Sunday, June 8, 2025
26.9 C
Beni
26.9 C
Beni
Sunday, June 8, 2025
Home Blog Page 311

विद्यालयको दिवा खाजामा अब थरीथरीका अर्गानिक परिकार खुवाइने

बेनी नगरपालिकाले आफ्नो क्षेत्रका विद्यालयका विद्यार्थीलाई दैनिक वितरण गरिने दिवा खाजामा थरीथरीका अर्गानिक स्वाद खुवाउने भएको छ । नगरभित्रका विद्यालयमा दिवा खाजामा जंकफुडलाई रोक्न अर्गानिक र स्थानीय स्तरमा उत्पादन हुने पोषणयुक्त खाजा अनिवार्य गर्ने उद्देश्यले अभिभावक, विद्यालयका चमेनागृह सञ्चालक र विद्यालयका प्रतिनिधिहरूलाई दुई दिने तालिम समेत दिइएको छ ।

रैथाने बाली प्रवर्द्धनका कार्यक्रम अन्तरगत रैथाने बालीको परिकार विविधिकरण तालिममार्फत स्थानीय रूपमै उत्पादित अर्गानिक बस्तुबाट बनाउन सकिने १५–२० थरीका परिकारहरू बनाउन सिकाइएको थियो ।

दिवा खाजामा प्रयोग हुने खाद्य बस्तुमा अर्गानिकसँगै बालबालिकाको समेत रोजाईमा पर्ने गरी परिकार बनाउन तालिम दिइएको बेनी नगरकी उपप्रमुख ज्योति लामिछानेले बताउनुभयो । ‘दिवा खाजाको गुणस्तरका बारेमा अनुगमन समेत भइहरेको छ, बालबालिकालाई अर्गानिक खाजा खुवाउने विद्यालयलाई प्रोत्साहन पनि गछौं’ उपमेयर लामिछानेले भन्नुभयो ।

आयात गरिएको खाजा (जङ्क फुड)लाई विद्यालयमा प्रतिबन्ध लगाउन विद्यार्थीलाई अर्गानिक स्वादले आर्कषित गर्ने लक्ष्य रहेको उपमेयर लामिछानेको भनाई छ ।तालिममा कोदो, गहुँ भटमास, रोटी, सिस्नोको आइसक्रिम लगायत समुदायस्तरमै पाइने थरीथरीका अर्गानिक परिकार बनाउन सिकाइएको कृषि शाखाकी प्रमुख आकृति ढुंगानाले बताउनुभयो ।

तालिममा विद्यालयको चमेनागृह र अभिभावकलाई समेत भविस्यमा तालिकाअनुसार खाजा बनाएर वितरण गर्ने गरी फरक–फरक दिन फरक परिकार बनाउन सिकाइएको छ । तालिममा सहभागि बन्दना क्षत्रीले बालबालिकालाई अर्गानिक स्वाद दिन सकेमा जङ्क फुडको प्रयोग घट्ने भएकाले तालिमको सिपलाई प्रयोग गर्ने बताउनुभयो ।

नेपाल सरकारले प्रतिविद्यार्थी १५ का दरले उपलब्ध गराउने अनुदान रकमभित्रै खाजा उपलब्ध गराउन नसकिने अवस्थामा अभिाभवकसँग समेत सहकार्य गरी अर्गानिक उत्पादन नै खुवाउने सहभागीले प्रतिबद्धता जनाएका छन् । बेनी नगरपालिकाका १० वडामा ५६ सामुदायिक विद्यालयमा ३ हजारको हाराहारीमा कक्षा १–५ मा विद्यार्थी छन् ।

सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने

सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय छानबिन समिति गठन गर्न सत्ता गठबन्धन लचिलो बनेपछि संसद् सुचारु हुने सम्भावना बढेको छ।

बिहीबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले छलफलका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई बालुवाटार बोलाएका थिए।

उक्त छलफलमा प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दलको मागलाई लामो समय बेवास्ता गर्दा सरकार सञ्चालन कार्य नै प्रभावित बनिरहेको भन्दै संसदीय छानबिन बनाउन लचिलो हुन आग्रह गरेका थिए।

प्रधानमन्त्री दाहालको आग्रहपछि गृहमन्त्री लामिछाने थोरै नरम बनेको स्रोत बताउँछ। जसमा लामिछानेले पहिले संसद्मा आफू बोल्न पाउनुपर्ने र बोलिसकेपछि त्यसपछि संसदीय समिति बने पनि आफूलाई फरक नपर्ने बताएका थिए।

‘उहाँले प्रधानमन्त्रीज्यूसँग संसद्मा बोल्ने वातावरण बनाइदिन आग्रह गर्नुभयो,’ प्रधानमन्त्री निकटस्रोतले भन्यो, ‘त्यसपछि प्रधानमन्त्रीज्युले सभामुख (देवराज घिमिरे) लाई फोन गरेर ११ बजेको प्रतिनिधिसभा बैठक ४ बजेका लागि सार्न आग्रह गर्नुभएको हो।’

प्रधानमन्त्री दाहाल र गृहमन्त्री लामिछाने नै संसदीय छानबिन समिति गठनमा लचक बनेपछि एमाले अध्यक्ष ओलीले खास्सै प्रतिक्रिया नदिएको स्रोत बताउँछ।

बैठकपछि प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार संसदीय छानबिन गठन गर्न तयार रहेको सन्देश पठाएका थिए। तर, त्यसअघि गृहमन्त्री लामिछानेले बोल्न पाउनुपर्ने शर्त राखेका थिए।

‘प्रधानमन्त्रीज्युबाट संसदीय छानबिन समिति बनाउन तयार छौं। पहिले गृहमन्त्री रवि लामिछानेजीलाई संसद्मा बोल्न दिनुहोस् भन्ने सन्देश प्राप्त भएको छ,’ कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले भने,‘उताबाट सन्देश आएपछि हामी पनि छलफलमा छौं।’

कांग्रेसले यसअघि नै गृहमन्त्री लामिछानेलाई बोल्न दिने निर्णय गरिसकेकाले बोल्नदिने कुरामा फरक मत नरहेको उनले बताए। ‘त्यसमा त कांग्रेस तयार नै छ। तर, संसदीय छानबिन समिति बन्नुअघि संसद्का बाँकी सरकारी कामकारबाही अघि बढाइनुहुन्न भन्ने हाम्रो माग हो। त्यस मागमा हामी अडिग छौं,’ उनले भने।

कांग्रेस सांसद रामहरि खतिवडाले संसद्का बाँकी विषयमा प्रवेश नगरेर पहिला गृहमन्त्री बोल्ने र त्यसपछि कांग्रेसबाट कोही बोल्नेगरी संसद् अघि बढे बोल्न दिने अवस्था रहेको बताए।

‘हामीले यही कुरा अस्तिको बैठकमा पनि भनेका हौं। तर, उहाँले पेलेरै अन्य कार्यतालिका पहिले ल्याएर हाम्रो धैर्यता मापन गर्ने कोसिस गर्नुभयो। त्यसैमा हाम्रो विमति हो,’ उनले भने।

यात्रुलाई झन्झटरहित सेवा दिन गृहमन्त्री लामिछानेको निर्देशन

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिने तथा नेपाल आउने यात्रुलाई झन्झटरहित सेवा दिन निर्देशन दिएका छन् ।

आज हज कमिटीमा जानेहरूको बिदाइ गर्न विमानस्थल पुगेका उपप्रधानमन्त्री एवं गृहमन्त्री लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गरेपछि सो निर्देशन दिएका हुन्।

यसैगरी मन्त्री लामिछानेले आगमन र प्रस्थान कक्षको सौन्दर्यकरणमा पनि ध्यान दिन निर्देशन दिए। उनले भने, “यात्रुहरुलाई झन्झटरहित सेवा दिनुहोला, विमानस्थललाई उच्चतम प्रविधिमैत्री बनाउनु त्यसतर्फ ध्यान दिइने छ ।”

मन्त्री लामिछानेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रस्थान, आगमन कक्ष, बोर्डिङ काउन्टर, अध्यागमन काउन्टर, स्टेपलाइज क्षेत्र, अध्यागमन र प्रहरीका कार्यालय, भन्सार जाँचपास, लगेज व्यवस्थापनलगायत क्षेत्रको अनुगमन गरेको विमानस्थल सुरक्षा प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक कृष्णहरि शर्माले जानकारी दिए ।

उनले भने, “मन्त्रीज्युले विमानस्थलका विभिन्न क्षेत्रको अनुगमन गर्नु भएको थियो, उहाँ समक्ष हामीले पनि आ–आफ्ना निकायका जिम्मेवारी, जनशक्ति, कार्य प्रणाली र समस्याबारे अवगत गराएका थियौँ ।”

मन्त्री लामिछानेले यात्रुले गर्दै आएका गुनासो, सुरक्षा संवेदनशीलता, अध्यागमनलाई थप प्रविधिमैत्री बनाउन गर्नुपर्ने काम र अध्यागमनका कर्मचारीको ड्युटी रोष्टर प्रणालीबारे विशेष चासो व्यक्त गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

सुनको मूल्यमा नयाँ रेकर्ड: तोलाको १ लाख ४० हजार पुग्याे

सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि सुनको मूल्य प्रतितोला १ लाख ४० हजार रुपैयाँ तोकेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सयले बढी हो। र, हालसम्मकै उच्च पनि।

अन्तर्राष्ट्रिय बजारमा सनुको मूल्य बढेसँगै नेपाली बजारमा पनि प्रभाव परेको महासङ्घले जनाएको छ।

यअसघि वैशाख ९ गते त्यसअघिका सबै रेकर्ड तोडेर प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यस्तै चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ।

आज प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको मूल्य १ हजार ८०५ रुपैयाँ कायम भएको छ। यसअघि बुधवार १ हजार ७४५ रुपैयाँमा कारोबार भएको थियो।

बेनीमा जेठ ५ गतेदेखि ‘क्रिकेट लिग’ हुने, चार टिम सहभागी

म्याग्दीको सदरमुकाम बेनीमा ७ बर्षपछि क्रिकेट लिग हुने भएको छ । जिल्ला क्रिकेट संघको आयोजनामा क्रिकेट लिग हुने भएको छ । लिग जेठ ५, १०, ११ र १२ गतेसम्म हुने छ । पछिल्लो समय म्याग्दीमा नियमित क्रिकेट अभ्यास हुन थालेपछि म्याग्दीका चार क्रिकेट क्लवको सहभागितामा लिगमा रत्नेचौर क्रिकेट समुह, म्याग्दी क्रिकेट क्लव, बेनी नगरपालिका र बगरफाँट क्रिकेट क्लवले प्रतिस्पर्धा गर्ने संघका कोषाध्यक्ष सौरभ किसानले बताए ।

उनका अनुसार समय अनुकुल आगामी दिनमा ठूलो धनराशीको पुरस्कार सहितका प्रतियोगिताका लागि जिल्लाभित्र रहेका क्लवहरुमा आवद्ध खेलाडीलाई प्रतिस्पर्धामा उत्रिन सहज हुने गरी अभ्यास सहितका खेलहरुलाई प्राथमिकता दिइएको छ । प्रतियोगिता लिग सिस्टममा खेलाइने छ । प्रतियोगिता लिग सिस्टममा खेलाइने छ । लिगमा पहिलो र दोस्रो हुने फाइनलमा खेल्नेछन् । फाइनल सहित ७ खेल हुने छ ।

लिगका विजेताले १५ हजार र उपविजेताले १० हजार सहित सिल्ड, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी लिगमा सबैभन्दा बढी रन बनाउने खेलाडी,बढी विकेट लिने खेलाडी, ईमर्जिङ खेलाडी, म्यान अफ दी सिरिज, म्यान अफ दी म्याचलाई समेत सम्मान गरिनेछ । बेनीको खुल्लामञ्च, बगरफाँट, चुत्रेनी र रत्नेचौर खेलमैदानमा नियमित अभ्यास सहित प्रतियोगिता समेत हुने गरेको छ।

सिम-लाम्पाटा खण्ड कालोपत्रेको तयारी

पश्चिम म्याग्दीको लाइफलाइन मानिने बेनी-दरबाङ सडक आयोजनाको दोस्रो सिम-लाम्पाटा खण्ड कालोपत्रेका लागि आवश्यक पूर्वाधार तयार भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालय म्याग्दीले मङ्गला गाउँपालिका–२ सिमदेखि तोराखेत, बाबियाचौर, लाम्पाटासम्मको सडक कालोपत्रेका लागि बेस विच्छाइएको छ । सडकखण्डको लाम्पाटादेखि पानाबगरसम्मको सडकखण्डमा समेत संरचनाको काम भइरहेको ओमबृद्धका प्रतिनिधि डम्बर सापकोटाले बताए । उनका अनुसार सिमदेखि लाम्पाटासम्म कालोपत्रेका लागि आवश्यक उपकरणहरु तयारी अवस्थामा रहेको र लाम्पाटादेखि पानाबगरसम्मको संरचनाहरु बनाउने काम धमाधम भइरहेको बताए ।

सडक कालोपत्र गर्न २०७८ पुस १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धरासँग रु १० करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्र, नाली र पर्खाल निर्माण गरिएको प्रतिनिधि सापकोटाको भनाई छ। अहिले मजदुर र हेभी इक्युमेन्टबाट धमाधम काम भइरहेको छ ।

पश्चिम म्याग्दीको मंगला, मालिका, धवलागिरी गाउँपालिकाका साथै छिमेकी बाग्लुङको तमानखोला गाउँपालिका र रकुम जिल्लाका बासिन्दाले समेत प्रयोग गर्ने सडकखण्डलाई मध्यपहाडी लोकमार्गको बैकल्पिक सडकको रुपमा समेत अगाडी बढाइएकोछ । २०६३ मार्ग खुलेको २४ किलोमिटर दूरीको बेनी–दरवाङको यात्रा सिम लाम्पाटा क्षेत्रमा कालोपत्रे भएपछि छोटिने छ ।

बेनी–दरवाङखण्डको लामा–समानान्तर जेभीले रु ४५ करोडमा ठेक्का लिएको बेनी–सिम खण्डको १२ किलोमिटर ५०० मिटर सडक कालोपत्र गरी हस्तान्तरण गरिसकेको छ भने दोस्रो खण्ड पनि आगामी आवभित्र नै सकिने अवस्था छ तर तेस्रो खण्ड बिरुवा–क्याराभान जेभीले २०७६ असार ३१ गते रु २२ करोड ५७ लाख ९३२ मा ठेक्का लिएको मंगला गाउँपालिका–२,रनबाङ नजिकदेखि दरबाङसम्मको आठ किलोमिटर सडक निर्माणको काम भने सुस्त गतिमा छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख इञ्जिनियर विष्णु पौडेलले निर्माण कम्पनीलाई ताकेता गरिएको बताए । उनका अनुसार सुस्त गतिका योजनाहरुलाई पूर्णता दिन निरन्तर दवावले समेत काम गरिरहेको बताए ।

 

मदन-आश्रित स्मृति दिवसको अवसरमा कालिपुल क्षेत्र सरसफाई

जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवसको अवसरमा म्याग्दीको सदरमुका बेनीबजारस्थित प्रवेशद्धार कालिपुल क्षेत्र सरसफाई गरिएको छ । मदन–आश्रित स्मृति दिवसको अवसरमा नेकपा एमाले म्याग्दीले कालिपुल क्षेत्र सरसफाई सहित बसपार्क आसपासका क्षेत्रको गुनासोलाई समाधान गर्न सम्बन्धित निकायको ध्यानार्कषण गराएको छ ।

नेकपा एमाले गण्डकी प्रदेशका अध्यक्ष नवराज शर्मा, पूर्वमन्त्री नरदेबी पुन, नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुबेदी, बेनी नगरपालिकाका मेयर सुरत केसी लगायत नेता तथा कार्यकर्ताको उपस्थितीमा कालिपुलको प्रवेशद्धारदेखि बसपार्कसम्म सरसफाई गरिएको थियो ।

उक्त कार्यक्रममा नेकपा एमाले म्याग्दीका अध्यक्ष सुबेदीले प्रवेशद्धार क्षेत्रमा देखिएको समस्या समाधान तथा बसपार्क हुदै गन्तब्यमा जाने यात्रुलाई सकारात्मक सन्देश दिने गतिविधि, होटलका गुनासो सुधार हुनुपर्नेमा जोड दिनुभयो । पछिल्लो समय सामाजिक सञ्जालमा बेनीबजारका बारेमा नकारात्मक टिप्पणी भइरहेको भन्द सुधारका आवश्यकता भएका क्षेत्रमा तत्काल सुधार र अनावश्यक प्रचारप्रसार गर्नेलाई सचेत बनाउनुपर्ने बताइएको थियो ।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ। मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। २०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

आज मदन-आश्रित स्मृति दिवस

आज जननेता मदन भण्डारी र जीवराज आश्रितको ३१ औं स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ।मदन-आश्रित स्मृति दिवस, नेकपा एमालेसहितका कम्युनिष्ट पार्टीहरुले विभिन्न कार्यक्रमहरु गरी स्मरण गर्दैछन्।

तत्कालीन नेकपा (एमाले) का महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो। सोही दिनको स्मरणमा नेकपा (एमाले)ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ।

मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक मानिन्छ। मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ।

२०५० साल जेठ ३ गते चितवनको कविलासस्थित दासढुंगामा जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो।

बालमन्दिर माविको ५३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

म्याग्दीको सदरमुकाम बेनीबजारस्थित कालीपुल बसपार्कमा सञ्चालित बालमन्दिर माध्यमिक विद्यालयले हिजो बुधवार ५३औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ । विद्यालयद्वारा एक समारोहको आयोजना गरी बेनीबजार परिक्रमासहित विविध कार्यक्रम गरेर वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य बिमला गौचनले विद्यालयमा शैक्षिक गुणस्तर वृद्धि गरी विद्यार्थीहरुको आकर्षण बढाउन सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताइन् । उनले आफू वडावासी भएको नाताले पनि आफ्नो वडामा सञ्चालित विद्यालयको चौतर्फी विकास गर्नका लागि आवश्यक पहल गर्ने बताउँदै प्रदेश सरकारमार्फत शैक्षिक क्षेत्रको विकासमा जोड दिइने बताएकी छन् ।

आजका बालबालिका भोलिको देश विकासका लागि कर्णधार भएकाले बालबालिकाको क्षेत्रमा हुने लगानी खेर नजाने भएकाले बालबालिकाहरुको मनोभावना बुझेर शैक्षिक लगानी गर्नुपर्ने प्रदेश सभा सदस्य गौचनको भनाइ छ ।

कार्यक्रममा बेनी नगरपालिकाको शिक्षा शाखा प्रमुख हेमचन्द्र पौडेल, म्याग्दी बहमुखी क्याम्पसका नवनियुक्त क्याम्पस प्रमुख श्रीधर सुवेदी, विद्यालयका पूर्व अध्यक्ष नेत्रबहादुर महत, पूर्व सदस्य माधवप्रसाद रेग्मी, चन्दादाता हिमबहादुर भण्डारी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, म्याग्दी जेसीजका अध्यक्ष दिनेश बानियाँ र विद्यालयका शिक्षक सन्तोष सुवेदीले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुरेन्द्रप्रसाद केसीले विद्यालयको समग्र गतिविधि, आर्थिक तथा शैक्षिक अवस्था र भावी योजनासहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता र सहायक प्रधानाध्यापक गीता सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा विव्यस सदस्य रामबहादुर खत्री र विद्यार्थी सृष्टि घर्तीले स्वागत गरेका थिए । कार्यक्रममा बेनी नगरपालिकाका प्रवक्ता एवं वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडानम्बर ८ बेनीका वडाध्यक्ष उत्तमकुमार कर्माचार्य, वडानम्बर ९ घतानका वडाध्यक्ष चक्रबहादुर केसी, विद्यालयका पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठसहित अभिभावक, शिक्षक तथा विद्यार्थीहरुको उपस्थिति रहेको थियो भने कलाकार विद्यार्थीहरुले स्वागत गीत र नृत्यहरु प्रस्तुत गरेका थिए ।

अन्नपूर्णमा नमुना युवा गाउँ सभा अभ्यास सुरू 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा नमुना युवा संसद कार्यक्रम अन्तर्गत सञ्चालित तिन दिने नमुना युवा संसद अभ्यास तथा नमुना गाउँ सभा अभ्यास एवम् प्रशिक्षण कार्यक्रम वुधबारबाट सुरु भएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले सक्षम नागरिक तयार गर्ने, पालिको विकासको लागि युवाहरुलाई सबल, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउँदै सार्थक सहभागिता सुनिश्चित गरी गाउँपालिकालाई आधुनिक, न्यायपूर्ण र समृद्ध बनाउने उद्देश्यसहित पालिका विभिन्न तालिम र आयआर्जन सम्बन्धी कार्यक्रमहरु संचालन गरेको बताउनुभयो र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले यस प्रशिक्षणले युवाहरुमा उद्यमशीलता विकासमा थप सहयोग पुग्ने बताउनुभयो ।

पालिका भित्रका करिब ४० जना युवाहरुलाई राष्ट्रिय युवा परिषद्का पूर्व अध्यक्ष विवेक त्रिपाठीले प्रशिक्षण दिनुहुने छ । कार्यक्रम गाउँपालिकाको सामाजिक विकास संयोजक वडा नं. २ का वडा अध्यक्ष ओम फगामीको अध्यक्षता शिक्षा अधिकृत गणेश बहादुर कटुवालको संचालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।