Friday, May 9, 2025
20.9 C
Beni
20.9 C
Beni
Friday, May 9, 2025
Home Blog Page 25

नाबालिकालाई यौन व्यवसायमा लगाउने दुई महिला पक्राउ

0

नाबालिकालाई यौन व्यवसायमा लगाएको आरोपमा प्रहरीले दुई जना महिलालाई पक्राउ गरेको छ । नाबालिकालाई ललाईफकाई यौन व्यवसायमा संलग्न गराएको आरोपमा बागलुङको ढोरपाटन नगरपालिका १ बुर्तिबाङ बजारमा तमानखोला खाजाघर संचालन गर्ने तमानखोला गाउँपालिका १ की ४० वर्षीया सम्झना भन्ने प्रितिमा विक र बसन्त रेस्टुरेन्ट एन्ड सेकुवा कर्नर सञ्चालक मकवानपुर कैलाश गाउँपालिका ९ स्थायी घर भएकी ३७ वर्षीया शान्ती भन्ने खिमकुमारी भोम्जनलाई प्रहरीले पक्राउ गरेको हो ।

१६ वर्षीय नाबालिकालाई ४ वर्षदेखि होटलमा राखी ग्राहकसँग पैसा लिई जबरजस्ती यौन कार्यमा संलग्न गराई धन आर्जन गरेको सूचनाको आधारमा विक र भोम्जनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक (डिएसपी) विजय यादवले जानकारी दिए ।

डिएसपी यावदले पीडितको बयान र जाहेरी दरखास्त तथा वेश्यावृत्तिमा प्रयोग हुन सक्ने बरामद सबुत प्रमाणका आधारमा बागलुङ जिल्ला अदालत बागलुङबाट मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गत वेश्यावृत्तिमा लगाउन नहुने कसूरमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको जानकारी दिए ।

ब्यवसायमा लागेका १० जनालाई बिउपुँजी वितरण

0

म्याग्दीमा अपाङ्गता भएका व्यावसायिक व्यक्तिहरूलाई प्रोत्साहन तालिमका साथै बिउपुँजी वितरण गरिएको छ । सामाजिक विकास कार्यालय म्याग्दीको आर्थिक सहयोग र अपाङ्ग संघ म्याग्दीको आयोजनामा २५ जनालाई तालिम तथा १० जना अपाङ्गता भएका व्यक्तिहरूलाई नगद दस हजारको दरले बिउपुँजी नगद अनुदान सहयोग वितरण गरिएको अपाङ्ग संघ म्याग्दीका सहसचिव बिशाल विकले जानकारी दिनुभयो ।

अपाङ्ग संघ म्याग्दीका अध्यक्ष गोरी दर्जीको अध्यक्षतामा बेनी नगरपालिका–८ का वडा सदस्य एवं निवर्तमान बौद्धिक अभिभावक अपाङ्ग संघ म्याग्दीका अध्यक्ष याम बहादुर बानियाँको प्रमुख आतिथ्यतामा पशुपालन, सुन्तला खेती लगायत विभिन्न ब्यवसायमा संलग्नता भएकालाई बिउपुँजी नगद अनुदान गरिएको थियो । सोही अवसरमा बेनपा-२ का अमरबहादुर दर्जीलाई हुईलचेयर र वाकर वितरण गरिएको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई लेखाजोखा संयोजक कल्पना केसी खड्का,राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालका केन्द्रीय सदस्य ममता पौडेल अपाङ्गता निर्देशानलय समिति गण्डकी प्रदेशका सदस्य सोमप्रसाद सापकोटा म्याग्दी नेत्रहिन संघ म्याग्दीका अध्यक्ष भीमबहादुर गुरुङ द्वन्द्ध पीडित अधिकार मञ्च म्याग्दीका अध्यक्ष भीमबहादुर रिजालले अपाङ्ता भएकाहरुलाई प्रोत्साहनको आवश्यकता रहेको बताउनुभएको थियो ।

तालिम तथा बिउपुँजी वितरणले अपाङ्ता भएकाहरुलाई प्रोत्साहन मिलेको बताइएको थियो । उक्त व्यावसायिक प्रोत्साहन तालिमको प्रशिक्षिक रामजीप्रसाद सुवेदी सहायक प्रशिक्षक सुजता खत्री सहजीकरण गर्नुभएको थियो । अपाङ्ग संघ म्याग्दीका उपाध्यक्ष गणेश सुवेदीले स्वागत मन्तव्य साथै सह–सचिव विशाल विकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।

‘अब म पनि बोल्छु’ का प्रतिस्पर्धीलाई क्षमता विकास तालिम

0

सुनिल सुबेदी
म्याग्दीमा विद्यालयस्तरमा विद्यार्थीको बोल्ने कला विकास गर्न शैक्षिक परामर्शदाता स्टुडेन्ट भाइब्स अस्ट्रेलियाको ‘अब म पनि बोल्छु’ वक्तृत्वकला प्रतियोगितामा पालिकास्तरबाट छनौट भएकालाई बिहिबार क्षमता विकास तालिम दिइएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसमा आयोजित तालिममा प्रतियोगिताको संयोजन गरिरहेको बेनीअनलाइन प्रालिले भाषणकला,नेतृत्व विकास अन्तरगत सैद्धान्तिक तथा व्यावहारिक ज्ञान र सिप सहित प्रतियोगिताका बारेमा जानकारी गराइएको थियो ।

तालिममा धवलागिरी गाउँपालिका–७, धारापानीस्थित चन्द्रकुन्ता माविकी उर्मिला सुबेदी, मालिका गाउँपालिका–७, बिमस्थित किसानी माविकी करुणा फगामी, मंगला गाउँपालिका–१ कुहुँ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविकी यूनिशा खत्री, रघुगंगा गाउँपालिका–२, भगवतीस्थित मुक्तिथाम माविकी रेजिना भण्डारी र अन्नपूर्ण गाउँपालिका–५, शिखस्थित शिख माविकी रेस्मा विकको सहभागिता रहेको थियो ।

तालिममा सहभागिलाई सहभागिताको प्रमाणपत्र म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुबेदीले वितरण गर्नुभएको थियो। तालिमको सहजिकरण बेनी अनलाइन प्रालिका अध्यक्ष हरिकृष्ण गौतमले गर्नुभएको थियो ।

आगामी बैशाख ३ गते म्याग्दी बहुमुखी क्याम्पसमा हुने फाइनलमा प्रथम हुनेलाई ५० हजार प्रमाणपत्र तथा ट्रफी, दोश्रोलाई ३५ हजार प्रमाणपत्र तथा ट्रफी, तृतीयलाई २५ हजार प्रमाणपत्र तथा ट्रफी साथमा अन्य आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको छ ।

गाडीमा च्यापिएर एकजनाको मृत्यु

0
Oplus_131072

म्याग्दीको धबलागिरि गाउँपालिकामा गाडी मर्मत गर्ने क्रममा  च्यापिएर एकजनाको मृत्यु भएको छ । ताकम-मच्छिम-मुना सडक अन्तर्गत उत्तिसिनेमा बिहिबार दिउँसो बोलेरो जिप मर्मत गर्ने क्रममा मुनाका अन्दाजी २६ वर्षीय रोहित शेरपुञ्जाको च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सागर पौडेलले ताकम प्रहरी चौकीको टोली घटनास्थल पुगेको र जिल्ला प्रहरी कार्यालयबाट पनि थप टोली अनुसन्धानका लागि त्यसतर्फ जाँदै गरेको बताउनुभयो ।

सडक छेउमा रोकेर राखेको गाडी मर्मत गर्ने क्रममा लच्किएर शेरपुञ्जाको शरिरको कम्मरमा च्यापेको छ । शेरपुञ्जाले गाडी मर्मत सम्बन्धी काम गर्नुहुन्छ ।

मुक्तिनाथ गुठीको सत्र हजार रोपनी जग्गा रैतानमा परिणत

0

यहाँको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहेको म्याग्दीमा अवस्थित सदार्वत गुठीको ठूलो हिस्सा जमिन रैतानेमा परिणत गरिएको छ । म्याग्दीका साबिक छ वटा गाविसमा रहेको यस मन्दिरको स्वामित्वमा रहेको जग्गा भोगचलनकर्ताहरूले प्रचलित सरकारी जग्गाको दरभाउअनुसार संस्थानलाई तोकिएको शुल्क बुझाएर आफ्नो बनाइसकेका छन् ।

मुक्तिनाथ विकास समितिका सदस्यसचिव एवं मालपोत कार्यालय मुस्ताङका प्रमुख सूर्यप्रसाद अर्यालले म्याग्दीमा रहेको सदार्वत गुठी संस्थानको ठूलो क्षेत्रफल जग्गा निजी सरह बनाइसकेको जानकारी दिनुभयो । म्याग्दीको राखुस्थित भगवती, पिप्ले, मौवाफाँट, कटुवाल, दोवा र दानामा अवस्थित गुठीको कुल २८ हजार ८९३ रोपनी क्षेत्रफल जग्गामध्ये १७ हजार ५४५ रोपनी जग्गा रैताने बनाइएको उहाँले जानकारी दिनुभयो । त्यसबेला म्याग्दीको राहुघाटसम्म मुस्ताङ जिल्ला रहेको सदस्यसचिव अर्यालले बताउनुभयो ।

मुक्तिनाथ मन्दिरमा जाने भक्तजनहरूको सेवासुविधाका लागि तत्कालीन राजाले त्यस क्षेत्रको खेतीयोग्य जमिन र वनजङ्गललगायत जग्गा मुक्तिनाथ मन्दिरको स्वामित्वमा रहने गरी सदार्वत गुठी संस्थान स्थापना गरेको भइतिहास छ । संस्थानको सो जग्गा नियमानुसार स्थानीयले भोगचलन गर्न पाउने र त्यसबापत आम्दानीको केही हिस्सा मुक्तिनाथ मन्दिरमा बुझाउनुपर्ने प्रावधान तोकिएको थियो ।

जग्गा भोगचलन गर्दै आइरहेकाहरूलाई जग्गा रैतानेमा परिणत गर्न पाउने व्यवस्थाअनुसार तोकिएको शुल्क सदार्वत गुठीलाई बुझाएर जग्गा निजी बनाइएको समितिका सदस्यसचिव अर्यालको भनाइ छ । त्यसबापत मालपोत कार्यालय म्याग्दीद्वारा गुठी संस्थानको अक्षय कोषमा रु ११ लाख ७५ हजार ७१३ जम्मा भएको तर त्यसको हिस्सा मुक्तिनाथ मन्दिरलाई प्राप्त नभएको उहाँले जानकारी दिनुभयो ।

अब गुठीका नाममा ११ हजार २४८ रोपनी क्षेत्रफल जग्गा बाँकी छ । त्यो जग्गा गुठीकै नाममा सुरक्षित रहेको छ । यसैगरी, मुक्तिनाथ मन्दिरका नाममा साबिक मुक्तिनाथ गाविस–१÷ङ को कित्ता नं १ देखि ३३ सम्मको क्षेत्रफलमा ४९३ रोपनी १३ आना जग्गा रहेको जनाइएको छ । साबिक मुक्तिनाथ गाविस–१÷ग को कित्ता नं ३०० र ३०१ कित्तामा छ रोपनी १२ आना जग्गा मुक्तिनाथ धर्मशालाको नाममा रहेको सदस्यसचिव अर्यालले जानकारी दिनुभयो ।

बुद्ध शिक्षा पढ्न भारतबाट मुस्ताङ

0

भारतको अरुणाञ्चल प्रदेशका तेन्जिङ मोन्पा मुस्ताङको थासाङ गाउँपालिका–१, टुकुचे झिलिङ्घमा अवस्थित नालन्दा बौद्ध विद्यालयमा कक्षा ५ मा पढ्नुहुन्छ । आमाको काख छोडेपछि बौद्ध शिक्षाका लागि पश्चिम बङ्गालको दार्जिलिङबाट आउनु्भएका पेमा शेर्पा कक्षा ७ मा अध्ययरत हुनुहुन्छ । नेपाली भाषीको बसोबास रहेकाले दार्जिलिङबाट आएका विद्यार्थीलाई मुस्ताङीसँग घुलमिल हुन निकै सहज भएको छ ।

नालन्दा बौद्ध विद्यालयमा भारतका विभिन्न राज्यबाट नौ जना विद्यार्थी अध्ययनरत छन् भने मुस्ताङ जिल्लाबाहिरका करिब ५० जनाभन्दा बढी विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक अवन तुलाचनले बताउनुभयो । प्रअ तुलाचन भन्नुहुन्छ, “भारतबाट हरेक वर्ष विद्यार्थी आउँछन्, जिल्लाबाहिरबाट आउने विद्यार्थीको आकर्षण राम्रो छ ।” विद्यालयमा मुस्ताङबाहेक म्याग्दी, बागलुङ, कास्कीसहित देशका विभिन्न जिल्लाबाट २५ भन्दा बढी विद्यार्थी निःशुल्क अध्ययनरत छन् । विद्यालयले नेपालको पाठ्यक्रम अनुसारका विषयमा आधारित पढाइ सञ्चालन गरेकाले आर्थिक अवस्था कमजोर भएका, अभिभावकविहीन बालबालिकालाई छात्रावासमै सबै राखेर पढाउने गरिएको प्रअ तुलाचनको भनाइ छ ।

बौद्ध शिक्षाबाहेक नेपाली पाठ्यपुस्तकमा आधारित माध्यमिक तहसम्मको पढाइपछि विद्यार्थीको चाहना अनुसार थप सहयोगसमेत गरिने प्रअ तुलाचन बताउनुहुन्छ । भारतको बौद्ध धर्मावलम्बीको बसोबास रहेको सिक्किम, दार्जिलिङ, अरुणाञ्चल प्रदेशका विभिन्न जिल्लाबाट विद्यार्थीले चासो देखाएकाले आगामी शैक्षिक सत्रमा विद्यार्थीको सङ्ख्या थपिने नालन्दा बौद्ध विद्यालयले जनाएको छ । यस विद्यालयबाट माध्यमिक तहको परीक्षामा समेत समग्र जिल्लाको नतिजा उत्कृष्ट रहेको छ । अङ्ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले उच्च शिक्षामा आफूलाई सहज हुने विषयलाई निरन्तरता दिन सकिने प्रअ तुलाचनको भनाइ छ । यस वर्षको एसइई परीक्षामा विद्यालयबाट १४ जना विद्यार्थी सहभागी भएका थिए ।

विसं २०६७ मा पद्मसम्भव च्यारिटी फाउन्डेसनले सञ्चालन गरेको विद्यालयको छात्रावासमा अहिले कक्षा १ देखि १० सम्म निःशुल्क आवासीय सुविधासहित २४० विद्यार्थी अध्ययनरत छन् । यसैबिच मुस्ताङका अन्य पालिकामा रहेका बौद्ध विद्यालयमा विदेशी विद्यार्थी आउने गरेका छन् । सुविधायुक्त पठनपाठन हुने भएकाले जिल्लाबाहिरबाट आएका विद्यार्थी एसइई दिएपछि मात्रै विद्यालयबाट बिदा हुने गरेका छन् ।

झुण्डिएको अवस्थामा मृत फेला परे वडाध्यक्ष

0

बागलुङ ताराखोला–३ का वडाध्यक्ष कर्णबहादुर भण्डारी मृत अवस्थामा फेला परेका छन् । आज बिहान ११ बजे घर नजिकै रहेको काठको बलोमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको प्रहरीले जनाएको छ ।

डोरीको पासो लगाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटनास्थलमा पुगेर शव निकालेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए ।

ताराखोला प्रहरी चौकीबाट प्रहरी नायब निरीक्षक विष्णुप्रसाद शर्माको कमाण्डमा ४ जना र थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय गलकोटबाट प्रहरी देवराज काफ्लेको कमाण्डमा ७ जनाको प्रहरी टोली घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।विसं २०७९ मा भएको स्थानीय तहको निर्वाचनमा भण्डारी नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए । रासस

बेनी-अर्थुङ्गे-तोरीपानी-पाखापानी सडक

0

चालु आर्थिक वर्षमा बेनी नगरपालिकाले सबैभन्दा बढी बजेट विनियोजन गरेको बेनी-अर्थुङ्गे-तोरीपानी–पाखापानी सडक आयोजना लक्ष्य भन्दा तीन महिना अघि सम्पन्न भएको छ ।

सङ्घीय सरकारको एक करोड ५० लाख समपूरक अनुदान र बेनी नगरपालिकाको एक करोड ५० लाख बजेट विनियोजनमार्फत उक्त सडक बेनी–५, ६, ९, १० र रघुगङ्गा गाउँपालिका–५, ६ र ८ नम्बर वडा केन्द्रित हुनेगरी प्राथमिकतामा परेको आयोजना हो ।

बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्य वृद्धि, सामाजिकलगायत समस्या देखाएर कतिपय आयोजनाका काममा ढिलासुस्ती भइरहेको अवस्थामा बेनी– अर्थुङ्गे–तोरीपानी खण्डमा निर्माण कम्पनीले छ महिनामा सम्पन्न गर्ने लक्ष्य राखेकामा तीन महिनामा सम्पन्न भएको जनाएको छ ।

गत पुस १९ गते दुई करोड नौ लाखमा विकेश–दुप्चेश्वर–सुभम् जेभीले ठेक्का सम्झौता गरेको आयोजना आगामी असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी नगरपालिकाको अनुगमन समितिका संयोजकसमेत रहेकी उपप्रमुख ज्योती लामिछानेको नेतृत्वमा स्थानीय जनप्रतिनिधि, प्राविधिक, कर्मचारी सहभागी टोलीले मङ्गलबार आयोजनाको अनुगमन गरेको थियो ।

“निर्माण कम्पनीले सम्झौता अनुसार परिणाममा सडक स्तरोन्नतिका लागि संरचना निर्माण गरेको छ”, उपप्रमुख लामिछानेले भनिन्, “सडक र नालीमा ढलान उपकरणको सहायताले गरिएको हो । यसको नमुना परिक्षण गर्दा गुणस्तरीय सामग्रीको प्रयोग गरेर काम भएको पाएका छौँ ।” पहिलो चरणको ठेक्काबाट बचेको रु २० लाखरकम बराबरको थप काम गर्न हालै ठेक्का आह्वान गरिएको नगर उपप्रमुख लामिछानेले जानकारी दिइन् ।

उक्त आयोजनामार्फत बेनी–पाखापानी सडकको प्रवेशबिन्दु, रातोपहिरो, गिठिनी र बेनी नगरपालिका–९ र १० को सिमाना पात्लेखेतमा नौ सय आठ मिटर सडकलाई भित्ता काट्ने, पहिरो पन्छाएर फराकिलो पार्ने, टेवा पर्खाल र नाली निर्माण गरेर ढलान लगाउनेलगायत काम भएको नगरपालिकाका इञ्जिनियर सुदिप गौतमले जानकारी दिए । उनका अनुसार ढलान, नाली, ग्याबियन जाली भर्ने, पलम र मेसिनरी पर्खाल निर्माण भएपछि सडक यात्रा सहज र सुरक्षित भएको छ ।

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौता लगत्तै पर्याप्त मजदुर परिचालन गर्नुका साथै आवश्यकता अनुसार उपकरण र निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्य अघि काम सम्पन्न गरेको इञ्जिनियर गौतमले उल्लेख गर्नुभयो । तत्कालीन जिल्ला विकास समितिले विसं २०५६ मा ट्रयाक खोलेको यो सडकको बेनीबाट अर्थुङ्गे हुँदै किराखोरसम्म नगरपालिकामार्फत करिब छ किलोमिटर ढलान र कालोपत्र भएको छ ।

किराखोरबाट नेप्टचौर हुँदै तोरीपानीको गलेश्वर माविसम्मको चार किमी सडक स्तरोन्नतिका लागि प्रदेश सरकारको बजेटमा पूर्वाधार विकासका कार्यालयले गत वर्षदेखि आयोजना सञ्चालन गरिरहेको छ ।

नेप्टेचौरको वडा कार्यालयबाट गिठिनी हुँदै पात्लेखेततर्फको बेनी पाखापानी सडकको वैकल्पिक खण्डमा बेनी नगरपालिकाले स्तरोन्नति गर्न थालेको नगरप्रमुख सुरत केसीले जानकारी दिए । उनले जिल्लाको प्राथमिकतामा परेको बेनी–पाखापानी सडक आयोजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहजीकरण र समन्वय गरिएको बताए । रासस

म्याग्दीको अन्नपूर्ण हिमालमा एकै दिन चुचुरोमा पुगे ३२ आरोही

0

म्याग्दीमा रहेको अन्नपूर्ण हिमालमा चालू वसन्त यामको आरोहण शुरू भएको छ ।आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्छ । आरोहण शुरू भएको पहिलो दिन सोमबार बिहान ८ देखि ११ बजेको बीचमा नेपाली शेर्पा र विदेशी पर्वतारोहीसहित ३२ जनाले सफल आरोहण गरेका नेपाल पर्वतारोहण संघले जनाएको छ ।

संघका महासचिव मोहन लम्सालका अनुसार सेभेन समिट ट्रयाकबाट नौ, पायनियर एडभेन्चरबाट आठ, आठके एक्सपिडेसनबाट नौ, इमाइजिन नेपालबाट तीन र मकालु एभेन्चरबाट दुई जनाले अन्नपूर्णको सफल आरोहण गरेका छन् ।अन्य दिनको तुलनामा सोमबार मौसम अनुकूल भएकाले धेरै आरोही अन्नपूर्णको शिखरमा पुग्न सफल भएको उनले बताए ।

आरोहण टोलीका दुई जना शेर्पा हिउँपहिरोमा बेपत्ता भएका छन् भने अरू सकुशल आधार शिविर फर्किएका छन् ।क्याम्प दुई र तीनको बीचमा हिउँपहिरो आउँदा बेपत्ता भएका सोलुखुम्बुका रिमा शेर्पा र निमा टासी शेर्पाको खोजीमा हेलिकप्टर र शेर्पाको टोली परिचालन गरिएको छ ।

आरोही मिग्मा शेर्पाले धेरै जोखिम मोलेर अन्नपूर्णको आरोहण गर्न सफल भएको सामाजिक सञ्जाल ‘फेसबूक’मा लेखेका छन् । ‘सुक्खा अवस्था, धेरै दरार, क्याम्प दुई र क्याम्प तीनबीचको घातक हिमपहिरोले ज्यान बचाउन कठिन भयो,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अठोट र साहसका कारण चुचुरोमा पुगेर यो सुन्दर हिमाललाई बिदाइ गरे, अन्नपूर्णको सुन्दरताले मलाई सधैं आकर्षित गर्दथ्यो, तर अब यहाँ मेरो ज्यान जोखिममा पार्न सक्दिनँ ।’

वसन्त याममा अन्नपूर्ण आरोहणका लागि ६६ जनाले अनुमति लिएका छन् । गत वर्ष जम्मा २५ जनाले मात्र अनुमति लिएका थिए । चार हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरमा आरोही, शेर्पा, पथप्रर्दशक, मजदुर र पर्यटकहरूले भरिएको छ ।

अन्नपूर्णको अहिलेसम्म ५२० जनाले सफल आरोहण गरेका पर्यटन विभागले जनाएको छ । सन् १९५० मा फ्रान्सका मौरिस हर्जोगले अन्नपूर्ण पहिलोपटक आरोहण गरेका थिए । प्रथम आरोही मौरिस हर्जोग आरोहणका क्रममा प्रयोग गरेको बाटोलाई पहिचान गरेर नारच्याङ–आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्ग निर्माण गरिएको छ ।

गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारी साधनको यात्रा गरी होमखोलासम्म पुगेपछि त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार शिविर पुग्न सकिन्छ ।​​​

पदमार्गमा रहेको फुतफते झरना, आधार शिविरमा रहेको आकर्षक पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले गर्दा यो क्षेत्र पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास भएको छ ।

सेतढुङ्गा र छापाका यूवालाई १५ दिने भलिबल प्रशिक्षण

0

भलिबल खेलको विकास र युवा खेलाडी उत्पादन गर्ने लक्ष्यसहित बेनी नगरपालिकाका दुई वडामा आधारभूत भलिबल खेल प्रशिक्षण सञ्चालिन गरिएको छ । बेनपा-५ सेतढुङ्गास्थित सेतढुङ्गा यूवा क्लवको आयोजनामा १५ दिने आधारभूत तालिम सञ्चालन गरिएको हो ।

जिल्ला खेलकुद विकास समितिका सचिव एवम् जिल्ला भलिबल संघ म्याग्दीका सचिव कुमार किसानले प्रशिक्षण दिनुभएको थियो । त्यस्तै बेनपा-६, छापास्थित छापा यूवा क्लवद्धारा गाउँमा रहेका यूवाहरुलाई भलिबलमार्फत खेल पहिचान बनाउन १५ दिने भलिबल तालिम प्रदान गरिएको थियो।

नयाँ बर्ष बैशाख १ गते देखि आयोजना हुन लागेको छाप भलिबलको अवसरमा आयोजित तालिममा भलिबल खेलका आधारभूत ज्ञान, सीप, उपलब्ध गराई अनुशासित रुपमा खेलकूदको विकासमा लगाउने उद्देश्यका साथ आयोजित प्रशिक्षणमा दुबै वडामा ४० युवाको सहभागिता थियो।

प्रशिक्षणमा सहभागी खेलाडीलाई प्रशिक्षक किसानले शारीरिक व्यायाम, भलिबलका आधारभूत सिपहरु, फिङगर, डिक, डिफेन्स, ब्लक, सेटिङ्क, स्पाइकर, ग्रीप, जस्ता अभ्यास गराउनुभएको छापा यूवा क्लवको अध्यक्ष पुस्कल केसीले बताउनुभयो ।

गाउँघरमा आफ्नै तरिकाले भलिबल खेल्ने खेलाडीलाई प्रशिक्षक किसानले खेलको मापदण्ड, शैली मात्रै सिकाएनन, व्यवसायीक खेलाडीलाई आवश्यक पर्ने सीप समेत हस्तान्तरण गर्नुभएको थियो । वडास्तरमै खेलाडी उत्पादनमा पछिल्लो समय स्थानीय तहको लगानीले समेत सहज हुने प्रशिक्षक किसानको भनाई छ । म्याग्दीका यूवा क्लवले प्रतियोगितासँगै प्रशिक्षण कार्यक्रम समेत सञ्चालन गर्ने गरेका छन् ।

error: Content is protected !!