालिका मन्दिर पुगिन्छ। खाना र बासका लागि दुखुकी बोममाया रोकाको ‘शिशिर बसञ्त पसल’मा सुविधा छ। त्यहाँ ६ जनासम्म बास बस्न सक्छन्।
संस्कृति संरक्षणमा जोड
श्रीप्रसाद रोका
अध्यक्ष, मालिका गाउँपालिका
हामी समग्र मालिका गाउँपालिकालाई पर्यटन केन्द्रका रुपमा विकास गर्दैछौं। मालिकादेवी त हाम्रो प्रमुख आकर्षण नै हो। हामीले प्रकृति र संस्कृतिको संयोजन गर्दै पर्यटनका काम गरिरहेका छौं। त्यसैले मौलिक संस्कृति संरक्षणमा लाग्नेहरूको उत्साह बढाउने काममा हातेमालो गरिरहेका छौं। सम्पर्कः देवबहादुर रोका–९८६९२९७५६७
छकप्रसाद पाइजा–९८६७६४५३३८
नेपाल कम्युनिस्ट पार्टी एमालेको संसदीय बोर्डमा म्याग्दीका प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापा चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा २४ सदस्यीय बोर्डमा साविकको धौलागिरी अञ्चलभित्रका चार जिल्लाबाट थापा मात्रै मनोनित भएका हुन् । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमालेको संसदीय दलको बैठकले पार्टीको बोर्ड गठन गरेको थियो ।
प्रतिनिधिसभा विघटनपछि सांसद थापाले प्रधानमन्त्री ओलीको कदमको सर्मथन समेत गरेका थिए । पार्टीभित्रका सांसदलाई प्रतिनिधिसभामा प्रस्तुत हुने,संसदीय दलको विधान संशोधन तथा पार्टीको तर्फबाट महत्वपूर्ण काममा भूमिका खेल्ने गरेको छ। संसदीय बोर्डको गठनसँगै अव नेकपा एमालेका सांसदले पार्टीको हित विपरित काम गरेमा कारवाही सहितका प्रक्रियालाई अगाडी बढाउन समेत सहज भएको छ । पार्टीभित्र संसदीय बोर्डको सदस्यमा मनोनय हुनुलाई महत्वपूर्ण अवसरका रुपमा समेत लिने गरिन्छ ।
मंगोल नेशनल अर्गनाईजेशनको अन्नपुर्ण गाउँपालिकाको प्रथम अधिवेशन खिवाङमा सम्पन्न भएको छ । म्याग्दी जिल्लाभित्र रहेका मंगोलहरुको एकता र सहकार्य सहित संगठनमा आवद्ध हुने गरी सुरु भएको अभियानको मुल सचिव थम्मन बहादुर बुढा मगरले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य रणबहादुर फगामी,म्याग्दी जिल्ला अधिवेशन आयोजक सभा डिके पुनमगर, सचिव एलिस रोका मगर, सदस्य भिम रोका मगर, धवलागिरी गाउँपालिका अध्यक्ष ओमराज मगर, मालिका गाउँपालिका अध्यक्ष तेजिन्द्र जुग्जाली मगर, रघुगंगा गाउँपालिका आयोजक सभा संयोजक पदम शेरपुजा मगर लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथी बुढा मगरले मुलवासी मंगोल मुक्तिको एकताका लागि सक्रिय रहेको बताए । नेपालमा समानता, भातृत्व, स्वतन्त्रता लगाएत मानवअधिकार, दिगो शान्ती र दिगो विकास सहितको धर्मनिरपेक्ष र प्रान्तिय संघीयताको कार्यान्वयन गरी विभेद रहित समाज बनाउने लागेको बताए ।
अन्नपुर्ण गाउँपालिका अधिवेशन आयोजक सभाको संयोजक राम गर्वुजाको अध्यक्षतामा भएको कार्यक्रममा अनिता पुनमगरले संचालन रकार्यक्रममा प्रतिज्ञा घर्तीमगरले स्वागत मन्तव्य राखेकी थिईन् ।
सोही अवसरमा अध्यक्ष सुरेश पुर्जा पुनमगरको संयोजकत्वमा अन्नपूर्ण गाउँपालिकास्तरीय समिति गठन गरिएको छ। समितिको सचिवमा हरिमाया पुनमगर,सहःसचिव सुमन पुर्जामगर, कोषाध्यक्ष अनिता पुनमगर, प्रचारप्रसार सचिव अमृत गर्वुजा मगर रहेका छन् ।
त्यस्तै सदस्यहरुमा मदनकुमार गर्बुजामगर, एलिना शेरपुजा पुन मगर, खगेन्द्रकुमार फगामी मगर, कुमार पुनमगर, टेकमान गर्बुजा मगर, विरेन पुनमगर, सुरेन विक, केशव पुनमगर, जयराम विक, दुर्गबहादुर पुर्जा मगर रहेका छन्। समितिको सल्लाहकारमा संयोजक राम गर्बुजा मगर, क्या.जयबहादुर तिलिजा मगर लगायत १ सदस्यीय मनोनित गर्ने गरी तिन सदस्य सल्लाहकार समिति चयन गरिएको छ। म्याग्दीको आयोजनामा ‘गाउँ–गाउँ बस्ती बस्ती जाआँै, मुलवासी मंगोल जगाऔँ, अस्तित्व जोगाऔँ”ँराष्ट्रिय अभियान अन्र्तगत अभियान सञ्चालन गरिरहेको छ ।