Saturday, May 3, 2025
21.3 C
Beni
21.3 C
Beni
Saturday, May 3, 2025
Home Blog Page 13

मुस्ताङमा चौरीको आलो रगत खाने मेला, सर्वसाधारणको भिड

0

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, खिवाङका ६२ वर्षीया देउबहादुर गर्बुजा चौंरीको आलो रगत पिउन मुस्ताङको थासाङ गाउँपालिका–२, बोक्सी खोलामा आउनुहुन्छ ।

विगत सात वर्षदेखि विभिन्न अस्पतालमा ग्यास्ट्रिकको उपचार गराए पनि निको नभएपछि सब परिवार र आफन्तसँग पुग्ने गर्नुभएका गर्बुजाले प्रति गिलास तीन सय रुपियाँ तिर्नुभयो । गर्बुजासँगै गाउँबाट करिब ३० जना जिप रिर्जभ गरेर चौरीको मेलामा आउनुभएको छ । पोखरा महानगरपालिका वडा नं.२५ बस्ने निरमायाँ पुनले लगातार तीन वर्ष चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा सुधार आएको बताउनुभयो ।

एक सातासम्म मुस्ताङमा बसेर चौरीको आलो रगत खाएर फर्कने निरमायाँले गानोगोलाको समस्या धेरै सुधार भएको बताउनुभयो । निरमायाँ भन्नुहुन्छ, ‘‘जनविश्वाससँगै मेरो समस्यामा सुधार आएको छ, हरेक वर्ष यहाँ आउँछु ।’’ हिमालय याक नाक संरक्षण समितिले याक दिवसको अवसरमा आयोजना गरेको मेलामा विभिन्न रोगबाट ग्रसित बिरामीको भिड लागेको छ ।

मुस्ताङ, म्याग्दीका साथै कास्की, काठमाडौँ र बुटवल लगायतका क्षेत्रबाट आयुर्वेदिक र प्याथोलोजी उपचार पद्धतिबाट आजित भएका सर्वसाधारण आएको हिमालय याक नाक पालन उपसमिति संयोजक बुद्धिरत्न तुलाचनले बताउनुभयो ।

संयोजक तुलाचनले भन्नुभयो, ‘‘पहिलो दिनै भिड लागेको छ, यहाँ आउने सबै खुसी भएर फर्किनुहुन्छ ।’’ मेलामा विभिन्न समूहबाट ल्याइएको याक–नाकबाट हुने आम्दानीसँगै पालनपोषण र संरक्षण गर्ने गरिएको संयोजक तुलाचनको भनाइ छ । हिमाली भेगमा पाइने, गोरु जस्तो देखिने भाले जनावर याक हो भने गाई जस्तो देखिने शुद्ध नश्लको पोथी नाक चौरी भनिन्छ । मेलामा चौरी विभिन्न समूहबाट तीन सयको हाराहारीमा याक र चौरी ल्याइएको छ । एक जना बिरामीले एकदेखि सात गिलाससम्म चौरीको आलो रगत पिउने गरेका छन् ।

समुन्द्री सतहदेखि ३७ सय मिटर उचाइको हिमाली खर्कमा चरेका चौँरीहरूले पाँचऔंले, निरमसी, जटामसी, यार्सागुम्बाजस्ता जडीबुटी खाने भएकाले रगत सेवनले गानोगोला, तुस, अपच, हाडजोर्नी, नसासम्बन्धी रोग, यौनउत्तेजना आदि समस्या कम हुने जनविश्वास रहेको छ ।

एउटा वयस्क चौंरीबाट २० गिलाससम्म रगत निकाल्न सकिन्छ । चौँरीको आलो रगतमा भएको परजीवीले मानव स्वास्थ्यमा पार्नसक्ने असरलाई ध्यानमा राखेर स्थानीय थासाङ गाउँपालिका पशु शाखाले जुकाविरुद्ध निःशुल्क औषधी वितरण तथा परीक्षण समेत गर्ने गरेको छ ।

चौंरीको घाँटीमा फलामको सानो र तिखो हतियार (चुलेसी) ले प्वाल पारेर रगत निकाल्ने गरिन्छ । चौँरीको दुधबाट चिज, दही, घीउ र छुर्पीलगायतका परिकार बनाएर बिक्री गरिन्छ । थासाङ गाउँपालिकाको चरन क्षेत्रमा १० जना किसानको सात सयको हाराहारीमा चौरी र याक पालेका छन् । नेपाल सरकारले पहिलोपटक घोषणा गरेको याक दिवसलाई समेत हिमालय याक नाक संरक्षण समितिले स्वागत गरेको छ ।

वैशाख ६ देखि १५ गतेसम्म सञ्चालन हुने मेलामा चौरी र याकका बारेमा जानकारी गराउने, पर्यटनको प्रवर्धनका साथै हिमाल क्षेत्रमा बसोवास गर्ने गोठालाहरूसँग समेत अनुभव लिने, तारा खेलको याकचौरीको प्रदर्शनी गर्ने, जैविक विविधता संरक्षणसम्बन्धी चेतनामुलक कार्यक्रम गर्ने, सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । हरेक वर्ष मुस्ताङमा वैशाख र साउन महिनामा याक र चौंरीबाट आलो रगत निकालेर पिउने मानिसको भिड लाग्ने गर्दछ । मुस्ताङका ५ स्थानीय तहमा चार हजारभन्दा बढी याकचौरी पालन गरिएको छ ।

स्थानीय तहले समेत याकचौरी पालन व्यवसायीहरूलाई गोठ सुधारसहित विभिन्न अनुदानका कार्यक्रमहरू समेत सञ्चालन गरेको छ भने हकहित र उत्थानका लागि हिमालयन याकचौरी पालन तथा संरक्षण व्यवस्थापन समितिसँग सहकार्य गरेको छ ।

यता मेडिकल चिकित्सकका अनुसार पशुचौपायाको आलो रगतलाई औषधीको माध्यम बनाउने परम्परा भए पनि रोग निको हुने वैज्ञानिक आधार नभएको बताउँछन् । आलो रगतमा विभिन्न विषाक्त पदार्थका अवशेषहरू हुने आलो रगत र मासु विज्ञानमा ताजा रगत खान योग्य वस्तु वा भागको रूपमा परिभाषित नगरिएकाले हिमाली क्षेत्रको चरन क्षेत्रमा रहेका पशुचौपायाको शरिरभित्र हेमोग्लोविनको मात्रा धेरै हुने भएकाले आवश्यकता परेमा निकालेर फाल्न सकिने बताउँछन् ।

नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले ३५औं स्थापना दिवस मनायो

0

नेपाल निजामति कर्मचारी सङ्गठन म्याग्दीले आइतबार आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमको आयोजना गरी मनाएको छ । ‘सम्पूर्ण निजामति कर्मचारीहरु एकजुट होऔं, ‘संघीयतामा सुशासन, सामाजिक सुरक्षा र श्रमको सम्मान, राजनैतिक अधिकारसहितको टे«ड युनियन हाम्रो अभियान’ भन्ने नारासहित दिवस मनाइएको हो ।

दिवसको अवसर पारेर प्रकाशित नयाँ वर्ष २०८२ सालको भित्तेपात्रो (क्यालेन्डर) विमोचन गर्नुका साथै सङ्गठनको विकासमा पु¥याएको योगदानको कदरस्वरुप विभिन्न व्यक्तिहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा मिना राम्जाली, भोलानाथ आचार्य, छविलाल उपाध्याय, मेघनाथ गैरे, राजेन्द्र आचार्य, रुचेन्द्र अधिकारी, युदेवी शाक्य, सुर्यबहादुर सुवेदी, रमेश अधिकारी, तेजकुमारी थापा र लिला थापामगर रहनुभएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सह–इन्चार्ज तेजप्रसाद निउरेले २०४७ साल वैशाख ७ गते आजैका दिन नेपाल निजामति कर्मचारी सङ्गठनको स्थापना भई कर्मचारीहरुको हकहितका लागि विभिन्न कामहरु गर्दै आइरहेको बताउनुभयो ।

उहाँले कर्मचारीहरुको पेशागत सुरक्षा र हकहितको क्षेत्रमा सङ्गठित हुनलाई कसैको डर मान्नुनपर्ने बताउँदै सङ्गठनको तर्फदेखि संघीय निजामति कर्मचारी ऐन तत्काल जारी गर्न सरकारलाई निरन्तर रुपमा पहल गरिएको जानकारी दिनुभयो ।

सहइन्चार्ज निउरेले निजामति कर्मचारी सङ्गठनको नमस्ते गर्ने अभियान रहेकाले सेवाग्राहीलाई मुस्कानसहितको सेवा दिनुपर्ने बताउँदै उहाँले संघीय निजामति ऐन, शिक्षा ऐन र प्रहरी समायोजन ऐन तत्कालै जारी गर्न आवश्यक रहेकोमा जोड दिनुभयो।

महङ्गी वृद्धि हुने गरी तलव÷भत्ता बढाउने माग जायज नभएको भन्दै उहाँले कर्मचारीहरुलाई ग्रेडवृद्धि, प्रोत्साहन, यातायात खर्चलगायत शीर्षकमा सहुलियत दिनुपर्नेमा जोड दिनुभयो । सङ्गठित हुन पाउने तथा बार्गेनिङ गर्न पाउने कर्मचारीको नैसर्गिक अधिकार भएको उहाँको भनाइ छ ।

कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटीका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना र संविधान जारी भएको लामो समय भैसकेको अवस्थामा अब छिटै निजामति कर्मचारी ऐन जारी हुनुपर्ने बताउनुभयो । उहाँले निजामति कर्मचारीहरुले जनताको सेवालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने बताउनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान सरकारले लिएको सङ्कल्प ‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पना पुरा गर्न तीनै तहका सरकारहरु लाग्नुपर्ने बताउनुभयो । उहाँले एमाले नेतृत्वको सरकारले देशमा शान्ति, विकास र सुशासन तथा समृद्धि कायम गर्न लागिपरेको भन्दै अहिले एमालेमाथि चौतर्फी आक्रमण भैरहेकाले सबै मिलेर परास्त गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णसिङ बानियाँ, नेपाल निजामति कर्मचारी सङ्गठनका केन्द्रीय सचिवालय सदस्य मिना राम्जाली, केन्द्रीय सदस्य लिलादेवी गौतम र गण्डकी प्रदेश सदस्य भोलानाथ आचार्यले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल निजामति कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष सोमबहादुर केसीको अध्यक्षता, उपाध्यक्ष रबिन चोखालको स्वागत र सचिव भुवन रानाको सञ्चालनमा सम्पन्न भएको थियो ।

धवलागिरी गाउँपालिकाको चिनारी गीत सार्वजनिक

0

म्याग्दीको धवलागिरी गाउँपालिकाको पहिचान झल्कने स्वागत गीत सार्वजनिक भएको छ । धवलागिरी गाउँपालिका समाज काठमाडौंले तयार पारेको गीतको म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले शनिबार सार्वजनिक गर्नुभएको हो । गीतमा लोक गायक खड्ग गर्बुजाको शब्द, स्वर र संगित रहेको छ ।नयाँ वर्ष विक्रम संवत् २०८२ को अवसरमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा गीतका साथै समाजले प्रकाशन गरेको क्यालेण्डर पनि बिमोचन भएको थियो ।

अग्रजहरुलाई सम्मान र सांस्कृतिक कार्यक्रम पनि भएको समाजले जनाएको छ । कार्यक्रममा प्रतिनिधीसभा सदस्य गर्बुजाले म्याग्दीको विकासका लागि जनप्रतिनिधीको भूमिका निर्वाह गरिरहेको बताउनुहुँदै जनताको आपतविपद् र समस्यामा सधैं साथमा रहेको बताउनुभयो । उहाँले काठमाडौंमा रहेका धवलागिरी गाउँपालिका बासिहरु एकतावद्ध भएर गाउँठाउँको पहिचान र सामाजिक एकताका लागि प्रशंसनीय कार्य गरेकोमा धन्यवाद दिनुभयो ।

यसैगरी तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरी महर्जनले काठमाडौंमा रहेर धवलागिरीको पर्यटन र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्न भएको प्रयासले समाजमा सकारात्मक सन्देश प्रवाह भएको बताउनुभयो । कार्यक्रममा वरिष्ठ साहित्यकार होमनाथ सुवेदीलाई सम्मान गरिएको थियो ।उहाँले सम्मानले आफूलाई हौसाला मिलेको बताउनुभयो । समाजका प्रमुख सल्लाहकार दिपबहादुर छन्त्यालले लामो प्रयासपछि धवलागिरी चिनारी गीत सार्वजनिक गर्न सफल भएको बताउदै म्युजिक भिडियो पनि तयार पारिने जानकारी दिनुभयो ।

म्युजिक भिडियो निर्माणका लागि म्याग्दी प्रवासी नेपाली संघ (मोना)का पुर्वअध्यक्षहरु तेजप्रकाश पुन (मेजरमान), योगेन्द्र केसी, चक्र थापा र अमर छन्त्यालहरुबाट प्रायोजन हुने गरि एक/एक लाख रुपैयाँ आर्थिक सहयोग हुने छन्त्यालले कार्यक्रममा जानकारी दिनुभयो ।काठमाडौंमा बस्ने धवलागिरी गाउँपालिका अन्तर्गतका सातै वडाका कलाकारहरुको नृत्य सहित गीत प्रस्तुत गरिएको थियो । विभिन्न विधामा योगदान गर्ने धवलागिरी गाउँपालिकाका बासिन्दाहरुलाई सम्मान गरिएको थियो । ८४ वर्ष पुगेका जेष्ठ नागरिक र आर्थिक सहयोग दाताहरुलाई कदरप्रत्र प्रदान गरिएको थियो । समाजका अध्यक्ष लिलबहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा लोक गायक खड्ग गर्बुजाले गीत प्रस्तुत गर्नुभएको थियो ।

छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदै

0

हिजो छुटेका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाईंदैछ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाउन लागिएको हो । त्यस्तै एक वर्षदेखि पाँच वर्षसम्मका झन्डै १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाउन लागिएको हो ।

अभियानअन्तर्गत हिजो धेरैले भिटामिन ‘ए’ र जुकाको औषधि खाएका छन् । हिजो छुटेका कतिपय बालबालिकालाई आज खुवाउन लागिएको हो । त्यस्तै बालबालिकामा कुपोषणको परीक्षण गरिनेछ भने बालभिटा समेत दिइनेछ ।

‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा झन्डै ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन भएका छन् । सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट शुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो ।

जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट शुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ । यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ । हरेक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ ।

हेमन्त कान्छा रसाइली र देवी घर्तीले ल्याए ‘जानै लाग्यो बैँस रिमई’

0

म्याग्दीको मालिका गाउँपालिका–४ चिउरीबोट मठ्ठडाँडाका सारंगीबादक हेमन्त कान्छा रसाइली  को नयाँ गीत ‘जानै लाग्यो बैँस रिमई’ सार्वजनिक गरिएको छ  । गीतमा रसाइलीलाई गायिका देवी घर्तीले स्वरमा साथ दिएकी छन् ।

राजकुमार बगरका शब्द रहेको गीतमा गायक स्वयमकै सङ्गीत छ।  गीतको भिडियोमा हेमन्तसँग लक्ष्मी थापा मगरको अभिनय देख्न सकिन्छ। हेमन्त र लक्ष्मी मज्जैसँग अभिनयमा खुलेका छन् ।

भिडियोमा एक प्रेमील जोडीको प्रेमील कल्पना, मायामा डुबेको प्रेमजोडी र रोमान्सले भरिएको समयदेखि छुट्दासम्मको विरहको गाथा छ।एकिन्द्र शाराशंकरको निर्देशन रहेकाे भिडियोमा करण चैसियारको छायाङ्कन, प्रवीण भट्टको सम्पादन छ।

९ बर्षदेखि बेपत्ता गकुमारी अर्मजाको प्रतिक्षामा

0

म्याग्दीको रघुगंगा गाउँपालिका–४,दग्नामकी गकुमारी अर्मजा (सानु)को घरमा खुशी गुमेको ९ बर्ष वितिसकेको छ । गकुमारी अन्नपूर्ण गापा–१ दोबाबाट सम्पर्कविहिन भएपछि छोरी उर्मिला र परिवारका अन्य सदस्य, आफन्तले खोजीकार्यका लागि अनेक प्रयास गरेपनि अझै भेटिनुभएको छैन ।

दोबाबाट हराएको करिब पाँचबर्ष अगाडी धवलागिरी गापा–४,मुदी आसपासका देखिनुभएको गकुमारीको खोजीमा हरेक प्रकारका प्रयास गरेपनि अबस्थाबारे पत्ता लगाउन नसकिएको छोरी उर्मिलाले बताउनुभयो ।

‘‘मुदीमा देखिनुभएको जानकारी पाएपछि हामीलाई अझै फर्किनुहुन्छ भन्ने आश पलाएको छ, खोजीकार्य जारी राखेका छौ’’ उर्मिलाले बेनीअनलाइनलाई भन्नुभयो ।

बेपत्ता गकुमारीको खोजीकार्यमा लागेका परिवारले कतै भएको सूचना दिनेलाई नगद ५० हजार पुरस्कार समेत दिने सूचना समेत जारी गरेका छन् । ‘‘जति बाटो हेरेपनि आमा फर्किनुभएको छैन, कतै देख्नुभयो भने हामीलाई सम्पर्क गरिदिनुहोला।’’ बेपत्ता ग कुमारीको हुलिया सहित जिल्ला प्रहरी कार्यालय सहित सम्भावित क्षेत्रमा सूचना समेत टाँस गरिएको छ ।

 

शिक्षकहरुले आज बिहान ९ देखि १२ बजेसम्म प्रदर्शन गर्ने

0

शिक्षकहरुको आन्दोलन आज १९ औं दिन पुगेको छ । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गएको चैत २० गतेदेखि काठमाण्डौमा आन्दोलनरत शिक्षकहरूले प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेसँग छुटाछुटै छलफल गरे पनि कुनै निस्कर्ष निस्केको छैन ।

तत्कालै शिक्षा ऐन जारी हुनेमा आश्वस्त हुन नसकेपछि उनीहरुले आन्दोलनलाई निरन्तरता दिएका छन् । शिक्षकको प्रदर्शनका कारण माइतीघर–बबरमहल सडकमा यातायात सेवा प्रभावित हुँदै आएको छ ।

शिक्षकहरुले आज बिहान नौ बजेदेखि दिउँसो १२ बजेसम्म प्रदर्शन गर्ने बताएका छन् । यसले कार्यालय समयमा अझै धेरै समस्या हुने देखिएको छ । आज अर्को पनि प्रदर्शन भएका कारण सारिएको शिक्षक महासङ्घले जनाएको छ । यसअघि शिक्षकहरुले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गर्दै आएका थिए ।

गाउँका बूढापाकाले मात्र धानेका घुम्ती गोठको परम्परा

0

धवलागिरि गाउँपालिका–३ मुनाका ७१ वर्षीय खड्कमान पुनको दैनिकी घुम्ती गोठमा बित्ने गरेको छ । परम्परागत रूपमा गाईपालन गर्दै आएका उनको गोठमा १९ गाई छन् । हिउँदमा बेँसी र बर्खायाममा लेकका बुकीमा गोठ राखेर परम्परागत रूपमा गर्दै आएको पशुपालन पेसालाई पुनले निरन्तरता दिएका छन् ।

परिवारको गुजारा खेती किसानी र पशुपालनबाटै चलाउनुपर्ने बाध्यता रहेको उनले बताए । “गोठमा गाईभैँसी पाल्नु भनेको दुःखको धन हो, खेतीपाती गर्ने भएपछि मलका लागि पनि पशुपालन गर्नैपर्यो, पशुचौपाया बिक्री गरेर हुने आम्दानी नगन्य हुन्छ, तीन–चार वर्ष पालेपछि मात्रै बहर गोरु बिक्री हुन्छन्”, पुनले भने । भैँसी र बाख्रापालन गर्ने किसानले भने गाईपालन गर्नेहरूको तुलनामा बढी नगद आम्दानी गर्छन् ।

लेकाली क्षेत्रमा पालन गरिने भैँसी दुधालु हुने र खसीबोकाको मासु स्वादिलो हुने भएकाले घुम्ती गोठमा पालिएका भैँसी र खसीबोकाको माग धेरै छ । यहाँका किसानले कोदो, मकै, जौँ, गुहुँलगायतको खेती गर्ने भएकाले खेतबारीलाई मलिलो बनाउन पशुपालन अनिवार्यजस्तै हुने गरेको छ । पाखो र बुकीका पाटनमा भकारी र त्रिपालको अस्थायी टहरा हालेर बनाइने घुम्ती गोठमा पशुपालन गर्नेले वनजङ्गल, लेक–बेँसीका उकाली ओरालीको दुःख र बर्षा, हिमपात, हुरीबताससँगको चुनौती सामाना गर्नुपर्ने बाध्यता छ ।

मुनाकै ८० वर्षीय लिलबहादुर पुनको दैनिकी पनि गोठमै बित्ने गरेको छ । आफ्नो बुबाआमाले गर्दै आएको भेडाबाख्रापालन गर्ने कामलाई निरन्तरता दिएका उनले आफ्नो छ छोरी र चार छोरासहितको परिवारको हुर्काइबढाइको जोहो गोठबाटै गरेको बताए । “म गोठमै हुर्किएको हुँ, अहिलेसम्म पनि गोठमै छु, पहिले भेडा पनि थिए, अहिले बाख्रा मात्र पालन गर्छु, बुढ्यौली लागेर अब बुकी जान नसक्ने भइसकेँ, तर बेँसीमा भने गोठमै दिन कटाउँछु”, उनले भने ।

पहिले हरेकजसो घरको घुम्ती गोठ हुँदा बुकी क्षेत्रमा समेत चहलपहल हुने भए पनि पछिल्लो समय भने बुकीमा गोठ लैजानेहरूको सङ्ख्या घट्दै गएको र बुकीका खर्क र पाटन सुनसानजस्तै हुने गरेको उनले अनुभूति सुनाए । पशुचौपायाको सङ्ख्या घटेपछि बुकी क्षेत्रमा स्थानीयले आलोपालो लगाएर गोठमा बस्ने गर्छन् । मुनामा अहिले पनि करिब १०० घरमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशक अघिसम्म गाउँका सबै घरपरिवार घुम्ती गोठ राखेर गाईभैँसी, भेडाबाख्रापालन पेसामा आबद्ध थिए । परम्परागत पशुपालन व्यावसायिक बन्न नसकेपछि युवाहरू विदेश पालन हुन थालेका छन् भने घुम्ती गोठको परम्परालाई गाउँका बूढापाकाले मात्र धानेका छन् । हिजोआज गोठमा युवायुवती भेटिन छाडेका छन् । वृद्धवृद्धा अवस्थाका पाका पुस्तामात्र घुम्ती गोठमा भेटिन्छन् ।

खेतीपाती, घाँसदाउरा र गोठधन्दाको काम गर्न नयाँ पुस्ता इच्छुक नदेखिएको मुनाका गाईपालक किसान हर्कबहादुर रोकाले बताउनुभयो । घुम्ती गोठमा गरिने पशुपालन व्यावसायिक नबने पनि खेतीका लागि मल र पुर्खाले गरेको परम्परा धान्नका लागि गोठ राख्ने चलनले निरन्तरता पाएको उनको भनाइ छ ।

“पुर्खाले गरेको पेशालाई च्वाट्ट छाड्न पनि सकिएन, बीचमा मैले स्वास्थ्य चौकीमा कार्यालय सहयोगी बनेर काम गरेँ, अहिले फेरि आफ्नै पुख्र्यौली घुम्ती गोठमा पशुपालन गर्ने काम अँगालेको छु”, रोकाले भने । पछिल्लो समय घुम्ती गोठमा भेडापालन गर्ने चलन कम हुँदै गएको छ । स्थानीयले गाईभैँसी र बाख्रापालनका लागि भने घुम्ती गोठको परम्परालाई जोगाएका छन् ।

हिउँदयाममा बेँसीको फाँटमा खेतीयोग्य जग्गामा मल बनाउन गोठ सार्ने गरिन्छ । जेठमा बुकीतर्फ लैजाने गोठ कात्तिक लागेपछि बेँसीतर्फ झार्ने गरिन्छ । हिउँदेबाली जौँ, गहुँलगायत भित्र्याएपछि वैशाखको सुरुदेखि घुम्ती गोठका पशुचौपायालाई लेकतर्फ सार्न थालिएको छ । यहाँका स्थानीयले घुम्ती गोठका पशुचौपायालाई चरनका लागि ढोरपाटन, जलजला, रुघाचौर, पातिहाल्ने बुकी र खर्कसम्म पुर्याउने गर्छन् ।

यस क्षेत्रमा पशुपालन गर्नेको सङ्ख्या घटे पनि घुम्ती गोठको परम्पराले निरन्तरता पाएको धवलागिरि गाउँपालिका–३ मुनाका वडाध्यक्ष देवेन्द्र रोकाले बताए । “युवापुस्ता गोठमा बस्ने चलन हराएको छ, पुराना पुस्ताले घुम्ती गोठलाई जोगाइराखेका छन्, हामीले घुम्ती गोठ सुधारमा सघाउने कार्यक्रम ल्याउन सुरु गरेका छौँ, परम्परागत पशुपालनलाई व्यावसायिक बनाउन सकेमा यसले आयआर्जनमा समेत टेवा पुग्ने थियो”, वडाध्यक्ष रोकाले भने ।

चालु आर्थिक वर्षमा धवलागिरि गाउँपालिकाले घुम्ती गोठ सुधार तथा निर्माणका लागि २५ प्रतिशत लागत साझेदारीमा पूर्वाधार बनाउनका लागि किसानबाट माग सङ्कलन गरिरहेको छ । म्याग्दीमा सबैभन्दा धेरै धवलागिरि गाउँपालिकामा घुम्ती गोठमा पशुपालन हुने गरेको छ । यस पालिकाको मुना, मुदी, मल्कबाङ, लुलाङ, गुर्जा क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।

दुई दशकपछि सडक स्तरोन्नति

0

ढोरपाटन । निरयघाट, तीन दशक अघिसम्म बागलुङ प्रवेश गर्ने एकमात्र नाका थियो । विसं २०१३ अगाडिसम्म बागलुङवासी डुङ्गामा कालीगण्डकी तरेर पर्वतको खनियाघाट हुँदै पोखरा, काठमाडौँलगायत ठाउँमा आवतजावत गर्थे । त्यसबेला सडकले बागलुङ जोडिएको थिएन । पोखरा–बागलुङ राजमार्ग निर्माण भएपछि २०५१ सालमा मालढुङ्गामा मोटरेबल पुल बन्यो । त्यसपछि बागलुङवासी खनियाघाटमा पुगेर काली तर्ने बाध्यता हटेको हो ।

मालढुङ्गामा बनेको पुलबाट यात्रा गर्न थालेपछि निरयघाट ओझेलमा पर्यो । तत्कालीन जिल्ला विकास समितिले रु १२ लाख विनियोजन गरेर गणेश घुम्तीबाट सडक निर्माण गर्यो र ओझेलमा परेको नियरघाटलाई जोड्यो । आर्थिक वर्ष २०६०÷६१ मा खुलेको सोही सडक दुई दशकपछि स्तरोन्नति हुँदैछ । विश्व बैंकको लगानीमा ‘सहरी शासकीय पूर्वधार विकास कार्यक्रम’अन्तर्गत गत असारदेखि उक्त सडकको स्तरोन्नति गर्न थालिएको हो ।

कालीगण्डकी नदीको तटमा रहेको निरयघाट बागलुङवासीको दाहसंस्कार गर्ने मुख्य घाट अर्थात् दाहस्थल पनि हो । दैनिकजसो सयौँ नागरिक कालीगण्डकीमा स्नान गर्न पुग्छन् । सडक खुलेको दुई दशकसम्म स्तरोन्नति नहुँदा सबैभन्दा बढी सास्ती मलामीले भोग्नुपरेको स्थानीयको गुनासो छ । अप्ठ्यारो सडकमा शव बोकेर हिँडेका कति मलामी घाइते भए, त्यसको लेखाजोखा छैन ।

अहिले भने त्यसरी सास्ती र सकस खेपेका मलामीमात्र होइन, साँघुरो सडक त्यसमाथि खाल्डाखुल्डी, हिलो र धुलोले वर्षौँदेखि आजित बनेका निरयघाट र माझी बस्तीका स्थानीय खुसी छन् । पोहोर सालसम्म सडकको धुलोले घरको छानो र पिँढी ढपक्क ढाकिने गरेको बागलुङ नगरपालिका–१ माझी बस्तीका ७५ वर्षीय बलबहादुर माझी बताउँछन् ।

उनले भने, “अहिले पैदल हिँड्ने सडक पनि सहज हुँदै गएको छ, सडक विस्तार हुँदै गएपछि अन्त्येष्टिका लागि धेरै त सिधैँ गाडीमा घाटमै पुग्न थालेका छन् ।”

निरयघाट पहिलेको तुलनामा सडक सुविधाले फराकिलो र विस्तारित छ । तर, यस क्षेत्रको विकासका नाममा गरिएको जथाभावी डोजर प्रयोग र पूर्वाधारले कुरुप तथा जोखिम बढाएको छ । स्थानीय महेन्द्र आचार्य सडक विस्तारलगायत पूर्वाधार विकासमा स्थानीयसँग कुनै पनि समन्वय नगरी निर्माण कम्पनीले सडक फारिकलो र नाली बनाउँदा खुला चौर मासिएको बताउँछन् । अव्यवस्थित रूपमा नाली निर्माण गर्दा निरयघाट कुरुप बनेको उनको भनाइ छ । सडक स्तरोन्नतिपश्चात खनियाघाटवासीको जीवनशैलीमा परिवर्तन आउने आचार्य बताउँछन् ।

माझीबस्तीकी ७५ वर्षीया फूलमाया माझीले सडक व्यवस्थित बन्न थालेपछि धुलो र हिलो कम भएको बताए । पुस÷माघमा घाम ताप्न आँगनमा बस्दा धुलो उडेर एकैछिनमा फोहर बनाइदिने गरेको उनको भनाइ छ । सरकारले सडक स्तरोन्नति गर्न धेरै ढिला गरेको माझीले बताए ।

उक्त सडक स्तरोन्नति गर्न गत वर्ष जेठमा फेवा÷आशिष जेभीले जिम्मा पाएको थियो । रु सात करोड ५० लाखमा आगामी असार ३० गतेसम्म उक्त सडक कालोपत्र गर्ने योजना रहेको निर्माण कम्पनीका इन्जिनियर मनोज शर्माले जानकारी दिनुभयो । हालसम्म ६० प्रतिशत काम सकिएको उनको दाबी छ ।

“काम तीव्रगतिमा भएको छ, हामीहरूले योसँगै ढोडेनी र मूलपानी सडकको एकमुष्ट जिम्मा पाएका हौँ, जसका लागि रु ४९ करोड २१ लाखमा सम्झौता भएको छ, अहिले नाली निर्माण गर्ने, सडक फराकिलो बनाउने काम गरिरहेका छौँ”, इन्जिनियर शर्माले भने, “मौसमले साथ दिए यो महिनाभित्रमा निरयघाट सडक कालोपत्र गरिसक्ने छौँ ।”

सडकको सहजतापछि निरयघाटमा फेरि एकपटक चहलपहल बढ्ने देखिन्छ । शान्त वातावरण र स्वच्छ हावापानी रहेको निरयघाटमा मानव सेवा आश्रमको भवन निर्माणाधीन छ भने वृद्धाश्रम बनिसकेको छ । यस ठाउँलाई ध्यान केन्द्रका रूपमा विकास गर्न सके निरयघाट क्षेत्र सम्भावना हुँदाहुँदै पनि ओझेलमा परेकाले पर्यटन प्रवर्द्र्धन गर्न सडकले महत्त्वपूर्ण भूमिका खेल्ने बागलुङ नगरपालिकाका प्रमुख बुसन्तकुमार श्रेष्ठले बताए । निरयघाटलाई ‘इको टुरिजम’का रुपमा विकास गर्न सकिने उनको भनाइ छ ।

पर्वतको खनियाघाट, बागलुङको निरयघाट र माझीबस्तीलाई बागलुङ बजारसँग सिधा जोड्नका लागि पक्की सडक बनाउन थालेको उनको भनाइ छ । कृषि उत्पादनका हिसाबले निरयघाट उर्वर रहेकाले किसानले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न बढी सघाउ पुग्ने उनी बताउँछन् ।“नदी छेउमा रहेको हुँदा निरयघाटमा मत्स्यपालनको सम्भावना छ, तरकारीखेती, एग्रो टुरिजम पनि राम्रो हुने सम्भावना देखेका छौँ, धार्मिक उद्यान बनाउने योजना छ”, प्रमुख श्रेष्ठले भने ।

स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल प्रतियोगिता 

0

म्याग्दी मिडिया सोसाईटीको नवौं वार्षिकोत्सवमा मैत्रीपुर्ण फुटसल खेल सम्पन्न भएको छ । जिल्लामा क्रियाशिल पत्रकारहरुद्धारा संचालित सञ्चारमाध्यमहरुको साझा संस्था म्याग्दी मिडिया सोसाईटीको स्थापना दिवसको अवसरमा शनिबार बेनीमा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र आयोजक मिडिया सोसाईटी बीच मैत्रीपुर्ण फुटसल प्रतियोगिता संचालन भएको हो ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले उद्घाटन गर्नुभएको प्रतियोगितामा आयोजक मिडिया सोसाईटी तीनका विरुद्ध ६ गोल गर्दै विजेता बन्न सफल भयो । विजेता आयोजकलाई कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठ, नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी मिडिया सोसाईटी अध्यक्ष अमित विश्वकर्मा र जिल्ला फुटबल संघका अध्यक्ष कुमार बानियाँले ट्रफी ,मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रतियोगितामा चार गोल गर्न सफल आयोजक मिडिया सोसाईटीका सचिव राकेश शर्मा सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत हुनुभयो भने आयोजक टिमकै अर्का खेलाडी किरन कार्की उत्कृष्ट खेलाडी घोषित भई पुरस्कृत भए । कार्यक्रममा अध्यक्ष श्रेष्ठले फुटसल प्रतियोगिताले शारीरिक र मानसिक स्वास्थ्यलाई मजबुद बनाउन सहयोग पुग्ने बताए ।

उनले जिल्लाको सदरमुकाम बेनी खुल्लामञ्च सहित खेलकुद पुर्वाधारलाई प्राथमिकता दिने बताए । फुटसल लगायत खेलकुद प्रतियोगिताले सामाजिक सद्भाव कायम गर्न र खेलकुद क्षेत्रको प्रवद्र्धनमा महत्वपुर्ण भुमिका खेलेको प्रमुख आतिथि श्रेष्ठको भनाई थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतम र जिल्ला फुटबल संघका अध्यक्ष बानियाँले वार्षिकोत्सवको अवसरमा मिडिया सोसाईटीलाई शुभकामना ब्यक्त गरेका थिए । मिडिया सोसाईटी अध्यक्ष विश्वकर्माले संस्थाले स्थापनाकालदेखि नै जिल्ला स्थित संचालित सञ्चारमाध्यमको सवलीकरण र प्रवद्र्धनका लागि काम गर्दै आइरहेको बताए ।

पत्रकार तथा सञ्चारकर्मीबीच एकआपसमा सद्भाव बढाउन र फुटसल खेलको प्रवद्र्धनमा टेवा पुयाउने उद्धेश्यले प्रतियोगिता संचालन गरिएको उनको भनाई थियो । मिडिया सोसाईटी सचिव राकेश शर्माले संचालन गर्नुभएको कार्यक्रममा उपाध्यक्ष साधन राम्जालीले स्वागत मन्तव्य राख्नुभएको थियो । मिडिया सोसाईटी विक्रम संवत् २०७४ सालमा स्थापना भएको हो ।

error: Content is protected !!