Thursday, June 26, 2025
21.2 C
Beni
21.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 4

लक्ष्यअघि नै पूरा भयो बेनी चक्रपथ स्तरोन्नति

सदरमुकाम बेनीस्थित कालीगण्डकी र म्याग्दी नदी किनारै किनारको चक्रपथ सडक स्तरोन्नतिका लागि सञ्चालित योजना समयअघि नै सम्पन्न भएको छ । सडक स्तरोन्नतिका लागि सहरी विकास तथा भवन आयोजना बागलुङ र निर्माण कम्पनी काठमाडौँबीच २०८१ साल चैत १९ गते रु तीन करोड १९ लाख २० हजार ६८० मा ठेक्का सम्झौता भएको थियो । 

विसं २०८२ असार १५ गतेसम्म ठेक्काको म्याद भएको योजनाको ठेकेदार कम्पनीले २० दिनअघि नै सम्पन्न गरेको आयोजनाका इञ्जिनियर वीरबल सुनारले बताउनुभयो । “सम्झौताअनुसारको परिणाममा नाली, पर्खाल निर्माण र ढलान गर्ने काम सकिएको छ”, उहाँले भन्नुभयो, “प्राविधिक नापजाँच पनि भइसकेको छभने भुक्तानी दिन बाँकी छ ।” 

बेनी–८ कालीपुलबाट दोभान हुँदै खुलामञ्चको पश्चिमतर्फ बहुउद्देश्यीय मैदान छेउसम्म नौ सय मिटर लम्बाइमा पाँचदेखि छ मिटर चौडाइका दरले ढलान गरिएको सडक निर्माण गरिएको छ । रङरोगन भएको सडकमा ‘आइ क्याट’ राखिएको छ । 

अन्य आयोजना पनि लक्ष्यअघि नै सकिए 

निर्माण कम्पनीका सञ्चालक सुवासचन्द्र कार्कीले सम्झौतालगत्तै पर्याप्त मजदुर र उपकरण परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर लक्ष्यअघि नै योजना निर्माण गरेको बताउनुभयो । बजेट अभाव, आर्थिक सङ्कट, निर्माण सामग्रीको मूल्यवृद्धि, सामाजिकलगायत समस्या देखाएर धेरै आयोजनामा ढिलासुस्ती भइरहेको छ । निर्माण कम्पनीले जिम्मा लिएका म्याग्दीका अन्य दुई योजना पनि लक्ष्यअघि नै सम्पन्न भएका छन् । 

बेनी नगरपालिकाले सञ्चालन गरको बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजना लक्ष्यभन्दा तीन महिनाअघि नै सम्पन्न भएको छ । विसं २०८१ पुस १९ गते रु दुई करोड नौ लाखमा निर्माण कम्पनीबीचमा ठेक्का सम्झौता गरेको योजना २०८२ असार २५ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । बेनी–अर्थुङ्गे–तोरीपानी–पाखापानी सडक योजनामार्फत प्रवेशबिन्दु, रातोपहिरो, नेप्टेचौर, काउरा, आरते, गिठीनी र आखेत क्षेत्रको अप्ठ्यारो गाउँमा सडक फराकिलो पार्ने, ग्यावियन पर्खाल, नाली र ढलान गरेर स्तरोन्नति गर्ने काम चैतमा नै सकिएको थियो । 

बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत तीन किलोमिटर दूरीको बेनी–गलेश्वर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने ठेक्का सम्झौता एक वर्षअघि नै सम्पन्न गर्नुभएको थियो । निर्माण कम्पनीले २०७९ पुस १७ गते रु १२ करोड ७५ लाखमा ठेक्का सम्झौता भएको उक्त योजना २०८० पुसमा सकिएको थियो ।  “लक्ष्यअघि नै काम सम्पन्न गरे पनि भुक्तानी समयमा नपाउँदा समस्या भएको छ”, उहाँले भन्नुभयो, “झल्झट र झमेलामा पारेर भुक्तानीमा ढिलासुस्ती गरिदिदाँ निराश भएको छु ।”

चक्रपथमा पहलपहल

नदी कटानबाट सुरक्षित राख्न निर्माण गरिएको तटबन्धमाथि ‘आरसिसी’ ढलान गरी चक्रपथ बनाएपछि नदी तटमा रहेको बेनीबजार सुरक्षित हुनुका साथै आकर्षक देखिएको छ । नदी किनारको सडकमा साँझ बिहान पैदलयात्रा गर्न र गर्मी छल्न बजारवासीको चहलपहल बढेको छ । 

प्राविधिकहरूका अनुसार अन्तिमपटक ढलान भएको २१ दिनपछि सडकमा यातायात सञ्चालन गर्न सकिनेछ । क्रमागत योजनाअनुसार आगामी वर्ष दरवाङ बसपार्क ढलान र टर्मिनल भवन निर्माणका लागि सहरी विकास मन्त्रालयमा योजना प्रस्ताव गरिएको बेनी नगरपालिकाका प्रमुख सुरत केसीले बताउनुभयो । 

 “सरकारको देशभर १० वटा नमूना नगरपालिका बनाउने कार्यक्रमअन्तर्गत बेनीबजारस्थित चक्रपथ स्तरोन्नति गरिएको हो”, उहाँले भन्नुभयो, “बेनी बजारको बाहिरी क्षेत्र कालीगण्डकी र म्याग्दी नदीको किनारैकिनार चक्रपथ बनेपछि सवारीसाधन आवागमनमा सहज, बजार क्षेत्रको भित्री भागमा सवारीको चाप र दुर्घटनाको जोखिम घटेको छ ।” 

बाढीको उच्च जोखिमयुक्त जिल्ला सदरमुकाम बेनीबजार संरक्षणका लागि सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कास्कीमार्फत पक्की पर्खाल निर्माण योजना अन्तिम चरणमा पुगेको छ । नदी नियन्त्रणका लागि पक्की पर्खाल निर्माण भएपछि किनारमा माटो राखेर फिलिङ गरेर सडक बनाइएको थियो । रासस

१५ हजार विद्यालय गाभ्ने वा बन्द तयारीमा सरकार

शैक्षिक गुणस्तर खस्कँदै गएपछि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको विश्वास घट्दै गएको छ। कमजोर गुणस्तर र विद्यार्थीमैत्री वातावरण नहुँदा सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको छ। यस्तो अवस्थामा आधाभन्दा बढी सामुदायिक विद्यालय मर्ज वा बन्द गर्नुपर्ने अवस्थामा सरकार पुगेको छ।

अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८१/८२ अनुसार देशभरि सञ्चालित ३५ हजार ४ सय ४७ विद्यालयमध्ये ७३ प्रतिशत अर्थात् २५ हजार ८ सय ७६ सामुदायिक छन्। २०८०/८१ मा मुलुकभरि ३५ हजार ८ सय ७६ विद्यालय सञ्चालित थिए। जसमध्ये ७४.१ प्रतिशत अर्थात् २६ हजार ५ सय ८४ सामुदायिक विद्यालय थिए।

यो तथ्यांकले दुई आर्थिक वर्षको अन्तरमा सामुदायिक विद्यालयको संख्या घटेको देखाउँछ। यसैगरी सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दै गएको तथ्यांक छ। बदलिँदो समयअनुसार रूपान्तरण हुन नसकेका कारण सामुदायकि विद्यालयप्रति अभिभावको रुचि पनि कम हुँदै गएको छ।

नेपालमा हाल सञ्चालित २५ हजार ८ सय ७६ वटा सामुदायिक विद्यालयमध्ये १५ हजार २ सय ७३ मा एक सयभन्दा कम संख्यामा विद्यार्थी छन्। यस्ता विद्यालयलाई एकआपसमा मर्ज वा बन्द गर्ने नीति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अघि सार्न लागेको मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिव सापकोटाले बताए। उनका अनुसार एक सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा मन्त्रालयले अध्ययन गरिरहेको छ। ‘समयअनुसार राज्यले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न बजेटको आकार बढाउँदै लगेको छ,’ सापकोटाले भने, ‘सामुदायिक विद्यालयका ९९ प्रतिशत शिक्षक तालिम प्राप्त नै छन् तर पनि शिक्षण सिकाइ र सिकाइ उपलब्धि बढ्न सकेको छैन। यी विद्यालयले अभिभावक र विद्यार्थीको विश्वास जित्न पनि सकेका छैनन्। यसैकारण सामुदायिक विद्यालयमा विद्यार्थी संख्या पनि घट्दो छ। सयभन्दा कम विद्यार्थी भएका विद्यालय १५ हजारभन्दा बढी छन्। यस्ता विद्यालयलाई मर्ज वा बन्द गर्ने विषयमा मन्त्रालय नीति तथा कार्यक्रम बनाएर अघि बढ्ने तयारीमा छ।’

सापकोटाका अनुसार सरकारले सरकारी शिक्षामा गरेको लगानीअनुसारको प्रतिफल पाउन सकेको छैन। ‘आउँदो साउनदेखि सरकारले मर्जको नीतिअनुसार विद्यालयको पुनर्संरचना गर्नेछ,’ सापकोटाले भने, ‘विद्यालय नक्सांकन गरी पुनः वितरणको नीति अपनाइनेछ। तह, ग्रेड र स्कुल मर्जको नीति अघि सारिएको छ। शिक्षक दरबन्दी पनि रूपान्तरण गरिनेछ।’

तह घटाउने, गाभ्ने, बन्द गर्नेे अधिकार सम्बन्धित पालिकालाई भएकाले मन्त्रालयको निर्देशनमा पालिकाले विद्यालय व्यवस्थापन गर्ने मन्त्रालयका सूचना अधिकारी उपसचिव नीलकण्ठ ढकालले बताए। ‘एक सयभन्दा कम विद्यार्थी भएका विद्यालय धेरैजसो आधारभूत तहका छन्,’ ढकालले भने, ‘आगामी नीति तथा कार्यक्रमले यस्ता विद्यालय मर्ज वा बन्द के गर्ने भन्ने तय गर्छ।’

देशभरि पाँच सय देखि एक हजार विद्यार्थी भएका एक हजार ६ सय ३६ वटा र एक हजारदेखि १५ सयसम्म विद्यार्थी भएका ४ सय ४९ वटा सामुदायिक विद्यालय छन्। त्यस्तै २ हजारभन्दा बढी विद्यार्थी भएको सामुदायिक विद्यालय सय वटा मात्र छन्। ‘सरकारले लगानी र सेवासुविधा विस्तार गर्दा पनि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र शैक्षिक गुणस्तर बढ्न नसक्नु विडम्बना नै हो,’ उपसचिव ढकालले भने।

सरकारले शिक्षा क्षेत्रमा बर्सेनि २ खर्ब हाराहारीमा बजेट खर्च गर्दै आएको छ। तर सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन सकेको छैन। सयभन्दा कम विद्यार्थी भएका सामुदायिक विद्यालयमध्ये ९० प्रतिशत आधारभूत तहका रहेको शिक्षा, तथा मानव स्रोत विकास केन्द्रक निर्देशक भक्तबहादुर गोदारको भनाइ छ। उनका अनुसार शिक्षक दरबन्दी पनि आधारभूत तहमै धेरै छन्। तथ्यांक अनुसार सबै प्रकारका विद्यालयमा २ लाख ७८ हजार ५ सय ८५ जना शिक्षक छन्।

बाँदर नियन्त्रण गर्न सामुदायिक वनमा फलफूल खेति गरिने

बागलुङको काठेखोला गाउँपालिकाले बाँदर नियन्त्रणका लागि सामुदायिक वनमा फलफूल खेति गर्ने भएको छ । बढ्दो बसाइँसराइका कारण रित्तिदै गएका गाउँमा बाँदर आतङ्क बढ्दै गएपछि गाउँपालिकाले सामुदायिक वन उपभोक्ता समूहसँगको सहकार्य फलफूल तथा गिठा, तरुल, भ्याकुर र कन्दमूलको खेती गर्ने भएको हो ।

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राजु थापाले तरकारी खेतीमा नागरिकलाई आकर्षण वृद्धि गर्न ‘तरकारी मिनिकिट अनुदान कार्यक्रम’ कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनुभयो । गाउँपालिकलो बाँकोको सिन्की, सिस्नोको पाउडर, अल्लोको कपडा, लालीगुराँसको जुस, अदुवाको मिठाई, जुस, अचारलाई व्यवसायिक गर्दै स्थानीय उत्पादनको ब्राण्डिङ र प्याकेजिङ गरि बजारीकरण गर्ने भएको छ ।

चिया, अलैंची, ओखर, टिमुर, आलु र सुन्तला खेतीको पकेट स्थापना गरी ब्लकको रूपमा विकास गरि कृषि पकेट पूर्वाधार कार्यक्रम संचालन गरि कृषकको उत्पादनलाई संकलन र बजारीकरणका कृषि उपज संकलन केन्द्रको भवन निर्माण गरि सञ्चालन गर्ने नीति तथा कार्यक्रममा समावेस गरिएको छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा कोदोको लोकल रक्सीलाई ब्राण्डिङ र लेवलिङ गरी विक्री वितरण गर्ने प्रक्रिया अगाडि बढाउने अध्यक्ष थापाले बताउनुभयो । पर्यटकीय क्षेत्र घुम्ने गरी पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माण गेर निजी क्षेत्रसँग समन्वय गरी जडीबुटी उत्पादन र प्रशोधन केन्द्र सञ्चालन गरिने अध्यक्ष थापाले बताउनुभयो ।

किसानले उत्पादन गरेका नाङ्लो, डाली र मकैको खोस्टाबाट निर्माण हुने फूलजन्य सामग्रीहरूको बजारीकरणका लागि ‘काठेखोला कोसेली घर’ संचालन अध्यक्ष थापाको भनाइ छ । सबै नागरिकको मृगौला, मुटु, उच्च रक्तचाप, मधुमेह जस्ता रोगको निःशुल्क जाँच र उपचारको प्रबन्ध नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

“विषादी औषधि होइन, बिख हो”

 बेनी नगरपालिका अन्तर्गत सञ्चालनमा ल्याइएको ‘एकीकृत शत्रुजीव व्यवस्थापन (IPM) कृषक पाठशाला’ प्रभावकारी बन्दै गएको छ । पाठशालाको माध्यमबाट स्थानीय किसानले प्राङ्गारिक विधिमा आधारित व्यावसायिक तरकारी तथा खाद्यबाली उत्पादनमा व्यावहारिक सीप आर्जन गर्दै आएका छन् ।
बेनी नगरपालिका–१, आनन्दबगरका कृषक रुद्रबहादुर थापामगर अब खेतबारीमा कुटो–कोदालो मात्र होइन, कापी–कलम पनि लिएर जान्छन्। उनीजस्तै २५ किसान गत पुसदेखि चलिरहेको पाठशालामा सहभागी भई खेतबारीमै सैद्धान्तिक र व्यावहारिक ज्ञान लिँदै आएका छन् ।

खेतीमै पढाइ र प्रयोग
कृषक पाठशालामा सहभागीहरूले गोँलभेडा, काउली, खुर्सानी, सिमी, आलु, धान, गहुँ, सुन्तला लगायत बालीमा उन्नत बीउ छनोटदेखि खेती, गोडमेल, जैविक मलको प्रयोग, रोग–कीरा व्यवस्थापन र बजारीकरणसम्मका विषयमा साप्ताहिक चार घण्टा प्रशिक्षण लिइरहेका छन् । 
कृषक सरिता बानियाँ खड्का भन्छिन्, “खेतीबालीको रोग र कीराको चिनारी, त्यसको स्थानीय उपचार, र विषादीरहित उत्पादन प्रविधि सिक्न पाएका छौँ ।” उत्पादनमा प्रयोग हुने जैविक मल तथा वानस्पतिक विषादी स्थानीय स्रोतबाट नै तयार पार्ने अभ्यास गरिँदै आएको छ

प्रत्यक्ष प्रयोगमा आधारित सिकाइ
डम्मरामा सञ्चालन भएको कोसेबाली सिमी पाठशालामा स्थानीय किसानले प्याजका पात, केतुकी, असुरो, पाती, वस्तुभाउको मूत्र आदिबाट जैविक विषादी तयार गरेर प्रयोग गरेका छन् । किसान झरना थापा बताउँछिन्, “पहिले बजारबाट विषादी किन्थ्यौँ, अब घरमै जैविक झोल बनाउँछौँ, प्रभाव पनि राम्रो छ ।”
पाठशालाले ल्याएको रूपान्तरण
बेनी नगरपालिकाले चालु आर्थिक वर्षमा वडा नं. १ देखि ९ सम्मका विभिन्न स्थानमा गोँलभेडा, सिमी, आलु, खुर्सानी लगायत बालीमा आइपिएम कृषक पाठशाला सञ्चालन गरेको छ । हरेक समूहका लागि रु १ लाख ५० हजार बजेट विनियोजन गरिएको छ । जिल्लाका अगुवा कृषकहरू सहजकर्ता बनेर साप्ताहिक प्रशिक्षण लिइरहेका किसानलाई खेतमै ज्ञान दिइरहेका छन् ।
नगरपालिकाका कृषि अधिकृत आकृति ढुङ्गाना भन्छिन्, “यस कार्यक्रमले किसानलाई जैविक खेतीतर्फ प्रेरित गरेको छ । रासायनिक विषादीलाई विकल्प होइन, अन्तिम उपायको रूपमा बुझ्न सिकाइएको छ ।”

रासायनिक विषादी होइन, जैविक विकल्प
सहजकर्ता सोवित शर्माका अनुसार पाठशालाले किसानलाई ूविषादी औषधि होइन, बिख होू भन्ने चेतना दिन सफल भएको छ । खेतीबालीमा प्रयोग गरिने रासायनिक विषादीले स्वास्थ्यमा गम्भीर असर पार्ने भएकाले जैविक विकल्प अपनाउन सिकाइएको हो ।
अर्का सहजकर्ता क्षेत्रबहादुर कटुवालले पनि स्थानीय स्रोतबाट विषादी बनाउने सीप सिकाइएको र सुरक्षित कृषि प्रणालीले उत्पादन मात्र होइन, उपभोक्ताको स्वास्थ्य पनि जोगाउने बताए ।

Source:-रासस

राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले मनायो तेस्रो स्थापना दिवस

राष्ट्रिय स्वतन्त्र पार्टीको तेस्रो स्थापना दिवस म्याग्दीमा विशेष कार्यक्रमसहित मनाइएको छ। स्थापना दिवसको अवसरमा पार्टीको जिल्ला कार्यालय उद्घाटन गरिएको छ भने बिपद व्यवस्थापनलाई प्राथमिकता दिँदै यापिड एक्सन टोली लाई पूर्णता दिइएको छ ।

सोही अवसरमा जिल्ला सभापति यूवराज रोकाले म्याग्दीबाट पार्टीको सदस्यता दिनेको संख्याबाट निकै उत्साहित भएको बताउँदै जिल्लाका सबै ६ वटै स्थानीय तहको टोलबस्तीमा पुगेर पार्टीलाई बलियो बनाउने बताउनुभयो । पार्टीका एजेण्डालाई हरेकको घरदैलोमा पुग्ने गरी सक्रियतापुर्वक काम गर्ने अध्यक्ष रोकाको भनाई छ । स्थापना दिवसकै अवरमा बर्खाको समयमा उद्धार तथा विपद्जन्य गतिविधिमा सक्रिय हुन यापिड एक्सन टोलीलाई न्यूनतम आवश्यक सामग्रीहरू हस्तान्तरण गरिनुका साथै आगामी दिनमा हुने सम्भावित बिपदहरूलाई मध्यनजर गर्दै रणनीति तय गरिएको थियो।

कार्यक्रममा अतिथिका रूपमा प्रदेश महामन्त्री नवीन त्रिपाठी, सह–महामन्त्री कृष्णप्रसाद लम्साल तथा प्रदेश सचिवालय सदस्य अर्बिन तुलाचनको उपस्थिति रहेको थियो। स्थापना दिवसको समापनमा कालिपुलस्थित पक्की पुल परिसरको सरसफाइ गरी समाजप्रति सकारात्मक सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा बोल्दै नेताहरूले विपद् जोखिम न्युनिकरणमा च्ब्त् को सक्रियता र जनसहभागिता आवश्यक रहेको उपाध्यक्ष छवि आचार्यले बताउनुभयो । पार्टीले आगामी दिनहरूमा समेत विपद् व्यवस्थापन र समुदाय आधारित सचेतना अभिवृद्धि अभियानलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।

प्रकाश पौडेलले थाले विपद् पीडितका लागि ‘अभियान सहारा’

नेकपा एमालेका युवा नेता प्रकाश पौडेलले बाढीपहिरो र डुबान पर्नेहरूको उद्धार र राहतका लागि ‘अभियान सहारा’ सुरु गरेका छन् ।

एमालेनिकट अनेरास्ववियुको राजनीतिबाट बिदा भएका उनले आफूलाई सामाजिक गतिविधिमा सक्रिय गराउन थालेका हुन् । 

देशभर मनसुनका कारण बाढी पहिरो जस्ता संकट आउन थालेपछी उनले युवाहरूलाई जोडेर उद्धार र राहत अभियानलाई प्रभावकारी बनाउने तयारी गरेका हुन् । 

‘म सम्पूर्ण अग्रज तथा साथीहरूलाई ‘अभियान सहारा’मा जोडिन हार्दिक अनुरोध गर्दछु,’ उनले भनेका छन्,’ुहामी रकम संकलन गर्ने वा वितरण गर्ने कामलाई प्राथमिकता दिँदैनौँ । हाम्रो उद्देश्य जोखिम र अप्ठ्यारोमा परेका दाजुभाइ तथा दिदीबहिनीहरूलाई प्रत्यक्ष सहयोगीहरूसँग जोड्ने हो।’

उनले आफूहरूको मुख्य काम भौतिक सहयोगमा केन्द्रित रहने बताएका छन् । सहभागीको अवस्था हेरेर यस अभियानलाई जिल्ला र स्थानीय तहसम्म अभियान सहारा विस्तार गरिने पनि पौडेलले बताएका छन् । 

उनले विपद्का बेला युवाहरूलाई एकीकृत रूपमा तलैसम्म परिचालन गरिने पनि बताएका छन् । ‘ुविपद्मा एकीकृत रूपमा युवाहरूलाई सम्भावित जोखिमयुक्त क्षेत्रमा परिचालन गर्ने हाम्रो योजना हो’, उनले भने, ‘हाम्रो प्राथमिकता चन्दा संकलन भन्दा जोखिममा परेकाहरूसम्म भौतिक रूपमै उपस्थित भएर राहत र उद्धार अभियान चलाउने हो ।’

पौडेलले आफूहरू आर्थिक संकलनमा नलागी पीडितहरूलाई भौतिक सहयोगसँगै स्थानीय सरकार र दाताहरूसँग सम्पर्क गराउन सक्रिय हुने बताए । पहिलो चरणमा यस अभियानमा कम्तीमा पनि ८ हजार युवाहरूले जोड्ने योजना रहेको उनले बताएका छन् । 

अनेरास्ववियुको कीर्तिपुरमा भएको महाधिवेशनबाट बिदा हुनुअघि पनि पौडेल सामाजिक काममै सक्रिय थिए । उनले यसअघि विभिन्न सामाजिक अभियान चलाइसकेका छन् ।

योग दिवस मनाइयो

प्रदेश आयुर्वेद कार्यालय म्याग्दीको आयोजनामा ११ औं अन्तर्राष्ट्रिय योग दिवस बेनीमा मनाइएको छ । प्रदेश आयुर्वेद चिकित्सालय बेनीको आयोजना तथा नविन आनन्द योग केन्द्र नेपाल र म्याग्दी जेसीजको समन्वयमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले योगले सबैलाई परिवर्तन गर्छ र त्यसको सुरुआत आफूबाट गर्नु पर्नेमा जोड दिनुभयो ।

उहाँलो नेपाल ऋषीमुनीको क्षेत्र भएको हुनाले योग तथा ध्यानमा सबैले मन लगाउनु पर्ने बताउनुभयो । कार्यक्रम प्रदेश आयुर्वेद चिकित्सालय म्याग्दीका कार्यालय प्रमुख डा.कमलराज अधिकारीको अध्यक्षता, नविन आनन्द योग केन्द्रका अध्यक्ष सुरेन्द्रराज शर्माको स्वागत तथा म्याग्दी जेसीजका महासचिव देवेन्द्र घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

भकिम्लीकी पुर्णि घर्तीमगर २२ दिनदेखि बेपत्ता

म्याग्दीको बेनी नगरपालिका–३, भकिम्ली डाँडाथोककी २७ बर्षिया पुर्णि घर्तीमगर २२ दिनदेखि सम्पर्कविहीन रहेको परिवारले जनाएको छ । गत जेठ १६ गते श्रीमान भिमबहादुर घर्ती मगरलाई आफन्तको घरमा जान्छु भन्दै सल्लाह गरेर निस्किनुभएकी पुर्णि अहिलेसम्म घरपरिवारको सम्पर्कमा नभएको आफन्त झरना छन्त्यालले बताउनुभयो । ‘खोजीकार्य धेरै गरियो, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन’ झरनाले भन्नुभयो ।


घरबाट निस्किदा वित्तिकै परिवारका सदस्यहरुलाई फेसबुकमा ब्लक गरेर मोवाइल अफ गर्नुभएको र अहिले मोबाइल लाग्ने देउरानी झरनाको भनाई छ । जिल्ला प्रहरी कार्यालयमा खोजीकार्यका लागि निवेदन दिएपछि मोबाइलको कल डिटेल हेर्दा बेनी नगरपालिका वडा नं ५ पुलाचौर आसपासका क्षेत्रमा देखाएपछि त्यस क्षेत्रमा खोजीकार्य गरिदिन स्थानीय जनप्रतिनिधिलाई समेत अनुरोध गरिएको छ । बेपत्ता पुर्णिको घरमा श्रीमान, एक छोरा एक छोरी छन् ।

पति– भिम बहादुर घर्ती
फोन नंः ९८४५१६२६७३÷९८६४४३६१६२

हुलाक टिकट : सानो टुक्रामा समेटिएको गौरव

हामीले दैनिक जीवनमा प्रयोग गर्ने, सानो तर अत्यन्त महत्वपूर्ण वस्तु हो —हुलाक टिकट। देख्दा सामान्य लाग्ने यो कागजी टुक्रा सरकारद्वारा जारी गरिने मूल्याङ्कनयुक्त कागज हो, जसको प्रयोग चिठी, पार्सल लगायतका हुलाक सेवामा शुल्क तिर्नका लागि गरिन्छ। तर, यसको महत्व केवल आर्थिक कारोबारमा सीमित छैन; यो त राष्ट्रिय गौरव, इतिहास, संस्कृति, र कला समेटिएको एक जीवित दस्तावेज हो।
टिकटको इतिहासको पानाहरुमा…
हुलाक टिकटको अवधारणा पहिलो पटक बेलायतकासर रोल्याण्ड हिलले सन् १८३७ मा प्रस्तुत गरेका थिए। उनले चिठी पठाउने व्यक्तिले नै शुल्क तिर्नुपर्ने र सो शुल्क तौलको आधारमा निर्धारण हुने प्रस्ताव राखे। यही आधारमा सन् १८४० मे १मा रानी भिक्टोरियाको चित्र अंकित‘पेनि ब्ल्याक’नामक पहिलो टिकट सार्वजनिक गरियो।
नेपालमा टिकट यात्रा : एक ऐतिहासिक थालनी
नेपालमा हुलाक टिकटको यात्राबि.सं. १९३८ मा सुरु भयो। राणा प्रधानमन्त्री रणोदिप सिंहको पालामा ‘श्री गोरखा सरकार’ लेखिएको खुकुरी चित्र सहितका टिकटहरू बेलायतबाट आयात गरिएकागिद्धे प्रेसबाट छापिए। १ आना, २ आना र ४ आना दरका ती टिकटहरूले नेपालमा हुलाक सेवाको आधिकारिक युगको आरम्भ ग¥यो।
टिकटको विकास यात्रा
पहिलो चरणमा भारत, बेलायत लगायतका देशहरूमा टिकट छापाइन्थ्यो। तरवि.सं. २०१६देखि नेपालमै टिकट छाप्ने कार्य सुरु गरियो। पछिल्लोपटक२०८० फागुन ४ गते, जनक शिक्षा सामग्री कम्पनीसँगको सहकार्यमा फेरि नेपालमै टिकट छपाइ थालिएको छ। सन् २०२० सम्ममा नेपालले १३६७ प्रकारका हुलाक टिकटहरू जारी गरिसकेको विभिन्न तथ्याङ्क पाइएतापनि यति नै भन्न सकिदैन । २०८२ जेठ २१ गते, सुन्तला, मौरी, रायो साग र असला माछाको चित्र अंकित ९ नयाँ टिकट सार्वजनिक गर्ने निर्णय गरिएको छ — जसले प्रकृति, कृषि र जैविक विविधताको प्रवद्र्धनमा योगदान दिन्छ।आजको दिनसम्म प्रचलित टिकट दरहरूमा नेपालमा हालसम्म १ देखि ५ सय रुपैयाँसम्मका फरक फरक टिक उपलब्ध रहेको छ ।

हुलाक टिकट ः सन्देशमात्र होइन, सम्मान र सम्पदा पनि
हुलाक टिकट मात्र पत्र पठाउनका लागि नभई यसले अनेक महत्वपूर्ण उद्देश्यहरू पुरा गर्दछः
* राजश्व संकलन
* राष्ट्रिय पहिचानको अभिव्यक्ति
* सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण
* प्रसिद्ध व्यक्तित्वहरूको सम्मान
* देशको कला र सिर्जनात्मकताको प्रदर्शन
* समय अनुसारको सामाजिक, आर्थिक, राजनीतिक सन्देश प्रवाह
यसरी सानो कागजी टुक्रा हाम्रा इतिहास, संस्कृति, कला र राष्ट्रिय चेतनाको भण्डार हो। यसको संरक्षण र प्रवद्र्धन हरेक सचेत नागरिकको दायित्व पनि हो।

लेखक जिल्ला हुलाक कार्यालय म्याग्दीको टिकट शाखामा कार्यरत खरिदार रुपा शर्मा हुनुहुन्छ ।

सुखी जीवनको लागि मनको शक्तिन

हाम्रो मन आगो जस्तै तटस्थ हुन्छ । यस आगोलाई खराब वा असल बनाउने त्यो प्रयोगकर्ताको हातमा हुन्छ । जस्तै यही आगो एउटा बच्चाको हातमा प¥यो भने उसले लुगा जलाउँछ, शरीर जलाउँछ, त्यस्तै परे घर नै जलाउँछ र क्षणभरमा धन दौलत खरानी बनाउँछ । यही आगो एउटा सक्षम मान्छेको हातमा प¥यो भने उसले दूध उमाल्नेछ, खाना पकाउनेछ र कोइला जलाई रेलगाडी गुडाउनेछ । यही आगो एउटा बच्चाको हातमा जाँदा सर्वनाश गरिदिन्छ । यही आगो एउटा सक्षम मान्छेको हातमा जाँदा सर्वाधिक फाइदा दिन्छ । यहाँ आगोले दुईतिर काम गर्छ ।

जसले आगोलाई सदुपयोग गर्न जान्छ, त्यसले आगोबाट सर्वाधिक फाइदा लिन्छ । जसले आगोलाई सदुपयोग गर्न जान्दैन त्यसले आगोबाट हुने सर्वनाश सहनु पर्छ । ठीक यसै गरी हाम्रो मन कच्चा मान्छेको हातमा प¥यो भने उसले आफ्नो मनलाई गलत प्रयोग गर्दै जान्छ । जस्तै कसरी कुट्ने, कसरी लुट्ने, कसरी मुसार्ने, कसरी चक्कु घुसार्ने, कसरी मुक्का हान्ने, कसरी खुट्टा तान्ने, कसरी ढाँट्ने, कसरी मान्छे काट्ने भन्नेतिर आफ्नो मनको प्रयोग गर्दै जानेछ । यदि यसो गर्दै ग¥यो भने निश्चय नै एक उसको मनले उसलाई एक दिन मूर्ख, पापी, अपराधी र अधार्मिक बनाएरै छाडिदिन्छ । वास्तवमा मनुष्यको यही अवस्थालाई नै नर्क भनिन्छ ।

यही मन एउटा ज्ञानीको हातमा प¥यो भने उसले आफ्नो मनलाई सत्वचन, सत्कर्म, सत्विचारतिर लगाउँदै जानेछ । सेवा, सत्सङ्ग र साधनातिर उपयोग गर्दै जानेछ । जसको प्रतिफल स्वरुप सुख, आनन्द, ज्ञान, शक्ति प्राप्त गर्दै जानेछ । यसरी सतमार्गमा लागेको मनभित्र अजय शक्ति, असीम शक्तिको मूल फुट्दै जान्छ । अनि मनभित्र शक्तिको आँधीबेहरी बग्नु शुरु गर्छ । आखिर यही शक्तिको आँधीले नै मनको कालोमैलो बगाई दिन्छ र मन सफा अनि सुन्दर हुन्छ । यही सफा मनमा सद्गुणको उपस्थिति हुन्छ । यही सुन्दर मनमा नै भगवानको बास हुन्छ । मनमा ज्ञानको फूल फूल्दछ, आनन्दको सुगन्ध फैलिन्छ र मनुष्यको जीवन स्वर्ग बन्छ । यसकारण जीवनलाई नर्क बनाउने पनि मन नै हो । जीवनलाई स्वर्गको अनुभव गराउने पनि मन नै हो ।

यसैले गीतामा भगवान श्रीकृष्णले भन्नुहुन्छ, मनएव मनुष्याणां कारणंबन्धमोक्षयः अर्थात् मन नै मनुष्यको बन्धन र मोक्षको कारण हो जसले मनलाई सदुपयोग गर्न जान्दछ, उसले मनद्वारा मोक्षको यात्रा गर्छ, जसले मनलाई सदुपयोग गर्न जान्दैन, उ जीवनभरि मनकै बन्धनमा रहेर नर्कको जीवन बिताउँछ । यहाँ मनले दुई किसिमको खेल खेल्छ । एउटा खेलमा जीत हुन्छ र जीवनको हित हुन्छ । एउटा खेलमा हार हुन्छ र जीवन बेकार हुन्छ । यसैले मनबाट फाइदा लिनको लागि मनलाई प्रयोग गर्न जान्नुपर्दछ । मनको उचित प्रयोगको लागि मनको धर्म, मनको विज्ञान बुझ्नु जरुरी छ ।मनको अस्तित्व पानी जस्तो विचित्रको छ । जस्तैः पानीलाई जस्तो भाँडोमा राखिदियो त्यस्तै रुप, आकार लिन्छ, ठीक त्यसैगरी मनले पनि जस्तो मान्यता र विचारमा राखिदियो, त्यस्तै रुप आकार लिन्छ । यसैले मनसँग डललाग्दो ईश्वरीय क्षमता छ । यति खेर मलाई एउटा कथाको याद आएको छ ।

सत्य युगमा भगवान पनि मनुष्यहरुको बीचमा बसोबास गर्नुहुन्थ्यो रे र त्यस समयमा भगवानको दर्शन गर्न सजिलो थियो । यसकारण भगवानको दर्शन गर्ने चाहना भएकालाई तुरुन्त दर्शन पनि दिने गर्नुहुन्थ्यो । यसरी भगवानसँग सामिप्यता बढ्दै जाँदा मनुष्यको आफ्नो इच्छा, चाहनाहरु पनि बढ्दै जान थाल्यो र मनुष्यले धेरै कुराको वरदान माग्न थाले । कसैले भने भगवान मलाई धेरै धनको वर्षा गराइदिनोस् भनी वरदान माग्थे, कसैले राम्री पत्नी पाऊँ भगवान भनेर, कसैले असल गुण भएको पति पाऊँ भनेर आदि इत्यादि वरदान माग्ने र भगवानले तथास्तु भने पछि उनीहरुको इच्छा चाहनाहरु त्यत्तिकै पूरा हुन्थे ।

यसरी आफूले कर्म गर्नुभन्दा वरदान माग्नु सजिलो थियो । यसैले सबै जनाले सजिलो बाटो नै रोजे । मान्छेको जात नै अजीवको जात हो । जुन बाटो सजिलो हुन्छ, त्यही बाटो रोज्ने गर्छ, त्यस युगका मान्छेहरुले पनि वरदान मागेपछि पाउने सजिलो बाटो रोजेछन् । यसकारण उनीहरु कर्म गर्नतिर नगई वरदान माग्न भगवानको घरदैलो धाउँथे । भगवानले उनीहरुको इच्छा पनि हल गर्दै गए । भगवानले मनुष्यको इच्छा जतिजति हल गर्दै जान्थे, त्यतित्यति नचाहिँदो माग र वरदान लिएर धाउन थाल्थे । हुँदाहुँदा भगवानसँग आगो फुक्न भात पकाउन अल्छी लाग्छ, आगो फुक्न पनि नपरोस् भात पकाउन पनि नपरोस् भात आफै पाकेर आओस्, यस्तै यस्तै सामान्य कुराको पनि वरदान माग्न थाले । मान्छेको यो बदमासी देखेर भगवानलाई यस्तो लाग्यो, श्रम नगरी सित्तैमा पाउने कुनै पनि कुराको महत्व हुँदैन । मैंले सित्तैमा दिने भुल गरेछु ।

अब म यो भूल कहिल्यै गर्नेछैन भनी भगवान अन्तध्र्यान भई एकान्त जंगलमा गएर लुके । त्यहाँ पनि मान्छेहरु खोज्दै गए । मन्दिर बनाई हातमा फुल प्रसाद लिएर वरदान माग्न जान थालेछन् । भगवान त्यस ठाउँबाट पनि भागेर कैलाश पर्वत पुगे । त्यहाँ पनि मान्छेहरुले चाल पाएर वरदान माग्नको लागि धाउन थाले । भगवान हैरान भएछन् । अब भने मैंले पृथ्वी नै छोडी दिन्छु भनी चन्द्रमामा गई लुके, त्यहाँ बल्ल ढुक्क भएछन् किनभने मान्छे मोरासँग उडेर आउन उसँग पखेटा छैन । अब ऊ यहाँसम्म आइपुग्न सक्दैन भनेर सोच्दै थिए । त्यत्तिकैमा एउटा यान अवतरण भयो र त्यस यानबाट मान्छे ओर्लियो वरदान माग्नको लागि ।

सुख किन दिन्थे र, उनीसँग सुख भए पो दिनु, त्यही सुख नभएर नै यसरी भगवानको शरण परेको छ । त्यही दुःखले पोलेर नै भगवानको छाया खोजेको । भगवानले आँसु छाडे । मान्छे जस्तो बदमास जन्तुलाई सृष्टि गरेर महाभूल गरेको पश्चात्ताप गर्न थाले । चौरासी लाख प्राणीहरुमध्ये सबभन्दा बेइमानी प्राणी हो मान्छे । यही मान्छेबाट लखेटिए र हैरान भएँ । यसरी भगवान गहिरो सोचाईमा परे, ठीक यही बेला ऋषि नारद नजिक आइपुगे र भगवानको पाऊ समाति दण्डवत गरे । भगवान पनि ऋषि नारदलाई भेटेर खुशी भए र भगवानले नारदलाई सोधे, यो मान्छे भन्ने बदमास जन्तुबाट म सँधैंको लागि लुक्न चाहन्छु ।

त्यो ठाउँ कुन होला जहाँ लुक्दा मान्छेले नभेटोस् । नारदले तत्क्षण जवाफ दिए, भगवान ती मान्छेहरुको मनभित्रै गएर बसिदिनोस् । अब उसले कहिल्यै भेट्ने छैन । किनकी ती मान्छेहरु बाहिरबाहिर खोजी हिंड्ने बानी परेको छ । उसले आफ्नो मनभित्र कहिल्यै खोज्ने साहस गरेको छैन । हजारौंहजार वर्षको कालान्तरमा त्यहाँ मनमा पुग्ने महापुरुषहरु पनि जन्मिनेछन् प्रभु । नारदको यो भनाइले भगवान झस्किए, ओहो मनमा पनि पुग्छन् अरे, नारदले भने, हो पुग्छन् त्यहाँ पनि तर यस्ता महात्मा पुग्छन् जोसँग कुनै किसिमको माग नै हुँदैन । माग रहितको महात्मा पुग्नेछन् यसमा भगवानलाई केको झन्झट …..।यहाँ कर्म विना माग्नेहरुले गर्दा यो हैरान हुनभो अब त केको झन्झट …… । स्याबास ! नारदजी स्याबास यो तिम्रो उपाय साह्रै महान छ, म आजबाट मनुष्यको मनभित्र नै गएर बसिदिन्छु ।

यो कथाले दिन खोजेको सन्देश के हो भने हाम्रो मनभित्र भगवान छ, हामी भगवान खोज्छौं बाहिर, मनभित्र भगवान छिपेको छ । मनुष्यले मेसो पाएको छैन र बाहिरबाहिर खोजेर सास्ती पाएको छ । मनमा रिस, क्रोध, लोभ, मोह, ईष्र्या, डाहारुपी विकारले भरिँदै गएको छ । यही विकारले गर्दा नै मनभित्रको भगवान भित्रभित्रै दबिँदै गएको छ । मनका विकारहरुबाट उत्पन्न भएको शैतानले मनुष्य जीवनमा हैकम चलाएको छ । यही उसको मनको शैतानले गडबडी मच्याएको छ, अनि मनुष्य छटपटिमा परेको छ । उसको मनको शैतानले पापाचार, दूराचार, भ्रष्टाचार र व्यभिचार गरेर उच्छृङ्खल किसिमले खैलाबैला मच्याएको छ । यही कारण मनुष्य दुःखमा परेको छ । मनभित्रको भगवान दबिँदै गएर अन्तरात्मा अन्तर चेतनामा गई मौन बसेर मनको तमासा हेरेको छ ।

मन यता भित्र भित्रै आत्तिएको छ । मनभित्रभित्रै रुग्ण एवम् विक्षिप्त भएको छ । यसैले भित्रको छटपटी भित्रको दुःख र रुग्णताबाट मुक्ति पाउन मन आत्तिएको छ र अत्तालिँदै हातमा फूलप्रसाद र धुप लिएर मन्दिर धाएको छ । जोडजोडले घण्टा ठोकेको छ, मन्दिरको वरिपरि दश फन्को घुमेर चप्पल फटालेको छ । बजारको धुप सखाप पारेको छ । यसो गरेर पनि त्यहाँबाट उसले थोरै थोरै ईश्वरी उर्जा भरेर फर्किन सक्थ्यो । तर मन्दिरबाट पनि ऊ खाली हात नै फर्किन्छ । किनकी उसको मन नचाहिने नचाहिने कुराले भरिएको छ । यसैले उसको दिलको ढोका बन्द नै छ । यसरी दिलको ईश्वरलाई भित्र थुनेर बाहिर ईश्वर खोज्न निक्लने अनौठो जन्तु मान्छे बाहेक अरु को होला र ? यस धर्तीमा यस्तो जन्तु खोज्न पनि मुश्किल छ । बडो खतरनाक जन्तु हो मान्छे । यस सन्दर्भमा मलाई मेरा मित्र सञ्जयजीले भनेको कुरा याद आएको छ ।

कुनै समयमा एकजना विदेशी पर्यटक घुम्ने सिलसिलामा जापानको चिडियाखानामा पुगेछ । त्यहाँ अनेकअनेकका वन्यजन्तुहरु राखिएका रहेछन् र त्यो पर्यटकले क्रमशः हेर्दै गएछ । यसरी हेर्दै जाँदा एउटा यस्तो ठाउँमा पुग्यो, जहाँ ठूलो ऐना बाहेक अरु केही पनि थिएन । उसले यताउति सबैतिर नजर घुमायो फेरि पनि केही देखेन, ऊ दिक्क भयो । यहाँ केही त हुनै पर्ने हो । यो जनावरहरुको चिडियाखानामा किन यसरी ऐना राखिएको होला ? केही न केही रहस्य जरुर हुनुपर्छ भन्ने अक्कल लगायो र धेरै बेर हेर्दै गए पनि त्यस ऐनामा आफ्नो प्रतिबिम्ब बाहेक अरु देख्दै देखेन, ऊ थाक्यो अनि पछि मात्र थाहा पायो ।

त्यस ऐनाको तलपट्टि ठूलो अंग्रेजी अक्षरमा लेखिएको रहेछ अनि त्यो पढ्यो, The most dangerous animals on the world.। अर्थात् संसारको सबैभन्दा खतरनाक जनावर । त्यो खतरनाक जन्तु त म स्वयं पो रहेछु भन्ने कुरा थाहा पाएर त्यहाँबाट निक्लेछ । त्यस विदेशी पर्यटक सौभाग्यशाली थियो, यसैले आफू संसारकै खतरनाक जन्तु म स्वयं पो रहेछु भन्ने कुरा चाँडै नै थाहा पायो ।तर हामी मानसिक रुपमा जति नै मुर्ख भए पनि हामी आफूलाई मूर्ख लाग्दैन । हामी भित्रभित्र जति बदमासी भए पनि आफूलाई बदमासीको स्वीकार गर्न राजी हुँदैनौं । हामी जति अज्ञानी भए पनि अज्ञानी मान्न तयार छैनौं । यसैले हामी आफूलाई ज्ञानी छु भन्ने भ्रम छ ।

हामी आफूलाई जति मूर्ख, बदमासी भए पनि सज्जन छु भन्ने भ्रम छ । वास्तवमा यस्तै भ्रमले गर्दा नै मान्छेले आफूलाई सुधार्ने मौका पाएको छैन । कुनै एउटा मोटी केटीलाई कसैले हेलो मोटी भनेर बोलाई दियो भने ती केटी रिसाउन थालिन् किन भने आफूलाई मोटीपन मन परेको हुँदैन । यही मोटोपनले भित्रभित्रै पोलिरहेको हुन्छ । भित्रभित्रै आगो भएको हुन्छ । त्यसपछि कसैले मोटी भनिदियो भने आगोमा घ्यू थप्ने काम हुन्छ । यसैले रिसाउँछ । यदि तिमी आफू मोटी भएको स्वीकार्न सकेको भए रिसको कारण रहने थिएन । जुन दिनमा आफूलाई सही अर्थमा स्वीकार हुन्छ त्यही दिनबाट आफूलाई सुधार गर्ने चेतना जाग्न थाल्छ । ठीक यसै गरी मान्छेले मेरो मन खराब भएको छ, बदमासी भएको छ, यसैले म खराब भए भन्ने कुरा जहिले स्वीकार गर्छ त्यति नै बेला उसको चेतना जाग्छ । उसको यही चेतनाले नै उसको मनलाई सतमार्गतिर डो¥याउँदै लैजान्छ ।

अनि पो बल्ल मनको बाङ्गो अवस्था सिधा हुँदै जान्छ र मनको खराबीहरु पनि टुट्दै जान्छ । सामान्यतया हामी यस्तो उपायको पक्षमा छैनौं किनकी हामी आफ्नो बदमासी मनबाट भाग्न खोजिरहेका छौं । हामी यहाँ भाग्न जरुरी छैन । जस्तै टोक्ने कुकुरले भुकिरहेको बेला जति दौडियो त्यति लखेट्न आउँछ । त्यतिबेला त निडर भएर अगाडि बढ्नुपर्छ, त्यस कुकुरले टोक्ने हिम्मत गर्दैन ।

ठीक यसरी नै जति हामी मनबाट भाग्न खोज्छौं त्यति नै हामीलाई लखेटिरहनेछ । मनलाई नबुझी भाग्नु हाम्रो मुर्खता एवम् नामर्द हुनेछ । मलाई यतिबेला एउटा जोक्सको याद आयो । कुनै एउटा गाउँमा अघिल्लो वर्षमा निःशुल्क भ्याक्सेटोमी शल्यक्रिया गरेको एक टोली पुनः सोही गाउँमा नै गएछ । त्यस गाउँमा पुग्नको लागि अलिकति उकालो चढ्नुपर्ने थियो र उनीहरु उकालो चढ्दै गाउँको नजिक पुग्दै थिए । यत्तिकैमा त्यस गाउँका पुरुषहरु जति सबै जंगलतिर भागाभाग भएछन् ।

ती पुरुषहरुको यस्तो स्थिति देखेपछि भ्याक्सेटोमीका टोली छक्क परेछन् । आज यस गाउँका पुरुषहरुले किन यसो गर्दैछन् भनी ती टोलीले त्यो गाउँको एक वृद्धालाई सोधेछन् । बुबा यी पुरुषहरु यसरी किन भागेका हुन् ? वास्तवमा हामीहरु ती भाग्ने पुरुषहरुकै हितको लागि आएका हौं तर यिनी किन भागे जंगलमा ? वृद्धाबाट जवाफ आयो, पोहोर साल यी भ्याक्सेटोमीका मोराहरुले हाम्रो तार काटेर लगेको थियो । त्यही टोली यसपाली पनि आउँदैछ, यसपाली त ती टोलीले हाम्रो मिटरबक्स नै उठाउने भो भनेर भागेको रे क्या । कुरा नबुझी भागिदिन्छौं हामीहरु । यहाँ भागेर होइन जागेर मनबाट लाभ लिन सकिन्छ ।

अन्तमा, यहाँ विश्वविख्यात साहित्यकार खलिल जिब्रानले लेख्नुभएको कथा उल्लेख गर्न सान्दर्भिक छ– एक जना किसान सँधैजसो आफ्नो खेतबारीमा काम गर्न जाने गर्दथ्यो । यसै क्रममा एकदिन उसले आफ्नो सुरमा काम गरिरहेको थियो । ठीक त्यही बेला एउटा सर्पले मुसा लखेट्दै आइरहेको थियो । त्यहाँ मुसा किसान भन्दा अगाडि भाग्यो, सर्पले त्यो किसानको खुट्टा डसेर नजिकको झ्याङ्गमा लुक्यो । किसानले आइया बाबा मलाई यसरी टोक्ने के हो भन्दै अगाडि हे¥यो ।

उसले आफ्नो अगाडि मुसा दौडिरहेको देख्यो र किसानलाई लाग्यो मलाई यसरी टोक्ने त मुसा पो रहेछ । जाबो मुसाले टोक्दैमा के हुन्छ ? मलाई केही पनि हुँदैन । संसारमा मुसाले टोकेर कोही पनि मान्छे मरेको छैन । यसकारण मलाई पनि केही हुँदैन भन्दै त्यस किसानले आफ्नो मनलाई सकारात्मक सूचना दिँदै गयो । साँच्चि नै त्यो किसानलाई केही भएनछ । यसको केही समयको अन्तरालपछि किसान जीवनमा यस्तै घटना फेरि दोहोरिएछ । किसानले आफ्नो खेतबारीमा घाँस काटिरहेको बेला एउटा अजिङ्गरले मुसा लखेट्दै आएको रहेछ । तर अगाडि मान्छे देखेपछि अजिङ्गर अगाडि भाग्यो । मुसाले चाहिं किसानकै औंला टोकेर नजिकको प्वालमा छि¥यो ।

किसानले आइया मलाई केले टोक्यो भन्दै खुट्टा उचाल्यो, औंलाबाट रगत बगिरहेको देख्यो र अत्तालिँदै आफ्ना दायाँ बायाँ हेर्न थाल्यो । यत्तिकैमा अलिपर अजिङ्गर पो दौडिरहेको देख्यो । यो देखेपछि किसान आत्तियो । यसरी मेरो औंला टोक्ने त अजिङ्गर पो रहेछ । संसारमा अजिङ्गरले टोकेर धेरै मान्छेको मृत्यु भइसकेको छ । म पनि लौ खत्तम । म अब मर्छु किनकि मलाई आज डरलाग्दो अजिङ्गरले टोक्यो । यसैले म अब बाँच्न सक्दिन । मेरो बाँच्ने सम्भव छैन भन्ने नकारात्मक सूचना दिँदै गयो । जसको परिणामस्वरुप त्यो किसान मुर्छा परेर ढल्यो । यसरी ढल्यो कि ऊ कहिल्यै उठेन । किनकी ऊ सँधैंको लागि ढलेको थियो । यो कथा बडो मनोवैज्ञानिक छ ।

वैज्ञानिक हिसाबले हेर्दा त्यो किसान अघिल्लो घटनामा मर्नु पर्दथ्यो किनकी उसलाई साँच्चिकै सर्पले डसेको थियो । तर मनको शक्तिको कारण ऊ बाँच्यो किनकी उसले आफ्नो मनलाई सकारात्मक सूचना दिएको थियो । जाबो मुसाले टोकेर मलाई केही हुँदैन र संसारमा मुसाले टोकेर कोही पनि मरेको छैन । यसकारण म पनि मर्दैन । यही उसको सूचनाले कमाल ग¥यो ।

किसानको पछिल्लो घटनामा सामान्यतया मुसाले टोकेर कोही मर्दैन तर सर्पले टोक्दा बाँचेको किसान मुसाले टोक्दा मर्न पुग्यो । किनकी त्यो किसानले आफ्नो मनलाई नकारात्मक सूचना दियो– लौ खत्तम भइयो, लौ म अब मर्छु, मलाई डरलाग्दो अजिङ्गरले डस्यो । अजिङ्गरले टोकेको मान्छे कोही बाँचेको छैन, यसैले म पनि मर्छु भन्ने सूचना दिँदा मन आत्तियो र मनकै कारण किसान म¥यो । यो कथाको सन्देश के हो भने मनलाई जस्तो किसिमको सूचना दियो ।

त्यस्तै किसिमले काम गर्छ । यहाँ बर्बादी हुनु या आवादी हुनुमा सूचना नै जिम्मेवार छ ।भनिन्छ बिल गेट्सले आफ्नो सानै उमेरदेखि नै आफ्नो मनमा यस्तो सूचना प्रवाह गरिरहन्थे । क्ष् दयचल तय दभ चष्अज नभन्दै बिल गेट्सले आफ्नो समयमा संसार धनी बनेर देखाइ दिएका थिए । सूचना मात्र दिएर बसेको सायद उनको सपना साकार नहुन पनि सक्थ्यो तर बिल गेट्सले सूचनासँगै कर्म पनि जोडे र सफलता उनै हातमा आयो भाग्य पनि उनकै शिरमा नाच्यो । यहाँ हामीले मनलाई सूचना दिने ढाँचामा नै मार खाएका छौं ।

म जस्तो रोगी अरु को होला, म त यसै रोगले मर्छु कि क्या हो । म जस्तो असफल मान्छे, म जस्तो कमजोर मान्छे, म जस्तो अभागी मान्छे अरु को होला र ? मैंले जति कोशिस गर्दा पनि केही हुँदैन । मेरो तक्दिर नै ठीक छैन आदि आदि नकारात्मक सूचना दिएका हुन्छौ । आखिर यस्तो सूचनाले मनको हालत के हुन्छ होला ? अनुमान पनि गर्न सकिँदैन । यसकारण जीवनमा सफल हुनु छ भने मनलाई सकारात्मक सूचना दिने कला जान्नुपर्दछ ।

जस्तैः हरेक बिहान सबेरै उठेपछि आफ्नो कोठाको एकान्तमा बस्ने र आफूलाई सहज लाग्ने कुनै पनि आसनमा अर्थात् सुखासन बस्ने र गहिरो लामो लामो श्वास नाकबाट लिने नाकबाटै फाल्ने गर्नुपर्दछ । यो श्वासप्रश्वासको क्रिया करिब एक मिनेट जति गरी सकेपछि सामान्य श्वासप्रश्वासमा फर्केर आफू बिल्कुल ध्यान अवस्थामा रहनुपर्छ । यही ध्यान अवस्थामा आफ्नो लक्ष्य ठम्याउने र आत्मसुझाव दिने । जबसम्म म आफ्नो लक्ष्यमा पुग्ने छैन तबसम्म मेरो आफ्नो सारा उर्जा यसैमा लगाउनेछु । जबसम्म म सफल हुँदैन तबसम्म मेरो प्रयास, मेरो पाइला निरन्तर अगाडि बढिरहनेछ ।

मेरो बाटोमा अजिङ्गर आएर बसे पनि अगाडि बढ्नेछु, मेरो बाटोमा बाघ आएर बसे पनि बाघलाई पछारेर अगाडि बढ्नेछु, मेरो बाटोमा पहाड आएर उभिन्छ भने पनि पहाडलाई तोडेर अगाडि बढ्नेछु । तर कसै गरी यो मेरो पाइला रोकिन्न कतै जबसम्म यो पाइलाले लक्ष्य चुम्दैन तबसम्म यो साहसी पाइला हात्ती जस्तै लम्किरहनेछ भन्ने जस्ता शक्तिशाली सूचना प्रवाह गरिराख्नुपर्दछ र आफू लक्ष्यमा पुगेको कल्पना पनि गर्नुस् र हरेक दिन कम्तीमा तीन महिनादेखि ६ महिनासम्म निरन्तर यो अभ्यास गर्नुस अनि मनको जादुमय शक्तिको प्रभाव हेर्दै जानुस् ।

अंग्रेजीमा एउटा भनाइ छ,, Life is not question, life is quest.अर्थात् जीवन सवाल होइन, जीवन खोज हो । जिन्दगी अपार छ, यसै जिन्दगीभित्र के छ, खोज्नुस, खोज गरी सोही कुराको सही सदुपयोग गरी सफल जीवन जिउन सक्यौं भने बस, हाम्रो जीवनको लक्ष्य पनि यही हो ।
– नवीन जुग्जाली, मालिका गाउँपालिका –७, बिम, म्याग्दी