Friday, June 27, 2025
22 C
Beni
22 C
Beni
Friday, June 27, 2025
Home Blog Page 684

संस्कृतिको धरोहर ‘बेनीको हनुमान नाच’

अजयमिलन श्रेष्ठ\म्याग्दी जिल्ला लोकसंस्कृतिको दृष्टिले धनी छ । यसको सदरमुकाम बेनीबजारका आदिवासी नेवारहरुको संस्कृतिका रुपमा रहेका विविध नृत्यहरुले यस जिल्लाको लोकसंस्कृतिको गरिमा र इतिहासलाई अझ उँचो राखेको छ । गठेमंगल (घण्टाकर्ण) देखि तीजपर्वसम्म वर्षेनाच अन्तर्गत बर्षेनी गरिने लाखेनाच, रोपाइ नाच, नागानगिनी नाच, जोगी नाच, घोडे नाच, ठेट्टरनाच आदिका आ–आफ्नै महत्व र विशेषता छन् ।

यी नाचहरु सदरमुकाम बेनीबजार र जिल्ला के साझा संस्कृतिका रुपमा विकसित भै सकेका खन् । यी बाहेकका शिकारी नाच लगायत केही अत्यन्तै र माइला नृत्यहरु लोपोन्मुख अवस्थामा पुगेका छन भने भोटे नाच लगायतकालाई विगत केही बर्षदेखि पुनः जगाउने प्रयास गरिएको पाइन्छ । यिनै नाचहरुको सन्दर्भलाई कोट्याउँदा धेरै वर्षको अन्तरालमा प्रदर्शन गरिने “हनुमान नाच“ चाहि एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्य हो बेनी बजारको धरतीमा स्थापित भैसकेको यस नाचका विषयमा यहाँ छोटो चर्चा गरिएको छ ।

रामायणका नायक श्री रामका परमभक्त हनुमानको स्मरणमा यो नाचको नामाकरण गरिएको छ । रावणको सीताहरण पश्चात् उनलाई फर्काउने प्रयासमा श्री रामलाई हनुमानले पु¥याएको सकारात्मक सहयोग त्याग र समर्पण एवम् हनुमानले देखाएका चमत्कारिक र शक्तिशाली कार्यका आधारमा हामी उनलाई “महाबलि“ का रुपमा सम्मान गर्ने गर्दछौ र “हनुमान नाच“ पनि उनको “स्मृति“ र “सम्मान“ मा नाचिने गरिएको हनुपर्छ, त्यसैले यस नाचमा उनै हनुमानको पूजा आराधना पनि गरिन्छ ।
यस नाचको उत्पत्ति र विकासका सम्वन्धमा यथेष्ट लिखित र प्रामाणिक स्रोतहरु पाइएका छैनन तापनि प्राप्त स्रोतका आधारमा यसको उद्गम भक्तपुरमा भएको बुझिन्छ । नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ । छोटे समयमा पनि यस नाच बेनी बजारमा स्थापित भै सकेको छ ।

हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।

वाद्यवादकहरुले बजाएको मृदङ्गा, झ्याली लगायतका बाजाहरुको निश्चित तालहरुमा उफ्रदै घुम्दै र हातका डण्डीहरु एक आपसमा जुधाउदै नाच्दा यस नृत्य साँच्चै आकर्षक देखिन्छ । लठ्ठीहरू ठोक्काउदा निस्कने आवाजले समेत नृत्यको वातावरण थप संगीतमय बनेको आभास मिल्दछ हरेक तालको अन्त्यमा “सह” शब्दका साथ लामोतर्फ पंक्तिवद्ध आमने सामने भएका सबै जोडी हनुमानहरु दुवै लट्ठी भुँइमा टेकी घोप्टो परेर विश्राम अवस्थामा आउँछन भने तालको आरम्भमा घोप्टो अवस्थाका ती हनुमानहरुले पुच्छर हल्लाउँदाको दृश्य उति नै रमाइलो र मनोरम देखिन्छ ।

यस नाचको व्यवस्थापनका लागि धेरै सहयोगीहरुको संलग्नता र सहभागिता चाहिन्छ । नाच संचालनका लागि प्रधान कजी (संयोजक), उप–प्रधानकजी (सह–संयोजक) र थुप्रै कजी (सहायक सदस्य) हरु हुन्छन् । पूजाका लागि पुजारी र वाद्यवादन टोलीहरु हुन्छन् । नाचकै क्रममा पनि थुप्रै स्वयमसेवकहरु परिचालन गरिन्छ । पूजाको आरम्भ संगै वाद्यवादकहरुले बाजा मार्फत देवहालय (शक्ति प्रसन्न) को ताल बजाउँछन् यस तालमा झुम्दा झुम्दै कतिपय हनुमानहरु काँप्न थाल्छन् । कति त काँप्दा काँप्दै उफ्रदै आफ्नो स्थान समेत छाड्छन ।

यसरी वीर आएको बेला उफ्रदै दायाँबायाँ गर्ने क्रममा आफ्नो सीमा समेत नाघेर जान खोज्दा छेउछेउमा भएका मुख्य जोडीले थाम्नुपर्ने हुन्छ उनीहरुलाई रोक्नका लागि छेउमा वीर नआउने व्यक्तिलाई रोजेर प्रमुख जिम्मेवारी दिइएको हुन्छ, ती जोडीलाई ज्या माक्को (नेवारी भाषामा मुली बादँर) भनिन्छ । कहिले काही त दर्शकहरु मध्येबाट पनि काँप्ने गर्दछन् ।

यसरी काँप्ने हनुमान र दर्शकलाई थाम्न स्वयंसेवक र कजीहरु खट्छन् र पुजारी वा कजीले धूप सुधारपछि विस्तारै का‘प्न छोड्छन । कहिलेकाही अन्य तालहरुमा पनि ताल बिग्रदा केहीलाई वीर आउने गर्दछ र यस्तो परिस्थितिमा पनि धूप सुधाएर साम्य पारिन्छ ।

नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् । नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।

यस नाचमा भजन गाउने परम्परा रहेको भएतापनि अत्यन्त कठिन लाग्ने ती भजनहरु विना नै बाद्यबादकका तालमा मात्र नचाइने गरको पाइन्छ । यस नाचका कलाकार, वाद्यवादक र सहयोगीका लागि धेरैजना खट्नु पर्ने र अत्यन्तै खर्चिलो समेत भएकोले केही वर्षको अन्तरालमा मात्र निकालिने गरिन्छ । खासगरी बिजोर वर्षमा निकाल्नु पर्ने मान्यता अनुरुप तीन, पाँच वा सातबर्षमा निकालिने परम्परा रहेता पनि झन्झटिलो र खर्चिलो भएके कारण यस नाचका लागि अझ लामो अवधि कुर्नुपर्ने पनि हुन्छ ।

बेनी बजारमा विगतमा यस नाचलाई म्याग्दी पुस्तकालयको सहयोगार्थ निकाली पुस्तकालय व्यवस्थापनमा अर्थ संकलन गरिएको थियो । त्यसैगरी बेनी माई भगवती मन्दिर पुनः निर्माणार्थ प्रदर्शन गरी उल्लेख्य आर्थिक सहयोग जुटाइएको थियो । आगामी दिनहरुमा पनि यस्तै सामाजिक कार्यहरुका लागि विविध संघ÷संस्थाबाट हनुमान नाँच प्रदर्शन गरिने सम्भावनालाई नकार्न सकिदैन ।

लामो समयको अन्तरालमा प्रस्तुत गरिने भएकैले पनि पहिलो पटक हनुमान नाच देख्नेहरुको ठूलै संख्या र भीड हुने गर्दछ भने एकपटक देखे÷हेरेकाहरुलाई समेत मन्त्रमुग्ध पार्ने यस नृत्य लगायत अन्य सबैखाले लोकनृत्यहरुको संरक्षण र सम्बर्द्धन गर्नु पर्ने देखिन्छ । समायानुकुल अत्याधुनिक मनोरञ्जनका साधनहरुले प्राचीन लोकसंस्कृतिको जगेर्ना एक चुनौतिको विषय बनेका बेला यस्ता संस्कृतिलाई परिष्कृत र परिमार्जित गर्दै निरन्तरता दिने कार्य पनि चुनौतिपूर्ण रहेको छ ।

बेनीबजारको संस्कृतिका रुपमा स्थापित भैसकेको यस हनुमान नाचलाई जीवन्त राख्न एक दशकको समयावधि भित्र कम्तिमा १ पटक प्रदर्शन गरेर यस संस्कृतिलाई नयाँ पिढीमा हस्तान्तरण गरिदै जानुपर्छ । यसका लागि वाद्यवादन र नृत्यमा नयाँ पुस्तालाई प्रशिक्षण दिइनु समेत आवश्यक छ । “हाम्रो संस्कृति, हाम्रो सम्पदाहरुलाई जोगाउनु हामी सबैको दायित्व पनि हो ।“

ठेकेदार भागेपछि ‘रावण’ पार्क लथालिङ्ग

पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ। यो माथिको पौराणिक तथा दस्तावेजमा आधारित तथ्य सुन्दा धेरैले आहा भन्छन्। तर स्थलगत रुपमा पुग्दा भने लथालिङ्ग काम भताभुङ्ग संरचना छ।

विश्वभरका हिन्दु धर्मालम्बीको एउटा आर्कषकको केन्द्र मानिने बेनी नगरपालिका वडा नं ५ पछैमा निर्माणधिन अवस्थामा रहेको रावण पार्कको अहिलेको दृष्यले भने त्यति सुन्दर छैन। लथालिङ संरचना भएको अस्तब्यस्त क्षेत्र जस्तै देखिन्छ। सुन्दर, रमणीय स्थानमा रावण पार्क बनाउने भन्दै सुरु गरिएको कामको भुक्तानी नभएको भनेर ठेकेदार कम्पनीले काम रोकेर हिडेपछि रावणको मुर्ती राख्ने पार्कमा झार उम्रिएको छ भने आसपासका क्षेत्रमा माटो थुप्रिएको छ। मन्दिर आसपासका क्षेत्र उजाड देखिन्छ।

संस्कृति, पर्यटन तथा नागरिक उद्यन मन्त्रालयसँगको साझेदारीमा बेनी नगरपालिका–५,पछैमा प्रारम्भिक चरणको भौतिक संरचनाको काम सकिएपनि थप पूर्वाधारमा बजेट अभावले भविष्य के हुने भन्ने अन्योलता रहेको छ। परिकल्पना भएको एक दशकसम्म विवाद र अलमलले अलपत्र परेको अवस्थामा बेनी नगरपालिकाको पहलमा तथा निरन्तर सक्रियताले बजेटको सुनिश्चितता सँगै पौराणिक प्रमाणलाई यथावत् राखेर आश्रम आसपासको क्षेत्रमा बगैंचा, विश्रामस्थल, लगायत आसपासका क्षेत्रमा घेराबार सहितको पूर्वाधार बनाउने काम सुरु गरिएको अवस्थामा अहिले रोकिएको स्थानीयबासी कर्णबहादुर बानियाँले बताए। ‘ठेकेदारले यहाँको स्रोत नै लुटे, स्थानीयसँग समन्वय समेत गरेन्,‘पहिलेको सुन्दरतालाई झन कुरुप बनाए’ बानियाँले भने। स्थानीयले अहिले रोकिएको काम, ठेकेदार, स्थानीय सरोकारवाला निकाय लगायतको बेवास्ताले अस्तब्यस्त भएको बताएका छन्।

काठमाडौंमा रावणको मुर्ति बनाउने काम सकिएपनि बजेट अभाव भएपछि बेनी नगरपालिकाको लोकप्रिय योजनामा केन्द्रबाट बजेट प्राप्त हुन सकेको छैन्। पूर्वाधारका लागि काठमाडौको धर्मा एस कास्यप जेभीले गत भदौमा एक करोड ७६ लाख ७७ हजार ५६३ मा ठेक्का सम्झौता गरेको थियो।  पहिलो चरणमा रावणको मुर्ति, बगैचा, बिश्राम स्थल लगायतका पुर्बाधार तयार गरिने छ। पर्यटन मन्त्रालयले २ करोड ११ लाख र नगरपालिकाले एक करोड १४ लाख बिनियोजन गरेर ठेक्का आव्हान गरेको थियो।

पुलह पुलत्स्य क्षेत्रको १४ रोपनी जग्गामध्ये पहिलो चरणमा चार रोपनीमा रामायण पार्क बनाउन घेरावार सहितको संरचनाको काममा मजदुर खटिएका छन्। डिपिआरमा उल्लेख भए अनुसार हालको मन्दिर, हवन कुण्ड, रावणको नाभी गाडेको मानिने ठाउँ लगायत पुरानो संरचनालाई यथावत् राखेर पूर्वाधार बनाउनुपर्नेमा अहिले अलपत्र परेको बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए। ‘रोकिएको काम सुचारु गर्न निरन्तर पहल गरेका छौ,‘बजेट नआउने निश्चित भए स्थानीय स्रोतबाटै योजना सम्पन्न गछौ’ मेयर केसीले भने। उनले सुविधा सम्पन्न पार्क बनाउन नगरपालिकाको सक्रियतामा कुनै कमी नभएको बताए। २३ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा केन्द्रबाटै बजेट नआएपछि काम रोकिएको नगरपालिकाले जनाइएको छ। हिन्दु धर्मग्रन्थ भागवत रामायणको पाँचौ अध्यायमा रावणको जन्म पछैमा भएको उल्लेख छ। पुलह, पुलत्स्य र भरत ऋषिले पछैमा तपस्या गरेको रामायणमा ब्याख्या गरिएको छ। समुन्द्रि सतहदेखि दुई हजार मिटरको उचाइमा अवस्थित पछैबाट बागलुङ र पर्वत जिल्लाको विभिन्न भूगाग सँगै आधा दर्जन हिमश्रृंखला समेत देखिन्छ।

श्रीमद्भागवत महापुराणको सप्तम स्कन्दको अध्याय १४ को दण्डकका अनुसार पुलस्त्य पुलहाश्रम क्षेत्र विश्वका अति पवित्र १५ तीर्थस्थलमध्ये एक मानिन्छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख छ। पुराणप्रसिद्ध ३ ऋषिहरू पुलह, पुलस्त्य र विश्रवा म्याग्दी पुलाको पछैमा अध्ययन र चिन्तनमनन गर्दै बसेको पुराणमा उल्लेख रहेको पूजारी जगदिश सुबेदीले बताए।

पुराणका अनुसार विश्रवा ऋषिको छोरा रावणको जन्म यही पुलस्त्य आश्रममा नै भएको उल्लेख छ। सत्ययुगमा पुलह र पौलस्त ऋषिले यहाँ तपस्या गरेर हवन (यज्ञ) गर्न लाग्दा पानी पर्न थालेको उल्लेख पाइन्छ। ऋषिद्वयले इन्द्रसँग प्रार्थना गरेर यज्ञ सम्पन्न भएपछि मात्र वर्षा गराउन आग्रह गरेपछि धेरै समयपछि मात्र पानी परेको शास्त्रमा वर्णनमा समेत पढ्न पाइन्छ। ओढारभित्र यज्ञका अवशेष चरु भेटिनुले पनि यो ठाउँको महत्व उजागर गरेको स्थानीयको भनाइ छ। पौलस्त्य मन्दिर नजिकै रावणको नाभी गाडिएको ढुंगा (पत्थर) समेत छ। पछैमा दक्षिण भारत, भुटान र श्रींलकाबाट आएका धार्मिक तिर्थयात्री जोखिम मोलेर पैदल तथा सडक सञ्जालबाट पुग्ने गरेका छन्।

दुई दशकपछि बेनीमा हनुमान नाच देखाइने

दुई दशकपछि म्याग्दीको सदरमुकाम बेनीबजारमा ऐतिहासिक महत्व बोकेको हनुमान नाच प्रदर्शन गरिने भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मूल आयोजनामा सातौं म्याग्दी महोत्सव एवं माघेसङ्क्रान्ति मेला तथा प्रदेशस्तरीय कृषि, पर्यटन, औद्योगिक व्यापार मेलाको अवसरमा संस्कृतिको धरोहर हनुमान नाच प्रर्दशन गरिने भएको हो । नेपाल भाषा मंकाःखलले हनुमान नाच प्रर्दशनका लागि नियमित अभ्यास गराइरहेको अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले बताए ।

कला, संस्कृति र भेषभूषाको जगेर्ना साथै म्याग्दीका धार्मिक, ऐतिहासिक पहिचानलाई जोगाउन निरन्तर सक्रिय मंकाःखलले एउटा छुट्टै विशेषता बोकेको आकर्षक एवम् मनोरम नृत्यलाई महोत्सवको आर्कषकको रुपमा प्रस्तुत गर्ने गरी कलाकारहरुलाई तालिम दिइरहेको छ ।

हनुमान नाच सम्बन्धि विभिन्न लेखरचनामार्फत प्रचारप्रसारमा सक्रिय अजयमिलन श्रेष्ठका अनुसार नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाहको भादगाउँ विजय पछि त्रसित र प्रताडित नेवारहरु भागेर आउँदा यस संस्कृतिलाई बागलुङमा ल्याएका र त्यहाँबाट वि.सं. २०२० को दशकमा यस बेनीबजारमा पनि भित्रीएको पाईन्छ । बेनीमा यसअगाडी बि.स २०५७ साल र सन् २००७ मा म्याग्दी जेसीजको ख सम्मेलनमा भाँकी मात्रै प्रर्दशन गरिएको थियो ।

हनुमान नाचमा ११ जोडी पुरुषहरु विशेष श्रृंगारका साथ हनुमानको स्वरुपमा प्रस्तुत हुन्छन् । भेषभूषामा उनीहरुले रातो हाप बाहुला भएको कमिज, रातो जाङ्गे र सेतो जामा लगाएका हुन्छन् हरेकका दुवै हातमा दुई फिट जति लामो लट्ठी (डण्डी) हुन्छ । नाङ्गो खुट्टामा चापहरु हुन्छन् । कपडा (रिबन) का आकर्षक र रङ्गिन मालाले सजिएका हुन्छन् । मुख्य विशेषताका रुपमा करिब पाँच फिट लामो सिमलीको लठ्ठीलाई घुमाएर बनाइएको र कपडाका झुम्राहरुले आकर्षक तुल्याइएको पुच्छरलाई पछाडि ठड्याएका हुन्छन् ।

नाचको हरेक तालको आरम्भमा ज्या माक्को जोडीबाट अभिनय शुरु गरिन्छ र तदनुरुप अन्य हनुमानहरु पनि नृत्यमा सरिक हुन्छन् । यस नाच सलामीको तालबाट आरम्भ हुन्छ र यस तालमा सबै हनुमान त्यसपछि अन्य ताल (६ ताल, ८ ताल, १२ ताल, २२ ताल,२४ ताल) मा हनुमानहरु हातमा भएका दण्डीहरु ठोक्काउदै कहिले आम्ने साम्ने गर्दै र घुम्दै त कहिले गोलाकार संगठनमा नाच्दछन् । नृत्य तालको समाप्ति पश्चात ५ ताल “तलिङ छ्यास“ को तालमा हिडाउँदै एक स्थानबाट अर्को स्थानमा लगिन्छ ।

अझै जीवित छ तत्कालीन बाइसे चौबिसे राजाले प्रयोग गरेको तोप

बागलुङको जैमिनी नगरपालिकाको तीन वडाको सङ्गमस्थलमा रहेको माइकोस्थान नजिकैको तल्लो डाँडामा सानो सत्तलसँगै ढुङ्गाले छाएको मन्दिर छ ।

मन्दिरको भित्र बाइसे चौबिसे राजाको पालामा प्रयोग गरेको हतियार तोपको मुख्य भाग राखिएको छ । भुरे टाकुरे राजाहरुले तत्कालीन अवस्थामा राज्य गरेको स्थानमा रहेको तोप सङ्कटमा परेको छ ।

जिल्लाको सबैभन्दा ठूलो राज्य रहेको तत्कालीन गलकोटे राजाहरुसँग लडाइँपश्चात् राज्य एकीकरण गरिएको भन्ने स्थानमा अहिले मन्दिरसँगै तोप रहे पनि संरक्षण हुन नसकेको स्थानीयको गुनासो रहेको छ ।

कोतमा राखिएको तोप संरक्षण अभावमा केही भाग विसं २०३० मा खेतमा भेटिएपछि स्थानीयले पुनः बोकेर कोतमा लिएर राखेको स्थानीयले बताएका छन् ।

जैमिनी –१० राङ्खानी, वडा–४ सर्कुवा र वडा–७ जैदीको सङ्गमस्थलमा रहेको १८ औँ सताब्दीमा स्थापना गरिएको थन्थाप माइको मन्दिरमुनिको डाँडामा रहेको कोत घर र कोतघरमा रहेको तोप संरक्षणको पर्खाइमा रहेको स्थानीय नरविर थापाले बताए ।

“कोतमा भुरे टाकुरे राजाहरुले प्रयोग गरेको तोप छ भन्दा अचम्म हुन्छ, तर अहिले तोकपको केही कोत मन्दिरभित्र गाडिएको अवस्थामा छ, तोपको केही भाग बाहिरै छ”, उनले भने, “पुरानो सत्तल स्थानीयको पहलमा मर्मतसम्भार गरिएको छ, पुरातत्व विभागले अनुसन्धान गरेपछि तोप संरक्षणमा कुनै चासो दिएन, तोपलाई संरक्षण गरेर प्रदर्शन गर्नसके धार्मिक पर्यटक भित्रन सक्नेछन्, नगरपालिकाले चासो दिनुपर्दछ ।”

मन्दिर क्षेत्र धार्मिक आस्था र विश्वासले मात्रै होइन, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले पनि महत्वपूर्ण भए पनि तोप हराउने सम्भावना उत्तिकै छ ।

स्थानीयले तोप हराउने भएकाले गाडेर राखेका हुन् । थन्थाप माई मन्दिरदेखि एक किलोमिटर दूरीमा रहेको ऐतिहासिक कोत भवन संरक्षणको अभावमा भताभुङ्गजस्तै भएको छ ।

तत्कालीन भुरेटाकुरे राजाले आफ्नो सुरक्षाको लागि तयार गरेको गढी क्षेत्रको संरक्षण नहुँदा भग्नावशेषको रुपमा परिणत भएको हो ।

तत्कालीन राजाले आफ्नो दरबार, हतियार भण्डारण, विश्रमस्थल, रानीको सयन कक्ष तथा पूजास्थल, चौपारी, सेनाले पहरा दिने संरचना कतै पूर्णरुपले भत्किएको तथा कतै आधा पुरिँदा पहिचान गर्न नसक्ने अवस्थामा पुगेको स्थानीय टिकाराम आचार्यले जानकारी दिए । उहाँले कोतघर वरपर विभिन्न आकारका पर्खाल, सिँढी, ओखाललगायतका संरचना झाडीले पुरेर रुख उम्रेको उनको भनाइ छ ।

“यस क्षेत्रलाई संरक्षण गर्ने, उत्खनन गर्ने र केही जानकारीसहितको सूचना बोर्ड स्थापना गर्नेलगायतको कार्यका लागि नगरपालिकाले तगारुकता देखाउन सके पर्यटक आउन सक्ने छन्”, उनले भने, “कुनै सानो कुराको प्रचारप्रसार भएको देखिन्छ, यहाँ बाइसे चौबिसे राजाहरुले पड्काएको तोप जीवित छ, त्यही तोप कहिले हराउने हो पत्तो छैन, यहाँका महत्वपूर्ण सामाग्रीहरु हराई सकेको अनुमान छ, राज्यले संरक्षणमा लगानी गरे कोतघरलाई पुरानैस्वरुपमा जीर्णोद्धार गर्न सकिन्छ ।”

त्यो समयमा सत्रु पक्षबाट बच्नको लागि सेनाले प्रयोग गरेको एक थान तोपको अवशेषमात्र कोत मन्दिरमा सुरक्षित गरेर राखिएको छ । तोपको नाल र पछाडिको भागलाई मन्दिर निर्माण गरी सुरक्षा गरेको कोत मन्दिर व्यवस्थापन समितिका सचिव प्रेम थापाले जानकारी दिए ।

थन्थापमाईको क्षेत्रको डोका, देउराली, गुरुङकोट क्षेत्रमा तत्कालिन सेनाले निर्माण गरेका बङ्कर केही पुरिएको तथा केही आधा पुरिएको अवस्थामा छन् । सेनाले ओतको लागि निर्माण गरेका सत्तलको भङ्गावशेष देख्न सकिने सचिव थापाको भनाइ छ ।

ऐतिहासिक गढी क्षेत्रको संरक्षणमा राज्यले चासो नदिँदा प्राचीनकालका मौलिक सामग्री मासिँदै गएको स्थानीयको गुनासो छ ।

– रासस

पब्जी विश्वकपमा नेपाली टिम उपविजेता

पब्जी मोबाइल विश्व च्याम्पियनसिपमा २०२२ मा नेपाली टिम दोस्रो भएको छ। आईतबार इन्डोनेसियाकाे जाकारतामा भएको खेलमा नेपालको डीआरएस टिम टर्कीको एसटूजीसँग पराजित भएको हो।

फाइनल चरणको खेलमा एसटूजीले १९० अंक जोड्यो भने नेपाली टिम डीआरएसले १५८ अंक मात्र जोड्यो। विजेता एसटुजीले ५ लाख ८४ हजार अमेरिकी डलर पाएका छन् भने उपविजेता डीआरएसले २ लाख ९२ हजार अमेरिकी डलर पुरस्कार प्राप्त गरेका छन्।

फाइनल पुगेको नेपालकै अर्को टिम टिटुके भने १३ औँ स्थानमा आएको छ। उसले ११२ अंक जोडेर १ लाख ३२ हजार ५०० अमेरिकी डलर पुरस्कार  प्राप्त गरेको छ।

न्यू धौलागिरि सहकारीको २३औं वार्षिक साधारणसभा, गण्डकी प्रदेशस्तरीय सहकारी बन्ने तयारी

न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सहकारी संस्थाको सदरमुकाम बेनीमा एकाई प्रतिनिधिस्तरीय वार्षिक साधारणसभा आयोजना गरिएको हो।

कुल ६ हजार ४ सय ६३ जना शेयर सदस्यबाट आठ करोड २३ लाख ३४ हजार चारसय रुपैयाँ शेयर पुँजी, निक्षेप बचततर्फ ६९ करोड ९७ लाख ५० हजार छ सय ६५ रुपैयाँ र कर्जा लगानी ७३ करोड ६० लाख छ हजार दुईसय २८ रुपैयाँ रहेको छ । जगेडा कोष दुई करोड ६९ लाख ३३ हजार ५७ रुपैयाँ रहेकोमा कुल आम्दानी १० करोड ८७ लाख ७७ हजार दुईसय एक र खर्च नौ करोड ५८ लाख ७७ हजार आठसय ४५ रुपैयाँ रहेको सहकारीले जनाएको छ ।

‘सक्षम सदस्य, प्रतिस्पर्धी र उत्कृष्ट साकोस’ भन्ने मूल नारासहित सञ्चालित सहकारीको उद्घाटनसत्रमा सहकारीका उपाध्यक्ष रामजीप्रसाद सुवेदीले प्रगति, कोषाध्यक्ष बमबहादुर पुनले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोविन्दप्रसाद पौडेलले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभाको अवसरमा उत्कृष्ट कर्मचारीहरुतर्फ ज्योती रिजाल, अस्मिता जिसी र सिर्जनादेवी शर्मा आचार्यलाई दोसल्ला ओढाएर नगद र प्रमाणपत्रले सम्मान गरिएको थियो ।

साधारणसभाको उद्घाटन गर्दै सहकारी रजिष्टार कार्यालय पोखराका रजिष्टार रमेश घर्तीले सहकारी संस्थाहरु सहकारीको नीतिनियम र सिद्धान्तअनुसार चल्नुपर्ने बताए । उनले पछिल्लो समय विश्व नै आर्थिक मन्दीमा फसिरहेको अवस्थामा सहकारीहरु पनि आर्थिक समस्यामा परिरहेको बताउँदै सहकारीको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए । सहकारी रजिष्टार कार्यालयका अधिकृत चोलाकान्त वाग्लेले सहकारी संस्थालाई बलियो बनाउन सञ्चालक समिति, शेयर सदस्य र कर्मचारी सबै लाग्नुपर्ने भन्दै यसमा शेयर सदस्यहरुले विशेष ध्यान दिनुपर्ने बताए ।

कार्यक्रममा सहकारीका निवर्तमान अध्यक्ष लिलाबहादुर बानियाँ, उत्कृष्ट सेवा केन्द्रको तर्फदेखि जलजला गाउँपालिका–३, मल्लाज पर्वत सेवाकेन्द्र उपसमिति संयोजक हेमन्त थापा, शेयर सदस्यद्वय सीता सापकोटा र सुजन बरुवालले मन्तव्य व्यक्त गरे । सहकारी संस्थाका अध्यक्ष अमृतलाल श्रेष्ठको अध्यक्षता र उपाध्यक्ष रामजीप्रसाद सुवेदीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सदस्य कृष्णकुमार शेरचनले स्वागत गरेका थिए ।

सौगात बहुउद्देश्यीय सहकारीको १३औं वार्षिक साधारणसभा

सौगात बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदरमुकाम बेनीमा १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाको अवसरमा सहकारीले सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल बाल सङ्गठन म्याग्दीमा छ हजार आठसय ६५ रुपैयाँ बराबरको खाद्यान्न सामग्री सहयोग गरेको जनाएको छ ।

साधारणसभामा सहकारीका कोषाध्यक्ष नेत्रराज सुवेदीले आर्थिक र कार्यसमिति सदस्य सीता गुरुङले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाको उद्घाटन गर्दै सहकारीका सल्लाहकार एवं संगम म्याग्दीका कार्यकारी निर्देशक दीपक पौडेलले पछिल्लो समय सहकारी तथा बैैंकहरु एकापसमा गाभिने क्रम बढेको बताउँदै आवश्यक परेको खण्डमा गाभिनका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो ।

संस्थाका सल्लाहकार हरिकृष्ण आचार्य र शेयर सदस्य तथा मालिका गाउँपालिकाका निवर्तमान उपाध्यक्ष खरमाया बिटालुले संस्थामा शेयर सदस्यको सङ्ख्या वृद्धि गरी उत्पादन तथा व्यावसायिकमूलक क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिनुभएको थियो । सहकारीका संस्थापक अध्यक्ष भगवती शर्मा र पूर्व अध्यक्ष दीपक सुवेदीले मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रम संस्थाका अध्यक्ष सन्तोष ढुङ्गानाको अध्यक्षता, उपाध्यक्ष उषा किसानको स्वागत र कार्यसमिति सदस्य हिरा शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

म्याग्दीका बामपन्थी नेता शिवकुमार श्रेष्ठको निधन

म्याग्दीका बामपन्थी नेता एवम् नागरिक आन्दोलनका अगुवा शिवकुमार श्रेष्ठको आइतवार निधन भएको छ ।अचनाक स्वासप्रवासमा समस्या बढेपछि आइतबार विहान हेलिकप्टरबाट थप उपचारका लागि पोखरा स्थित मणिपाल हस्पिटलमा लगिएकोमा दिउँसो ६७ बर्षिय वर्षको उमेरमा श्रेष्ठको निधन भएको हो ।

श्रेष्ठको फोक्सोमा समस्या देखिएपछि यसअगाडी समेत उपचार गर्नुभएको थियो । शनिबार बेलुकीदेखि अचानक फोक्सोले काम गर्न छोडेको आफन्तको भनाई छ । बेनीको न्यू वेष्ट प्वाइन्ट आवासीय माविका संस्थापक, नेपाल भाषा मंका खल नामक सामाजिक संस्था सहित विभिन्न दर्जन संघसंस्थामा आवद्ध श्रेष्ठ म्याग्दीको कम्यूनिष्ट आन्दोलन, जनआन्दोलन लगायतका सामाजिक कार्यमा सक्रिय हुनुहुन्थ्यो । पछिल्लो समय श्रेष्ठ नेत्र विक्रम चन्द नेतृत्वको नेकपामा आवद्ध रहेर पार्टीका गतिविधिमा समेत संलग्न हुनुहुन्थ्यो ।

बामपन्थी आन्दोलनमा श्रेष्ठको भूमिका अविस्मरणीय रहने भन्दै म्याग्दीका प्रदेश सांसदद्धय सुविन जुग्जाली, हरी भण्डारी सहित विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् । स्वर्गीय श्रेष्ठको शब बेनी अस्पतालको शबगृहमा राखिएको छ । जापानमा रहनुभएकी छोरी आएपछि अन्त्येष्टी गरिने पारिवारिक स्रोतले जनाएको छ । श्रेष्ठको श्रीमति, २ छोरा र १ छोरी हुनुहुन्छ ।

बेनी खानेपानीबाट २२ हजार लाभान्वित

बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले म्याग्दीको सदरमुकाम बेनीबजार आसपासको क्षेत्रमा बासोबास गर्ने २२ हजार जनसंख्यालाई नियमित शुद्ध पिउनेपानी वितरण गदै आइरहेको छ । ग्रामीण क्षेत्रबाट तीव्र बसाइँ सराइका कारण बढ्दो जनसंख्याको चापले खानेपानीको अभाव महसुस गरी बि.स २०६३ सालमा करिव ५ करोडको लागतमा सुरू गरिएको खानेपानी संस्थामार्फत बेनीबजार र गलेश्वर क्षेत्रका ११ सय ४ घरधुरीमा धारा जडान गरिएको छ ।

बि.श २०६३ सालमा ४ करोड ९३ लाख, २०७३ सालमा ६ करोड १५ लाख गरी कुल ११ करोड ५ लाखको लागतमा सञ्चालित आयोजनाले गत आवमा ६२ करोड २६ लाख ६८ हजार खानेपानी आपूर्ती भएकोमा ३५ करोड ६८ लाख ५१ हजार लिटर पानी बिक्री गरी २ करोड ९९ ला ९५ हजार ४०१ आम्दानी गरेकोमा सञ्चालन सहित अन्य खर्च कटाएर ७ लाख २७ हजार १६० आम्दानी गरेको बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले जनाएको छ ।

आइतबार सदरमुकाम बेनीमा सम्पन्न भएको २३ औं बार्षिक साधारणसभाको अवसरमा मुहानदेखि मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराउन प्रति सेकेन्ड २० लिटर क्षमताको पानी भण्डारण र शुद्धिकरण गर्ने सेडिमेन्टेसन टंकी र स्लो स्याण्ड फिल्टर टंकीको निर्माण भइरहेको संस्थाका अध्यक्ष माधबप्रसाद रेग्मीले बताए ।

संस्थाको २३ औ साधारणसभाको उद्घाटन गदैं बेनी नगरपालिकाकाका मेयर सुरत केसीले शुद्ध एवं स्वच्छ खानेपानीका लागि भइरहेको प्रयासको प्रशंसा गरेका थिए । उनले आयोजनामार्फत २४ घण्टै खानेपानी वितरणको वातावरण बनाउन आवश्यक सहयोग गर्ने बताए।

नगरबासीलाई स्वस्छ र शुद्ध खानेपानीका लागी वडास्तरमा समेत आवश्यक योजनाहरुलाई प्राथमिकता दिएको बताउँदै बजारबासीलाई नियमित खानेपानी वितरणको क्रममा हुने अवरुद्धलाई पन्छाउँद जानुपर्ने बताए। बेनीबजारमा जनसंख्याको चापलाई मध्यनजर गरी पूर्वाधार विस्तार आवश्यक रहेको बताइएको थियो ।

साधारणसभाको अवसरमा प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, बेनी नगरपालिका वडा नं ७ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, वडा नं ८ का अध्यक्ष उत्तमकुमार कर्माचार्य, संस्थाका पूर्व अध्यक्ष हरिकृष्ण श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । कार्यक्रमका बोल्ने अन्य बक्ताले समुदायको सक्रियतामा सञ्चालित योजनाहरुको प्रभावकारीकताको एउटा नमुना समेत संस्था बन्न सफल भएकाले बर्खाको समयमा हुने अवरुद्धलाई हटाउन सकेमा बजारबासीलाई सहज हुने बताएका थिए ।

संस्थाले नगर विकास कोषलाई १ करोड २२ लाख १८ हजार ९३० भुक्तानी गर्नुपर्नेमा गत आवमा १६ लाख ६९ हजार २६८ रुपैयाँ भुक्तानी गरी १ करोड ५ लाख ४९ हजार६६१ रुपैयाँ भुक्तानी गर्न बाँक् िरहेको रहेको सचिव राजेन्द्रकुमार श्रेष्ठले बताए । मुहान देखी उपभोक्ताको मुखसम्म शुद्ध खानेपानी उपलब्ध गराइरहेको संस्थाले आधुनिक प्रविधिको प्रयोग गरिएको सचिव श्रेष्ठको भनाई छ ।

जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ राम्चेको पुम्दीखोला, रिठ्ठाखर्क, डाँडाखर्क, दुधे तथा कोप्रे खोलाबाट प्रति सेकेण्ड १२ लिटर पानी आपूर्ती भएकोमा पुनः निर्माणपछि प्रति सेकेण्ड २० लिटर आपुर्ती गर्न सक्ने अवस्थामा पुगेको उपाध्यक्ष रमेश गिरीले बताए । बेनी–जोमसोम–कोरला सडक विस्तारको क्रममा खानेपानीको पाइपमा क्षती पुग्दा खानेपानी आपूर्तीमा समस्या भइरहेको अवस्थामा पटकपटक मर्मतमा समेत खर्च गर्नुपर्ने बाध्यता रहेको संस्थाले जनाएको छ ।

पुसको चिसोमा पनि मुस्ताङमा पर्यटक चाप

हिमाल पारीको जिल्ला मुस्ताङको तापक्रम यति वेला माइनस १५ डिग्री सेल्सियससम्म झरेको छ। बग्दै गरेको खोला र धाराको पानी जमेको छ।

हिमतालको पानी जमेको छ भने कतिपय उच्च स्थानमा हिउँ जमेको छ। चिसोका कारण स्थानीय बासिन्दाको दैनिकी कष्टकर बनेको छ। घरबाहिर निस्केर गर्नुपर्ने काम गर्न समस्या यो वेला हुन्छ।

भौगोलिक र मौसमी रूपमा पनि चुनौतीपूर्ण रहेको मुस्ताङमा यही अवस्थामा पनि पर्यटकहरूको आकर्षण भने घटेको छैन। चिसोका कारण जनजीवन अस्तव्यस्त भएका वेला पनि तल्लो मुस्ताङदेखि उपल्लो मुस्ताङसम्म पर्यटक दैनिक रूपमा घुमघामका लागि पुगिरहेका छन्।

प्रहरी चौकी घाँसा मुस्ताङका अनुसार यति वेला दैनिक करिब एक हजार पर्यटक मुस्ताङ पुगिरहेका छन्। यीमध्येका करिब सातजना भारतीय पर्यटक रहेका छन्। दैनिक तीन सयजनाको आसपासमा आन्तरिक पर्यटक पुगिरहेको मुस्ताङमा अन्य देशका पर्यटकहरूको चाप भने यतिखेर घटेको छ।

कागबेनीमा होटेल सञ्चालन गर्दै आइरहेका व्यवसायी छेप्तेन गुरुङले अघिल्लो वर्षको यही वेलाको तुलनामा यस वर्ष पर्यटक बाक्लो देखिएको बताए। विशेष गरी गर्मी समयका महिनामा आन्तरिक तथा बाह्य पर्यटकको चाप हुने गरे पनि यो वर्ष भने चिसोयाममा पनि पर्यटकको उपस्थिति राम्रो रहँदा व्यवसाय पनि चलायमान बनेको उनको भनाइ छ।

‘अघिल्ला वर्षहरूमा चिसोको समयमा यति धेरै पर्यटकहरू आएको जस्तो त लागेको छैन। अहिले भारतीय पर्यटकहरू धेरै आउनुभएको छ। असोज कार्तिकमा त भ्याई नभ्याई हुन्छ। मङ्सिर लागेपछि पर्यटकहरू कम हुँदै जान्छन्’, व्यवसायी गुरुङ भन्छन्, ‘भारतीय पर्यटकहरू प्रायः मुक्तिनाथ दर्शनका लागि आउनुहुन्छ। आएका सबैजना त उपल्लो मुस्ताङ जानु भएको छैन। तल्लो मुस्ताङसम्म पर्यटकको उपस्थितिले राम्रो भएको छ।’

मुस्ताङ पुग्नका लागि म्याग्दी हुँदै जाने सडकको अवस्था राम्रो नभएका कारण पनि विगतमा पर्यटकलाई समस्या हुने गरेको थियो। पोखराबाट पर्वत पुग्ने सडकको अवस्था पनि जोखिमपूर्ण रहेकोमा अहिले भने मध्यपहाडी लोकमार्गको रूपमा विकास गरिएपछि यात्रा सहज बनेको छ। यही कारण पनि पर्यटकहरूको उपस्थिति बढेको हुन सक्ने अन्य व्यवसायीहरू बताउँछन्।

‘सडकको सहज सुविधा भएका कारण पर्यटक आएका छन् तर चिसोमा होटलमा त्यस अनुसारको पूर्वाधार नहुँदा भने समस्या भएको छ। आएपछि चिसोबाट जोगिन भने समस्या हुन्छ’, घाँसाका होटेल व्यवसायी खगेन्द्र गौचनले भने, ‘पर्यटकहरू बढी मात्रामा जोमसोम र मुक्तिनाथ मन्दिरसम्म पुग्ने गरेका छन्। उपल्लो मुस्ताङमा त चिसोले खोलाको पानी जमेर बरफ बनेको हुन्छ। पग्लिएका वेला सवारी चल्ने भए पनि जमेका वेला सवारीसाधन जान सक्दैनन्।’

प्रहरीचौकी घाँसाका अनुसार चिसो मौसममा जोमसोम, मुक्तिनाथमा धारामा पानी समेत जम्छ। सबैजसो होटलमा एसीको सुविधा नहुँदा कतिपय पर्यटक समस्यामा पर्ने गरेका छन्। केही होटलमा बेडमा हिटर जोडिए पनि सबै पर्यटकले त्यो सुविधा पाउँदैनन्। जाडोमा आउने पर्यटकहरूका लागि होटेलमा मौसमका लागि आवश्यक पूर्वाधार  नबन्दा समस्या भएको छ।

माथिल्लो मुस्ताङ पुग्ने सडकमा पर्ने खोलाहरूमा पुल निर्माण हुँदै छन्। पुलहरू बनेपछि खोलाको पानी बरफ बनेको वेला पनि उपल्लो मुस्ताङ जान सहज हुनेछ। होटलहरुले जाडोयामका लागि आउने पर्यटकहरूका लागि आवश्यक पूर्वाधार बनाएमा हिउँ खेल्न, बरफमा रमाउन तथा जमेका तालहरू घुम्नका लागि पर्यटकहरूको सङ्ख्या बढ्ने छ।

गण्डकी प्रदेशमा पोखरापछि सबैभन्दा बढी पर्यटक पुग्ने जिल्ला मुस्ताङ हो। पछिल्लो एक वर्षको करिब ६६ हजार पर्यटक भित्रिएका छन्। सन् २०२२ मा ६५ हजार ४४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेको तथ्याङ्क छ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) इलाका कार्यालय जोमसोमका अनुसार मुस्ताङ भ्रमणमा आएकामध्ये ४६ हजार ७२४ जना पर्यटक सार्क राष्ट्रका छन्। १९  हजार २०६ जना तेस्रो मुलुकका छन्। मुस्ताङ भित्रिएकामध्ये १३ हजार ६२५ जना पर्यटक मनाङ हुँदै थोराङ्ला पास हुँदै पुनः मुस्ताङ फर्किएका छन्। यस्तै ३ हजार २१२ पर्यटक उपल्लो मुस्ताङ घुम्न गएका छन्।

कोरोना महामारीअघि मुस्ताङमा अधिकतम वार्षिक ६० हजारसम्म पर्यटक आएको तथ्यांक छ। सन् २०२१ मा २‚ ३०० पर्यटक भित्रिएकोमा ६०२ जना उपल्लो मुस्ताङ भ्रमणमा गएका थिए। सन् २०२० मा २‚३४७ पर्यटक मुस्ताङ आएका थिए। उजाड पहाड, हिमाली हावापानी, संस्कृति र जीवनशैली, ताल, गुम्बा, मुक्तिनाथ मन्दिर, गुफा मुस्ताङका आकर्षण हुन्।

मुक्तिनाथ, जोमसोम, कागबेनी, लोमान्थाङ, मार्फा, ठिनी, ढुम्बा ताललगायत मुस्ताङका धार्मिक र पर्यटकीय स्थलमा पर्यटक आगमन पुरानै लयमा फर्किन थालेको छ। पर्यटकीय क्षेत्रका बासिन्दा, पर्यटक, होटेल व्यवसायी र मजदुरलाई राहत मिलेको छ। थाहाखबर