वि.सं. १३१२ देखिदेखि निरन्तर चल्दै आएको यहाँका मगरहरुको निकै पुरानो संस्कार धुले आज सकिएको छ । म्याग्दीको मंगला गाउँपालिकाको ३ र ४ वडा पर्ने बरंजा क्षेत्रमा मनाइने धुलेको मुख्य बिधि सकिएसँगै यस वर्षको धुलेको सबै कार्य सकिएको हो ।
गएको १३ गते नौ थर मगरहरु हरेकको घरबाट एकएक माना अनाजको पितृ प्रसाद राखेसँगै सुरु भएको मेला आज बिहीबार डोठो ताने सँगै सकिएको हो ।
मंगलबार २० गते अर्जेखोलामा माछा सिकार गरि विधिपूर्वक पितृ चडाउने काम गरेपछि बरंजाको धुलेमेला मान्ने समुदायको बसोबास भएको क्षेत्रमा खनजोत तथा बडारकुडारका काम बन्देज लगाइएकोमा आज डोठो ताने सँगै सबै काम गर्न फुकेको छ । धुले मेला व्यवस्थापन समितिका सचिव थमबहादुर रोकाका अनुसार मंगलबार पितृ चडाउने र काम बार्ने, बुधबार पराङ हाल्ने र बिहीबार मुख्य बिधि गरेर होरे गाएपछि यस वर्षको धुले औपचारीक रुपमा समापन भएको हो ।
क्षेत्रकै सबैभन्दा पुरानो पर्व धुले मेला मंगला गाउँपालिका वडा नं ३ र ४ बरंजा गाउँमा बसोबास गर्दै आएको ५४ कुरिया(घर) मगरहरुको आफ्नो मौलिक संस्कार हो । बि.संस १३१२ देखि यो पर्व मनाउन थालिएको र त्यो समय विभिन्न नौ थरका ५४ कुरीया मगरहरुले यो पर्व मनाउन थालेको मानिन्छ । चन्द्रमासको शुक्ल वा कृष्णपक्षको मङ्गलबार सुरु भई अर्को बिहीबार सकिने धुले यो वर्ष जेठ १३ गते मंगलबार बाट शुरु भएर २२ जेठमा सकिएको हो ।
बरंजा क्षेत्रमा आएका ५४ घर कुरिया मगरहरुले बि.सं. १३१२ मा बरंजाको थर्पुमा कोत घर निर्माण गरेर संगै धुले मेला मनाउन थालेको बरंजा सातबिसेका तुकप्रसाद रोकाले जानकारी दिनुभएको मंगला गाउँपालिका–४ बुकेनीका बुद्धिबहादुर घर्तीले बताउनुभयो ।
धुले मेला पितृ उद्दारका लागि हरेक वर्ष गरिने र मेला पछि पितृ खुशी हुने भएकाले नै यो मनाउने गरिएको धुलेमेलाका अनुसन्धानकर्ता अमर रोकाको भनाई छ । प्राचिनकालमा मानवको विकाससँगै घुमन्ते युगबाट सुरू भएको मेलालाई पछिल्लो पुस्ताले समेत आफ्नो संस्कारका रुपमा निरन्तरता दिएको उहाँको भनाइ छ ।
धुलेमेला पितृको सम्झना तथा अन्य जातजातिले गर्ने कुलपुजाकै स्वरुप तथा पूरानो कला र संस्कृतिको जर्गेनासँगै नयाँ पुस्तालाई समेत जानकारी दिने गरी मनाउने गरिन्छ । ५४ कुरिया मगर अन्तरगतको समुदायका समेत रहनु भएका मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले धुलेमेला प्राचिनकालको सुन्दर उपहार भएको बताउनुहुन्छ । पुर्खाले छोडेका धार्मिक परम्परालाई आधुनिक युगमा समेत संरक्षणमा भइरहेको नमुना धुलेमेला भएको बताउनुभयो ।
अन्तिम दिन अर्थात् बिहीबार ५४ कुरिया मगरको कोत घरमा भित्र पाका पुस्ताले ११२ श्लोक गीत गाउने गर्छन् । ती गीतका टुक्काहरुलाई होरे गाउने र कोत घरभित्र भएका पाका पुस्ताले प्रत्येक श्लोक गीत गाएपछि बाहिर गोलो भएर लौरी समातेर बसेका नौ थरका व्यक्तिहरु प्रत्येक गीत सकिँदा एक फन्को घुम्ने गर्दछन् । बिहीबार दिउँसो सुरु गरेर ११२ टुक्का गीतका श्लोक गाइसकेपछि साँझ डोठो(माहुरी बस्ने काठको घार) तानेपछि धुले मेला सकिन्छ ।
बुबा मौरिस हर्जोगको पदचाप पछ्याउँदै छोरा माथिएस हर्जाेग र नाती सहितको टिम यतिबेला अन्नपूर्ण प्रथम (८०९१ मिटर) को आधारशिविरसम्मको पदयात्रामा छन्। मौरिस हर्जोग नेतृत्वले ७५ वर्षअघि पहिलोपटक अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेर किर्तिमानी राखेको थियो। सन् १९५० जुन ३ मा अन्नपूर्ण प्रथमको सफल आरोहण भएको थियो।
आठहजार मिटर उचाइ माथि मानव पाइला पुगेको त्यो पहिलो दिन थियो। हर्जोगसँगै अर्का आरोही लुई लासनाल पनि साथमा थिए। अन्नपूर्ण प्रथमको चुचुरोमा मौरिस र लुई मात्र पुगेका थिए। अन्नपूर्णमा मानव पाइला पुगेको त्यही दिनका सम्झनामा अहिले पनि हरेक वर्ष जुन ३ लाई ‘अन्नपूर्ण डे’का रुपमा मनाइँदै आइएको छ। पर्यटन व्यावसायीले यो दिन विशेष कार्यक्रम गर्दै आएका छन्।
अन्नपूर्ण प्रथम आरोहणको हिरक महोत्सवको अवसर पारेर योपटक अन्नपूर्ण प्रथम बेसक्याम्प (नर्थ साइड) मा आयोजित विशेष कार्यक्रममा सहभागि हुन प्रधानमन्त्री केपी शर्मा ओली समेत मंगलबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ पुगे। बेसक्याम्पमा आरोहीहरु मौरिस हर्जाेग, लुई लासनाल र नेपाली आरोही सोनाम वाङचुक शेर्पाको शालिक पनि अनावरण गरिएको छ।
‘अन्नपूर्ण प्रथम आरोहण गर्दा चुचुरोमा पुग्नेमा मौरिस र लुई मात्र थिए। तर, अहिले चर्चा मौरिसको मात्र हुने गरेको छ,’ उनले भने, ‘लुई परिवारलाइ पुरै बेवास्ता गरिएको फ्रान्सको पर्वतारोहण क्षेत्रमा गुनासो रहेको छ।’
मौरिसपुत्र माथिएस सहितको टिमलाई अन्नपूर्ण प्रथमको पदयात्रामा स्वागत गरिरहँदा मौरिसका सहयात्री लुई लासनाल बारे भने खोजि नभएको गुनासो पर्वतारोहण क्षेत्रको छ। अन्नपूर्ण प्रथमको पहिलोपटक आरोहण गर्दैगर्दा मौरिस र लुई सँगसँगै भएपनि पछिल्लो समय लुईको परिवारबारे खासै चाँसो कसैले दिएका छैनन्। मौरिससँगै लुई परिवारको पनि खोजि हुनुपर्ने सरोकारवालाको भनाई छ।
सरकार, पर्यटन बोर्ड र पर्यटन व्यावसायीले अरुबेला पनि लुईबारे खाँसै चाँसो नदिएको भन्ने गुनासो रहेको नेपाल–फ्रान्स मैत्रीसंघका अध्यक्ष बिनोद खकुरेलले जानकारी दिए। खकुरेलका अनुसार यतिबेला मौरिसपुत्र सहितको टिमलाई नेपालमा स्वागत हुँदा लुईको परिवार बेखबर जस्तै छ। झन्डै तीनदशकदेखि फ्रान्समा रहेका खकुरेलका अनुसार लुईकी ८० वर्षिया श्रीमति र दुइ छोरी छन्। छोरीहरुको विवाह भइसकेको छ।
परिवारमा तत्काल नेपाल आउन सक्ने सक्रिय सदस्यको रुपमा कोही नदेखिएपनि नेपालमा भईरहेको अहिलेको कार्यक्रममा सहभागिताका लागि कसैले उनीहरुलाई आधिकारिक निम्ता समेत नगरेको खकुरेलले जानकारी दिए। ‘तत्काल नेपाल जाने भन्दा पनि आफुहरुलाई नेपाल र नेपालको पर्वतारोहण क्षेत्रले भुलेको भन्ने गुनासो लुई परिवारको छ,’ खकुरेलले भने।
खकुरेलका अनुसार केही समय अघि फ्रान्स पुगेका पर्यटन मन्त्री, पर्यटन बोर्डका पदाधिकारी सहितको टोलीलाई लुईको परिवारबारे जानकारी दिइएको पनि थियो। मौरिससँगै लुई परिवारलाई पनि अहिलेको कार्यक्रममा समेट््नुपर्ने त्यो बेला सुझाव दिइएको थियो। तर, अहिले कसैले पनि नेपालमा भईरहेको कार्यक्रमबारे जानकारी नदिएको खकुरेलले बताए।
‘अन्नपूर्ण प्रथम आरोहण गर्दा चुचुरोमा पुग्नेमा मौरिस र लुई मात्र थिए। तर, अहिले चर्चा मौरिसको मात्र हुने गरेको छ,’ उनले भने, ‘लुई परिवारलाइ पुरै बेवास्ता गरिएको फ्रान्सको पर्वतारोहण क्षेत्रमा गुनासो रहेको छ।’
अन्नपूर्ण प्रथम आरोहण गरेको सम्झनामा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले नारच्याङ हुँदै अन्नपूर्ण आधारशिविर पुग्ने पदमार्गलाई ‘मौरिस हर्जोग ट्रेल’ नामाकरण समेत गरेको छ। पदमार्गको नामाकरण गर्दा पनि लुईलाई बिर्सेको गुनासो उनीहरुको परिवारको रहेको खकुरेलले बताए। हर्जोगले नेपालबाट फर्किएर ‘अन्नपूर्ण’ पुस्तक लेखेसँगै नेपालको हिमाल आरोहणले अन्तर्राष्ट्रिय पर्वतीय पर्यटनमाझ झनै चर्चा पाएको भएपनि लुई ओझेलमा परेको उनले बताए।
‘पर्वतारोहण जमात लुईलाई ओझेलमा पारेको विषयबारे उत्तिसारो सन्तुष्ट छैन। एउटै मिसनमा सफल भएका दुइजना मध्ये एकजनाको चर्चा भएको र अर्काेलाई बिर्सेको गुनासो छ,’ उनले भने, ‘सबैलाई सम्मान गर्न जान्नुपर्छ। विभेदजस्तो देखिएको यो कदमका कारण नेपालबारे फ्रान्समा नराम्रो छवी बनेको छ।’
लुइसलाई जानीजानी वेवास्ता गरेको गुनासो परिवारका सदस्यसँगै पर्वतारोहण क्षेत्रको रहेको उनले बताए। ‘कतिपय ठूलो जमातमा एकजनाको मात्र नाम लिँदा अरु रिसाउने अवस्था छ। मैले यो बारेमा बारम्बार पर्यटन बोर्डलाई जानकारी गराउँदा पनि वास्ता भएन,’ खकुरेलले भने, ‘मौरिसँसगै लुईलाई बिर्सदा अन्याय हुनेछ। पर्वतारोहण क्षेत्रमा लुईको नाम छुट्नु राम्रो सूचना होईन।’
पर्यटन बोर्ड पोखराका प्रमुख मणिराज लामिछाने लुई परिवारले पनि यो बेला नेपाल आउन चाहेको तर, उनीहरुलाई आधिकारिक रुपमा नबोलाएको भन्ने आफुलाई जानकारी आएपछि माथिल्लो निकायमा अवगत गराएको बताउँछन। ‘लासनालको परिवारको पनि चाँसो आएको हो। मैले पनि सम्बन्धित ठाउँमा जानकारी गराएको हो। मौरिस र लासनाल सँगसँगै आरोहण गरेको पक्का हो,’ उनले भने, ‘लासनालको पनि खोजि हुनुपर्छ। एउटै टिम भएकोले मौरिससँगै लासनालको खोजी गर्नुपर्छ।’ पुस्तक लेखेकोले मौरिसको हाईट बढेको हुनसक्ने उनले बताए।
पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्य पनि मौरिस र लुईले एकैपटक आरोहण गरेकोले दुवैलाई समान सम्मान गर्नुपर्ने बताउँछन। ‘मौरिससँगै लुईलाई पनि सम्मान गर्नुपर्छ। लुईलाई बिर्सन मिल्दैन। हामीले लुईलाई बिर्सेमा उनीप्रति अन्याय हुन्छ,’ उनले भने।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुन लुईको परिवारसँग आफुहरुको सम्पर्क नभएको बताउँछन। ‘हामीले लुईलाई कदापि बिर्सन मिल्दैन। मौरिसका छोराले आफै खोज्दै आएकोले बढी चर्चा भयो। अहिले पनि उनैले ठूलो टोली आएको छ,’ पुनले भने, ‘तर, लुइसबारे हामी बेखबर छौ। तर, हाम्रो सम्मान लुईलाई पनि मौरिस सरह छ।’
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पहिलो पटक ‘फ्रान्सेली संगीत’ गुञ्जिएको छ।
अन्नपूर्ण प्रथम हिमाल (आठ हजार ९१ मिटर) आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित ‘अन्नपूर्ण हीरक महोत्सव’मा समुद्री सतहदेखि चार हजार ५० मिटर उचाइमा रहेको आधार शिविरमा फ्रान्सेली कलाकारको टोलीले सांगीतिक प्रस्तुति दिएको हो।
अन्नपूर्ण हिमालका प्रथम आरोही फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगका छोरा माथिएस हर्जोगको नेतृत्वमा रहेको अन्नपूर्ण संगीत समूहले आधार शिविरमा नेपाली संगीतको झल्को दिने प्रस्तुति दिएको छ।
हार्मोनियम, बाँसुरी, गिटारलगायत नेपाली वाद्ययन्त्रको संगीतमा फ्रान्सेली कलाकारको प्रस्तुतिले आधार शिविरमा पुगेका आन्तरिक पर्यटक रमाएका थिए। अन्नपूर्ण हीरक महोत्सव आयोजक समितिका सदस्य तेज गुरुङले भने, ‘अन्नपूर्ण आधार शिविरमा पहिलो पटक यस्तो सांगीतिक कार्यक्रम भएको हो, फ्रान्सेली कलाकारको यो प्रस्तुतिले आगामी दिनमा आधार शिविरमा सांगीतिक कार्यक्रम आयोजना गर्न प्रेरित गरेको छ।’
कलाकारले नेपालीपन झल्कने संगीत र फ्रान्समा प्रचलित नृत्य प्रस्तुत गरेका थिए। अन्नपूर्ण हिमालको काखमा रहेको पञ्चकुण्ड ताल परिसरमा प्रस्तुत संगीतमा नेपाली र विदेशी पर्यटकले रुचिपूर्वक अवलोकन गरे।
हीरक जयन्तीको अवसरमा आयोजित पदयात्राको नेतृत्व गरेका ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले संगीतमार्फत पर्यटकीय क्षेत्रको प्रचार र प्रवर्द्धनमा सहयोग पुग्ने बताए।
अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण सङ्घ, टान, एक्याप र अन्नपूर्ण गाउँपालिका पर्यटन विकास समितिको संयुक्त आयोजनामा भएको हीरक महोत्सवमा आधार शिविरमा मौरिस हर्जोग, लुइस लाचेन र प्रथम नेपाली आरोही सोनाम वाङ्चुक शेर्पाको अर्धकद सालिक अनावरण गरिएको छ। साथै, आधार शिविरदेखि नारच्याङ गाउँसम्मको करिब ३६ किलोमिटर दूरीको म्याराथन र मौलिक नाचलगायतका कार्यक्रम सम्पन्न भए। रासस
विश्व वातावरण दिवसको अवसरमा म्याग्दीको सदरमुकाम बेनीबजारमा सरसफाई तथा डस्विन वितरण गरिएको छ । बेनीमा सञ्चालित अर्जुन सरको कोरियन भाषा सेन्टरले विश्व वातावरण दिवसको अवसरमा बेनी अस्पताल परिसर, बेनीबजारका विभिन्न स्थानमा सरसफाई गरिएको हो ।
बेनीबजारमा कोरियन भाषाका लागि स्थापित संस्थामार्फत सामाजिक उत्तरदाहित्व अन्तरगत सफा र सुन्दर बेनीबजार बनाउने अभियानमा सेन्टरमा अध्ययनर विद्यार्थी, नेपाल प्रहरी सहितको सहभागिता रहेको थियो । बेनीबजारबाट करिब ४० बोरा कुहिने र नकुहिने फोहोर संकलन गरिएको सेन्टरका सञ्चालक सन्दिप भण्डारीले बताउनुभयो ।
वातावरण दिवसको अवसरमा मात्रै नभई अन्य दिनमा समेत सचेतनामुलक अभियानमार्फत विभिन्न कार्यहरु गरिने भाषा प्रशिक्षक समेत रहनुभएका भण्डारीको भनाई छ ।
यसैबीच सर्वसाधारणको धेरै भिड हुने स्थानमा ७ वटा डस्विन समेत राखिएको छ । सरसफाई अभियानमासमेत प्रदुषण मुक्त वातावरण बनाउन सचेतनामुलक जानकारी समेत गराइएको थियो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालविरूद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ । पतन्जलीको जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आज अध्यक्ष नेपालसहित ९३ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो ।
मुद्धा लाग्नेमा पूर्वकानून मन्त्री प्रेमबहादुर सिंह, तत्कालीन भूमि सुधार सचिव छविराज पन्त लगायत छन् । अध्यक्ष नेपालसँग १८ करोड ५८ लाख ५० हजार बिगो मागदाबी भएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिनुभयो ।
काभ्रेमा रहेको पतन्जली योग पिठ तथा आयुर्वेदिक कम्पनीका नाममा रहेको हदबन्दी छुटको जग्गा किनबेच गरेको भन्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अध्यक्ष नेपाल सहितको बयान लिएको थियो ।
२०६६ सालमा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा मन्त्रिपरिषदबाट निर्णय गरेर हदबन्दी छुटमा रहेको जग्गा खरिद गर्ने स्वीकृति दिइएको थियो । तर पछि हदबन्दीभन्दा बढी कानूनविपरीत जग्गा बिक्री गरेको भन्दै उजुरी आएपछि अख्तियारले यसबारे अनुसन्धान अघि बढाएको थियो ।
अख्तियारमा भ्रष्टाचार मुद्दा दायर भएसँगै एकीकृत समाजवादीका सांसद माधवकुमार नेपालको पद निलम्बनमा परेको छ । भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३३ अनुसार भ्रष्टाचार मुद्दा लागेमा मुद्दा किनारा नलागेसम्म स्वतस् निलम्बनमा रहने व्यवस्था छ ।
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।
देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरेका हुन् । जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुनेछ । उनले भने, ‘ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।’
धार्मिकस्थल देवघाटधामदेखि कालीगण्डकी किनार हुँदै दामोदरकुण्डसम्मको ऐतिहासिक कालीगण्डकी पदयात्रा सुरु भएको छ । आज बिहान देवघाटस्थित बेणीमा गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरिएको हो ।
देवघाटस्थित महेश सन्यास आश्रमका संरक्षक श्री १००८ स्वामी मधुसुदनानन्द गिरी, अध्यक्ष श्री १००८ स्वामी रमणानन्द गिरी र डा गुरुप्रसाद सुवेदीलगायतले गण्डकी पूजा गरी यात्रा शुभारम्भ गरेका हुन् । जनस्तरमा गण्डकीको महत्व र सम्भावनालाई प्रचारप्रसार गरेर कालीगण्डकी, तिनका किनारमा अवस्थित सिद्ध तीर्थस्थल र समग्र कालीगण्डकी सभ्यताको संरक्षण तथा संवर्द्धनमा टेवा पुर्याउने उद्देश्यले नेपाल तथा भारतका मुख्य पीठ र आश्रमका साधुसन्त एवम् धार्मिक अभियन्ताको अगुवाइमा पदयात्रा सुरु गरिएको पदयात्राका संयोजक फणीन्द्रप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार पदयात्राका क्रममा देवघाटधाम–केलादीघाटधाम–राम्दीधाम–ऋषिकेशधाम–रुद्रवेणीधाम–सेतीबेनीधाम–मोदीबेनीधाम–गलेश्वरधाम–कागबेनीधाम–मुक्तिनाथधाम– दामोदरकुण्डधाममा विशेष पूजा एवं जागरणसभा हुनेछ । उनले भने, ‘ऐतिहासिक पदयात्रामा सहभागी हुन चाहने सबै भक्तजन मुख्य तीर्थहरूमा हुने विशेष गण्डकी पूजन र जागरण सभामा सहभागी बन्न सक्नुहुनेछ ।’
यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनाइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्याउने यात्राको उद्देश्य भएको बताए । गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाइ छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए ।
देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजजेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो । समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ ।
यात्रामा दैनिक आठ घण्टा २० किलोमिटरसम्म यात्रा गरिने जनइएको छ । नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा गुरुप्रसाद सुवेदीले कालीगण्डकीको महिमा जनमानसमा पुर्याउने यात्राको उद्देश्य भएको बताए । गण्डकीको किनारमा भएका विभिन्न धार्मिक स्थलहरुका संरक्षण एवं प्रवर्द्धनमा यात्राले सहयोग पुग्ने उनको भनाइ छ । जीवन जिउने आधार प्राकृतिक स्रोत सम्पदा भएको उल्लेख गर्दै नदीलगायतको संरक्षणमा सबै जुट्नुपर्ने उनले बताए ।
देवघाटस्थित महेश सन्यास आश्रमको संयोजनमा आजजेखि शालिग्राम करिडोरको ४३१ किलोमिटर दूरीको पदयात्रा सुरु भएको हो । समुद्री सतहबाट २२० मिटर देखि चार हजार ९९० मिटर उचाइ सम्म २२ देखि २५ दिन यात्रा गरिनेछ ।
सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।
नयाँ व्यवस्थाअनुसार घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाईसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुनेछ ।
१० लाख रुपैयाँभन्दा माथिको कारोबार अनिवार्य रुपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण र आतङ्कवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न यस्तो व्यवस्था गरिएको हो ।
त्यसैगरी, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने, १ व्यक्तिले दिनमा ३ करोड रुपैयाँभन्दा बढी कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।
आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । ‘ प्लास्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि हरेक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन थालिएको हो । आज दक्षिण कोरियामा विशेष कार्यक्रमका साथ यो दिवस मनाइने संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
राष्ट्रसङ्घका अनुसार हरेक वर्ष पृथ्वीमा ४० करोड टन प्लास्टिकजन्य फोहर उत्पादन हुने गरेको, उत्पादित त्यस्तो फोहरमध्ये त्यसको १० प्रतिशत मात्र पुनः प्रयोग हुने तथा एक करोड १० लाख टन प्लास्टिक नदी, तलाउ र महासागरमा बिसर्जन हुने गरेको छ ।
नेपालको सन्दर्भमा प्लास्टिक प्रयोगसँगै यसबाट उत्पन्न हुने दीर्घकालीन प्रदूषण घटाउन चुनौती छ ।
घरबाट निस्कने फोहरसँगैका प्लास्टिकका थुप्रोले लामो समयसम्म रहिरहने गरी शहर र गाउँमा प्रदूषण बढाएका विज्ञले बताएका छन् ।
प्लास्टिकका झोलालगायत यसबाट बनेका उपकरणको प्रयोग सजिलो र सहज भए पनि प्रयोगपछि निम्तने दीर्घकालीन समस्याले वातावरण र मानव जीवनमै गम्भीर असर पर्ने गरेको छ ।
प्लास्टिक माटोमा पुरिए पनि सयौं वर्षसम्म नकुहिने भएकाले यसको प्रयोग र व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ ।
वातावरण दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतले प्रकृतिमुखी जीवनशैली अवलम्बन गर्न अपिल गरेका छन् ।
पोर्चुगल युरोपेली नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। एक गोलले पछि परेको पोर्चुगलको कम ब्याक जितमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको १३७ औँ अन्तर्राष्ट्रिय गोल समावेश थियो। रोनाल्डोको निर्णायक गोलसँगै जर्मनीलाई २-१ ले हराउँदै पोर्चुगल फाइनल पुगेको हो।
खेलको ६८ औँ मिनेटमा नु्नो मेन्डेसको बलललाई नियन्त्रणमा लिँदै रोनाल्डोले विजयी गोल गरे। सोही गोलसँग पोर्चुगलले फ्रान्स र स्पेनबिचको विजेतासँग उपाधि भिडन्त पक्का गरेको हो।
इङ्लिस प्रिमियर लिगको क्लब लिभरपुलमा आबद्धता पक्का भइसकेका वायर लिभरकुसेनका फरवार्ड फ्लोरिज मर्जको गोलमा ४८ औँ मिनेटमा जर्मनीले अग्रता लिएको थियो। रुबेन डियाजले ६३ औँ मिनेटमा गरेको गोलमा पोर्चुगल खेलमा फर्किएको थियो।
पोर्चुगलले सन् २०१९ मा सुरु भएको नेसन्स लिगको पहिलो संस्करणकै उपाधि जितेको थियो
‘एउटा भीषण र भयानक हुन्डरीले हामीलाई ढाल्न खोज्यो।
हामी अन्नपूर्णको चुचुरामा थियौं।
हाम्रो मुटुमा बयान गर्नै नसकिने खुसी छचल्कियो।
यो खबर अरूले थाहा पाउन सके पो!
यो खबर सबैले थाहा पाउन सके पो!
हामीले देख्यौं, अन्नपूर्ण-प्रथमको शिखर बरफको ताजले छोपिएको थियो। केही पर भयानक भीर थियो। त्यो भीर डरलाग्दो र नाप्नै नसकिने गरी ठाडो तल झरेको थियो। संसारमा यस्ता पर्वत थोरै मात्र हुन सक्छन्। भीरदेखि निकै तल (हाल बर्सेनि दसौं हजार पदयात्री पुग्ने दक्षिणी अन्नपूर्ण आधार शिविरमाथि) बाक्लो बादल तैरिरहेको थियो। त्यो बादलले शान्त र उर्वर पोखरा उपत्यकालाई आफूभित्र लुकाइरहेको थियो। हामीभन्दा माथि केही पनि थिएन।’
यो सन् १९५२ मा अन्नपूर्णका प्रथम विजेतामध्ये एक मौरिस हर्जोगको सन् १९५२ मा प्रकाशित किताब ‘अन्नपूर्ण’ को १४४ पृष्ठमा गरिएको बयान हो।
हो, मानव जातिले यस्तो सफलता त्यसअघि कहिल्यै पाउन सकेको थिएन।
हो, सन् १९५० जुन ३ (२००७ साल जेठ २१ गते) अघि त्यति माथिल्लो उचाइसम्म मानिस कहिल्यै पुग्न सकेको थिएन। सगरमाथा लगायतका सर्वोच्च हिमाली शिखरहरूमा पहिलो पाइला राख्ने होडबाजी चलिरहे पनि त्यसअघि त्यति माथि कोही पुगेको प्रमाण फेला परेको थिएन, छैन।
घटना ७५ वर्षअघि आजकै दिनको हो।
त्यस दिन दिउँसो २ बजेतिर दुई फ्रान्सेली युवा पहिलोपटक आठ हजार मिटरभन्दा अग्लो कुनै शिखरको टाकुरामा उभिन सफल भएका थिए। मौरिस हर्जोग र लुई लाशेनलले त्यस दिन पर्वतारोहणको फाँटमा नयाँ इतिहास रचेका थिए।
कुनै पनि बेला मनसुने झरी र आँधी सुरू हुने चिन्ताबीच उनीहरू त्यस दिन ८,०९१ मिटर अग्लो अन्नपूर्ण-प्रथमको शिखरमा उभिन सफल भएका थिए। उनीहरू त्यस्तो सफलता हासिल गर्ने पहिला मानव हुन पुगे। यो खबरले उनीहरूको आरोहण दललाई मात्र होइन, उनीहरूलाई नजिकबाट नियालिरहेका लाखौं प्रान्सेलीलाई स्वाभाविक रूपमा गौरवान्वित तुल्याइदियो।
हुन पनि त्यति बेला फ्रान्सेलीहरूलाई विश्वयुद्ध समाप्तिपछि अन्तर्राष्ट्रिय गौरव र प्रतिष्ठाका लागि कुनै नयाँ विजयको खाँचो थियो।
हर्जोग र लाशेनलको सफलताले वर्षौंदेखि सर्वोच्च शिखर सगरमाथामाथि प्रथम मानव विजय हासिल गर्ने प्रयासमा लागिरहेका ब्रिटिस र अन्य पश्चिमा आरोहीलाई भने इर्ष्यालु बनाइदियो। सायद उनीहरूलाई सगरमाथाको विजय अभियानमा लागिरहन घच्घच्याइरह्यो। त्यसैको फलस्वरूप तीन वर्षपछि सन् १९५३ मे २९ मा ब्रिटिस टोलीलाई सगरमाथाको पहिलो सफल आरोहण गर्न उद्देलित तुल्याइरह्यो।
कुनै गन्तव्य रोज्न र त्यसमा पुग्न प्रतिबद्ध रहँदै अथक प्रयास जारी राख्ने प्रेरणा दिएका मौरिस हर्जोग र लुई लाशेनल फ्रान्सका मात्र नभई विश्वभरकै आरोहीहरूका प्रेरणा स्रोत बन्न पुगे। त्यसैले त विगत ७५ वर्षमा उनीहरूका पाइला पछ्याउँदै हजारौं आरोही अन्नपूर्ण-प्रथम, सगरमाथा लगायतका हिमाली चुचुरामा पुगिसकेका छन्।
आज नेपालमा उनीहरूको सफलताको ७५औं वर्षगाँठ मनाइँदै गर्दा त्यो क्रम जारी छ।
विश्वका धेरै आरोहीलाई आज पनि मौरिस हर्जोगले आफ्नो आरोहणको इतिवृत्तान्त समेटेर लेखेको ‘अन्नपूर्ण’ नामक पुस्तकले प्रेरित गरेको पाइन्छ।
आरोहणपछि फ्रान्स फर्किएलगत्तै अस्पतालको शय्यामा पल्टिएर कसैलाई टिपाउँदै लेखिएको त्यो किताब उनले अन्नपूर्ण-प्रथम चढेको दुई वर्षपछि प्रकाशित भएको थियो। त्यसको एक करोड प्रति छापिइसकेको बताइन्छ।
मौरिस हर्जोग
धौलागिरि कि अन्नपूर्ण-प्रथम
मौरिस हर्जोग, लुई लाशेनल र आरोहण दलका अन्य सदस्य युरोपको आल्पस् पर्वतमालामा रहेको त्यहाँको सर्वोच्च शिखर म ब्लँ (४,८०७ मिटर) लगायतका शिखर चढ्दै हुर्किएका थिए।
भारतमा शासन गरिरहेका ब्रिटिस आरोहीहरू सन् १९०० देखि नै हिमाली शिखर आरोहण गर्न तम्सिसकेकाले फ्रान्सेलीहरूको ध्यान पनि हिमालयतर्फ खिचिन थालेको थियो।
सन् १९२१ पछि ब्रिटिस आरोहीहरु बर्सेनिजसो तिब्बतको बाटो सगरमाथा आरोहणमा जान थाले। अन्य युरोपेलीहरू पनि हिमालय आरोहणमा आउन थालेपछि फ्रान्सेलीहरू पनि के कम; उनीहरूले पनि त्यस्तै योजना बनाउन थाले।
सन् १९५० मार्चमा पेरिसमा फ्रान्सेली हिमालय आरोहण समितिका बैठक सुरू भए। धेरै छलफलपछि त्यसले आरोहण टोलीका सदस्य र नेता छान्यो।
त्यसपछि निर्णय गर्यो – हाम्रो टोली अहिलेसम्म कुनै पश्चिमा टोली नपुगेको दुर्गम पश्चिम नेपालको टुकुचे पुग्ने छ, जहाँबाट टोलीले कि त (कालीगण्डकी पश्चिमको) धौलागिरि (८१६७) चढ्ने प्रयास गर्नेछ, कि त अन्नपूर्ण प्रथम आरोहण गर्नेछ।
नेपाल आगमन
हर्जोगको टोली नेपाल आउँदा १०४ वर्षे राणा शासन हटिसकेको थिएन। नेपालमा विदेशीलाई आउन प्रतिबन्ध लगाइएको थियो। त्यस्तो बेला हर्जोगको टोली कसरी नेपाल पस्न सफल भयो होला?
त्यति बेला नेपाल प्रवेश गर्न र हिमाल आरोहणको अनुमति लिन विदेशीहरूलाई निकै कठिन थियो। सन् १९५० सम्म त नेपालमा विदेशीलाई प्रवेश निषेध नै थियो। तर नेपालसमेत हेर्ने दिल्लीस्थित फ्रान्सेली राजदूतले धेरै पहल गरेपछि तत्कालीन प्रधानमन्त्री मोहनशमशेर नेतृत्वको सरकारबाट आफ्नो टोलीले आवश्यक अनुमति पाउन सफल भएको हर्जोगले आफ्नो किताबमा लेखेका छन्।
मोहनशमशेरको नाम नलिई उनलाई ‘नेपालका महाराजा’ भनी किताबमा उल्लेख गरिएको छ।
अप्रिल महिनाको सुरूमा दिल्लीको पालम विमानस्थलमा ओर्लिएर उनीहरूको यात्रा सुरू भएको थियो। पुरानो दिल्लीबाट रेलमार्ग हुँदै नौतनुवा सामान पठाएका फ्रान्सेली आरोही शिख चालकले चलाएको सानो विमानबाट लखनउ आएका थिए।
लखनउ र नौतनुवामा हर्जोगले पहिलोपटक शेर्पाहरूलाई भेटे, जसले आरोहीलाई हिमाल चढ्न सघाएर ख्याति कमाउन थालिसकेका थिए। उनीहरू थिए – आङ थार्के, आङ छिरिङ (पान्से), दावातोन्डु, सार्की, फुरथार्के, आङगाबा, आङ दावा र अड्जिबा।
‘भारतीयहरूका तुलनामा होचा तर बलिया पाखुरा भएका गोरा शेर्पा देखेर म निकै खुसी भएँ,’ हर्गोजले लेखेका छन्, ‘उनीहरू बफादारी र दयाभावका लागि प्रख्यात छन्। उनीहरूले नै हामीलाई टाकुरामा पुग्न सघाउने हुनाले म उनीहरूलाई राम्रो व्यवहार गर्न दृढ भएँ।’
अप्रिल ५ तारिखमा नेपाल प्रवेश गर्दै जिप चढेर कपिलवस्तु पुगेपछि उनको टोलीले त्यहाँ जन्मिएका गौतम बुद्धबारे थाहा पाएका थिए। बुटवलबाट घोडा चढेर पाल्पा पुगेपछि उनीहरूले पहिलोपटक धौलागिरि र अन्नपूर्ण हिमाल देखे।
नेपाल छिरेको १५ दिनपछि अप्रिल २० मा मात्र त्यो टोली धौलागिरि र अन्नपूर्णको समिप म्याग्दीको दाना क्षेत्रबाट टुकुचेतर्फ बढेको थियो।
आरोहणपछिको दुर्घटना
टुकुचेमा शिविर खडा गरेपछिको एक महिना उनीहरू धौलागिरि आरोहणका लागि उपयुक्त बाटोको खोजीमै भौंतारिएका थिए। धौलागिरि आरोहण योजना परित्याग गरेपछि उनीहरू शेर्पा सहयोगीका साथमा अन्नपूर्ण आरोहणको सम्भाव्यता अध्ययनमा व्यस्त हुन थाले।
अन्तत: मे २३ तारिखमा मात्र उनीहरूको टोलीले अन्नपूर्ण-प्रथमको आरोहण गर्ने निधो गरेको थियो।
त्यसपछि उनीहरू चार दिन हिँडेर तिलिचो हिमाल नजिकै अन्नपूर्णको पछिल्लो भाग पुगे, जहाँ उनीहरूले आधार शिविर खडा गरे। त्यसपछि लुई लाशेनल र अन्य सदस्य शेर्पाहरूसँग सहकार्य गर्दै माथि लागे।
पहिलो शिविर तयार भयो। लाशेनलले तलबाट हेर्दा सिकल ग्लेसियर अर्थात् हँसिया आकारको हिमनदीको दायाँबाट माथि पुग्ने रणनीति बनाए। टोलीले त्यसै गर्यो। अर्को एक सातामा दोस्रो शिविरबाट तेस्रो र चौथो शिविर पनि तयार भयो।
त्यहाँसम्म आरोहण दलमा रहेका अधिकांश सदस्य पुग्न सफल भए पनि कोही कोही हिउँ, बरफ र उचाइका कारण थलिएर तल्ला शिविर झरेका थिए।
सिकल ग्लेसियरभन्दा माथि करिब ७,८०० मिटर उचाइको भीरमा पाँचौं शिविर बनाउन भने हर्जोग र लाशेनल मात्र सफल भए। उनीहरुलाई सघाउन पुगेका थिए दुई शेर्पा – आङ थार्के र सार्की।
त्यहाँ पुगेपछि हर्जोगले ती शेर्पालाई पनि आफूसँगै शिखर जान अनुरोध गरेको स्मरण गरेका छन्।
तर जबाफमा आङ थार्केले भनेका थिए, ‘होइन बडासाहेब मेरा खुट्टा चिसोका कारण जम्ने अवस्थामा पुगेका छन्। म तल्लो शिविरमा झर्छु। धन्यवाद।’
त्यसपछि बडो सास्तीले ती दुई माथिल्लो शिविर पुगेका थिए। त्यो पनि बिनाअक्सिजन स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै।
सबभन्दा उचाइमा खडा गरिएको पाँचौं शिविरमा बिताएको रातलाई हर्जोगले ‘जिन्दगीकै सबभन्दा खराब रात’ भनेका छन्।
चिसोका कारण नचल्ने भएको भिडिओ क्यामेरा हर्जोगले त्यही शिविरमा छाडिदिएका थिए।
त्यहाँ मुस्किलले निदाउन सकेका दुवै आरोही बिहान ६ बजे शिखरतर्फ तेर्सिएको ठूलो चट्टानी पर्खालतर्फ लागेका थिए। मध्याह्नतिर मुस्किलले त्यसलाई पार गरेर थोरै उक्लिएपछि उनीहरूले सुरूमा कल्पना नै नगरेको सफलता हासिल गरेका थिए — अन्नपूर्ण-प्रथम शिखरको पहिलो आरोहण।
शिखरमा केही बेर रोकिएर चारैतिरको दृश्य उनीहरूले धीत मरून्जेल हेरेका थिए। त्यस क्रममा हर्जोगले मँ ब्ल र एल्पसमा बिताएको आफ्नो बाल्यकाल सम्झिएका थिए। अनि आइस एक्समा फ्रान्सको तीनरंगे झन्डा फहराएर हर्जोगले सहयात्री लाशेनललाई कालो–सेतो रिल हालिएको क्यामरा दिएर आफ्नो फोटो खिच्न लगाएका थिए। रंगीन फोटोका लागि उनले नयाँ रिल हाले र त्यो प्रक्रिया दोहोरियो।
अब लाशेनल व्यग्र हुन थाले। मनसुने बादल नजिकै आइरहेको भन्दै उनले हर्जोगलाई पटक पटक हतारिन आग्रह गर्दै भने, ‘अब सिधै तल झरिहालौं।’
त्यसपछि लाशेनल पाँचौं शिविरतर्फ झर्न थालिहाले। हर्जोगले लाशेनललाई पछ्याइरहे। तर बेला बेला फरक्क फर्किएर शिखरलाई हेरिरहे।
कुन्नि के झिक्न झोला निकाल्ने बेला हर्जोगको हातको पञ्जा हिउँमा खसेर हिउँबाट तल गुल्टिन थाल्यो। उनले भेटेनन्। झोलाभित्र राखेको अर्को ऊनीको मोजा बेर्ने मौका पनि गुमाए।
निकै बेर झरेपछि पाँचौं शिविर आइपुग्दा देखे, त्यहाँ त दोस्रो टेन्ट टाँगिएको रहेछ। उनका दुई आरोही साथी, रेबुफाट र टेरे, माथि आइसकेको प्रमाण थियो त्यो। तर त्यहाँभित्र उनले लाशेनललाई देखेनन्; उनी त हिउँमा चिप्लिएर निकै तल खुर्मिरिएका रहेछन्, जसलाई कुशल स्की खेलाडी टेरेले उद्धार गरेर माथि ल्याएका थिए।
यता हर्जोगका दुवै हात पहेँलो र चिसो भएर जमिसकेका थिए। बुटभित्र खुट्टाका औंला पनि जमिसकेका थिए। दुवैको प्राथमिक उपचार पाँचौं शिविरबाटै सुरू भयो र हिमालबाट तल झर्दा पनि जारी रह्यो। उनीहरूलाई शेर्पाहरूले बोकेर हिँड्नुपरेको किताबमा उल्लेख छ।
अन्नपूर्णबाट झर्ने क्रममा घाइते हुन पुगेका दुवैको उपचार फ्रान्स फर्किएपछि त्यहाँका अस्पतालमा महिनौंसम्म चलिरह्यो।
मोहनशमशेरको दरबारमा सम्मान
फर्केने क्रममा म्याग्दीबाट बाग्लुङ अनि पोखरा पुगेको टोली फेरि पाल्पा र बुटवल हुँदै नौतनुवा पुग्यो। त्यहाँ उनीहरूलाई खबर गरियो – सफल आरोहीलाई काठमाडौंमा रहेका प्रधानमन्त्री मोहनशमशेरले भेटेर सम्मान गर्न तयार छन्।
त्यसपछि हर्जोग आफ्ना प्यारा शेर्पाहरूसँग विदा भएका थिए। उनले दिल्लीबाट आएका फ्रान्सेली अधिकारीहरूसँग रक्सौल जाने रेल चढेका थिए। लाशेनल भने थप उपचारका लागि दिल्लीतर्फ लागेको हर्जोगको किताबमा उल्लेख छ।
उनको टोलीले रक्सौल पुगेपछि अमलेखगन्ज जाने अर्को तीनडिब्बे नेपाली रेल चढेको र त्यसपछि राम्रो मोटरमा भिमफेदीसम्म यात्रा गरेको थियो।
त्यसपछि डन्डी भनिने डोली चढेर थानकोट नजिकै पुगेको स्मरण गरेका हर्जोग काठमाडौंमा कसरी मोटर ल्याइयो होला भनेर तीनछक परेका थिए।
मोहनशमशेरको पाहुना भएपछि पाहुना घरमा फ्रान्सेली वाइन देखेर उनी त्यत्तिकै चकित भएका थिए। अन्य साथीहरू काठमाडौंका बौद्ध र स्वयम्भु जस्ता चैत्य घुम्न जाँदा उनी भने आफ्ना हातखुट्टाका पट्टी खोलेर घाउ सुकाउन कोठामै बस्न बाध्य थिए।
जुलाई ११ तारिखमा (सिंहदरबारभित्र हुनुपर्छ) फ्रान्सेली आरोहण दलका नेता मौरिस हर्जोगलाई एक भव्य समारोहबीच सम्मान गरिएको थियो। फ्रान्सेली दूतावासका एक अधिकारीले सरकारी उपहार नेपाललाई दिँदै आफ्नो टोलीलाई अन्नपूर्ण आरोहण गर्न दिएकोमा धन्यवाद ज्ञापन गरेका थिए।
हर्जोगले भने पवित्र अन्नपूर्ण हिमालमा पाइला टेकेका कारण नेपालमा धेरैले सोचेजस्तो अनिष्ट नहोस् भनी मनमनै कामना गरेका थिए। उनले दरबारभित्रै कैदी जीवन बिताइरहेका राजा त्रिभुवनबारे पनि एक हरफ लेखेका छन्। उनले ‘त्रिभुवनशमशेर जंगबहादुर राणा’ भनेर उल्लेख गरेका छन्।
हर्जोगका अनुसार प्रधानमन्त्री मोहनशमशेरले उनलाई ‘नेपालको सबभन्दा बहादुर गोर्खा सैनिकलाई दिइने’ तक्माले विभूषित गरेका थिए। त्यसपछि भनेका थिए, ‘तपाईं एक बहादुर पुरूष हुनुहुन्छ। हामी तपाईंलाई यहाँ एक बहादुरका रूपमा स्वागत गर्दैछौं।’
हर्जोगको टोलीले जुलाई १२ मा नेपाल छाडेको थियो।
उनले आफ्नो किताबको अन्त्यमा लेखेका छन्, ‘हामी रित्तै हात अन्नपूर्ण हिमाल गएका थियौं। तर अब हामीले बाँकी उमेर अन्नपूर्णले दिएको यशको भारी बोकेर बिताउनुपर्नेछ। यो मनन् गर्दै हाम्रो जीवनको अर्को पाना पल्टिँदै छ। अब नयाँ जीवन सुरू हुँदैछ। तर मान्छेको जीवनमा अरू अन्नपूर्णहरू पनि हुनेछन्।’
मौरिस हर्जोग सन् २०१२ डिसेम्बर १४ मा ९३ वर्ष उमेरमा यो संसारबाट विदा भए।
लुई लाशेनलको भने अन्नपूर्ण आरोहण गरेको पाँच वर्षपछि १९५५ नोभेम्बर २५ मा ३५ वर्ष उमेरमै मृत्यु भएको थियो। उनी फ्रान्सको श्यामनीस्थित भेनी ब्लँसमा स्की गर्दा हिउँको दरारभित्र खसेका थिए।