Saturday, June 28, 2025
25.9 C
Beni
25.9 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 468

धान र कोदो उत्पादन बढ्यो

म्याग्दीमा यसवर्ष धान र कोदोको उत्पादन बढेको छ । गत वर्षको तुलनामा धान उत्पादन चार दशमलव ३४ प्रतिशत र कोदो उत्पादन शून्य दशमलव ६५ प्रतिशतले उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ । अनुकूल मौसम, रोगकीराको समस्या नभएको र रासायनिक मलको आपूर्ति सहज हुँदा धान र कोदो उत्पादन बढेका केन्द्र प्रमुख सञ्जीव बाँस्तोलाले बताए । गतवर्ष म्याग्दीमा तीन हजार दुई सय ५० मेट्रिकटन कोदो र ११ हजार नौ सय २९ दशमलव ३३ मेट्रिकटन धान उत्पादन भएको थियो ।

केन्द्रका प्राविधिक सहायक सम्झना आचार्यले यसवर्ष प्रतिहेक्टर धानको उत्पादकत्व तीन दशमलव दुई र कोदोको उत्पादकत्व एक दशमलव दुई मेट्रिकटन भएको जानकारी दिए । तीन हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा १२ हजार चार सय ४८ मेट्रिकटन धान र दुई हजार सात सय ५० हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय मेट्रिकटन कोदो उत्पादन भएको उनको भनाइ छ ।

“जिल्लाका विभिन्न ठाउँमा गरिएको धान र कोदो बालीको क्रप कटिङ विधिबाट उत्पादनको अवस्थाका विषयमा अध्ययन गरेका थियौँ”, आचार्यले भने, “धान र कोदो दुवैको उत्पादकत्व बढेको छ ।” यहाँ गौरी, जेठो बुडो, जर्नेली, पहेँले, मार्सी, ताकमारे, भट्टे र छमरुङ, माछापुच्छ«े, अन्नपूर्ण ३, खुमल ४, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती गर्ने गरिएको छ ।

लेकाली क्षेत्रका किसानले भिरालो जमिनमा गर्न सकिने र सिँचाइ आवश्यक नपर्ने घैया जातको धानखेती हुन्छ । कोदो भने स्थानीय जातको खेती हुनेगर्छ । एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीको प्रायजसो क्षेत्रमा धान खेती हुन्छ । जिल्लाको रत्नेचौर, ज्यामरुककोट, अर्थुङ्गे, पुलाचौर, सिङ्गा, बराङ्जा, बाबियाचौर, कुहुँ, अर्मन, दरबाङ, ताकम, घतान, पात्लेखेत, पिप्ले, भगवती, शिख, घार, भुरुङ–तातोपानी, नारच्याङ, दानालगायत क्षेत्रमा धानखेती हुँदै आएको छ ।

यी क्षेत्र धान उत्पादनका हिसाबले पकेटक्षेत्र मानिन्छन् । धवलागिरि गाउँपालिकाको गुर्जा र लुलाङमा अत्यधिक चिसोका कारण धान उत्पादन हुँदैन । म्याग्दी जिल्लामा कूल ३० हजार आठ सय ५६ हेक्टर खेतीयोग्य जमिन रहेकोमा त्यसमध्ये जम्मा १९ हजार चार सय ९८ हेक्टरमा मात्रै खेती गरिएको छ । खेती गरिएको जमिनमध्ये ६ हजार १३ हेक्टर अर्थात् ३० दशमलव ८ प्रतिशत मात्रै सिञ्चित जमिन छ । यसमध्ये १६ सय ८० हेक्टरमा बाह्रैमहिना सिँचाइ हुन्छ भने भमर हजार तीन सय ३३ हेक्टरको जमिनमा मौसमी सिँचाइ हुने गरेको छ । रासस File photo

रुकुम पश्चिम सोती घटनामा संलग्न थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला

रुकुम पश्चिमको सोती घटनामा संलग्न रही मुद्दा चलाइएका ३४ जनामध्ये २३ जनालाई जन्मकैदको फैसला सुनाइएको छ ।रुकुम जिल्ला अदालतले थुनामा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको हो । आइतबारदेखि रुकुम जिल्ला अदालतमा जारी सुनुवाइपछि न्यायाधीश खड्ग बहादुर केसीको इजलासले घटनामा संलग्न रहेकामध्ये २३ जनालाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको हो ।

त्यसैगरी ज्यान मुद्दामा प्रतिवादी बनाएकी मृतक नवराज विककी प्रेमिका भनिएकी ५४ रुकुम पश्चिम ३६, उनकी आमा र भाइलाई जातीय छुवाछुतमा दोषी ठहर गर्दै २ वर्षको जेल सजाय ठहर गरिएको छ । घटनामा संलग्न भनिएका ८ जनालाई भने रुकुम जिल्ला अदालतले सफाइ दिएको अदालतकी श्रेष्तेदार मन्दिरा शाहीले बताइन् ।

यसअघि सर्वोच्च अदालतले ८ जनालाई थुनामुक्त गर्ने आदेश दिएको थियो । २०७७ जेठ १० गते रुकुम पश्चिम जिल्लाको चौरजहारी नगरपालिका वडा नम्बर ८ सोतीमा नवराज विकसहित ६ जना किशोर तथा युवाको हत्या भएको थियो ।

प्रेमिका लिन भनी जाजरकोटबाट रुकुम पश्चिम गएका किशोर नवराज बिक तथा उनका साथीहरूको समूहलाई सोतीका स्थानीय बासिन्दाहरूले कुटपिट गरी सेती नदीमा बगाई हत्या गरेको आरोपमा नेपाल सरकारले ३४ जनालाई मुद्दा चलाएको थियो ।

३४ जनालाई प्रतिवादी बनाएर कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुतको कसुरमा मुद्दा दायर भएको थियो । २०७७ साल जेठ ३२ गते रुकुम जिल्ला अदालतमा दर्ता भएको मुद्दामा प्रतिवादीको सङ्ख्या बढी हुँदा सुनुवाइमै लामो समय लागेको थियो । मुद्दा दर्ता भएको ३६ महिनापछि उक्त मुद्दामा आइतबारदेखि निरन्तर सुनुवाइ गरी मंगलबार फैसला आएको हो ।

२१ औं अन्तर मावि जेसीज कप फुटबल प्रतियोगिताको उद्घाटन

म्याग्दीमा २१ औं अन्तरमावि जेसिज कप फुटबल प्रतियोगिता सुरु भएको छ । मंगलबार उक्त प्रतियोगिताको गण्डकी प्रदेशकी सांसद विमला गौचनले एक कार्यक्रमका विच उद्घाटन गर्नुभयो ।

म्याग्दी जेसीजको मुल आयोजनामा सदरमुकाम बेनीमा मंसिर १९ गतेदेखि २२ गतेसम्म हुने प्रतियोगिता सदरमुकाम बेनी स्थित खुल्ला मञ्चमा संचालन हुने प्रतियोगिताको जेसीज सचिवालयमा आयोजित उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद गौचनले विद्यालयस्तरको फुटबल प्रतियोगिताबाट म्याग्दीमा फुटबल खेलाडी उत्पादन हुने गरेको बताउनुभयो ।

त्यस्तै बेनी नगरपालिकाका मेयर सुरत केसीले सदरमुकाम बेनीस्थित खेलकुद मैदानलाई आश्वासन दिएपनि संघीय र प्रदेश सरकारबाट बजेट नआउँदा अलपत्र परेको बताउनुभयो । उहाँले माथिल्ला दुई सरकारबाट बजेट आएमा नगरपालिकाले साझेदारीमा खेलमैदानको संरचना पूरा गर्न सकिने बताउनुभयो।

उद्घाटन कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठ,म्याग्दी जेसीजका संस्थापक अध्यक्ष एवम् बेनपा ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीले कक्षा १० सम्मका विद्यार्थी खेलाडीहरुले सहभागीता जनाउने जेसीज कप फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभएको थियो ।

जिल्लामा फुटवल खेलाडीहरुको उत्पादन र खेलप्रतिको आकर्षण बढाउन जेसीज कप प्रतियोगिताले महत्वपूर्ण भूमिका खेलेको बताउँदै आगामी बर्ष समेत निरन्तरता दिन कोष सहित थप आर्थिक ब्यवस्थापनमा जोड दिइएको थियो ।
प्रतियोगितामा जिल्लाका विभिन्न २३ विद्यालयले सहभागीता जनाएका छन् ।

म्याग्दी जेसीजले हरेक बर्ष आयोजना गर्ने यस प्रतियोगिताको टाईटल प्रायोजकमा राम–विमला फाउण्डेशन रहेको फुटबल प्रतियोगिताका मुल संयोजक कार्यकारिणी उपाध्यक्ष विनोद घर्तीले बताउनुभयो । प्रतियोगितामा बिजेता विद्यालयलाई रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र सहित नगद रु ५२ हजार २२२ र उपबिजेतालाई ट्रफि, मेडल र प्रमाणपत्रको साथमा नगद रु ३२ हजार २३२ पुरस्कार प्रदान गरिनेछ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि धमानसिंह अवार्ड, सर्वाधिक गालेकर्ता लक्ष्मी पुतली अवार्ड, उत्कृष्ट गालेरक्षक इन्द्र अवार्ड, उत्कृष्ट डिफेन्डर सरस्वती अवार्ड, उत्कृष्ट स्ट्राईकर रामजी अवार्ड, उत्कृष्ट मिडफिल्डर लालिगुराँस अवार्ड, राईजिङ प्लेयर धन अवार्ड, उत्कृष्ट कोच कृष्णप्रसाद एककुमारी अवार्ड, अनुशासित टिम झलक खगेश्वरी अवार्ड नगद रु २ हजार ५ सय र ट्रफिको व्यवस्था गरिएको छ । साथै सेमि फाईनलिष्ट दुई टिमलाई नगद रु ५÷५ हजार र प्रत्येक खेलमा म्यान अफ द म्याचको पुरस्कार पनि प्रदान गरिने छ ।

अन्तर माविस्तरीय फुटबल प्रतियोगिताले विद्यालयस्तरमा लुकेर रहेको खेल प्रतिभालाई उजागर गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रतियोगिताको सह– प्रायोजकमा मिनबहादुर विश्वकर्मा स्मृति कोष, शैक्षिक प्रायोजक एभरेष्ट ग्लोबल कन्सल्टेन्सी, होटल प्रायोजक होटल डाँफेले गरेको छ ।

कार्यक्रममा रेफ्रिको तर्फबाट निशान गुरुङ र खेलाडीको तर्फबाट प्रकाश माविका टिम क्याप्टेन विनोद तामाङले अनुशासन र मर्यादापूर्वक खेल खेलाउने र खेल्ने सपथ ग्रहण गर्नुभएको थियो। म्याग्दी जेसीजका शाखा अध्यक्ष सुमन बानियाँकोे अध्यक्षता, प्रतियोगिताका मुल संयोजक विनोद घर्ती क्षत्रीको स्वागत र महासचिब कुमार बानियाँको सञ्चालनमा उद्घाटन कार्यक्रम सम्पन्न भएको थियो ।

यसैबीच नेपाल जेसिजको प्रकरण अन्तर्गत केही समय अघि बेनीमा सम्पन्न ‘एउटै परिवार एउटै समुह र एउटै लक्ष’ विषयक निवन्ध लेखन प्रतियोगितामा विजेताहुनेहरुलाई पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा प्रथम हुने जामुनाखर्क माविका विनिता सुवेदी, द्वितिय हुने न्यू वेष्ट पोइन्ट आवासीय माविका अनुषा रोका र तृतिय हुने लिटल गार्डेन एकेडेमीका सुजता खत्रीलाई नगद सहित प्रमाणपत्रले पुरस्कृति गरिएको थियो ।

छुपडीमा सोलार…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दानाको खोपिल्टाको एक घरमा जडान गरिएको सोलार । लघुजलविद्युत् परियोजना नभएका र केन्द्रीय लाइन नपुगेका म्याग्दीका भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित बस्तीमा सोलार जडान भएपछि रातीको समयमा घरायसी काम गर्न, बालबालिकालाई पढ्न, विद्युतीय उपकरण चलाउन सहज हुने गरेकोे छ । अति दुर्गम क्षेत्रमा अझैपनि विपन्न उज्यालोका लागि टुकीमा निर्भर हुनुपर्ने बाध्यता समेत छ । तस्वीर सौजन्य दिवा पुन, उपाध्यक्ष अन्नपूर्ण गाउँपालिका, म्याग्दी

 

सुन्दर मुरलीवाङ बस्ती…

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ३ दाना काभ्रे, मुरलीवाङ बस्ती आसपास र त्यहाँबाट देखिएको दृष्य । पर्यटकीय एवम् धार्मिक दृष्टिकोणले पनि महत्वपूर्ण दानाका यस क्षेत्रमा आलु, जौ, उवा, फापर, सिमका साथै जडिबुटी उत्पादनको समेत सम्भावना भएपनि जनशक्तीको अभावका कारण ओझेलमा परेको छ ।

बैदेशिक रोजगारीका कारण गाउँबस्तीमा प्रयाप्त जनशक्ती नहुदाँ ब्यवसायीक कृषिखेतीको सम्भावना भएका बस्तीहरुमा घरायसी प्रयोजनका लागि मात्रै उत्पादन गर्ने गरिएको छ । तस्वीर सौजन्य दिवा पुन उपाध्यक्ष, अन्नपूर्ण गाउँपालिका, म्याग्दी

न्यु दरबाङ महिला सहकारीको अध्यक्षमा सापकोटा

म्याग्दीको मालिका गाउँपालिका–६,दरबाङ स्थित न्यु दरबाङ महिला बचत तथा ऋण सहकारीको अध्यक्षमा लक्ष्मी सापकोटा आचार्य चयन हुनुभएको छ । सहकारीको ११ औं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनबाट सापकोटा आचार्य अध्यक्षमा चयन हुनुभएको हो ।
सहकारीकी प्रवन्धक सोलिना किसानका अनुसार ,उपाध्यक्षमा गौमति चपाई ,सचिवमा हरिमाया विक,कोषाध्यक्षमा सावित्रा कँडेल निउरे चयन हुनुभएको छ । त्यसैगरी सदस्यहरुमा मिना फगामी ,शर्मिला पुन ,चित्रा सिंह पुन ,लेसकुमारी घर्ती ,तुलकुमारी शर्मा ,कल्पना गुरुङ,कृष्णा तुलाचन चयन हुनुभएको छ ।
लेखा समितिको संयोजक ममसरा कार्की तथा सदस्यहरुमा देबी रोका तथा इन्द्रा तुलाचन रहनुभएको छ । ७ सय दश जना शेयर सदस्य संख्या रहेको सहकारीले कुल कारोबार २ करोड ४९ लाख रुपैयाँ गरेको छ ।
सहकारीको शेयर पुँजी ६० लाख ५४ हजार ६०० रुपैयाँ रहेको छ भने बचतर्फ एक करोड ९ लाख र लगानीतर्फ एक करोड ६१ ला रुपैयाँ रहेको छ । वार्षिक साधारणसभा तथा अधिवेशनको मालिका गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेबी घर्ती मगर पुनले महिलाहरुमा बचत गर्ने बानीको विकास गर्न सहकारीले सहयोग गरेको बताउनुभयो ।
उहाँले सहकारी मार्फत महिलाहरुलाई आर्थिक रुपमा बलियो र शसक्त बनाउँदै लैजाने बताउनुभयो । पुँजि लगानी गरी सहकारीले महिलाहरुलाई व्यवसायीक बनाइ आत्मनिर्भर बनाउनमा मदत गर्नुपर्नेमा उहाँको जोड थियो । साथै सहकारीहरुले उत्पादनमुलक क्षेत्रमा लगानी बढाउनुपर्ने उहाँको भनाइ थियो ।
कार्यक्रममा संस्थाकी सल्लाहकार खरमाया विटालु ,शेयर सदस्यहरु याममती रोका अर्मजा ,प्रेममाया जुग्जाली र कल्पना गुरुङले सहकारीले गाउँगाउँमा समेत बचत गर्ने बानीको विकास गर्नमा ठुलो भुमिका खेलेको बताउनुभयो । संस्थाले दुई जना कर्मचारी , दुई उत्कृष्ट समुह, दुई जना बचतकर्ता र एक जना उत्कृष्ट कारोबारकर्तालाई पुरस्कृत गरेको छ । ममसरा कार्कीको अध्यक्षता, सचिव लक्ष्मी सापकोटा आचार्यको सञ्चालन ,उपाध्यक्ष चपाईको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

साइकल यात्रा ! पश्चिम म्याग्दी हुदै गूर्जा-ढोरपाटन घुमेर मालढुंगामा टुंगियो (फोटो फिचर)

पोखरा हुँदै पर्वतको मालढुंगाबाट शुरु भएको साइकल यात्रा म्याग्दीको बेनी, दरवाङ, ताकम, लुलाङ, गुर्जा हुँदै बागलुङको ढोरपाटन, वुर्तिवाङ, बागलुङ बजार हुँदै मालढुंगा पुगेर सकिएको छ ।

साइक्लिस्ट दीपक श्रेष्ठ र कमला पुनले एकहप्ता लामो साइकल यात्रा पुरा गर्नुभएको हो । गएको मङ्सिर १० गते शुरु भएको यात्रा १७ गते आएर सकिएको हो ।

समुन्द्री सतहदेखि ३ हजार २ सय २० मिटर उचाइ रहेको गुर्जामा पुग्न ५ दिन लागेको थियो । गुर्जा हुँदै ढोरपाटन उपत्यका पुगेर आइतबार बागलुङ बजार हुँदै साइकलमै मालढुंगा पुगेर त्यहाँबाट गाडीमा पोखरा फर्कीएको उहाँले टेलिफोन मार्फत जानकारी दिनुभयो ।

पहिलो पटक सन १९८५ मा अल नेपाल साइकल यात्रा गर्दै माउण्टेन बाइकलाइ नेपालमा चिनाउने भुमिका खेल्नु भएका श्रेष्ठ उच्च पहाड तथा हिमाली क्षेत्रमा साइक्लिङ गरेर विश्व रेकर्ड राख्नु भएको छ ।

काठमाडौँका ६१ वर्षीय दिपक श्रेष्ठ र म्याग्दीको रुम डाँडागाउँ जन्मस्थान भई हाल ललितपुर बस्दै आउनु भएकी कमला पुन मगरले म्याग्दीको गुर्जा हुँदै ढोरपाटनलाई परिक्रमा गर्नु भएको हो ।

महिला भएर पनि साहसीक यात्रामा जाने भनेर ग्रामिण भेकमा महिला तथा बालिकाहरुले निकै खुशी भएका थिए कमला सुनाउनुहुन्छ । यो रुटमा साइकल यात्रा गर्नकालागि दुई वर्ष देखिको प्लानिङ गरेर बल्ल अहिले मौका मिलेको कमलाले बताउनुभयो ।

यस पहिला काठमाडौं देखि रारा ताल सम्मको यात्रा पनि गरिसकेको उहाँले बताउनुभयो । उहाँ भन्नुहुन्छ विगतमा जति यात्रा गर्दा पनि नपाएको चर्चा र आनन्द मलाइ गुर्जा हुँदै ढोरपाटन पुग्दा मिलेको छ ।

कार्वन उत्र्सजन बिनाको यात्रा साइकल भएको हुनाले साइकल यात्रा निकै बेष्ट हुन्छ । सरकारले हप्तामा एक दिन मात्रै सरकारी गाडी बन्द गरेर पैदल वा साइकल यात्रा गर्न प्रोत्साहन गर्ने हो भने कार्वन उत्सर्जन कमी हुनका साथै स्वस्थ्यमा पनि केही प्रभाव पर्ने पुनको अपेक्षा छ ।

पोखराबाट साइकल यात्रा थाल्नु भएका उहाँहरुले पहिलो दिन पर्वतको मालढुङ्गा बास बस्नु भएका उहाँहरु दोस्रो दिन पश्चिम म्याग्दीको ताकम पुग्नु भएको थियो । ताकमबाट साइकल यात्रा थालेर तेस्रो दिन लुलाङ पुगेर चौथो दिन यात्रा थालेका उहाँहरु देउराली पुगेर बास बसेको दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

त्यस्तै पाँचौ दिन गूर्जा पुगेपछि छैठौं दिन गुर्जाखानी बाट रुघाचौर पार गरेर रुघाघाट, सातौं ढोरपाटन हुँदै बुर्तीबाङ र आठौं दिन बुर्तिवाङबाट मालढुंगा पुगेर साइकल यात्रा सकिएको श्रेष्ठले जानकारी दिनुभयो । नेपालका पुराना तथा अनुभवी साइक्लिस्ट दिपक दाजु संगको यात्राले थप उर्जा मिल्यो र अझ यो यात्रा निकै रमाइलो र अविष्मरणीय चाँही पक्कै भयो कमला पुनले भन्नुभयो ।

कास्की हुदै थालेको यात्रामा पर्वत म्याग्दी पार गरेर बागलुङ सम्मको यात्रा हुँदा भेटेका उकाली ओराली एवम् घना जङ्गल, झरना तथा ग्रामिण बस्तीबाट साइकलमा यात्रा गर्दा स्थानीयबासीको न्यानो मायाँले समेत निकै उत्साह थपेको श्रेष्ठको भनाई छ । नेपालका विभिन्न भूभागमा पुगेर किर्तिमानी कायम गरेका श्रेष्ठसँगै साइकल यात्रामा आउनुभएकी कमला पुनले केही ठाउँमा साइकल बोकेर यात्रा गरेपनि अन्य ठाउँमा सहजै साइकलमै पुगेको बताउनुभयो ।

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दै गएको ढोरपाटन क्षेत्रमा साइकल यात्रु पुग्दा त्यहाँका बासिन्दा तथा जनप्रतिनिधिले पनि न्यानो स्वागत गरेको उहाँहरुले सुनाउनुभयो । साइकलयात्रीहरुले पोखरा, पर्वतको कुस्मा, मालढुङ्गा, म्याग्दीको बेनी बजार, गुर्जाखानी, रुघाचौर गुर्जाघाट हुँदै ढोरपाटन उपत्यका पुगरेर फर्किनुभएको हो ।

एक हप्ता लामो साइकल यात्रामा उहाँहरुले ढोरपाटन क्षेत्र समेत परिक्रमा गर्नु भएको हो । उहाँहरुलाई म्याग्दी धवलागिरी गाउँपालिका गुर्जाका वडा अध्यक्ष झकबहादुर छन्त्यालले गुर्जामा तथा बागलुङको ढोरपाटन नगरपालिका–९ का अध्यक्ष खिमबहादुर घर्ती मगरले स्वागत गर्नु भएको थियो ।

यहाँ पहिलो पटक साइकल यात्रा मार्फत ढोरपाटनको परिक्रामा गरेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । यसले पर्यटन प्रवद्र्धन गर्न टेवा पुग्ने भन्दै ढोरपाटनमा साहसिक पर्यटनको पनि संभावना छ भनेर प्रचारप्रसारमा आएमा भूमिका खेलेको बताउनुभयो ।

बिस्थापन हुँदै कलात्मक चित्र कोर्ने र लेख्नेहरु

कुनै समय निकै लोकप्रिय मानिने आर्ट अहिले पाउनै मुस्कील हुन थालेको छ । म्याग्दीको बेनी क्षेत्रमा हेर्ने हो भने पनि १५÷२० वर्ष पहिला निकै राम्रो आम्दानीको श्रोत र कमाउन सक्ने मजबुत व्यवसाय मानिने भए पनि अचेल त्यो व्यवसाय देख्न पनि मुस्कील प्राय छ ।

ठूला भिडभाग अनि आकर्षक महोत्सवहरुमा हुने ठूला ब्यानरहरुमा लेखिने शब्दहरु अचेल प्रिन्ट भएर आउन थालेसँगै उनीहरु बिस्थापन हुदै गएका हुन् । विभिन्न कार्यक्रमको ब्यानर लेख्नुका साथै व्यवसायीक फर्महरु एवम् कार्यालयको होर्डीङ बोर्ड लेख्ने काम अहिले आधुनिकता संगै हराउन थालेको छ ।

सदरमुकाम बेनी बजारमा पुरानो सममा नाम चलेका आर्ट गर्नेहरुले अहिले त्यो पेशा तथा व्यवसायबाट बाहिरीएका छन् ।बेनी नगरपालिका–६ अर्थुङ्गेका सुरेन्द्र रानाले २०६१ देखि बेनी बजारको न्यूरोडमा थाल्नु भएको सुरेन्द्र आर्टमा अहिले सुरेन्द्र सहित चार जनाले काम गर्नुहुन्छ ।

गाउँबाट बजार झरेर बजारमा प्रतिस्पर्धा गर्न कठिन हुन्छ कि भन्दै थालेको व्यवसायमा उहाँ १८ वर्ष देखि टिकिरहनु भएको छ । सुरेन्द्र सुनाउनुहुन्छ–‘कुनै समय कठिन हुन्छ कि भन्दै जोखिम मोलेरै शुरु गरेको व्यवसायमा सिक्न आउनेहरु धेरै आए पनि उनीहरुले निरन्तरता दिएनन् तर अहिले सम्म म टिकेको छु चार जनालाई रोजगारी पनि भएको छ ।’

अहिले बेनी बजारको मुख्य केन्द्र बीरेन्द्र चोकमा ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गितका गायक गायिकाको चित्र हामीहरु नै कोर्दै छौं त्यसले पनि आम मानिसले कलाको बारेमा थाहा पाउने राना सुनाउनुहुन्छ ।

म्याग्दीको बेनी नगरपालिका–७ का पुराना आर्ट गर्नेमा सरोज श्रेष्ठले आफ्नो सरोज आर्ट बन्द गर्नुभयो । म्याग्दीमा व्यवसायीक रुपमा पहिलो आर्ट व्यवसायी सरोज पछि चितवनका एक व्यवसायीले म्याग्दीमा आएर शुरु गर्नुभएको एनके आर्ट पनि बन्द भएको दशक बित्न लाग्यो ।

त्यस्तै बेनी नगरपालिका–४ तातोपानीमा आर्ट गर्ने बिष्णुबहादुर खत्रीले अहिले आर्टका अलावा साउण्ड सिस्टमका साथै घडि रेडियो मोबाइल बिक्रि तथा मर्मत गर्ने गर्नुहुन्छ । तातोपानीमा व्यवसाय चलेन अनि मालिका गाउँपालिका–६ दरवाङमा आएर व्यवसाय नै केही परिमार्जन गरेरर नयाँ तबरले चलाएको छु–उहाँले भन्नुभयो ।

बेनीमा १५ वर्ष अगाडी सम्मका नामी आकर्षक चित्र कोर्ने र बोर्ड लेख्ने कला भएका बालकुमार रोका अहिले नेपालमै हुनुहुन्न। बिगतमा म्याग्दीको सदरमुकाम बेनी बजारमा राम आर्ट, सञ्जय आर्ट, प्रकाश आर्ट, श्रेष्ठ कला केन्द्र, बि रोका आर्ट, एनके आर्ट, सरोज आर्ट लगायतका झण्डै दर्शन कलात्मक चित्र कोर्ने क्षमता भएका फर्महरु थिए ।

हाल सुरेन्द्र आर्ट र भिजन आर्ट गरी दुई वटा मात्रै आर्ट सञ्चालनमा रहेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालको भनाई छ । आर्टलाई पनि समय सापेक्ष परिमार्जनको खाँचो रहेको यसले पनि देखाउने उहाँको कथन छ ।

झापा घर भएका प्रेम तामाङले बेनी बजारमा व्यवसाय गर्न थालेको दोश्रो दशक चल्दै छ । झापाबाट म्याग्दी आएर भिजन आर्ट थाल्नु भएका उहाँले आर्टलाई मुख्य पेशा बनाउँदै गर्दा पनि फ्लेक्सले आफ्नो व्यवसायलाई गिजोलेको बताउनुहुन्छ । डिजिटल प्रिन्टले गर्दा हातले क्यानभासमा उतार्ने चित्रलाई बिस्थापित गरेको जस्तो हुने उहाँको कथन छ ।

अहिले छिटफुट रुपमा व्यक्तिगत तबरले आर्ट गर्नेहरुको संख्या भए पनि व्यवसायीक रुपमा काम गर्नेहरु नभएको सुरेन्द्र रानाको भनाई छ । भाइहरु आउँछन् सिक्छन् जान्छन् तर उनीहरुले व्यवसाय सञ्चालन गर्न सक्ने अवस्था छैन । आर्ट भन्दा पनि प्रिन्टलाई बढी प्राथमिकता दिने हुँदा समस्या भएको हो । प्रिन्ट भन्दा आर्ट टिकाउ हुने भए पनि प्रिन्ट तर्फको आकर्षणले गर्दा व्यक्तिमा भएको क्षमताको प्रयोग हुन नसकेको अवस्था छ।

Adv

मुस्ताङमा हिमपात

मुस्ताङमा यस याममा पहिलो पटक हिमपात भएको छ । हिमपातपछि चिसो बढेसँगै यहाँको जनजीवन कष्टकर बन्दै गएको छ । सोमबार बिहानैदेखि हिमपात भएको हो ।

उपल्लो मुस्ताङमा हिमपात सुरु भएको लो–घेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष राजु विष्टले बताए । उनका अनुसार यो हिमपातले किसानको उत्पादनलाई समेत बृद्धी गर्ने र प्रदुशित वातावरणलाई समेत सन्तुलित बनाउने बताए ।

विहानैदेखि हिमपात भए पनि  यातायताका साधान पनि निरन्तर चलिरहेका छन् । हिमपात भएपछि जनजीवन कष्टकर भए पनि किसान भने हर्षित भएका छन् । लामो समय वर्षा नहुँदा किसानका बाली सुक्न थालेका थिए । यो सिजनमा परेको पानीले बालीनाली राम्रो हुने स्थानीय इन्द्रमान गौचनको भनाइ छ । यसभन्दा अगाडि मौसम बदलिराखे पनि हिमपात हुननसकेको उनको भनाइ छ ।

विहानैदेखि परेको हिमपातले स्थानीयलाई कामधन्दा र पशुचौपायालाई दाना तथा घाँस खुवाउन समस्या भइरहेको गौचनले बताए ।उनले भने, “यस वर्ष पहिलो पटक हिउँ परेको छ, अहिले पनि निरन्तर परिरहेको अवस्था छ, यति बेला परेको हिउँले बालीनालीलाई निकै राम्रो गर्छ, लामो समयसम्म पानी नपर्दा लगाएका बाली पनि सुकेर मर्न थालेका थिए, अब सप्रिने भए ।” रासस

 

बरंजामा अपाङ्गता परिचयपत्र वितरण, ४७ जना लाभान्वित

३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसर पारेर म्याग्दीको मंगला गाउँपालिका–३, बरंजामा अपाङ्गता परिचयपत्र वितरण भएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत वडास्तरमा अपाङ्गता भएका व्यक्तिहरुलाई परिचयपत्र वितरण गर्नुका साथै सचेतनामूलक कार्यक्रम गरिएको हो ।
‘दीगो विकास लक्ष्य प्राप्तिको प्रतिबद्धता ः अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धता’ भन्ने मूल नारासहित मंगला गाउँपालिका म्याग्दीको आयोजना, सामाजिक विकास कार्यालय म्याग्दी र मिलन म्याग्दीको सहकार्य तथा मंगला गाउँपालिकास्तरीय अपाङ्ग सञ्जाल बाबियाचौरको समन्वयमा अपाङ्गता परिचयपत्र विरतण गरिएको आयोजकले जनाएको छ ।
उक्त कार्यक्रममा (क) वर्गको १ जना, (ख) वर्गको १२, (ग) वर्गको ३ र (घ) वर्गको २ जना गरी कुल १८ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ भने पुरानो २९ जनाको अपाङ्गता परिचयपत्र नवीकरण गरी जम्मा ४७ जना लाभान्वित भएका छन् । व्यानरवाचन गरेर कार्यक्रमको उद्घाटन गर्दै मंगला गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षत्रीले अपाङ्गता भएकाहरुको जीवनरक्षा र हेरचाहको लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि गाउँपालिकाको सेवालाई वडास्तरमा सञ्चालन गरी नागरिकलाई राहत दिइने बताउनुभयो ।
अपाङ्गता परिचयपत्र वितरण कार्यक्रममा बेनी अस्पताल म्याग्दीका मेडिकल अधिकृत डाक्टर प्रशान्त गुराँगाईँले लाभग्राहीहरुको स्वास्थ्य परीक्षण गर्नुभएको थियो । मंगला–३, बरंजाको कार्यवाहक वडा अध्यक्ष टिकादेवी विश्वकर्माको अध्यक्षता र गाउँपालिकाका सामाजिक तथा क्षमता विकास अधिकृत राजेन्द्र आचार्यले स्वागतसहित कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
गाउँपालिकाको महिला विकास निरीक्षक अनिताकुमारी शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा मिलन म्याग्दीका अध्यक्ष दिलमाया बिटालु र गाउँपालिकास्तरीय अपाङ्ग सञ्जाल मंगलाका अध्यक्ष सुनिल श्रीपालीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा मंगला–४, बरंजाका कार्यवाहक वडा अध्यक्ष होममाया बुढाथोकी, वडा सदस्य कुलबहादुर थापा, बरंजा स्वास्थ्यचौकीका अहेव रोशनकुमार महतो, वडास्तरीय अपाङ्ग सञ्जाल बरंजाका अध्यक्षद्वय रसिक केसी, युकुमारी विक, वडा कार्यालय र स्वास्थ्यचौकीका कर्मचारी तथा स्वास्थ्यकर्मीहरुको सहभागिता सहभागिता रहेको थियो ।