Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 14

सम्पत्ति र सामाजिक प्रतिष्ठा आर्जनको माध्यम बन्यो तरकारी खेती

तरकारी खेतीबाट सम्पत्ति मात्रै होइन सामाजिक प्रतिष्ठासमेत प्राप्त हुन थालेपछि म्याग्दीका किसानहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।

जिल्लाको बेनी नगरपालिका, मंगला, मालिका र रघुगंगा गाउँपालिकाका एकसय ३० भन्दा बढी युवाहरु वैदेशिक रोजगारीबाट फर्केर व्यवसायिक रुपमा नै तरकारी खेती र पशुपालन गरी विदेशको भन्दा बढी आम्दानी गर्न सफल भएका छन् ।

आफ्नै गाउँमा बसेर पिता पुर्खाले पसिना बगाएको खेतबारीमा नै विदेशको भन्दा बढी कमाइ र समाजमा प्रतिष्ठा हुन थालेपछि कैयौं युवाहरुले विदेश जाने विचार छोडेर गाउँमा नै तरकारी, फलफूल खेती र पशुपालन सुरु गरेका रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।

रघुगंगा गाउँपालिका वडा नं ६,५ र ३ का युवाहरु पछिल्लो समय भेडाबाख्रा पालन, तरकारी र फलफूल खेतीतिर आकर्षित भएपछि गाउँपालिकाले सहुलियत र सुविधाहरु दिनुका साथै उनीहरुलाई गाउँपालिकाले तालिम र सीप समेत प्रदान गरेको उहाँले बताउनुभयो ।

यहाँका व्यवसायिक किसानहरुले आफ्नै खेतबारीको माटोसंग खेल्दै,रमाउँदै गरेको मिहिनेतले उनीहरुको जीवन कायापलट भएको छ । बेनी नगरपालिका-२ का चन्द्रबहादुर कार्की, शोभित सापकोटा, हरिलाल घिमिरेलगायत जिल्लाका धेरै किसानहरुका लागि तरकारी खेती बरदान सावित भएको छ ।

व्यवसायिक रुपमा तरकारी खेती गरेका यहाँका किसानहरुले तरकारी विक्रि गरेर सम्पत्ति मात्र कमाएका छैनन् सामाजिक मान र प्रतिष्ठा पनि आर्जन गरेका छन् ।

सापकोटा, कार्की र घिमिरेको विगत अत्यन्त दयनीय भए पनि अहिलेको अवस्था देख्दा धेरै मानिसहरु लोभिने गर्दछन् । सानैमा बुबाको मृत्युभएपछि १८/२० वर्षको उमेरसम्म दुःख र अभावबाहेक अरु केही नपाउनुभएका बेनी नगरपालिका २ खबराका ४५ वर्षिय सोभित सापकोटा अहिले आरसिसि पक्की घरमा बसेर घर वरिपरि गरेको तरकारी र फलफूल खेतीलाई हेर्दै सुखद वर्तमानमा रमाइरहनुभएको छ ।

जिल्लाका विभिन्न संघसंस्थाहरुबाट पटकपटक सम्मानित भैसक्नु भएका सापकोटाले तरकारी र फलफूल विक्रि गरेर नै बार्षिक रु दशलाख भन्दा बढी आम्दानी हुनेगरेको बताउनुभयो ।

सापकोटाले १७ रोपनी जग्गामा तरकारी र फलफूल खेती गर्नुभएको छ । उहाँको बारीमा सदाबहार तरकारी झुलिरहेका र फलफूलहरु लटरम्मे फलिरहेका हुन्छन् । तरकारी र फलफूल खरिद गर्न व्यापारीहरु घरमा नै आउने भएकाले बजारको कुनै समस्या नभएको उहाँले बताउनुभयो । तरकारी बेचेर नै उहाँले खबरामा आरसिसि घर बनाउनुभएको छ । छोरोछोरीलाई सहरका महंगा स्कुल र कलेजमा पढाउनुभएको छ । मोटरसाइकलदेखि सूचना प्रविधि र आधुनिक कृषि उपकरणहरुको भरपुर प्रयोग गर्दै मनग्गे लाभ लिन सफल हुनुभएको छ ।

त्यसैगरी बिहानको मिर्मिरेदेखि साँझको झिसमिसेसम्म माटो, मल, पानी र विरुवासँग खेलिरहने खबराकै चन्द्रबहादुर कार्कीको जीवन तरकारी खेतीबाट नै हराभरा भएको छ । हँसिला र फरासिला६० वर्षिय कार्की म्याग्दीका अग्र्यानिक तरकारीका पिता समेत मानिनुहुन्छ ।

कार्कीका लागि घर अगाडिको तरकारी बारी नै युरोप र अमेरिका सरह भएको छ। ४० वर्ष अघिदेखि व्यावसायिक तरकारी खेती सुरु गर्नुभएका कार्कीले तरकारी फलाएर नै सम्पत्ति र सम्मान दुवै कमाउनुभएको छ ।

तरकारीको बिऊ र विरुवासमेत आफ्नै नर्सरीमा उत्पादन गरेर व्यावसायिक अग्र्यानिक तरकारी खेती गर्ने कार्कीले तरकारी बेचेरै रु १२ लाखभन्दा बढी आम्दानी हुने बताउनुहुन्छ ।कार्कीले १५ रोपनी जग्गामा व्यवसायिक तरकारी खेती गर्नुभएको छ ।

म्याग्दीको पर्यटकीय स्थल लभ्लीहिलको तल्लोपट्टि २० मिटरको दुरीमा छ म्याग्दीका अगुवा कृषक कार्कीको भव्य पक्की घर । घर अगाडिको २२ रोपनी जग्गामा फलेका छन् गोलभेंडा, काउली, बन्दाकोबी, मूला, गाजर, सिमी, काँक्रा, साग, प्याज, लसुन, धनियाँ र अरू धेरै तरकारी। घरको माथिल्लोपट्टि एउटा टिनले छाएको छाप्रोमा छ उहाँको पसल। पसलमा फलफूल र तरकारी छन् । लभ्लीहिल जाने पर्यटक त्यही पसलमा फलफूल र तरकारी किनेर फर्किने गर्छन्।

तरकारी मात्रै होइन सापकोटा र कार्की दुवैले फलफूल खेती, बाख्रापालन र माछापालन पनि एकसाथ गरेका छन् । कार्कीले तरकारीसँगै केरा खेती र माछा पाल्नुभएको छ भनेसापकोटालेतरकारी,केरा र बाख्रापालनबाट आम्दानी लिन सफल हुनुभएको छ ।

एउटै गाउँका यी दुई जना कृषकको देखासिकी गरेर अहिले पूरै खवरा गाउँ नै तरकारी र फलफूलको गाउँमा परिणत भएको छ। २ सय ४० घरधुरीको बसोबास रहेको खबराका प्रायः सबै तरकारी र फलफूल खेतीमा लागेका स्थानीयवासी समेत रहनुभएका बेनी नगरपालिका २ ज्यामरुककोटका वडाअध्यक्ष यामबहादुर कार्कीले बताउनुभयो ।

सापकोटा र कार्कीले उपभोक्ता स्वास्थ्यको हितमा हुने गरी तरकारी उत्पादन गर्दै आउनुभएको स्थानीयको भनाइ छ । विषादीका कारण स्वास्थ्यमा प्रत्यक्ष असर गर्छ भन्ने सुनेका सापकोटा र कार्कीलाई कहिल्यै पनि तरकारीमा विषादी प्रयोग गर्ने र क्षणभरमै मालामाल हुने मन नआएको वडाअध्यक्ष कार्कीले बताउनुभयो ।

त्यसैगरी जीवनको उत्तरार्धमा अम्बोटका हरिलाल घिमिरले पनि तरकारी खेतीबाट नै मनग्गे आम्दानी लिन सफल हुनुभएको छ । जीवनको उर्मर समय साउदी अरव र मलेशियामा विताउनुभएका ५२ वर्षिय घिमिरेले १० वर्ष अघिदेखि व्यवसायिक तरकारी खेतीको सुरुवात गर्नुभएको हो । यो अवधीमा उहाँले १८ वर्षसम्म साउदी र मलेशियामा बसेर कमाउन नसकेको पैसा तरकारी खेतीबाट १० वर्षमा नै कमाइसक्नु भएको छ ।

सापकोटा, कार्की र घिमिरे यी तीनजना कृषक प्रतिनिधि पात्र मात्र हुन् । म्याग्दीमा पछिल्लो समय व्यावसायिक अग्र्यानिक तरकारी खेती गरेर सम्पत्ति र सम्मान कमाउने किसानको संख्या बढ्दै हुँदै गएको छ। कृषि ज्ञान केन्द्र म्याग्दीकाअनुसार जिल्लाका ५० भन्दा बढि कृषकहरुले व्यवसायिक तरकारी खेती गरेका छन् । उनीहरुले तरकारी खेतीबाट नै मनग्गे आम्दानी गर्न सफल भएका कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

फुटसल प्रतियोगिताको उपाधी द रियल म्याग्दीलाई

अष्ट्रेलियामा रहेका म्याग्देलीहरुको संस्था द रियल म्याग्दी क्लव युथिफाई फुटसल टूर्नामेन्टको च्याम्पियन बनेको छ । प्रतियोगितामा फेवा एफसीलाई २–१ गोल अन्तरले पराजित गदैं द रियलले उपाधी जितेको हो ।

प्रतियोगिताका बिजेता र उपविजेताले क्रमश ५ हजार डलर, २ हजार डलर ट्र«फी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा कुल ३२ टिमले सहभागिता जनाएका थिए । क्लबले जितेको पुरस्कारलाई म्याग्दीमा हुने खेलकुदमा प्रायोजन समेत गर्ने गरेको छ । गत महिना एभरेष्ट ग्लोवल एजुकेशनको मुख्य प्रायोजकमा क्लबले प्रथम फाइभ ए साइड फुटसल प्रतियोगिता समेत आयोजना गरेको थियो ।

 

मोना अस्ट्रेलियाको भलिबल र बास्केटबल सम्पन्न

म्याग्दी प्रवासी नेपाली संघ (मोना) अस्ट्रेलियाले आयोजना गरेको नबौ मोना कपको खुल्ला पुरुष भलिबल तर्फको उपाधि आयोजकले जितेको छ । फाइलनलमा पोखरा भलिबल क्लबलाई सोझो सेटमा पराजित गर्दै मोनाले उपाधि जितेको हो ।
प्रतियोगितामा उत्कृष्ट लिबेरो राजेश हमाल, ब्लकर पारश भण्डारी,सेटर दीपक थापा मगर, स्पाइकर मानबहादुर श्रेष्ठ र उत्कृष्ट खेलाडी रबिन चन्द ठकुरी घोषित भएको मोना अस्ट्रेलियाका प्रबक्ता गकुल भण्डारीले जानकारी दिनुभयो ।

त्यस्तै महिला भलिबलमा म्याग्दी काली युनाइटेडले उपाधी जितेको छ भने उपविजेता छन्त्याल परिवार अष्ट्रेलियाले जितेको छ। महिलातर्फ सर्वोत्कृष्ट डिफेन्डर सञ्जु पुर्जा,उत्कृष्ट खेलाडी सरस्वती चौधरी,सर्वोत्कृष्ट सेटर मिया पुन, सर्वोत्कृष्ट सर्भर आशा क्षेत्री र सर्वोत्कृष्ट स्पाइकर कामना विष्ट हुनुभएको छ ।

त्यस्तै बास्केटबल प्रतियोगिताको उपाधी वाइल्ड याक्स,उपविजेता स्लेयर्स बास्केटबल भएको छ । प्रतियोगितामा लिग एमभीपी कुङ्गा शेर्पा, सर्वाधिक स्कोरर–अनिश शाही ठकुरी, एभीपी कर्मा लामा,उत्कृष्ट प्रतिभाशाली खेलाडी गणेश मल्ल, पोइन्ट गार्ड मिलन पुरी डिफेन्डर राकेश श्रेष्ठ,फेयर प्ले टोली नेपाली बास्केटबल एडिलेड र उत्कृष्ट खेलाडी तुफान शाही ठकुरी घोषित भएको मोनाका महासचिव बाबुराम पौडेलले बताउनुभयो ।

सोही अवसरमा आयोजित भेटान्स प्रतियोगितामा मोना अस्ट्रेलिया विजेता भएको छ । प्रतियोगिताको अवसरमा अध्यक्ष शुसन श्रेष्ठले म्याग्दी जिल्लालाई चिनाउने फोटो प्रतियोगिता, खेलकुद सहित अन्य विभिन्न सामाजिक कार्यमार्फत मोनाले कर्मभुमी र जन्मभुमीमा आफ्नो जिम्मेबारी पुरा गरेको बताउनुभयो ।

जामुनाखर्क माविमा ‘कोर भ्याल्यु एजुकेसन’को विषयमा सचेतना

 ‘आफूले आफैलाई माया गरौं’ भन्ने मूल नारासहित कोर भ्याल्यु एजुकेसन सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको संयुक्त आयोजना तथा मिलनको व्यवस्थापनमा सोमबार जामुनाखर्क माध्यमिक विद्यालय अर्थुङ्गेमा कार्यक्रम गरिएको हो ।

बेनी नगरपालिका वडानम्बर ६ वडा कार्यालय र विद्यालयसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । समुदायस्तरमा हुने विभिन्न किसिमका हिंसा तथा आत्महत्या रोकथामलगायत विविध विषयहरुमा सचेतना जगाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको जनाइएको छ । विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थीहरुमार्फत समुदायमा सचेतना फैलाउने लक्ष्यसहित विद्यालयमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै बेनी नगरपालिका ६ नम्बर वडाका वडा अध्यक्ष कृष्णसिङ बानियाँले हिंसाको न्यूनीकरण गरी सुमदायमा सचेतना फैलाउनुपर्ने दायित्व आम सरोकारवाला निकाय सबैको रहेको बताउनुभयो । उहाँले विद्यालय तहबाट वास्तविक जीवन के हो र जीवनको महत्वका बारेमा समुदायस्तरमा सचेतना अभिवृद्धि गर्न आवश्यक रहेको बताउँदै राज्य र राज्यका निकायबाट सञ्चालित सचेतना सम्बन्धी कार्यक्रमहरुको पूर्ण रुपमा प्रभावकारी कार्यान्वयन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले पछिल्लो समय विभिन्न गतिविधिका कारणले मानिस आफूले आफैलाई सिध्याउने काममा लागिपरेको बताउँदै त्यस्ता गलत क्रियाकलापहरुलाई रोक्नको लागि कार्यालयमार्फत सचेतनाका कार्यक्रम सञ्चालनमा जोड दिइएको बताउनुभयो । उहाँले विद्यालय र समुदायस्तरमा सचेतना फैलाएर आपराधिक क्रियाकलापहरुलाई निरुत्साहित गर्न सबै लाग्नुपर्ने भन्दै गलत क्रियाकलाप रोक्न तथा नियन्त्रणको लागि सकारात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो । विद्यालयमार्फत समुदायका नागरिकहरुमा सचेतना फैलाउन कोर भ्याल्यु एजुकेसनको कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक गोविन्द सुवेदीले आत्महत्या रोकथाम सम्बन्धी सचेतना, प्रदेश अस्पताल बेनी म्याग्दीका मनोसामाजिक परामर्शकर्ता सरिता अर्यालले मानसिक स्वास्थ्यको सचेतना र मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालुले आत्महत्या न्यूनीकरणमा समुदाय तथा सरोकारवालाको भूमिकाको विषयमा सहजीकरण गर्नुभएको थियो । सामाजिक विकास कार्यालय प्रमुख सुवेदीले उद्देश्यसहित प्रकाश पार्नुभएको कार्यक्रमको मिलन म्याग्दीका कर्मचारी राम खड्काले सञ्चालन गर्नुभएको थियो ।

जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा सदस्यद्वय शारदा राना, राधिका विश्वकर्मा, शिक्षक अभिभावक संघका अध्यक्ष मुक्तिनाथ शर्मा, सौन्दर्यकला व्यवसायी संघ म्याग्दीका अध्यक्ष गंगा थापा कार्की, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँ विद्यालयका शिक्षक, अभिभावकहरु र विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

यसैगरी आइतबार मंगला गाउँपालिका–२, बाबियाचौरस्थित मंगला शिक्षा क्याम्पसमा पनि गाउँपालिका र क्याम्पसको समन्वयमा कोर भ्याल्यु एजुकेसन सम्बन्धी विषयमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो । त्यस्तै शनिवार रघुगंगा गाउँपालिका–३, पिप्लेको दुलेपानी टोलमा समेत वडा कार्यालयसँगको समन्वय र मालिका आधारभूत विद्यालयको व्यवस्थापनमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिसकिएको मिलन म्याग्दीले जनाएको छ ।

चिटिक्क बेनीबजार (फोटो फिचर)

चिटिक्क बेनीबजार: म्याग्दीको सदरमुकाम बेनीबजारस्थित म्याग्दी र कालीगण्डकी नदीको किनारमा हालै ढलान गरेर बनाइएको पक्की सडक । सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय बागलुङमार्फत बेनीबजारभित्र सवारीसाधनको चाप घटाउन कालीपुलदेखि खुलामञ्चको नदि किनार भागमा ९ सय मिटर सडक ढलान गरिएको छ । तस्बिर: हरिकृष्ण गौतम

मुक्तिनाथ धर्मशाला स्तरोन्नति गरिँदै

मुक्तिनाथ दर्शन गर्न आउने तीर्थयात्रीको सेवासुविधाका लागि निर्माण गरिएको मुस्ताङस्थित बारागुङ मुक्तिक्षेत्र– १ पुराङ रानीपौवाको २१८ वर्ष पुरानो धर्मशालाको स्तरोन्नति सुरु गरिएको छ । राणा शासनको समय कालखण्डमा तत्कालीन राजा रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले मुक्तिनाथ दर्शन गर्ने क्रममा त्यहाँ धर्मशाला निर्माण गराएकी थिइन् ।

रानी सुवर्णप्रभाले परिवारको सुख, शान्तिको कामना गर्दै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थी भक्तजनलाई खान र बस्नको असुविधा नहोस् भन्ने उद्देश्यले धर्मशाला स्थापना गरेकी थिइन् । रानीद्वारा धर्मशाला निर्माण गरिएकाले उक्त धर्मशालालाई रानीपौवा धर्मशाला नामकरण गरिएको मुक्तिनाथ रानीपौवा धर्मशाला रेखदेख तथा व्यवस्थापनमा खटिएका स्वामी भरत कोइरालाले बताए ।

उनका अनुसार प्राचीन शैलीमा ढुङ्गा र माटोले निर्माण गरिएको दुईतले रानीपौवा धर्मशालामा २१ वटा भक्तजन बासबस्ने कोठा छन् । ‘धर्मशाला पुरानो र जीर्ण हुँदै गएपछि यहाँ बास बस्ने भक्तजन, साधुसन्त र पुजारीलाई समस्या पर्दै आइरहेको थियो । भक्तजनको समस्यालाई मध्यनजर गर्दै जगद्गुरु स्वामी कमलनयनाचार्यको पहलमा धर्मशालाका मर्मत सुरु गरिएको हो’, उनले भने ।

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र पुरातत्व विभागको लागत साझेदारीमा ७४ लाख बजेटमार्फत मुक्तिनाथ धर्मशाला मर्मत सुरु गरिएको निर्माण कम्पनीका प्रतिनिधि रमेश गुरुङले जानकारी दिए । उनका अनुसार धर्मशालाको साविक सौन्दर्य नबिग्रिने गरी स्तरोन्नति भइरहेको छ ।

धर्मशालाको लिपपोत, रङरोगन, शौचालय र बाथरुम, झ्यालढोका मर्मत गर्नुका साथै धर्मशालाको छतमाथि काठको फलेक बिछ्‌याएर अलकत्रा राखी वातावरणमैत्री प्लास्टिकसहित सख्खर माटो बिछ्याउने काम भइरहेको गुरुङले बताए ।

‘धार्मिक पुण्यकार्यको ठेक्का लिएको हुँ, नाफाभन्दा पनि बजेट अनुसारको गुणस्तर कायम गर्ने पक्षमा छौँ’, उनले भने, ‘सम्झौताअनुसार शतप्रतिशत हुनेगरी काम गरिरहेका छौँ । यो मुक्तिनाथको दर्शनार्थीका लागि भएकाले सेवा गर्ने मौका पनि हो ।’

व्यवस्थापनमा खटिएका स्वामी कोइरालाले रानीपौवा धर्मशाला पुरानो र जीर्ण हुँदा तीर्थयात्रा, साधुसन्त र पुजारीलाई खान र बस्न समस्या भएपछि स्तरोन्नतिको पहल थालिएको बताए ।

‘धर्मशालाको छत माथिबाट पानी चुहिने गर्दथ्यो, शौचालय र बाथरुमसमेत जीर्ण थिए’, उनले भने, ‘सम्झौताअनुसार ठेकेदारले रङरोगन र मर्मतको काम तीव्र गतिमा गरिरहेका छन् । मर्मतपछि यहाँ आउनेलाई भक्तजनलाई बास बस्न सहज हुनेछ ।’

धर्मशाला मर्मतको काम दुई सातादेखि भइरहेको स्वामी कोइरालाले जानकारी दिए । ‘असार मसान्तसम्म सम्पन्न काम सक्ने निर्माण कम्पनीले प्रतिबद्धता जनाएको छ । अहिले रङरोगन, भित्ता लिपपोत र छतलाई स्तरोन्नति गरिरहेको छ’, उनले भने ।

रानीपौवा धर्मशाला रणबहादुर साहकी माइली श्रीमती सुवर्णप्रभाले निर्माण गरेको मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए । ‘मुक्तिनाथ क्षेत्रको ६ रोपनी १२ आना क्षेत्रफलमा रानीले प्राचीन शैलीमा भक्तजनको आवास र भोजनको प्रबन्ध मिलाउन धर्मशाला स्थापना गर्नुभएको हो’, उनले भने ।

यहाँ बाह्य धार्मिक पर्यटकका साथै म्याग्दी, पर्वत, स्याङ्जालगायत जिल्लाबाट भक्तजन आउने पुजारी सुवेदीले उल्लेख गरे । मुक्तिनाथ र धर्मशालाका लागि खाद्यान्नलगायत अन्नबाली उत्पादन गर्न रानी सुवर्णप्रभाकै पालामा सदावर्त गुठी स्थापना भएको उनको भनाइ छ । यसरी गुठीको जग्गा सदावर्त गुठीले रानीपौवा धर्मशालामा चढाउने गरेको उनले बताए ।

‘मुक्तिनाथ मन्दिर र धर्मशालाका नाममा म्याग्दी, पर्वत र स्याङ्जामा रहेका गुठी जग्गामध्ये कतिपय रैथानेमा परिणत भइसकेको छ भने कतिपय सदावर्त गुठीको नाममा छ’, पुजारी सुवेदीले भने । उनका अनुसार सदावर्त गुठीको नाममा रहेको जग्गा कमाउने व्यक्तिले दुई दशकदेखि अधियाको भागबण्डा बुझाउन छोडिसकेका छन् ।

विसं २०४६ सम्म म्याग्दीमा उत्पादन भएको सदावर्तको अन्नबाली बुझाउने गरिएको भन्दै त्यसपछि क्रमशः जग्गा कमाउने व्यक्तिले अन्नबाली बुझाउन छोडिसकेको उनले जानकारी दिए ।

रासायनिक विषादीको विकल्प सिकाउँदै कृषि ज्ञान केन्द्र

कृषि ज्ञान केन्द्रले खाद्यवस्तु, तरकारी तथा फलफूल उत्पादनमा विषादी प्रयोगको बढ्दो क्रमलाई न्यूनीकरण गर्ने उद्देश्यले किसानलाई एकीकृत शत्रुजीव व्यवस्थापन प्रणाली (आईपीएम) सिकाएको छ ।

कृषि ज्ञान  केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले ‘लर्निङ बाइ डोइङ सिइङ बाइ बिलिभिङ’को सिद्धान्तअनुसार सैद्धान्तिक तथा प्रयोगात्मक रूपमा सीप सिकाउने कार्य गरिरहेको जानकारी दिए । किसानलाई प्रयोगात्मक रूपमा मैदानमा नै प्रशिक्षण दिइएको हो । विशेषगरी विषादीको बढ्दो प्रयोगलाई न्यूनीकरण गर्ने लक्ष्य छ ।

कृषि उपज उत्पादनमा जोडिएका कृषकलाई सचेत बनाउन आईपीएम कृषक पाठशाला कार्यक्रम ल्याइएको हो । कृषि ज्ञान केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले विषादीरहित उत्पादनले हाम्रो  स्वास्थ्यमा असर गर्ने गरेको अवस्था रहेकोले यसलाई विषादी प्रयोगमा न्यूनीकरणलाई निरुत्साहित गर्न रासायनिक विषादीको विकल्प सिकाउन आवश्यक रहेको बताए ।

उनले तालिममार्फत नै विषादीको असर, विकल्प र उत्पादित उपजको बजारीकरणसम्म सिकाएकाले किसानलाई व्यावहारिक रूपमा नै सहयोग पुगेको दाबी गरे । सोह्र दिनसम्म सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिइएको उनको भनाइ छ ।

यसैबीच, ज्ञान केन्द्रको समन्वयमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा व्यास नगरपालिका– १ कुन्छाली टोलका किसानलाई आईपीएम प्रणालीमार्फत बिरुवा रोप्न, टिप्न र बजारीकरणसम्म सिकाइएको छ । यहाँका २४ किसानलाई प्रशिक्षण दिइएको छ । विषादीरहित उपजको बजारीकरणमा समेत सहज हुने अपेक्षा गरिएको छ ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले रोजगार सृजना गर्न सहज भएको अवस्थामा कृषि क्षेत्र राम्रो विकल्प भएको बताए । उनले भने, ‘आयातित उपज बढ्दो छ । यी वस्तुमा परीक्षणको क्रममा विषादी अधिक भएको पाइएको खबर सुनिन्छन् । विषादी प्रयोग न्यूनीकरण गर्न आईपीएम प्रविधि उपयुक्त छ । एक ठाउँमा मात्र नभई अन्य क्षेत्रका किसानलाई पनि सचेत गराउन आवश्यक रहेको छ ।’

बढ्दो तरकारीको आयात रोक्न हाम्रै गाउँघरमा विषादीरहित उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने नगरप्रमुख न्यौपानेले बताए । ‘सबै तहका सरकारको समन्वयमा यस्ता स्वस्थ खानेकुरा उत्पादनलाई प्रेरित गर्दा हामीलाई नै फाइदाजनक रहेको छ’, उनले भने ।

किसान आनन्द भुजेल घर्तीले भने, ‘हामीले विषादी प्रयोग गरेर आफैँलाई अस्वस्थ बनाइरहेका रहेछौँ । कृषिको प्रशिक्षणले सचेत गराएको छ । हामीले आफैँले स्थलगत रूपमा नै प्रयोगमा ल्याउन सक्यौँ । उत्पादन पनि रामो भयो । हामी अत्यन्त खुसी छौँ ।’ वडाको समन्वयमा नगरपालिकाले सिँचाइका लागि बजेट व्यवस्थापन गरिदिएपछि आईपीएम प्रविधिको प्रयोगबाट सिकाइ सिकिएको उनको भनाइ छ ।

कृषक रीता घर्तीले अञ्जानमै विषादी खाएको तालिमकै क्रममा थाहा पाएको र यसलाई रोक लगाउन प्रशिक्षणले सहयोग पुगेको बताइन् । अञ्जानमा प्रयोगमा ल्याइएका विषादीयुक्त खानेकुरा उत्पादनलाई निरुत्साहित गर्न किसानलाई सिकाउन आवश्यक रहेका उनको भनाइ छ । यस्ता चेतनामूलक सिकाइले सचेत गराएको र समयसमयमा यस्ता तालिम दिइरहने अपेक्षा रहेको बताइन् । (रासस

विकट गाउँ पात्लेका १२२ घरपरिवारलाई खानेपानी सुविधा

मालिका गाउँपालिका–३ पात्लेमा ‘एक घर, एक धारा’ को सुविधा पुगेको छ । ६५ लाख ५७ हजार दुई सय ७७ को लागतमा निर्माण भएको पात्ले खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनामार्फत एक सय २२ घरपरिवारमा बसोबास गर्ने पाँच सय ८९ जनसङ्ख्या लाभान्वित भएका छन् ।

उपभोक्ता संस्थाका सचिव धनबहादुर रोकाका अनुसार घरघरमा धारा निर्माण गरेर खानेपानी वितरण गरिएको छ । नेपाल पानीका लागि स्वास्थ्य (नेवा) संस्थाको ३३ लाख ३७ हजार ३२५ र मालिका गाउँपालिकाको १४ लाख ७२ हजार ५३ अनुदान प्राप्त भएको योजना निर्माणका लागि उपभोक्ताले १७ लाख आठ सय ९९ बराबरको श्रमदान गरेका छन् ।

पात्लेमा रहेको सामुदायिक विद्यालयमा पनि धारा जडान भएको छ । चारवटा मुहानको पानीलाई १२ हजार पाँच सय २७ मिटर लामो मुख्य र शाखा पाइपलाइनमार्फत नौवटा ट्याङ्की बनाएर वितरणको व्यवस्था मिलाएको नेवाका प्राविधिक रुपक थापाले जानकारी दिए ।

म्याग्दीको भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने पात्लेका बासिन्दाले यसअघि सार्वजनिक धारामार्फत खानेपानी उपभोक्ता गर्दै आएका थिए । करिब २० वर्षअघि निर्माण भएको योजनाको संरचना जीर्ण हुँदा पानी आपूर्ति र वितरणमा समस्या भएको थियो ।

स्थानीयवासी बलबहादुर रोकाका अनुसार, घरघरमा धारा जडान गरेर पानी वितरण भएपछि समयको बचत, झन्झटबाट मुक्ति, सरसफाइमा सहज भएएपछि उपभोक्तामा खुसीयाली छाएको छ । धाराको नजिकै भाडा सुकाउने पक्की चाङ पनि निर्माण भएको छ । पानीको मितब्ययी प्रयोग र आयोजनाको दिगो सञ्चालनका लागि धारामा मिटर जडान भएको छ ।

मालिका गाउँपालिका र नेवा संस्थाको साझेदारीमा आर्थिक वर्ष २०८१/८२ मा मालिका गाउँपालिका–३ मा पात्ले, लुम्पीपार र डाडागाउँमा तीनवटा योजना निर्माण भएको छ । ती योजनाबाट चार सय घरपरिवार लाभान्वित भएको वडाध्यक्ष मोतिप्रसाद बुढाले बताए । डाडागाउँ, किटेनी, औल, सराग्दी, स्यागलुङ, पात्ले र लुम्पीपार टोलमा खानेपानी सुविधा विस्तार भएको उनले बताए ।

नोटमा बिकेको भोट…

पेट खाली, खल्तीमाप्वाल,
भोलिको सपना– आजै बेच्नुप¥यो ।
आयो नेताजी, चम्किलो गाडी चढेर
हातमाकागजको मुठो बोकेर,
कुनै सिद्धान्त होइन,
नोटको गड्डी!
भने–“लिउँ है हजुर! भोट दिए पुग्छ!”
र म…
पसलमामुस्किलले पाँच रुपैयाँको बेसार किन्ने म,
हजारको नोट देखेपछि
न त आँखाले हेर्न सक्यो,
न त विवेकले केहीभन्न सक्यो ।
मैले सोचेँ –
“यो पैसा त केवल एकपल्टको भोटको हो,
तर घरमा त हप्तादिनको चामल आउँछ!”
र म…
सपनाहोइन,
भोकको तौलमातौलिएँ!
नेताजीको भाषण तटेलिभिजलमा सुनिन्छ,
तर मेरा छोराछोरीका रुँदै गरेकाअनुहार
त टेलिभिजलमादेखिदैन नि!
त्यसैले भोट बेचेँ,
हर्षित अनुहारमालाजको छायासँगै।
अब…
उहाँमन्त्रीबन्नुभयो,
भन्दै हिँड्नुहुन्छ–
“हामीलाई जनताले विश्वास गरेका छन् !”
हामीले???
नोटले जितेको थियो नि भोट त!
विश्वास त चुल्होमा खरानीभएको थियो!!
किनभने हामीले पनि–
नोटमा भोट बेच्नसिक्यौँ,
अनिफेरि वर्षौँ कराउँदै हिँड्न,
‘देशबरबादभयो’भन्नसिक्यौँ ।
नोटमा बिकेको भोटले
देश डुबाउँछ भन्नु सजिलो छ,
तर साँचो कुरो त के हो भने–
हामी सबै डुबेकाहरूको भिडमा
आ–आफ्नो पापको बोझचुपचापबोकेर हिँडिरहेका छौँ ।

सञ्जय जुग्जाली, मालिकागाउँपालिका –७, बिम, म्याग्दी

 

म्याग्दीमा संघीय आयोजनाका झण्डै अर्ब बजेट

आगामी आर्थिक वर्ष २०८२÷०८३ मा म्याग्दी जिल्लामा सञ्चालन हुने आयोजनाहरुका लागि संघीय सरकार मार्फत झण्डै बजेट बिनियोजन भएको छ । म्याग्दीबाट निर्वाचित प्रतिनिधीसभा सदस्य समेत रहेका उर्जा, जलस्रोत तथा सिचाई राज्यमन्त्री खमबहादुर (खम्बिर)ले सडक, नदी नियन्त्रण, खानेपानी, झोलुङ्गे पुल, बस्ती विकास सम्बन्धी योजनाका लागि विभिन्न शिर्षकमा अर्बको हाराहारीमा बजेट भित्राएका छन् ।

नीति तथा कार्यक्रम प्रस्तुत भएपछि राज्यमन्त्रीको सपथ खाएका गर्बुजाले अन्तिम चरणमा भएपनि म्याग्दीमा आफ्नो मन्त्रालय मातहतबाट विभिन्न शिर्षकमा बजेट विनियोजन गर्न सफल भएको प्रमुख स्वकिय सचिव श्रीप्रसाद रोकाले बताए ।

उनका अनुसार सदरमुकाम बेनीबजार तटबन्ध निर्माणको लागि, खहरेखोला–छिस्बाङ–खोप्ती –दरबाङ सडक, सिमलचौर–मिथौला–कुकुर विसौना–पुर्णगाउँ सडक स्तरोन्नती, रुन्मा–मगरदाङ–जुग्जा सडक स्तरोन्नती, पात्लेखोला–नेपाने–मौवाफाँट–बान्द्रे जोद्रेघाट पुल, चिप्लो पहिरो–दग्नाम –दर्मिजा–चिमखोला–घ्यासीखर्क सडक, तोरीपानी– दावा –धोलथान सडक, लमसुङ–लुलाङ–गुर्जा सडक योजनालाई प्रति आयोजना तीन करोड बजेट विनियोजन भएको छ ।
बृहत घोप्टेखोला खानोपानी खानेपानी आयोजना,बृहत पिप्ले खानेपानी आयोजना, बेनी बजार खानेपानी आयोजना, रत्नचौर ज्यामरुककोट–भकिम्ली–बरङ्जा सडक (पुरानो क्रमागत योजना)लाई तीन करोड विनियोजन भएको स्वकीय सचिव रोकाको भनाई छ ।

त्यस्तै बृहत चिमखोला–भगवती खानेपानी आयोजनालाई चार करोड, ढोवा पोखरेबगर खानेपानी आयोजनालाई २५ लाख,अन्नपुर्ण गाउँपालिका–२, ३ र ४ का विभिन्न ठाउँमा कालीगण्डकी र सहायक नदी नियन्त्रण योजनालाई पाँच करोड, रघुगंगा–४ मा विभिन्न ठाउँमा पहिरो नियन्त्रण तथा रोकथाम आयोजनालाई चार करोड, जलस्रोत संरक्षण आयोजनालाई ७० लाख, एकिकृत नदी बेसीन सिंचाइ तथा जलस्रोत व्यवस्थापन अन्तर्गत विभिन्न योजनालाई आठ करोड, बजार तथा बस्ती संरक्षण अन्तर्गत विभिन्न आयोजनालाई ९ करोड, पहिरो व्यवस्थापनका लागि विभिन्न ठाउँमा तटबन्ध निर्माणका लागि तीन करोड ५० लाख लगायत रहेको राज्यमन्त्री गर्बुजाको सचिवालयले जनाएको छ ।

आगामी आर्थिक वर्षका लागि थप अन्य मन्त्रालयबाट विभिन्न शिर्षकका आयेजनालाई बजेट विनियोजन भएको राज्यमन्त्री गर्बुजाले बताए । ‘विकास निर्माणका लागि अझै धेरै योजना ल्याउने तयारी भइरहेको छ, म्याग्दीका सबै वडालाई जोड्ने गरी विभिन्न योजनामा काम भइरहेको छ’ राज्यमन्त्री गर्बुजाले भने ।

उनका अनुसार हाल विभिन्न योजनामा एक अर्ब विनियोजन भएको छ भने विभिन्न मन्त्रालयमा समेत म्याग्दीका योजनाहरूमा बजेट माग गरिएकाले यो क्रम बढ्ने बताए। राज्यमन्त्री गर्बुजाले सिमित स्रोतसाधन तथा बजेटको सिमाभित्र अधिकतम प्रयासबाट यो नजिता आएको बताए ।

उनले आफ्नो मन्त्रालयबाट नियमित कार्यक्रमहरूका साथै विद्युत र सिचाईमा दिर्घकालिन योजनाहरू बनाउने काम भइरहेको बताए । राज्यमन्त्री गर्बुजाले प्रदेश सरकारमा सिफारिस र हस्तान्तरण भएका योजनाहरुको बजेटको विवरणमार्फत पनि म्याग्दीमा सम्बोधन हुने बताए ।