Friday, May 9, 2025
19 C
Beni
19 C
Beni
Friday, May 9, 2025
Home Blog Page 23

बागलुङको तमानखोलामा जिप दुर्घटना हुँदा १० जना घाइते

0

बागलुङको तमानखोला गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते भएका मध्य एक जनाको अवस्था गम्भीर रहेको छ ।सोमबार दिउँसो तमानखोलाको बोङ्गादोभानबाट भएरकटेरी तर्फ जाँदै गरेको ग १ ज ५७०५ नम्बरको पिकअप जिप वडा नं. २ कटेरीमा दुर्घटना चालकसहित ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डिएसपि) विजय यादवले जानकारी दिनुभयो ।

उहाँले बागलुङको गलकोट नगरपालिका–१ की ३० वर्षीया मुना विकको अवस्था गम्भीर रहेको बताउनुभयो ।

दुर्घटनामा जम्ला कन्का सुन्दरी गाउँपालिका–२ बस्ने वजर्ष २६ का प्रेम रावल, रुकुम पश्चिम बाधिकोट गाउँपालिका–६ बस्ने वर्ष ३२ का सुदर्शन कुसारी, बागलुङ तमानखोला गाउँपालिका–१ बस्ने वर्ष २९ का सचिन विक, वर्ष ६३ की ईन्द्र कुमारी गिरी, वर्ष ५२ की मनसरी शेरचन, वर्ष २५ की बसन्ति मगर, वर्ष २७ का शुसिल रसाईली, वर्ष १२ की मनि मगर, तमानखोला गाउँपालिका–२ बस्ने वर्ष २० की झरना गिरी र रुकुम पश्चिम चौर जहारी नगरपालिका–१३ वस्ने वर्ष २३ का नविन मल्ल घाईते भएका छन् ।

उनीहरुको हात, खुट्टा, टाउँको र ढाडमा चोट लागेको छ ।घाइते सबैको बुर्तिबाङ अस्पताल बागलुङमा उपचार भइरहेको डिएसपि यादवले बताउनुभयो । जिप उकालोमा ब्रेक फेल भई सडकमा नै पल्टिन गएको छ ।

बजेट अभावमा सडक निर्माण रोकियो

0

बजेट अभावका कारण गण्डकी प्रदेश सरकारद्वारा बहुवर्षीय ठेक्कामार्फत म्याग्दीमा सञ्चालित छ वटा सडक स्तरोन्नति योजना निर्माण रोकिएको छ ।

बजेट अभावमा काम गरेको बिलको भुक्तानी नपाएपछि निर्माण व्यवसायीले सडक निर्माण स्थगित गरेका हुन् । बेनी–पाखापानी सडक योजनाको निर्माण कम्पनीका प्रतिनिधि सुवासचन्द्र कार्कीले सरकारले बजेट व्यवस्थापन गर्न नसकेपछि निर्माण स्थगित गरेको बताउनुभयो ।

“दुई/तीन वर्षअघिसम्म निर्माण व्यवसायीले काम गर्न नसकेर बजेट खर्च हुन नसक्ने अवस्था थियो,” उहाँले भन्नुभयो “अहिले हामीले दुई वर्षको काम एक वर्षमा सक्छौँ भन्दा पनि सरकारले बजेट दिन सकेन् ।”

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु. दुई करोड विनियोजन गरेको बेनी–पाखापानी सडक योजनाको रु. एक करोड ९४ लाख छ महिनामै खर्च भएको थियो । दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित विसं २०८१ जेठ २० गते रु एघार करोड ७६ लाख १२ हजारमा मङ्गलादेवी सुवास कन्ट्रक्सन प्रालि र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच ठेक्का सम्झौता भएको यो आयोजनाको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।

दरवाङ–धारापानी–ताकम–मुना सडकको लागि विनियोजन भएको रु. दुई करोड बजेट पनि गत पुस महिनामै सकिएको थियो । चार किलोमिटर दुरीको यो सडक स्तरोन्नतिका लागि विसं २०८१ जेठ २० गते रामसागर – बिएस धौलागिरि जेभी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु १४ करोड ६१ लाख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो ।

गत वर्ष बेनी–पाखापानी सडकमा रु. चार करोड र दरवाङ–धारापानी–ताकम–मुना सडकमा रु. पाँच करोड बजेट थियो । बेनी–पाखापानी र दरवाङ–धारापानी–ताकम–मुना मात्र नभएर जिल्लामा प्रदेश सरकारले सञ्चालन गरेका सबै सडक र मोटरेबल पुल आयोजनाको लागि चालु आर्थिक वर्षमा विनियोजन भएको सकिएको छ ।

बेनी नगरपालिका र मङ्गला गाउँपालिका जोड्ने अर्जेखोलाको मोटरेबल पुलका ठेकेदारले गत असारमै लक्ष्य भन्दा एक वर्ष अघिनै काम सकेपनि अझै भुक्तानी पाएका छैनन् । पूर्वाधार विकास कार्यालय, म्याग्दीका प्रमुख विष्णुप्रसाद पौडेलले विनियोजित बजेट भुक्तानी भइसकेको र रकमान्तर अथवा थप बजेट व्यवस्थापन नहुँदा निर्माण व्यवसायीलाई भुक्तानी दिन नसकेको बताउनुभयो ।

“म्याग्दीका सडक र पुलका पुरानो एक वटासहित १० वटा बहुवर्षीय आयोजनामध्य आठ वटाको निर्माणाधीन छन्,” उहाँले भन्नुभयो “तर निर्माण व्यवसायीलाई भुक्तानी गर्ने बजेट नहुँदा रोकिएका छन् ।” बहुवर्षीय योजनाका लागि रु. १३ करोड ९० लाख दायित्व सिर्जना भएको कार्यालय प्रमुख पौडेलले बताउनुभयो ।

बेनी–भकिम्ली सडक, दरवाङ– अदिभारा– डाडाँगाउँ– सोले– तमान– बुर्तीवाङ सडक, पखेर–बरङजा ३ र ४ हुँदै महेश–घापुङ–ताराखोला गाउँपालिका जोड्ने सडक र दरवाङ–बिम–दिच्याम सडक स्तरोन्नती योजना निर्माण रोकिएको छ । गत वर्ष करिब रु ६८ करोड लागतमा म्याग्दीमा सात वटा सडक स्तरोन्नति र दुई वटा मोटरेबल पुल निर्माण सुरु भएका थिए । ती आयोजना कार्यान्वयनका लागि विभिन्न निर्माण कम्पनीसँग रु ६७ करोड ७८ लाखमा ठेक्का सम्झौता गरेको थियो । अर्थ मन्त्रालयले रु. एक अर्ब २० करोड बजेटको स्रोत सुनश्चितता गरेको थियो ।

अर्थ मन्त्रालयले स्रोत सहमति र सुनश्चितता गरेर बहुवर्षीय ठेक्का सम्झौता भइसकेका आयोजनाका लागि विषयगत मन्त्रालयले पर्याप्त बजेट व्यवस्थापन नगर्दा र टुक्रे योजनामा प्राथमिकता दिँदा गण्डकी प्रदेशभरका आयोजनामा यस्तो समस्या देखिएको प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीले बताउनुभयो ।

“टुक्रे योजनामा बजेट छर्दा ठूला र गौरवका आयोजनामा अभाव भएको हो,” उहाँले भन्नुभयो “विषयगत मन्त्रालयका मन्त्री र मुख्यमन्त्रीलाई काम भइरहेका तथा सम्पन्न हुने चरणका योजनामा बजेट अभाव हुन नदिन सचेत बनाएका छौँ ।” रासस

यस्तो छ- विक्रम संवत्को इतिहास

0

आज विक्रम संवत् २०८२ साल वैशाख १ गते । नयाँ वर्षको पहिलो दिन, एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । पुराना अभिलेखहरू हेर्ने हो भने, विक्रम संवत्बाहेक अरु थुप्रै संवत्‌हरूबारे उल्लेख पाइन्छ

मीन राशि समाप्त भई मेष प्रारम्भ हुनासाथ अर्थात मेषमा सूर्यले प्रवेश गरेको दिन वैशाख १ गतेदेखि विक्रम संवत्को नववर्ष प्रारम्भ हुन्छ ।

‘अथ सूर्यवंश प्रभावान्नेेपाले किराँत राजन निजित्य लिच्छवी वंश प्रवर्ततेः ।’- -पशुपति पुराण) अर्थात् सूर्यवंशी लिच्छवी राजाकोे प्रभावले किराँत राजालाई जिती लिच्छवीवंश सुुरु भएपछि लिच्छवीवंशका पहिला राजा धर्मपाल, भूमिवर्मा विक्रमादित्य उपाधिबाट पुकारिएका सूर्यवंशी पराक्रमी चक्रवर्ती राजाबाट विशालनगर र बत्तीसपुतलीमा राजधानी स्थापना गरेर शासन गरेको बेलादेखि विक्रम संवत् उठान भएको हो ।

वैदिककालदेखि चल्दै आएका महिना, बार, थितिहरूलाई निरन्तरता दिई राष्ट्रिय संवत्को रूपमा यो संवत् प्रचलित हुँदै आएकोछ । हिमवत्खण्डका स-साना राज्यहरू सेनवंशी, बाइसी, चौबीसी तथा काठमाडौं उपत्यकालगायत ब्रह्मपुत्रदेखि गंगाको आसपाससम्म विक्रम संवत् चलनचल्तीमा आएका प्रमाणहरू छन् ।

विक्रम संवत्लगायत इतिहासको फेरबदलमा नेपालमा चलिआएका शक संवत्, नेपाल संवत्हरू तिथिको आधारमा मात्र चलिरहेको र तिथिहरू ग्ाडबड भइरहने हुँदा शासन व्यवस्थामा असजिलो भएकाले सुव्यवस्थाको लागि चन्द्रशमशेरले ज्योतिषीहरूको सम्मेलनबाट सल्लाह लिएर तिथि र बारहरूमा तलमाथि नगरी विक्रम संवत् १९६१ मेष संक्रान्ति वैशाखदेखि १ गते प्रारम्भ गरी गतेमा लेख्ने चलन चलाएका हुन् ।

विक्रम संवत्भन्दा १३५ वर्षपछि शक संवत्को उठान र ९३७ वर्षपछि नेपाल संवत्को उठान भएको हो । विक्रम संवत्को वर्षमा ३६५ दिन र शक संवत् र नेपाल संवत्का ३५४ दिन मात्र हुने हुँदा विक्रम संवत् व्यावहारिक हुनगएको छ । विक्रम संवत् जेठो संवत् भएकाले ऐतिहासिक तथ्यलाई जीवन्त राख्न सफल बनेको छ ।

इतिहासविद् नयनाथ पौड्यालले नेपालको पुरातत्त्व विभाग राष्ट्रिय पुस्तकालयबाट प्रकाशित भाषा वंशावलीमा विक्रमादित्य राजाबारे किंवदन्तीहरू प्रस्तुत गर्दै बज्रयोगिनीबाट पारसमणिसहित आसिरवाद प्राप्त गरेको राजप्रसादको दक्षिणतर्फ -हालको नारायणहिटी) चतुर्मुख नारायण स्थापित गरी जोडीधारा बनाई तीर्थस्थल समेत बनाई विक्रम संवत् चलाएको कुरा उल्लेख गरेका छन् । योगी नरहरिनाथले देवमाला वंशावलीमा कुनै चक्रवर्ती राजा विक्रमादित्यको बत्तीसपुतली राम मन्दिर भएको ठाउँमा राजसिंहसान थियो भन्ने पाइन्छ, भन्नुभएको छ ।

लिच्छवी शासनकालमा निर्मित हरिसिद्धि मंन्दिरमा विक्रम संवत् ७११ उल्लेख भएको वंशावली छ र विक्रम संवत् ९४५ मा हरिसिद्धिनाटक मञ्चन भएको हरिसिद्धि उपपुराणमा उल्लेख छ । जयस्थिति मल्लको पालाको सुवर्णपत्रमा ‘विक्रम राजवर्ष १४४८ श्रीमत नेपालीकेः श्रेयोस्तु’ उल्लेख छ । त्यसपछि त्यसरी नैं मल्लकालभरि विक्रम संवत् चलनचल्तीमा भएको कुरा अभिलेखहरूमा प्राप्त छन् ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरेपछि वसन्तपुर दरबारको अभिलेखमा ‘राजा पृथ्वीनाराण शाहको वंश गुहृयेकाली र पशुपतिका दुई पाउका धूलाका प्रसादले स्थिर भइरहोस्’ भनेर विक्रम संवत् १८२५ उल्लेख गरेका थिए । इतिहासकार ज्ञानमणि नेपाल लेख्छन्- विक्रम संवत्को प्रचलन मध्यकालमा बाइसी-चौबीसी, सेन, मल्ल, शाह राजाहरूले विक्रम संवत् चलाउँदै आएका थिए । केन्द्रका तीन सहरका मल्ल राज्यहरूमा पनि पूर्व मललकालदेखि नै. अभिलेख, हस्तलिखित, पाण्डुलिपिका पुक्ष्पिका वाक्यहरूमा विक्रम संवत्को प्रयोग हुँदै आएको थियो ।

भक्तपुरमा नववर्ष प्रारम्भ हुँदा धमधामसाथ बिस्केटजात्रा मनाइन्छ । तराईमा थारूहरू वैशाख सुरु हुने दिनदेखि नैं सिरुवाजात्रा मनाउँछन् ।’ त्यस्तै अरुणकुमार पाण्डे लेख्छन्- सृष्टिको आरम्भमा सूर्यलगायतका ग्रहनक्षत्र सून्य अवस्थामा रहेको र त्यही शून्यमा विक्रम संवत्को गणनापद्धति सुरु हुन्छ । विक्रम संवत विश्वब्रह्माण्डका ग्रहगति र प्रकृतिसँग सापेक्ष छ । नेपालमा यसले सबै जाति, भाषा, धर्म र संस्कृति र विविधतालाई समिटेको छ ।’

संवत्हरूको विषयमा विक्रम संवत् १९३७ मा भारत गुजरातका विद्वान् खोजकर्ता पं.भगवानलाल इन्द्रजी नेपालमा आई यहाँबाट २३ वटा अभिलेख खोजी लगी लिच्छवीकालमा उल्लेखित संवत्हरूलाई विक्रम संवत् ठहर्‍याएका थिए । त्यसैगरी कलकत्ता विश्वविद्यालय इतिहासका प्राध्यापक राधागोविन्द बासकले भारतको उत्तरपूर्व भागको इतिहासमा लेखेका छन- ‘मानदेवको सम्वत् ३८६ को चाँगुको अभिलेखको संवत् विक्रम संवत् हो । यसरी विक्रम संवत् ३८६ देखि प्रारम्भ भएर चपली गाउँमा रहेको अभिलेखमा लेखिएको संवत् ४८९ सम्मका संवत् विक्रम संवत् हुन् ।’

नेपाल संवत्मा वर्षमा ३५४ दिन र तिथिबाट मात्र चल्ने र विक्रम संवत्को वर्षमा ३६५ दिन, गतेलगायत तिथि, बारमा आवद्ध रहँदै आएको र शक संवत्भन्दा १३५ वर्ष र नेपाल संवत्भन्दा ९३६ वर्ष जेठो संवत् भएकाले यसको एतिहासिक गरिमा छ । ज्योतिषी पंं. सूर्यप्रसाद ढंुगेल भन्नुहुन्छ, ‘विक्रम संवत् प्रकृतिसँग आवद्ध छ ।

दिन र रात सूर्यले नैं निर्धारण गर्ने र सूर्यले एक वर्ष अर्थात् ३६५ दिन १५ घडी ३१ पला ३१ प्रतिपला, यति समयमा एक चक्कर ३६० डिग्री पूरा गरेको हुन्छ । सूर्यले जब ३६० डिग्री अर्थात् राशि, अंशा, कला, विकला ०० हुन्छ, त्यही समयमा मीन राशि समाप्त भई मेष राशि सूर्यमा प्रवेश गर्छन् र विक्रम संवत्अनुसार नयाँ वर्ष प्रारम्भ हुन्छ । यसैगरी ३० अंशको एक महिना हुने हँदा पहिलो ३० अंश सिद्धिएपछि वैशाख सिद्धिएर ज्येष्ठ महिना प्रारम्भ हुन्छ । यही क्रमबाट ३०।३० अंश काटेपछि वर्ष पूरा हुन्छ ।’

आजदेखि नव वर्ष २०८२ सुरु, नयाँ वर्ष हर्षोल्लास साथ मनाइँदै

0

आजदेखि विक्रम सम्वत् २०८२ साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीहरुले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।

आज सूर्यले मीन राशि छोडेर मेष राशिमा प्रवेश गर्ने दिन, वैशाख सङ्क्रान्ति वा मेष सङ्क्रान्ति हो। यो वर्षको पहिलो दिन पनि हो। सूर्यको गतिमा आधारित भएकाले विक्रम संवत् शाश्वत छ भनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष माधव भट्टराई बताउँछन्।

‘विक्रम संवत् ६० संवत्सरमध्ये एक हो र सूर्यसँग जोडिएको छ। त्यसैले यसलाई विक्रमादित्य संवत् भनिन्छ। सूर्यको गति र स्थिति अनुसार यो संवत् चल्छ। शक संवत्को विशेषता र इश्वी संवत्को व्यावहारिकता यसमा समावेश छ,’ उनले भने।

सूर्य मेष राशिमा प्रवेश गर्दा नयाँ वर्ष सुरु हुन्छ र मीन राशि छोड्दा पुरानो वर्ष सकिन्छ। यो वैज्ञानिक छ भनी विद्वानहरूको बुझाइ छ। यो संवत्मा सौरमान र चान्द्रमानको समन्वय पनि छ। कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो।

आज हरेक व्यक्तिले गत वर्षका कामको सफलता र असफलता मूल्याङ्कन गर्छन्। असफलता दोहोरिन नदिने र सफलता हासिल गर्ने योजना बनाउँछन्। बिहानै नुहाउने, घरआँगन सफा गर्ने, मन्दिरमा पूजा गर्ने, मीठो खाने, साथीभाइ र आफन्तसँग भेटेर शुभकामना साट्ने गरिन्छ। विश्वभरका नेपालीले वैशाख १ लाई नयाँ वर्षका रूपमा मनाउँछन्।

चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाबाट सुरु हुने नयाँ संवत्सर चैत १७ देखि नै सुरु भएको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीका अनुसार चैत १७ देखि सिद्धार्थी नामको संवत्सर सुरु भएको छ।

वैदिक सनातन हिन्दू धर्ममा ६० संवत्सर छन्। यी संवत्सर अनादिकालदेखि चल्दै आएका छन्। पहिलो संवत्सरको नाम प्रभव हो। अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो।

सूर्योदय हेर्न बेलढुंगा जाउँ !

0

उत्तर फर्केर हेर्दा चाँदीझै टल्कने सेता हिमाल । दन्ते लहर जस्तै एकदर्जन हिमश्रृंखलाका साथै वरपरका डाँडाहरुको दृश्यले त्यहाँ पुग्ने जो कोही पनि मन्त्रमुग्ध हुन्छन् । बिहानीपख सूर्योदयले मनमा झन् आनन्द थपिदिन्छ । बिहानीको सुर्योदय र चाँदी झै टल्कने हिमालमा घाँमको किरणको छिर्का ठोकिएको दृश्यको बयान समेत गर्न सकिन्न ।

म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली र बागलुङको काँठेखोला गाउँपालिका–३ओखलेको शिरमा अवस्थित नयाँ र सुन्दर पर्यटकीय गन्तब्य बेलढुङ्गामा पुग्ने जो कोही पर्यटकले फरक अनुभती गर्छन् ।

समुद्री सतहदेखि दुई हजार ६ सय ८७ मिटर उचाइको बेलढुङ्गाबाट संसारकै सातौं अग्लो धौलागिरी हिमाल, १० औं आग्लो अन्नपूर्ण हिमाल सहित पूर्बी रुकुम र म्याग्दीको सिमानमा अवस्थित पुथा हिमाल, म्याग्दीको गुर्जा,निलगिरी, मानापाथी, गणेश हिमाल,कास्कीको माछापुच्छे, गोरखाको मनास्लु, गंगा पूर्व, लमजुङ लगायतकालोभलाग्दो हिमालको लस्करसिधै आँखामा ठोकिन्छ ।

सेता हिमालको तल बादल, स्वच्छ पहाड, आसपासमा बनजंगलको मनोरम दृश्य । म्याग्दीका अन्य पर्यटकीयस्थलभन्दा यहााँबाट धेरै हिमश्रृंखला देखिन्छ । सूर्योदय र सूर्यास्तको रमणीय दृश्य देख्न सकिने बेलढुंगा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा परेको बेनी नगरपालिका–३ भकिम्लीका वडा अध्यक्ष पदम पुनले बताउनुभयो ।

बेलढुंगासँगै स्वर्गाआश्रम क्षेत्रमा बैशाख १ गते आज पूजाआजा सहित चहलपहल हुन्छ । आन्तरिक पर्यटकले यस क्षेत्र भरिभराउन हुने स्वर्गाआश्रम क्षेत्र विकास कोषका अध्यक्ष रत्न जिसीले बताउनुभयो ।

अहिले गुलजार बनेको बेलढुङ्गा एक दशक अघिसम्म गुमनाम थियो । सडकको म्याग्दी र बागलुङ दुवैतिरबाट पहुँच, पदमार्ग निर्माण, होमस्टे, पार्किङ लगायतका पूर्वाधार बनेपछि यहाँ अहिले दैनिक पर्यटक बढेका छन् । हिउँदमा हिउँ खेल्न र गर्मीमा शीतलको खोजी गर्दै यहाँ आउनेहरुले चहलपहल बढाएको छ ।

अहिले बागलुङको काँठेखोला गाउँपालिका–३ओखलेमा होमस्टे समेत रहेकाले घरबासमा रमाउने समेत गरेका छन् ।म्याग्दीखण्डमा समेत होमस्टे सहितका सुविधाका लागि तयारी भइरहेको स्थानीय अगुवा पृथबहादुर पुनले बताए ।देउराली धुरिदेखि बेलढुङ्गासम्म स्लेट ढुङ्गाको ५ सय २५ सिँडी बनेको छ । ढुङ्गा विच्छ्याएर आकर्षक तरिकाले निर्माण गरिएको पदमार्ग हुँदै उकालो छिचोलेपछि करिब १० मिनेटमा बेलढुङ्गा पुग्न सकिन्छ ।

२०७७ साल भदौमा बेल आकारको ढुङ्गा दुई हजार ११८ मिटरको उचाइमा थियो। २०७२ सालको भूकम्पको पटक–पटकको धक्का र ढुामा बनाइएका केही संरचनाका कारण माथिल्लो भाग भत्किएपछि स्थानीयको सक्रियतामा जुरुक्क उठेको छ ।

रुकुमदेखि गोरखा र लमजुङ जिल्लासम्मका हिमालहरु देख्न पाइने बताए । म्याग्दीको सदरमुकाम बेनीबाट करिब १८ किलोमिटरमा सवारीसाधनबाटै पुग्न सकिने र करिब १० मिनेट पैदलयात्रा गरेपछि पुगिने बेलुढुंंगा प्राकृतिक भ्यूटावर समेत हो ।

पर्यटन प्रवद्र्धनका लागि उपयुक्त स्थल भएकाले यहाँबाट देखिने दृष्यले यात्राको क्रममा हुने थकान मेटिन्छ । यस क्षेत्रको विकास गर्न सके ग्रामीण पर्यटनसँगै स्थानीयवासीको आय आर्जनमा सुधार तथा स्थानीय तहको आन्तरिक आम्दानीमा समेत वृद्धि गर्न सकिन्छ ।

म्याग्दीमा मात्रै १२ जलविद्युत् आयोजना निर्माणाधीन, ४५६ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा थपिने तयारी

0

म्याग्दी जिल्लाका प्रमुख नदीहरू कालीगण्डकी, म्याग्दी, राहुघाट र निलगिरिमा हाल १२ जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । यी सबै आयोजनाबाट निर्माण कार्य सम्पन्न भएसँगै करिब ४५६.५ मेगावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा थपिने भएको छ।

पछिल्लो पाँच वर्षको अवधिमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाबाट सञ्चालनमा आएका चार आयोजना— निलगिरि दोस्रो (७१ मेगावाट), मिस्त्रीखोला (४२ मेगावाट), घारखोला (१४ मेगावाट) र घलेम्दीखोला (५ मेगावाट)—ले संयुक्त रूपमा १११ मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिसकेका छन्।

हाल निर्माणको अन्तिम चरणमा रहेका आयोजनाहरूमा ४०.७ मेगावाटको निलगिरि पहिलो, ३७.५ मेगावाटको मङ्गले राहुघाट, र ६ मेगावाटको रेलेखोला रहेका छन् । यी आयोजनामध्ये केही यसै आर्थिक वर्षभित्र र बाँकी आउँदो वर्षसम्म केन्द्रीय प्रसारण लाइनमा जोडिने योजना रहेको छ।

त्यस्तै, अन्नपूर्ण गाउँपालिकामा ६६.५ मेगावाट क्षमताको मध्यकालीगण्डकी आयोजना निर्माण सुरु भइसकेको छ भने १८० मेगावाटको कालीगण्डकी जलविद्युत् आयोजना अहिले वित्तीय स्रोत जुटाउने चरणमा छ। यस आयोजनाको अनुमानित लागत रु ३९ अर्ब ५० करोड २४ लाख रहेको छ।

रघुगङ्गा गाउँपालिकाभित्र पर्ने राहुघाट खोलामा पनि विभिन्न आयोजना निर्माणाधीन छन्—४० मेगावाटको राहुघाट, ४८.५ मेगावाटको माथिल्लो राहुघाट, २१.३ मेगावाटको ठूलोखोला र २२.५ मेगावाटको ठूलोखोला माथिल्लो ‘ए’। यी सबै आयोजनाले एक वर्षभित्र विद्युत् उत्पादन सुरु गर्ने लक्ष्य लिएका छन्।

म्याग्दीखोला जलाधार क्षेत्रभित्र दरबाङ म्याग्दीखोला (२५ मेगावाट), अपर म्याग्दी–१ (५३ मेगावाट), र अपर म्याग्दी (३७ मेगावाट) आयोजना निर्माण तीव्र रूपमा अघि बढिरहेका छन् भने ५७ मेगावाट क्षमताको म्याग्दीखोला आयोजना पहुँचमार्ग निर्माणको चरणमा रहेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।

बेनीदेखि मुस्ताङको घाँसासम्मको ३७ किमी क्षेत्रमा पर्ने कालीगण्डकी नदीमा १८० मेगावाटको कालीगण्डकी गर्ज, ६६.५ मेगावाटको मध्यकालीगण्डकी, ५८ मेगावाटको तिप्ल्याङ कालीगण्डकी, ६५ मेगावाटको अपर कालीगण्डकी र ५०.५३ मेगावाटको बेनी कालीगण्डकी आयोजना विद्युत् विकास विभागसँग सम्झौता गरी निर्माण प्रक्रियामा छन्। तर, बेनी कालीगण्डकी आयोजनाको एलाइनमेन्टमा सदरमुकाम बेनी पर्ने भएकाले हाल प्रक्रिया अवरुद्ध भएको छ।

यिनै आयोजनाहरूलाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न २२० केभी क्षमताको कालीगण्डकी करिडोर अन्तर्गत दाना–खुर्कोट प्रसारण लाइन र सबस्टेशन निर्माण भइसकेको छ। साथै, १३२ केभीको डाँडाखेत–राहुघाट प्रसारण लाइन तथा सबस्टेशन पनि निर्माणाधीन अवस्थामा छन्। गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जालीका अनुसार प्रसारण संरचना निर्माणसँगै जलविद्युत् आयोजनाहरूले उल्लेखनीय गति लिएका छन्।

गलेश्वर मन्दिरको भेटीबाट सौन्दर्यकरण योजनालाई सहयोग

0

जिल्लाको प्रमुख धार्मिक पर्यटकीयस्थल गलेश्वर मन्दिरमा भक्तजनले चढाएका भेटीबाट सजावट योजनालाई सहयोग भएको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले मन्दिरमा सङ्कलन भएको भेटीबाट बेनी नगरपालिकाले सञ्चालन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि रु छ लाख सहयोग गरेको हो

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले रु २० लाख बजेट विनियोजन गरेको गलेश्वर बजार सौन्दर्यकरण योजनाका लागि गलेश्वर शिवालय क्षेत्र विकास कोषले रु छ लाख, पुलह पुलत्स्य अन्नक्षेत्र र राधाकृष्ण मन्दिरले रु दुई–दुई लाख उपलब्ध गराएका बेनी–९ का वडाध्यक्ष चक्र केसीले जानकारी दिए ।

कुल रु ३० लाख लागत अनुमान गरिएको उक्त योजना निर्माणका लागि बेनीको निर्माण कम्पनीले रु २४ लाख ३६ हजार ५७१ मा ठेक्का लिएको छ । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको मुक्तिनाथ प्रवेशद्धार मानिने गलेश्वर बजारभित्रको सडक र पदमार्गलाई मौलिक, व्यवस्थित र सुन्दर बनाई पर्यटक र भक्तजन आकर्षित गर्न परियोजनाको काम थालेको हो ।

परियोजनामार्फत गलेश्वर बसपार्कबाट प्रवेशद्वार, गलेश्वर मन्दिर परिसर हुँदै राहुघाट नदी किनारसम्मको पैदलमार्ग, सडकमा स्लेट ढुङ्गा बिछ्याइने र किनारामा गमला राखेर फूलका बिरुवा रोपिने वडाध्यक्ष केसीले बताए ।

गलेश्वर बजारभित्रको सडकमा ढुङ्गा बिछ्यापछि सार्वजनिक यातायातका साधन बजार बाहिरको कालीगण्डकी करिडोरको सडकबाट मात्र आवतजावतको ब्यवस्था मिलाइने वडाध्यक्ष केसीले बताए । भुइँमा बिछ्याइने ढुङ्गामा असर नपर्ने गरी बजारभित्र निर्माण सामग्री र उपभोग्य सामग्री आपूर्तिका सवारीसाधन सञ्चालन गर्न मिल्ने गरी संरचनाको ‘डिजाइन’ गरिएको छ ।

गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी रकमबाट सौन्दर्यकरण योजनालाई सहयोग गरिएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले बताए । उनका अनुसार चालु आवको साउनदेखि फागुन मसान्तसम्म भेटी लगायत शीर्षकबाट रु ६६ लाख दुई हजार ९९३ आम्दानी र रु ४० लाख नौ हजार ४५२ खर्च भई रु २५ लाख ९३ हजार ५४१ बचत भएको छ । गत वर्ष कोषले भेटीमार्फत सङ्कलन भएको रकम परिचालन गरेर रु १२ लाखको लागतमा ज्ष्येष्ठ नागरिक आश्रममा सभाहल निर्माण गरेको थियो ।

कालीगण्डकी नदी किनारमा नौ रोपनी क्षेत्रफलको एउटै विशाल चट्टानमाथि रहेको गलेश्वर मन्दिरमा पूजाआजा र दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने र पुण्य मिल्ने धार्मिक विश्वास छ । हिन्दू धर्मग्रन्थमा सतिदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउनको सोमबार, बालाचर्तुदशी र शिवरात्री पर्वमा विशेष मेला लाग्ने छ ।

मोना यूकेले शुभकामना सांँझ गर्ने

0

म्याग्दी प्रवासी नेपाली संघ (मोना) यूके ले नेपालीको नयाँ  वर्ष २०८२ को अवसरमा शुभकामना सांझको आयोजना गरेको छ । आगामी अप्रिल २६ तारिकको दिन नेपाली कलाकार सहितको उपस्थितीमा शुभकामना साँझ मनाउन लागेको हो । यूकेमा रहेका म्याग्देलीलाई नयाँ बर्षको अवसरमा एकै ठाउँमा भेला पर्ने उदेश्यले शुभकामना साँझको आयोजना गरिएको मोना यूकेका अध्यक्ष पदम गर्बुजाले बताउनुभयो ।

शुभकामना साँझमा लोक गायक गगन पुन, गायिका आस्मा छन्त्याल, डान्सर यसोदा रोका मगर र मिस मगर नेपालकी विजेता मिलन थापा मगर लगायतका कलाकार तथा यूकेमा रहेका कलाकारहरुको प्रस्तुत रहने छ ।

शुभकामना साझँमा यूकेमा रहेका म्याग्देलीलाई उपस्थितीका लागि अनुरोध समेत गरिएको छ भने अन्य थप तयारीलाई समेत तिब्रता दिइएको छ । मोना यूकेमार्फत म्याग्दीमा स्वास्थ्य, शिक्षा, विकास निर्माण लगायत सामाजिक एवम् मानवीय सेवामा समेत सहयोग भइरहेको छ । शुभकामना साँझमा विभिन्न कार्यक्रम सहित संस्थाका अभियानका बारेमा समेत जानकारी गराइने छ ।

शुभकामना सहकारीको दुधले बजार धान्नै मुश्किल

0

बेनी नगरपालिका–४ सिंगामा रहेको शुभकामना कृषि सहकारी संस्था लिमिटेडले बजारमा माग भए अनुसारको दूध पु¥याउनै सकेको छैन । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा एक लाख लिटर भन्दा बढी दूध विक्री गरेको भए पनि सहकारीमा दूधको माग उच्च रहेको छ ।

चालु आर्थिक वर्षको चैत २६ गते सम्म शुभकामना कृषि सहकारी संस्था लिमिटेडको ७८ जना शेयर सदस्य कृषकहरुबाट एक लाख तीन हजार आठ सय ६० लिटर दूध संकलन गरेर विक्री गरेको हो । गत आर्थिक वर्षमा कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध विक्री गरेको सहकारीले यस वर्ष नौ महिनामै उक्त लक्ष्य पार गरी सकेको छ । आर्थिक वर्ष २०८०÷०८१ मा ७२ जना कृषकहरुबाट कुल एक लाख तीन हजार नौ सय ७५ लिटर दूध संकलन गरेर विक्री गरेको थियो।

पछिल्लो ३० वर्ष देखि बेनी बजारमा जनसेवा डेरी सञ्चालन गर्दै आउनु भएका कोषानन्द आचार्यले शुभकामना कृषि सहकारीको दूध गुणस्तरीय भए पनि मागे जति नदिएको गुनासो गर्नुभयो । बेनीमा पाउने मध्ये सरदर हेर्दा शुभकामनाले दिने दूधको गुणस्तर राम्रो छ र थप माग गर्ने गरेको भए पनि उनीहरुले माग अनुसार पु¥याउन सकेका छैनन् । सहकारीले हरेक दिन बिहान र बेलुका संस्थाको कार्यालयमै दूध संकलन गर्ने र बेनी नगरपालिका–४ सिंगा तथा बेनी नगरपालिका–७ र ८ बेनी बजारका साथै जलजला गाउँपालिका–३ पर्वत बेनी सम्ममा विक्री बितरण गर्दै आएको सहकारीका दूधको बजार व्यवस्थापक बिजुन चोखालको भनाइ छ । विहान ५ बजे देखि नै सिंगामा दूध संकलनगरेर साढे ८ बजे सम्म दूध नागरिकको भान्सा सम्म पु¥याउने प्रयास गरिरहेको उहाँको भनाई छ । हाम्रो दूधको गुणस्तर राम्रो भएको हुनाले बजारमा माग धेरै छ तर माग अनुसारको पु¥याउन सकिएको छैन ।

सहकारीमा चालु आर्थिक वर्षमा काशीनाथ पौडेल, गिता खत्री, नर्मता पौडेल, कोपिलाल पौडेल तथा रेखा थापाले धेरै दूध ल्याउने गर्नुहुन्छ । अघिल्लो आर्थिक वर्षमा कासीनाथ पौडेलले तीन हजार आठ सय ६४ लिटर दूध सहकारीमा ल्याउनु भएको थियो भने चालु आर्थिक वर्षको हाल सम्म झण्डै ११ हजार लिटर दूध सहकारीलाई विक्री गर्नुभएको छ । त्यस्तै गिताले पाँच हजार तीन सय र कोपिलाल, रेखा तथा नर्मताले तीनदेखि चार हजार लिटर दूध उत्पादन गर्नुभएको छ ।

कोपिलाल पौडेल दूग्ध संयोजकको रुपमा सहकारीको दूध व्यवस्थापनको काम हेर्न थाले पछि कृषकहरुलाई आवश्यक पर्ने गाइ तथा भैसी खरिदका लागि सहकारीले नै ऋण दिने समेत गरेको छ । नर्मता पौडेलले आफू लगायतका कृषकहरुलाई गाइभैसी व्यवस्था गर्नुका साथै खरिदका लागि आवश्यक पर्ने ऋण व्यवस्थापनमा समेत कोपिलाल पौडेलकै अगुवाइमा सहकारीले गरेका जानकारी दिनुभयो । आफूसँग भएका छ वटा भैसीहरु खरिद गर्दा पनि सहकारीबाट ऋण लिएको भए पनि हाल सबै ऋण चुक्तागरेको उहाँको भनाई छ ।

शुभकामना कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष गोविन्दप्रसाद पौडेलका अनुसार ३२ जना कृषकले सहकारीबाट गाइभैसी खरिदका लागि ४२ लाख भन्दा ऋण लगेका छन् । साना किसान बैंक मार्फत अनुदानमा ल्याएको रकम ९ प्रतिशत र सहकारीको आफ्नो रकम १२ प्रतिशत सम्म ब्याजदरमा लगानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।

सहकारीमा दूधको खाता खोलेर नियमित रुपमा दूध ल्याउने कृषकलाई सहकारीले उनीहरुको खाता भएको रेकर्ड अनुसार पैसा पनि खातामै जम्मा गरिदिने गरेको सहकारीका अध्यक्ष गोविन्दप्रसाद पौडेलले जानकारी दिनुभयो । कृषकहरुले पालेका गाइभैसीको दूध संकलन गर्दा पैसा चलायमान हुने र कृषकहरु पनि आम्दानी सँग जोडिने भएकाले पनि दूग्ध संकलन तथा बिक्रीको काम सहकारीले गर्ने गरेको उहाँको भनाई छ ।

स्थानीय ठग्दै ठेकेदार ! रासनपानीको चेक दिए तर साटिएन

0

म्याग्दीमा निर्माण ब्यवसायीबाट मजदुर र स्थानीय ब्यवसायी ठगिने क्रम रोकिएको छैन । निर्माण क्षेत्रमा काम गर्ने मजदुरदेखि मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको पैसा समेत नदिइ भाग्ने ठेकेदारबाट स्थानीय हैरानीमा परेपछि जिल्ला प्रशासन कार्यालयलाई गुहारेका छन्

म्याग्दी मालिका गाउँपालिका-६,दरबाङ बजारकी लक्ष्मी चापाईलाई दरबाङ–धारापानी सडकखण्डका निर्माण ब्यवसायी मछुमन अर्गेजाले मजदुरलाई रासनपानी र होटल बसेको र खाजा÷खाना खाएको भन्दै पैसा नभएको चेक दिएर भागेपछि स्थानीय ब्यवसायीले जिल्ला प्रशासन कार्यालयमा सहयोग मागेका छन् ।

निर्माण ब्यवसायी अर्गेजाले लक्ष्मी चपाईलाई रासनपानी प्रयोग गरेबापत बि.स २०८० साल भदौ ७ गते अर्गेजा कन्स्ट्रक्सनको नामबाट२ लाख ६८ हजार, ठेकेदार अर्गेजाले मालिका गाउँपालिका–५थापाचौरकी कल्पना खत्रीलाई ५५ हजार ९सय,सनदेबी पूर्जाको ५० हजारको चेक दिएका थिए ।

निर्माण ब्यवसायी अर्गेजाबाट अन्य स्थानीय ब्यवसायी समेत समस्यामा परेको पीडितहरुको भनाई छ । थापाचौर, दरबाङ बजार तथा आसपासका क्षेत्रका ब्यवसायीबाट समेत उधारो खाएर भागेकाको खोजीकार्य हालसम्म कुनै चासो नभएपछि प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालमार्फत सहयोग मागेको दरबाङकी ब्यवसायी लक्ष्मी चपाईको भनाई छ ।

म्याग्दीमा साना ठुला निर्माण क्षेत्रमा काम गरेका मजदुर र ब्यवसायीलाई ठेकेदारले समस्या दिने गरेको भन्दै यसअगाडी समेत प्रशासन र प्रहरीमा सहयोगको याचना गर्ने गरिएको थियो ।

दरबाङबाट धारापानीसम्मको करिब सात किलोमिटर सडकको अनुगमनमा गएका जनप्रतिनिधि सहित सरोकारवाला निकायले समेत स्थानीय ब्यवसायीको समस्यालाई बेवास्ता गरेका थिए ।

सडक उद्घाटन र हस्तान्तरणको हतारमा स्थानीय ब्यवसायीको समस्यालाई जनप्रतिनिधिले समते आँखा चिम्लिएको स्थानीयको गुनासो छ । पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत १४ करोड ३८ लाख ६७ हजार एक सय ७६ मा धुलिखेल ब्राइट कुँवर जेभीसँग सडक स्तरोन्नति गर्न २०७६ चैत ४ गते बहुवर्षीय ठेक्का सम्झौता गरी ०८० साल माघ महिनामा सडक नै हस्तान्तरण गरिएको थियो ।

यसैबीच पूर्वाधार कार्यालय म्याग्दीले निर्माण ब्यवसायीलाई भुक्तानी गरिसकेको जनाएको छ । सडकखण्डको काम सम्पन्न भएपछि भुक्तानी मुख्य ठेकेदारलाई गर्ने र उक्त सडकखण्डमा तिर्नुपर्ने निर्माण ब्यवसायीसँग आफ्नो कुनै सम्बन्ध नहुने कार्यालयले जनाएको छ ।

यता निर्माण ब्यवसायी अर्गेजालाई प्रहरीको सहयोगमा भएपनि उपस्थिती गराएर भुक्तानी दिने वतावारण बनाउने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । निर्माण ब्यवसायी मछुमन अर्गेजा बागलुङको बुर्तिवाङ क्षेत्रका बसोबास गर्ने बताइएको छ ।

error: Content is protected !!