मौलिक रत्यौली गीत ‘आँधीखोले माया’ सार्वजनिक (भिडियो सहित)
म्याग्दीमा एकसय ७९ वटा कुकुरलाई बन्ध्याकरणसहित रेबिजविरुद्ध खोप लगाइयो
म्याग्दीमा रहेका सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गर्नुको साथै रेविज विरुद्धको खोप लगाइएको छ । बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्नका लागि निःशुल्क रुपमा कुकुरको बन्ध्याकरणसहित रेबिज रोग विरुद्धको खोप लगाइएको हो ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दी र बेनी नगरपालिका म्याग्दीको संयुक्त आयोजनामा एकदिने निःशुल्क शिविर सञ्चालन गरी कुकुरको बन्ध्याकरण गर्नुका साथै कुकुरहरुलाई रेबिज विरुद्धको खोप लगाइएको छ। समुदायस्तरमा छाडा रुपमा बढ्दै गैरहेका कुकुरको सङ्ख्या न्यूनीकरण गर्ने उद्देश्यसहित निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन गरिएको आयोजकले जनाएका छन् ।
दुईवटै कार्यालयको चालु आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रम तथा बजेट अनुसार बन्ध्याकरण शिविर र रेबिज विरुद्धको खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी सुभाष रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार सामुदायिक तथा घरपालुवा कुकुरको बन्ध्याकरण गरी रेबिज विरुद्धको खोप लगाइएको छ ।
रेबिज जस्तो प्राणघातक रोगबाट बच्नको लागि शिविरमा ल्याइएका सबै कुकुरहरुलाई रेबिज रोग विरुद्धको खोप लगाइएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।
गएको आइतबार दिनभर भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय परिसरमा कुकुरको निःशुल्क रुपमा बन्ध्याकरण गर्नुका साथै रेबिज रोग विरुद्धको खोप लगाइएको थियो । उक्त शिविरमा ३९ वटा सामुदायिक तथा २५ वटा घरपालुवा कुकुरको बन्ध्याकरण गरिएको छ ।
शिविरको बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले उद्घाटन गर्दै समुदायस्तरमा जथाभावी रुपमा छाडा छोडिएका कुकुरको व्यवस्थापन गर्नको लागि भेटेरिनरी अस्पताल र बेनी नगरपालिकाबाट शिविर आयोजना गरिएको बताउनुभयो । उहाँले छाडा छोडिएका कुकुरले रेबिज रोग सार्ने तथा दुर्घटना समेत गराउने भएकाले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो ।
निःशुल्क बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप लगाउने शिविरमा एनिमल केयर सेन्टर काठमाडौंका पशु चिकित्सक डाक्टर विकास श्रेष्ठ, सुमन थापा र बेनी नगरपालिकाका पशु सेवा शाखाका प्रमुख डा. आशिष सापकोटाले कुकुरहरुको बन्ध्याकरण गर्नुभएको थियो ।
कुकुरको अनावश्यक सङ्ख्या वृद्धिदर रोक्न तथा रेबिज रोग नियन्त्रण गर्न शिविरको आयोजना गरी कुकुरमा बन्ध्याकरण गर्नुका साथै रेविज रोग विरुद्धको खोप लगाइएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ ।
यसअघि रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा शुक्रवार र २ नम्बर वडा राखु भगवतीमा शनिवार कुकुरको निःशुल्क बन्ध्याकरण शिविर सञ्चालन भएको थियो । मौवाफाँटमा ५५ र भगवतीमा ६० वटा कुकुरको बन्ध्याकरण भएको गाउँपालिकाले जानकारी दिएको छ । गाउँपालिकाको चालु आवको वार्षिक स्वीकृत कार्यक्रमबाट भेटेरिनरी अस्पताल म्याग्दीसँगको समन्वयमा शिविर चलाइएको थियो ।
कुकुरको सङ्ख्या वृद्धिका कारणले रेविज रोग लाग्ने र दुर्घटनाको समेत जोखिम बढेकाले शिविरको आयोजना गरी बन्ध्याकरण तथा रेविजविरुद्ध खोप लगाइएको छ । निःशुल्क शिविरबाट विश्व स्वास्थ्य सङ्गठनले सन् २०३० सम्म रेबिज रोगलाई शुन्यमा झार्ने अभियानलाई समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
नियतबस दुर्घटना गराएर भागेका चालक अझै भेटिएनन्
म्याग्दीको बेनी नगरपालिका-६,जोगीगाडेमा ट्याक्टर चालकले बृद्ध महिलालाई एकान्तमा लगेर गरगहना लुटपाटका लागि ट्याक्टरले किचेर गम्भीर घाइते बनाएको आफन्तले बताएका छन् ।
गत बैशाख १ गते साँझ सदरमुकाम बेनी आाउँदै गर्दा स्थानीय ६१ बर्षिया डोलकुमारी बानियाँको साथमा भएका गरगहना लुट्ने पर्वतको जलजला गाउँपालिका-४,लामाखेतका १९ बर्षिय चालक अनिल परियारले ट्याक्टरबाट झारेर ब्याक गरी किचेर गम्भीर घाईते बनाएको परिवारका सदस्यले बताएका छन् ।
चुत्रेनीबाट घरबाट खाना पकाउने खाली सिलिन्डर लिएर बेनीबजार जाने क्रममा बृद्धा डोलकुमारीलाई एकान्तमा भाडा माग्ने बाहनामा शरीरमा लगाएको गरगहना लुट्ने प्रयासमा ट्याक्टरले किचेर टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ ।
पीडित डोलकुमारीका आफन्तले दिएको जानकारी अनुसार ट्याक्टरमा सिलिन्डर राखेर बेनी ल्याउँदै गर्दा करिव ३ सय मिटर एकान्तमा पुगेपछि ट्याक्टर विग्रियो भन्दै ब्याक लिएर दुर्घटना गराएको आफन्तको भनाई छ । लुटपाटको नियतले घटना गराएको पीडित डोलकुमारीका आफन्तको भनाईलाई अभियुक्तको विगतका गतिविधिले समेत पुष्टी गर्ने आधार देखिएको छ ।
चालक परियारले ट्याक्टर लिएर महारानीथान क्षेत्रमा छोडेर गएको र खाली सिलिन्डर नभेटिएकोजिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी सागर पौडेलले बताए । ‘‘अभियुक्तको खोजीकार्य भइरहेको छ, जहाँ भएपनि पक्राउ गरी कानुन अनुसार सजाय दिन्छौ’’ प्रहरी निरीक्षक समेत रहेका सूचना अधिकारी पौडेलले भने ।
पीडितलाई बेनी–दरवाङ सडक निर्माणमा संलग्न निर्माण ब्यवसायी निराजन खतिवडालाई उपचारमा आवश्यक सहयोग गर्न समेत प्रहरीले निर्देशन दिएको छ । घाईते डोलकुमारीको मणिपाल अस्पतालमा उपचार भइरहेको छ ।
अभियुक्त परियारको यसअगाडीको घटनालाई हेर्दा आफुँ अनुकुल नभए घटना घटाएर भाग्ने गरेको देखिन्छ । अभियुक्तसँग चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको प्रहरीले जनाएको छ ।
यसैबीच चालक अभियुक्त परियारले यसअगाडी बागलुङमा नियतबस ट्याक्टर दुर्घटना गराएको र लागुऔषधको सेवनमा समेत जिल्ला प्रहरी कार्यालयको हिरासतमा बसेर निस्किएको पाइएको छ ।स्थानीय महिला डोलकुमारीलाई ठक्कर दिदाँ समेत चालक परियारले मदिरा सेवन गरेको आशंका प्रहरीले गरेको छ । अपराधिक मानसिकताका परियारलाई प्रहरीले बि.स २०८० साल भदौ १६ गते लागुऔषधको सेवनको क्रममा नियन्त्रणमा लिएको थियो ।
घटनापछि के–के गरे परियारले
बैशाख १ गते साँझ डोलकुमारीलाई नियतबस घाईते बनाएर फरार भएका अभियुक्त परियारले प्रहरीबाट बच्न महारानी थान क्षेत्रमा ट्याक्टर पार्किङ गरी आफ्नी आमा शान्ति परियारको कोठामा पुगेका थिए । त्यहाँ पुग्दा समेत परियार मदिराको नसामा थिए ।
ट्याक्टर बेनीतर्फ ल्याउँदा प्रहरीले पहिचान गर्ने भएकाले महारानी थानमा राखेर पैदलमार्ग हुदै बेनी आएको देखिन्छ । अभियुक्त परियार आमाको कोठामा पुगेपछि नेपाल बैंक नजिकै रहेको एक घरमा मदिरा सेवन गर्न पुगेका थिए । त्यहाँबाट उनी परिवारको समेत सम्पर्कमा छैनन् । मदिरा सेवन गरेपछि पोखरासम्म पुगेको बताइएको छ । अहिले अभियुक्त परियारले प्रयोग गर्ने मोवाइल अफ छ ।
नियतबस दुर्घटना गराए के छ सजाय ?
नियतबस दुर्घटना गराएको प्रमाणित भए चालकलाई जन्मकैद सजाय हुन्छ । लापरवाही गरी सवारी चलाए ३ वर्षदेखि १० वर्षसम्म सजाय हुन्छ । सतर्कता अपनाउँदा अपनाउँदै दुर्घटना भएर कसैको ज्यान गए त्यस्तो सवारी चालकलाई एक वर्षसम्म कैद हुने प्रावधान छ । लाइसेन्स नभएका व्यक्तिले सवारी दुर्घटना गराए त्यस्तो सवारी धनीलाई पनि दुई वर्षसम्म कैद सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १६१ को उपदफा १ मा भनिएको छ,‘कसैले सवारी चलाई कुनै मानिसलाई किची, ठक्कर दिई वा कुनै किसिमले सवारी दुर्घटना गराई सवारीमा रहेको सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको कुनै मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यस्तो कार्य ज्यान मार्ने मनसाय लिई गरेको भए त्यसरी सवारी चलाउने व्यक्तिलाई जन्मकैद हुनेछ ।’
लापरबाही गरेर दुर्घटनामा मृत्यु भए दश वर्षसम्म कैद हुनसक्छ । दफा १६१ को उपदफा २ मा भनिएको छ ‘कसैको ज्यान मर्न सक्छ भन्ने अवस्था देखिँदा देखिँदै पनि अपनाउनु पर्ने सतर्कता नअपनाई कसैले लापरबाही गरी कुनै सवारी चलाएबाट कुनै मानिसलाई किची, ठक्कर लागि वा कुनै किसिमले सवारी दुर्घटना भई सवारीमा रहेको वा सवारी बाहिर जुनसुकै ठाउँमा रहे बसेको मानिस त्यस्तो दुर्घटनाको कारणबाट तत्कालै वा सोही चोटको परिणाम स्वरुप २१ दिनभित्र मरेमा त्यसरी सवारी चलाउने व्यक्तिलाई कसूरको मात्रा अनुसार ३ वर्षदेखि १० वर्षसम्म कैद र ३० हजार रुपैयाँदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।’ लाइसेन्स विना सवारी चलाएर दुर्घटना भएर कसैको मृत्यु भए लाइसेन्स नभएको व्यक्तीलाई सवारी चलाउन दिने सवारीधनीलाई पनि दुई वर्षसम्म सजाय हुने प्रावधान छ ।
यस्ताे छ कानुनी प्रावधान
गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा
म्याग्दीको धवलागिरि गाउँपालिकाको प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको छ । सङ्घीय सरकारको ६० प्रतिशत र गाउँपालिकाको ४० प्रतिशत साझेदारीमा निर्माणाधीन भवनको निर्माणकार्य हालसम्म ७० प्रतिशत सम्पन्न भइसकेको छ ।
गाउँपालिकाका इन्जिनियर लोकेन्द्रबहादुर रावलका अनुसार गाउँपालिकाको वडा नम्बर ३ घट्टेखोलास्थित निर्माणाधीन भवनको हालसम्म ५२ प्रतिशत आर्थिक र ७० प्रतिशत भौतिक प्रगति भएको छ । साझेदारी अनुसारको सङ्घीय सरकारले समयमै बजेट नपठाउँदा भवन निर्माणमा ढिलाइ भइरहेको छ ।
वि.सं.२०७४ साउनमा भएको विशेष गाउँसभामा बहुमतबाट घट्टेखोलामा गाउँपालिकाको स्थायी केन्द्र कायम गर्ने निर्णय भएको थियो । भवन निर्माण भएपछि गाउँपालिकाको कार्यालय र शाखाहरू सबै एउटै छानामुनि हुने गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो ।
कूल लागत बजेट सात करोड ७१ लाख ८९ हजार ६६६ रुपियाँमध्ये हालसम्म निर्माण कम्पनीलाई चार करोड पाँच लाख रुपियाँ भुक्तानी भएको इन्जिनियर रावलले जानकारी दिनुभयो । वि.सं २०७९-०३-३ गते भवन बनाउन प्रतिष्ठा-जुम्ली-माछापुच्छ्रे जेभीले गाउँपालिकासँग सम्झौता गरी निर्माण गरिरहेको छ ।
तीन तले भवनमा सभाहल सहित ३१ वटा कोठा तयार हुने छन् । सार्वजनिक शौचालय रहने भवनमा लिफ्ट पनि जडान गरिने छ । क्यान्टिन निर्माण सुरु भएको छ भने कम्पाउन्ड पर्खाल निर्माणकार्य केही समयमै सुचारु हुने गाउँपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७६-७७ मा स्थानीयवासीले १४ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका थिए।
गत वर्ष नै भवन निर्माणकार्य सम्पन्न हुनुपर्नेमा सङ्घीय सरकारले पठाउनुपर्ने बजेट समयमै नपठाउँदा निर्माणमा ढिलाई भएको गाउँपालिकाका अध्यक्ष पुनको भनाइ छ । हाल ३ नम्बर वडामा पर्ने तत्कालीन मुना गाविसको भवनमा तला र कोठा थप गरेर गाउँपालिकाको कार्यालय सञ्चालन हुँदै आएको छ ।
छत्तीस करोड लागतमा फोहोर व्यवस्थापन गर्दै बागलुङ
बागलुङ नगरपालिकाले नगरभित्रको फोहोरलाई स्रोतबाटै सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रोशोधन गरेर बिक्री गर्ने योजना कार्यान्वयनमा ल्याएको छ । नगरपालिकाले नगर क्षेत्रमा सङ्कलन हुने फोहोरलाई पुन: प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्नेगरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ ।
आधा दशकदेखिको फोहोर व्यवस्थापनको समस्या दीर्घकालीन रूपमा समाधान गर्न नगरपालिकाले फोहर प्रशोधनको जिम्मा समानता अभियान नेपाललाई दिएको हो ।
फोहाेर व्यवस्थापनमा चुनौती व्यहोरिरहेको नगरले समानता अभियान नेपालसँग फोहर व्यवस्थापनको सम्झौता गरेको नगरपालिका प्रमुख वसन्तकुमार श्रेष्ठले बताए। उनका अनुसार स्रोतबाटै फोहर सङ्कलनका लागि बजारभरि १५ हजार डस्विन वितरण गरिएको छ ।
समानता अभियानका चन्द्रकान्त पौडेल र बागलुङ नगरपालिका प्रमुख श्रेष्ठले रु ३६ करोड ७७ लाख लागतमा नमूना फोहर प्रशोधन केन्द्र निर्माणका लागि सम्झौता गरेको नगर कार्यालयले जनाएको छ ।
नगरपालिकाले पाँच प्रतिशत र अभियानले ९५ प्रतिशत आर्थिक भार व्यहोर्दै फोहर व्यवस्थापन गर्न रु ३६ करोड ७७ लाख खर्च हुने छभने प्रशोधनबाट निकालिएको फोहरबाट अत्यावश्यक तथा घरायसी सामग्री बनाउन सकिने श्रेष्ठको भनाइ छ । हाल फोहोर फालिएको बागलुङ–१ स्थित मालढुङ्गामा व्यवस्थापन गरिने बताउँदै उनले प्रशोधन गरिएको फोहोर व्यवस्थापन केन्द्रलाई अध्ययन अवलोकन तथा पर्यटकीयस्थलका रूपमा विकास गरिने जानकारी दिए।
केन्द्रका लागि तत्काल चाहिने केही उपकरण र सवारीसाधन अभियानबाट सङ्कलन गरिने नगरप्रमुख श्रेष्ठले जानकारी दिए। फोहोर व्यवस्थापन गर्दा डम्पिङसाइट दुर्गन्धित नहुने, पुन: उपयोग गरेर फोहरबाटै पैसा कमाउन सकिनेलगायत लक्ष्य राखिएका उनले बताए।
“फोहर व्यवस्थापनको चुनौती बढिरहेको सन्दर्भमा नगरपालिकाले साझेदार निकायसँग मिलेर काम गर्न थालेको छ, नगरपालिको रु दुई करोड लागतमा फोहर प्रशोधन केन्द्र निर्माण गरिसकेको छ, फोहर प्रशोधनको काम यथाशीघ्र सुरु हुन्छ”, श्रेष्ठले भने, “फोहोर प्रशोधन केन्द्र अब दुर्गन्धरहित बनाएर पर्यटकीय केन्द्रका रूपमा विकास गर्नेछौँ ।”
नगरपालिकाले यसअघि तीन प्रकारका बाल्टिन दिएर फोहर सङ्कलनको काम थालिसकेको छ । ती फोहर कसरी सङ्कलन गर्ने भन्नेबारेमा बालबालिकाको इको क्लब गठन गर्ने, अभिभावकलाई सचेतना बढाउने काम पनि गरिने नगरप्रमुख श्रेष्ठले बताए। आगामी दिनमा प्रदूषणरहित नगर बनाउने, बायोग्यास प्लान्ट निर्माण र फोहर व्यवस्थापन नजिकै स्विमिङ पुल बनाउने योजना रहेको उनले उल्लेख गरे।
उक्त स्थानमा तीन खण्ड बनाएर कुहिने, नकुहिने, सिसाजन्यलगायत खतरा फोहरको व्यवस्थापन गर्न केही संरचनासमेत नगरपालिकाले बनाइसकेको छ । विसं २०५४ देखि नगरपालिकाले एक दशकसम्म कालीगण्डकी किनारमा फोहर फालेको थियो। कुहिने र नकुहिने फोहर एकै ठाउँमा फाल्दा यहाँको १० रोपनी जग्गा भरिएको थियो । कुहिने फोहर कम्पोस्ट मल बनाउने र नकुहिने प्लास्टिकजन्यलाई पुन: प्रयोगमा पठाउने लक्ष्य राखिएको नगर कार्यालयले जनाएको छ ।
किन्ने हो ऐँसेलु ?
कुनैताका वनपाखा चहारेर खाइने ऐँसेलु हिजोआज राजमार्ग छेउछाउ किनमेल भइरहेको भेटिन्छ । स्वादिष्ट र गुणकारी फल ऐँसेुल कपितयका लागि आयआर्जनको स्रोत बनेको छ । पाखापखेराबाट दु:खजिलो गरी टिपेर ल्याएको एँसेलु बेच्नेमा महिला र बालबालिका बढी हुन्छन् । वसन्त याममा मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको अन्नपूर्ण गाउँपालिका–३ काँडेमा ऐँसेलु बेच्नेको लर्को देखिन्छ ।
पहाडी भेगका अन्य सडकमार्गमा पनि ऐँसेलुको किनबेच हुने गर्छ । हिउँदको फुर्सदिलो समयमा ऐँसेलु टिप्नु र बेच्नु स्थानीयवासीको दैनिकी जस्तै बन्ने गरेको छ । काँडेकी मनमाया विकले वनपाखा पुगेर ल्याएको ऐँसेलुलाई मल्लाताको हरियो पातमा बेरेर बेच्ने गरेको सुनाइन्। बिहानमा ऐँसेलु टिप्ने र दिउँसो राजमार्गमा ल्याएर बेच्ने गरेको उहाँले बताउनुभयो । “ऐँसेलु बेचेको पैसाले सामान्य घरखर्चको जाहो हुन्छ”, उनले भनिन्, “बालबालिकाले कापीकलम किन्ने पैसा जुटाउँछन् ।”
काँडा छिचोलेर ऐँसेलु टिप्ने काम सजिलो भने नहुने उनीहरूको अनुभव छ । थोरै भएपनि नगद आर्जन हुने देखेर स्थानीयवासी ऐँसेुल बेच्न लालयित देखिएका हुन् । महिलाहरूले टपरी झैँ खिपेको सोली आकारको हरियो पातमा ऐँसेलु राखेर बेच्ने गर्छन् । एउटाको मूल्य रु एक सय राखिएको छ । कुनै दिन त एकै जनाले दुई हजारसम्मको ऐँसेलु बेच्ने गरेका छन् । दैनिक ज्यालादारी कामको भन्दा धेरै पैसा आउन थालेपछि ऐँसेलुतिर आकिर्षत भएको महिलाहरू बताउँछन् ।
राजमार्गमा यात्रा गरिरहेका यात्रुले गाडी रोकेर ऐँसेलु किन्ने गर्छन् । कतिपयले चाख मानेर ऐँसेलु किन्ने गरेपनि कोहीले भने वास्तै नगर्ने स्थानीयवासीको बताउँछन् । ऐँसेलुको किनमेल हुन थालेपछि फुर्सदको सदुपयोग भएको छ । घरगुजारा चलाउन पैसाको पनि जोहो हुन थालेको छ । अधिकांश सहरीया मानिसको रोजाइमा ऐँसेलु पर्ने गरेको छ । विदेशी पर्यटकले पनि किनेर खाने गरेका छन् ।
लोकमार्गले छोएको कास्कीको फेँदी कटेपछि नागडाँडा, काँडे, लुम्ले, नयाँपुलसम्मै वसन्त याममा एसेलु बेच्नेहरु भेटिन्छन् । बिदाका दिनमा बालबालिका पनि ऐसेलु बेच्न निस्कन्छन् । वयस्क पुरुष भने यो काममा खासै भेटिदैँनन् । शनिबारको फुर्सद पारेर बालबालिकाहरू गाउँ नजिकैको वनबाट ऐसेलु टिपेर ल्याउर बेच्ने गर्छन् । पहिलेपहिले वनपाखा धाएर ऐसेलु, चुत्रोलगायत फल खाने चलन थियो । पछिल्लो समय त्यो क्रम हट्दै गएको छ । चैतदेखि जेठसम्म डाँडापाखामा ऐँसेलु पाक्ने गरेको गरेको छ ।
ऐँसेलुबाट जुस, वाइन पनि बनाउन सकिने वनस्पती विज्ञहरू बताउँछन् । वनमा यसै खेर जाने फलबाट लाभ लिन सक्नुपर्ने उनीहरूको भनाइ छ । मझौला काँडेदार बुट्यान (झाडी) मा ऐँसेलु फल्छ । पहाडी भेगको सातसय देखि दुई हजार मिटरसम्ममा ऐँसेलु पाइन्छ । यो फल रसिलो र गुलियो हुन्छ । ऐँसेलु प्रकृतिमा आफै उम्रेर वर्षौँसम्म टिक्ने वनस्पति हो । अपच भएको अवस्थामा ऐँसेलु प्रयोग गर्नु लाभदायी मानिन्छ ।
वनस्पती विज्ञका अनसार ऐँसेलुमा भिटामिनसीसहित सुक्ष्म पोषक तत्व पाइन्छ । ऐँसेलुको जरामा पनि औषधीय गुण हुन्छ । यो पूर्ण रूपमा जैविक फल हो । यो फल नेपालको अधिकांश पहाडी भेगमा पाइन्छ । नेपालसहित भारत, चीन र पाकिस्तानमासमेत पाइने यो फल रङ्गका आधारमा तीनथरिको हुन्छ । रासस
२२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
आगामी शनिबार र आइतबार देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ। ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी शनिबार र आइतबार भिटामिन ‘ए’ खुवाउँदै छ। स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल छ महिनादेखि ५९ महिनाका करिब २२ लाख बालबालिकालाई खुवाइने छ।
सोही दिन एक वर्षदेखि पाँच वर्षसम्मका करिब १९ लाख बालबालिकालाई जुकाको औषधि खुवाइने छ। बालबालिकालाई बालभिटा खुवाइने छ। सोही दिन बालबालिकामा कुपोषणको परीक्षण पनि गरिने छ।
‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ मा करिब ५२ हजार महिला स्वास्थ्य स्वयम्सेविका र १५ हजार स्वास्थ्यकर्मी परिचालन गरिने छ। सरकारले भिटामिन ‘ए’ कमीको रोकथाम तथा उपचारको लागि २०५० सालमा आठ जिल्लाबाट सुरु भएको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम २०५९ देखि देशभरि नै लागू गरिएको हो।
जुका नियन्त्रण तथा रोकथामको लागि २०५६ सालदेखि १३ जिल्लाबाट सुरु गरिएको जुकाको औषधि खुवाउने कार्यक्रम २०६७ देखि सबै जिल्लामा लागू गरिएको छ। यस्तै २०६४ सालदेखि बालभिटा खुवाइने गरेको छ।प्रत्येक वर्ष कात्तिक र वैशाखमा भिटामिन ‘ए’ र जुकाको औषधि बालबालिकालाई निःशुल्क खुवाउने व्यवस्था सरकारले गर्दै आएको छ। रासस
वक्तृत्वकलामा उर्मिलाले जितिन् ५० हजार पुरस्कार
म्याग्दीमा आयोजित सर्वाधिक धनराशीको ‘अब म पनि बोल्छु’वक्तृत्वकला प्रतियोगिताको उपाधी धवलागिरी गाउँपालिका-७,धारापानीस्थित किसानी चन्द्रकुन्ता माविकी उर्मिला सुबेदीले जितेकी छन् ।
स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको आयोजना तथा बेनीअनलाइनको सहकार्यमा बुधबार म्याग्दी बहुमुखी क्याम्पसको सभाहलमा सम्पन्न भएको फाइनल ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीलाई पछि पार्दै उर्मिलाल विजेता बन्न सफल भएकी हुन् ।
विजेता भएसँगै उनले ५० हजार रुपैँया नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरिन् । प्रतियोगिताम रघुगंगा गाउँपालिका-२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी उपविजेता र अन्नपूर्ण गाउँपालिका-५, शिख माविकी रेश्मा विक तृतिय भएकी छन्। द्धितिय र तृतियले क्रमश ३५ हजार, २५ हजार नगदका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
प्रतियोगितामा विजेतालाई प्रमुख अतिथि जिल्ला समन्वय समितिकी निमित्त प्रमुख दिलकुमारी खत्री,स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बद्री बरुवाल, निर्णायक समितिका म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदी, नेपाल जेसीजका पूर्व राष्ट्रिय अध्यक्ष सेनेटर धनञ्जयकुमार श्रेष्ठ, प्रविधिमैत्री शिक्षक समाज नेपालका केन्द्रिय महासचिव देबीप्रसाद शर्मा, स्टुडेन्ट भाइब्सका नेपाल प्रमुख अशोक श्रेष्ठ, स्टुडेन्ट भाइब्स पोखरा प्रमुख सौराज तिमिल्सिना, बेनीअनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतम,स्वतन्त्र विद्यार्थी यूनियन म्याग्दी बहुमुखी क्याम्पसका सभापति संगम चोखाल क्षत्रीले प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगिताको उद्घाटन गदैं जिसस निमित्त प्रमुख खत्रीले क्षमता विकासका लागि यो कार्यक्रम निकै उत्कृष्ट भएको बताइन् ।
जिल्लाका पालिकास्तरमा छनौट गरी जिल्लास्तरीय फाइनल प्रतियोगिताका छ जनै प्रतिस्पर्धी म्याग्दीका प्रतीभाहरु भएको बताउँदै नयाँ प्रतीभा जन्माउनका लागि सहयो गर्ने सम्पूर्णलाई धन्यवाद दिइन् ।
प्रतियोगितामा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, प्रहरी नायव उपरीक्षक भरत श्रेष्ठ, शसस्त्र प्रहरी बल गलेश्वरका प्रहरी नायव उपरीक्षक नवराज नेपाल, म्याग्दी जेसीजका अध्यक्ष बिनोद घर्ती क्षत्री लगायतको उपस्थिती रहेको थियो ।
स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवालले शैक्षिक परामर्श बाहेक सामाजिक एवम् मानवीय क्षेत्रमा समेत निरन्तर सक्रिय रहेको बताउँदै आगामी संस्करणमा म्याग्दीका कुना काप्चाबाट नयाँ प्रतीभाहरुको खोजी गरिने बताए।
म्याग्दीका स्थानीय तहबाट छनौट भएका ६ जनै प्रतिभालाई भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित एक दिने क्षमता विकास तालिम सञ्चालन गरेपछि फाइनल प्रतियोगिता सञ्चालन गरिएको थियो ।
यसैबीच सोही अवसरमा स्टुडेन्ट भाइब्स अस्ट्रेलियाले म्याग्दी बहुमुखी क्याम्पसलाई १४ हजार बराबरको वायरलेस माइक र नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको आपतकालिन कोषमा ५ हजार सहयोग गरेको छ । फाइनल प्रतियोगिताको अध्यक्षता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाका प्रमुख बरुवाल, स्वागत बेनी अनलाइन प्रालिका अध्यक्ष गौतम र सञ्चालन सञ्चारकर्मी अमित विश्वकर्माले गरेका थिए ।
म्याग्दीका पालिकास्तरीय छनौटमा ४५ जना विद्यार्थीहरुबाट बेनी नगरपालिका–७ स्थित बेनी सामुदायिक माविका अभिषेक पौडेल, धवलागिरी गाउँपालिका-७, धारापानीस्थित चन्द्रकुन्ता माविकी सुबेदी, मालिका गाउँपालिका-७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका-१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका-२, भगवतीस्थित मुक्तिथाम माविकी भण्डारी र अन्नपूर्ण गाउँपालिका-५, शिखस्थित शिख माविकी विकको सहभागिता रहेको थियो ।
आज हल्का वर्षा र भोलिदेखि ठूलो पानी पर्ने सम्भावना, तत्काल अन्नबाली नकाट्न र काटेको भए भित्र्याउन आग्रह
स्थानीय वायुको प्रभाव रहेकाले आज धेरै ठाउँको मौसम बदलीको अवस्था छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भागका एक–दुई ठाउँमा बिहानपख हल्का वर्षा भएको छ ।
काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा आज हल्का वर्षाको सम्भावना छ । दिउँसो मधेश प्रदेशबाहेक अरु सबै प्रदेशको हिमाली तथा उच्च पहाडी क्षेत्रमा हल्का हिमपात र केही ठाउँमा मेघगर्जन चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रही एक–दुइ ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रि–मनसुनको समय भएकाले मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिम रहेकाले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
भोलिदेखि पानी पार्ने नयाँ प्रणाली भित्रिन सक्ने सम्भावना रहेको मौसमविद् सन्जिव अधिकारीले बताउनुभयो ।
उहाँका अनुसार अरब सागर र बङ्गालको खाडीबाट जलवाष्पयुक्त वायु प्रवेश हुने सम्भावना रहेकाले भोलि पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका एक–दुई ठाउँमा अलि धेरै पानी पर्ने अनुमान छ ।
देशभर वर्षा हुने प्रक्षेपण रहेकाले यो हप्ता गहुँ, मुसुरोलगायत अन्न तथा दलहनबाली नकाट्न मौसमविद्ले आग्रह गरेका छन् । यो हप्ता कुनै पनि अन्नलगायत बाली नकाट्न र काटेको भए तत्कालै भित्र्याउँदा क्षति कम हुने मौसमविद् अधिकारीले बताउनुभयो । नयाँ प्रणालीको प्रभाव आउँदो सोमवारसम्म रहने अनुमान छ ।
जलजलामा गत वर्षको तुलनामा कक्षा ८ को नतिजामा सुधार
पर्वतको जलजला गाउँपालिकाले सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर सुधारका लागि शैक्षिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गरेपछि नतिजामा सुधार आएको छ । शैक्षिक गुणस्तर कमजोर भएपछि पालिकाले दुईवर्ष अघि देखि गुणस्तर वृद्धिका लागि कार्ययोजना निर्माण गरी लागू गरेको थियो ।पालिकाले आइतबार प्रकाशित गरेको आधारभूत तहको शैक्षिक नतिजामा सुधार आएको देखिएको छ ।
गाउँपालिकाले संचालन गरेको कक्षा ८ को पालिका स्तरीय परीक्षमा गत वर्ष भन्दा यस वर्षको नतिजामा उल्लेख्य सुधार भएको गाउँपालिकाका शिक्षा शाखाका अधिकृत यज्ञप्रसाद लामिछानेले बताउनुभयो ।गाउँपालिकाले गत फागुन २५ देखि चैत ६ गते सम्म आधारभूत तह अन्तर्गत कक्षा ८ को परीक्षा संचालन गरेको थियो ।
प्रकाशित नतिजा अनुसार गाउँपालिका भित्र रहेका दुई संस्थागत र १४ सामुदायिक गरी १६ विद्यालयका एकसय ८६ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा एकसय ३७ जना विद्यार्थी उत्तीर्ण भएको गाउँपालिकाका शिक्षा शाखा अधिकृत लामिछानेले जानकारी दिनुभयो । गत वर्ष ४६ प्रतिशत उत्तीर्ण भएकोमा अहिले ६२ प्रतिशत विद्यार्थी उत्तीर्ण हुनुले शैक्षिक गुणस्तरमा क्रमशः सुधार हुँदै गएको उहाँले बताउनुभयो ।
गत वर्ष दुईसय ३० जना विद्यार्थी मध्य जम्मा ७४ जना उत्तीर्ण भएका थिए । दुई विद्यालयको नतिजा शून्य भएको थियो । यसवर्ष समग्ररुपमा कक्षा ८ को नतिजामा अपेक्षाकृतरुपमा सुधार भएको देखियो ।पालिका भित्र रहेका १३ विद्यालयमा ६१.५३ प्रतिशत देखि सतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । दुईवटा विद्यालयमा पचास प्रतिशत भन्दा कम विद्यार्थी उत्तीर्ण भएका छन् । एउटा विद्यालयमा ५५.५५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।’’ श्री कृष्णभवन धर्म माविबाट ११ जना परीक्षामा सहभागी भएका मध्य ५ जना मात्र उत्तीर्ण भए भने लुङ्गदी आधारभूत विद्यालयमा ९ जना मध्य ३ जना मात्र परीक्षामा उत्तीर्ण भए । बनौं माविबाट ९ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा ५ जना उत्तीर्ण भए ।
.जनकल्याण माविले सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भएको छ । शिव मावि फर्सेबाट १५ जनाले परीक्षा दिएकोमा १४ जना विद्यार्थी उत्तीर्ण भएका छन् । श्री फर्से धाइरिङ माविबाट ८ जना परीक्षामा सहभागी मध्य ७ जना उत्तीर्ण भएका छन् । यसैगरी शान्ति आधारभूत विद्यालयबाट ९ जनाले परीक्षा दिएकोमा ७ जना उत्तीर्ण भएका छन् । मालिका आधार भूत विद्यालयले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।शालिजा माविबाट १४ जनाले परीक्षामा सहभागी भएकोमा ११ जना विद्यार्थी उत्तीर्ण भएका छन् । ज्योति माविले पनि सतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएको छ ।
ग्रामप्रकाश माविबाट १३ जना विद्यार्थीले परीक्षामा सहभागी भएकोमा ८ जना उत्तीर्ण भए । फट्केढुङ्गा आधारभूत विद्यालयबाट ६ जनाले परीक्षा दिएकोमा ४ जना उत्तीर्ण भए । अमृत आदर्श प्याराडाइज एकेडेमीबाट २२ जना विद्यार्थी परीक्षामा सहभागी भएकोमा २१ जना उत्तीर्ण भए । न्यू होराइजन माविबाट २१ जनाले परीक्षा दिएकोमा १५ जना उत्तीर्ण भएको शिक्षा शाखाले जनाएको छ ।
विद्याज्योति माविबाट २६ जनाले परीक्षा दिएकोमा १६ जना उत्तीर्ण भएका छन् । ज्योतिमण्डल माविबाट ७ जनाले परीक्षा दिएकोमा ५ जनाले उत्तीर्ण गरेका छन् । परीक्षा संचालनका लागि गाउँपालिकाले परीक्षा केन्द्र तोकेर केन्द्राध्यक्षको समेत व्यवस्था गरी अनुगमन गर्ने व्यवस्था मिलाएर परीक्षा संचालन गरिएको शिक्षा शाखाका अधिकृत लामिछानेले बताउनुभयो ।
गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि संचालन गरेको शैक्षिक सुधार कार्यक्रमको प्रतिफल प्राप्त हुनथालेको गाउँपालिका अध्यक्ष राजुप्रसाद आचार्यले बताउनुभयो । गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि शैक्षिक कार्ययोजना निर्माण गरेर लागू गरेको उहाँको भनाई छ ।
जनप्रतिनिधि, शिक्षक,विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा सरोकारवालाहरुलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि जिम्मेवार बनाउँदै शैक्षिक जागरण र चेतनाको अभिवृद्धीमा पालिका जुटेको छ ।’’