Saturday, June 28, 2025
24.5 C
Beni
24.5 C
Beni
Saturday, June 28, 2025
Home Blog Page 676

रेशम जुग्जालीले लिए मन्त्री पदको शपथ

गण्डकी प्रदेश सरकारकोे उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा नियुक्त भएका रेशम जुग्जालीसहित ३ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुलाई मंगलबार साँझ प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

एमालेका रोशन गाहाले आन्तरिक मामिला, सीता सुन्दासले आर्थिक मामिला र वेदबहादुर गुरुङले कृषि तथा जलस्रोत मन्त्रालयको जिम्मेवारी पाएका छन् । माओवादी केन्द्रका हरिबहादुर चुमानलले भौतिक पूर्वाधार तथा यातायात, रेशमबहादुर जुग्जालीले उद्योग, पर्यटन, वन तथा वातावरण र राप्रपाका पञ्चराम गुरुङले सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

म्याग्दीबाट निर्वाचित रेशम जुग्जाली गण्डकी प्रदेशको उद्योगमन्त्री

म्याग्दीबाट निर्वाचित जुग्जाली उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बन्नुभएको छ । म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई मुख्यमन्त्री खगराज अधिकारीले उक्त मन्त्रालयको जिम्मेबारी दिनुभएको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुनुहुन्छ ।

माओवादीबाट मन्त्रीको जिम्मेबारी पाएपछि सांसद जुग्जालीले आफ्नो कार्यकालमा जिल्लाको विकासमा खास भूमिका निर्वाह गर्ने बताउनुभयो । पश्चिम म्याग्दीको मालिका गाउँपालिका वडा नम्बर ७ बिमका जुग्जाली विद्यालय पढ्दा वि.स. २०५६ मा अनेरास्वीयू क्रान्तिकारीमा संगठित हुनुभएका जुग्जाली २०५७ मा सो संगठनको जिल्ला सदस्य, २०५८ मा जिल्ला सचिव र २०५८ देखि जनयुद्धमा भूमिगत हुनुभएको थियो ।

२०५८ मा एरिया कमिटी सदस्य, २०५९ मा माओवादी जिल्ला सदस्य, २०६१ मा इलाका इञ्चार्ज भएका उहाँ जनमुक्ति सेनामा कम्पनी कमिसार हुदै बटालियन भ्वाईस कमाण्डर बन्नुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगँरात राज्य कमिटी सदस्य बन्नुभएको थियो ।

जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षको उमेद्वार बन्नुभएको थियो । मन्त्री जुग्जालीका दाजु जितबहादुर जुग्जालीको वि.स. २०५८ मा सोलुखुम्बुको सल्लेरी आक्रमणका क्रममा सहिद हुनुभएको थियो।

 

ललितपुरबाट मौरी चराउन बागलुङ !

मौरीपालन व्यवसायका लागि उपयुक्त बनेको पहाडी जिल्ला पछिल्लो समय मौरीपालनको ‘हब’ बन्दै गइरहेको छ । पहाडी क्षेत्रमा चरेका मौरीको मह अग्र्यानिक र स्वस्थकर मानिने भएकाले पछिल्लो समय जिल्लामा मौरीपालन व्यवसाय फस्टाभएको छ ।

यहाँका थुप्रै स्थानमा मौरीपालन व्यवसाय फस्टाउँदो क्रममा रहेको सन्दर्भमा बाहिरी जिल्लाबाट समेत मौरीको चरन क्षेत्रका रूपमा समेत लिन थालिएको छ । विसं २०७२ बाट मौरीपालन थालेका म्याग्दीको बेनी नगरपालिका–४ स्थित सुर्केमेलामा डिलबहादुर खत्रीले मौरीको चरन क्षेत्रका रूपमा बागलुङ –४ रमेटारलाई छाने । उनले आफ्ना मौरीका घारहरू केही महिना म्याग्दी र केही महिना बागलुङ राख्दै आएका छन्। रमेटारस्थित खेतको डिलमा उनका एक सय १५ मौरीका घार छन् ।

खेतमा तोरीखेती हुने भएकाले मौरी चरनका लागि व्यवसायी खत्रीले खेतको डिलमा मौरीसहितका घार राखिएको बताए। बागलुङ –४ उपल्लाचौर, कुडुँले तथा रमेटारमा मौरीको चरन क्षेत्रका रूपमा लिन थालिएको सन्दर्भमा बागलुङमा ललितपुरबाट समेत यसपटक मौरी चराउनका लागि ल्याइएको छ । ललितपुर महानगरपालिका–२४ धापाखेलस्थित माउन्टेन मौरी कन्सनले हालैमात्र मौरीको चरन क्षेत्रका लागि तोरीको फाँट बागलुङ –४ कुडुँलेलाई लिएको छ ।

विसं २०५१ बाट मौरीपालन व्यवसायमा लाग्नुभएका माउन्टेन मौरी कन्सनका प्रमुख धर्मराज श्रेष्ठले वार्षिक एक हजारभन्दा बढी मौरीसहितका घार बिक्री गरेको बताए। कन्सनले कुडुँले तोरीको फाँटको चर्चा सामाजिक सञ्जालमा देखेपछि आफूले व्यावसायिक प्रायोजनका लागि ७० मौरीका घार लिएर कुडुँलेको तोरीको फाँटमा राखिएको जनाएको छ । झण्डै एक हजार दुई सय मौरीका घार रहेको कन्सनले पहाडी जिल्लामा चरनका लागि यो याममा मौरीका घार पठाउने गरेको छ ।

पहाडी जिल्ला मौरीको चरन क्षेत्रका लागि उपयुक्त भएको र अहिले तोरी फुल्ने सिजन भएका कारण पहाडी जिल्लामा मौरीका घार पु¥याउने योजनाअनुसार बागलुङमा पहिलोपटक मौरी चराउनका लागि ललितपुरबाट ल्याएको प्रमुख श्रेष्ठले जानकारी दिए। “माउन्टेन मौरी कन्सनमार्फत उत्पादन भएको मह जापान निर्यात हुन्छ, हामीले ललितपुरसहित विभिन्न जिल्लामा मौरीका घार चरनका लागि पु¥याइन्छ”, उनले भने, “चरन क्षेत्रका लागि पहाडी जिल्लामा मौरीसहितका घार पु¥याउँदा व्यावसायिक प्रवद्र्धन हुने, घारसहितका मौरी बिक्री गर्ने र मौरीपालन व्यवसाय फस्टाउने लक्ष्यका साथ पहिलोपटक बागलुङको कुडुँले फाँटमा ल्याएको छु ।

झण्डै सय घारमध्ये बिक्री भएर अहिले कुडुँले फाँटमा ७० मौरीसहितका घार छन्, यहाँका कृषकलाई मौरीपालन व्यवसाय सिकाउनका लागि समेत सहयोग पु¥याइने छ । व्यावसायिक मौरीपालनका लागि मौरी चरनका लागि एक स्थानबाट अर्को स्थानमा लाने गरेको पाइन्छ । यतिखेर ललितपुर, म्याग्दी र जैमिनीका मौरीपालक किसना मौरी चरनका लागि बागलुङ बजार आसपासको क्षेत्रमा फैलिएको तोरी खेतमा गएका छन्।

मौरीले बच्चा उत्पादन गर्न र मह उत्पादनका लागि उपयुक्त चरन क्षेत्रको अवश्यक रहेकाले एक स्थानबाट अर्को स्थानमा मौरीका घार स्थानान्तरण गरिँदै आएको पाइन्छ । मौरीलाई आहारा पाइने र शान्त वातावरण भएका ठाँउमा लाने गरेको मौरीपालन किसानले बताउँदै आएका छन् । मौरीलाई यो सिजनमा डेढ महिना बागलुङसहितका पहाडी जिल्लामा पु¥याएको कन्सनका प्रमुख श्रेष्ठले जानकारी दिए ।

बागलुङ जिल्ला पहिलोपटक मौरी लिएर आएको भए पनि अहिले हाम्रो मौरीका घार सिन्धुपाल्चोक, दाङ, चितवन, मकवानपुर, रुपन्देही, सर्लाही र काडमाडौँका विभिन्न स्थानमा पु¥याएको जानकारी दिए। “वर्षमा दुईपटक मौरी चरनका लागि उपयुक्त फूल फुल्ने र शान्त वातावरणमा पु¥याइन्छ, जहाँ मौरीका छाउरा उत्पादन र मह उत्पादनले तीव्रता पाउन सहयोग मिल्छ”, उनले भने, “मैले प्रत्येक ठाउँमा मह उत्पादनका विषयमा त्यहाँका किसानलाई समेत सिकाउँछु, मौरीपालनका विषयमा जागरुक बनाउँछु, नेपालको पहाडी जिल्लामा उत्पादन भएको मह विदेश निर्यात गर्न सकिन्छ ।”

यसरी मौरी चराउँदा मौरी घार राख्न जग्गाधनीसँग न्यूनतम भाडादरमा कतै नगद र कतै मह दिने गरी समझदारी गरिने श्रेष्ठको भनाइ छ । उपयुक्त हावापानी र वातावरणमा गरिएको मौरीपालनबाट एक घारबाट वर्षमा छदेखि सातपटक मह निकाल्न मिल्ने र वार्षिक ३० देखि ३५ केजीसम्म मह निकाल्न सकिन्छ । मौरीसहितका घार ढुवानी आफैमा जोखिमपूर्ण भए पनि उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ । माउन्टेन मौरी कन्सनले मौरीसहितका घार बिक्रीबाट महभन्दा बढी फाइदा हुने बताउँदै प्रतिघारलाई रु १२ हजारमा बिक्री गरिएको जानकारी दिए।

ललितपुरबाट पहिलोपटक मौरी चरनका लागि बागलुङ ल्याए पनि म्याग्दी सुर्केमेलाका डिलबहादुर खत्रीले विसं २०७२ देखि मौरीको चरन क्षेत्रका लागि यो स्थानलाई रोज्दै आए । खत्रीले गत वर्षमात्रै एक सय १० मौरीसहितको घार बिक्री गरेर रु १० लाख ४५ हजार आम्दानी गरेको र एक क्विन्टल मह बिक्रीबाट रु एक लाख १३ हजार आम्दानी गरेको राससमा खेमराज गौतमले लेखेका छन्।

खत्रीले कृषि ज्ञान केन्द्र बागलुङ र म्याग्दीले किसानलाई दिने मौरीसहितको घार अनुदानका लागि दिन आफ्नै केसी मौरीपालन स्रोत केन्द्रबाट मौरीका घार खरिद गरेर लैजाने गरेको बताए। यस्तै जैमिनी –७ जैदी धुल्लुका मोहराज शर्माले आफ्नो घरमा सयभन्दा बढी मौरीका घार पाल्नुभएको छ भने ३० घार बागलुङ बजारको क्याम्पसरोडमा चरनका लागि राख्दै आएको जानकारी दिए।

बन्चित भएका बालबालिकाहरुलाई पूर्ण खोपको पहुँचमा ल्याउन पहल

म्याग्दीको सदरमुकाम बेनीमा जिल्लामा पूर्ण खोप कार्यक्रमको समीक्षा तथा पूर्ण खोप दीगोपना र सरसफाइ प्रवद्र्धनका लागि योजना तयारी गोष्ठी सम्पन्न भएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्वाधार सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारासहित कार्यक्रम गरिएको हो ।

जिल्ला खोप समन्वय समिति म्याग्दी र स्वास्थ्य कार्यालय म्याग्दीको आयोजनामा सम्पन्न योजना तयारी गोष्ठीलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाले जिल्लालाई पूर्ण खोप सुनिश्चित गर्नका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले पूर्ण खोप लगाउनबाट बञ्चित बालबालिकाहरुलाई खोपको पहुँचमा ल्याउन स्थानीय तहले आवश्यक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।

सोही कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले सरकारी मापदण्डअनुसार बालबालिकाहरुलाई पूर्ण रुपमा खोपहरु लगाउनुपर्ने बताउनुभयो । उहाँले स्वस्थ, दक्ष, सक्षम र योग्य नागरिक उत्पादन गर्नका लागि बच्चा गर्भमा रहेदेखि जन्मिएको २ वर्षसम्मको अवधिमा उचित खानपान, सरसफाइ र स्वास्थ्यका सबै मापदण्डहरु पुरा गर्न आवश्यक रहेको बताउँदै समुदायमा खोपको सुनिश्चितता गर्नका लागि सबै प्रतिबद्ध रहनुपर्ने बताउनुभयो ।

कार्यक्रममाथि सहजीकरण गर्दै स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्सालले स्वास्थ्य क्षेत्र विकासका लागि एउटा प्रमुख एजेण्डा भएको बताउनुभयो । उहाँले देशमा समृद्धि ल्याउनका लागि बाल तथा मातृ मृत्युदर घटाएर औषत आयु बढाउनुपर्ने बताउँदै खोप कार्यक्रम सँगसँगै सरसफाइ प्रवद्र्धन कार्यक्रम पनि सञ्चालन भैरहेको बताउनुभयो । अहिले एउटा बच्चालाई पूर्ण खोप लगाउनको लागि ३० हजार रुपैयाँ खर्च हुने बताउँदै नेपालमा बालबालिकाहरुलाई जम्मा १३ वटा मात्रै खोप लगाउने गरिएको उहाँले जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लम्सालले गोष्ठीको उद्देश्य, स्वास्थ्य, स्वास्थ्य र विकास, आधारभूत स्वास्थ्य सेवा, दीगो विकास लक्ष्य प्राप्ति, समृद्धि र विकासका सूचक, स्वास्थ्यः विकासको मुद्दा, स्वास्थ्य र गरिबी चक्रको सम्बन्धलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । यसैगरी कार्यक्रममा पूर्ण खोपको विषयमा स्वास्थ्य कार्यालयका कोल्चेन सुपरभाइजर वीरेन्द्रकुमार चौधरीले पनि सहजीकरण गर्नुभएको थियो ।

राष्ट्रिय खोप कार्यक्रमको लक्ष्य, उद्देश्य, उपलब्धि र चुनौती एवं आधारभूत स्वास्थ्य सेवाको बारेमा जानकारी गराउन तथा पालिकास्तरीय खोप कार्यक्रमको समीक्षा गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरिएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले जनाए अनुसार मानिस स्वस्थ हुनका लागि शारिरीक, मानसिक, सामाजिक र भावनात्मक रुपमा सक्षम र स्वस्थ हुनुपर्दछ ।

जिल्लास्थित पालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्थानीय प्रशासन तथा सुरक्षा निकाय, कार्यालय र संघसंस्थाका प्रमुख तथा प्रतिनिधिलगायत सहभागी कार्यक्रम जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता र स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक भीमप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो । यसअघि हिमाली जिल्ला म्याग्दीलाई २०७१ साल चैत १५ गते नेपालको छैटौं पूर्ण खोपयुक्त जिल्लाको रुपमा घोषणा गरिसकिएको छ।

 

तोरीपानीमा महिलाहरुलाई भाषणकला तथा उत्प्रेरणामूलक तालिम

म्याग्दीको बेनी नगरपालिका-९, घतानको तोरीपानीमा  सकारात्मक सोच, भाषणकला तथा कानुनी सचेतनासम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । ग्रामीण भेगका महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित बेनी नगरपालिका–९ नम्बर वडा कार्यालय घतानको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

वडास्तरीय मूल आमा समूह घतानको आयोजनामा ३ दिनसम्म चलेको तालिममा घतानको माथिल्लो भेगका महिलाहरुले सहभागिता जनाएका थिए । तालिममा सकारात्मक सोच, भाषणकला, कानुनी सचेतना, क्षमता अभिवृद्धिलगायत विभिन्न विषयहरुमा सहजीकरण गरिएको थियो । तालिममा प्रशिक्षकहरु जमुना शर्मा, सुष्मा पौडेल र प्रताप बानियाँले सहजीकरण गर्नुभएको थियो ।

तालिम समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेले समुदायस्तरमा आयोजना हुने विभिन्न कार्यक्रमहरुमा महिलाहरुले सक्रिय सहभागिता जनाउनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेको सिकाइलाई निरन्तरता दिनुपर्ने भन्दै वडा कार्यालयले गरेको लगानीको प्रतिफल देखिनुपर्ने बताउनुभयो ।

अब आमा समूहले भवन बनाउने तथा भाँडावर्तन किन्नेभन्दा पनि उत्पादनसँग जोडिन आवश्यक रहेको बताउँदै उहाँले गाउँवस्ती र टोलका हरेक महिलाहरु दिदीबहिनीहरु उत्पादन र व्यवसायमूलक क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिका–९, घतानका वडा अध्यक्ष चक्रबहादुर केसीले तालिम अवधिभरमा सिकेका ज्ञान, सिपलाई आगामी दिनमा पूर्ण रुपले व्यवहारमा उतार्न तालिमका सहभागीहरुलाई आग्रह गर्नुभयो ।

उहाँले बोल्नका लागि पटकपटक अभ्यास गर्नुपर्ने र तालिमको ज्ञान, सिपलाई व्यवहारमा उतार्नुपर्ने बताउँदै आउँदा दिनहरुमा पनि वडा कार्यालय र नगरपालिकाबाट समुदायस्तरमा क्षमता अभिवृद्धि हुने खालका कार्यक्रमहरु सञ्चालन गरिने बताउनुभयो ।

तालिमको समापनसत्र वडास्तरीय मूल आमा समूहका अध्यक्ष रश्मी बानियाँ खड्काको अध्यक्षता र सचिव अमिता खत्रीको सञ्चालनमा सम्पन्न भएको थियो । कार्यक्रममा तालिमका सहभागीहरु सुनिता बानियाँ, मनु परियार र जमुना चोखालले अनुभव सुनाउनुभएको थियो ।

यमबहादुरको ‘मुल करबाके बाबा र कुलदेवताको दुर‘ पुस्तक बिमोचन

म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं ६ खिवाङका यमबहादुर पुर्जाले लेखेको ‘मुल करबाके बाबा र कुलदेवताको दुर ‘ओखा’ साथै विविध पूजा‘ नामक पुस्तक सार्वजनिक भएको छ । पूराना पूजाआज सम्बन्धि विधिहरु विस्तारै लोभ हुन थालेपछि नयाँ पुस्तालाई धर्म र परम्पराबाट विचलित हुन नदिने गरी लेखेकले कुलपुजा सहित विभिन्न पुनमगरले गर्ने विभिन्न पूजाका विधि, प्रक्रिया र पुख्यौलीमा सरस्वती जगाउने विधि लगायत विभिन्न विषयबस्तु समेटिएको छ ।

म्याग्दी र पोखरामा थाईला झाँक्री नामले समेत चिनिने यमबहादुरको पुस्तक पोखरामा एक समारोहका बिच प्रकाशित गरिएको छ । पोखराको लामाचौरमा आयोजित कार्यक्रममा लालीगुराँस पुन मगर समाजका निर्वतमान अध्यक्ष मेघ बहादुर गर्बुजा, सभापति तारा गर्बुजा पुन, लालीगुराँस पुन समाजकी महिला अध्यक्ष राजकुमारी पुन लगायतले पुस्तकको संयुक्त रुपमा विमोचन गर्नुभएको थियो ।

संगीतकार एवम् समाजसेवी बिल पूर्जा मगरद्धारा प्रकाशित पुस्तकले पूनमगर समुदायको धार्मिक विधिलाई समेटेर ५ सय २७ पुष्ठको पुस्तक प्रकाशित गरिएको छ । लेखकले यसअगाडी प्रकाशित पहिलो संस्करणमा छुटेका विविध विषयलाई दोस्रो संस्करणमा समेटेको प्रकाशक पूर्जाले बताउनुभयो । पुस्तक बिमोचन कार्यक्रममा साहरा नौमति बाजा, खिवाङी समाजको पुख्यौली लगायत विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

विधि प्रक्रिया पूरा गरी पूजाआजा गर्नुपर्ने सन्देश सहित नयाँ पुस्तालाई आफ्नो धार्मिक पूजाका प्रकार, विधि र प्रक्रियाका बारेमा जानकारी दिने पुस्तक लोकार्पण समारोहमा सहभागी हुन पाउँदा आनन्दित भएको बक्ताहरुको भनाई थियो । पुस्तकको चर्चाको क्रममा लेखक यमबहादुरलाई पुरानो पुस्ताको धार्मिक विधिको संकलन तथा नयाँ पुस्तालाई उपहार दिने प्रस्तुतिको संज्ञा दिएका थिए । लेखक यमबहादुरले थप नयाँ तथ्य प्राप्त भएमा अर्को प्रस्तुतीमा समेट्ने बताउँदै धेरै विधिहरु यसपटक समेटेको बताउनुभयो ।

जलजलाले विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्ने

सामुदायिक विद्यालयको पनपाठनलाई व्यवस्थित र गुणस्तरिय बनाउन पर्वतको जलजला गाउँपालिकाले गरेको आन्तरिक परीक्षाको नतिजा विश्लेषण गरेपछि अतिरिक्त कक्षा गर्ने भएको छ । आन्तरिक परीक्षामा विद्यार्थीको नतिजा सन्तोषजनक नदेखिएपछि विद्यार्थीलाई अपेक्षित शैक्षिक उपलब्धी हासिल हुने गरी गाउँपालिकाले समेत शुल्क दिएर बिहान वा साँझ अतिरिक्त कक्षा सञ्चालन गर्ने निर्णय भएको शिक्षा शाखा प्रमुख एकिन्द्र खत्रीले बताउनुभयो ।

‘आन्तरिक परीक्षाको नतिजाले अतिरिक्त कक्षाको आवश्यकता देखियो,‘शैक्षिक गुणस्तर सुधारका लागि अनिवार्य गरेका छौ’ खत्रीले भन्नुभयो । पालिकाभित्र कक्षा ३,५,८ र १० को आन्तरिक परीक्षा लिएर नतिजा विश्लेषणमा तत्काल ८, ९ र १० कक्षामा अध्ययनरत विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयमा बार्षिक परीक्षालाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गरिने शिक्षा शाखाले जनाएको छ ।

अतिरिक्त कक्षाका लागि १० मावि र २ आमाविका गरी कुल ६४४ जनालाई प्रति विद्यार्थी गाउँपालिकाले १ हजार उपलब्ध गराउने छ । अर्धवार्षिक र वार्षिक परीक्षाको नतिजामा कमजोर देखिएका विद्यार्थीका अभिभावकलाई समेत विद्यालयले जानकारी गराउने गरेको छ । गाउँपालिकाले विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गर्न उपलब्ध गराएको नगदले अपुग भएमा विद्यालयमार्फत थप समन्वय गरेर भएपनि माघ, फागुन र चैत्र महिना अतिरिक्त कक्षा गरिने छ ।

गाउँपालिका अध्यक्ष राजु आचार्यले सामुदायिक विद्यालयका विद्यार्थीलाई शैक्षिक गतिविधिमा अब्बल बनाउन आन्तरिक परीक्षालाई नियमित गर्ने, कमजोर विद्यार्थीको पहिचान गरी थप कक्षा सञ्चालन सहितका योजनालाई निरन्तरता दिने बताउनुभयो । विद्यार्थीलाई सामुदायिक विद्यालयमा आर्कषित गर्ने, टिकाउने र सिकाउने अभियानलाई प्राथमिता दिने गाउँपालिकाको योजना छ ।

माओवादीले प्रदेश सरकारमा म्याग्दीका जुग्जालीलाई मन्त्री बनाउने

नेकपा माओवादी केन्द्रले गण्डकी प्रदेश सरकारमा पार्टीको तर्फबाट सहभागी हुने मन्त्रीको टुंगो लगाएको छ । पोखरामा सोमबार बसेको संसदीय दलको बैठकले म्याग्दी प्रदेशसभा क्षेत्र (ख)बाट निर्वाचित रेशमबहादुर जुग्जाली (सुविन) लाई सरकारमा पठाउने निर्णय गरेको हो । ३९ वर्षीय जुग्जाली नेकपा माओवादी केन्द्र म्याग्दीको जिल्ला संयोजक हुन् ।

माओवादीका तर्फबाट यसअघि तनहुँ २(ख)बाट निर्वाचित हरिबहादुर चुमान विना विभागीय मन्त्री बन्नुभएको छ । प्रदेश सरकारले सोमबार बिहान मन्त्रालयको संख्या १२ बाट घटाएर ७ वटा बनाउने निर्णय गरेको थियो ।

पुष २५ गते नियुक्त भएका मुख्यमन्त्री खगराज अधिकारीले सोही दिन माओवादीका चुमान, एमालेकी सिताकुमारी सुन्दास र राप्रपाका पञ्चराम गुरुंगलाई मन्त्री नियुक्त गर्नुभएको थियो । सरकारमा सहभागी दलहरुबीच एमालेले ४, माओवादीले २ र राप्रपाले एक मन्त्री लिने समझदारी बनेको छ ।

“पार्टीको सिफारिसमा संसदीय दलको बैठकले जुग्जालीलाई सरकारमा पठाउने निर्णय गरेको छ,” माआवादी केन्द्रका एक सांसदले भन्नुभयो “कसले कुन मन्त्रालय लिने भन्ने निर्णय हुन बाँकी छ ।”

माओवादीबाट जुग्जालीका अलावा गोरखाकी शुशिला सिम्खडा र माओवादीको चिन्हबाट चुनाव जितेका नेपाल समाजवादी पार्टी गोरखाका फडिन्द्र देवकोटा मन्त्रीको आकाक्षी हुनुहुन्थ्यो ।

गत चुनावमा अपेक्षाकृत नतिजा हाँसिल गर्न नसकेको माओवादीले म्याग्दीमा भने गठबन्धनबाट दुई वटै निर्वाचन क्षेत्र जितेको थियो । समानुपातिकतर्फ पनि २०७४ को तुलनामा म्याग्दीमा माओवादीको मत बढेको थियो । सोही आधारमा म्याग्दीले सरकारमा सहभागीता पाउनुपर्ने दावी गरिएको थियो ।

मुख्यमन्त्री अधिकारी सरकार विस्तार र मन्त्रालय बाडफाँडलाई थाँती राखेर सोमबार काठमाडौ जानुभएको छ । मंगलबारसम्म मन्त्रिपरिषद् विस्तारलाई पूर्णता दिने अधिकारीको तयारी छ ।

को हुन रेशम जुग्जाली (सुविन) ?
मालिका गाउँपालिका वडा नम्बर ७ बिमका जुग्जालीका दाजु जितबहादुर जुग्जालीको वि.स. २०५८ मा सोलुखुम्बुको सल्लेरी आक्रमणका क्रममा सहिद हुनुभएको थियो । विद्यालय पढ्दा वि.स. २०५६ मा अनेरास्वीयू क्रान्तिकारीमा संगठित हुनुभएका जुग्जाली २०५७ मा सो संगठनको जिल्ला सदस्य, २०५८ मा जिल्ला सचिव र २०५८ देखि जनयुद्धमा भूमिगत हुनुभएको थियो ।

२०५८ मा एरिया कमिटी सदस्य, २०५९ मा माओवादी जिल्ला सदस्य, २०६१ मा इलाका इञ्चार्ज भएका उहाँ जनमुक्ति सेनामा कम्पनी कमिसार हुदै बटालियन भ्वाईस कमाण्डर बन्नुभएको थियो । माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा वाइसीएलको जिल्ला सचिव र २०६६ मा माओवादीको तत्कालीन मगँरात राज्य कमिटी सदस्य बन्नुभएको थियो ।

माओवादी विभाजनपछि मोहन बैद्य समूहमा आवद्ध हुनुभएका जुग्जाली वि.स. २०७० देखि २०७३ कोे अवधीमा स्वतन्त्र हुनुभयो । वि.स. २०७४ को स्थानीय तह चुनावमा स्वतन्त्र उमेद्वार वनेर बिमको वडा अध्यक्षमा बिजयी जुग्जाली बामगठबन्धनलाई सहयोग गर्दै माओवादीको तर्फबाट तत्कालीन नेकपाको जिल्ला कार्यालय सदस्य र पछिल्लो पटक माओवादीको जिल्ला संयोजकको जिम्मेवारी पाउनुभएको हो ।

वाइसीएलको जिल्ला सचिव हुँदा जुग्जालीको नेतृत्वमा म्याग्दीमा अनियमितता, भ्रष्ट्राचार र ठगी विरोधी अभियान सञ्चालन भएका थिए । जनप्रतिनिधिको भूमिकामा वडाको नेतृत्व गर्दा विपद् व्यवस्थापन, विकास आयोजना कार्यान्वयनमा जनपरिचालन, ठूला योजना भित्र्याउने, सेवा प्रवाह, सामाजिक परिवर्तनमा नमुना अभ्यास गरेका जुग्जाली २०७९ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रबाट मालिका गाउँपालिका अध्यक्षको उमेद्वार बन्नुभएको थियो ।

 

जलजलामा गर्भवती महिलाका लागि भिडियो एक्सरे सेवा सुरू

पर्वतको जलजला गाउँपालिकाले गर्भवती महिलाहरूका लागि निःशुल्क ग्रामीण भिडियो एक्सरे सेवा सुरु गरेको छ । पालिकाभित्रको स्वास्थ्य चौकी र स्वास्थ्य इकाईमा पुगेर गर्भवतीको गर्भ अवस्थाबारे भिडियो एक्सरे गरी गर्भमा रहेका शिशुको स्वास्थ्य अवस्थाबारेमा जानकारी दिने उद्देश्यले जलजला–३, मल्लाजको स्वास्थ्य चौकीबाट अभियान सुरू गरिएको हो ।

सेवाको सुभारम्भ गदैं गाउँपालिका अध्यक्ष राजु आचार्यले समुदायमा रहेका गर्भवती महिलाले भोग्नुपरेको समस्या समाधान गर्न ग्रामिण क्षेत्रमा उक्त अभियान सञ्चालन गरिएको बताउनुभयो ।

‘अब भिडियो एक्सरेका लागि अस्पतालमा धाउनुपर्ने बाध्यताको अन्त्य गर्नेछौ,‘आगामी दिनमा पनि यो अभियानले निरन्तरता पाउने छ’अध्यक्ष आचार्यले भन्नुभयो । गर्भमा रहेको नवजात शिशुको अवस्था थाहा पाउन र समस्याको समयमा नै पहिचान गरी आमा तथा शिशुको स्वास्थ्य अवस्था जानकारी राख्ने पालिकाभित्रका स्वास्थ्य चौकी र इकाई गरी १६ स्थानमा यो सेवा सञ्चालन गरिने जनाइएको छ ।

गर्भावस्थाभरिमा कम्तीमा चार पटक भिडियो एक्सरे परीक्षण गर्नुपर्ने भएपनि हेल्चेक्राई तथा जनचेतनाको अभाव, आर्थिक अवस्था कमजोरका साथै विभिन्न कारणले छुट्ने गरेको अवस्थामा ग्रामिण भिडियो एक्सरे सेवा सुरू गरिएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

प्रोटेवल भिडियो एक्सरे मेसिनका साथ तालिम प्राप्त दक्ष जनशक्ति परिचालन गरिएकाले शल्यक्रिया, शिशुको स्वास्थ्य अवस्था ठिक नभएको लगायतका विभिन्न जटिल समस्या देखिएमा आमा र शिशुको सुरक्षाका लागि आवश्यक थप सहयोग गर्ने जनाइएको छ । अभियानमा स्वास्थ्यकर्मी, सेवाग्राही सहित वडा नं २ का अध्यक्ष प्रकश जिसी, वडा नं ३ का एकेन्द्र खत्री र वडा नं ४ का भरत जिसी लगायतको उपस्थिति रहेको थियो ।

म्याग्दी महोत्सव : पास कि फेल ?

विनय श्रेष्ठ
पुस २८ गते विधिवतरुपमा उद्घाटन भएको म्याग्दी महोत्सव माघ ७ गते समापन भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजना रहेको महोत्सव १० दिने तितामिठा र सुखदुःख बिच आयोजकले सफलतापुर्वक पार लगाएको छ ।

कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला एवम् प्रदेश स्तरीय कृषि , पर्यटन, औद्योगिक तथा व्यापार मेला –२०७९ बाट उकास्न गरेको आयोजकको पहल सह्यनिय छ । कुनै पनि कुराको सकारात्मक र नकारात्मक पक्ष दुवै हुन्छ । महोत्सव सकिरहँदा पनि सकारात्मक पक्ष र सुधार गर्नु पर्ने पक्ष बिच समीक्षा हुनु जरुरी छ ।
प्रसंग सकारात्मकबाटै शुरु गरौं ।

म्याग्दी महोत्सवको सातौं संस्करणको शुभारभ्भ दिनको बजार परिक्रमामा जिल्ला बासीको उल्लेख्य सहभागी रह्यो । कतिले आफ्नो संस्कृति भेषभुषा सहित प्रस्तुत भए भने कतिको भौतिक उपस्थिति । आयोजकको अनुरोधमा बेनी बजार बेहुली झै सिंगारिएको थियो । घरघरमा जलघडाले स्वागत गरेका थिए । झाकि र टोल सजावटमा तत्तत प्रस्तुति अनुसार पुरस्कृत पनि भए ।

महोत्सव भएपछि आन्तरिक पर्यटन खचाखच आउने नै भए । महोत्सवको अर्को आकर्षण स्थानीय देखि राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुति तर अधिकांशले आशा गरेजस्तो प्रस्तुति दिन सकेनन् । दर्शकलाई खिन्न बनाए । अबका दिनमा सफल प्रस्तुति दिने नसकेका कलाकारलाई आयोजकले “नो एण्ड नट अगेन” भन्नै पर्छ । आयोजक भने प्रत्येक दिनको निश्चित समय तालिका बनाएर चल्ने प्रयास ग¥यो र अधिक सफल पनि रह्यो । महोत्सवका आकर्षणका रुपमा स्टलहरु रहे।

पालिका र महिला उद्यमीहरुले प्रबर्द्धन गरेका स्थानीय उत्पादनहरु, विद्यालयले प्रदर्शन गरेका विज्ञान प्रदर्शनी , डिभिजन वन लगायतका कार्यालयहरुको वनपैदावार प्रदर्शनी सहित कृषि मेला प्रदर्शनी, फोटो प्रदर्शनी हेर्न लायक थियो । भाडा तिरेर बसेका स्टलहरुमा शुरुशुरुमा नैराश्यता छाएता पनि महोत्सव सकिदै गर्दा ग्राहकको थेगि नसक्नु चापले खुशी बनेर फर्किए ।

तर बाहिरबाट आएका घुम्ती ब्यापारीहरु पैसा सोहोर्दै फर्किदा म्याग्दी बासीको व्यापार कति महिना चट हुन्छ ? सोचनिय विषय हो । स्टल व्यापारीहरु आधिकारिक दर्तावाल हुन कि होइनन् ? बेचिएका सामान ग्यारेन्टीवाला हो कि होईन ? प्रश्न उठ्छ । एधाकता राति स्टलबाट चोरी भएको पनि सुनियो जस्ले आगामी दिनका स्टल सुरक्षा पनि चुनौतिको विषय बन्यो ।

होटलवालालाई त निश्चितरूपमा छोपाछोप भयो होला नै । स्टेज वरपर र होटल भरि टुबोर्गका पोष्टरहरु, बिच बितका ८८४८ भोड्काको सालिक स्तभ्भ । न समयको छेकबार न त उमेरको । एउटा सचेत नागरिकले टिनएजका केटाकेटीहरु बिग्रने प्लेट फर्म बन्यो भनेर आरोप लगाई रहला आयोजक भने जवाफदेही बन्नै पर्छ । ध्रुमपान र मध्यपानको प्लेट फर्मबाट जोगाउन सकियो भने महोत्सव थप उचाइमा पुग्नेछ ।

महोत्सवमा सयौं स्टल रहदा भने स्थानीय ठेकीले भने बाहिरै सडकमै तेर्सिनु प¥यो, भित्र प्रवेश पाएन । भरिबहादुरको स्थानीय कला फोटो खिच्न मै सिमित रह्यो । मारामार ममफुली बिक्री भैरहदा बरंजा र दोवाका बदामको स्वाद लिन पाइएन । हारेचाकुको स्वादलाई मुखमा राख्दा बिलाउने गुलियो फुलाले बिर्साईदियो ।

मुस्ताङ र नागीका आलु खाएका म्याग्दिलीहरु सिन्काका उनेको विदेशी आलुलाई आइसी पचास तिरे । मकै भट्टको ठाउँ चटपटले लियो । फलामबाट बनेको झाङ्गा र आसी कहि कतै देखिएन । न त तरुल चाख्न पाईयो न त सखरखण्ड । बरु रमाइलो मेला, बेलुन र खेलौनाले लाखौं स्वाहा पा¥यो । आइसीमा परिणत भयो ।

महोत्सवको आकर्षणको रुपमा नृत्य प्रतियोगीता, गण्डकी आइडल, दोहोरी गित र खेलकुद रह्यो । म्याग्दीको गहना दोहोरीमा पुरस्कार राशि अनुसारको टिम सहभागी नभए पनि जति आए स्तरीय आए दर्शकको मन जिते । अर्को व्यानरमा स्थान नपाए पनि खेलकुद तर्फ छेलो, लटो तान्ने, घैटो फोर्ने जस्ता खेलले मौलिक खेल जगेर्ना गर्ने प्रयास ग¥यो । भलिबल, बास्केटबल। ब्याडमिन्टन र दौड सफलतापुर्बक सम्पन्न भएपनि महिला पुरुष भलिबलमा सोचे अनुरुप टिम सहभागी भएनन्। दर्शकले भने टिकट काटेरै भएपनि खेल अवलोकन गरेर खेल र खेलाडी प्रति माया जगाईदिए ।

पास ??? महोत्सवमा पासको चर्चा गरिएन भने अपुरो हुन्छ । सामाजिक सञ्जालहरुमा पनि विभिन्न प्रतिक्रिया हरु आए, जस्ले लेखे उसको नजरमा सहि होला नै । तर यहाँ विचार गरिदिनु पर्ने कुरा के छ भने दस दिनको महोत्सव सम्पन्न गर्न महिनौ तैयारी गर्नु पर्ने हुन्छ, जस्का लागि कैयन मानिसहरू पर्दा पछाडि खटेका हुन्छन् । तिनीहरूले पास भिर्दा अन्यथा लिनु हुदैन । आयोजक र अतिथी, उससमितिका सदस्यहरु, कलाकार, बाद्यवादक, खेलाडी, स्वयंसेवक, आर्थिक, नैतिक र भौतिक सहयोग दाताहरुसंग पास हुने नै भयो ।

अहोरात्र खटेने आयोजक र मान्यजन अतिथिका घरपरिवारसम्म पास पुग्नुलाई स्वभाविक मान्नु पर्छ । तर सिमारेखा भन्दा बाहिर पास पुग्नु हुदैन । कस्लाई किन पास दिईयो भन्ने रेकर्ड आयोजकसंग हुनुपर्छ । बजारबासीलाई पास र ग्रामीण भेगलाई टिकट भन्ने आरोपबाट मुक्त हुनुपर्छ । यहाँ स्पष्ट हुनु पर्ने कुरा के छ भने माथि उल्लेखित कारणबाहेक सबै बजारवासीले पास पाएका छैनन् । टिकट काटेका छन् ।

केही तलमाथि हुनु अस्वभाविक होईन । स्मरण गरौं बजारबासीलाई घरघर गएर दुई हजारका टिकट कटाएका छन्, जुन पैसाले काउण्टरमा बीस पटकसम्म टिकट काट्न सकिन्छ । सामाजिक सञ्जालमा भनेजस्तो पासमा बेथिति भएकै हो भने आयोजक सच्चिनु जरुरी छ । अन्यथा नहोस् । मात्र यहाँ महोत्सवले ग्रामीण भेग र बजावासी बिच खाडल नखनोस् भन्ने कुरामा आयोजक सजक हुन जरुरी छ ।

जति तर्क वितर्क गरेपनि सातौं म्याग्दी महोत्सवले वाईवाई गरेको छ । आयोजकले घनिभुत रुपमा समीक्षा गर्ला नै । सकारात्मक पक्षलाई अवलम्बन गर्दै सुधार गर्नु पक्षलाई अर्को महोत्सवमा लागू गर्ला नै । तर सचेत नागरिकहरुले महोत्सव कति आवश्यक? सबल पक्ष के ? सुधार गर्नु पक्ष के के ? सम्पन्न महोत्सव पास कि फेल ? समक्षा गर्न जरुरी छ कि ?
अस्तु !

लेखक:-प्रकाश माविका शिक्षक एवम् बेनीअनलाइन र बेनी साप्ताहिक समाचारपत्रका नियमित स्तम्भकार हुन्