Sunday, June 29, 2025
22 C
Beni
22 C
Beni
Sunday, June 29, 2025
Home Blog Page 18

‘जहाँ मध्यरातमा चिच्याएर वर मागिन्छ’

सत्यवती बर्जु मन्दिरलाई धेरैले चिच्याएर वर माग्ने ‘बहिरी देवी’ रुपमा चिन्छन् । बर्जु कान सुन्दैँनन्, उनी बहिरी छन्, त्यसैले उनलाई सुनाउन चिच्याउनुपर्छ । जति सकिन्छ त्यति चर्को चिच्याउने हो त्यही पनि मध्यरातमा । बागलुङको बरेङ गाउँपालिका–३ बाटाकाचौरको साग्दीमा पर्ने सत्यवती बर्जु मन्दिरमा चिच्याएर वर मागे मात्र पूरा हुन्छ भन्ने आस्था र मान्यता छ । मागेको पुग्ने साक्षात् देवीको स्वरुपको धार्मिक शक्तिपीठको रुपमा साग्दी सत्यवती बर्जु मन्दिर चर्चित छ । यहाँ दैनिक धार्मिक मात्र होइन, अन्य पर्यटक पनि पुग्छन् । विशेष पूजाको समयमा एकै दिन एक लाखभन्दा बढी दर्शनार्थी मन्दिर पुग्छन् ।

भिरमा अडिएको चट्याङमा बसेकी सत्यवती बर्जुको दर्शन र पूजाआजामा भक्तजनलाई असहज भएपछि गाउँपालिका र प्रदेश सरकारको समेत सहयोगमा विभिन्न संरचना निर्माण गरिएको छ । साग्दी सत्यवती बर्जु मन्दिरमा सङ्घीय सरकार, गण्डकी प्रदेश सरकार, बरेङ गाउँपालिका र वडा कार्यालयको संयुक्त लगानी रहेको छ ।

अहिलेसम्म एक करोडभन्दा बढीको पर्यटकीय पूर्वाधार निर्माण भइसकेको बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले जानकारी दिए । २०७४ सालदेखि मन्दिरमा संरचना बनाउन थालिएको र अहिलेसम्म एक करोडको पूर्वाधार निर्माण भइसकेको छ । प्रवेशद्वार, पदमार्ग, विश्रामस्थल, खानेपानी, बलि दिने स्थान व्यवस्थापन तथा पर्खाललगायतका पूर्वाधार निर्माण गरेपछि मन्दिर चिटिक्क देखिएको छ ।

मन्दिरभित्र सत्य देवीको मूर्ति रहेको छभने मन्दिर नजिकैको जलकुण्ड छ । जलकुण्डको पानी वर्षैभरि एकैनास रहने गर्दछ । यस मन्दिरमा मध्यरातमा चिच्याएर वर माग्ने अनौठो परम्परा रहँदै आएको छ । मन्दिरमा भाकल गरेको कुरा पूरा भएको भन्दै पुनः मन्दिरमा आउनेहरुको सङ्ख्या समेत उल्लेख्य रहेको वडाध्यक्ष शेरबहादुर खनालको भनाइ छ । मन्दिरमा बर्सेनि मङ्सिर शुक्ल पक्ष धान्य पूर्णिमाका दिन विशेष पूजा गर्दै जलकुण्डमा चिच्याएर वर माग्ने प्रचलन रहेको छ ।

मन्दिर निकै पुरानो भएको प्रमाणित गर्ने १९२४ साल लेखेको घण्टी रहेको छ । मन्दिरमा रहेको १७५ वर्ष पुरानो घण्टीले मन्दिर र यसको इतिहास निकै पुरानो भएको प्रमाणित गर्ने साग्दी सत्यवती मन्दिर व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर श्रीसले बताउँछन् । त्यहाँ आएका पर्यटकहरुबाट गतवर्ष मात्रै पाँच लाख भेटी सङ्कलन भएको थियो । उक्त भेटीले मन्दिर मन्दिर निर्माणलगायत संरचानामा खर्च गरिएको मन्दिर व्यवस्थापन समितिका अनुसार अध्यक्ष होमबहादुर श्रीसको भनाइ छ ।

मन्दिरलाई सत्यका रुपमा पूजा गरिँदै आइएको छ । परापूर्वकालमा मन्दिर भएको स्थानमा गौचरन रहेको थियो । “गौरचनको मुख्य भागमा पानीको कुण्ड रहेको र पानीको कुण्डमा गाईवस्तु खस्न सक्ने भन्दै स्थानीयले ढुङ्गा तथा मुडाहरु राख्ने गरेका थिए, तर भोलिपल्ट गोठालाले कुण्डमा राखिएको मुडा र ढुङ्गा नदेखेपछि यस कुण्डमा सत्यता रहेको भन्दै बाराकोटबाट लामा झिकाएर पूजा गर्दा कुण्डमा शक्ति रहेको पाइएको थियो” व्यवस्थापन समितिका अध्यक्ष श्रीसले भने, “धार्मिक महत्व बोकेको सत्यवती मन्दिरको विशेष सत्यता मानिने जलकुण्ड हुग्दिशिर बराहकोटका मनबीर काउचाले १९२५ सालमा फेला पारी त्यस जलकुण्डको धार्मिक सत्यता छ भनी पूजा गरिँदै आएको हो ।”

यस्तै गाईले जलकुण्डमा पानी खाने क्रममा खाल्टोमा खस्न गई गाईबाट कान नसुन्ने माताको उत्पन्न भएको किंवदन्ती रहेको छ । सत्यवती बर्जु माताले कान नसुन्ने भएकाले चिच्याएर वर माग्ने गरेको छ । राति १२ बजेदेखि बिहान ३ बजेभित्र चिच्याएर वर माग्नाले मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको छ । मन्दिरको कुवामा एक पटक र मन्दिर माथिको खाल्टोमा अर्को पटक चिच्याएर वर माग्ने गरिन्छ ।

दिउँसो मागेको वर लाग्दैन र वर माग्दा एकले अर्कोलाई चिन्नु हुँदैन भन्ने विशवासका कारण रातको समयमा माग्ने परम्परा रहेको छ । यहाँ बागलुङ, म्याग्दी, गुल्मी, पर्वत, कास्की, तनहुँ, पाल्पा, चितवन, काठमाडौँ, बुटवल भैरहवालगायतका देशका विभिन्न स्थानबाट यहाँ आउने गरेका छन् । भक्तजनले मागेका कुराहरू सत्यवती बर्जुले पूरा गरिदिने धार्मिक जनविश्वासको आधारमा राँगा, कुखुरा, बोका, परेवाको बलि दिने वा परेवा उडाउने प्रचलन रहँदै आएको छ । रासस

हीरक महोत्सवले गरायो ‘अन्नपूर्ण प्रथम’को वास्तविक चिनारी

विश्वमा आठ हजार मिटर अग्ला हिमालमध्ये सबैभन्दा पहिलोपटक मानव पाइला परेको ‘अन्नपूर्ण प्रथम’ हिमालको आफ्नो पहिचान र चिनारी ढिला गरी स्थापित भएको छ ।

सन् १९५० जुन ३ मा फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको नेतृत्वमा लुइस लचेनल र दुई नेपाली शेर्पासमेत चार जनाले अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए ।

हिमालमा मानव पाइला परेको हिसाबले जेठो हिमालको नामले परिचित अन्नपूर्ण प्रथम हिमालको वास्तविक पहिचान र चिनारी अन्नपूर्ण हीरक महोत्सवले दिएको हो ।

पहिलोपटक अन्नपूर्ण हिमालको आरोहण गर्न प्रयोग भएको आधार शिविर र पदमार्ग म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४ नारच्याङमा पर्छ । यसअघि कास्की र राजधानी काठमाडौँ केन्द्रित कार्यक्रम गरी अन्नपूर्ण आरोहण दिवस मनाउने गरिएकामा पहिलोपटक वास्तविक भूगोलमै सरकारी तवरबाट अन्नपूर्ण आरोहण दिवस मनाइएको हो ।

गाउँपालिकाको नेतृत्वमा नेपाल पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको आयोजनामा अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा यही जेठ १६ देखि २२ गतेसम्म अन्नपूर्ण हीरक महोत्सव मनाइएको छ ।

हीरक महोत्सवको मूल समारोहलाई उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली नारच्याङ आउनुभएको थियो । धेरै कोसिस र प्रयास गरेर अन्नपूर्ण आरोहण दिवसलाई वास्तविक भूगोलमा मनाउन सम्भव भएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए ।

“अन्नपूर्णको गुमेको पहिचान फिर्ता ल्याउन अन्नपूर्ण हीरक महोत्सवले सम्भव भएको छ, हिजोको दिनमा आरोहण आधार शिविर र पदमार्ग गुमनाम थिए, अब राज्य र सरोकारवाला सबैलाई वास्तविकताबारे जानकारी भएको छ, अब यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, गाउँपालिका अध्यक्ष पुनले बताए ।

प्रधानमन्त्री र फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलदेखि प्रथम आरोही मौरिस हर्जोगका छोरा माथिएसलगायतका परिवारका सदस्य र फ्रान्सेली नागरिकहरूको समेत सहभागितामा अन्नपूर्ण हीरक महोत्सव मनाइएकाले आगामी दिनमा अन्नपूर्ण आधार शिविर र पदमार्गको प्रचारप्रसारमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।

हीरक महोत्सवका अवसरमा करिब २०० जनाको सहभागितामा नारच्याङदेखि आधार शिविरसम्मको पदयात्रा, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको ३८ किलोमिटर लामो म्याराथन दौड प्रतियोगिताका साथै नारच्याङमा मूल समारोह र पुर्ख्यौली नृत्य प्रस्तुतिलगायत कार्यक्रम समावेश गरिएको थियो ।

हिमाल आरोहणको इतिहासमा नेपालकै जेठो हिमालका रूपमा परिचित भए पनि आरोहण भएको वास्तविक भूगोल ओझेलमा परेकाले हीरक वार्षिकोत्सवलाई आरोहण आधार शिविरमै आएर मनाइएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

“जेठो हिमालका रूपमा अन्नपूर्ण हिमालको संसारभर नाम फैलिए पनि वास्तविक आरोहण आधार शिविर उपेक्षामा परेको रहेछ, हामीले यस पटक सबै सरोकारवालासँग समन्वय गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमै आएर आरोहण दिवस मनाएका छौँ, यसले अन्नपूर्णको लुकेको पहिचानलाई अन्तर्राष्ट्रियकरण गर्न सघाउ पुग्ने विश्वास गरेका छौँ”, लामिछानेले भने ।

सन् १९५० मा जुन ३ मा फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो ।

आरोहण मार्गको हिसाबले ऐतिहासिक महत्त्व बोकेको भए पनि प्रचारप्रसार र पूर्वाधार निर्माणको अभावले अन्नपूर्ण प्रथम आधार शिविर ओझेलमा परेको थियो ।

अन्नपूर्ण हिमाल आरोहण दिवस यसअघि पोखरा आसपासका क्षेत्रमा मनाउने गरिएकामा यस पटक  हिमाल आरोहणमा इतिहास बोकेको अन्नपूर्ण प्रथम आधार शिविरमै आएर मनाउँदा यसले न्याय भएको महसुस भएको टान गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले बताए ।

भौगोलिक विकटता रहेको र राज्यको माथिल्लो निकायमा पहुँच राख्न नसकेको कारण अन्नपूर्ण प्रथम आधार शिविर जाने पदमार्गमा पूर्वाधार निर्माण हुन सकेको थिएन भने यहाँको पहिचानसमेत गुमनाम बनेको थियो ।

सन् २०१० मा हेलिकप्टरमार्फत नारच्याङ गाउँ आउनुभएका प्रथम आरोही मौरिस हर्जोगले अन्नपूर्ण प्रथम आधार शिविरको ऐतिहासिक महत्वबारे स्थानीयवासीलाई अवगत गराएपछि विसं २०६८ मा नारच्याङका पर्यटन व्यवसायी तेज गुरुङको नेतृत्वमा नारच्याङदेखि आधार शिविर जोड्ने पदमार्ग पहिचान गरिएको थियो ।

“हामीले वर्षौँ लगाएर पदमार्गलगायत पूर्वाधार बनाएका हौँ, हर्जोगकै सम्मानमा हामीले उहाँकै नामबाट मौरिस हर्जोग पदमार्गका रूपमा नामकरणसमेत गरेका छौँ, वर्षौँदेखि ओझेलमा परेको यो क्षेत्रले पहिलोपटक हीरक महोत्सवमा न्याय पाएको अनुभूति गरेका छौँ,” पदमार्गका अभियानकर्मी गुरुङले भने ।

उनका अनुसार हीरक महोत्सवका अवसरमा आधार शिविरमा प्रथम आरोहीहरूको सालिक अनावरण गर्नाका साथै अहिलेसम्मका सबै आरोहीहरूको अभिलेख समेत खुला सङ्ग्रहालय बनाएर राखिएको छ ।

प्रथम आरोही हर्जोगले हिमाल आरोहणमा प्रयोग गरेका उपकरण नेपाल पर्वतारोहण सङ्घद्वारा सञ्चालित अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालय पोखरालाई हस्तान्तरण गरिएको छ ।

महको बजारीकरणमा समस्या, २१ टन मौज्दातमा

नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ। गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो। तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो।

तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो। किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलो मात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन्।

मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो। त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नकली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ।

उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए।

मौरी विज्ञ जगदीशभक्त श्रेष्ठकाे अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ। जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ। त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ। यसरी मह जम्ने प्रक्रिया प्राकृतिक मानिन्छ।

“मह तताउँदा महको केही गुण नष्ट हुन्छ”, श्रेष्ठले भने। उनकाे अनुसार महको औषधि मात्र होइन यो पौष्टिक तत्त्वका लागि पनि लाभदायक हुन्छ। महले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ।

नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन्।

मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरू पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ। तत्कालीन समयमा सरकारलाई दबाब दिएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो।

“हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौं, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ”, उनल भने।

मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका विएण्डवि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारकाे मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउँछन्। उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन्।

“नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौं, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ”, उनले भने।

उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन्। नेपाली महको अन्तर्राष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ।

मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईकाे अनुसार वर्षवर्ष पाँच करोड रूपैयाँभन्दा बढीको नेपाली मह निर्यात भएको थियो। यसले नेपालमा उत्पादित मह अन्तर्राष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ। विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे।

मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ। विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्ने लगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन्।

किसान आफैँ मह उत्पादन गरेर बजार जान सक्दैनन्। सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ। हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन। त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन्।

नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछन्।

भृकुटीमण्डपमा जारी मह मेलामा ४० कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रस लगायत सामग्री राखिएको छ। मेलामा सातै प्रदेशका किसानको सहभागिता छ। त्यस अवसरमा महसम्बन्धी छलफल समेत आयोजना गरिएको छ।

मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ। उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ।

महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन्। नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ। सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन्।

कार्यकारी फेरिएर झ्याप्प बत्ती गएको होइन: राज्यमन्त्री गर्बुजा

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा  नेपाली कांग्रेस म्याग्दीका सभापति तथा  प्रतिनिधिसभा सदस्य हुनुहुन्छ । रघुगङ्गा गाउँपालिका–४ दग्राम निवासी गर्बुजा बेलायती गोर्खा सैनिकका सेवानिवृत्तभएपछि २३ वर्षदेखि नेपाली राजनीतिमा सक्रिय हुनुहुन्छ । राज्यमन्त्री गर्बुजासँग राससका समाचारदाता सुशील दर्नालले लिएको अन्तर्वार्ताको सम्पादित अंशः

आजकाल फ्याट फ्याप्प बिजुली बत्ती जान्छ नि, के कारणले होला ?

कतिपयले अब लोडसेडिङ हुन्छ भनेर प्रचार गरिरहेका छन् । तर, मलाई त्यस्तो लाग्दैन । बिजुली चौबिसै घण्टा छ । मलाई जानकारी भएअनुसार कतिपय ठाउँमा ट्रान्सफरमरको कमीकमजोरीको कारणले पनि केही समय बत्ती  गएको हुन सक्छ । बर्खायाम सुरु भएसँगै कतिपय ठाउँमा बिजुलीको पोल ढलेर बत्ती गएको छ । तर, नेपाल विद्युत् प्राधिकणको कार्यकारी अधिकृत परिवर्तन भएकै कारण बत्ती गएकोे होइन ।

तपाईं भर्खरै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री नियुक्त हुनुभएको छ, योजना के छ ?

नेपाल खोला र नदी/नाला भएको देशका रुपमा चिनिएको छ । हाम्रो देश जलस्रोतमा धनी छ । पानी खेर जान नदिन बिजुली उत्पादन गरी अन्य देशलाई बेच्नुपर्छ भन्ने मेरो मान्यता हो । जलविद्युत्सम्बन्धी काम सरकारले गरिरहेको छ । आफूले नसकेका काम निजी कम्पनीलाई दिएर भएपनि काम गर्ने योजना छ । हामीसँग हाइड्रोसम्बन्धी ठूला–ठूला योजना पूरा गर्न सकियो भने आर्थिक विकासमा सहयोग पुग्छ । अर्कोतर्फ सिँचाइको पनि कुरा छ । मधेशमा भएको सिँचाइको अभावकोे समस्यालाई समाधान गर्न सरकारले काम थालेको छ । सरकारमा मेरोे पहिलो अनुभव हो । ऊर्जा, जलस्रोत र सिँचाइका बारेमा अध्ययन गर्दैछु । यस क्षेत्रका समस्याको पहिचान गरी समाधान गर्न सरकार क्रियाशील छ ।

 युवा पलायन रोक्न तपाईङको योजना के छ ?

युवा पलायन नेपालमा मात्रै होइन, अरू देशमा पनि छ । तर, नेपालमा अलि बढी छ । हामीले रोजगारीमा विदेश जाने युवालाई काम अनुसारको तामिल दिन सकियो भने राम्रो हुन्थ्यो । बेरोजगारी समस्या पुरानै हो । तथापि सरकारले युवा पलायन रोक्नका लागि योजना बनाएर काम गर्दैछ । सरकारले युवा पलायन रोक्न नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेटमा केही योजना समावेश गरेको छ । बेरोजगारी अन्त्यका लागि देशमा ठूला–ठूला कलकारखाना खोल्नुपर्छ । त्यसका लागि एकैचोटि गर्छु भनेर हुँदैन । ठूला–ठूला जलविद्युत् आयोजना सञ्चालन गरी केही युवालाई रोजगारी दिन सकिन्छ ।

देशको आर्थिक विकास गर्ने सवालमा तपार्इंको योजना के छ ?

देशको आर्थिक विकासका लागि मुख्य कृषिमा लगानी गर्नुपर्छ । सरकारले आफूले सकेको लगानी गरेकै छ । सरकारको बजेटले पनि उत्पादनमा जोड दिएको छ । रुग्ण कलकारखाना र उद्योगको संरक्षण र प्रवद्र्धन गर्दै नयाँ सञ्चालन गर्ने योजना छ । तर, देशको आर्थिक विकास पनि एकै चोटि हुने विषय होइन, बिस्तारै हुँदैछ ।

तपाईंलाई निर्वाचित गराउने म्यादी जिल्लाका जनतासमक्ष निर्वाचनको समयमा राख्नुभएको प्रतिबद्दता कति पूरा गर्नुभयो ?

निर्वाचनको समयमा राखेका कतिपय प्रतिबद्धता पूरा भएका छन् । तर, अझै धेरै पूरा हुन बाँकी नै छ । मुख्य कुरा मतदातालाई दुःखमा साथ दिन्छु भनेको थिए । यो सवालमा मैले उहाँहरुको हरेक समस्यामा सँगसँगै रहेर काम गरेको छु । त्यहाँका जनतासँग प्रत्यक्ष रुपमा जोडिएका शिक्षा, स्वास्थ्य र बेरोजगारी समस्या समाधान गर्न मेरो तर्फबाट सक्दो पहल गरिरहेको छु । म्यादीको विभिन्न स्थानमा सडक निर्माण, पुल निर्माण, विद्यालय भवन निर्माणमा सहयोग गरेको छु ।

म्यादी जिल्लाको विकासको हिसाबले तपाईंले देखेको सम्भावना के–के हुन ?

म्याग्दी जिल्ला पर्यटकीय हिसाबले अत्यन्त सम्भावना भएको जिल्ला हो । अर्को, हाइड्रोपावरमा पनि यो जिल्ला सम्भावना भएको जिल्ला हो । म्याग्दीलाई हाइड्रोको हब नै भनिन्छ । कृषिमा पनि प्रचुर सम्भावना छ । यो जिल्लामा बीउबिजन, मल, सिँचाइलगायत किसान र कृषिसँग जोडिएका समस्या समाधान गर्न मैले मेरो तर्फबाट सक्दो पहल गरिरहेको छु । अर्को धर्मको हिसाबले  मुक्तिनाथको प्रवेशद्वार नै म्याग्दी हो । विकासको हिसाबले म्यादी जिल्लामा सम्भावना नै सम्भावना छ । तर, त्यसका लागि हामी सबै म्याग्दीवासी मिल्नुपर्छ । एकजुट हुनुपर्छ ।

 प्रतिनिधिसभाको सदस्य हैसियतले प्रतिनिधिसभाको अहिलेसम्मको अनुभव कस्तो रह्यो ?

प्रतिनिधिसभाको गतिविधि हामीले साचेको जस्तो सजिलो हुँदैन । त्यसका आफ्नै नीति नियम र प्रक्रिया छन् । मेरो विचारमा संसद्ले तीव्रताका साथ काम गरेको छ । पहिला म सांसद मात्रै हुँदा जनताका जुनजुन विषय उठाएको थिए, अहिले त्यो कार्यान्वयन गर्ने ठाउँमा छु । ऊर्जा राज्यमन्त्री भएको धेरै भएको छैन । तर पनि जनतासँग जोडिएका समस्यालाई समाधान गर्न पहल गरिरहेको छु ।

संविधान जारी भएको करिब दश वर्ष भयो, कार्यान्वयनको अवस्थालाई  कसरी विश्लेषण गर्नुभएको छ ?

तुलनात्मक रुपमा संविधान कार्यान्वयन भएको छ । जस्तो संविधान जारी भएपछि त्यसको मूल मर्मअनुरुप उत्साहका साथ दुईवटा आम निर्वाचन सम्पन्न भएको छ । संसद्मा ३३ प्रतिशत महिलाको सहभागिता कार्यान्वयन भएको छ । तर, अस्थिर राजनीति र सरकारका कारणले जति कार्यान्वयन हुनुपथ्र्यो त्यो भएन ।

सङ्घीयतासँग जोडिएका कतिपय ऐन÷कानुन समयमा बन्न सकेको छैन । जस्तो निजामती ऐन, शिक्षा ऐन, प्रहरी ऐन ल्याउन ढिलाइ भएको छ । सङ्घीयतासँग जोडिएका र अति आवश्यक अन्य ऐन पनि जतिसक्दो चाँडो ल्याउने पक्षमा सरकार छ । सरकारले सोही अनुरुप काम गरिरहेको छ ।

संविधानबमोजिम कानुन निर्माणको पाटोलाई तपाईंले कसरी हेर्नुभएको छ ?

प्रतिनिधिसभाले कानुन निर्माणको विषयमा धेरै काम गरेको छ । धेरै कानुन बनाएको छ । तर, अझै जति कानुन निर्माण गर्नुपर्ने हो त्यति हुन सकेको छैन । त्यसमा सरकार अस्थिर हुनुले पनि प्रभाव पारेको छ । संसद्लाई सरकारले विजनेस दिएकै छ । बन्न बाँकी अत्यन्त महत्वपूर्ण कानुन बनाउनुपर्नेछ । त्यसतर्फ पनि सरकारको ध्यान केन्द्रित भएको छ । यस अवसरमा सबै राजनीतिक दलका नेता र सांसदलाई कानुन निर्माणको पक्षमा सक्रियताका साथ लाग्न आग्रह गर्दछु ।

अहिले संविधान संशोधनको विषय पनि चर्चामा छ, यसबारेमा तपाईंको धारणा के छ ?

संविधान संशोधनको विषयमा ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेकपा (माओवादी केन्द्र) बाट उठेको छ । जनताबाट पनि यो विषय उठेको छ ।  संविधानलाई समयअनुसार संशोधन गर्नुपर्छ । त्यो जनताको भावनाअनुसार पक्षमा हुनुपर्छ । संशोधन गरेर देशको अर्थतन्त्रले धान्ने बनाउनुपर्छ । त्यसका लागि जनतासँग पर्याप्त छलफल गर्न जरुरी हुन्छ । संविधान संशोधनको विषय राजनीतिक दलभन्दा जनताबाट आउनुपर्छ ।

सङ्घीय संरचनालाई अझै सुदृढ बनाउन के गर्नुपर्छ ?

सङ्घीयताबारेमा संविधान निर्माणकै क्रममा कतिपय गल्ती भएका छन् । सच्याएर जानुपर्छ । जस्तो सङ्घ, प्रदेश र स्थानीय गरी तीन तहको सरकारको अधिकारका बारेमा संविधान सच्याउनुपर्ने मैले देखेको छु ।

दामोदरकुण्डमा लेक लागेर एक तिर्थयात्रीको मृत्यु

हिन्दू धर्मावलम्बीहरुको पवित्र तिर्थस्थल दामोकरकुण्डकमा एक नेपाली तिर्थयात्रीको लेक लागेर मृत्यु भएको छ । उपल्लो मुस्ताङको लो–घेकर दामोदरकुण्ड गाउँपालिका–४ मा अवस्थित दामोदरकुण्डमा नुवाकोट जिल्लाका ७० वर्षीय भोजबहादुर सिटौलाको मृत्यु भएको हो ।

समुन्द्री सतहबाट चार हजार आठ सय ९० मिटर उचाईमा रहेको दामोदरकुण्डमा दर्शनको क्रममा अचानक बिरामी भएपछि बुधबार दिउँसो १२ः३० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी निरीक्षक विशाल अधिकारीलृे बताउनुभयो । मृतकको शव आज शुक्रबार हेलिकोप्टरबाट ल्याउने तयारी भइरहेको छ ।

बिहीबार प्रतिकुल मौसमका कारण मृतक सिटौलासहित परिवारका अन्य सदस्यको उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । मृतक सिटौलासँगै गएका एक सदस्यमा सामान्य समस्या भए पनि अन्य सदस्यमा कुनै समस्या छैन । उच्च स्थानमा दिर्घरोगी तथा वृद्धवृद्धालाई लेक लाग्ने समस्या हुने भएकाले आवश्यक स्वास्थ्यको चेकजाँच गरी जान अनुरोध गरिएको छ । दामोदर कुण्डमा दैनिक २५ जनाभन्दा बढी जाने गर्दछन् ।

दामोदर कुण्ड क्षेत्रमा रहेका तिर्थयात्रीका बारेमा सुर्खाङ प्रहरी चौक र दामोदर कुण्ड समितिमार्फत थप जानकारी लिने काम भइरहेको छ । यो सिजनमा दामोदर कुण्डमा जाने भक्तजनलाई धर्मशालासहित अन्य स्थानमा सहज समन्वयका लागि जेठ २० गतेबाट खुल्ला गरिएको थियो । दामोदरकुण्डमा ३ वटा जलाशय चक्रकुण्ड, दूधकुण्ड र तामाकुण्ड छन् । यीमध्ये मुख्य कुण्ड चक्र कुण्ड । जहाँ चक्र कुण्ड र दूधकुण्ड एक स्थानमा पर्छ भने तामाकुण्ड करिव १ सय मिटर टाढा छ ।

डाँडागाउँमा ‘एक घर, एक धारा’

मालिका गाउँपालिका–३ मा रु. एक करोड १० लाखको लागतमा निर्माण भएको डाँडागाउँ बोक्रे खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजनाबाट दुई सय २५ घरपरिवार लाभान्वित भएका छन् ।

मालिकाको रु. २४ लाख ८५ हजार ५९६ र नेपाल स्वास्थ्यको लागि पानी संस्था (नेवा)को रु. ५६ लाख एक हजार ३६६ अनुदान तथा उपभोक्ताको रु. २९ लाख १३ हजार १२४ को लागतमा योजना निर्माण भएको हो । वडाध्यक्ष मोतिप्रसाद बुढाले सर्वसाधारणका घरमा दुई सय २५, विद्यालयमा चार र सामुदायिक स्वास्थ्य एकाइमा एक निजी धारा जडान गरेर खानेपानी वितरण गरिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार डाडागाउँ, किटेनी, औल, सराग्दी र स्यागलुङ टोलका दुई हजार १९ जनसङ्ख्या लाभान्वित भएका छन् । यसअघि सार्वजनिक धाराबाट खानेपानी उपभोग गर्दै आएका थिए । घरघरमा धारा बनेपछि समयको बचत, झन्झट हट्नुका साथै घरायसी कामकाज सहज भएको उपभोक्ताले बताएका छन् । खानेपानी योजना निर्माणका लागि उपभोक्ताले प्रतिपरिवार ६० दिनका दरले श्रमदान गरेका थिए ।

पानीको मितव्ययी प्रयोगका लागि मिटर जडान गरिनुका साथै धारा वरपरको वातावरणलाई स्वच्छ बनाउन भाडा सुकाउने पक्की चाङसमेत निर्माण भएको छ । बोक्रेमा रहेका तीनवटा मुहानबाट ११ वटा रिजर्भ ट्याङ्कीमा पानी सङ्कलन गरेर वितरण गर्ने संरचना बनाएको नेवा संस्थाका प्राविधिक सुुरेन्द्र चन्दले बताउनुभयो । यस आयोजनाको मुख्य र शाखा पाइपलाइनको दूरी २१ हजार ४६८ मिटर लामो छ । रासस

मौरिस हर्जोगको ‘आइस एक्स’ पोखरा अन्तर्राष्ट्रिय म्युजियममा

७५ वर्षअघि अन्नपूर्ण हिमालमा पहिलोपटक मानव उपस्थिति जनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोग अहिले दुनियाँमा छैनन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा पर्ने यो हिमाल आठ हजार मिटरभन्दा अग्लो हिमालमा पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । आठ हजार ९१ मिटर अग्लो हिमाल चढ्दाताका मौरिसका संघर्ष पनि कम थिएनन् ।

हालै उनले पहिलोपटक हिमाल चढेको ७५ वर्षलाई हिरक महोत्सवको रूपमा मनाइएको छ । उनले ३१ वर्षको उमेरमा अन्नपूर्ण आरोहण गरेका थिए । सन् १९५० जुन ३ मा हर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको थियो ।

त्यतिबेलाको हिमाल आरोहणको सफलतालाई फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रूपमा मनाउने गरिँदै आएको छ ।

अन्नपूर्णको सफल आरोहण गरेपछि हर्जोगले बाँकी जीवन भने थप पीडामा बिताउनु पर्‍यो । आरोहणको क्रममा उनको दुवै हात र दुवै खुट्टा हिउँले खाइदिएपछि शेर्पाहरूले हिमालबाटै बोकेर आधार शिविर झारेका थिए । फ्रान्सको लियोन सहरमा १५ जनवरी १९१९ मा जन्मिएका हर्जोगको १३ डिसेम्बर २०१२ मा ९३ वर्षको उमेरमा निधन भएको थियो ।

नेपालका तत्कालीन राणा प्रधानमन्त्री मोहन शमशेरले हर्जोगलाई पत्र पठाएर निमन्त्रणा गरेका थिए । आरोहणपछि तत्कालीन सरकारले काठमाडौंमा समारोह आयोजना गरेर हर्गोजलाई गोरखा क्रस पदक प्रदान गरी सम्मान गरेको थियो । हर्जोगले प्राप्त गरेको पदक नेपाल सरकारबाट विदेशी नागरिकले प्राप्त गरेको उच्च तहको सम्मान हो ।

हिमाल चढेर विश्व इतिहास बनाएकै कारण फ्रान्स सरकारले उनलाई झन्डै एक दशकसम्म खेलकुदमन्त्री, सांसद र समोनी सहरको मेयर बनेका थिए । हर्जोगको टोली अन्नपूर्ण चढ्न २५० जना भरिया लिएर अन्नपूर्ण आधार शिविर पुगेको थियो ।

उनै हर्जाेगले अन्नपूर्ण हिमाल आरोहण गरेपछि ७५ वर्षगाँठ धुमधामले मनाइएको छ । हर्जाेगको टिमले सफल आरोहण गरेपछि उनका छोरा, नाति र सांगीतिक टोलीले म्याग्दीको नारच्याङ हुँदै अन्नपूर्णको प्रथमको आधारशिविरमा पुगेर विविध कार्यक्रम गरी ७५ वर्षअघिको सम्झनालाई ताजा बनाएका छन् ।

साथै, बिहीबार उक्त टोलीले पोखरास्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा त्यसबेला हर्जाेगले प्रयोग गरेको आइस एक्स (हिम बञ्चरो) प्रदान गर्नुकासाथै उनै हर्जाेगका टोलीकोे शालिक समेत अनावरण गरिएको छ ।

आठ हजार मिटरभन्दा अग्लो हिमालको पहिलो सफल आरोहणले विश्वभर नेपाललाई हिमालको देशको रूपमा चिनाएको थियो ।

तर, पछिल्लोसमय जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा पनि परेको र यसले हिमाली क्षेत्रमा मात्रै नभइकन समग्र विश्वको जलवायुलाई नै असर पारेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले बताए ।

मौरिस हर्जाेगको टोलीले बिनाअक्सिजन आठ हजार मिटरको आरोहण पूरा गर्दा, त्यो साहस, संकल्प र मानवीय क्षमताको चरम उदाहरण बनेको थियो । हिमालहरू मात्र होइन, यस्ता कथाहरूले नै नेपाललाई विश्वको नक्शामा उच्च बनाएको छ ।

सफल आरोहण गरेका फ्रान्सेली नागरिकहरू र नेपाली टोलीको प्रशंसा गर्दै यस्तो ऐतिहासिक कार्यले नेपाल र फ्रान्सको सम्बन्ध थप प्रगाढ भएको नेपालका लागि फ्रान्सेली राजदूत भर्जिनी कोर्टेभलले बताइन् ।
अन्नपूर्णको त्यो पहिलो विजयले जुन झिल्को देखायो, त्यो आज पनि विश्व पर्वतारोहणका लागि प्रेरणाको शिखर बनेको छ ।

गण्डकीका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले नेपाललाई अगाडि बढाउनका लागि पर्यटनभित्र पनि पर्वतीय पर्यटनको ठूलो महत्त्व रहेको र यसलाई नीति तथा कार्यक्रममा समेत प्राथमिकताका साथ समेटिएको जानकारी दिए ।

आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रम : वेवपेज निर्माणसँगै साईबर सुरक्षाबारे सिक्यौं- विद्यार्थी

म्याग्दी बहुमुखी क्याम्पसमा १० दिनसम्म सञ्चालित आईसिटी बुटक्याम्प तथा जबफेयर कार्यक्रममा सहभागी विद्यार्थीहरुले वेवपेज डिजाइनको निर्माणसँगै साईबर सुरक्षाबारे सिकेको अनुभव सुनाएका छन् । सामाजिक विकास कार्यालय म्याग्दीको आयोजनामा सञ्चालित कार्यक्रमको बुधवार समापनसत्रमा बोल्दै सहभागी विद्यार्थीहरुले १० दिनको छोटो अवधिमा पनि आईसिटी सम्बन्धी विषयमा धेरै जानकारी हासिल गरेको बताएका हुन् ।

तालिममा सहभागी विद्यार्थी भूमिका भण्डारीले आईसिटी तालिमको अनुभव सुनाउँदै भन्नुभयो, ‘तालिमका प्रशिक्षक सरहरु धेरै योग्य हुनुहुन्थ्यो र सिक्ने वातावरण पनि एकदमै सकारात्मक थियो । जसले गर्दा हामीलाई हरेक दिन नयाँनयाँ विषयको बारेमा सिक्नलाई उत्प्रेरणा मिल्यो । र अन्त्यमा म सामाजिक विकास कार्यालयलाई यस्तो कार्यक्रमको आयोजना गरी सहभागी भएर धेरै विषय सिक्ने अवसर प्रदान गर्नुभएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु ।’
तालिमका अर्का सहभागी अभिशेक बानियाँँले पनि अनुभव सुनाउँदै भन्नुभयो, ‘हामीले १० दिनको तालिम अवधिमा अमेजनको वेवपेज तयार पा¥यौं र त्यसलाई कसरी सुरक्षित गर्ने भन्ने कुरा पनि सिक्यौं । तालिममा आईसिटीको इम्पोर्टेन्स र साइबर सेक्युरिटीको बारेमा पनि सिक्यौं । र यस कार्यक्रम सञ्चालन गरिदिनुभएकोमा सामाजिक विकास कार्यालय र प्रशिक्षक सरहरुलाई म विशेष धन्यवाद दिन्छु ।’ भूमिका र अभिशेषक जस्तै अन्य सहभागीहरुको पनि तालिम अत्यन्तै फलदायी भएकाले आगामी दिनमा निरन्तरता दिनुपर्ने भनाइ छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सहयोग तथा समन्वयमा सम्पन्न आईसिटी बुटक्याम्प तालिममा वेवपेज डिजाइन, साइबर आक्रमबाट बच्ने उपायहरु, एआई र च्याट जिपिटीको प्रयोग तथा सञ्चालनलगायत ग्राफिक्स डिजाइन र निर्माणका विषयहरुमा सहजीकरण गरिएको जनाइएको छ । तालिमका सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले वर्तमान समय विज्ञान र प्रविधिको युग भएकाले सामाजिक सञ्जालहरुलाई सकारात्मक रुपमा प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । बढ्दो प्रविधिको सही र उचित तरिकाले प्रयोग गरी अध्ययन तथा अध्यापनका कार्यलाई अगाडि बढाउनुपर्ने उहाँको भनाइ छ ।
म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले आईसिटी बुटक्याम्प कार्यक्रमले विद्यार्थीहरुमा ज्ञान, सिप र क्षमताको विकासमा सहयोग पु¥याएको बताउनुभयो । उहाँले क्याम्पसमार्फत आगामी दिनमा पनि प्रविधि सम्बन्धी अन्य कार्यक्रमहरु सञ्चालन गरिने बताउँदै क्याम्पसले दक्ष जनशक्ति उत्पादनमा जोड दिएको बताउनुभयो । सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख तारानाथ सुवेदीले विद्यार्थीहरुमा रहेको क्षमताको प्रयोग गरी उनीहरुलाई सूचना र प्रविधिको क्षेत्रमा दक्ष बनाउन कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख प्रशिक्षक शिवशंकर साहले विद्यार्थीहरुलाई वेवपेज डिजाइन तथा साईबर सुरक्षाबारे सिकाइएको तथा उत्साहजनक सहभागिता जनाएको बताउनुभयो ।

आईसिटी बुट क्याम्प कार्यक्रममा उत्कृष्ट हुने हिमाल उपाध्याय, विज्ञप्ति सुवेदी, सचिना गर्बुजा, राधा खड्का र रविना पुनलाई क्रमशः १० हजार, आठहजार, छ हजार र तीनतीन हजार रुपैयाँसहित पुरस्कृत गरिएको थियो । ३० जना विद्यार्थीहरु सहभागी रहेको तालिमको प्रशिक्षकहरु शिवशंकर साह, सागर पौडेल र हरिहर पौडेलले सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रमको म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख नारायणप्रसाद सुवेदीले सञ्चालन गर्नुभएको थियो ।
म्याग्दी क्याम्पसले जिल्लास्थित सरकारी तथा संस्थागत विद्यालयहरुसँग एमओयु गरी विद्यार्थीहरुलाई इन्टर्नसिपमार्फत व्यवहारिक ज्ञान दिएर स्वरोजगार बनाउन विद्यार्थीलक्षित विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । यसअघि क्याम्पसले म्याग्दी उद्योग वाणिज्य संघ र बैंकहरुसँग एमओयु गरिसकेको सहायक क्याम्पस प्रमुख सुवेदीले जानकारी दिनुभयो ।

मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृत

लगानी बोर्ड नेपालको ६४औँ बैठकले मुक्तिनाथ केवलकार परियोजनाको लगानी स्वीकृतिलगायत विभिन्न परियोजना अघि बढाउने निर्णय गरेको छ ।

प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केवलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।

रु ५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो । बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केवरकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठुलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।

बैठकले ७५० मेगावाट क्षमताको रु १६० अर्ब लगानी रहने पश्चिम सेती जलाशययुक्त आयोजनाको विस्तृत परियोजना प्रतिवेदन थप अध्ययन गर्ने, नेपालमा रेलमार्ग क्षेत्रमा सहकार्यका लागि अध्ययन गर्न दक्षिण कोरियाको कोरेल नामक संस्थासँग गरिने सम्झौताको मस्यौदा मन्त्रिपरिषद्बाट स्वीकृति लिने निर्णय पनि गरेको छ ।

त्यसैगरी ४३.२ मेगावाटको छिलुुङ खोला जलविद्युुत आयोजना, २१६ मोगावाटको बझाङ माथिल्लो सेती जलविद्युुत आयोजना र ४४ मोगावाटको बकान खोला जलविद्युत परियोजनाको लगानी स्वीकृतिको निर्णय बोर्डबाट भएको छ ।

बैठकले जनकपुरमा रिफाइन इडिबल आयल (खानेतेल) उद्योग र विभिन्न स्थानमा सूचना प्रविधि उद्यान स्थापनाका लागि प्राप्त प्रस्तावहरु अघि बढाउने निर्णय गरेको छ ।
रासस

सकियो सात सय वर्ष पुरानो बरंजाको ‘धुले मेला’

वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरुको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य बिधि सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो ।

गएको १३ गते नौ थर मगरहरु हरेकको घरबाट एकएक माना अनाजको पितृ प्रसाद राखेसँगै सुरु भएको मेला आज बिहीबार डोठो ताने सँगै सकिएको हो ।

मंगलबार २० गते अर्जेखोलामा माछा सिकार गरि विधिपूर्वक पितृ चडाउने काम गरेपछि बरंजाको धुलेमेला मान्ने समुदायको बसोबास भएको क्षेत्रमा खनजोत तथा बडारकुडारका काम बन्देज लगाइएकोमा आज डोठो ताने सँगै सबै काम गर्न फुकेको छ । धुले मेला व्यवस्थापन समितिका सचिव थमबहादुर रोकाका अनुसार मंगलबार पितृ चडाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य बिधि गरेर होरे गाएपछि यस वर्षको धुले औपचारीक रुपमा समापन भएको हो ।

क्षेत्रकै सबैभन्दा पुरानो पर्व धुले मेला मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया(घर) मगरहरुको आफ्नो मौलिक संस्कार हो । बि.संस १३१२ देखि यो पर्व मनाउन थालिएको र त्यो समय विभिन्न नौ थरका ५४ कुरीया मगरहरुले यो पर्व मनाउन थालेको मानिन्छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई अर्को बिहीबार सकिने धुले यो वर्ष जेठ १३ गते मंगलबार बाट शुरु भएर २२ जेठमा सकिएको हो ।

बरंजा क्षेत्रमा आएका ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर संगै धुले मेला मनाउन थालेको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मंगला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो ।

धुले मेला पितृ उद्दारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुशी हुने भएकाले नै यो मनाउने गरिएको धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाई छ । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रुपमा निरन्तरता दिएको उहाँको भनाइ छ ।

धुलेमेला पितृको सम्झना तथा अन्य जातजातिले गर्ने कुलपुजाकै स्वरुप तथा पूरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ । ५४ कुरिया मगर अन्तरगतको समुदायका समेत रहनु भएका मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएको बताउनुहुन्छ । पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको नमुना धुलेमेला भएको बताउनुभयो ।

अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरुलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ डोठो(माहुरी बस्ने काठको घार) तानेपछि धुले मेला सकिन्छ ।