Saturday, June 28, 2025
22 C
Beni
22 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 675

ताकममा गोठबाटै पशुचौपाया हराउन थालेपछि निगरानी

म्याग्दीको धवलागिरी गाउँपालिकाको वडा नम्बर ७ मा स्थानीय कृषकहरुले पालेका गाइगोरु हराएको छ। गोठबाटै गाईगोरु हराउन थालेपछि प्रहरी चौकी, टोल सुधार समिति र संघ संस्था मार्फत निगरानी गरिने भएको छ ।

गाइगोरु हराउनुको कारण गौबध हुन सक्ने अनुमान गरिएको वडा अध्यक्ष अशोक खत्रीले बताउनुभयो । हराएको पशुचौपाया नभेटिएपछि स्थानीयबासी चिन्तित भएका छन् । पशुचौपाया हराउन थालेपछि छिमेकी वडा तथा गाउँपालिकासँग समेत समन्वय गरी निगरानी बढाइएको छ । यसैबीच वडाभित्र जोखिमयुक्त रुख हटाइने भएको छ ।

वडा अध्यक्ष खत्रीको अध्यक्षतामा बुधबार ताकममा बसेको वडाका सबै सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरु सहित सरोकारवालाको बैठकले गाइगोरु हराउने क्रम बढेपछि निगरानी गर्ने निर्णय समेत गरेको छ ।

वडा अध्यक्ष खत्रीले विद्युतको प्रशारण र वितरण लाइनको छेउछाउ, पहिरोको जोखिम भएको, व्यक्तिको घर तथा खेतीयोग्य जमिनमा असर पुग्ने रुख हटाउने निर्णय भएको जानकारी दिनुभयो ।

सामुदायिक वनको रुख सम्बन्धी सामुदायिक वन उपभोक्ता समूह र व्यक्तिगत जग्गामा पर्ने रुख सम्बन्धित व्यक्तिलाई तत्काल हटाउन अनुरोध गरिएको छ । पहिरोमा रहेका रुखहरुलाई पनि तत्कालै हटाउने र त्यहाँ नयाँ बिरुवा रोप्ने निर्णय गरिएको छ ।

म्याग्दीका दिपेशको अभिनय रहेको म्युजिक भिडियो सार्वजनिक

म्याग्दीका दिपेश रोका क्षेत्रीले अभिनय गरेको खै यो माया होर बोलको गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रविशा अधिकारी र प्रकाश दुतराजको स्वर रहेको यो गितमा रोकाले आयुष्मा कार्कीसँग अभिनय गर्नुभएको छ ।

मंगला गाउँपालिका ५ पाखुका दिपेशको अभिनय रहेको यो पहिलो म्युजिक भिडियो हो ।प्रेमसँग सम्बन्धित गीतको म्यूजिक भिडियो दिप सागरको यूटुव च्यानलबाट बजारमा आएको छ ।

मच्छिमबाट हराएका चार बालिका पोखरामा भेटिए

म्याग्दीको धवलागिरी गाउँपालिका-७, मच्छिमबाट हराएका चार बालिका पोखरामा भेटिएका छन् । मंगलबार एकाविहानै सम्पर्कविहिन भएका सिर्जना प्रतेलबिपना पर्टेल, बिपना पटेल र बिपना पर्टेल पोखराको भलाम भन्ने ठाउँमा फेला परेको हुन्। घरबाट कपडा हालेर विहान करिब ६ बजे निस्किएकाको खोजीकार्यको क्रममा बुधबार पोखरामा सकुशल भेटिएपछि सुरक्षित राखिएको किरण पर्टेलले बेनीअनलाइनलाई जानकारी दिनुभयो ।

कुनै ब्यक्तिको प्रलोभनमा नभई घरायसी झगडाकै कारण गएको पर्टेलले बताए । घरायसी झगडाका कारण घर छोडेर हिडेको अवस्थामा ताकम तथा आसपासमा रहेका खोजी गर्दा पनि बालिकाहरु कतै फेला परेका थिएनन् । बालिका हराएको समाचार देखेपछि पोखरा आसपासका क्षेत्रमा बसोबास गर्ने स्थानीयले खोजीकार्य गरेका थिए ।

बालिकाको खोजीमा बालिकाको फोटो मागेर हुलियासहितको विवरण ताकम प्रहरी चौकी, इलाका प्रहरी कार्यालय दरबाङ सहित सदरमुकाम बेनीमा समेत खोजी गरिएको अवस्थामा कसरी पोखरा पुगे भन्ने कुराको विस्तृत जानकारी बालिकाहरू घरमा आईसकेपछि पत्ता लाग्ने परिवारस्रोतको भनाई छ । हराएका बालिकाका स्थानीय भुमे आधारभुत विद्यालयमा अध्ययरत छन् । बालिका हराएको समाचार बेनीअनलाइनले समेत प्रकाशित गरेको थियो ।

मालिकाको सार्वजनिक सुनुवाइमा सर्वधारण, नागरिकहरुका गुनासाहरु पोखिए

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको आयोजनामा हिँजो (मङ्गलवार) सदरमुकाम दरबाङमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । ‘कृषि–पर्यटन–सडक–खानेपानी हाम्रो पूर्वाधार, मालिका गाउँपालिकाको दीगो विकासको आधार’ भन्ने मूल नारासहित सार्वजनिक सुनुवाई गरिएको हो ।

गएको आर्थिक वर्ष २०७८÷०७९ मा भए गरेका कार्यक्रम तथा योजना र चालु आव ०७९÷८० को पहिलो छ महिनाको अवधिमा सम्पादित कार्यक्रम एवं योजनाहरुको विषयमा सार्वजनिक सुनवाई कार्यक्रम आयोजना गरिएको मालिका गाउँपालिकाले जनाएको छ । सार्वजनिक सेवा प्रवाहमा सुधार, विकास निर्माणमा पारदर्शी तथा जनताको सुझाव एवं अपेक्षा सङ्कलन गर्ने उद्देश्यले सार्वजनिक सुनुवाई गरिएको हो ।

कार्यक्रमको औचित्य तथा उद्देश्यमाथि प्रकाश पार्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले सार्वजनिक सुनुवाई आफैमा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने माध्यम भएको बताउनुभयो । उहाँले सार्वजनिक सुनुवाई आम नागरिक र जनप्रतिनिधि तथा कर्मचारीबीच पुलको माध्यममार्फत जवाफदेही र उत्तरदायी बनाउने कार्य भएको बताउँदै अहिले गाउँपालिका कानुन निर्माणको चरणमा प्रवेश गरेको बताउनुभयो । अहिले पनि वडास्तरमा कर्मचारीको अभाव रहेको उहाँको भनाइ छ ।

चालु आवका लागि ४९ करोड २६ लाख ३८ हजार रुपैयाँ बजेट विनियोजन भएको मालिकामा हालसम्म २५ प्रतिशत बजेट खर्च भएको छ भने आन्तरिक राजश्व सङ्कलनतर्फ १४ लाख १९ हजार र ढुङ्गा, गिटी बालुवा बिक्रीबाट १७ लाख रुपैयाँ राजश्व सङ्गलन भएको लेखा शाखाले जनाएको छ ।

यसैगरी वार्षिक स्वीकृत कार्यक्रमअनुसार हालसम्म विभिन्न ३७ वटा योजनाहरु सम्झौता भई कार्यान्वयनको चरणमा प्रवेश गरेका छन् । सार्वजनिक सुनुवाई कार्यक्रमको गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा पालिकाको विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिहरुले आ–आफ्नो शाखाको प्रस्तुतीकरण गरेका थिए ।

सार्वजनिक सुनुवाइमा सहभागी स्थानीयवासीहरुले सडकको डिपिआर बनाउँदा सूचना नदिइएको, ढल व्यवस्थापन नभएको, गाउँपालिकाको प्रशासनिक भवन निर्माणकार्यको प्रक्रिया किन रोकिएको, प्राथमिक स्वास्थ्य केन्द्र दरबाङलाई अस्पतालको रुपमा स्तरोन्नति नगरिएको, उद्योगी व्यवसायीलाई करछुट दिइनुपर्ने, ढलान गरेको सडकमा स्काभेटर गुडाएको, विपद्को समयमा सडक मर्मतसम्भार गरेको पैसा नपाएको, शैक्षिक क्षेत्रलाई व्यवस्थित बनाउनुपर्ने जस्ता प्रश्नहरु गरेका थिए ।

त्यस्तै हाइड्रोले फ्याँकेको फोहोरले मेसिनरीवालमा क्षति पु¥याएको, प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विद्यार्थीहरुलाई आर्थिक सहुलियत दिनुपर्नेलगायत शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि र सडकसँग सम्बन्धित जिज्ञासा तथा प्रश्नहरु सहभागीहरुले धेरै उठाएका थिए ।

कार्यक्रममा सहभागी प्रेमबहादुर पटेल, ज्ञानबहादुर पुन, रघुनाथ न्यौपाने, गोपाल गौतम, भीमप्रसाद गौतम, लेखबहादुर पुन, दुर्गाप्रसाद बुढामगर, सिर्जना विक, डम्बर घर्तीमगर, कमलनाथ शर्मा, यमन नेपाली, सीता सुवेदी, बुद्धिबहादुर पुन, छेमबहादुर विश्वकर्मा, वीरेन्द्र पुन, मोतिराज गौतम, गोपाल कँडेल, सन्तोष सुवेदी र सन्तोष पन्तले आ–आफ्नो धारणा तथा सुझावसहित जिज्ञासा र प्रश्न गर्नुभएको थियो ।

सहभागीहरुले उठाएको प्रश्नको जवाफ दिँदै गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले उद्योगी, व्यवसायीलाई करछुट दिनको लागि आवश्यक समन्वय गरेर अगाडि बढ्ने बताउनुभयो । उहाँले गाउँपालिकाको प्रशासनिक भवन निर्माण गर्नका लागि यसअघि पनि पटकपटक बजेट विनियोजन भएर पनि काम हुन नसकेको बताउँदै सबैको सल्लाह र समन्वयमा भवनको निर्माणकार्य गरिने जानकारी दिनुभयो ।

सहभागीले उठाएको प्रश्नको जवाफ प्रमुख प्रशासकीय अधिकृत काफ्ले, मालिका–१, निस्कोटका वडा अध्यक्ष टंकप्रसाद पुन, विषयगत शाखाका प्रमुख तथा प्रतिनिधिले दिनुभएको थियो । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको सहजीकरणमा सम्पन्न सार्वजनिक सुनुवाइको महासंघका सल्लाहकार ठाकुरप्रसाद आचार्य, कोषाध्यक्ष अमित विश्वकर्मा र पत्रकार प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

‘कालीगण्डकी छेउको ढुङ्गा देवता कहलाउँछ’

भारतको अयोध्यामा निर्माणाधिन श्रीरामजन्मभूमि मन्दिरमा राखिने भगवान श्रीरामको मुर्ति बनाउनका लागि छनोट गरिएको शिला बुधवार (आज) कालीगण्डकीबाट निकालिएको छ । शालिग्राम शिला पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीको शिलाबाट हिन्दुहरूको प्रशिद्ध धार्मिकस्थल अयोध्यामा निर्माणाधिन श्रीराम जन्मभूमि मन्दिरमा भगवान श्रीरामको बालरुपको मुर्ति निर्माण गर्ने तय भैसकेको छ ।

म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारको शिला आज (बुधवार) क्रेनमार्फत शिला निकाली गाडीमा राखेर गलेश्वर लगिएको छ । बिहीवार (भोलि) श्रीपञ्चमीको दिन शिलाको विशेष पूजाआजा गरी जनकपुरधाम हुँदै अयोध्या पठाइने बेनी नगरपालिकाका प्रमुख सुरत केसीले जानकारी दिए ।

गत आइतवार गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले धार्मिक बिधिअनुसार क्षमापुजा र गंगा पुजन गरेर शिला जनकपुर मन्दिरका पिठाधीस राम तपश्वेर दास र अयोध्याको राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजलाई शिलाको प्रतिक स्वरुप तीनवटा शालिग्राम हस्तान्तरण गरेका थिए ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार १८ र १६ मेट्रिकटन तौल भएका, सात फिट लम्बाइ, पाँच फिट चौडाइ र तीन दशमलव पाँच फिट मोटाइका दुईवटा शिलाको पहिचान र क्षमापुजाको काम सम्पन्न भएपछि बिहीबार श्रीपञ्चमीको शुभसाइतमा शिला अयोध्या पठाउन लागिएको हो ।

हिन्दु धर्मावलम्बीहरूको केन्द्र अयोध्यासँगको जनकपुरको धार्मिक र ऐतिहासिक सम्बन्ध रहेको छ । कालीगण्डकीको शिला अयोध्या लगेर भगवान श्रीरामको मूर्ति बनाउँदा कालीगण्डकीको महत्व अझै बढ्ने अयोध्याबाट आउनुभएका राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए । “यहाँबाट लैजाने शिलाबाट श्रीरामको मूर्ति बनाएर मन्दिरमा राख्छौं,शालिग्राम पाइने कृष्णा गण्डकीको किनारका शिला देवताका अवतार हुन्” उनले भने ।

बेनी नगरपालिकाका नगरप्रमुख केसीले प्रदेश सरकारले सम्झौता गरेको कम्पनीको क्रेन आएपछि शिला उत्खनन् गरी टिपरमा राखेर अयोध्या पठाउन लागिएको बताए । “अयोध्या र जनकपुरको धार्मिक, सांस्कृतिक र आर्थिक सम्बन्धलाई यो शिलाले कालीगण्डकी र म्याग्दीसम्म विस्तार गर्छ,” उनले भने । बेनी नगरपालिकाले यो शिला गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरेको छ । गण्डकी प्रदेश सरकारले मधेश प्रदेश सरकारलाई हस्तान्तरण जनकपुर पुर्याएर हस्तान्तरण गर्ने छ ।

जनकपुरबाट नेपाल सरकारले भारत सहकारलाई हस्तान्तरण गरेपछि अयोध्या पठाइने प्रतिनिधिसभा सदस्य विमलेन्द्र निधीले बताए , सूर्यवंशी राजा र भारतीय राजनीतिको केन्द्र हो अयोध्या मर्यादा पुरुषोत्तम भगवान रामको जन्मस्थल,भारतीय संस्कृति,शिक्षा र सभ्यताको उद्गम्स्थल र प्राचीन सूर्यबंशी राजाहरुको राजधानी समेत रहेको प्राचीन नगरी अयोध्या हिन्दू सभ्यतालाई संसारभरी चिनाउने आखी झ्याल बनेको छ ।

नील नदीको किनारमा पिरामिडको अस्तित्व नहुदै, युरोपीय सभ्यताको केन्द्रबिन्दु मानिने युनान र रोममा सभ्य संस्कृति स्थापित नभइसकेको अवस्थामा भारतीय सभ्यतालाई विश्वमा चिनाउन सफल भएको साकेत नगरी अयोध्या पछिल्लो समय भारतीय राजनीतिको प्रमख केन्द्रसमेत बनेको थियो ।

नेपाल भारतको सिमानामा पर्ने सुनौलीबाट लगभग दुई शय किलोमिटर टाढा पश्चिममा पर्दछ अयोध्या । सभ्यताको पहिलो किरण सर्वप्रथम अयोध्याबाट नै युनान र त्यसपछि सारा युरोपभरि प्रसारण भएको यहाका सन्त महात्माहरुको भनाइरहेको छ ।

हालको राजनीतिक विभाजन अनुसार अयोध्या भारतको उत्तर प्रदेशमा पर्दछ । यहा करिव पौने छ लाख जनसंख्या रहेको छ । उत्तर प्रदेश सरकारले हालै फैजावाद जिल्लाको नाम अयोध्याजी कायम गरेको छ ।

यो नगर सरयु नदीको किनारमा अवस्थित छ । नेपालका महाकाली, कर्णाली र वबई नै भारतमा प्रवेश गरेपछि आपसमा मिली ‘सरय’ु बन्दछन् । सरयु हिन्दूहरुको लागि पवित्रतम नदी हो । अयोध्याका आठ नाम छन् हिरण्य, चिन्मया, जया, अयोध्या, नन्दिनी, सत्या, राजिता र अपराजिता ।

यो नगर साकेत, कोशल या अवध कहलिने ठूलो भूभाग ओगट्ने राज्यको राजधानी थियो । यो पवित्र प्राचीन सप्तपुरीमध्य पर्दछ । अयोध्या, अवन्ती या उज्जैन, काँची, द्वारिका, काशी, माया या हरिद्वार र मथुरालाई प्राचीन सप्तपुरी मानिन्छ ।

अयोध्याको उत्तरतोताद्रीमठस्थित श्री निवास रामानुज संस्कृत महाविद्यालयका प्रध्यापक बालगोपाल मिश्रका अनुसार जुन बखत असभ्य र बर्वर युरोपियनहरु वन वन घुमेर जीवन निर्वाह गर्दथे सोभन्दा धेरै पहिले अयोध्या सभ्यताको शिखरमा थियो। मिश्रका अनुसार अयोध्याले मानव जातिलाई मर्यादा, अनुशासन, सदाचार र सत्यनिष्ठाको पाठ सिकाएको छ । अयोध्याले प्राचीन कालदेखि नै चिन्तित र शोकग्रस्त मानवलाई शान्ति र मानसिक स्थिरता प्रदान गर्दै आएको छ ।

सहनशीलता र शालीनता नै अयोध्याका जग हुन । अहिले पनि शोकले जर्जर, दुखी र मानसिक विसादमा परेका व्यक्तिहरु अयोध्या जान्छन र जीवनको अर्थ थाहा पाउने प्रयास गर्दछन । भगवान श्रीरामको जन्मभूमी,शिद्ध महात्माहरुको तपोभूमी र ज्ञानको महासागर मानिने अयोध्या श्रीरामको परमधाम भएपछि उजाड भएको र पछि राजा विक्रमादित्यले अयोध्यालाई पुनः पुर्नजीवित बनाएको इतिहास रहेको छ ।

राजा विक्रमादित्यले नै वनभित्र आफ्नो अस्तित्व छिपाएर बसेका सम्पूर्ण भग्नावशेषहरुको े जिर्णोद्धार गरे । उनैले अयोध्या महात्म्य भन्ने पुस्तकको रचना गर्न लगाए, र बिक्रम सम्बतको सुरुवात गरे । त्यसपछिका केही शताव्दिमा अयोध्याको महत्व झन् बढ्दै गयो र यसको नव निर्माण हुदै रह्यो । तर लगभग आठौ शतादिदेखि विदेशी आक्रमणकारीहरुको शिकार हुँदै गयो अयोध्या ।

शाह फिरोज, मुहम्मद तुगलक, सिकन्दर लोदी, बावर र औरंगजेव आदिले पटक पटक कठोर आक्रमण गर्दा पनि अयोध्याले आफ्नो गरिमालाई जोगाई राख्नु अत्यन्तै आश्चर्यको कुरा हो ।

भौतिक संरचना तहसनहस होलान, तर जनताका आस्थाका किल्लाहरू जति शक्तिशाली बादशाहले पनि भत्काउन सक्दा रहेनछन । अटल आस्था अजेय हुन्छ भन्ने उदाहरणको रुपमा आफ्नो शिर ठाडो पारेर झन् जीवन्त रुपमा खडा भइरह्यो अयोध्या । अयोध्या आश्चर्यजनक ठाउँ हो । अयोध्यामा जति पनि मठ, मन्दिर र अखाडा छन्, ती सवै सन्त महात्माका देन हुन ।

कुनै संरचनामा पनि सरकारको योगदान छैन । मठ, मन्दिर र अखाडाका सन्त, महन्त र पूजारीलाई हजारौं लाखौँ भक्तजनले चढाएको दश, बीस, शय पचासको रकमबाटै करोडौं जम्मा हुन्छ र त्यसैबाट, खाना, आवास, धर्मशाला पूजापाठ चल्दछन । सरयु नदीको तटमा अवस्थित अयोध्या धाम हिन्दुहरूले भगवान् रामको जन्मस्थान भनी विश्वास गरेको पवित्र तीर्थस्थल हो ।

यो भारतको उत्तर प्रदेशको फैजावाद जिल्लामा पर्दछ । मुगल सम्राट्ले सन् १५२८ मा मस्जिद निर्माण गरेको इतिहासमा उल्लेख छ । सन् १८५९ मा ब्रिटिस शासकले तारबार निर्माण गरी भित्र मुस्लिमलाई प्रार्थना तथा बाहिर हिन्दुलाई पूजा गर्न स्वीकृति दिने व्यवस्था गरेका थिए ।

सन् १९९२ मा विश्व हिन्दु परिषद्, शिवसेना तथा भारतीय जनता पार्टीका समर्थकले मस्जिदमा आक्रमण गरेर क्षति पु–याएका थिए । त्यसपछि फैलिएको हिन्दु–मुस्लिम दङ्गामा अयोध्यामा दुई हजारभन्दा धेरै मानिसले ज्यान गुमाएका थिए । सोही समय हिन्दूहरुले बाबरी मस्जिद समेत भत्काएका थिए ।

मस्जिद भत्काइ पछि सो क्षेत्र धेरै समयसम्म विवादित क्षेत्रको रुपमा रहेको थियो । ९ नोभेम्बर सन् २०१९ मा सर्वोच्च अदालतले विवादित स्थलमा राममन्दिर निर्माण गर्न बाटो खुलाएको फैसला सुनाएको थियो । सोही फैसला पछि ५ अगस्ट २०२० मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राममन्दिरको भूमिपूजा गरेर सन् २०२४ भित्र निर्माणकार्य पूरा गरिसक्न निर्देशन दिएका थिए । अहिले सोही स्थानमा राम मन्दिर निर्माण भैरहेको छ। मन्दिर निर्माणको जिम्मा राम मन्दिर निर्माण ट्रस्टले पाएको छ ।

ट्रस्टका अधिकारीहरूको भनाइमा ४ हजार करोड भारतीय रुपियाँमा मन्दिर निर्माण भैरहेको छ । सोही मन्दिरमा कालीगण्डकीको शिलाबाट निर्माण गरेर भगवान श्रीरामको बाल वयको मुर्ति राखिने राम मन्दिर निर्माण समितिका सचिव राजेन्द्रसिंह पंकजले बताए । उनका अनुसार मन्दिर निर्माणकार्य पूरा भएसँगै त्यहाँ जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट तयार पारिने धनुष समेत राखिनेछ ।

जुन धनुषले राजा जनककी छोरी सीतासँग रामको विवाह भएको घटना स्मरण गराउनेछ । यसबाट नेपाल भारतको सम्बन्ध कति पुरानो रहेछ भन्ने प्रष्ट हुनेछ । यतिमात्र होइन, राममन्दिरमा राखिने धातुको धनुषले नेपाल–भारतबीचको सामाजिक, धार्मिक, सांस्कृतिक, राजनीतिक र आर्थिक सम्बन्ध थप उचाइमा पुग्ने विश्वास गरिएको अयोध्यामा धनुष र कालिगण्डकीको शिलाबाट रामको मुर्ति बनाउने अभियानमा संलग्न पत्रकार रामजी दाहालले बताए ।

हङकङमा थाली नाच जोगाउने एक्ली कलाकार

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा रहेका नेपालीले आयोजना गर्ने कार्यक्रममा हातमा थाल राखेर हत्केलाले घुमाई–घुमाई नचाउने र नाच्ने गरेको दृष्यलाई चासोपु्र्वक हेरिन्छ। नृत्य प्रस्तुत गर्दा हातमा थाललाई एउटा जादुगरले सर्कसमा प्रस्तुत गर्ने कला भन्दा कमी नहुने म्याग्दीको पहिचानको रुपमा रहेको लोपउन्मुख थाली नाच पछिल्लो समय हङकङमा निकै लोकप्रिय बन्दै गएको छ।

हङकङका हरेक कार्यक्रम तथा नेपालीले आयोजना गर्ने विभिन्न कार्यक्रममा गून्यु, चोलो, पटुकीको पहिरनमा सजिएर थाली नृत्यमार्फत प्रस्तुत गर्ने म्याग्दीकी मनु पुनले थाली नाचलाई हङकङमा लोकप्रिय बनाउन सफल भएको बताईन्। घरायसी काम, नियमित पसलमा बस्नुपर्ने भएपनि पुनले एक्लै सार्वजनिक कार्यक्रममा थाली नाचमार्फत म्याग्दीको मौलिक नाचको जर्गेनाको प्रयासमा समेत सक्रिय छिन्।

बाल्कालमा रघुगंगा गाउँपालिका–६ पाखापानीको अमर मावि र गाउँमा हुने कार्यक्रममा थाली नाचमार्फत पुरस्कार समेत जितेकी पुनले सन् २००९ मा प्रथम मोना नाईटमार्फत पहिलोपटक हङकङमा डमायाँ पुर्जा लगायतसँग मिलेर थाली नाच प्रस्तुत गरेकी थिईन्। अहिले पुन हङकङमा थाली नाच देखाउने करिब एक्ली कलारका भएकी छन्। उनको अभियानमा मोना हङकङका अध्यक्ष समेत रहेका श्रीमान कर्ण पुन मगरले साथ दिएका छन्। थाल हातमा राखेर कलात्मक प्रस्तुतीले हङकङमा पुगेका नेपालीले मात्रै रुचाइनन् चिनियाँ दिवसको अवसरमा हङकङ सरकारले आयोजना गरेको कार्यक्रममा समेत पुनले थाली नाच प्रस्तुत गरेकी थिईन्।

विभिन्न देशबाट आएकालाई थाली नाचमा छमछमी नचाउन सफल पुनले करिव एक दशकमा धेरै कार्यक्रममा थाली नाच देखाउन सफल भएको बताईन्।‘बाल्यकालमै सिकेको नाच हो,‘घरमा पनि फुर्सदमा नाँच्छु’ पुनले भनिन्। मोना हङकङ सांस्कृतिक विभागकी प्रमुख समेत रहेकी पुनले मगर समाज, पुन मगर समाज लगायतका संघसंस्थाले समेत थाली नाचको अफर गर्ने गरेको बताउँदै फुर्सद मिलाएर सहभागी हुने गरेको बताईन्।

थाली नाचमा मौलीकता र आफ्नोपन झल्कने गरेको बताउँदै पुनले माइती गाउँ पाखपानीबाट सिकेको नाचलाई हङकङसम्म देखाउन सफल भएको बताईन्। थाल भुईमा खस्यो भने अशोभनीय मान्ने गरिएकाले नाच अवधिमा धेरै सावधानी अपनाउनुपर्ने कलाकार पुनको भनाई छ। दुवै हातमा थाल राखेर सावधानीपूर्ण तरिकाले नाचिने हुदाँ थाली नाच रोचकपुर्ण हुन्छ।

उनले नाचमार्फत दर्शकको आर्कषक र आर्थिक सहयोग जुटाउन समेत सहज भएको बताईन्, दशक अगाडीसम्म तौल भएको चरेसको थाल नचाउने चलन भएपनि अहिले स्टलको थाल नचाउने गरिन्छ । वि.सं २००८ सालमा म्याग्दीको चिमखोलामा जन्मिएकी हिरामाया पुन श्रीसले सिर्जना गरेर प्रदर्शन गर्न थालिएको ‘थाली नाच’ अहिले म्याग्दीभित्र मात्रै देशभरका नेपालीबीच लोकप्रिय बन्दै गएको छ। वि.सं २०२८ सालमा चिमखोलाकी हिरामाया पुनले पहिलो पटक पञ्चेबाजाको तालमा थाली नृत्य प्रस्तुत गरेकी थिईन्। वि.सं २०४४ सालमा काठमाडौंमा भएको सार्क सम्मेलनमा प्रस्तुत भएपछि थालीनाचको राष्ट्रिय र अन्तर्राष्ट्रियकरण भएको हो।

ग्लोवल आइएमईको तातोपानीमा एक्सटेन्सन काउण्टर

म्याग्दीको बेनी नगरपालिका–४,तातोपानीमा ग्लोवल आइएमई बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउण्टर संचालन गरेको छ। बेनी नगरपालिका र छिमेकी मंगला गाउँपालिकाका बासिन्दालाई लक्षित गरी तातोपानी बजारमा बुधबार ६३ औं एक्सटेन्सन काउण्टर उद्घाटन गरि औपचारिक रुपमा संचालनमा ल्याईएको हो ।

काउण्टरको उदघाट्न गदैं बेनी नगरपालिकाका मेयर सुरत केसीले वित्तिय संस्थाको पहुँचले बचत गर्ने बानीको विकास हुने बताउनुभयो ।ग्रामिण क्षेत्रमा बसोबास गर्नेलाई वित्तिय पहुँचसँगै दैनिक मजदुरी गर्नेहरूलाई समेत बचत गर्ने बानीको बिकास गराउन आवश्यक रहेको बताउनुभयो ।

उहाँले नगरपालिका भित्र बेनीबजार बाहेक पहिलोपटक बाणिज्य बैंकले तातोपानीमा स्थापना गरेका एक्सटेन्सन काउण्टरले जनतालाई बैंकिङ कारोबारका लागि सदरमुकाम धाउनुपर्ने बाध्यता हटेको बताउनुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष प्रमोद श्रेष्ठले तातोपानीमा स्नान गर्न आउने बिरामी, आन्तकिर तथा बाह्य पर्यटकलाई समेत सहज भएको बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य प्रेम पुन, तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्यले बाणिज्य बैंकले सेवा विस्तारले स्थानीयबासीलाई कारोबारमा सहज हुने बताउनुभयो ।

सोही अवसरमा ग्लोबल आइएमई महेश सिलवालले सबै जिल्ला र ब्यापारिक केन्द्रमार्फत सर्वसाधारणलाई वित्तिय पहुँचमा राख्ने बैंकको लक्ष्य अनुसार अगाडी बढेको बताउनुभयो । उहाँले तत्काल काउण्टरको रुपमा सञ्चालन गरेपनि निकट भविश्यमा शाखा नै संचालन गर्ने उद्देश्य रहेको बताउनुभयो ।

कार्यक्रम बेनी शाखा प्रबन्धक शोकेन्द्र थापाको अध्यक्षता, स्वागत प्रदेश प्रमुख इश्वरीप्रसाद जोशी र बागलुङ शाखाका प्रवन्धक हेमराज शर्माको सञ्चालन संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । ग्लोबल आइएमईले बैंक अफ काठमाण्डौलाई मर्जर गरेपछि उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा समेत एक्सटेन्सन काउण्टर विस्तार गरेको छ । हाल देशरभर देशभर ३६५ शाखा, २ सय २१ शाखरहित सेवा, ३ सय ६९ स्थानमा एटिएम र विदेशमा ३ वटा प्रतिनिधि सम्पर्क कार्यालय रहेको छ ।

माओवादी केन्द्र बेनी नगरको विस्तारित बैठक

नेकपा (माओवादी केन्द्र) बेनी नगर कमिटिको विस्तारित बैठक मंगलबार बेनी स्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ ।

बैठकले गण्डकी प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा नियुक्त हुनुभएका म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित जिल्ला संयोजक रेशम जुग्जाली, प्रदेशसभा क्षेत्र (क)बाट निर्वाचित हरिबहादुर भण्डारी, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. मिनबहादुर श्रेष्ठ र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा नियुक्त हुनुभएका पुनम खड्कालाई बधाई ज्ञापन गरेको छ ।

माओवादी केन्द्र बेनी नगर कमिटिका अध्यक्ष सेरबहादुर केसीको अध्यक्षता, जिल्ला ईञ्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यता र नगर सचिव ज्ञानेन्द्र सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनको समिक्षाका साथै नगरको आगामी कार्यक्रम र योजनाको विषयमा छलफल भएको थियो ।

जिल्ला इञ्चार्ज पौडेलले सरकारमा म्याग्दीको उपस्थितिलाई प्रभावकारी बनाउन र संगठन निर्माणमा जुट्न नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । म्याग्दीको विकास र परिवर्तनका लागि नेता कार्यकर्ताहरुले पहलकदमी लिएर सक्रीयताका साथ काम गर्न आग्रह गर्नुभयो ।

प्रदेश सभा क्षेत्र (क)का इञ्चार्ज बिनोद केसी, बेनी नगर ईञ्चार्ज पदम पुन लगायतको उपस्थिति रहेको सोही बैठकमा हाल न्युजील्याडमा रहनुभएका पार्टीका शुभचिन्तक लाल केसीलाई कदरपत्रले सम्मान गरिएको थियो ।  

राष्ट्रिय वाणिज्य बैंकले बेनी शाखाले मनायो ५८ औं वार्षिकोत्सव

राष्ट्रिय वाणिज्य बैंकले बेनी शाखाल ५८ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमका बक्ताले उत्पादन र ग्रामिण केन्द्रित लगानीमा जोड दिएका छन् ।

शाखा कार्यालयमा आयोजित बार्षिकत्सवका प्रमुख अतिथि गण्डकी प्रदेशका सांसद हरी भण्डारीले सरकारी स्वामित्वको बैंकमार्फत निम्न र विपन्न बर्षको जिवनस्तर उकास्न सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । संसद भण्डारीले उत्पादन र बैंकको पहुँच बाहिर रहेकालाई सेवा प्रवाहसँगै वित्तिय सचेतनामुलक कार्यक्रम आवश्यक रहेकोमा जोड दिनुभयो ।

सोही अवसरमा ग्राहकको तर्फबाट स्वास्थ्य कार्यालय म्याग्दीका जनस्वास्थ्य अधिकृत भिमप्रसाद आचार्यले सरकारी बैंकबाट सेवा लिन झन्झट हुन्छ भन्ने प्रचारलाई राष्ट्रिय वाणिज्य बैंकले तोड्न सफल भएको बताउनुभयो ।

सरल र सहज सेवासँगै ग्राहकमैत्री कर्मचारीकै कारण नियमित सेवा लिन आउने गरेको आर्चायको भनाई थियो । कार्यक्रमको अध्यक्षता गदैं शाखा प्रबन्धक नवराज ढुंगानाले वित्तिय सेवासँगै सामाजिक उत्तरदाहित्व बहन गर्ने कार्यमा बैंकले निरन्तर प्राथमिकता दिएको बताउनुभयो ।

प्रबन्धक ढुंगानाले आफ्ना ग्राहकहरुलाई सहज र सुलभ रुपमा बितिय सेवा उपलब्ध गराउँदै बताउँदै विपन्नलाई स्वास्थ्य विमा, वित्तिय साक्षरता कार्यक्रम सहित विभिन्न रचनात्मक कार्यक्रमहरुमार्फत सेवाग्राहीको मन जित्न सफल भएको बताउनुभयो । बार्षिकोत्सवको अवसरमा सेवाग्राहीको तर्फबाट श्रीलाल पौडेल र भिमप्रसाद आचार्यलाई सम्मान गरिएको थियो ।

वि सं २०२२ साल माघ १० गते स्थापना भएको बैंक माओवादी जनयूद्धको कारण पश्चिम म्याग्दीको दरबाङबाट विस्थापित भएर बेनीबाट सञ्चालन गरिएको थियो ।

तत्कालिन समयमा बेनीबाट समेत बागलुङ शाखामा गाभिने प्रयासलाई यहाँका उद्योग ब्यापारीको पहलमा रोकिएको थियो । देशभरका २६५ शाखाबाट बैंकले ४ हजार २४ कर्मचारीमार्फत् सर्वसाधारणलाई अत्याधुनिक वित्तीय सेवा प्रदान गर्दै आइरहेको बताएको छ ।

तेस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधि रघुगंगा माविलाई

????????????????????????????????????

रघुगंगा गाउँपालिकाको आयोजनामा सम्पन्न अन्तर मावि स्तरिय तेस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि रघुगंगा माध्यमिक विद्यालयले जितेको छ । मंगलवार वडा नम्बर ३ स्थित रघुगंगा माविको खेलमैदानमा सम्पन्न प्रतियोगितामा १५ स्वर्ण, ४ रजत र १ कास्य पदक हात पार्दै रघुगंगा मावि प्रथम हुन सफल भएको हो ।

????????????????????????????????????

त्यसैगरि प्रतियोगितामा ५ स्वर्ण, १३ रजत र ४ कास्य पदक सहित मुक्तिधाम मावि दोस्रो र ३ स्वर्ण, २ रजत र ३ कास्य पदक सहित अमर मावि पाखापानी तेस्रो हुन सफल भएका छन् । प्रथमलाई ५० हजार, द्धितियलाई ३० हजार रुपैयाँ र तितृय हुन सफल विद्यालयलाई २० हजार रुपैयाँको साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ ।


लगातार तीन पटक नै बिजेता बन्न सफल रघुगंगा माविले रनिङ शिल्ड पच गरेको छ । प्रतियोगितामा महिला र पुरुषतर्फ भलिबल र एथलेटिक्स विद्यातर्फ विभिन्न १३ इभेन्टमा विद्यार्थीहरुबिच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगिताको हरेक विद्यामा स्वर्ण, रजत र कास्य पदक बिजेतालाई नगद एक हजार रुपैया, ७ सय र ५ सय रुपैयाँका दरले पुरस्कृत गरिएको गाउँपालिकाले जनाएको छ । प्रतियोगितामा गाउँपालिकाभित्रका १० वटा माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले सहभागिता जनाएका थिए ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य बिमला गौचन, गाउँपालिका अध्यक्ष भबबहादुर भण्डारी, उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकाल, शिक्षा अधिकृत कृष्णप्रसाद सुवेदी, वडा नम्बर ३ का वडा अध्यक्ष खिमबहादुर शाही लगायतले पदक विजेता खेलाडी र उपाधि बिजेता विद्यालयलाई पुरस्कार प्रदान गर्नुभएको थियो ।


पुरस्कार वितरण गर्दै प्रदेश सभा सदस्य गौचनले प्रतियोगिताले विद्यार्थीहरुमा रहेको खेल प्रतिभाको पहिचान गरेको बताउँदै विद्यार्थीहरुले अध्ययन संगै खेलकुदमा समेत अघि बढ्न सकेमा भविश्य उज्वल रहेकोमा जोड दिनुभयो । कार्यक्रममा गाउँपालिका अध्यक्ष भण्डारी, प्रमुख प्रशासकीय अधिकृत ढकाल र वडा नम्बर ३ का अध्यक्ष शाहीले प्रतियोगिताबाट पहिचान भएका उत्कृष्ट खेलाडीहरुलाई जिल्ला स्तरमा समेत सहभागीता गराउने बताउँदै खेल क्षेत्रमा समेत विद्यार्थीहरुले आफ्नो पहिचान बनाउन सक्नेमा जोड दिनुभयो ।