Thursday, June 26, 2025
22.2 C
Beni
22.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 479

मनमोहक प्रभुचेला धुरीलाई विपश्यना केन्द्र बनाइने

म्याग्दीको मालिका गाउँपालिका-७, बिमस्थित ऐतिहासिक तपोस्थल प्रभुचेला धुरीलाई विपश्यना केन्द्र बनाइने भएको छ । समुन्द्रि सतहदेखि २४ सय मिटरको उचाईमा जंगलभित्र अवस्थित प्रभु चेला आसपासका क्षेत्रमा विपश्यना साधनाका लागि आर्कषक गन्तब्य बनाउन आवश्यक भौतिक पूर्वाधार सहितको संरचना बनाउने कार्यलाई तिब्रता दिने भएको हो ।

सडक सञ्जालले समेत छोएको प्रभुचेलामा हाल ब्यक्तिगत रुपमा मन्दिर र अन्य संरचना तयार भएपनि अब गण्डकी प्रदेश सरकार, मालिका गाउँपालिका र बिमबाट विदेशमा रहेकाहरुले संकलन गरेको आर्थिकबाट विपश्यना केन्द्रका लागि आवश्यक पर्ने संरचना बनाइने प्रभुचेला ध्यान केन्द्र ब्यवस्थापन समितिका अध्यक्ष नविन जुग्जालीले बताए ।

‘बस्तीभन्दा टाढा जंगल क्षेत्रमा रहेकाले विपश्यना गर्नेका लागि उपयुक्त मानिन्छ,‘अब संरचना बनाएर ध्यान बस्न चाहनेलाई त्यहाँसम्म आउने वतावतरण बनाउँछौ’ अध्यक्ष जुग्जालीले भने । उनले जंगल क्षेत्रमा संरचना बनेपछि साधानमा रमाउनेहरुलाई आसपासको वातावरणले समेत सहज हुने बताए ।

विपश्यना साधना भनेको जीवनलाई प्रत्यक्ष अनुभवद्वारा थाहा पाउने र दुःख मुक्तिबारेको विज्ञान भएकाले संरचना तयार भएमा गन्तब्य बनाउन सकिने उनले बताए । प्रभुचेलामा अहिले पनि तपस्वीले अग्नि हवन गरेको हवनकुण्ड र तपस्वी बसेको कुटीको अवशेषहरु समेत अहिलेसम्म सुरक्षित छन् ।

करिब ११७ वर्ष अघि स्वर्गद्वारी आश्रमबाट बालतपस्वी चैतन्य महाप्रभुका परमशिष्य कपिलानन्द स्वामीजीले ईस्वी सन् १९७० तिर यही स्थलमा आई तपस्या गरेको ऐतिहासिक तथ्य समेत फेला परेको छ । मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रभुचेलालाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउन निरन्तर सक्रिय हुने बताए । उनले मालिकाधुरी मन्दिरमा जाने तथा ध्यान साधानामा रमाउनेहरुलाई लक्षित गरी अब बन्ने हरेक संरचनाहरु डिपिआर गरी बनाइने बताए ।

प्रभुचेलामा गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात ब्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले चालु आवमा ५० लाख विनियोजन गरेका छन् भने प्रवासमा रहेका बिमबासीले समेत आर्थिक संकलन गरिरहेका छन् ।

स्वर्गद्धारीबाट स्वामी. डा. श्री रुद्रनन्द ब्रह्माचारी स्वामी कमल गौतम र स्वामी अजित धितोले समेत प्रभुचेला धुरीमा पुगेर स्थलगत अध्ययन र अवलोकन गरेका थिए । प्रभुचेलाधुरीमा पुगेपछि धौलागिरि, गुर्जा, चुरेन, पुथालगायतका दर्जनौँ हिमश्रृंखलाका साथै आसपासका क्षेत्रमा देखिने सुन्दर ग्रामीण बस्ती, गुराँसे–जंगल र प्राकृतिक सौन्दर्यको अवलोकन समेत गर्न पाइन्छ ।

विपश्यना : जीवन जिउने कला

व्यक्तिको जीवन शैली उसले बाँच्ने क्रममा भोगेका परिस्थिति, वातावरण, शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिवेश एवं संस्कारले निर्धारण गरेको हुन्छ । जीवन शैली व्यक्तिका सपना, आकांक्षा एवं उद्देश्यहरूझैं हरेकको फरक–फरक हुन्छ । तर, सपना र उद्देश्यहरू पूरा गर्ने क्रममा भोगेका दुःख एवं वेदना प्रायः सबैको एउटै खालको पाइन्छ ।

जीवनमा कुनै न कुनै समय सबैले दुःख पाएकै हुन्छन् । कसैले बढी त कसैले कम दुःख भोगेका हुन्छन् । त्यसैले हरेक व्यक्ति शान्तिका साथ सुखी जीवन जिउन लालायित हुन्छन् । पछिल्लो समय भौतिक सुख–सुविधाले सम्पन्न व्यक्ति झनै शान्तिबाट टाढा हुँदै गएको देखिन्छ ।

यो परिप्रेक्ष्यमा शान्तिका अग्रदूत गौतम बुद्धका शिक्षा, वाणी ज्ञानलाई एकपटक मनन गर्नैपर्ने देखिन्छ । बुद्धले यो संसारमा निहित दुःख तथा त्यसका कारण र निवारणको मार्ग पत्ता लगाई आफ्नो जीवनपर्यन्त बहुजन हिताय, बहुजन सुखायका लागि यथेष्ट ज्ञान प्रचार–प्रसार गरे ।

सुखका साथ जीवन जिउने चाहना राखेकाहरूले बुद्धले देखाएको मार्गको अनुशरण गर्नुपर्छ, हामीमध्ये धेरैले त्यो गरेको पनि पाइन्छ । संसारमा दुःख छ, त्यसको कारण र निवारण पनि पक्कै छ । बुद्धले चारवटा आर्य सत्य पत्ता लगाएपछि सिकाएको विपश्यना ध्यानबारेमा यो आलेख केन्द्रित छ ।

बाहिरबाट देखिने हरेक वस्तु हामीले हेरेको/देखेको जस्तो नहुन सक्छ । कुनै वस्तुलाई यथास्थिति (जुन अवस्थामा वा जस्तो छ त्यस्तै देख्नु) मै हेर्नु/बुझ्नु नै विपश्यना हो । महान् विपश्यनाचार्य श्री सत्यनारायण गोयन्काले विपश्यनालाई सत्यको उपासना भनेका छन् । उनका अनुसार सत्य जिउने अभ्यास हो । सत्यलाई त्यसको मौलिक स्वभावबाटै हेर्न र बुझ्न सक्नु नै विपश्यना हो । यो सम्यक् दर्शन र ज्ञान हो ।

भगवान् बुद्धको समयकाल तथा उनको परिनिर्वाणको ५०० वर्षसम्म विपश्यना ध्यान/साधनालाई मानिसले पालना र निरन्तर अभ्यास गरे पनि पछि यो साधना लोप हुँदै गयो । समाजमा यसको चर्चा नै नभएको अवस्थामा पनि बर्मामा भने गुरुचेला परम्परानुसार शुद्ध रूपमा यो साधना/विधिको निरन्तर अभ्यास तथा जगेर्ना गरियो ।

लगभग १०० वर्षअघि यो साधना बर्माका प्रबुद्ध लैडी सयाडोले प्राप्त गरेको विभिन्न ग्रन्थमा उल्लेख छ । उनले बुद्ध बचनका साथै यो साधना विधिलाई भिक्षुहरूमा मात्र सीमित नराखी गृहस्थीमा रहेका मानिससम्म प्रसार गरेको पाइन्छ । यो नै विपश्यना साधना सिकाउने प्रक्रिया पुनः सुरुवात थियो । हाल यो विश्वका विभिन्न ठाउँमा निःशुल्क र नियमित सिकाइन्छ । विपश्यना साधना दश दिवसीय आवासीय शिविरमा गई सिक्न सकिन्छ ।

यो नेपालको मुहान पोखरीस्थित धर्मशृङ्गलगायत अन्य विभिन्न ठाउँमा सिकाइन्छ । शिविर अवधिभर पूर्ण मौन (आर्य मौन बोली मात्र नभई हाउभाउ आदिबाट पनि मौन) रही पञ्चशील ः प्राणी हिंसा नगर्नु, झूटो नबोल्नु, चोरी नगर्नु, व्यभिचार नगर्नु र मादक पदार्थको सेवन नगर्नुको पालना गरी शिविरको नियममा रही यो साधना सिक्नुपर्छ ।

पञ्चशीलको पालनाले साधनामा समाधि प्राप्तिका लागि ठूलो सहयोग प्राप्त हुन्छ । समाधि अर्थात् एकाग्रता (स्थिरता) । यो अवस्थामा पुगेपछि मन र शरीर दुवै भौतिक तत्वको परिवर्तनशील (उदय व्यय) सत्यलाई स्वः अनुभवबाट बुझ्न सकिन्छ, हेर्न सकिन्छ । यसबाट ज्ञानको मार्ग प्राप्त गर्न सहयोग पुग्छ । यो ध्यान साधना तीन चरणमा सिकाइन्छ ।

पहिलो चरण : आनापान (सहज स्वाभाविक श्वासलाई हेर्ने विधि) । तीन दिनसम्म यो सिकाइ विधि निरन्तर अभ्यास गराइन्छ ।

दोस्रो चरण : चौथो दिन विपश्यना (शरीरमा उत्पन्न हुने विभिन्न संवेदनालाई सही रूपले सजक भई सतर्कताका साथ समभावमा अवलोकन गर्ने विधि) विधि सिकाइन्छ । यसको निरन्तर अभ्यास गराइन्छ ।

तेस्रो चरण : दशौं दिन मंगलमैत्री (शिविर अवधिभर आफूले आर्जन गरेको पुण्यमा सबैलाई भागिदार बनाउने ध्यान साधना विधि) साधनाको विधि सिकाइन्छ । यसका साथै आर्य मौन पालनाको नियम पनि समाप्त हुन्छ । यसरी दश दिन शिविरमा रहँदै दश दिने विपश्यना साधना विधि सिक्न सकिन्छ ।

मन र शरीरको परिवर्तनशील धर्मलाई स्वःको अनुभवबाटै अनुभूति गरी यथाभूत सत्यलाई हेर्न र बुझ्न सिकाइन्छ । त्यसैले जन्म/जन्मान्तरदेखि भोग्दै आएका मानव जीवनमा निहित दुःख, वेदना तथा मनमा रहेका विकारहरूलाई हटाई जीवनचक्रको भवसागरबाट मुक्तिको मार्गतर्फ अगाडि बढाउने विपश्यना साधनाबाटै एक पटक भए पनि ज्ञान हासिल गर्नुपर्छ । बुद्ध जन्मेको देशका हामी नागरिक भन्दै सधैं उनको नामको नारामात्र लगाइरहनु भन्दा उनको शिक्षाको वास्तविक ज्ञान प्राप्त गरी उनलाई वास्तविक रूपमै सम्मान गर्न जरुरी छ । सबैले शान्तिपूर्ण जीवनयापन गर्न सके हरेकको कल्याण हुनेछ ।

के हुन्छ विपश्यना ध्यानमा ?

व्यस्त जीवनशैलीसँगै मानिसमा तनाव पनि बढ्दो छ । तनावबाट छुटकारा पाउन मानिस विभिन्न उपायको खोजी गरिरहन्छन् । प्राचीनकालमा तनावबाट मुक्ति पाउन ध्यान तपस्या गर्ने गरेको हामीले सुन्दै, पढ्दै आएका छौं । तर पछि मानिसहरु यसबाट विमुख हुँदै गए । पछिल्लो समय फेरि योग र ध्यानलाई पछ्याइन थालिएको छ ।

ध्यानका प्रकारमध्ये प्रचलित ध्यान विधि विपश्यनामा अहिले धेरैले रुचि देखाएका छन् । विपश्यना भनेको के हो ? कसरी गरिन्छ भन्ने जिज्ञासा धेरैलाई होला । त्यसैले केही समयअघि विपश्यना ध्यान गरेर फर्किएकी अभिनेत्री बेनिशा हमाल यो ध्यानको बारेमा आफ्नो अनुभव यसरी साट्छिन् ;

विपश्यनामा जाने कुरा मेरो लागि एउटा ठूलो चुनौती नै थियो । त्यहाँ गएर १० दिन बिताउने पर्ने हुनाले समय मिलाउन पनि गाह्रो भइरहेको थियो । व्यस्त जीवनशैलीबाट टाढा गएर आफ्नो मन र दिमागलाई एकाग्र बनाएर हामी आधा घण्टा त बस्न सक्दैनौं, त्यो त १० दिनको कुरा थियो । तर मैले १० दिन आफ्नो लागि समय छुटाएर पुगे, बुढानीलकण्ठको धम्मशृङ्ग विपश्यना ध्यान केन्द्र ।

त्यहाँको माहोल कस्तो छ होला ? के के हुन्छ होला भन्ने धेरै प्रश्न मनमा थिए । ध्यान कतै पनि नजाओस् भन्न मोबाइल, पत्रपत्रिका, रेडियो, पढ्ने लेख्ने, अन्य पूजापाठ, ध्यान, योग आदि सबै वर्जित हुन्छ ।

त्यहाँ १० दिनको शिविरमा सामेल हुनुपर्छ । बाहिरी सम्पर्कबाट अलग हुनुपर्छ । पटक-पटक गरी दिनमा १० घण्टा बसेर ध्यान गर्नुपर्छ । एकअर्कासँग कुराकानी गर्न पाइँदैन । १० दिने मौन ध्यान आफ्नै श्वासको आवागमनबारे सचेत हुनुबाट सुरु हुन्छ ।

साधक १० दिनसम्म शिविर स्थलमै रहनुपर्छ । बीचमा शिविर छाडेर जानुहुँदैन । त्यस्तै नयाँ साधकहरूले पञ्चशील (हिंसा, चोरी, नशालु पदार्थ सेवन नगर्नु, ब्रह्मचार्य पालना गर्नु, झुटो नबोल्नु)को पूर्ण पालना गर्नुपर्ने हुन्छ । यी नियम पालना गर्न सजिलो भने छैन । त्यसैले म गर्न सक्छु भन्ने भएपछि मात्र जानु ठीक हुन्छ ।

Add

के हो विपश्यना ? 

विपश्यना एक ध्यान विधि हो, जसले मानिसलाई वर्तमानमा रहन वा जिउन सिकाउँछ । आजभन्दा लगभग २५-२६ सय वर्षअघि गौतम बुद्धले अनुसन्धान गरी आमरूपमा स्थापित गराउनुभएको हो । आफ्नो श्वासप्रश्वासको निरीक्षण गर्दै शरीर र चित्तमा उत्पन्न हुने परिवर्तनशील घटनालाई तटस्थ भावले निरीक्षण गर्दै चित्तशुद्धि र सद्गुण बुद्धिको अभ्यास विपश्यनामा गरिन्छ ।

विपश्यना राग, द्वेष र मोहबाट विकृत भएको चित्तलाई निर्मल बनाउने साधना हो । दैनिक जीवनको समस्या र तनावग्रस्त चित्तलाई तनावमुक्त गर्ने एक सक्रिय अभ्यास हो ।

ध्यानको रुटिन कस्तो हुन्छ ?

बिहान ४ बजे उठेर फ्रेस हुन घण्टी लाग्छ, साढे ४ मा ध्यान गर्ने हलमा आइपुग्नुपर्छ । समयमा नआउनेको कोठा-कोठामा गई स्वयंसेवक ढोका ढकढक्याउन आइपुग्छन् । दुई घण्टा ध्यान, अनि साढे एक घण्टा खाजा र आराम, अनि तीन घण्टा ध्यान, दुई घण्टा खाना र आराम, चार घण्टा ध्यान, एक घण्टा नास्ता र आराम, साढे एक घण्टा ध्यान साढे एक घण्टा प्रवचन सुन्दा ९ बजेको घण्टी बजेपछि सुत्ने समय हो । फेरि भोलिपल्ट ४ बजेबाट त्यही रुटिन पछ्याउनुपर्छ ।

खानपान र कपडा

विपश्यनामा जाँदा बाहिरबाट खानेकुरा लैजान पाइँदैन । त्यहाँ नै खानाको व्यवस्था हुन्छ । पहिलो पटक विपश्यनामा गएकालाई बिहानको ७ बजेतिर खाजा, १२ बजेतिर बिहानको खाना र साँझ ५ बजे फेरि खाजा गरेर तीन पटक खानाको व्यवस्था हुन्छ । त्यसअघि पनि विपश्यनामा गएकाहरूलाई साँझको ५ खाजाको व्यवस्था हुँदैन । साँझ पाँच बजेपछि बिहान ६ बजेसम्म केही खान पाइँदैन, त्यही पनि भोक लागेको अनुभव हुँदैन । त्यहाँ उपलब्ध गराइने खाना शुद्ध शाकाहारी हुन्छ ।

कपडा भने आफैंले बोकेर जानुपर्ने हुन्छ । त्यहाँ बस्ने कोठा र शौचालयको राम्रो व्यवस्था हुन्छ । पलेंटी कसेर ध्यान गर्नुपर्ने भएकाले पलेंटी कसेर बस्न सजिलो हुने हलुका खाले लुगा लैजाँदा राम्रो हुन्छ ।

ध्यानपछिको परिवर्तन

१० दिनसम्म त्यहाँ बसेपछि एघारौं दिनको बिहान केही समय ध्यान र अन्तिम प्रवचन सुनेपछि शिविर समाप्त हुन्छ र घर फर्किन पाइन्छ । त्यहाँबाट बाहिर निस्किएपछि भने बानी व्यवहार, अरूलाई हेर्ने दृष्टिकोणमा पनि परिवर्तन आउँछ । घर फर्किने बेलामा खुसी र तनावमुक्त भइन्छ ।

आफूभित्र शान्ति अनुभव गर्न सक्ने योग्यता विपश्यनाले प्रदान गर्छ । यो ध्यान विधिको प्रयोगले सबै दुःखबाट छुटकारा पाउन सकिन्छ । ज-जसले यसको अभ्यास गर्छन्, उनीहरूमा बिस्तारै परिवर्तन आउँदै जान्छ । दुःखको कारण के हो र निराकरण कसरी गर्न सकिन्छ भन्ने कुरा बुझ्दै गइन्छ ।

पूर्वाधारको पर्खाइमा मालिका धुरी

प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र दृश्यावलोकनको सङ्गम म्याग्दीको मालिका धुरी पूर्वाधारको पर्खाइमा छ । मालिका गाउँपालिका–७ बिम र ६ दुखु तथा रघुगङ्गा गाउँपालिका-६ ठाडाखानीको शिरमा समुद्री सतहबाट तीन हजार तीन सय मिटरको उचाइमा अवस्थित मालिकाबाट हिमशृङ्खला, पहाडी भूगोल, ग्रामीण बस्तीको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ । यहाँ दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।

सहज पदमार्ग, आवास, खानेपानीलगायत पूर्वाधारसँगै मालिकाको धार्मिक तथा पर्यटकीय महत्वका बारेमा पर्याप्त प्रचार–प्रसार हुन नसक्दा ओझेलमा परेको मालिका क्षेत्र संरक्षण समितिका अध्यक्ष छकप्रसाद पाइजाले बताए ।

“सुन्दर दृश्यावलोकन गर्न सकिने मालिकामा विदेशी पर्यटक भित्र्याउन सकिएको छैन”, उनले भने , “विशेष पूजाआजा हुने चण्डी पूर्णिमा, जेष्ठी पूर्णिमा, भाइटीका र बालाचतुर्दशीबाहेकका दिनमा भक्तजन पनि आउँदैनन् ।”

मालिकामा पूजाआजाका लागि पुग्ने भक्तजन सत्तल र ओढारमा कष्टप्रदरूपमा रात कटाउन बाध्य छन् । खानेपानी र शौचालयको सुविधा छैन । बेनीबाट पैदल दुई दिन र सवारीसाधन प्रयोग गर्दा एकैदिनमा मालिका पुग्न सकिन्छ । ठाडाखानी, टोड्के, हिदी, दुखु, बिम र बाइन्दफाँट भएर मालिका जान सकिन्छ ।

“सत्तलको सरसफाइ, आवास व्यवस्थापन र भक्तजनको सुरक्षाको आवश्यकता छ”, पर्वतको जलजला गाउँपालिका–५ लेकफाँटबाट मालिका दर्शन गर्न जानुभएका कृष्ण जिसीले भने, “धुलैधुलो भएको सत्तलमा प्लास्टिक बिछ्याएर बस्नुपर्यो । चिसो र असुविधाले बस्नै गाह्रो भयो ।”रघुगङ्गा र मालिका गाउँपालिकाले गत वर्ष रु १० लाख लगानी गरेर खानेपानी योजना निर्माण गरे पनि नियमित पानी आपूर्ति हुनसकेको छैन ।

बुटवलका भरत छन्त्याल र ठाडाखानीका खिममाया छन्त्यालले निजी लगानीमा केही वर्षअघि पाइपमार्फत मालिकाको सत्तलसम्म खानेपानी पुर्याइदिए पनि मर्मतसम्भारको अभावमा दिगो हुन सकेन । तीन वर्षअघि गण्डकी प्रदेश सरकारको रु ४० लाखमा देउरालीबाट मालिका धुरीसम्म एक हजार दुई सय ७२ मिटर ढुङ्गाको सिँढीसहितको पदमार्ग बनेपछि आवतजावत गर्न सहज भएको मालिका गाउँपालिका–७ का पलवीर जुग्जालीले बताए ।

मालिका गाउँपालिकाले बिम हुँदै मालिका धुरी जाने ११ किलोमिटर सडक निर्माण गरेको छ । रु ८३ लाखको लागतमा बाइन्दफाँटबाट धौलागङ्गा र नागीथलाको बीचसम्म सडक पुर्याइएको छ । तीन वर्षअघि ठेक्का लिएका निर्माण व्यवसायीले काम नगर्दा धौलागङ्गाबाट नागीथलासम्म जोड्ने सडक विस्तार हुन नसकेको मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले बताए ।

“पुरानो ठेकेदारलाई काम सम्पन्न गराउन ताकेता गर्नुका साथै यस वर्ष मालिका जोड्ने सडक स्तरोन्नति गर्न रु ८३ लाख विनियोजन भएको छ”, उनले भने, “गत वर्ष निर्माण भएको खानेपानी योजना मर्मत गरेर मालिकामा नियमित पानी आपूर्तिको व्यवस्था मिलाउँछौँ ।”

गण्डकी प्रदेश सरकारले मालिका धुरी जान प्रयोग हुने दरवाङ–बिम सडक कालोपत्र गर्ने लक्ष्यसहित चालु आर्थिक वर्षमा रु चार करोड विनियोजन गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले सो योजनालाई रु २० करोड बराबरको बहुवर्षीय ठेक्का लगाउने तयारी भएको बताए । रघुगङ्गा गाउँपालिकाले रु १० लाखको लागतमा ठाडाखानीबाट पहिरेनीसम्म करिब पाँच किलोमिटर सडक र रु चार लाख २० हजारमा बथानडाँडाबाट सरघारीसम्मको उकालो बाटोमा तीन किलोमिटर पैदलमार्ग निर्माण गरेको छ ।

बीसभन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका ३५ भन्दा बढी गाउँ, लालीगुराँस, वन्यजन्तु, पक्षीको अवलोकन गर्न सकिने मालिकाको धार्मिक महत्व छ । दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहेको मालिका क्षेत्र विकास समितिका सचिव ओमकार रोकाले बताए ।

“सन्तान, रोजगारी, शिक्षा, व्यापार, व्यवसायदेखि राजनीतिमा सफलताको कामना पूरा भएकाको जेष्ठी, चण्डी पूर्णिमा र भाइतिहारका दिन बलि चढाउन आउनेको घुइँचो लाग्छ”, उनले भने, “म्याग्दी र छिमेकी जिल्लाका साथै काठमाडौँ, पोखरालगायत ठाउँबाट भक्तजन आउँछन् ।”

मालिका, कालिका र जाल्पादेवीको मूर्ति रहेको मालिका थानमा भाकल पूरा भएमा बोका र परेवाको बलि चढाउने चलन छ । लालीगुराँसको जङ्गलको बीचमा रहेको मालिकाबाट सिस्ने, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्र«े, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, म्याग्दीका अधिकांश बस्तीको अवलोकन गर्न सकिन्छ । मालिका क्षेत्रको जङ्गलमा पाइने वन्यजन्तु, पक्षी, विभिन्न प्रजातिका फूल, जडीबुटी र वन पैदावार थप आकर्षण हो । विसं १९१० देखि मालिकामा पूजाआजा हुन थालेको इतिहास छ ।

मालिकालाई पर्यटकीयस्थलका रूपमा विकास गर्न व्यवस्थित पदमार्ग, आवास सुविधाका लागि नजिकैका बस्तीमा घरबास, सामुदायिक विश्रामगृहको व्यवस्थासँगै धार्मिक महत्व र प्राकृतिक सौन्दर्यको प्रचार–प्रसारमा जोड दिनुपर्ने देखिएको छ । सत्तलमा काठ बिछ्याउने, पूजाआजाका लागि भक्तजन आउने समयमा सामुदायिक विश्रामगृह सञ्चालन गर्नुपर्ने आवश्यकता छ ।

प्रकाश दूतराजको गीत ‘रिमै’ करोड क्लवमा प्रवेश

लोकप्रिय यूवा गायक एवं सर्जक प्रकाश दूतराजको पछिल्लो गीत ‘रिमै…’ ले तीन सातामै करोड क्लवमा प्रवेश गरेको छ । म्याग्दीको मंगला गाउँपालिका–५,अर्मनका गायक दुतराजको युट्यूबमा रिलिज भएको सातौं दिनमै गीतले एक करोड भ्यूज बटुलेको हो ।

उनले अहिलेसम्मको प्रस्तुतीमा सर्वाधिक छिटो करोड भ्यूज पाउनेमा ‘रिमै’ परेको छ । नेपालमा छोटो समयमा करोड भ्यूज कटाउने प्रकाश सपुतको नाममा छ भने एक महिना भित्रै आफ्ना गी करोड क्लवमा प्रवेश गराएका दृुतराजको ‘रिमै’ ले दशैंतिहारको विदामा यूटुवमा निकै धेरै भ्यूज पाएको छ ।

दुतराजको यो गीत ट्रेन्डिङ उक्लेको थियो । गाउँले परिवेशमा रहेर मौलिक सिर्जनाहरू ल्याउँदै आएका प्रकाशले ‘रिमै…’गीतको भिडियोमा राउटे समुदायको कथा उठान गरेका छन् ।उनले जातिय विभेद, सामजिक संस्कारमा हुने गलत अभ्याससँगै गाउँले जनजिवनसँग जोडिएका विषयबस्तुमा केन्द्रित भएर गीतको रचना गदैं आएका छन् ।

देउरालीमा धजा रिमै
मन उतै नजा, भनेकै मान्दैन
सालैजो…
राउटे समुदाय नेपालको पश्चिम पहाडी जिल्लामा बस्ने घुमन्ते जाती हो । यो समुदायमा कसैको मृत्यु भएमा रितपुर्वक संस्कार गरी केही दिन भित्रमा बसाई सर्ने उनीहरूको परम्परा छ । उनका हरेक प्रस्तुत सहरबजार केन्द्रित भन्दा पनि गाउँले जिवनसँग जोडिने भएकाले रिमैमा समेत राउटेको कथाबाट संसारभरीका नेपाली संगीतप्रेमीमो मन जित्न सफल भएका छन् ।

उनका कुनैपनि प्रस्तुती अन्य कलाकारको जस्तै विवादित भएर युट्यूटबाट हटाउनुपर्ने अवस्थाका छैनन् । सामाजिक सञ्जालमा गीतको ब्यापक प्रशंसा भइरहेको छ । प्रकाशका ‘बैनी झ्यालैमा’, ‘घर कता हो बैनीको’, ‘जाम भो माइली’, ले समेत करोड भ्यूज पाएको थियो ।

नेपालमा करोड भ्यूज पाउने गायकको रुपमा समेत स्थापित दुतराजले दशैंतिहारको अवसरमा आयोजित मेलापर्वमा समेत पुगेर आफ्नो प्रस्तुती दिने गरेका छन् ।

उनका धेरै प्रस्तुती मध्ये ‘मन भुल्छ’, ‘जुन माया’ लगायतका गीत समेत रुचाइएको थियो । गायक दुतराजले नेपालीको प्रमु्ख पर्व दशैंको आसपासमै धेरै कोशेली पस्किन्छन् ।

उनले एउटा गीतलाई करिब ६ महिनासम्म मेहनत समेत गरेको बताउँछन् । साधारण र हसिलो स्वभावका दुतराजले सबै उमेर समुहकालाई लक्षित गरी गीतहरू पस्किने भएकाले नै लामो समयसम्म जिब्रोमा भुन्डिने गरेको छ ।

 

 

 

 

विपन्न विद्यार्थीलाई सहयोग गर्न मोना पोर्चुगलको देउसीभैलो

म्याग्दी प्रवासी नेपाली संघ राष्ट्रिय कार्यकारी समिति (पोर्चुगल)ले बर्सेनी जेहेन्दार, विपन्न, प्रतिभाशाली बालबालिकालाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्न देउसीभैलो खेलेको छ ।

पोर्चुगलमा रहेका म्याग्देलीलाई चाडपर्वमा खल्लो महसुस हुन नदिन तथा तिहारको अवसरमा शुभकामना अदानप्रदान गर्न बेला भिस्ता पार्क लिस्बोन्बाट सुरु भएको देउसीभैलोमार्फत अक्षय कोषका लागि ४ लाख ६१ हजार आर्थिक संकलन भएको छ ।

नेपाली मौलिकता प्रस्तुत गदैं मोनामार्फत संस्थागत विकास तथा अक्षयकोषको स्थापना गरी जिल्लाको अति दुर्गम क्षेत्रका बालबालिकालालाई शैक्षिक गतिविधिमा सहयोग गर्ने गरी देउसीभैलो कार्यक्रम सञ्चालन गरिएको मोना पोर्चुगलका अध्यक्ष नर फगामी मगरले बताए ।

‘हामीलाई घरआगनमा स्वागत सहित अविस्मरणीय विदाई गर्नुभयो, देउसीभैलोमार्फत पुगेका सबै ठाउँमा भब्य भयो’ अध्यक्ष फगामीले भने ।उनले म्याग्दीका अति विकट क्षेत्रका बालबालिकालाई शैक्षिक अभियानमा सहयोग सहित मोनाले अक्षय कोषलाई विस्तार गरी थप रचनात्मक सहयोग समेत गर्ने बताए । देउसीभैलो कार्यक्रमले नेपालको झल्को मेट्ने प्रयास समेत गरेको मोना पोर्चुगलका महासचिव तेजिन्द्र छन्त्यालले बताए ।

उनले मोना कोषलाई थप सहयोग मिल्ने गरी अन्य रचनात्मक कार्यहरु समेत गरिने बताए । नेपाली चाडपर्व, देउसीभैलोको संस्कार, संस्कृति, परम्परा संरक्षणसहित अक्षयकोषको अभियानमा आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने सम्पूर्णलाई मोना पोर्चुगलले धन्यवाद दिएको छ ।

देउसीभैलो कार्यक्रमको अध्यक्षता सहित अक्षय कोष अभियानका बारेमा अध्यक्ष फगामी र कार्यक्रमको सञ्चालन महासचिव तेजिन्द्र छन्त्याल र प्रमुख सल्लाहकार लक्षु रोकाले गरेका थिए । मोना पोर्चुगलले संस्थागत विकास सहितका गतिविधिलाई समेत तिब्रता दिएको छ ।

जलजलाकी ९८ बर्षिया बृद्धा एकदिनदेखि बेपत्ता

पर्वतको जलजला गाँउपालिका वडा नं २ रखाल बिसौनाकी ९८ बर्षिया एक बृद्धा मंगलबार दिउँसोदेखि बेपत्ता भएकी छन् ।कुस्मा नगरपालिका वडा नं ११ पकुवाबाट मंगलबार दिउँसो करिब १२ बजे सम्पर्कविहिन भएकी नन्दी जिसीको खोजीकार्य भएपनि बुधबार साँझ सम्म कुनै अत्तोपत्तो नभएको आफन्त पवित्रा खत्रीले बताइन् ।

‘खोजीकार्य जारी छ,‘कतै भेट्नुभयो भने नजिकैको प्रहरी कार्यालयमा जानकारी दिनु अनुरोध गर्दछु’ खत्रीले भनिन् । घरबाट निस्किएपछि निरन्तर खोजीकार्य गर्दा समेत नभेपछिएपछि परिवार चिन्तित छन् । बृद्धा जिसीले गुलाबी सारी लगाएकी छन् । बेपत्ता बृद्धाका बारेमा जिल्ला प्रहरी कार्यालय कुस्मालाई समेत जानकारी गराइएको छ ।

सम्पर्क :9844902947, 9805241619 ,9867849048 ,9821345037

 

विधिपूर्वक लगाइयो भाइटीका, सकियो तिहार

प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका लगाएका छन् । यससँगै नेपालीको दोस्रो महत्वपूर्ण पर्व आजैदेखि सकिएको छ ।

यमपञ्चक समेत भनिने तिहारको पाँचौं एवं अन्तिम दिन आज भाइटीका पर्व दिदी बहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको हो ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले  अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद्  तोयराज नेपालले जानकारी दिए ।

भाइटीका लगाउन आज दिनभर बाधा नभएपनि साइत खोज्नेका लागि समितिले बिहान १०ः५१ बजेको अभिजित् मुहूर्तको समय उत्तम भनी सार्वजनिक गरेको थियो ।

लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजा आराधना गरी दिदी बहिनीले दाजुभाईलाई तेलको धाराले छेकेर परम्परा अनुसार आज सप्तरङ्गी वा पञ्चरङ्गी टीका, मखमली, सयपत्री वा गोदावरी लगायतका फूलका माला लगाइदिएका छन् ।

तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिएपनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको धर्मशास्त्रविद्हरुको भनाइ छ ।

टीका लगाइदिएपछि दिदी बहिनीले दाजुभाइलाई ओखर, कटुस, मर मसला एवं सेलरोटी लगायतका खानेकुरा दिने र दाजुभाइले पनि दिदीबहिनीलाई गच्छे अनुसार सौभाग्यका प्रतीक कपडा र दक्षिणा दिई सम्मान प्रकट गर्ने धार्मिक एवं सामाजिक परम्परा छ ।

दिदी बहिनी नहुनेका लागि आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुलाइएको थियो । बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ । दिदी बहिनी नहुनेहरु भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा आजा एवं दर्शन गरी टीका लगाउने गर्दछन् ।

यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी नहुने दाजुभाइले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।

बालगृहमा सामूहिक भाइटीका

यमपञ्चकको पाँचौ तथा अन्तिम दिन बुधबार म्याग्दीको बेनीस्थित बालगृहमा रहेका अनाथ बालबालिकाहरूले सामूहिक भाइटीका लगाएर मनाएका छन्।

नेपाल बाल सङ्गठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाहरूले एक आपसमा टीका र माला लगाएर तिहार मनाएका हुन्। म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा जन्मिएर हाल हङकङमा बसोबास गर्नुहुने कर्ण पुनको सहयोगमा बालगृहमा सामूहिक भाइटीका कार्यक्रम आयोजना गरिएको हो।

बालबालिकाहरूलाई तिहार निरश नबनोस् भनेर सामूहिक भाइटीका कार्यक्रमका लागि सहयोग गरिएको पुनले बताए।म्याग्दी बालगृहमा हाल नौ जना बालबालिका आश्रित छन्। अभिभावकबिहिन बालबालिकालाई बालगृहलाई आश्रयका साथै माध्यमिक तहसम्मको पठनपाठनको ब्यवस्था मिलाएको छ।

बाल सङ्गठन म्याग्दीका अध्यक्ष राजेश शाक्यले बालगृहमा सामूहिक भाइटीका आयोजना गर्न पूजा सामग्री, मिठाईलगायत खानाका परिकारको ब्यवस्था गर्ने पुनलाई धन्यवाद दिए।

अन्नपूर्णको पञ्चकुण्ड ताल जमेर बरफ भएपछि…

चिसो बढेसँगै उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार क्षेत्रमा अवस्थित पञ्चकुण्ड ताल जमेर बरफ भएको छ। अन्नपूर्ण हिमालको फेदमा अवस्थित हिमाल जस्तै स्वछन्द निलो रङमा देखिने ताल चिसो बढेसँगै हिजो आज जमेको छ ।

दर्शैंतिहारमा विदाको मौका छोपी घुम्न गएका पर्यटकले जमेको तालमा तस्बिर खिचाउन जान थालेका छन्। ‘ताल पूरै जमेको छ, हामीले तालको बिचमा पुगेर समेत तस्वीर लिने अवसर पायौं’ हिमालयन लाइफ इन्स्सुरेन्स बेनी शाखाका प्रमुख रविन जिसीले भने । उनीसँगै पुगेका यूवाहरुको समुहले तालको बिचमा पुगेर दृष्यहरु लिएका थिए । घुम्न गएका पर्यटकहरु जमेको ताल देखेर दंग परेका थिए ।

तालको माथिल्लो क्षेत्र हुदै अन्नपूर्ण हिमालको क्याम्प १ तर्फ जाने क्षेत्रमा समेत सेताम्मे हिमपात भएको छ । यसपटक म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाडौँ, चितवन लगायतका क्षेत्रबाट ३ देखि १५ जनासम्मको समुह बनाएर अन्नपूर्णको यात्रामा निस्किएका थिए ।

संसारमा रहेका ८ हजार मिटरभन्दा अग्ला हिमालमध्ये पहिलोपटक आरोहण भएको नेपालको अन्नपूर्ण प्रथम हिमाल (८०९१ मिटर)को आधार शिविर उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट नियमित पदयात्रामा निस्कनेलाई १ दिनमै पुग्न सकिन्छ भने विस्तारै यात्रा गर्नेलाई डेढ दिनमा बेसक्याम्पस र एकदिन फर्किन लाग्छ । अन्नपूर्ण बेसक्याम्पको सबैभन्दा आर्कषक यही पञ्चकुण्ड ताल मानिन्छ ।

नेपालमा ‘जेठो हिमाल’ भनेर समेत चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदयात्रा’ अन्तर्गत नारच्याङको दोभान–छोटेपा हुँदै हुमखोलासम्म सवारी साधनमा पुगेर त्यहाँबाट पैदलमार्ग हुँदै आधार क्षेत्रसम्म पुगिन्छ।

अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरबाट २२ किलोमिटरसम्म सवारीसाधनको यात्रा गरी होमखोलासम्म आइपुगिन्छ। त्यहाँबाट २१ किलोमिटरको पदैलयात्राबाट आधार क्षेत्र पुगिन्छ। आन्तरिक पर्यटकका लागि छोटो दुरीको प्याकेजमा १ दिने, ३ दिने र लामो दुरीका लागि ७ दिन तय गर्दा सहज हुन्छ ।

आधार शिविरसम्म पुग्ने ठाउँ ठाउँमा निर्मित आश्रयस्थल, विश्राम गर्ने चौतारा लगायत पूर्वाधारले यात्रा सहज भएको बताए। पदमार्गअन्तर्गत छोटेपा, हुमखोला, फुतफुते झरना, सन्धिखर्क, भुसकेत, धर्मशालामा गरी ६ वटा खोलामा झोलुंगे पुल समेत छ आधार क्षेत्रमा हेलिकोप्टरबाट धेरै पर्यटक आवतजावत गर्ने गरेका छन् ।

सात दशकअघि सन् १९५० को जुनमा अन्नपूर्ण हिमाल आरोहण गरी पर्वतारोहणको सुनौलो इतिहास रचेका थिए ।, मौरिसले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो। मौरिस नेपाललाई हिमाल आरोहणबाट विश्वमा चिनाउने पहिलो विदेशी आरोही हुन्।