Saturday, June 28, 2025
22.4 C
Beni
22.4 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 17

डाडागाउँ स्वास्थ्य एकाइको नयाँ भवनबाट सेवा सञ्चालन

मालिका गाउँपालिका–३ डाडागाउँमा स्वास्थ्य एकाइ स्थापना भएको एक दशकपछि आफ्नै भवनबाट सेवा सञ्चालन गरेको छ । विस २०७१ मा स्थापना भएको एकाइ ११ वर्षसम्म भाडाको घरबाट सञ्चालन हुँदै आएको थियो ।

मालिका –३ का वडाध्यक्ष मोतिप्रसाद बुढाका अनुसार स्वास्थ्य एकाइको सुविधायुक्त नयाँ भवन निर्माण गरेर सेवा सञ्चालन गरिएको छ । रुमगाउँमा रहेको साविक रुम गाविसस्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक पर्ने डाडागाउँ, खटेन, औला, स्यागलुङ, इग्रे, सराग्दी टोलका तीन सय बढी घरपरिवारका लागि स्थापना भएको स्वास्थ्य एकाइ भाडाको घरको साँघुरो कोठामा सञ्चालन हुदै आएको थियो । स्वास्थ्य एकाइ आफ्नै भवनबाट सञ्चालन गरेपछि सेवा प्रवाहमा धेरै सहज भएको छ ।

भुइँतलामा स्वास्थ्यकर्मी, उपचार, औषधि भण्डारण, सहायता, कार्यालय प्रमुखको कक्ष, सभाहल छ । भवनको पहिलो तलामा दुई परिवारका लागि आवास कोठा छन् । सङ्घीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु एक करोड ५९ लाख ८३ हजार ७७२ को लागतमा स्वास्थ्यचौकी भवन निर्माण गरेको हो ।

आर्थिक वर्ष २०७९/८० र २०८०/८२ मा फरकफरक ठेक्कामार्फत भवन निर्माण गरिएको मालिका गाउँपालिकाका प्राविधिक शाखा प्रमुख दीपक सापकोटाले बताउनुभयो । चालु आर्थिक वर्षको बजेटबाट घेराबार र फर्निचर व्यवस्थापन गरेर नयाँ भवन प्रयोगमा ल्याइएको हो ।

भवन परिसरमा चालु आवमा सङ्घीय सरकारको रु एक करोड विशेष अनुदानबाट बर्थिङ सेन्टर ९प्रसूतिगृह० भवन निर्माणाधीन छ । भवनको दोस्रो तला ढलान सकिएको छ । सातवटा वडा रहेको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा आधारभूत अस्पताल र अन्य वडामा स्वास्थ्यचौकी छन् ।

डाडागाउँमा रहेको स्वास्थ्य एकाइमा पुगेर सेवा लिन अपायक पर्ने मालिका –३ मा पर्ने लुम्पीपार र पात्लेका बासिन्दाको लागि पात्लेमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालन भएको वडाध्यक्ष बुढाले बताउनुभयो । वडा नं १ निस्कोटबाहेकको स्वास्थ्यचौकीको भवन निर्माण सकिएको छ । निस्कोटमा सहरी विकास मन्त्रालयमार्फत स्वास्थ्यचौकी भवन निर्माणको तयारी भएको छ । रासस

अमेरिकाद्वारा हालसम्मकै ठूलो संख्यामा नेपाली डिपोर्ट

अमेरिकी सरकारले अवैध रूपमा बसोबास गरिरहेका ठुलो संख्या नेपालीलाई निष्कासन (डिपोर्ट) गरेको छ।

अमेरिकी चार्टर्ड विमानमार्फत फिर्ता पठाइएका उनीहरू आज (आइतबार) अपराह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दैछन्। यो अमेरिकाबाट एकैपटकमा डिपोर्ट गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली समूह हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता अञ्जन न्यौपानेले नेपालीहरूलाई डिपोर्ट गरिएकोबारे दूतावासमार्फत एक साताअघि नै जानकारी आएको पुष्टि गरे।

यद्यपि, विमान अवतरण नभएसम्म डिपोर्ट हुनेहरूको यकिन संख्या भन्न नसकिने उनले बताए। ‘हामीलाई प्राप्त पत्रमा उनीहरूले अमेरिकी आप्रवासन कानुन उल्लंघन गरेको उल्लेख छ, तर प्रवेशको प्रकृति वा अन्य कारणबारे स्पष्ट खुलाइएको छैन,’ न्यौपानेले भने।

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि कडा आप्रवासन नीति लिएसँगै अमेरिकाबाट डिपोर्ट हुने नेपालीको संख्या ह्वात्तै बढेको छ।

अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२५ को जनवरीदेखि मे महिनासम्म मात्रै १४० जना नेपाली डिपोर्ट भइसकेका छन्। जसमा जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना थिए।

यो संख्या विगतका वर्षहरूको तुलनामा निकै बढी हो। विभागको तथ्यांकअनुसार सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएका थिए। डिपोर्ट हुनेहरूमा अधिकांश दलाललाई मोटो रकम बुझाएर अवैध मार्ग हुँदै अमेरिका प्रवेश गर्नेहरू रहेका छन्।

विमानस्थलमा अवतरण गरेपछि अध्यागमन कार्यालयले उनीहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोको जिम्मा लगाउनेछ। फर्काइएका व्यक्तिहरूसँग उनीहरू कसरी अमेरिका पुगे, कोमार्फत गए र दलालबाट ठगिए/नठगिएकोबारे सोधपुछ तथा परामर्श गरिनेछ।

अनुपम पहिचानले धनी म्याग्दीको गूर्जा

गुजुमुज्ज परेका परम्परागत शैलीका घरहरु, मौलिक संस्कृति अनि सोझा, सरल र मिजासिला छन्त्यालहरुको वस्ती भएको गूर्जा गाउँ जहाँ म्याग्दी सदरमुकाम बेनीबाट दुई दिनको कडा, साहसिक र अनकण्टार वनजङ्गलको यात्राबाट मात्रै पुगिन्छ । जिल्लामा चलेको एउटा भनाइ छ– “टुप्पीदेखि माथि ठाउँ छैन, गूर्जादेखि माथि गाउँ छैन ।” यो उखानबाट नै स्पष्ट हुन्छ गूर्जाको अवस्था, विवशता र बाध्यता । यातायात र अन्य सुविधाबाट निकै टाढा रहेकोे यो गाउँमा प्रकृतिले अनुपम सुन्दरता र सम्पदा खन्याइदिएको छ । गूर्जा हिमालको फेदमा अवस्थित हुनु गूर्जाको एउटा विशेषता हो । यति मात्र होइन । एउटा वस्तीको कतिवटा परिचय हुन्छ ? म्याग्दीको एक अल्पसङ्ख्यक छन्त्याल जातिको बसोबास रहेको गूर्जा गाउँको परिचय धेरै छन् । यसैगरी हिमालको खोकिलामा लुकेको गूर्जा धवलागिरि गाउँपालिका वडा नं. १ को वस्ती हो ।

साथै परम्परागत शैलीका घर, मौलिक कला, संस्कृति अनि सरल र मिजासिला अल्पसङ्ख्यक छन्त्याल समुदायको बसोबास पनि हो । गूर्जालाई पर्यावस्ती मात्र नभनी यार्सागुम्बा, रातो च्याउ र सतुवा समेत मुख्य आम्दानीको स्रोत नै जडिबुटी भएकाले हर्बल–हव पनि भन्ने गरिएको छ ।

एक माध्यमिक विद्यालय, स्वास्थ्यचौकी, लघुजलविद्युतको उज्यालो तथा डाटासहितको मोबाइल फोन र डिसहोमबाट सञ्चार प्रविधि भित्रिएको, १ सय ४२ घर परिवारले बसोबास गरेको र समुन्द्री सतहबाट ३२२० मि. उचाइमा अवस्थित गूर्जा गाउँ छन्त्याल जातिको जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने आँखीझ्याल हो । पशुपालन र जडिबुटीलाई जीविकोपार्जनको एउटा महत्वपूर्ण स्रोत बनाएका गूर्जावासीहरुका लागि जडिबुटी, खानी र पर्यटकीय सम्भावनाका अवसरहरु थुप्रै छन् ।

गूर्जा, चुरेन र पुथा हिमालको फेदीमा अवस्थित गूर्जा गाउँबाट सबैभन्दा नजिकको मानव वस्तीमा पुग्न कम्तीमा ८ घण्टा घना जङ्गलबाट पैदलयात्रा गर्नुपर्ने भएकाले गूर्जालाई लुकेको वस्ती, दूरवस्ती, एकल वस्ती तथा एउटा जीवित मानव सङ्ग्रहालय पनि भन्ने गरिएको पाइन्छ । तर अहिले लुलाङदेखि माथि सडक विस्तार भएकाले पहिलेभन्दा अहिले पैदलयात्रा छोटिएको छ ।

कतिपय गाउँ ठाउँमा प्रकृतिले पनि बहुमूल्य सम्पदाहरु छरपष्ट पारिदिँदो रहेछ जुन सम्पदाहरुलाई स्याहार्न, पहिचान गर्न र उपभोग गर्न मानिसलाई हम्मेहम्मे पर्दाेरहेछ । ‘सुकेको ज्यानमा लुकेको बल हुन्छ’ भनेझैँ सानो अनि विकटमा रहेको गूर्जा अनगिन्ती सम्पदा र संस्कृतिले सु–सज्जित र झकिझकाउ छ । प्रविधि र पहुँच नपुग्ने अनकण्टार र दुर्गम ठाउँमा बहुमूल्य सम्पदाहरु लुकाएर राख्ने प्रकृतिको स्वभाव नै हुँदोरहेछ । यस्तै भएको छ, म्याग्दीको अत्यन्त दूरदराजको ठाउँ गूर्जामा पनि । जहाँ प्रकृतिले बहुमूल्य कार्ज नामक ढुङ्गाको खानी सुरक्षित राखेको छ । कार्ज ढुङ्गाका कारण रातको समयमा हिरा जस्तै टल्कने गूर्जा हिमालको फेदमा रहेको घुर्मखोलाको पहाड गूर्जाको गौरव बनेको छ । यसले सबैको ध्यानाकर्षण गरेको छ र राज्यलाई अर्बाैं रुपैयाँ आम्दानी बढाउनको लागि उत्खनन् गर्न आह्वान गरिरहेको छ । गूर्जाको पहाडमा रहेको हिरा जस्तै टल्किने बहुमूल्य कार्ज ढुङ्गाखानी उत्खनन् हुन सक्यो भने राज्यले अर्बाैं रुपैयाँ पाउने सम्भावना हुन्छ । हिरा, मोती जस्ता बहुमूल्य विलासी धातुमा प्रयोग हुने कार्ज नामक उक्त ढुङ्गाको खानी गूर्जाको पहाडमा रहेको प्रमाणित भैसक्दा पनि उत्खनन्का लागि राज्यले गर्नुपर्नै र गर्न सक्ने सबै पहल नगरेको गुनासो स्थानीयवासीको छ । खानी तथा पुरातत्व विभागले एक दशक अगाडि उक्त ढुङ्गाखानीको पहिचान गरेपनि उत्खनन्का लागि सम्बन्धित निकायले चासो नदेखाउँदा अलपत्र परेको स्थानीय जनप्रतिनिधिहरुको गुनासो छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको गूर्जाको घुर्मखोला अन्तर्गत पर्ने गूर्जा हिमालको फेदमा रहेको उक्त खानीको कार्ज ढुङ्गा म्याग्दीको सदरमुकाम बेनीको छैटौँ म्याग्दी महोत्सवमा प्रदर्शनमा राखिएको थियो ।

हिमालको दृश्यावलोकन गर्नेहरुलाई जति धेरै मात्रामा चम्किला र आकर्षक लाग्छन्, हिमाली वस्तीका मान्छेहरुका लागि तिनले दिएका सकसपूर्ण जीवन र गर्नुपरेको बसाइँसराइ त केबल सो ठाउँमा रहेर झेल्नेहरुले मात्र अनुभव गरेका हुन्छन् । अनि कैयौँ दिन आफ्न्तहरुबाट सम्पर्कविहिन भएर हिँड्नुपर्दाको अप्ठेरो त ती पर्वतारोहीहरु र साहसिक पर्यटकहरुले मात्रै बेहोरेका हुन्छन् नै । तैपनि ती सारा कष्टकर अनुभूतिहरु तिनै सुरम्य र सेताम्य दन्तलहरझैँ मिलेर ठडिएका चाँदीझैँ टल्कने हिमशिखरहरुको लर्कन हेरेपछि खै को नै पो मन्त्रमुग्ध नहोला र ? पहिलोपटक आरोहण अनुमति पाएको म्याग्दीको गूर्जा हिमाल (७१९३ मिटर)को आरोहणमा आउने स्वदेशी तथा विदेशी आरोही पर्यटकहरु अनकन्टार यस क्षेत्रको साहसिक पदयात्रामा हौसियर आएपछि यहाँको वस्ती छोड्न सितीमिती तयार हुँदैनन् । पदयात्रा क्षेत्रमा सहज सञ्चार सम्पर्क नहुँदाको कठिनाइलाई पनि सहजै भुलिदिन्छन् । साहसिक मानिने पदयात्रा जोखिम क्षेत्रमै हुने हो । वस्ती छोडेपछि कैयौं दिन अनकन्टार उकाली र ओरालीमा हिँड्नुपर्छ । त्यसो त साहसिक मानिएका नेपालका अधिकांश पदमार्गमा वस्तीपछिको क्षेत्र सञ्चार सम्पर्कविहिन हुन्छन् । त्यसको परिणाम पदयात्रीले भोग्नुपर्छ । पदयात्रीले सबै ठाउँमा स्याटेलाइट फोन लैजान सक्दैनन् । स्याटेलाइट फोन निकै नै महङ्गो पर्छ । खर्चिलो भएकोले जो कोहीले स्याटेलाइट फोन लैजाने आँट गदैैनन् पनि । वस्ती छुट्यो, सम्पर्क पनि टुट्यो । यो यात्रा निकै साहसिक हुने गर्छ । साहसिक ठानिएका धेरै पदमार्गका फोन नै लाग्दैन । कतिपयमा होटल पुगेपछि महङ्गो शुल्क तिरेर स्याटेलाइट फोनबाट सम्पर्क गर्नेबाहेक विकल्प पनि हुँदैन ।

गूर्जाका स्थानीयवासी र गाउँ आउने पर्यटकहरुको सुविधाका लागि गाउँमा १५ वटा घोडा पालिएका छन् । गाउँदेखि देउराली डाँडासम्म पु¥याएको एउटा घोडाको दुई हजार रुपियाँ र लुलाङ गाउँसम्म पु¥याएको तीन हजार रुपैयाँ शुल्क निर्धारण गरी स्थानीयका साथै गूर्जा घुम्न आउने पर्यटकहरु फर्किंदा घोडा चढेर फर्किने सुविधा पनि स्थानीय घोडा व्यवसायीहरुले चाँजोपाँजो मिलाउँछन् । गूर्जा पुग्ने पर्यटकहरु कसैले रमाइलोका लागि घोडा चढ्छन् भने कोही बाध्यताले घोडा चढ्छन् । उकालो र लामो बाटो भएकाले घोडा आवतजावतमा निकै उपयोगी पनि हुन्छ ।

गुर्जा गाउँदेखि एक दिनको पैदलयात्रामा पुगिने घुर्मखोला वरपरका पहाडमा रातको समयमा बत्ती बालेझैँ गरी टल्कने पत्थर म्याग्दीका लागि ‘भिल्लाका देशमा मणि’ जस्तै बनेको छ । विचित्रको हिमाली र पहाडी धरातल, वनस्पति र सामाजिक संस्कृतिले भरिपूर्ण गूर्जा गाउँमा अझै पनि प्राचीन समाजका अवशेष भेट्न पाइन्छ । जहाँ जे बाली पाक्छ, त्यहीँ नै बसोबास सार्ने परम्परा गूर्जा गाउँमा अझै छ । गूर्जा गाउँ पछिल्लो समय पर्यटन र जडिबुटीका कारण देश विदेशमा परिचित हुन थालेको छ । गूर्जामा यार्यागुम्बा, रातो च्याउ, सतुवा र जडिबुटी मात्रै होइन हाल ईटालियन गोल्डेन स्याउको व्यावसायिक खेती समेत सुरु गरेकोले अहिले गूर्जाको परिचय फेरिएको छ । गूर्जा गाउँबाट ढोरपाटन, गूर्जा, पुथा र चुरेन हिमालको आधार शिविरको एउटै पदमार्गबाट रुकुम निक्लने यार्सा पदमार्ग पर्दछ । शिविरबाटै डोल्पा, गूर्जाबाट धौलागिरि आधारशिविरसम्म पुग्न सकिने भएकाले एड्भेन्चर टे«ल हवको रुपमा पनि परिचित हुन थालेको छ । कृषि, पर्यटन र खानी जस्ता अनेकौं सम्भावना नै सम्भावनाले युक्त विकट गूर्जालाई हवाई तथा पैदलमार्गको गन्तव्यस्थल बनाउन जरुरी छ । बेनीबाट गूर्जासम्म २५ मिनेटमा हेलिकप्टरमार्फत पुग्न सकिने भएकाले पर्यटन प्रवद्र्धनका लागि गूर्जा गाउँ समग्र जिल्लाको लागि पनि एउटा सुन्दर गन्तव्य बन्न सक्छ ।

जिल्लाको सबैभन्दा दुर्गम वस्तीका रुपमा परिचित गूर्जा जिल्लाको एक मात्र सडक सञ्जालको पहुँच नपुगेको वडा हो । यहाँबाट गाउँपालिकाको केन्द्र मुना पुग्न एक दिनको पैदलयात्रा गर्नुपर्छ । प्रौढ र युवायुवतीहरु गूर्जादेखि पैदलयात्रा गरी सहजै गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम बेनी आवतजावत गर्न सक्ने भए पनि बालबालिका र वृद्धवृद्धाहरुलाई भने यात्रा गर्न सहज छैन । यातायातको पहुँच नपुगेको कारण यहाँ खाद्यान्न ढुवानीमा खच्चड र मानिसले नै सामान बोक्दै आएका छन् । खाद्यान्न लगायतको सामग्रीहरु खच्चडमा नै ढुुवानी हुने र खच्चडले बोक्न नमिल्ने रड, जस्तापाता, पाइप लगायतका सामान मानिसले बोकेर लैजाने गरे पनि भारी वर्षा र हिमपात हुने हिउँदमा केही महिना खच्चडलाई समेत सामान बोकाउन नमिल्दा सामान ढुवानी ठप्प हुने गर्छ । सडक नपुगेको कारण स्थानीय स्वास्थ्य संस्थामा उपचार सम्भव नहुने बिरामीहरुलाई डोको र पिठ्यूँमै बोकेर सदरमुकामको अस्पतालतर्फ लैजानुपर्ने बाध्यता पनि गूर्जावासीहरुको रहेको छ । गतवर्ष मुनादेखि खोरिया हुँदै लमसुङसम्म विस्तार भएको सडक सञ्जाल यसवर्ष लुलाङबाट देउरालीसम्म पुग्न उकालोमा तीनदेखि चार घण्टा हिँड्नुपर्ने यात्राअवधि सडक निर्माण र यातायात सञ्चालन भएपछि ३० मिनेटमा छोटिएको छ । लुलाङबाट गुर्जासम्म भने ६ देखि ८ घण्टाको पैदलयात्रा हो । विगतमा गाउँपालिकाको केन्द्र मुनासम्म नै गर्नुपर्ने पैदलयात्रा गतवर्ष करिब साढे एक घण्टाको पैदलयात्रा दुरी छोटिएको थियो भने यसवर्ष लुलाङबाट देउरालीसम्म ६ किलोमिटर र देउरालीबाट पनि क्रमशः अगाडि सडकमार्ग निर्माण भैरहेको छ । पछिल्लो समय सो खण्डमा पर्ने सडक निर्माणको कार्यले पाएको तीव्रतासँगै गूर्जालाई सडक सञ्जालले छिट्टै छुने कुरामा आशाको दियो बलेको छ । सडक सञ्जाललाई गूर्जा गाउँसम्म पु¥याउने हरेक गूर्जालीको सपना छ ।

गुर्जाबाट ढोरपाटन, गूर्जा, पुथा र चुरेन हिमालको बेसक्याम्पको एउटै पदमार्गबाट छिचोल्दै रुकुम निक्लने यार्सा मार्ग पर्छ । बेस क्याम्पबाटै डोल्पा, गूर्जाबाट धौलागिरि बेसक्याम्प पुग्न सकिने भएकाले पछिल्लोपटक एड्भेन्चर, टे«ल हवको रुपमा पनि परिचित हुन थालेको छ । म्याग्दीको बेनीबाट ताकम, गूर्जा, पुथा र चुरेन बेसक्याम्प हुँदै रुकुमको टकसरा निस्कने यार्सा ट्रेल पूरा गर्न सकिन्छ । गूर्जा एउटा साहसिक पदयात्राको लागि टे«ल हव र अनगिन्ती हिमाली जडिबुटी पाइने भएकाले गूर्जा हर्बल हव पनि हो । गूर्जाको पर्यटन प्रवद्र्धनको लागि, गरिबीका लागि पर्यटन अभियान र जडिबुटीको व्यावसायिक खेती सुरु हुनु सुखद संयोग मान्नुपर्छ । गूर्जाबाट दलसिंगे खर्क, भुजुंगेखर्क, गूर्जा बेसक्याम्प, चुरेन बेसक्याम्प, पुथा बेसक्याम्प हुँदै रुकुमको टकसरासम्मको पदमार्ग पर्छ । यो रुटमा यार्सागुम्बा पाइने मुख्य क्षेत्र पर्ने भएकाले पदमार्गको नाम यार्सा टे«ल राखिएको हो । छिमेकी वस्तीबाट समेत हत्तपत्त कोही नपुग्ने असङ्ख्य खाँेच र विकटसँग विविध परिचय बोकेको लुकेको वस्ती गुर्जा पर्यटकको आकर्षण बनेको छ । गूर्जा विश्वविख्यात ढोरपाटन शिकार आरक्षभित्र पर्ने मध्यवर्ती वस्ती पनि हो । गूर्जालाई हव मानेर पर्यटन विकास गर्न पश्चिम धौलागिरि टे«कमार्फत नक्साङ्कन गर्नै मात्र नभई लुकेको वस्ती गूर्जा पदमार्गबारे वेवसाइट, म्याप–बुक र गाइडबुक समेत तयार भएको छ ।

“टुप्पीदेखि माथि ठाउँ छैन, गूर्जादेखि माथि गाउँ छैन” भन्ने उखानले परिचित एउटै वस्ती एउटै वडामा समेटिएको २ सय ६५ घर परिवार र १ हजार ५ सय ५ जनसङ्ख्या रहेको गूर्जा गाउँ छन्त्याल जीवन, सभ्यता र संस्कृति चिहाउन सकिने एउटा आँखीझ्याल पनि हो । छन्त्याल जातिको सबैभन्दा यो ठूलो गाउँ जिल्ला सदरमुकाम बेनीबाट सबैभन्दा टाढाको वस्तीको रुपमा रहेको । खानी उत्खनन गर्नको लागि आएका छन्त्याल र दलित समुदायले गूर्जामा वस्ती बसाएको भन्ने इतिहास पाइन्छ । गूर्जागाउँ पुग्न म्याग्दीकै लुलाङ, मुदी र बागलुङको ढोरपाटन क्षेत्रबाट गरी जम्मा तीनवटा बाटाहरु रहेका छन् । यी सबै बाटामध्ये जुनबाट यात्रा गरे पनि झण्डै ३ हजार ३ सय देखि ४ हजार मिटर उचाइको घना जङ्गली भञ्ज्याङ छिचोल्नुपर्छ । समूहमा आउने एड्भेन्चर र कल्चरल टुरिस्टलाई गूर्जा सेन्चुरी पदमार्ग उपयुक्त छ ।

तर, व्यक्तिगत रुपमा आउने सौखिनका लागि होटल रेष्टुरेण्ट लगायतका आधारभूत पूर्वाधारहरु निर्माण गर्न आवश्यक देखिन्छ । खाली पदमार्गमा पर्ने ताकम, मुना, लम्सुङ र गूर्जाका वस्तीका केही घरमा पर्यटकहरुलाई लक्षित गरेर आधारभूत रुपमा खान र बस्नको लागि कसरी आकर्षण बढाउन सकिन्छ भन्ने विषयमा तालिम दिन सकियो भने यो रुट घुम्न आउने पर्यटकहरु अझ धेरै बढ्छन् भन्नेमा कसैको पनि दुईमत छैन ।
                                                                      लेखक जनकल्याण मावि पुलाचौर, म्याग्दीमा अध्यापन गर्नुहुन्छ ।

अपर म्याग्दी-१ जलविद्युत आयोजनाको सुरुङ निर्माणको काम सुरु

म्याग्दीको धवलागिरि गाउँपालिका-४ खाम्लामा निर्माणाधिन ५३ दशमलव पाँच मेगावाट क्षमताको अपर म्याग्दी–१ जलविद्युत आयोजनाको हेडरेस सुरुङ निर्माणको काम शनिबार (जेठ २४ गते) देखि सुरु गरिएको छ ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले  आयोजनाको विद्युतगृह रहने मालिका गाउँपालिका–७ भारबाङस्थित आउटलेटतर्फबाट सुरुङ  निर्माणको शुभारम्भ गरेका हुन् । सुरुङ एकहजार, आठसय ६५ दशमलव ९५ मिटर लामो हुने आयोजना प्रमुख ज्योति कुमार केसीले जानकारी दिए ।

म्याग्दी हाइड्रोपावर लिमिटेड प्रवद्र्धक रहेको आयोजनाले मुख्य पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको जनाएको छ । आयोजना प्रमुख केसीले हालसम्म २४दशमलव ४५ प्रतिशत भौतिक प्रगति र २१ दशमलव ४८ प्रतिशत वित्तिय प्रगति भएको जानकारी दिए ।

म्याग्दी नदीको पानीलाई सुरुङमा छिराउनका लागि १५ मिटर अग्लो र ४० मिटर लामो बाँध निर्माण भइरहेको छ ।
आयोजनाको मेकानिकल र इलेक्ट्रो मेकानिकल कार्यको लागि निर्माण कम्पनी छनोट कार्य अन्तिम चरणमा पुगेको र १३२ केभी प्रशारण लाइनको अध्ययन कार्य भइरहेको आयोजना प्रमुख केसीले बताए ।

आयोजना प्रमुख केसीका अनुसार धवलागिरि गाउँपालिका वडा नं ४ खाम्लामा बाँध निर्माण गरेर ३३ दशमलव ६ घनमिटर प्रतिसेकेण्ड पानी प्रयोग गरी पाँच हजार,सात सय ८९ दशमलव ६९ मिटर लामो हेडरेस सुरुङतथा ६ सय ९२ मिटर लामो पेनस्टक मार्फत मालिका गाउँपालिका ७ भारबाङमा निर्माण हुने विद्युत गृहमा दुईवटा फ्रान्सिस टर्वाइनबाट ५३ दशमल ५ मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको छ ।

यसरी उत्पादन गरिएको विद्युत मालिका गाउँपालिकाको डाँडाखेतमा निर्माण भइरहेको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारण लाइनको प्रणालीमा आवद्ध गराइने आयोजना प्रमुख केसीले बताए ।

अपर म्याग्दी १ जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरणबिच भएको विद्युत खरिद विक्री सम्झौता अनुसार आयोजनाले २०८३ सालको फागनु २१ गतेदेखि विद्युतको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने आयोजना प्रमुख केसीले जानकारी दिए ।

‘विसं २०८१ वैशाख २८ गते कार्यक्षेत्रमा परिचालित भएको सिभिल ठेकेदार लुना बिल्डर्स एण्ड कन्ट्याक्टरले पहाड काटेर बाँध निर्माणस्थल तयार पारिसकेको छ,सुरुङ र विद्युतगृह निर्माणको कामलाई तिव्रता दिएका छौं’ आयोजना प्रमुख केसीले भने ।

सानीमा बैंकको नेतृत्वमा ६ वटा बैङ्कको ऋण, प्रवद्र्धक कम्पनी र सर्वसाधारणको शेयरमार्फत जुटाइने ११ अर्ब २३ करोड २७ लाख ६ हजार रुपैयाँको लागतमा निर्माण हुने आयोजना ‘रन अफ द रिभर’ प्रकृतिको हुने छ ।

ताजा तरकारी खुवाउने ७२ वर्षीया खन्तकुमारी

बेनीबजारमा बिहानै ताजा डोकोमा तरकारी बोकेर दैलो दैलोमा पुर्‍याउने ७२ वर्षीया खन्तकुमारीको दिनचर्या बनेको छ । सात दशक उमेर पार गरे पनि उहाँको जाँगर र मेहनतलाई उमेर छेक्न सकेको छैन ।

नातिनातिना आफ्नै काममा व्यस्त हुने गरेपछि उहाँले आफ्नै करेसाबारीमा रोपेको मौसमी तरकारी बेनिवासीलाई खुवाउने गरेका छन् । उहाँको मेहनतसँगै मासिक आम्दानी पनि राम्रो नै छ । बेनी नगरपालिका–२ बर्बुटा उहाँको घरबाट दैनिक बजारमा तरकारी पुर्‍याउने उहाँको छोरा प्रेम अहिले ५२ वर्ष हुनुभयो । २१ वर्ष वैदेशिक रोजगारीपछि नेपाल फर्केको ३ वर्ष भयो । प्रेम विदेशमा हुँदा पनि आमाले तरकारी खेती नै गर्नुहुन्थ्यो भने अहिले पनि उहाँ तरकारी खेतीमै खट्नु हुन्छ ।

सानै उमेर देखिनै खेतीपातीमै अभ्यस्त भएकोले अरू भन्दा यही काममा नै आफूलाई सहज र रमाइलो पनि हुने उहाँको भनाई छ । उहाँले भन्नुभयो ‘छोरो हुर्काउँदा होस या छोरो विदेश गएर कमाउँदा पनि मैले यही तरकारी लगाउने काम गरेँ र अहिले पनि यसैमा मलाइ खुसी छ ।’

छोरा प्रेम भन्नुहुन्छ –‘आमालाई तरकारी खेती नगर्नु दुःख धेरै भयोभन्दा पनि उहाँले मान्नु हुन्न, तरकारी लगाउने तिरै ध्यान दिनु हुन्छ, केही वर्ष पहिला छोराछोरी पढाउनु पर्छ भनेर आमालाई पनि काठमाडौँ लगेका थियौँ तर उहाँ बस्न सक्नु भएन फर्केर यतै आएर तरकारी नै लगाउन थाल्नु भयो ।’

बर्बुटाकी खत्रीको बेनी नगरपालिका क्याम्पस चोक नजिकै पनि घर छ । तर गाउँमै बस्ने र तरकारी खेती गर्ने गर्नुहुन्छ । ‘१० रोपनी खेतमा आमाले तरकारी लगाउँदै आउनु भएको छ, तरकारी खेती गर्ने त आमाको बानी नै भयो, नगर्नु भन्दा मान्नु हुन्न, त्यसैले कर गरेर खेती नगर्न तिर लगाउन पनि सकिएन’ छोरा प्रेमले भन्नुभयो ‘बर्खा वा अन्य समयमा कडा खालको बाँझो भयो भने हामीले जोतिदिने गर्छौँ, बाँकी खन्ने काम सबै आमाले आफै गर्नुहुन्छ ।

ड्रागन फ्रुटको खेतीबाट वार्षिक १० लाख रुपैयाँ आम्दानी

बडिगाड गाउँँपालिका–५ का ७७ वर्षीय बालकृष्ण अर्याल यतिबेला ड्रागन फ्रुट खेती गरेर वार्षिक १० लाख रुपैयाँ आम्दानी गर्न थाल्नुभएको छ । बागलुङको बडिगाड गाउँँपालिकामा जन्मिनुभएका अर्यालको कर्म घर भने गुल्मीको मुसिकोट नगरपालिका–१ भर्माचौर हो । त्यही ठाउँमा अर्यालले तीन वर्षदेखि व्यावसायिक रूपमा ड्रागन फ्रुट खेती गर्दै आउनुभएको छ ।

अर्यालले चार रोपनी जग्गामा तीन सय पोल गाडेर ड्रागन फ्रुटको खेती गर्दैआउनुभएको छ । उहाँको बगैँचामा रहेका हरेक पोलमा गरी एक हजार दुई सय  ड्रागन फ्रुटका बोट रहेका छन् । तिनै बोटबाट अर्यालले गत वर्ष २० क्वीन्टल ड्रागन फ्रुट उत्पादन भएको अर्यालले बताउनुभयो ।

यसपटक ३० क्वीन्टल उत्पादन हुने उहाँको अनुमान छ । यसलाई विस्तार गर्नका लागि उहाँले गत वर्षदेखि ड्रागन फ्रुटका बिरुवासमेत उत्पादन गर्न थाल्नुभएको छ । अर्यालले बगैँचामा १५ जातका १८ हजारभन्दा बढी बिरुवा उत्पादन गर्नुभएको छ । उत्पादित बिरुवा ५० देखि दुई सय ५०सम्ममा बिक्री गर्ने गरेको उहाँले बताउनुभयो ।

उत्पादित फलले बजार पाए पनि बिरुवाले भने बजार पाउन नसकेको अर्यालले बताउनुभयो । उहाँले उत्पादन गर्नभएको ड्रागन फ्रुट बजारमा प्रतिकिलो पाँच सय रुपैयाँमा बिक्री हुने गर्दछ । गत वर्ष उहाँले ड्रागन फ्रुट बिक्री गरी दश लाख रुपैयाँ आम्दानी गरेको बताउनुभयो ।

बडिगाड–५ ग्वालीचौरमा रहेको भानु माध्यमिक विद्यालयमा ३३ वर्ष प्राधानाध्यापकको जिम्मेवारी सम्हालेर १५ वर्षअघि शिक्षण पेशाबाट अवकाश पाउनुभएका अर्याल यतिबेला ड्रागन फ्रुट खेतीमा रमाउनुभएको छ । उमेरले ७७ वसन्त टेक्नुभएका अर्यालका छोरा रोजगारीको क्रममा अमेरिका र अष्ट्रेलियामा हुनुहुन्छ ।

बुढेसकालमा छोरासँग देश विदेश घुमेर रमाउने समयमा उहाँ गाउँँमै बसेर कृषि कर्ममा रमाउनुभएको छ । अर्यालको यस्तो सक्रियताले गाउँँका धेरै व्यक्तिलाई उर्जा र प्रेरणा मिलेको छ । ‘शुरुमा मैले यो पेशा अगाँल्दा गाउँँलेलाई पत्यारै लागेन, धेरै जनाले यी पोल गाडेर यो बुढाले बुढेसकालमा के उपद्रो गर्न लाग्यो होला भनेर नाक चिम्राउँथे, कतिले यो नहुने काम गर्यो भनेर भने । तर गरे त हुँदोरहेछ नि’, अर्यालले भन्नुभयो ।

तिनै नाक चिम्राउने र विश्वास नगर्नेहरु अर्यालले बगैँचा भरी ड्रागन फ्रुट उत्पादन गरेको देखेपछि अचम्मित बनेका छन् । स्थानीय सरकारले पनि व्यावसायिक कृषकलाई अनुदान उपलब्ध गराउने नीति बनाएको मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताउनुभयो ।

बुढ्यौलीले ओरालो लाग्दै गर्दा र कपाल फुल्दै गर्दा पनि अर्यालको यो हिम्मत र जाँगर अझै पनि कुनै तन्नेरीको भन्दा कम छैन । अर्यालले अहिलेसम्म कुनै पनि स्थानीय तहबाट अनुदान नपाएको बताउनुभयो । ‘यसमा २० लाख मेरो लगानी भइसकेको छ, यसले २०/२५ वर्ष आम्दानी दिन्छ’, अर्यालले भन्नुभयो । अर्यालले बाँझिएको खेतबारीलाई आफ्नै एकल पौरख र मेहनतले सिञ्चित गर्दै आउनुभएको छ । पछिल्लो समयमा धेरै व्यक्ति गाउँँ छाडेर परिवारसँगै शहर पसे पनि अर्याल दम्पति भने खुसीका साथ गाउँँमा कृषि कर्ममा रमाइरहेको छ ।

बिपद् पीडितले पाएनन् राहत

म्याग्दी जिल्लाका बिपद् पीडित १ सय ५८ जना लाभग्राहीले तीन तहको सरकारबाट आवश्यक राहत रकम प्राप्त गर्न सकेका छैनन्। संघीय, प्रदेश र स्थानीय सरकारको साझेदारीमा वितरण हुने भनिएको रकम अझै लाभग्राहीसम्म पुग्न सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालका अनुसार हालसम्म जिल्लाको विपद् कोषमा जम्मा ५ करोड २२ लाख २७ हजार रुपियाँ मात्र रहेको छ। अस्थायी आवासका लागि प्राप्त १ करोड १६ लाख २ हजार ५ सय रुपियाँ समेत वितरण गर्न नसकिएको हो। यसले गर्दा गत वर्षदेखि चालु आर्थिक वर्षसम्मका लाभग्राहीहरूसम्म रकम नपुगेको अवस्था छ। संघीय सरकारबाट पुरानो दायित्व र चालु आर्थिक वर्षको लागि जम्मा ४ करोड ५९ लाख ७ हजार ५ सय रुपियाँ र प्रदेश सरकारबाट २ करोड ५ लाख ५० हजार रुपियाँ आउन बाँकी रहेको छ।

यस्तै, लाभग्राहीहरूको संख्या अघिल्लो वर्षसम्म १ सय २९ जना रहेकोमा यस वर्ष थपिएर १ सय ५८ पुगेको छ। तर, रकम नआउँदा राहत वितरणमा समस्या भइरहेको छ। लाभग्राहीहरूले दोस्रो र तेस्रो किस्ता समेत प्राप्त गर्न सकेका छैनन्।

कुनै पनि बिपद् भएमा एकद्वार प्रणालीबाट राहत वितरण हुने व्यवस्था गरिएको छ। तर, रकम नआउँदा राहत वितरणमा समस्या देखिँदैछ। रकमको अभावले राहत कार्य प्रभावित भएको र सबै तहबाट रकम आउने आशा राखिएको प्रमुख जिल्ला अधिकारी ढकालले बताउनु भयो ।

अघिल्लो आर्थिक वर्ष सम्म निजी आवास निर्माण गर्नुपर्ने बेनी नगरपालिकामा ३७, रघुगंगा गाउँपालिकामा १७, धवलागिरी गाउँपालिकामा १०, मंगला गाउँपालिकामा १५, अन्नपूर्ण गाउँपालिकामा १८ र मालिका गाउँपालिकामा ३२ गरी कुल १ सय २९ लाभग्राही रहेका थिए । चालु आर्थिक वर्षमा बेनी नगरपालिकामा ६, मंगला गाउँपालिकामा १६ र मालिका गाउँपालिकामा ७ गरी कुल २९ लाभग्राही थपिएका छन् ।

स्थानीय तह र सरकारको सहयोग नपुगेको कारणले राहतको रकम अझै लाभग्राहीसम्म पुग्न सकेको छैन। यसले गर्दा पीडितहरूलाई राहत र क्षतिपूर्ति समयमा नपुग्ने अवस्था देखिएको छ।

यस अवस्थालाई मध्यनजर गर्दै, जिल्लाका सरोकारवालाहरूले राहत कार्यलाई लाभग्राहीसम्म पुर्‍याउन आवश्यक कदम चाल्नुपर्ने देखिएको छ।

आज ज्येष्ठ शुक्ल एकादशी: घरका मठमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आ–आफ्नो घरको मठमा आज तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको दल राख्ने गरिन्छ । यस दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यस दिन रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काइबढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास पनि भनिन्छ ।

चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्राडा देवमणि भट्टराईले राससलाई जानकारी दिए।

सक्नेले पानी नखाई व्रत गरे पनि नसक्नेका लागि फलफूल खाएर बस्न सकिने पनि उनले जानकारी दिए । आयुर्वेदिक रूपमा पनि लाभकारी औषधि मानिने तुलसी विभिन्न रोगको उपचारसमेतमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानसमेतले प्रमाणित गरेको छ । यस अवसरमा देशभरका नारायणस्थान एवम् विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्छ ।

सुरक्षित आप्रवासन कार्यक्रमअन्तर्गत अन्तरक्रिया

जिल्ला प्रहरी कार्यालय म्याग्दीको सभाहलमा आज बेनी नगरपालिका नगर कार्यपालिकाको कार्यालयद्वारा सञ्चालित सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत “सुरक्षित वैदेशिक रोजगार, ठगी तथा मानव बेचबिखन सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ।

कार्यक्रममा बेनी नगरपालिकाकी उपप्रमुख ज्योती लामीछाने, प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा, जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य बहादुर थापा, प्रमुख अनुसन्धान अधिकृत सबिन श्रेष्ठ, सामी कार्यक्रमका प्रतिनिधिहरू, तथा जिल्ला प्रहरी कार्यालय मातहतका विभिन्न प्रहरी अधिकृत र जवानहरुको सक्रिय उपस्थिति रहेको थियो।

कार्यक्रमको उद्देश्य सुरक्षित आप्रवासन, वैदेशिक रोजगारीमा हुने ठगी, मानव तस्करी जस्ता मुद्दामा प्रहरी तथा स्थानीय तहबीच समन्वय सुदृढ गर्दै जनचेतना अभिवृद्धि गर्नु रहेको आयोजक संस्थाले जानकारी दिएको छ।

सहभागी वक्ताहरूले वैदेशिक रोजगारीमा जाने क्रममा देखिएका चुनौती, दलालहरूको संजाल, र मानव बेचबिखन विरुद्धको कानुनी प्रावधानका विषयमा विचार प्रस्तुत गरेका थिए। कार्यक्रममा सहभागी सुरक्षाकर्मीहरूले यस किसिमका कार्यक्रमहरूले उनीहरूको कार्यदिशा थप स्पष्ट बनाउन सहयोग पुगेको बताएका छन्।

एनआरएनए बहराइनको सहयोगमा विद्यालयमा दुई कोठे भवन निर्माण सुरु

म्याग्दी, बेनी – गैर आवासीय नेपाली संघ (NRNA) बहराइनको आर्थिक सहयोगमा म्याग्दी जिल्लाको बेनी नगरपालिका–६, जामुखर्कस्थित श्री विद्या मन्दिर आधारभूत विद्यालयमा दुई कोठे भवन निर्माण सुरु गरिएको छ। शुक्रवार एक कार्यक्रमका बीच सो भवनको शिलान्यास तथा आर्थिक सहयोग हस्तान्तरण गरिएको हो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुबास विश्वकर्माले विद्यालयको भौतिक पूर्वाधार सुधारमा महत्वपूर्ण सहयोग पुगेको बताउँदै एनआरएनए बहराइनप्रति आभार व्यक्त गर्नुभयो “हामीले लामो समयदेखि नयाँ भवनको आवश्यकता महसुस गरिरहेका थियौँ। आज एनआरएनए बहराइनको साथले त्यो सपना साकार हुँदैछ,” अध्यक्ष विश्वकर्माले बताउनुभयो ।

शिलान्यास कार्यक्रममा एनआरएनए बहराइनका अध्यक्ष राजु कुमार श्रेष्ठले एनआरएनएले मातृभूमिप्रति आफ्नो दायित्व बिर्सेको छैन भन्दै शिक्षा क्षेत्रमा गरिएको सहयोग भविष्यका पुस्ताको लगानी हुनेबताउनुभयो । “शिक्षामा लगानी भनेको मुलुककै विकासमा लगानी हो। हामी अझ धेरै ठाउँमा सहयोगको दायरा विस्तार गर्दैछौं,” श्रेष्ठले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य दिंदै प्राध्यापक धनबहादुर रानाले विद्यालयको इतिहास, आवश्यकताको पृष्ठभूमि र हालको अवस्था प्रस्तुत गरेका थिए। उनले स्थानीयस्तरमा शिक्षा गुणस्तर उकास्न सामुदायिक र अन्तर्राष्ट्रिय साझेदारी आवश्यक भएको बताए।

म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले शुभकामना मन्तव्य राख्दै विद्यालय जस्ता संस्थाहरुको विकासमा निजी क्षेत्र र प्रवासी नेपालीको हातेमालो सकारात्मक रहेको बताउनुभयो । “शिक्षा क्षेत्रमा यस्तो सहयोगले नयाँ ढोका खोल्नेछ,” शाक्यले भनुभयो ।

त्यसैगरी, एनआरएनए बहराइनका संरक्षक छबि लाल विश्वकर्माले शुभकामना मन्तव्य दिँदै भन्नुभयो, “हामी प्रवासमा भए पनि आफ्नो गाउँठाउँप्रति सदैव समर्पित छौँ। यस्तो सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ।”

विद्यालयमा हाल ४ जना शिक्षक, १ जना कार्यालय सहयोगी र १ जना बाल विकास शिक्षक गरी कुल ६ जना कर्मचारी कार्यरत छन्। भवन निर्माण सम्पन्न भएपछि बालबालिकाको सिकाइ वातावरण अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय अभिभावक, समाजसेवी तथा पत्रकारहरुको समेत उपस्थिति रहेको थियो।