Saturday, June 28, 2025
21.8 C
Beni
21.8 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 253

म्याग्दी बहुखुमी क्याम्पसमा उच्च शिक्षासम्बन्धि राष्ट्रिय गोष्ठी सुरू

म्याग्दी बहुमुखी क्याम्पसमा आजदेखि दुई दिने उच्च शिक्षामा अध्ययन अध्यापनलाई अनुसन्धानत्मक बनाउन दुई दिने राष्ट्रिय गोष्ठी सुरू भएको छ । नेपालमा उच्च शिक्षा प्रणालीको प्रवर्धनः चुनौती र अवसरहरू विषयमा आयोजित गोष्ठीको त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. बाशुदेव काफ्लेले उद्घाटन गर्नुभयो ।

प्रमुख अतिथि काफ्लेले विश्वभर उच्च शिक्षा छनौटमैत्री कि जनमैत्री भन्ने बहस रहेको बताउँदै नेपालले उच्च शिक्षा छानिएकालाई नभई सबैको पहुँचमा हुनुपर्नेमा आफ्नो धारणा राख्दै आएको बताउनुभयो ।

गोष्ठीमा पिएन क्याम्पस पोखराका प्राध्यापक डा. मिन पुनले शैक्षिक गुणस्तरका लागि शिक्षक क्षमतावान हुनुपर्ने र विद्यार्थीलाई दोष दिएर शिक्षक पन्छिन नपाउने धारणा राख्नुभयो । उहाँले शिक्षकको क्षमताले नै विद्यार्थीको गुणस्तरमा सुधार हुने बताउनुभयो ।

गोष्ठीको उद्घाटन सत्रमा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठ, निर्वतमान अध्यक्ष बालकृष्ण सुबेदी, सञ्चालक समितिका सदस्य लगायत म्याग्दी, बागलुङ, पर्वतबाट सहभागिता रहेको थियो ।

क्याम्पसका अनुसन्धान विभाग प्रमुख एवम् पूर्व क्याम्पस प्रमुख टिकाराम सापकोटाले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुंगानाले गर्नुभएको थियो ।

क्याम्पस प्रमुख श्रीधर सुबेदी, युजिसी नेपालका नारायण भण्डारी सहित प्राज्ञिक ब्यक्तिको सहभागिता रहेको गोष्ठीमा म्याग्दी बहुमुखी क्याम्पसका ८ जनाले अनुसन्धानत्मक लेखको प्रस्तुती सहित गुणात्मक र मात्रात्मक तथ्याङ्कहरुलाई विश्लेषण गरिने छ।

गोष्ठीमा उच्च शिक्षाका समस्या र चुनौती, उच्च शिक्षा नीति सुधार, सेमेस्टर प्रणाली र वार्षिक प्रणाली, पाठ्यक्रम डिजाइन र कार्यान्वयन, विद्यार्थी मूल्याङ्कन र परीक्षा प्रणाली, उच्च शिक्षामा सुशासन, अनुशासन अभ्यासहरू सामाजिक मिडिया,उच्च शिक्षा र एआई, विद्यार्थी छाड्ने र प्रतिभा पलायनका विषयबस्तुमा छलफल गदैं शनिबार अर्थात भदौ १ गते शनिबार सम्पन्न हुने छ ।

 

कुखुरापालनमा रमाएका शर्मा

बाह्र वर्ष कतारमा श्रम गरेर स्वदेश फर्कनुभएका बागलुङ नगरपालिका–७ कालीमाटीका ४० वर्षीय ओमराज शर्माको कृषि फार्ममा अहिले तीन हजार लेयर्स जातका कुखुरा छन्। छ हजार कुखुरा पाल्नमिल्ने फार्म बनाएका उनले तीन हजार चल्ला थप्ने तयारी गरेका छन्।

एक करोड ५० लाखको लगानीमा ग्रिन ल्याण्ड बहुउद्देश्यीय कृषि फार्म स्थापना गरेर सञ्चालनमा ल्याइएको फार्म कालिमाटीको ४३ रोपनी जग्गामा फैलिएको छ। फार्ममा गाई र बाख्रा पनि पालिएको छ। उनले यसरी काम थालेको पाँच वर्ष भयो। सामूहिक रूपमा थालिएको फार्म पछिल्लो तीन वर्षदेखि शर्माले एक्लै सञ्चालन गर्दै आएका छन्।

‘कुखुरापालन व्यवसाय निकै जोखिपूर्ण हुन्छ, छ महिनासम्म हुर्काएका कुखुराले फूल पार्न थालेपछि  आम्दानी हुन्छ, त्यो समयसम्म लगानीमात्र गर्ने हो, बजार अस्थिर छ, अण्डाको मूल्यमा उतारचढाव हुन्छ, तर हिम्मत हारिएन अहिले फार्मलाई जिल्लाकै ठूलो अण्डा उत्पादन गर्ने फार्मका रूपमा चिनाउन सफल भएको छु’, उद्यमी शर्माले भने।

उनको फार्ममा प्रत्यक्ष रूपमा चारजनाले रोजगारी पाएका छन्। अहिले दैनिक तीन हजार अण्डा बागलुङमा खपत भइरहेको छ।तीन हजार कुखुरा हुर्काएर अण्डा दिने बनाउन रु २५ लाख लाग्ने बताउँदै उद्यमी शर्माले व्यावसायिक रूपमा गाई र बाख्रा पाल्ने योजना सुनाए। रासस

म्याग्दी अदालतमा स्वचालित प्रणाली लागु, डिजिटल सिस्टमले नै मुद्दाको पेशी सूची तोक्ने

जिल्ला अदालत म्याग्दीले कार्यसम्पादनलाई छिटो, सहजरुपमा सञ्चालन र न्याय दिने उद्देश्य पेशी तारिखका लागि स्वचालित (अटोमेसन) प्रणाली लागू गरेको छ । शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गत साउन १ गतेदेखि अटोमेसन प्रयोगमा आएपछि सहज भएको बताइएको थियो ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला न्यायधिश प्रकाशप्रसाद पण्डितले आइतबार बालबालिकासम्बन्धि मुद्धा, सोमबार र मंगलबार ६ महिनाभित्र टुंगाउनुपर्ने मुद्धा, बुधबार १ बर्षभित्र र बिहिबार दुई बर्षभित्र टुंगो लगाउनुपर्ने मुद्धाहरु हेरिने बताउनुभयो ।

यो पद्दतीले सेवाग्राहीलाई फाइदा पुग्ने अर्कोतर्फ अटोमेसन प्रणालीले कसैको पनि हस्तक्षेप नहुने, पेशी मिति फेरिने समस्या पनि हट्ने, चिनजानेको कानून व्यवसायी र पहुँचवालाले आफ्नो पेशी अनुकुलतामा राख्ने चलखेल समेत टरेको छ । न्यायलयप्रतिको विश्वास बढ्ने, कार्यसम्पादन र प्रगतिमा सुधार हुने, बार्षिक लक्ष्य प्राप्तीमा समेत सहज हुने श्रेस्तेदार भोलानाथ रेग्मीले बताउनुभयो ।

जिल्ला अदालत म्याग्दीमा गत २०८०÷०८१ मा ५६५ थान मुद्धा रहेकोमा ३८४ थान मुद्धा फछ्यौटको लक्ष्य रहेकोमा ४ सय ८३ थान अर्थात ८१ प्रतिशत मुद्धा फ्यौट भएको छ । अघिल्लो वर्षका १ सय १० थान मुद्दा सरेर चालु वर्षलाई सरेका छन् । पत्रकार सम्मेलनमा तहशिलदार रामचन्द्र उपाध्याय, इजला अधिकृत डिल्लीराज पौडेल, पत्रकार महासंघ म्याग्दीका अध्यक्ष प्रकाश पौडेललगायतको उपस्थिति रहेको थियो ।

माछा मार्न गएका रमेशलाई गलकोटको दरमखोलाले वगायो

दरमखोलामा माछा मार्न गएका ४२ बर्षिया रमेश परियारलाई शुक्रवार विहान दरमखोलाले वगाएको छ । गलकोट नगरपालिका वडा नं. १० घर भई हाल गलकोट नगरपालिका वडा नं. ६ मा बस्ने ४२ वर्षीय रमेश परियारलाई दरमखोलामा माछा मार्ने क्रममा शुक्रवार विहान बगाएको हो ।

माछा मार्ने क्रममा परियारलाई बिहान ७ः३० बजेको समयमा खोलाले बगाएको इलाका प्रहरी कार्यालय हरीचौरले जनाएको छ । परियारसँगै माछा मार्न गएका उनका २४ वर्षीय भाई मनोज परियारले दाजुलाई दरमखोलाले बगाएको प्रहरीमा खबर गरेका थिए । प्रहरी र स्थानीयको सहयोगमा परियारको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । –ढोरपाटन

काकीमाथि करणी, घटना लुकाउन १५ लाखको अफर !

पोखरा महानगरपालिका वडा नम्बर १५ मा आफ्नै काकीमाथि जबरजस्ती करणी गरि एक युवक फरार भएका छन् ।  आफ्नै काकीलाई घरमा कोही नभएको समयमा जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका छन् ।

एक स्थानीयका अनुसार घटना असार २६ गते दिउँसोको हो । केही सुस्त र सोझीपाराकी युवतीलाई घरमा कोही नभएको समयमा मुखमा बुझो कोचेर बलात्कार गरेको र कुरा बाहिर आए मार्ने धम्की दिदैँ १५ लाख रुपैयाँको अफर गरेका थिए । घटना गुपचुप पार्ने कोशिस गरेपनि स्थानीयले थाहा पाएपछि प्रहरीसम्म पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमखु एसपी मोहनकुमार थापाले जबरजस्ती करणीसम्बन्धी जिल्लामा ३० गते जाहेरी परेको पुष्टि गरे । उनले घटनामा संलग्न भनिएका व्यक्ति फरार रहेको र खोजी कार्य चलिरहेको जानकारी दिए ।

स्थानीयहरुले बलात्कार जस्तो जघन्य अपराधमा पनि डर, त्रास र धम्की दिँदै १५ लाख रुपैयाँ दिएर घटना गुपचुप राख्ने प्रयास भएकोले छानबिन गरी पाऊँ भनी निवेदन दिएको एक स्थानीयले बताएका छन् ।

ज्यान मार्ने धम्की दिएपछि डराएकी पीडित महिला माइतीको शरणमा पुगेकी छन् । घटना लुकाउन शक्तिको प्रयोग गरी दबाब दिइरहेको स्थानीयको आरोप छ । त्यतिमात्र होइन घटना लुकाउन १५ लाख रुपैयाँको प्रलोभन दिएकोसमेत आरोप छ । ढोरपाटन दैनिकबाट साभार

पेट्रोलियम पदार्थको मुल्य घट्यो

नेपाल आयल निगमले पेट्रोल र डिजेल÷मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट बिहीबार मूल्य घटेर आएपछि नेपालमा पनि भाउ घटाइएको निगमले जनाएको छ । भारतबाट पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेलमा २.९६ रुपैयाँ घटेर आएपछि नेपालमा प्रेटोलमा प्रतिलिटर ५ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँले मूल्य घटाइएको निगमका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यससँगै अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६२.५०, दोस्रोमा १६४ र तेस्रोमा १६५ पर्नेछ । त्यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर पहिलो वर्गमा १५२.५०, दोस्रोमा १५४ र तेस्रोमा १५५ रुपैयाँ पर्नेछ । घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

म्याग्दी एकेडेमीमा आँखा शिविर, ४ सयभन्दा बढी लाभान्वित

बेनी नगरपालिका–४,सिंगास्थित म्याग्दी एकेडेमीमा बिहिबार आयोजित निःशुल्क आँखा परीक्षणमा ४ सयभन्दा बढी लाभान्वित भएका छन् । मनकामना आँखा केयरसँगको सहकार्यमा विद्यार्थी २७० र अभिभावक १५० जना गरी ४२० जनाको आँखाको परीक्षण गरिएको विद्यालयका निर्देशक सन्दिप केसीले जानकारी दिए।

डा. सन्तोष शाह र डा. रेनिशा पौडेल सहितको चिकित्सकको टोलीले गरेको परीक्षणमा ४७ विद्यार्थी र १०२ जना अभिभावकमा टाढाको वस्तु नदेख्ने, देखे पनि धमिलो देख्ने,आँखामा सुख्खापनको समस्या देखिएको छ ।

विद्यालयले मेरो स्वास्थ्य कार्यक्रम अन्तरगत आयोजित शिविरमा समस्या पहिचान गरिएका विद्यार्थीलाई थप उपचार तथा अभिभावकलाई समेत उपचारका लागि समन्वय गर्ने बताइएको छ । विद्यालयले आँखा सहित भविस्यमा विभिन्न समस्यालाई लक्षित गरी स्वास्थ्य शिविर सहितका सचेतनामुलक अभियान सञ्चालन गर्ने जनाएको छ।

म्याग्दीमा गतवर्ष १ सयबढी मुद्दा प्रहरीमा दर्ता

गएको आर्थिक वर्ष २०८०÷०८१ मा म्याग्दी जिल्लामा १ सयभन्दा बढी विभिन्न प्रकृतिका मुद्दाहरु दर्ता भएका छन् । गतवर्ष १ वर्षको अवधिमा जिल्ला प्रहरी कार्यालय म्याग्दीमा विभिन्न शीर्षकमा गरेर कुल १ सय ८ वटा मुद्दा दर्ता भएको हुन् ।

कार्यालयमा दर्ता भएकामध्ये गतवर्ष विभिन्न ४५ वटा मुद्दाहरु फस्र्यौट अर्थात् कार्यान्वयन भैसकेका छन्भने ६३ वटा मुद्दा फस्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

आर्थिक वर्ष ०७९÷८० मा कुल १ सय ४४ वटा मुद्दा दर्ता भएकोमा आव ०७८÷७९ मा भने कुल १ सय १४ वटा मात्रै मुद्दा दर्ता भएका थिए । अघिल्लो आवको तुलनामा भन्दा गतवर्ष मुद्दा दर्ता संख्या कम रहेको प्रहरीको भनाइ छ ।

प्रहरी कार्यालयमा दर्ता हुन आएका मुद्दातर्फ कर्तव्य ज्यानसम्बन्धी विभिन्न ५ वटा मुद्दा दर्ता भएका छन्भने ज्यान मार्ने उद्योगका ३ वटा मुद्दा दर्ता भएका थिए । यसैगरी गतवर्ष भवितव्य ज्यानतर्फ १५, फुटकर ज्यान ६, गौबध अर्थात् पशुपक्षी सम्बन्धी कसुर र उद्योगका १, आत्महत्या दुरुत्साहन गर्न नहुने १, विष खाएर २, झुण्डीएर १९, साधारण चोरी १, लागूऔषध ५, हातहतियार खरखजाना ४, बहुविवाह २, जबरजस्ती करणी ६, जबरजस्ती करणी उद्योग २, सवारी ज्यान ९ र बैङ्किङ कसुरका १२ वटा मुद्दा दर्ता भएका थिए ।

त्यस्तै बालयौन दुरुपयोग सम्बन्धी मुद्दाहरु ३ वटा दर्ता भएकोमा अभद्र व्यवहार गरेको सम्बन्धमा १० वटा मुद्दा दर्ता भएको प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिनुभयो । व्यक्ति वेपत्ता पार्न नहुनेतर्फ १ र आपराधिक विश्वासघातको १ वटा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक रायमाझीले बताउनुभयो ।

प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको तथ्याङ्कलाई हेर्दा सबैभन्दा धेरै झुण्डीएर आत्महत्या गरेका धेरै छन् । झुण्डीएर आत्महत्या गरेको सम्बन्धी मुद्दाहरु अघिल्ला दुई वर्षको तुलनामा भन्दा गतवर्ष कमी आएको देखिन्छ । त्यसैगरी भवितव्य ज्यान सम्बन्धी, बैङ्किङ कसुर तथा अभद्र व्यवहार लगायतका शीर्षकमा पनि मुद्दा दर्ताको संख्या बढ्दै गैरहेको तथ्याङ्क रहेको छ ।

उपल्लो मुस्ताङको छुसाङ–चैले खण्ड स्तरोन्नति

चिन र भारत जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला अन्तर्गत मुस्ताङको छुसाङ–चैलै खण्ड स्तरोन्नतिको भएको छ ।

वारागुङ मुक्तिक्षेत्र–३ छुसाङ देखि चैले सम्म पाँच किलोमिटर सडक ग्राभेल गर्ने ठेक्का पाएको निर्माण कम्पनीले निर्धारित समय अगावै काम सम्पन्न गरेको हो । २०८१ भदौ १५ गतेसम्म म्याद रहेको सो ठेक्काको ९५ प्रतिशत भौतिक प्रगति भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका सूचना अधिकारी ईञ्जिनियर बिष्णु चापागाईले बताउनुभयो ।

सडक ग्राभेल, कल्भर्ट तथा नाली निर्माण र छुसाङ स्थित मुस्ताङ गेट पुल संरक्षण लगायतका कार्य गर्न २०८० चैत ९ गते रोहित एण्ड छिरिङ÷डीएस बिल्डर्स÷युनाईटेड जेभी कन्स्ट्रक्सनले रु. चार करोड ३१ लाख ८३ हजारमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीले सम्झौता अघिनै काम सकेर अन्तिम किस्ता भुुक्तानी मागेपछि प्राबिधिक नापजाँच र मूल्याङकन गरि ठेक्का टुङ्गाउने प्रक्रीया अघि बढाएको ईञ्जिनियर चापागाईले बताउनुभयो ।

मुस्ताङको प्रतिकुल भूगोल, मौसम र आर्थिक मन्दिको असहज अवस्थाका बावजुुद पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन, निर्माण सामग्री व्यवस्थापन, आयोजना कार्यालय र स्थानीय तहसँग समन्वय गरेर निर्धारित समयमै काम सम्पन्न गरेको निर्माण कम्पनीका प्रतिनिधी जिवन रोकायाले बताउनुभयो । गत असारमै अधिकांश काम सकिएको भएपनि आयोजना कार्यालयमा बजेट अभावका कारण निर्माण अवधी एक महिना पछि धकेलिएको उहाँले बताउनुभयो ।

छुसाङ–चैले खण्डको उकालो सडकमा खाल्डाखुल्डी भएको, नाली र कल्भर्ट नहुँदा यातायात सञ्चालनमा असहज भएको थियो । कालीगण्डकीको कटानबाट जोखिममा परेको छुसाङको उपल्लो मुुस्ताङ गेटमा रहेको मोटरेबल पुल र पहुँचमार्गको ग्यावीयन पर्खाल बनाएर संरक्षण गरिएको छ ।

निर्माण व्यवसायीमा इच्छाशक्ति, स्थानीय स्तरमा काम गर्ने वातावरण र सम्बद्ध पक्षले सहजिकरण तथा समन्वय गर्ने हो भने विकास निर्माणका काममा ढिलासुस्ती हटाउन सकिने सन्देश छुसाङ–चैले सडक स्तरोन्नति योजनाले दिएको छ ।

 

विश्वको चर्चित ब्लगर जोडी फर्नान्डा र भिसेन्टे भन्छन्,‘अविस्मरणीय यात्रा भयो’

विश्वकै चर्चित ब्राजिलियन र स्पेनिस मोटरसाइकल ट्राभल ब्लगर जोडी फर्नान्डा र भिसेन्टेले उत्तरी म्याग्दी र मुस्ताङको भ्रमण गरेका छन् । बेनी–जोमसोम सडकखण्ड हुदै मुस्ताङ पुगेर फर्किएका छन् ।

भारत हुदै मोटरसाइकलमै प्रवेश गरेका ब्लगर जोडीले मुस्ताङका विभिन्न क्षेत्रका साथै रुप्से झरना, तातोपानी कुण्ड लगायत सडकखण्डमा देखिएका झरनाहरुको दृष्य लिएका थिए ।

अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा अवस्थित होटल नेचुरल स्प्रिङमा बसेका जोडीले प्राकृतिक सौन्दर्यताले मन लोभ्याएको बताउँदै अर्कोपटक धेरै समयका लागि घुम्न आउने बताएको होटलका सञ्चालक सम्राट हमालले बेनीअनलाइनलाई बताए ।

‘धेरै खुसी लागेको छ, अहिलेको यात्रा छोटो भएपनि अविस्मरणीय भयो, अब धेरै समय विताउने गरी आउनेछौ, मान्छेहरुले हामीलाई चिनेर निकै खुसी भए, हामीले यो यात्रालाई जीवनभर सम्झन्छौ’ फर्नान्डा र भिसेन्टेसँगको कुराकानीपछि होटल ब्यवसायी हमालले भने । उनले विश्वभर चर्चित रहेको फर्नान्डा र भिसेन्टेलाई होटलमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । पर्यटकीय क्षेत्रमा विश्वका प्रख्यात ब्लगरहरुको आगमनले पर्यटकीय क्षेत्रको प्रचार,पर्यटक बढाउन सघाउने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले मिडियासँगै विदेशीले फेसबुक, युट्युब, इन्स्टाग्रामबाट प्रचार–प्रसार तथा नयाँ र÷नयाँ गन्तव्य सहजै घुम्न, पुग्नसकिने स्थानका तस्विर तथा भिडियोहरु पोस्टहरुले सघाउन आगामी दिनमा संघमार्फत कार्यक्रमहरुमा समेत सघाउने बताए ।

ब्लगर जोडी भारतबाट छुट्टाछुट्टै मोटरसाइकलमा नेपाल आउँदै गरेको अवस्थामा झारखण्डको दुम्का जिल्लामा रातको समयमा अस्थायी टेन्टमा फर्नान्डालाई सात पुरुषले कुटपिट र सामूहिक बलात्कार गरेको र भिसेन्टेलाई पनि हेल्मेट र ढुङ्गा प्रयोग गरी घाइते बनाएपछि विश्वभर भारतको आलोचना भएको थियो ।

उनीहरु घाईते भएको तस्वीर सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशित तथा प्रशारण गरेका थिए भने भारतीय प्रहरीले समेत घटनामा संलग्नलाई खोजीखोजी नियन्त्रणमा लिएको थियो । विश्वका ६७ मुलुकको भ्रमण गरिसकेकी सुन्दरी फर्नान्डा ब्राजिलकी निकै प्रख्यात ब्लगर हुन् । उनी मोटरसाइकल यात्रा गर्दै विश्वका १९६ मुलुक पुग्ने अभियानअन्तर्गत नेपाल आएको बताइएको छ । उनीहरुको सामाजिक सञ्जाल र यूटुवमा लाखौं फलोअर्स रहेका छन् ।