Saturday, June 28, 2025
25.5 C
Beni
25.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 16

हिउँ चितुवा गुफामा धमाधम पुर्वाधार थपिदैं

मुस्ताङको घरपझोङ गाउँपालिका–५,ठिनीमा रहेको हिउँ चितुवा गुफा पर्यटकको आगमन बढेसँगै धमाधम पुर्वाधार विस्तार गरिएको छ । गुफाको अवलोकन गर्न आउने पर्यटकका लागि रेलिङ सहित पदमार्ग, पार्क, खानेपानीको धारा सहित तटबन्धनको काम भइरहेको छ ।

मनाङ जिल्लाकामा रहेको तिलिचो ताल जाने मुस्ताङको प्रवेशद्धारा तथा मुस्ताङ घुम्न आउने पर्यटकलाई भुलाउन र बसाई लम्बाउनका लागि पर्यटन तथा उद्योग कार्यालय मुस्ताङमार्फत २० लाख बजेट विनियोजन गरिएको जनमुक्ति यूवा क्लवका अध्यक्ष सञ्जय थकालीले बताउनुभयो । अध्यक्ष थकालीले भन्नुभयो,‘‘हिउँ चितुवा गुफामा आउने पर्यटकलाई सहज हुने गरी पूर्वाधार बनाउँदैछु ।’’

गुफा क्षेत्रलाई थप सौन्दर्ययुक्त बनाउन हिउँ चितुवाको शालिक बनाएर विशेषतालाई समेत उल्लेख गरिने क्लव अध्यक्ष थकालीको भनाई छ । आगामी बजेटमा हिउँ चितुवाको बासस्थान क्षेत्र सहित आसपासमा कलात्मक चित्र सहितको संरचनाका लागि गाउँपालिका, प्रदेश र संघीय सरकार समक्ष माग गरिएको स्थानीय यूवा निरज थकालीले बताउनुभयो ।
सिजनमा सडक सञ्जालबाट दैनिक २० जनाभन्दा बढी पर्यटक गुफाको अवलोकनका लागि आउने गरेका छन् ।

सदरमुकाम जोमसोम–ठिनी–ढुम्बाताल सडकदेखि गुफासम्म पुग्ने पदमार्ग समेत सरसफाईमा समेत स्थानीयले सक्रियता देखाउने गरेका छन् । गुफा आसपासमा अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापले क्यामेरा राखेर हिउँ चितुवाको भिडियो र फोटोहरू खिचेपछि यहाँ पर्यटकको आगमन बढेको हो ।

नीलगिरि हिमालको काखैमा रहेको ठिनी गाउँलाई ‘लुकेको हीरा’ को नामले समेत चिनिन्छ । थकाली बाहुल्य ठिनी गाउँबाट ढुम्बा ताल, घरपझोङ किल्ला, हिउँ चितुवा गुफा, कुछम तेरेङ्गा गुम्बालगायतका पर्यटकीय स्थलमा जानेलाई लक्षित गरी थकाली सामुदायिक घरवास र थकाली समुदायको संस्कृति र इतिहास झल्कने सङ्ग्रहालय रहेको छ ।

रोग, किरा र माटोमा अम्लियपनाका कारण म्याग्दीमा केरा उत्पादन घट्यो

विगत २५ वर्षदेखि खेतको फाँट, बारीका पाटा र खरबारी जतासुकै केरा खेती गरेर वार्षिक रु दुई करोड भन्दा बढी आम्दानी गर्दै आएका बेनी नगरपालिका २ खबराका कृषकहरु पछिल्ला केही वर्षयता केरा खेतिबाट राम्रो उत्पादन हुन छोडेपछि चिन्तित भएका छन् ।

खबरामा केरी खेतीको सुरुवात २५ वर्ष अघि स्थानीय मानबहादुर थापा र चन्द्रबहादुर कार्कीले गर्नुभएको थियो । त्यसपछि खबराका १६० घरधुरीले व्यवसायिक रुपमा केराखेती गरेर प्रतिघर वार्षिक रु ६ लाखदेखि १५ लाखसम्म भित्राउदै आएकोमा पछिल्ला दुई वर्षयता रोग,किरा र माटोमा देखिएको अम्लियपनाका कारण उत्पादनमा ह्रास आउँदा आम्दानी पनि घट्दै गएको स्थानीय कृषक ध्रुव सापकोटाले बताउनुभयो ।

२०५७ सालदेखि सुरु भएको खबराको केरा खेती अहिले खेतका गरादेखि खरबारी र बेनी–भकुण्डे सडकको छेउछाउसम्म फैलिएको छ । तर,खेती विस्तारसँगै रोग र किराको पनि प्रकोपले गर्दा उत्पादन पहिलाको जस्तो हुन छोडेपछि विकल्पको खोजीमा लाग्नुपर्ने अवस्था आएको अगुवा कृषक चन्द्रबहादुर कार्कीले बताउनुभयो ।

म्याग्दीको सदरमुकाम बेनी बजारबाट नजिकै पर्ने यो गाउँमा गरिएको केराखेतीमा खबटे किरा र बोट पहेलिने रोगका कारण बोटहरु पनि सुक्दै जान थालेका छन् ।

स्थानीय शोभित सापकोटाले विगत १० वर्ष देखि व्यवसायिक रुपमा केरा खेती गरेर वार्षिक रु सात लाख भन्दा बढि कमाउँदै आउनुभएकोमा विगत दुई वर्षयता रु चारदेखि पाँच लाखसम्म मात्रै आम्दानी हुनेगरेको बताउनुभयो ।

त्यसैगरी स्थानी शुभसागर सापकोटाले धान फल्ने खेत मासेर गरेको केराखेतीबाट आम्दानी घट्दै जान थालेपछि पुनः केराका घरी फाँडेर धान खेती गर्ने सोंच बनाएको बताउनुभयो ।

त्यस्तै १० रोपनी जमिनमा केरा खेती गर्दै आउनुभएका खबराकै हरि कुँबरले पनि केरा बिक्री गरेर वार्षिक रुपमा ६ लाख रुपियाँ बढी आम्दानी गर्दै आउनुभएकोमा गत साल रु चारलाख मात्र आम्दानी भएको र यस वर्ष तीन लाख पनि नहुने संकेत देखिएको बताउनुभयो । “केराका बोट पहेंलिएका छन्,कोसा पनि साना र थोरै लागेका छन् । बोट मर्दै गएकाले पुराना बोट फाँडेर नयाँ लगाउने योजना बनाएको छु ”कुवँरले भन्नुभयो ।

केराका बिरुवा नै पहेँलो हुने र बोटको फेदमा कुहिएर मर्न थालेपछि फल लागेका केराका बोट नै मर्ने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । दुई वर्षदेखि गाउँका केराका बोटको फेद कुहिने र बोट मर्न थालेपछि गाउँमा केरा उत्पादनमा ठूलो घाटा लाग्न थालेको बेनी नगरपालिकाका कृषि शाखा अधिकृत आकृति ढुङ्गानाले बताउनुभयो ।

वैदेशिक रोजगारीलाई सुरक्षित बनाउने विषयमा अन्तर्क्रिया

‘स्वदेशमा नै रोजगारी गरौं, वैदेशिक रोजगारीमा जाने नै भए, सही सूचना लिएर र सिप सिकेर मात्र जाऔं’ भन्ने मूल नारासहित आइतबार बेनीमा वैदेशिक रोजगार सम्बन्धी विषयमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।

बेनी नगरपालिका अन्तर्गत रहेको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको आयोजनामा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी विषयमा जिल्लाका पत्रकार तथा सञ्चारकर्मीहरुसँग अन्तर्क्रिया गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुका लागि नगरपालिकामार्फत सञ्चालित सुरक्षित आप्रवासन सामी कार्यक्रम प्रभावकारी बन्दै जान थालेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारी नेपालीहरुका लागि बाध्यता र आवश्यकता बन्नुका साथै अध्ययन गर्न जानेहरुलाई समेत सामी कार्यक्रममार्फत श्रम स्वीकृती लिएर विदेश जानेहरुलाई पूर्व सूचना, वित्तीय साक्षरता र मनोपरामर्श सेवालगायत आवश्यक कामहरुमा सहजीकरण गर्ने गरिएको बताउनुभयो । बेनी नगरपालिकाका नगर उपप्रमुख ज्योति लामिछानेले वैदेशिक रोजगारीलाई सुरक्षित र भरपर्दो बनाउन रचनात्मक खबरदारी तथा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले वैदेशिक रोजगारीमा जानेहरुले त्यहाँ पुगेर गर्नुपर्ने काम, पाउनुपर्ने सेवासुविधा र अन्य अवस्थाबारे पूर्व जानकारी लिएर मात्रै जाने वातावरण बनाउनुपर्ने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले बेनी नगरपालिकामार्फत सञ्चालित सामी कार्यक्रमले वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र भरपर्दो बनाउन सचेतना फैलाएर परामर्श दिने काम भैरहेको बताउनुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शर्माले वैदेशिक रोजगारीको वर्तमान सन्दर्भ, सामी कार्यक्रम तथा सुरक्षित वैदेशिक रोजगार सम्बन्धी प्रावधान, सामी कार्यक्रमको कार्यक्रम अधिकृत उमा पौडेलले सुरक्षित आप्रवासन सामी कार्यक्रमका उपलब्धिहरु तथा वैदेशिक रोजगारीको मुख्य सरोकारवालाहरु र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव प्रताप बानियाँले वैदेशिक रोजगारको सवालमा सञ्चारकर्मीहरुको संवेदनशीलता, नीतिगत समाचार सम्प्रेषण, गोपनीयता, समाचारको शीर्षकले समाजमा पार्न सक्ने असर तथा आचारसंहिताको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रम अधिकृत पौडेलले सरकारले स्थानीय तहको तल्लो इकाइसम्म वैदेशिक रोजगारका समस्या समाधान गर्नेगरी आवश्यक भूमिका खेल्ने संयन्त्रको रुपमा देशव्यापी सामी कार्यक्रमलाई अगाडि बढाएको बताउनुभयो ।

उहाँले हाल म्याग्दीको बेनी नगरपालिका र मंगला गाउँपालिकामा सञ्चालन भैरहेको सामी कार्यक्रम आगामी वर्षदेखि मालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा समेत सञ्चालन हुने जानकारी दिनुभयो ।

स्वीस सरकारको आर्थिक सहयोगमा संघ, प्रदेश र बेनी नगरपालिकाको साझेदारीमा गएको आर्थिक वर्षदेखि म्याग्दीको बेनी नगरपालिकामा सामी कार्यक्रम सञ्चालन भएको छ । नगर प्रमुख केसीको अध्यक्षतामा सम्पन्न पत्रकारसँगको अन्तत्र्रिmया कार्यक्रमको बेनी नगरपालिकाका रोजगार संयोजक चित्रनाथ आचार्यले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ म्याग्दी शाखा र सञ्चारिका समूह नेपाल म्याग्दीका पदाधिकारी, जिल्लामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । सामी कार्यक्रमले खासगरी वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिनबाट बचाउनलाई उचित परामर्श दिनुका साथै विदेशको कामलाई सुरक्षित, भरपर्दो र उपलब्धिमूलक बनाउने कार्यमा पैरवी गर्दै आइरहेको छ ।

अर्थुङ्गेमा ब्याडमिन्टन खेल प्रशिक्षण सुरु

बेनी नगरपालिका–६ अर्थुङ्गेमा ब्याडमिन्टन खेलाडीहरुको सीप अभिवृद्धि गर्ने उद्देश्यले एक हप्ते ब्याडमिन्टन खेल प्रशिक्षण कार्यक्रम सुरु गरिएको छ ।ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्रको आर्थिक सहयोगमा सुरु गरिएको प्रशिक्षण कार्यक्रमको उद्घाटन बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्ण सिंङ बानियाको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।

कार्यक्रममा ज्ञानमन्दिर सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र जामुनाखर्क माविका प्रधानाध्यापक सोमनाथ ढुङ्गा विशिष्ट अतिथि रहनुभएको थियो भने अर्थुङ्गे ब्याडमिन्टन क्लबका अध्यक्ष सुन्दर बानियाको अध्यक्षता रहेको थियो । कार्यक्रम संचालन क्लब सदस्य गणेश केसीले गर्नुभएको थियो ।

प्रशिक्षणमा करिब १६ जना प्रशिक्षार्थीको सहभागिता रहेको छ भने जिल्लाका अनुभवी खेलाडी प्रबेश मगर र सुवास सुबेदीले प्रशिक्षण प्रदान गर्दै छन् ।

क्लबका अध्यक्ष सुन्दर बानियाका अनुसार यस प्रशिक्षणबाट खेलाडीहरूको खेल सीपमा उल्लेखनीय सुधार हुने अपेक्षा गरिएको छ । साथै क्लबले ब्याडमिन्टन कोर्ट निर्माणका लागि जग्गाधनी दुर्गादत्त उपाध्यायसँग जग्गा सम्झौता गरी निर्माण कार्य अघि बढाएको जानकारी समेत दिनुभयो । ब्याडमिन्टन खेल प्रशिक्षण कार्यक्रम जेठ २४ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

रत्नेचौरमा संचालित मादल बजाउने तालिम

म्याग्दी, २५ जेठ । म्याग्दीको बेनी नगरपालिका –१ रत्नेचौरमा महिलाहरुका लागि संचालित एक हप्ते मादल बजाउन सिकाउने तालिम सकिएको छ ।
वडा कार्यालयको सहयोग तथा वडा स्तरीय आमा समुह सञ्जालको आयोजनामा सुरु भएको तालिमको आईतवार समापन गरिएको हो ।
परम्परागत लोक बाजाको संरक्षण गर्दै महिलाहरुलाई मादल बजाउने सिप सिकाउने उद्धेश्य राखेर तालिमको आयोजना गरिएको तालिमको समापन समारोहमा बोल्दै बेनी नगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष टेक बहादुर थापाले महिलाहरुको कुनै न कुनै क्षमता विकासमा वडाले सघाउदै आएको बताउनुभयो ।
तालिममा वडा नम्वर १ का विभिन्न आमा समुहका २० जना महिलाहरुको सहभागीता रहेको तालिमको कलाकार अमित विश्वकर्माले सहजीकरण गर्नुभएको थियो । उहाँले सिकेको सिपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्नुभयो ।
गाउँघरमा संचालन हुने रत्यौली, भजन लगायतका साँस्कृतिक गतिविधिहरुमा मादल बजाउन महिलाहरुलाई सक्षम बनाउन यो तालिमले भूमिका खेल्ने सञ्जालका अध्यक्ष गौरी थापा मगरले बताउनुभयो । उहाँले आगामी वर्षमा पनि तालिमलाई निरन्तरता दिन पहल गर्ने बताउनुभयो ।
समापन समारोहमा सहभागीहरुले रत्यौली र लोक भजनमा मादल बजाएका थिए । कार्यक्रम सञ्जालकी अध्यक्ष थापाको अध्यक्षता, र कोषाध्यक्ष जनतादेवी क्षेत्री (आशा) को संचालनमा सम्पन्न भएको थियो ।

नेपालमै पहिलोपटक लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ ।

जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक(ट्रान्सजेन्डर) व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर महिलाको जननेन्द्रिय अङ्गको पुनःनिर्माण गरिएको हो ।

अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा यही जेठ १२ देखि १५ गतेसम्म पारलैङ्गिक समुदायका लागि आयोजित विभिन्न प्रकारका शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो । त्यस अवसरमा अनुहार र स्तनको पनि शल्यक्रिया गरिएको थियो ।

अस्पतालका प्रवक्ता तथा सह प्राडा गोपाल सेढाइँले अब यो सेवा नेपालमै नियमित रूपमा उपलब्ध हुने भएकाले विदेश जानुपर्ने बाध्यता नहरेको बताए। उनले भने, “लिङ्ग परिवर्तन जस्तो संवेदनशील र जटिल शल्यक्रिया धेरै खर्चिलो हुने कारणले हाल नेपालमै यो सुविधा उपलब्ध भएपछि पारलैङ्गिक समुदायलाई धेरै राहत मिल्नेछ ।

यसले पारलैङ्गिक समुदायलाई आफ्नो लैङ्गिक पहिचानको पूर्ति गर्न एक महत्वपूर्ण उपाय हुनेछ ।” शल्यक्रियामा विदेशी प्लास्टिक सर्जन डा एलिजा हामीडियन जाह्रोमीको नेतृत्व तथा विभागीय प्रमुख प्राडा जयनमान श्रेष्ठको संयोजनमा सम्पूर्ण प्लास्टिक सर्जरी तथा एनेस्थेसिया टिमको सहभागिता रहेको थियो ।

डा जयनमान श्रेष्ठकाअनुसार अबदेखि त्रिवि शिक्षण अस्पतालमा ‘जेन्डर अफर्मिङ यिक्लनिक’स्थापनासहित यस्ता सेवा नियमित रूपमा प्रदान गरिनेछ ।

घरजग्गा किनबेचमा बैंक स्टेटमेन्ट बुझाउनु नपर्ने

भूमि व्यवस्थापन तथा अभिलेख विभागले सम्पत्ति शुद्धीकरण तथा आतंकवाद क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी भएको निर्देशन २०८२ (पहिलो संशोधन)  जारी गरेको छ । विभागले आइतबार पहिलो संशोधित निर्देशन जारी गर्दै  घरजग्गा किनबेचमा खरिदकर्ता र बिक्रीकर्ताको बैंक स्टेटमेन्ट अनिवार्य पेस गर्नुपर्ने, केवाईसी भर्नुपर्नेलगायत ५ वटा प्रावधान हटाएको छ  ।

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको चासो र व्यवसायीहरूको विरोधपछि विभागले उक्त निर्देशन संशोधन गरेको हो ।

विभागले अनिवार्य बैंक स्टेटमेन्टको प्रावधान हटाए पनि ५० लाख रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारलाई कडाइ गर्न खोजिएको छ। ‘घरजग्गा खरिद–बिक्रीको कारोबार गर्दा १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्नेछ। तर ५० लाख रुपैयाँभन्दा बढी रकमको कारोबार विद्युतीय भुक्तानी प्रणालीमार्फत सोझै र चेकमार्फत गर्दा बिक्रीकर्ताका नाममा तयार गरिएको ‘गुड फर पेमेन्ट’ चेकमार्फत गर्नुपर्नेछ,’ पहिलो निर्देशनमा भनिएको थियो ।

विभागका अनुसार अब १० लाखभन्दा माथि ५० लाख रुपैयाँसम्मको घरजग्गाको खरिदबिक्री गर्दा जुनसुकै प्रकारको भुक्तानी बैंकिङ उपकरणमार्फत गरी त्यसको प्रमाण बुझाउनु पर्नेछ ।

‘५० लाख रुपैयाँभन्दा माथिको घरजग्गा खरिद गर्दा क्रेताले बैंकबाट भुक्तानी गर्न गुड फर पेमेन्ट चेक वा बैंक ग्यारेन्टी वा इपेमेन्ट वा नेपाल राष्ट्र बैंकको निर्देशिकाबमोजिम तोकिएका भुक्तानीका अन्य उपकरणहरूबाट भुक्तानी भएको प्रमाण वा बिक्रेताको नाममा रहेको बैंक खातामा नगद रकम जम्मा गरेको बैंक भौचरको फोटोकपीमा खरिदकर्ता र बिक्रीकर्ताको नाममा रहेको बैंक खातामा नगद रकम जम्मा गरेको बैंक भौचरको फोटोकपीमा खरिदकर्ता र बिक्रीकर्ता दुवैले प्रमाणित गरी पेस गर्नु पर्नेछ,’ संशोधित निर्देशनमा उल्लेख छ ।

यसअघि ३ करोड वा सो भन्दा बढी रकमको घरजग्गा खरिद वा बिक्री गर्दा कार्यायले सो को विवरण नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाईमा पठाउनुपर्ने व्यवस्था थियो । अब एक करोड रुपैयाँभन्दा माथिका घरजग्गा कारोबारको विवरण राष्ट्र बैंकलाई जानकारी दिनुपर्नेछ ।

म्याग्दीमा ट्राफिक सप्ताह मनाउन सुरु, सचेतनामूलक विभिन्न कार्यक्रमहरु सञ्चालन

‘जिम्मेवार चालक ‘म’, जिम्मेवार यात्रु ‘म’, सुरक्षित सडक र सवारी, हामी सबैको जिम्मेवारी’ भन्ने मूल नारासहित ट्राफिक सप्ताह–२०८२ मनाउन सुरु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीको आयोजनामा आइतबारदेखि ट्राफिक सप्ताह मनाउन सुरु गरिएको हो ।
ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले दुर्घटना न्यूनीकरण गर्नका लागि सबैभन्दा पहिला स्वयं चालक जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले ट्राफिक नियमको पूर्ण रुपमा पालना गरेर मात्रै सवारीसाधनहरु चलाउनुपर्ने बताउँदै अधिकारको प्रयोग गर्दैगर्दा आफूले निभाउनुपर्ने कर्तव्यको पनि ख्याल गर्नुपर्नेमा जोड दिनुभयो ।
म्याग्दीका प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले ट्राफिक सप्ताह सम्बन्धी सचेतनामूलक कार्यक्रमले ट्राफिक नियमको पालना गराउनुका साथै दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । उहाँले ट्राफिक सचेतनामूलक कार्यक्रमलाई निरन्तर रुपमा सञ्चालन गर्न आवश्यक रहेका बताउँदै हामी सबै आ–आफ्नो ठाउँबाट जिम्मेवार तथा प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजा र समाजसेवी केबि भण्डारीले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमबारे बुझाउन आवश्यक रहेको बताउनुभएको थियो ।
कार्यक्रममा म्याग्दीका प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले चालु आर्थिक वर्ष २०८१÷०८२ को हालसम्म देशभर ३४ हजार ३ सय ५८ वटा सवारी दुर्घटना भएकोमा तीमध्ये सबैभन्दा धेरै मोटरसाईकल र स्कुटरका २० हजार १ सय ८३ वटा दुर्घटनाहरु भएको जानकारी दिनुभयो । उहाँले नेपालमा १ महिनामा २८ सय ६३ र दैनिक ९५ वटा सवारी दुर्घटना हुने गरेको भन्दै हालसम्म २ हजार ६६ जना व्यक्तिहरुको मृत्यु भएको बताउनुभयो । मासिक रुपमा देशभर १ सय ७२ वटा सवारी दुर्घटना हुँदा दैनिक ६ जनाको मृत्यु हुने गरेको तथ्याङ्क रहेको उहाँले बताउनुभयो ।
हालसम्म देशभर सवारी दुर्घटनाबाट ३१ हजार १ सय ५१ जना व्यक्तिहरु घाइते भएकोमा मासिक २५ सय ८६ जना र दैनिक ८७ जना रहेको प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो । उहाँले सवारी दुर्घटनाबाट अकालमै मानिसहरुले ज्यान गुमाउने गरेको बताउँदै सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सडक व्यवस्थापनको साथै सुरक्षित रुपमा यात्रा गर्नुपर्ने बताउनुभयो । सवारी दुर्घटना कम गर्न सडक निर्माणकार्य, ट्राफिक नियमको जानकारी तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने प्रहरी नायव उपरीक्षक थापाको भनाइ छ ।
ट्राफिक सप्ताहअन्तर्गत पहिलो दिन आइतबार म्याग्दी सदरमुकाम बेनीमा प्रभातफेरी ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा जिल्लास्थित जनप्रतिनिधिहरु, राजनीतिक दल तथा सरकारी कार्यालय र विभिन्न संघंसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न विद्यालय तथा क्याम्पसका शिक्षक, विद्यार्थी, आमा समूहले ¥यालीमा नौमती बाजासहित सचेतनाका प्लेकार्डहरु बोकेर सहभागिता जनाइएको थियो । कार्यक्रमको सञ्चालन जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीका प्रमुख राजकुमार केसीले सञ्चालन गर्नुभएको थियो ।
सप्ताहव्यापी कार्यक्रम अन्तर्गत स्वयंसेवकहरु परिचालन गरेर सवारीसाधनमा सचेतनामूलक स्टिकरहरु टाँस्ने, माईकिङ गर्ने, पर्चा तथा पम्प्लेटहरु वितरण, ग्रामीण सडकमा प्रशिक्षण कार्यक्रम सञ्चालन, विद्यालयस्तरमा ट्राफिक सचेतना सम्बन्धी कार्यक्रम आयोजना गरिएको छ । यसैगरी सवारी चालकहरुको स्वास्थ्य परीक्षण गर्ने, सवारीसाधनको सिटमा आरक्षण कोटाको कार्यान्वयन तथा अनुगमन र निरीक्षण गर्ने जस्ता कार्यक्रमहरु सञ्चालन गरिने ट्राफिक प्रमुख केसीले जानकारी दिनुभयो ।

 

बेनी-जोमसोम-कोरला सडकखण्डको ८४ प्रतिशत भौतिक प्रगति

उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।

आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा-कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।

कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ ।

सडकतर्फ जोमसोम-कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चराङ-छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी-जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।

बेनी-जोमसोम खण्डअन्तर्गत गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो । “बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उहाँले भन्नुभयो ।

कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको रु ९० करोड बजेटमध्ये रु ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको रु ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उहाँले करिब रु ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउनुभयो ।

अर्थ मन्त्रालयले चालु आवका लागि रु १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको बताउनुभयो ।

“यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उहाँले भन्नुभयोे ।

कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर-तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।

आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुङ्गा-कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी-जोमसोम-कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।  रासस

बसाइँसराइ र विदेश मोहका कारण रित्तिदैछन् गाउँबस्ती

म्याग्दी । जिल्लाको धौलागिरि गाउँपालिका ५ मल्काबाङका २१ वर्षिय रोहन छन्त्याल गाउँमै रमाएर बस्नुभएको थियो । १२ कक्षा पासगरी दुई वर्ष गाउँकै भिरपाखा, खर्क र बुकीहरुमा गाईवस्तु,भेडाबाख्रा चराउँदै साथीहरुसँग रमाइलो गरी बस्नुभएका छन्त्यालले अब भने विदेश जाने तयारी गर्नुभएको छ ।

सँगैका दौतरीहरु कोही बसाइसराइ गरेर बेनी, पोखरा, चितवन र काठमाडौं गइसकेका र कोही विदेश गएकाले उहाँ गाउँमा एक्लिनुभएको थियो । एकलोपनबाट दिक्क लागेपछि उहाँले विदेश जाने तयार गरेको बताउनुभयो ।

“आफ्नो उमेरका र आफूसँग मिल्ने साथीहरु गाउँमा एउटै छैनन्, गाउँमा एक्लै के गरेर बस्ने ? बाध्य भएर विदेश जान लागेको हुँ”उहाँले भन्नुभयो ।

त्यसैगरी सदरमुकाम बेनीबजारको नजिकै रहेको बेनी नगरपालिका वडा नं ३ तोराखेतका बुद्धिबहादुर खत्री दुखजिलो गरी जीवन कटाउन कठिन भयो भनेर सुविधा र रोजगारीको खोजीमा भएको जग्गा जमिन बेचेर तराईको नवलपुर बसाइँ सर्नुभयो । गाउँमा तरकारी खेती र पशुपालन गरी आम्दानी गर्दै आउनुभएका खत्री बढी कमाउने र थप सुविधा पाइन्छ भन्दै तराईमा बसाइँ सर्नुभएको हो ।

छन्त्याल र खत्री त प्रतिनिधि पात्र मात्र हुनुहुन्छ । पछिल्लो समय बसाइँसराइ र विदेश पलाएनका कारण जिल्लाका उपल्लो भेगका लेकाली वस्तीहरु पनि रित्तिदै जान थालेका छन् । बुकी र खर्कहरुमा भेडा र गाईवस्तु चराउदै साथीहरुसँग गफिने युवाहरु पछिल्ला केही वर्षयता गाउँघरमा भेटिन छोडेका छन् ।

जिल्लाका ग्रामीण क्षेत्रहरुमा पूर्वाधार विकासले प्रशस्तै सुविधाहरु प्रदान गरेको भएपनि ती सुविधा र विकासका पूर्वाधारहरुलाई प्रयोग गरी लाभान्वित हुने युवाहरु गाउँ छोडेर सहर र सहरबाट विदेश पलाएन भइरहेका छन् ।

पहिले गाउँमा सुविधाहरु भएनन् । दुःख पाइयो भन्दै मानिसहरू सहरमा बसाइँसराइ गर्थे । अहिले पूर्वाधार विकासले गाउँलाई सहरसँग जोडिदिए पछि सहरबाट युवाहरु गाउँ फर्किनु पर्नेमा गाउँबाट सहर झरेर विदेश पस्नेक्रम बढ्दै गएको स्थानीय जनप्रतिनिधिहरुले बताएका छन् ।

गाउँका टोलबस्तीमा सडक सञ्जाल पुगेको छ, बाटाहरू स्तरोन्नत हुँदै गएका छन् । ग्रामीणस्तरमा नै १२ कक्षा सम्मको पढाइ हुने विद्यालयहरु बनेका छन् । सूचना प्रविधि र सवारी साधनको पहुँचले गाउँ र सहरको दुरी घटाएको छ । पालिकास्तरमै सुविधासम्पन्न १५ शैयाका अस्पताल निर्माणाधीन छन् तर, गाउँबाट बसाइँसराइको दर भने झन बढ्दै गइरहेको छ ।

म्याग्दी र मुस्ताङका हिमाली क्षेत्रका खर्क र वस्तीहरु रित्तिदै जान थालेका छन् । दुई दशक अघिसम्म चौंरी र भेडाका वथान लिएर हिमाली खर्क र बुकीहरुमा देखिने युवा जनशक्ति अहिले खाडी मुलुकमा ऊँट गोठालो बन्न वाध्य भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ५ वयेलीका २८ वर्षिय युवा दिनेश रम्तेल,मुस्ताङको थासाङ गाउँपालिका वडा नं ५ कुञ्जोका २५ वर्षिय हिरा थकाली र मुस्ताङकै घरपझोङ गाउँपालिका वडा नं १ छैरोका छेम्वा गुरुङ खर्कमा चौरी र भेडा चराउन छोडेर खाडी मुलुक लागेको ५ वर्ष भयो । हिमाली क्षेत्रका रम्तेल थकाली र गुरुङ जस्तै सयौं युवाहरु परम्परागत पेसा र समुदायको परम्परालाई छोडेर साउदी अरब,कतार र युएईमा ऊँटको हेरचाहा गर्ने र भवनहरु बनाउने काममा मजदुरी गर्न वाध्य छन् ।

“जसका लागि भनेर विकासका पूर्वाधारहरु निर्माण गरियो, त्यही नै देश छोडेर हिंडे पछि विकासको उपयोगिता कसरी पुष्टि हुन सक्छ र ?” म्याग्दीको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्व अध्यक्ष एवम् सामाजिक विकासका अध्येता शिव वानियाँले भन्नुभयो “युवा जनशक्तिलाई लक्षित गरेर गाउँ गाउँमा विकासका पूर्वाधारहरु निर्माण गरिए,सडक बने,कृषि र पशुपालनका लागि अनुदानको व्यवस्था गरियो,अरु धेरै कामहरु भए,तर अनुदानको रकम लिएर त्यही सडक हुँदै युवा जनशक्ति मोटर चढेर कति सहर पसे,कति विदेश हिंडे,अब विकास कसका लागि भनेर वहस गर्ने बेला आएको छ ।”

युवा पलायनको असर नेपालका हिमाली तथा पहाडी जिल्लाका ग्रामीण वस्तीहरुमा नराम्रोसँग देखिन थालेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।

नेपालका पर्यटन तथा वनस्पतिविद् डा. तीर्थ श्रेष्ठका अनुसार समुदायको शक्तिमा टिकेको नेपालमा यहाँको युवा जनशक्तिलाई सरकारले योजनाबद्ध तवरमा विकास कार्यमा उपयोग गर्न नसक्दा युवा जनशक्ति पलाएनको समस्या तिब्र बन्दै गएको र विकासको उपलव्धी उपयोग बिहीन हुन थालेको छ ।

म्याग्दीबाट वर्षेनी विदेशिने युवाहरुको लर्को लाग्ने गर्दछ । चालु आर्थिक वर्षको चैत मसान्त सम्ममा मात्र विदेश जानका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीबाट पाँच हजार छ सय ८४ जनाले राहदानी लिएका जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

राहदानी लिने युवायुवती बढी छन् । विवाहित र नाबालक ब्यक्तिको राहदानी बनाउने पनि छन् । अमेरिका, युरोप, अस्ट्रेलिया, जापान संगै खाडी मूलुकमा रोजगार, ब्यवसाय, अध्ययन र पारिवारिक भेटघाटका लागि जानेको संख्या बढेसंगै राहदानी बनाउनेहरुको संख्या बढेकोे छ ।

अध्ययनका लागि विदेश पलायन हुने अधिकाँश अध्ययनका लागि भन्दा पनि रोजगारकै लागि जाने प्रचलन छ । विदेश जानेमा हिमाली र पहाडी क्षेत्रका युवाहरु बढीरहेको तथ्याङ्कले देखाएको छ ।