Saturday, June 28, 2025
22.2 C
Beni
22.2 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 470

जीवन रुपान्तणको लागी एक दिवसीय कार्यक्रम

मनोक्रान्तीका प्रणेयता, दार्शनिक तथा आध्यात्मीक डा. योगी विकाशानन्द  तथा रेकी मास्टर कमलेश्वरी ज्यूको सानिध्यमा ज्ञान योग, ध्यान, हिप्नोसिस लगायत जीवन रुपान्तणको लागी एक दिवसीय कार्यक्रम सम्पन्न भएको छ ।  नविन आनन्द योग केन्द्र नेपालको आयोजनामा २०८० मंसिर १५ गते जिल्ला समन्वय समितिको सभाहलमा डा. योगी विकासानन्दले आध्यात्मीक सम्बन्धी विचार राखेका थिए ।

योग र ध्यान मार्फत मात्रै खुसी, आनन्द सम्भव भएको भनाइ । कार्यक्रममा हिप्नोसिस, इनर्जी परिक्षण लगायतका डेमो प्रस्तुत गरिएको थियो । संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षता, योग प्रशिक्षक तथा सदस्य दिपेन्द्र घमालको स्वागत, सन्दिप खत्रीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा म्याग्दी जिल्लाका विभिन्न स्थानहरुबाट मानिसहरुको सहभागीता रहेको थियो । सदस्य दिपेन्द्र घमालले बेनीबजारमा नियमित योग साधनाको लागि हल निर्माणको अभियान जारी रहेको जानकारी गराउँदै सबैलाई आवश्यक सहयोग र हातेमालोको लागि अनुरोध गर्नु भयो । हाल बेनीबजार सहित म्याग्दीका विभिन्न स्थानहरुमा शाखा विस्तार गरी नियमित रुपमा योग साधना सञ्चालन भईरहेको समेत जानकारी गराउनु भयो ।

लागतको पर्खाइमा म्याग्दीको सौरबोट

गलेश्वर (म्याग्दी), १७ मङ्सिर । आयआर्जन हुने प्रशस्तै स्रोत र सम्भावना रहेर पनि सरोकारवालाको बेवास्ताका कारण म्याग्दीको सौरबोट ओझेलमा परेको छ । समुन्द्री सतहदेखि झण्डै दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरस्थित गाजने गाउँ नजिकै पर्ने सौरबोट लेकाली फलफूल, जडीबुटी र पर्यटनका लागि महत्त्वपूर्ण ठाउँ भएर पनि उपयोगविहीन बनेको हो ।

यहाँ वर्षौंदेखि खेती गर्न छाडेको एकसय रोपनीभन्दा धेरै जग्गा बाँझो छ । धार्मिक, ऐतिहासिक र पर्यटकीय हिसाबले महत्त्व बोकेको सौरबोट क्षेत्रमा डिम्बर, मैडल, हाडेकाफल, गोफ्लो, ऐँसेलु, जनमन्त्रो, चुत्रो, घँयरु, गुल्टुङलगायत लेकाली फलफूल प्रशस्तै मात्रामा पाइन्छन् ।

यहाँको वन क्षेत्रमा अहिलेको समयमा निगालोको टुसा र निगुरो तथा डौँडे पनि पाइने हुँदा व्यावसायिकरुपमा जङ्गली फलफूल र जडीबुटीको खेती गर्न सकिने स्थानीय रामबहादुर बानियाँले बताए । उनका अनुसार सौर प्रजातिका बोटबिरुवा धेरै भएकाले यस ठाउँको नाम सौरबोट राखिएको हो ।

यो ठाउँ पर्यटकीय दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको गैरसरकारी संस्था मिलन म्याग्दीका पूर्वध्यक्ष एवं स्थानीय बुद्धिजीवी शिव बानियाँले बताए । उनका अनुसार तरेली परेका डाँडाकाँडा र लेकाली बस्तीको सौन्दर्यको साथमा पवित्र कालीगण्डकी तथा रघुगङ्गा नदीको बहाव देखिने सौरबोटबाट मौसम खुल्दाको समयमा बिहान सूर्योदयसँगै धौलागिरि र अन्नपूर्ण रेञ्जका सबै हिमाल छर्लङ्ग देखिन्छन् ।

हरियाली जङ्गल, वनपाखा, वनफूल, विभिन्न प्रजातिका बोटबिरुवाको हरियालीमा सजिएको सौरबोटको प्रचारप्रसार गर्ने हो भने बेनी आएका पर्यटक यस क्षेत्रमा आउने बलियो सम्भावना रहेको बानियाँको भनाइ छ ।

स्थानीयवासीसमेत रहनुभएका पत्रकार प्रताप बानियाँका अनुसार सौरबोटमा जडीबुटीतर्फ भकिम्लो, सतुवा, जटामसी, टिम्मुर, चिराइतो, सिल्टीम्युर, गुराँसलगायत पाइनुका साथै यहाँको वनजङ्गल क्षेत्रमा मृग, चितुवा, बाघ, कालिज, चिर, तित्रो, चाखुरा, काँडेभ्याकुर र ढुकुरसहित वन्यजन्तु जनावर तथा चराचुरुङ्गी पाइन्छन् । विगतमा स्थानीयले खेती गर्न छाडेर अहिले बाँझो रहेको जग्गामा फलफूल, आलु, फापरलगायत लेकाली उत्पादन लगाउन सकिने उनले बताए ।

यहाँको जमिनमा गरा सुधार गरेर मकै, जौ, कोदो, कागुनोलगायत लेकाली उत्पादन दिने खेती गर्न सकिने बानियाँले बताए । उनका अनुसार चिसो हावापानीका साथै हिमालको सम्मुखमा पर्ने भएकाले सौरबोटमा व्यावसायिकरुपमा स्याउ खेतीसमेत गर्न सकिन्छ । पर्याप्त जमिन भएको सौरबोट क्षेत्रलाई पर्या–पर्यटनका माध्यमबाट विकास गर्न सकिने उत्तिकै सम्भावना रहेको उनले बताए ।

त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि नजिकको दूरीमा पर्ने सौरबोटमा वनभोज खाने ठाउँ बनाएर पनि रमाउन सकिन्छ । तत्कालीन बाइसेचौबिसे राज्य रहेका बेला रानीले कपाल कोर्ने डिलसमेत रहेको सौरबोट क्षेत्र मनोरम दृश्यावलोकनको उपयुक्त स्थलका रुपमा रहेको छ । कृषि उत्पादन, पर्यटन तथा आर्थिकलगायत क्षेत्रको सम्भावना बोकेको यस क्षेत्रको विकास र प्रवर्द्धन गर्नका लागि सम्बन्धित निकायले पनि ध्यान दिनु आवश्यक रहेको उनको भनाइ थियो ।

मोना हङकङले बनाइदियो इटालियन बेस क्याम्पमा पदमार्ग र ‘मोना भ्यु पोइन्ट’

म्याग्दी प्रवासी नेपाली संघ (मोना) हङकङले संसारको सातौँ अग्लो धौलागिरी हिमालको इटालियन बेस क्याम्प नजिकैको डाँडामा पदमार्ग र ‘मोना भ्यु पोइन्ट’ बनाएको छ ।  धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पर्यटकलाई इटालियन बेस क्याम्प आसपासको हावापानीमा घुलमिल हुने गरी ५ लाखभन्दा बढी खर्च गरी पदमार्ग र आरामका लागि भ्यू प्वाइन्ट बनाएर स्थानीयलाई हस्तान्तरण गरिएको छ

धवलागिरी गाउँपालिका वडा नं ४ का वडा सदस्य हरि तिलिजाको नेतृत्वमा सम्पन्न भएको उक्त पदमार्ग र भ्यू पोइन्ट मोना हङकङका अध्यक्ष पुनमगर र सचिव फगामी पुगेर समुदायलाई हस्तान्तरण गरेका छन् । धौलागिरी आधार क्षेत्रसम्म पुग्ने पदयात्रीहरू इटालियन क्याम्पमा दुई रात बस्छन् ।

माथिल्लो क्षेत्रको हावापानी अनुकुल बनाउन बेसक्याम्प नजिकै रहेको डाँडामा स्वदेशी तथा विदेशी पर्यटक जाँदा दुर्घटनाको जोखिमलाई मध्यनजर गरी पदमार्ग र केही समय आराम गर्न भ्यु पोइन्ट बनाएको मोनामोना हङकङका अध्यक्ष कर्ण पुन मगरले बताए । ‘स्थानीय समुदायलाई गरेको बाचा पूरा गरेका छौ,‘अब पदमार्ग हुदै आवतजावत समेत सहज भएको छ’ अध्यक्ष पुनले भने ।

करिब ३८ सय मिटर अग्लो डाँडालाई भ्यु पोइन्टमा करिब २० जनाभन्दा बढी बस्न मिल्ने बनाइएको मोना हङकङका सचिव जेवेन्द्र फगामीले बताए । गतबर्ष असोज २६ गते आशाकी ट्रेक्स एण्ड एक्सपिडिसनको प्राविधिक सहयोगमा मोना हङकङका अध्यक्ष कर्ण पुनको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष प्रमोद गिरि,सचिव जेवेन्द्र फगामी, सल्लाहकार राजु गर्बुजा पुन, र पूर्व अध्यक्ष इन्द्र एलजी सहित अन्य २५ जनाको टोली बेसक्याम्प पुगेका थिए ।

उक्त टोलीले स्थानीयबासीलाई सहयोगसँगै इटालियन बेसक्याम्पमा पदमार्ग र भ्यु पोइन्ट बनाउने प्रतिबद्धता समेत जनाएका थिए । पदमार्ग र भ्यु पोइन्टले स्वदेशी तथा विदेशी पर्यटकलाई सहज भएको स्थानीयबासीको भनाई छ ।

युरिक एसिडबारे नयाँ कुरा

प्रा. डा. प्रकाशराज रेग्मी मुटुरोग विशेषज्ञ

युरिक एसिडबारे धेरैले सुनेका छन् । स्वास्थ्य परीक्षण गराउँदा युरिक एसिड बढेको छ कि छैन भनी धेरैजसोले चासो राख्ने गर्छन् । युरिक एसिड बढ्यो भने जोर्नी दुख्छ, बाथ हुन्छ, जीउ दुख्छ आदि भन्नेबारे धेरैलाई जानकारी रहेको पाइन्छ । युरिक एसिड बढ्दा के खाने, के नखाने भन्ने बृहत् जनचासोको विषय रहेको पाइन्छ । युरिक एसिडले पार्ने असर र यसमा अपनाउनुपर्ने सावधानीबारे जनमानसमा केही भ्रमहरु पनि रहेको पाइन्छ ।

युरिक एसिड रगतमा पाइने एउटा रसायन हो । मान्छेको शरीरलाई यसको आवश्यकता छैन । शरीरले खानेकुराहरु पचाउने क्रममा खानामा भएको प्युरिन नामक रसायन टुक्रिएर युरिक एसिड बन्छ, जुन मिर्गौलाबाट पिसाबसँगै मिसिएर बाहिर निष्कासित हुन्छ । पिसाबमा धुलिएको अवस्थामा युरिक एसिड सधैँ भेटिन्छ । यसलाई सामान्य मानिन्छ । युरिक एसिड थोरै मात्रामा थुकबाट पनि बाहिर निष्कासित हुन्छ । मान्छेको शरीरमा युरिक एसिड रगतमा घुलिएको अवस्थामा रहेको हुन्छ ।

रगतको १०० एम.एल. प्लाज्मामा युरिक एसिडको मात्रा पुरुषका लागि ३.४–७.२ मि.ग्रा. र महिलाका लागि २.४–६.१ मि.ग्रा.सम्म सामान्य मानिन्छ । खानामा भएको प्युरिन टुक्रिएर बनेको युरिक एसिडको ७० प्रतिशत भाग मिर्गौलाले शरीरबाट पिसाबसँगै निष्कासित गर्छ । रगतमा युरिक एसिडको मात्रा बढ्नु भनेको या त प्युरिन धेरै भएको खाना खानु हो अथवा मिर्गौलाको कमजोरीका कारण युरिक एसिड बाहिर निष्कासित हुन नसक्नु हो ।

रगतमा युरिक एसिड अत्यन्तै मसिना कण (क्रिस्टल) का रुपमा रहेका हुन्छन्, जसलाई युरेट भनिन्छ । युरिक एसिड र युरेट एउटै रसायनका दुई अवस्थाहरु हुन् । युरेट चिसोभन्दा तातो पानीमा बढी घुल्छ । युरेटको पानीमा घुलिने क्षमता कम छ । यस्तै गरी रक्सी (एथानोल) मा पनि युरिक एसिड-युरेट कमै मात्र घुल्छ । यदि युरिक एसिड राम्रोसँग घुलेन भने यो क्रिस्टलका रुपमा रहिरहन्छ र स–साना क्रिस्टलहरु एक–आपसमा जोडिँदा ठूलो आकारको क्रिस्टल बन्छ, जसले पत्थरीको रुप लिन्छ । यही पत्थरीले हाम्रो स्वास्थ्यमा प्रतिकूल असर पार्छ ।
युरिक एसिडबारे जानिराख्नुपर्ने केही महत्वपूर्ण कुुराहरुबारे यहाँ वर्णन गरेको छु ।

युरिक एसिड बढ्यो भने जोर्नी दुख्छ, बाथ हुन्छ, जीउ दुख्छ

१. कुन–कुन अवस्थामा शरीरमा युरिक एसिडको मात्रा बढ्छ ?
क. प्युरिन (Purine), फ्रुक्टोज (Fructose)र सुक्रोज (Sucrose)  धेरै भएको खानेकुरा खाएको अवस्थामा । (तालिका १)
तालिका १– युरिक एसिड बढाउने खानेकुराहरु

 

ख. मिर्गौला कमजोर भई यसले युरिक एसिडलाई निष्कासित गर्न नसकेको अवस्थामा ।

ग. केही औषधिहरु जस्तै– रक्तचाप घटाउन प्रयोग गरिने केही औषधि (Thiazide diuretic  समूहका औषधिहरु Chlorothiazide, Chorothalidone, Indepamideआदि) सेवन गरेको अवस्थामा ।

घ. रक्सीको सेवन गरेको अवस्थामा ।

ङ. व्रत बसेको वा मोटोपना घटाउने उद्देश्यले छिटो–छिटो तौल घटाएको अवस्थामा । (यस्तो अवस्थामा युरिक एसिड क्षणिकरुपमा मात्र बढ्छ ।)

च. वंशाणुगत अवस्था (जेनेटिक) ।

२. शरीरमा युरिक एसिड धेरै भयो भने के बेफाइदा हुन्छ ?
यसका दुई प्रमुख बेफाइदाहरु छन् । पहिलो हो बाथ (जोर्नी दुख्ने) । युरिक एसिडका क्रिस्टलहरु जोर्नीमा गएर जम्यो भने त्यो जोर्नी सुन्निन्छ र त्यसमा धेरै पीडा हुन्छ । युरिक एसिडको बाथ(GOUT)  अत्यन्तै पीडादायी हुन्छ । धेरैजसो अवस्थामा खुट्टाका बूढीऔँलामा यसले असर गरेको पाइन्छ । यो बाथको कारण युरिक एसिडको क्रिस्टल जोर्नीमा गएर जम्नु हो ।

कहिलेकाहीँ युरिक एसिड थोरै (६ मि.ग्रा. प्रति १०० एम.एल.भन्दा कम) हुँदा पनि क्रिस्टल जम्न सक्छ र बाथ हुन सक्छ । यस्तै प्रकारले कहिलेकाहीँ युरिक एसिड धेरै बढ्दा (९ मि.ग्रा. प्रति १०० एम.एल.भन्दा बढी) हुँदा पनि क्रिस्टल जोर्नीमा नजम्न सक्छ र बाथ हुँदैन । यसकारण युरिक एसिडको समस्या भएका व्यक्तिहरुले कस्तो अवस्थामा युरिक एसिडको क्रिस्टल बन्छ र त्यो जोर्नीमा जम्छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ । रक्सीमा युरिक एसिड घुलिँदैन । यसकारण रक्सी पिएको अवस्थामा थोरैमात्र युरिक एसिड छ भने पनि यसबाट क्रिस्टल बनेर जोर्नीमा जम्न सक्छ ।

यस्तै प्रकारले प्युरिन  (Purine)  धेरै भएको खानेकुरा धेरै मात्रामा एकैपल्ट खाँदा (धेरै रातो मासु, भित्री मासु, समुद्री माछा आदि) युरिक एसिड ह्वात्तै बढ्ने, त्यो घुल्न नपाई क्रिस्टल बन्ने हुन्छ र यसले बाथ गराउँछ । धेरै युरिक एसिड बढ्दा हुने अर्को बेफाइदा भनेको मिर्गौलामा पत्थरी जम्ने हो । यो पनि जोर्नीमा क्रिस्टल जमेर बाथ भएजस्तै हो । मिर्गौलामा युरिक एसिडका क्रिस्टलहरु एक–आपसमा टाँसिंदै गएर ठूलो पत्थरी बन्दै जान्छ र यसले मिर्गौलालाई खराब गर्दै जान्छ ।

३. युरिक एसिडबाट हुने बाथ र मिर्गौला पत्थरी रोगबाट बच्न के गर्ने ?

क. यसका लागि युरिक एसिड बढाउने खानेकुराहरु (प्युरिन, पु्रmक्टोज र सुक्रोज बढी भएका खानेकुराहरु) को सेवनमा नियन्त्रण गर्नुपर्छ । खानेकुराको छनौट गर्दा प्युरिन (Purine) कम भएका र युरिक एसिड नबढाउने खानेकुरा रोज्नुपर्छ । (तालिका २)

तालिका २: युरिक एसिडलाई खासै असर नपार्ने खानेकुराहरु

ख. कुनै पनि प्रकारको रक्सीको सेवन गर्नुहुँदैन ।

ग. पानी धेरै पिउनुपर्छ ।

घ. शरीरको तौल घटाउने–मोटो मान्छेको युरिक एसिड बढी हुन्छ । तौल घटाउँदा युरिक एसिड घट्छ । तर एकैपल्ट धेरै तौल घटाउँदा युरिक एसिडको क्रिस्टल बनी बाथ गराउन सक्छ । यसकारण बिस्तारै (महिनाको १–२ किलो) तौल घटाउनुपर्छ ।

ङ. युरिक एसिड बढाउने औषधिहरुको सेवन नगर्ने । यसका लागि चिकित्सकसँग सल्लाह गर्नुपर्छ ।

च. गुलियो पेय पदार्थहरु तथा इनर्जी ड्रिङ्क्स नपिउने ।

छ. दैनिक व्यायाम गर्ने
युरिक एसिडको समस्या धेरैलाई छ । ज्यानको लागि खतरा नभए पनि यसबाट बाथ हुँदा धेरै पीडा हुन्छ र हिँडडुल, कामकाज गर्न नसक्ने हुन्छ । खानपान, व्यायाम र स्वस्थ जीवनशैली अपनाएको खण्डमा युरिक एसिड समस्यालाई नियन्त्रणमा राख्न सकिन्छ ।

 

 

धार्मिक पर्यटकको आकर्षणमा शालिग्राम सङ्ग्रहालय

एक दशकअगाडि सम्म बागलुङ नगरपालिका–४ कुँडुले फेदी सुनसान थियो । बागलुङबजार नजिकै रहेर पनि विकासका हिसाबले पछाडि परेको थियो । तर अहिले पूर्वाधार विकासँगै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा परिचित हुँदै गएको छ ।

तीन वर्षयता यहाँ आन्तरिक तथा बाह्य पर्यटकको दैनिक भीडभाड हुने गरेको छ । सुरुङ निर्माण गरी सङ्ग्रह गरेको सवा लाख शालिग्राम र रङ्गवेङ्कटेश्वर मुक्तिनारायण मन्दिरको दर्शनका लागि आन्तरिकसँगै भारतीय पर्यटक आउने गरेका छन् ।

मानवनिर्मित मन्दिर तथा शालिग्राम सङ्ग्रहालयले धार्मिक पर्यटकलाई आकर्षित गरेको छ । बागलुङ कालिका मुस्ताङको मुक्तिनाथ आउने हजारौँ पर्यटक अहिले सङ्ग्रहालयमा पुग्न थालेका छन् ।

धार्मिक महत्त्वका संरचनाको प्रचारप्रसारसँगै यहाँ आउने पर्यटको सङ्ख्या हरेक वर्ष बढ्दो छ । सुरुङभित्र कालीगण्डकीको शिर दामोदरकुण्डदेखि त्रिवेणीधामसम्मको आकृति एकै ठाउँमा बनाइएको छ । जसले धेरैलाई आकर्षित गर्ने गर्छ । अझ बढी त शालिग्राम वरपर बनेका मन्दिर र त्यहाँ बनेका अनेक प्रकारका आकृतिले लोभ्याउने गर्छ ।

बागलुङ–बेनी सडक खण्डको केही माथिपट्टि रहेको सङ्ग्रहालय बागलुङ बजारदेखि करिब तीन किलोमिटर पश्चिममा पर्छ । पैदल यात्रामार्फत १५ मिनेट र गाडीमा पाँच मिनेटमा पुग्न सकिन्छ । मन्दिर, सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ला १० करोड बढी लगानी भएको छ । चाडपर्व र बिदाको बेलामा अझ बढी पर्यटक आउने गरेका छन् ।

खासगरी दक्षिण भारतका पर्यटक बढी आउने गरेको शालिग्राम सङ्ग्रहालयका संरक्षक ऋषि प्रपन्नाचार्यले बताउनुभयो । हरेक वर्ष यहाँ आउने पर्यटकको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । अघिल्लो आर्थिक वर्षमा एक लाखभन्दा बढी पर्यटकले शालिग्रामको अवलोकन गरेका थिए भने चालु आर्थिक वर्षको हालसम्म २५ हजारभन्दा बढी पर्यटक यहाँ आउने ऋषि प्रपन्नचार्य बताउनुहुन्छ । धर्मप्रति बढी आस्था राख्ने पर्यटक शालिग्रामको दर्शन गर्न आउने उहाँको भनाइ छ । तीव्र प्रचारप्रसारको कारण पर्यटक आउने क्रम बढेको प्रपन्नचार्य बताउनुहुन्छ ।

“परारभन्दा पोहोर धेरै पर्यटक आउनुभयो, पोहोरभन्दा यस वर्षभन्दा बढी आउने सम्भावना देखिएको छ, साउनदेखि यता २५ हजारभन्दा बढी पर्यटकले यहाँको अवलोकन गर्नुभएको छ, मुक्तिनाथ, कालीगण्डकी र बागलुङ कालिकाको सेरोफेरोमा शालिग्राम सङ्ग्रहालय रहेको हुँदा आगन्तुकलाई पायकपर्ने गरेको छ,” ऋषि प्रपन्नचार्यले भन्नुभयो, “अझै बढी पर्यटक भित्र्याउने उद्देश्य राखेका छौँ, यहाँ अझै धेरै संरचना बन्दैछन्, धेरै दाताहरुले सहयोग गरेरै अहिले हामीहरु यो ठाउँमा छौँ, यो साल पोहोरभन्दा दोब्बर बढी पर्यटक ल्याउने सकिने अपेक्षा गरेका छौँ ।”

भारतबाट दर्शनका लागि आउनुभएका मुक्तिदेव हरिदासले शालिग्रामको दर्शन गर्दा मनोकाङ्क्षा पूरा हुने हुँदा चार दिन लगाएर यहाँ आएको बताउनुभयो । मुक्तिनाथ पुग्ने मुख्य सडकमै शालिग्रामको दर्शन गर्न पाउँदा खुशी लागेको उहाँ बताउनुहुन्छ । हरिदासले अहिलेसम्म आफूले एउटा पनि शालिग्राम दर्शन गर्न नपाएको सुनाउँदै एकै पटक सवा लाख देख्दा दङ्ग परेको बताउनुभयो । सङ्ग्रहालयभित्र बनाइएको आकृति अझ बढी उकृष्ट लागेको उहाँ बताउनुहुन्छ ।

हरिदासले भन्नुहुन्छ, “संसारमा कतै पनि एकै ठाउँमा यति धेरै शालिग्राम पाइँदैन होला, हाम्रो मुख्य गन्तव्य मुक्तिनाथ थियो, पोखरा आउने बेला यहाँको बारेमा सुन्यौँ र मुक्तिनाथभन्दा पहिला शालिग्रामको दर्शन गर्न आयौँ, हाम्रो २६ जनाको टोली छ, गाडीमै सिधै आउन सकिने रहेछ, तल कालिका मन्दिर, माथि पञ्चकोट र यहाँ शालिग्राम कस्तो रमाइलो रहेछ, एकै ठाउँमा आउँदा धेरैको दर्शन गर्न पायौँ, फेरि अर्को पटक पनि आउने छौँ, यस्तो पवित्र स्थानको प्रचार अलिक कम भएको जस्तो लाग्यो, हामीलाई थाहा थिएन, बाटोमा आउँदा बल्ल जानकारी पायौँ, उतै हुँदा थाहा हुन्थ्यो भने उहीँ ‘प्लान’ बनाएर आउथ्यौँ ।”

शालिग्रामवरपर रङ्गविङ्कटेश्वर मुक्तिनारायण मन्दिरसहित मुक्तिनाथ वेद विद्याश्रम पाठशालासमेत सञ्चालनमा छ । धार्मिक यात्रीले यहाँ आएर सबै क्षेत्रको अध्ययन र दर्शनसमेत गर्न पाउँछन् । पछिल्लो समय पशुपति, जनकपुर, लुम्बिनी र मुक्तिनाथको यात्रामा आउने धेरै भक्तजन र पर्यटकले शालिग्राम सङ्ग्रहालयलाई प्राथमिकतामा राखेका छन् । पर्यटन विकास समिति बागलुङका अध्यक्ष एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले यहाँका बारेमा सञ्चारमाध्यम र समाजिक सञ्जालमार्फत प्रचारप्रसारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

धार्मिक पर्यटकलाई लक्षित गरी सूचना बोर्डहरु राख्ने, पर्यटक सहायता कक्षा स्थापना गर्नका लागि पर्यटन विकास समितिले तयारी थालेको अध्यक्ष खड्का बताउनुहुन्छ । “हामीसँग स्रोत साधान निकै कम हुन्छ, एक्लै गर्न सकिँदैन, यद्यपि क्षमताले भ्याएसम्म पर्यटन प्रवद्र्धनका लागि जुटिराखेका छौँ, पर्यटन बोर्डसँग पनि सहकार्य गर्नेछौँ,” उहाँले भन्नुभयो, “मुक्तिनाथ जाने सबै पर्यटकलाई यहाँ ल्याउनका लागि केही प्रयास गरिरहेका छौँ, सबै पालिका, प्रदेश र केन्द्र सरकारसँग सहकार्य गरेर पर्यटकको आगमनलाई बढाउँछौँ, पहिलेको तुलनामा शालिग्राम सङ्ग्रलहायसहित अन्य पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकको सङ्ख्या बढेको छ ।”

नेपालबाट ५० करोड बराबरको यार्सागुम्बा निर्यात

Yarshagumba has rapidly become the principal source of income for the ancient, yak-based culture of the Himalayas, which had survived for centuries in one of the most extreme environments on Earth with a virtually cash-free economy. The price of yarsagumba has increased twenty-fold in just a few years, to the point that it is now worth nearly its weight in gold, retailing for $1250 an ounce in Hong Kong for premium grade. Yarsagumba grows in the high Himalayas, just below the snowline, and can only be collected for a few weeks in the summer. Bagarchap, Manang, Nepal.

चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनाको अवधिमा नेपालबाट ५० करोड रुपैयाँ बराबरको यार्सागुम्बा निर्यात भएको छ । भन्सार विभागले दिएको जानकारीअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको यार्सागुम्बा निर्यात भएको हो ।

यस अवधिमा ९५३ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १५ वटा देशमा यार्सागुम्बाको निर्यात भएको छ । जसमध्ये सबैभन्दा धेरै हङकङमा २३ करोड ३० लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।

यस्तै, चीनमा १८ करोड ३० लाख रुपैयाँको यार्सागुम्बा निर्यात हुँदा कम्बोडियामा ३ करोड ८ लाख रुपैयाँको निर्यात भएको छ । यसबाहेक, सिंगापुरमा १ करोड २८ लाख, भियतनाममा ३ करोड ४० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्याङ्क छ ।त्यस्तै, नेपालबाट अस्ट्रेलिया, अस्ट्रिया, चेक रिपब्लिक, ग्रिस, जापान, मलेसिया, मङ्गोलिया, रुस, बेलायत र अमेरिकामा समेत यार्सागुम्बा निर्यात हुँदै आएको छ ।

पक्की पुल निर्माणले बेनी–कोरला सडक सहज

बेनी, १७ मङ्सिर । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत बेनीबाट मुस्ताङको कोरलासम्मको सडकमा पक्की पुल निर्माणले तीव्रता पाएको छ । कालोपत्रसहित सडक स्तरोन्नति भइरहेको यस सडकखण्डअन्तर्गत बेनी–जोमसोम–कोरला खण्डमा अहिलेसम्म १६ मोटरेबल पुल निर्माण भइसकेका छन् ।

पक्की मोटरेबल पुल निर्माण हुन थालेपछि खोला–खोल्सामा जोखिमपूर्ण तरिकाले सवारी वारपार गराउनुपर्ने बाध्यता हटेको सवारी चालक विकास भण्डारीले बताए । “बेगखोलालगायतका धेरै खोलामा वर्षायाममा ज्यानै जोखिममा राखेर सवारी चलाउनुपथ्र्यो, कतिपटक त सवारीसाधन नै खोलाले बगाएका पनि थिए, अब यो समस्या विस्तारै कम हुँदै गएको छ”, उनले भने ।

आयोजनामार्फत १३ र सडक विभागअन्तर्गतको पुल महाशाखाले तीन गरी १६ मोटरेबल पुल निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर विष्णु चापागाईँले जानकारी दिए । गलेश्वरस्थित राहुघाट, बेगखोला, तिप्ल्याङ, पोखरेबगर, दाना, मुस्ताङको लुप्राखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइसकेको छ ।

यस्तै मुस्ताङको छान्ताङखोला, लेतेखोला, लोमान्थाङ खोला, किम्लिङ खोला, नामडोक खोला, भर्माखोला, स्याङखोला र घट्टेखोलामा मोटरेबल पुल निर्माण सम्पन्न भई यातायात सञ्चालनमा आइसकेको आयोजनाले जनाएको छ ।

रुप्से झरना, मुस्ताङको खहरेखोला, सेताखोला, पाण्डाखोला र लेतेखोलामा पुल निर्माणका लागि प्रस्ताव गरिएको इन्जिनियर चापागाईँले जानकारी दिए । बेनी–जोमसोम–कोरला खण्डका विभिन्न आठ स्थानमा पक्की मोटरेबल पुल निर्माणाधीन अवस्थामा रहेको उनले बताए ।

यसैगरी पुल महाशाखामार्फत मुस्ताङको थापाखोला र बोक्सीखोलमा पुल निर्माणका लागि खरिद प्रक्रिया थालिएको छ । बाँकी स्थानमा पुल निर्माणका लागि आयोजनाले अध्ययन गरिरहेको जनाएको छ । पर्वतको मालढुङ्गाबाट बेनी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय आठ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक विगत सात वर्षदेखि स्तरोन्नतिसहित कालोपत्र योजना सञ्चालन गरिएको छ ।

सुनको मूल्यले बनायो नयाँ कीर्तिमान आज तोलामा १ लाख २० हजार ८०० रुपैयाँ कायम

सुनको भाउ लगातार उकालो लागिरहेको छ । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सनचाँदीको भाउमा भाउ बढेकाे छ ।

यसदिन छापावाल सुनमा एकैपटक १ हजार ८ सयले बृद्धि भएको छ । चाँदी रुपैयाँ ५ ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावल सुनमा रुपैया १ हजार ८ सयले बढेर तोलाको अहिले सम्मकै उच्च भाउ १ लाख २० हजार ८ सय पुगेको जनाएको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ हजार ८ सयले बढेर तोलाको १ लाख २० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १८ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ५ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ५ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

म्याग्दीका मार्सल गर्बुजाले स्वर्ण पदक जिते

काठमाण्ठौमा जारी सातौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा म्याग्दीका मार्शल गर्बुजाले स्वर्ण पदक जितेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतिस्पर्धामा म्याग्दीको रघुगंगा गाउँपालिका–४,दर्मिजाका गर्बुजाले ५५ केजीमा पाकिस्तानका उस्मान सफिक लाई ७-५ मा पाखा लगाउँदै स्वर्ण पदक जितेका हुन् ।

म्याग्दी कराँतेका सिनियर खेलाडी समेत रहेका गर्वुजा नेपाल कराँते महासंघको अयोजनामा भएको छनौट खेलमा समेत स्वर्ण पदक जितेर साउथ एशियन कराँते च्याम्पियनका लागि छनौट भएका थिए ।

१८ बर्षिय गर्बुजाले प्रतियोगिताको सेमिफाइनलमा श्रींलकाका खेलाडी ६–१ को लजास्पद हार ब्यहोर्न बाध्य बनाएका थिए । विगत ८ बर्षदेखि कराँते खेलमा सक्रिय रहेका गर्बुजाले जिल्लास्तरीय, प्रदेशस्तरीय खेलमा दर्जनभन्दा बढी स्वर्ण पदक जितेका छन् ।

नेपालबाट छनौट भएर बंगलादेशमा समेत पुगेर कराँते खेलिसकेका गर्बुजा थाइल्याण्डमा हुने कराँते खेलका लागि समेत छनौट भइसकेका छन् ।‘यसपटक देशका लागि स्वर्ण पदक जित्दा निकै खुसी छु,‘अझै नियमित प्रशिक्षण सहितको सुविधा पाएमा राम्रो खेल प्रर्दशन गर्न सक्छु’ गर्बुजाले भने ।

म्याग्दीमा कराँतेका लागि पदकविहिन बन्न नदिने गर्बुजा अहिले गण्डकी प्रदेशबाट समेत राष्ट्रिय खेलका लागि रोज्जा खेलाडीभित्र पर्छन् । ‘पदक जित्दापनि हामीलाई भविस्यकै चिन्ता छ, खेलाडीको सुन्दर भविस्यको ग्यारेन्टी भए नेपालबाट नियमित कराँते खेल्न चाहन्छु’ गर्बुजाले भने ।

भविस्यमा लाहुरे हुने सपना बोकेका गर्बुजाले नेपालमा खेलाडीको भविस्य अझै सुन्दर नभएकाले बेलायती, सिंगापुर लाहुरे हुने सपना बुनेको समेत उनले बताए। बेनीको माउण्ट एभरेष्ट आवासीय माविबाट एसइइ दिएका गर्बुजाले प्रकाश माविबाट उच्च शिक्षा हासिल गरेका छन् ।

कराँतेको ब्लाकबेल्टकसेकेण्ड डन गर्बुजाले देशका लागि खेल्ने खेलाडीलाई प्रोत्साहन गर्न नसके धेरै पदक विजेता खेलाडी पलायन हुने समेत बताए ।

कराँतेमा क्षेत्रीय तथा राष्ट्रियस्तरमा यसअगाडी समेत स्वर्ण पदक जितेका गर्बुजा म्याग्दीको मात्रै नभई गण्डकी प्रदेशकै सर्वोत्कृष्ट कराँते खेलाडी भएको नेपाल कराँते महासंघ म्याग्दीका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

‘मार्सलले पदकविहिनको अवस्थामा खेल खेल्दैनन्, उनले धेरैजसो खेलमा पदक जितेका छन्, उनलाई खेलमै टिकाइरहन आवश्यक छ’ अध्यक्ष श्रेष्ठले भने । प्रतिभाशाली खेलाडी भएकाले थाइल्याण्डमा हुने ६ औं एशियन इनडोर मार्सल आर्टमा समेत स्वर्ण पदकको अपेक्षा गरिएको बताए ।

 

 

बिरेन्द्रचोकबासीले सम्झिए ‘बेनीको बजार’ गीतका सर्जकलाई

बेनीबजारस्थित बिरेन्द्रचोक टोल विकास संस्थाले म्याग्दी सदरमुकाम बेनीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रूपमा चिनाउन सफल ‘बेनीको बजार, जता माया उतै छ नजर’ बोलको गीतका सर्जक तथा गायक टीकाबहादुर श्रेष्ठ र गायिका धन छन्त्याल श्रेष्ठलाई सम्झिएका छन् ।

बेनीबजारलाई विश्वभर चिनाउने र अहिले पनि उत्तिकै लोकप्रिय गीतका सर्जक स्वर्गीय टीकाबहादुर र हाल जन्मथलो म्याग्दीबाट बसाइँ सरी रूपन्देहीमा रहनुभएकी धर्मपत्नी एवम् गायिकाको धनको गीत सहित तस्वीर भित्ते लेखनमार्फत गरी नयाँ पुस्तालाई समेत जानकारी दिने प्रयास गरिएको टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठले बताए ।

‘हामीले उहाँहरुलाई सधै सम्झिन्छौ, यो पहिलो प्रयास हो, सधै सम्झना हुने गरी काम गर्ने योजना बनाइरहेका छौ’ अध्यक्ष श्रेष्ठले भने । ८० बर्ष पूरानो पिपलको चौतारीमा प्रवेश गर्ने अपाङमैत्री संरचना नजिकै भित्तामा चित्र बनाएर गीत सहित राखिएको बताउँदै डिजिटल सहित गीत समेत सुन्न मिल्ने बनाउने समेत सोच रहेको अध्यक्ष श्रेष्ठले बताए ।

वि.स २०७७ साल चैत्र महिनामा ७५ वर्षको उमेरमा सर्जक श्रेष्ठको निधन भएको थियो । ‘बेनीको बजार’ बोलको गीत श्रेष्ठले २०३१ सालमा रेडियो नेपालमा रेकर्ड गरेपछि यसले निकै चर्चा कमाएको थियो ।

श्रीमती मन छन्त्याल र टीकाबहादुरको युगल स्वर रहेको यो गीत अहिलेसम्म पनि चर्चाको शिखरमा छ ।२०१९ साल फागुन ७ गते प्रजातन्त्र दिवसका दिन काठमाडौँको राष्ट्रिय नाचघरमा पहिलो पटक श्रेष्ठले ‘बेनीको बजार’ गीत गाइएको थियो । उक्त कार्यक्रममा नेपालका १४ अञ्चलबाट आएका कलाकारलाई उछिनेर श्रेष्ठ दम्पतीको बेनीको बजार बोलको गीत नै प्रथम भएको थियो ।

बिरेन्द्रचोक टोल विकास संस्थाले सर्जकद्धयको सम्मानमा देखाएको चासोका बारेमा प्रशंसा गरिएको छ । म्याग्दीको प्रमुख प्रशासकीय कार्यालय रहेको बिरेन्द्रचोकमा टोलबासीले टोललाई सफा, स्वच्छ, सुन्दर र हराभरा बनाउने अभियान अन्तरगतआफ्नो घर अगाडी सडकको पर्खाल,बिजुलीको पोलमा गमलामा फूल लगाएका छन् ।

सार्वजनिक धारा, ८० बर्ष पूरानो पिपलको चौतारीमा विभिन्न संघसंस्थाको सहयोगमा बटुवालाई फलामको बेन्च, सार्वजनिक धारामा शुद्ध खानेपानीका साथै नियमित सरसफाई सहितका गतिविधि गर्ने गरिएको छ । करिब २५ घरधुरी रहेको बिरेन्द्रचोकबासीले आफ्नै लगानीमा टोल बनाउने कार्यले विभिन्न सरकारी निकायबाट समेत सम्मान समेत प्राप्त गरेको छ ।