Thursday, June 26, 2025
25.2 C
Beni
25.2 C
Beni
Thursday, June 26, 2025
Home Blog Page 686

गायक रवि कार्कीको ‘रे रे साईलो’ बजारमा(भिडियो सहित)

म्याग्दीका लोकप्रिय हाँस्यव्यङ्ग्य एवं लोकदोहोरी कलाकार रवि कार्कीको मौलिक लोकभाका ‘रे रे साईलो’ सांगीतिक बजारमा ल्याउनुभएको छ । म्याग्दी तिरको मौलिक लय र शव्दमा रहेको उक्त गीतको म्युजिक भिडियो विहिबार गआफ्नै युटुव च्यानलबाट सार्वजनिक गर्नुभएको हो । गीतमा गायक कार्की, कृष्ण केसी, जमुना राना र दिलु मगरको सुमधुर आवाज रहेको छ भने शव्द तथा लय सृजना गायक कार्कीले नै गर्नुभएको हो ।

कृष्ण केसीको म्युजिक एरेन्जमा रहेको गीतको म्युजिक भिडियोमा पनि रोधी वसेको झल्को दिने गरि मौलिकता समेटिएको छ ।गायक गायीकाहरु सहित भिडियोमा मोडल दिव्यानी ओली र अनुपा अधिकारीको पनि अभिनय रहेको छ ।

गीत मौलिक भएकाले भिडियो पनि मौलिकपनमै तयार गरिएको छ । गण्डकी क्षेत्रतिर निकै प्रचलित पुरानो मौलिक भाका तथा थेगोलाई टपक्कै टिपेर शव्दहरु परिमार्जित गर्दै गीत बजारमा ल्याएको गायक कार्कीले बताउनुभयो । ‘यो गितमा गरेको मेहनतलाई मायाँ गरिदिनुहुन्छ भन्ने आशा छ,‘मौलिकतालाई संरक्षण र सम्वद्र्धनमा टेवा पुगेको छ’ गायक कार्कीले भन्नुभयो । एक्लै हुँदा नरमाईलो, रे रे साईलो तिमी छौर छ रमाईलो, गीतमा माया प्रीतिका मर्मस्पर्शी शव्दहरु समायोजन गरिएको छ ।

 

म्याग्दीको बेनी नगरपालिका–९ नेप्टेचौरका कार्कीको यसअगाडी ‘जाम सुस्तै’ बोलको लोक दोहोरी गीत करोड कल्वमा प्रवेश गरेको थियो भने ‘माया के रैछ, ‘बेनी बजार झर मायालु,’ गलेश्वरको दर्शन लोक भजन लगायतका गित लोकप्रिय भएको थियो ।

गायक कार्की जिल्लामै रहेर राष्ट्रिय स्तरको कलाकारको पहिचान बनाउन सफल हुनुभएको छ । बैदेशिक रोजगारीबाट फर्किएपछि कार्की मेला, महोत्सवमा समेत ब्यस्त हुने गरेपनि कोरोनाको लहरसँगै स्टेज कार्यक्रम स्थगित भएपछि सामाजिक सञ्जाल र टिकटकमार्फत समेत गितसंगितमै ब्यस्त हुनुहुन्छ ।उहाँका बेनी बजार झर मायालु, जाम सुस्तै, माया के रैछ, हास्ने बोल्ने गरेपो माया बढ्छ, साईली सलक्कै, हुन्छ भने लगायतका गीतहरु श्रोतादर्शकको माझ लोकप्रीय बनेका छन ।

राहुघाट जलविद्युत् आयोजना निर्माणले गति लिँदै

बेनी, २२ पुस । म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणको कामले गति लिएको छ ।

ठेकेदार कम्पनीको ढिलासुस्तीले अन्योलमा रहेको सो आयोजनामा पछिल्लो समय जनशक्ति, उपकरण र स्रोतसाधन परिचालनमा जोड दिएपछि निर्माणले गति लिएको हो ।

प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवद्र्धक रहेको सो आयोजनाले करिब ६० प्रतिशत सुरुङ निर्माण सकिएको जनाएको छ । राहुघाट जलविद्युत्मा कुल छ हजार दुई सय ७० मिटर सुरुङमार्ग निर्माण गर्नुपर्नेमा हालसम्म तीन हजार सात सय मिटर निर्माण सकिएको आयोजनाका योजना प्रबन्धक राजबहादुर विष्टले जानकारी दिए।

मासिक एक सय ८० मिटर सुरुङ निर्माण गर्ने योजनाअनुसार कामलाई गति दिएको उहाँको भनाइ छ । आयोजनाको आगामी एक वर्षभित्र सुरुङको ‘ब्रेक थ्रु’ गर्ने लक्ष्य छ । अहिलेसम्म ४० प्रतिशत भौतिक र ५० प्रतिशत वित्तीय प्रगति भएको आयोजनामा सुरुङमार्गसँगै बाँध र विद्युत्गृहतर्फको पूर्वाधार निर्माण धमाधम भइरहेको छ ।

रघुगङ्गा गाउँपालिका–४ दग्नाम र ५ झिँको सिमानामा बाँध रहने उक्त आयोजनाको पानी बग्ने ठाउँ, पानी थिग्राउने स्थल, पावर इन्टेक, मुख्य सुरुङमार्गलगायत पूर्वाधार निर्माण भइरहेको विष्टले बताए। वडा नं ३ पिप्लेको तिल्केनीचौरमा विद्युत्गृह रहने क्षेत्रमा पूर्वाधार निर्माण जारी छ । दैनिक झण्डै तीन सय मजदुर परिचालन गरिएको छ ।

भारतीय आयात–निर्यात (एक्जिम) बैंकको ६७ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण तथा प्राधिकरण र नेपाल सरकारको संयुक्त लगानीमा निर्माण भइरहेको आयोजनाको सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)सँग २०७४ मङ्सिरमा ठेक्का सम्झौता भएको थियो ।

ठेक्का अवधि सन् २०२२ फेब्रुअरीमा सकिएपछि सन् २०२३ अगस्तसम्मका लागि पुनः म्याद थप भएको छ । अर्धजलाशययुक्त बाँध रहने यस आयोजनाले वार्षिक चौबीस करोड पाँच लाख ९३ हजार ३४ युनिट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित २०७५ चैतमा विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरेको थियो ।

प्राधिकरणले सन् १९९८ मा सम्भाव्यता अध्ययन गरेको यस आयोजनालाई २०७० मा नै सम्पन्न गर्ने गरी भारतीय ठेकेदार कम्पनी आइभिआरसिएल प्रोजेक्ट्स लिमिटेडले ठेक्का लिएको थियो । आइभिआरसिएल कमजोर आर्थिक अवस्थाका कारण चार वर्षमा दश प्रतिशत पनि काम नगरी पन्छिएको थियो ।

यसअघि ३२ मेगावाट मात्र उत्पादन गर्ने गरी अघि बढाएको आयोजनाको क्षमता आठ मेगावाट बढाएर अहिले ४० मेगावाट पूर्याइएको छ ।  सफल आवाज

मौवाफाँटमा प्रहरी चौकी स्थापना

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहिबार प्रहरी चौकी स्थापना भएको छ । प्रहरी चौकी र भवनको प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक रामभक्त जोशीले उद्घाटन गर्नुभयो । सबै स्थानीय तहको केन्द्रमा प्रहरी चौकी स्थापना गर्ने संघीय सरकारको योजना अनुसार प्रदेश सरकारको आर्थिक सहयोगमा रघुगंगा गाउँपालिकाले ब्यवस्थापन गरेको जग्गामा एक वर्षअघि भवन निर्माण भएको थियो ।

गण्डकीमा प्रदेश सरकारको सहयोगमा प्रदेश प्रहरी कार्यालयले ठेक्का मार्फत २३ वटा इकाईको भवन निर्माण गरिएको डिआइजी जोशीले बताउनुभयो । चौकीमा हवल्दारको नेतृत्वमा ५ जना जनशक्ति खटाइएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो ।

तीन तले भवनमा कार्यालय, ब्यारेक र थुनुवा कक्षका लागि १० वटा कोठा छन् । दुई वटा भान्छाकोठा, शौचालय र स्नानगृह छन् । भवन बनाउन वि.स. २०७७ असोजमा शिवाको–जयलक्ष्मी जे.भी बागलुङले रु. एक करोड ८७ लाख ६२ हजार ८४६ मा ठेक्का लिएको थियो । प्रदेश प्रहरी कार्यालयका प्राविधिक प्रहरी नायव उपरीक्षक इञ्जिनियर केभिनजंग थापाले भवन निर्माणमा रु. एक करोड ८६ लाख ९४ हजार ३०७ खर्च भएको जानकारी दिनुभयो । निर्माण कम्पनीका प्रतिनिधि जयन्द्र श्रेष्ठले निर्धारित समयमै भवन बनाएर हस्तान्तरण गरेको बताउनुभयो । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले पालिकाको पहलमा मौवाफाँटका प्रेमनाथ शर्मा, तारानाथ शर्मा, बिरबहादुर विश्वकर्मा र मिठू खत्रीले चौकीको भवन बनाउन निशूल्क तीन रोपनी जग्गा उपलब्ध गराउनु भएको जानकारी दिनुभयो । भवन निर्माण स्थलसम्म पुग्ने सडक गाउँपालिकाले निर्माण गरेको थियो ।

 प्रहरी निरीक्षक समुन्नत अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी पुन, प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेल, नेपाली काँग्रेसका जिल्ला उपसभापति केवी भण्डारी, एमालेका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदी, वडा अध्यक्षहरु बिलबहादुर फगामी, अमृत भण्डारी, पविन गर्बुजा लगायत स्थानीय अगुवा, आमा समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

म्याग्दीमा सदरमुकाम बेनीको जिल्ला प्रहरी कार्यालय मातहत १७ वटा चौकी तथा पोष्ट छन् । घोरेपानी, घार, भुरुंगङ–तातोपानी, भगवति, पाखापानी, चिमखोला, तिप्ल्याङ, गलेश्वर, कालीपुल, मंगलाघाट, रत्नेचौर, सिंगा तातोपानी, बाबियाचौर, दरबाङ र ताकममा प्रहरी इकाई छन् । जिल्ला प्रहरी कार्यालय, ताकम प्रहरी चौकी, सिमा प्रहरी चौकी भुरुङ तातोपानीको मात्र आफ्नै भवन छन् ।

 

अन्य प्रहरी युनिट सामुदायिक भवन र भाडाको घरबाट सञ्चालन भएका छन् । पूर्वाधार अभावमा सुरक्षाकर्मीको आवास व्यवस्थापन, प्रशासनिक काम र पक्राउ परेका व्यक्तिहरुलाई राख्न समस्या भएको छ । प्रहरी चौकीको भवन वनाउन जग्गाको अभाव प्रमुख समस्या देखिएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्सद्धारा रु १ करोड मृत्यु दावि रकम भुक्तानी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको म्याग्दी शाखाले एक जना दिवंगत विमितका परिवारलाई रु १ करोड मृत्युदावी रकम भुक्तानी गरेको छ । विहिवार बेनीमा आयोजित बीमा सचेतना कार्यक्रममा अन्नपूर्ण गाउँपालिका–६ घारका दिवंगत कृष्ण बरुवालको परिवारलाई रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको हो ।

सिटिजन शुभारम्भ बीमा योजना अन्तरगत गत असार ३१ गते जीवन बीमा गर्नुभएका बरुवालको गत मंसिर २१ गते बेनीमा क्याम्पस भवन निर्माण योजनाको नापजाँचको क्रममा ढिस्कोले पुरिएर मुत्यु भएको थियो । रु ५० लाखको विमालेख पोलिसी खरिद गर्नुभएका बरुवालको घरपरिवारलाई बीमाङ्क रकम रु ५० लाख, दुर्घटना मृत्यु लाभ वापतको रकम र रु ५० लाख र किरिया खर्च बापतको रु ५० हजार गरि एकमुष्ठ रु १ करोड ५० हजार रकम हस्तान्तरण गरिएको कम्पनीका म्याग्दी शाखा प्रमुख भावना पौडेल सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार, २० बर्षको पोलिसी खरिद गर्नुभएका बरुवालले प्रत्येक बर्ष रु २ लाख ६५ हजार ३५७ प्रिमियम तिर्ने गरि बीमा गर्नुभएको थियो भने एक बर्षको मात्रै रकम उहाँले भुक्तानी गर्नुभएको थियो । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल र कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले बरुवालका घरपरिवारलाई उक्त मृत्युदावि रकमको चेक हस्तान्तरण गर्नुभएको थियो ।

नेतृत्व विकास तथा उद्घोषणकला तालिम सकियो

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४, नारच्याङमा नेतृत्व विकास, उद्घोषणकला तथा सकारात्मक सोचसम्बन्धी उत्प्रेरणामूलक तालिम सम्पन्न भएको छ । सिर्जनशील आमा समूह नारच्याङको आयोजना र अन्नपूर्ण–४, नारच्याङ वडा कार्यालयको सहयोगमा तालिम सञ्चालन गरिएको थियो ।

तालिमको समापन गर्दै अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनले महिलाहरुको क्षमता अभिवृद्धि गर्नका लागि सञ्चालित तालिमबाट सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुको नेतृत्व तथा क्षमता विकासमा सहयोग पु¥याउने बताउँदै आउँदा दिनमा रचनात्मक कार्यमा गाउँपालिकामार्फत आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभयो ।

अन्नपूर्ण युवा क्लब नारच्याङका अध्यक्ष टकबहादुर पुनले ग्रामीण भेगका महिलाहरुको व्यक्तित्व र नेतृत्वको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने अपेक्षा व्यक्त गर्नुभयो । सिर्जनशील आमा समूहका अध्यक्ष नरिमाया पूर्जा पुन गुरुङले गाउँका महिलाहरुमा नेतृत्व तथा क्षमताको विकास गराउनका लागि वडा कार्यालयको सहयोगमा तालिम आयोजना गरिएको बताउनुनुभएको थियो ।

तीन दिनसम्म चलेको तालिममा नारच्याङको आमा समूह, युवा क्लब तथा स्वास्थ्यचौकीबाट सहभागिता जनाएका थिए । तालिमका प्रशिक्षक तथा पत्रकारहरु सुष्मा पौडेल, स्मिता अधिकारी र प्रताप बानियाँले नेतृत्व विकास, उद्घोषणकला, सकारात्मक सोच, वैठक सञ्चालन, माइन्युट उठाउने र उत्प्रेरणालगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम आमा समूहका अध्यक्ष गुरुङको अध्यक्षता, सदस्यद्वय तारादेवी रन्तिजाको सञ्चालनमा सम्पन्न भएको थियो भने सहभागी यामकुमारी पूर्जा, झरना शाही र चिना थजालीले अनुभव सुनाउनुभएको थियो ।

महिलाहरुले बनाए सर्वोत्तम पीठो

बेनी नगरपालिका–६, अर्थुङ्गेस्थित डम्बरा, माझखेत र चुत्रेनीका महिलाहरुलाई सर्वोत्तम पीठो उत्पादनसम्बन्धी तालिम दिइएको छ । ग्रामीण भेगका महिलाहरुलाई लक्षित गरेर ‘सक्षम महिला समानान्तर पाइला’ भन्ने कार्यक्रमअन्तर्गत गाउँमै सर्वोत्तम पीठो उत्पादन गर्नेगरी तालिम प्रदान गरिएको हो ।

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश पोखरा र बेनी नगरपालिका–६, नम्बर वडा कार्यालयको आर्थिक सहयोग र समन्वयमा सञ्चालित तालिमको नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाले आयोजना गरेको थियो भने मिलन म्याग्दीले प्राविधिक सहयोग गरेको थियो । ७ दिनसम्म चलेको उक्त तालिमको अवधिमा सहभागी महिलाहरुले मकै, भटमास, गहुँ, काजु र चिनी मिश्रित सर्वोत्तम पीठो उत्पादन गरेर प्रदर्शन गरेका थिए ।

तालिमको अवसरमा स्थानीयस्तरमा उपलब्ध मकै, गहुँ र भटमासको सम्मिश्रण गरेर सर्वोत्तम पीठो बनाइएको थियो । तालिम अवधिभरमा प्रशिक्षकहरुले महिलामा व्यावसायिक क्षमताको वृद्धि, सर्वोत्तम पीठो उत्पादन गर्ने तरिका, बनाउने विधि, समावेश गर्नुपर्ने कच्चापदार्थ र बजारीकरणलगायत विविध विषयहरुमा सहजीकरण गर्नुभएको थियो ।

तालिमको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय गण्डकी प्रदेश पोखराका खाद्य निरीक्षक पूर्णकला थापा, सामाजिक विकास कार्यालय म्याग्दीका प्रमुख रमेश थापा, योजना अधिकृत बाबुराम आचार्य, बेनी नगरपालिकाको शाखा अधिकृत एवं खाद्य सुरक्षा तथा निर्देशक समितिका फोकलपर्सन युवराज थापाले सहजीकरण गर्नुभएको थियो ।

यसैगरी स्वास्थ्य कार्यालय म्याग्दीका निमित्त प्रमुख एकनारायण लम्साल, पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष हरिकृष्ण गौतम, मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु, सुआहारा कार्यक्रमको विज्ञ बालकुमारी पुन, तालिम आयोजक सहकारीका अध्यक्ष चिना बानियाँ र सल्लाहकार तथा महिला अधिकार मञ्च म्याग्दीका सचिवालय संंयोजक जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।

आज (बिहीवार) तालिम समापनसत्रमा सम्बोधन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गाउँगाउँमा रहेका आमा समूहका भवनहरुलाई तालिम सञ्चालन केन्द्रको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले तालिम लिएपश्चात् अब तालिमको अवधिमा सिकेका ज्ञान, सिपलाई पूर्ण रुपमा व्यवहारमा उतार्नुपर्ने बताउँदै नगरपालिकाबाट आवश्यक सहयोग उपलब्ध गराइने हुँदा महिलाहरु आयआर्जन र उत्पादनको क्षेत्रमा आबद्ध हुनुपर्नेमा जोड दिनुभयो ।

बेनी नगरपालिका–६, अर्थुङ्गेका वडा अध्यक्ष कृष्णसिङ बानियाँले गरिबीबाट मुक्त हुनका लागि व्यावसायिक र उत्पादनमूलक क्षेत्रमा आबद्ध भई आर्थिक उपार्जन गर्नुपर्ने बताउनुभयो । कार्यक्रम मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालुको सञ्चालनमा सम्पन्न भएको थियो । तालिमको अवसरमा सुनौलो हजार दिनका महिलाहरुलाई निःशुल्क रुपमा सर्वोत्तम पीठो हस्तान्तरण गरिएको थियो ।

तालिमकै क्रममा उद्योग सञ्चालनका लागि भुजु बानियाँको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरिएको छ । यसैगरी तालिम समापनको अवसरमा आयोजक संस्था नारी जागृति महिला विकास बहुउद्देश्यीय सहकारीद्वारा उद्योग सञ्चालन गर्न समितिलाई एकएक थान विद्युतीय मिल र प्याकिङ मेसिन हस्तान्तरण गरिएको थियो ।

बिमा सचेतना फैलाउँदै मह जोडी

नेपालका चर्चित कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले जनचेतना जगाउने र जीवन बीमा गरी आफ्नो जीवन सुरक्षित गर्ने बानी बनाउनुपर्ने बताउनुभएको छ । म्याग्दीको सदरमुकाम बेनीबजारमा आयोजित विमा सचेतनामुलक कार्यक्रममा मह जोडीले बिमाले परिवारको आर्थिक सुरक्षा दिने बताउनुभयो ।

नेपाल विमा प्राधिकरणको बिमा सचेतना कार्यक्रम अन्तरगत सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीद्धारा सदरमुकाम बेनीमा आयोजना गरेको विमा सम्बन्धि सचेतनामुलक कार्यक्रममा बोल्दै महजोडी श्रेष्ठ र आचार्यले बिमा अभियानलाई अनिवार्य गर्नुपर्ने बताउनुभयो । विदेशमा हरेक काममा विमाको आवश्यकता हुने बताउँदै आर्थिक उन्नतीका लागि समेत विमा आवश्यक रहेको बताउनुभयो ।

मुलुकको हास्यव्यंग्य क्षेत्रमा पाँच दशकभन्दा लामो अवधिदेखि विशिष्ट पहिचान बनाई महजोडीको रुपमा चिनिनु भएका महजोडीले आफ्नो सहकार्यको अनुभव समेत सुनाउनुभएको थियो ।

कार्यक्रममा विभिन्न क्षेत्रबाट आएका सहजकर्ता सहितको उपस्थिती रहेको थियो भने विभिन्न अवार्ड र विमा दावी समेत हस्तान्तरण गरिएको सिटिजन लाइफ इन्स्योरेन्स बेनी शाखाकी प्रमुख भावना सुबेदीले बताउनुभयो । जीवन बिमा गराएर जीवन सुनिश्चित गरि पुण्यको काम गर्ने, सरल तथा सुलभ सेवा पु¥याउन र नवीनतम योजनाहरुका बारेमा समेत जानकारी गराएको थियो ।

सोही कार्यक्रममा सिटिजन लाइफका कार्यकारी अधिकृत पोषकराज पौडेलले परिवारलाई आर्थिक संकटमा सहयोग गर्नुकोे साथै वृद्धा अवस्थामा सुखद जीवनयापन व्यतित गर्न सघाउने बताउँदै दावी रकम समेत तत्कालै उपलब्ध गराउन सक्ने बताउनुभयो । मह जोडी सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको सद्भावनादूत (ब्राण्ड एम्बेसेडर) समेत हुनुहुन्छ । सिटिजले आधुनिक प्रविधिको प्रयोग गरी ग्राहकलाई गुणस्तरीय सेवा प्रदान गरिरहेको छ ।

चिसोले खोलानाला र धाराको पानी जम्दा कष्टकर बन्यो मुस्ताङको जनजीवन

गर्मी याममा सामान्य जनजीविका हुने मुस्ताङमा जाडोको याम भने प्रतिकूल हुने गरेको छ। मंसिर, पुस र माघ महिनामा तापक्रम माइनसमा पुग्दा बग्दै गरेका खोला र धारामा झर्दै गरेको पानी जमेर सिसा जस्तै बन्छ।

हिमाली जिल्ला मुस्ताङका बस्तीहरू कोही हिमालकै काखमा छन् त कोही हिमालको सम्मुखमा। चिसोकै कारण हिमताल पनि जमेका हुन्छन्। चिसो याममा पहाडी क्षेत्रमै जनजीविका कष्टकर बनेको हुन्छ। हिमाली क्षेत्रको अवस्था सहज हुने त कुरै भएन।

स्थानीय बासिन्दाका अनुसार केही दिनयता अत्यधिक चिसो बढेपछि धारा, खोला, ताल तलैया जम्दा जनजीवन कष्टकर भएको छ।

कागबेनीमा होटल व्यवसाय गर्दै आएका स्थानीय छेप्तेन गुरुङका अनुसार तल्लो मुस्ताङकै अवस्था कष्टकर भएका वेला उपल्लो मुस्ताङमा झनै चिसो हुन्छ।

अहिले हिमपात नभइसकेको भए पनि चिसो वातावरणका कारण घरबाहिर निस्केर दैनिक क्रियाकलाप सञ्चालन गर्न समस्या हुन थालेको छ।

‘यो वेला चिसो निकै बढेको छ। तापक्रम त माइनसमा हुन्छ। चिसोले खोलानालामा बगिरहेको पानी जमेर बरफ बन्छ। तालमाथि मान्छेहरू उफ्रने, बस्ने गर्दै फोटो खिचेर रमाइरहेका हुन्छन्।

‘घरपझोङको कैसाङ क्याम्प नजिकै रहेको क्षमा ताल पूरै बरफ बनेको छ’, गुरुङ भन्छन्, ‘चिसो बढेपछि कोही त कपडा, सिद्रा, जिम्बु लगायत सामग्री र हिमाली जडीबुटी बिक्री गर्न बेँसी झर्छन्। पोखरा, म्याग्दीतिर घर भएकाहरू उतै गएर बस्छन्। गर्मी शुरु भएपछि मात्रै गाउँ फर्किन्छन्। बेँसी नझरी यहीँ बसिरहेकाहरूको अवस्था जहिले पनि कठिन भएको हुन्छ।’

घरपझोङ गाउँपालिकामा पर्ने तथा समुद्री सतहबाट ३२ सय मिटरको उचाइमा रहेको नीलगिरि हिमालको फेदीमा रहेको क्षमा तालको पानी जमेर समथर सतह बनेको छ।

चिसोका कारण धेरै मानिसहरू घर छाडेर पोखरा र आसपासका जिल्लामा व्यापार गर्न झर्दै आएका छन्। चौँरी, याक, भेडा च्याङ्ग्राका कुरुवा तथा आर्थिक अवस्थाका कारण बेँसी झर्न नसक्ने अवस्था रहेका व्यक्ति र व्यवसायीहरू भने गाउँमै रहने गरेका छन्।

चिसोका कारण मुस्ताङका विद्यालयहरूलाई घुम्ती रूपमा सञ्चालन गर्ने गरिएको छ। जाडो याममा शिक्षक र विद्यार्थीहरू पोखरामा रहेर अध्ययन अध्यापन गर्ने गरेका छन्। सरकारी कार्यालयमा कार्यरत कर्मचारीहरू भने त्यहीँ बस्नुपर्छ।

उत्तरी मुस्ताङको लोमान्थाङ बजारमा पनि मानिसहरू कमै मात्रामा रहेका छन्। उपल्लो मुस्ताङ जाने सडक क्षेत्र तथा बजारमा रहेका अधिकांश होटल पनि बन्द रहेको स्थानीय जनप्रतिनिधिहरू बताउँछन्। चिसोले जनजीवन अत्यधिक कष्टकर बन्न पुगेको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले बताए।

‘हिउँदका महिना स्थानीय बासिन्दाका लागि ज्यादै कष्टकर हुन्छ। यहाँ बसेर दैनिकी चलाउन सकिँदैन। सकिँदैन भनेर नबसेर पनि हुँदैन’, उनले भने, ‘चिसोबाट बच्न र दैनिक रूपमा जीवन चलाउन कठिन हुन्छ। कोहीले दाउरा बालेर आगो ताप्छन्। कोही घरभित्रै बसिरहेका हुन्छन्। बाहिर हिँडडुल गर्न कठिन छ।’

घरका धारा, ट्वाइलेट र बाथरुममा आउने पानी जमेर धारोबाट नखस्दा पानीको समेत समस्या हुने गरेको छ। प्रयोग ल्याउनुपर्ने पानी मानिसलाई जस्तै तातो ठाउँमा राख्नुपर्ने वा तताएर मात्रै प्रयोगमा ल्याउन सकिने अवस्था रहन्छ।

चिसो बढेपछि उपल्लो मुस्ताङको नरसिंह खोला, समर खोला, घिलिङ खोला, घमी खोला, चराङ खोला, लोमान्थाङ खोला र छोसेर क्षेत्रका खोलानाला र पानी पूरै जमेको छ। कालीगण्डकी करिडोर सडकमा पर्ने ती खोलामा पुल बनाउने काम भइरहेका कारण अहिले खोला जम्दा यातायात समेत अवरुद्ध भएको छ।

उपल्लो मुस्ताङ पुग्ने पर्यटक र स्थानीय बासिन्दा खोला जमेर यातायात अवरुद्ध हुँदा प्रभावित बनेका छन्। सामान ढुवानी समेत प्रभावित बनेको अध्यक्ष गुरुङले बताए।

उपल्लो मुस्ताङकै जस्तो अवस्था नरहेको भए पनि चिसोले तल्लो मुस्ताङ पनि प्रभावित छ। ताल जमेका छन् भने जोमसोम, मुक्तिनाथ, कागबेनी, मार्फामा पनि बिहान धारामा पानी आउन छाडेको छ।

बेलुका नै भाँडोमा पानी नराख्ने हो भने धारा जमेर शौचालय जान समेत नसकिने अवस्था रहेको जोमसोमका होटल व्यवसायी गुरुङले बताए।

मुस्ताङमा यो समयको चिसोमा अहिलेसम्म हिमपात नभएको अवस्थामा पनि उपल्लो मुस्ताङमा बिहान र बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म पुग्ने गरेको छ। तल्लो मुस्ताङमा पनि बिहान र बेलुकीको तापक्रम माइनस १० डिग्रीसम्म पुग्छ।

चिसोले स्थानीय बासिन्दा घरबाहिर निस्कन सक्दैनन्। चिसोका कारण बाहिर काम गर्ने अवस्था नहुँदा विकास निर्माणका काम पनि प्रभावित भएका छन्। थाहाखबर

म्याग्दीका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माण गरिने

म्याग्दी, २० पुस । गण्डकी प्रदेश सरकारले यहाँका २० पर्यटकीयस्थलमा पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०७९/८० मा योजना छनोट गरेको छ । प्रदेश सरकारअन्तर्गतको पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत कार्यान्वयन हुने ती योजनाका लागि १ करोड ७६ लाख रुपैयाँ बजेट विनियोजन गरेको हो ।

कार्यालय प्रमुख पोषानाथ शर्माले पर्यटकीयस्थलमा पदमार्ग, उद्यान, रेलिङ, भवनलगायत पूर्वाधार निर्माणका लागि छनोट भएका योजनाको कार्यान्वयन प्रक्रिया अघि बढाइएको जानकारी दिए ।

नारच्याङ झरना

“स्थानीय तह र वडा कार्यालयसँग समन्वय गरेर उपभोक्ता समिति गठन, प्राविधिक लागत अनुमान तयार पार्ने काम भइरहेको छ”, उनले भने, “पाँच योजनाको उपभोक्ता समितिले सम्झौता गरेर निर्माणको काम थालेका छन् ।”

गलेश्वर धाम

५-५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बेनीको ब्रह्मकुमारी विश्वविद्यालय तथा राजयोग प्रशिक्षण केन्द्र, गलेश्वर मन्दिर–काउलेगौडा पदमार्ग, कन्थराजको थान र फूलपातीदेखि ज्यामरुककोट मन्दिर, मालिका गाउँपालिकाको कुकुरखोरिया–दुरलेकको मेला जाने पदमार्ग र ७ लाख विनियोजन भएको रघुगङ्गा–३ गायत्री मन्दिरमा उद्यान निर्माण योजनाको काम सुरु भएको छ ।

अन्नपूर्ण गाउँपालिकाको नारच्याङ झरना रेलिङ, तातोपानी कुण्डमा पर्यटकीय पूर्वाधार, सुकेधारा–सुवा पदमार्ग र अन्धगल्छी–रुप्से छहरा–भूमे मन्दिर पदमार्ग निर्माणका लागि रु १०-१० लाख विनियोजन गरिएको छ ।

रुप्से झरना

रघुगङ्गा गाउँपालिका–४ को भूमेथान चौतारी निर्माणमा २ लाख, बेनीको मसिना ढुङ्गा थाकनपोखरी भेटेरिनरी कार्यालय पदमार्गका लागि १५ लाख, गैराबारी–ढुङ्गेटा खेतदेउने पदमार्गका लागि ५ लाख र गुफा राममन्दिर परिसरमा उद्यान निर्माणमा १५ लाख विनियोजन गरिएको छ ।

यसैगरी मालिका गाउँपालिकाको प्रभुचेला आश्रम भौतिक पूर्वाधार निर्माणका लागि १५ लाख, इग्रे–लामखोरिया पदमार्गका लागि १० लाख, पन्थोकदेखि मालिका धुरी जाने पदमार्गका लागि ५ लाख, धवलागिरिको लुलाङ्ग–सागबारी पदमार्गका लागि १० लाख र बेँसी पन्थोक टाङवाङ रिख पदमार्गका लागि १० लाख बजेट आएको छ ।

अन्धगल्छी

मङ्गला गाउँपालिकाको साउनेपानी हुँदै डाँडा र सिरकुम–तीनचुले पदमार्गका लागि १०-१० लाख बजेट प्राप्त भएको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ ।  सफल आवाज

अन्नपूर्णको दानामा म्याद नाघेका सामानहरु छ्यापछ्याप्ती भेटिए

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२, भूरुङ–तातोपानी, ३ नम्बर वडा दाना र ६ नम्बर वडाको पोखरेबगर क्षेत्रमा बजार अनुगमन भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङको नेतृत्वमा हिँजो (मङ्गलवार) अन्नपूर्णको तीन ठाउँमा सञ्चालित पसलहरुको अनुगमन गरिएको हो ।

दानामा ८ ओटा, भूरुङ–तातोपानीमा ४ र पोखरेबगर तथा रातोपानी क्षेत्रमा ७ गरी कुल १९ वटा खाद्यान्न एवं किराना पसलहरुको अनुगमन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले जनाएको छ । अनुगमन गरिएका खाद्यान्न पसलहरुमध्ये दाना क्षेत्रमा सञ्चालित अधिकांश किराना तथा खाद्यान्न पसलबाट म्याद सकिएका दैनिक उपभोग्य सामानहरु बिक्री वितरण गरेको पाइएको छ ।

अनुगमनको क्रममा दाना क्षेत्रमा होटल तथा रेष्टुरेण्टको नाममा पसल दर्ता गरेर खाद्यान्न र किराना सामानहरु बिक्री वितरण गरिरहेको पाइएको छ । खाद्यान्न र किराना पसलहरुबाट खाद्य तथा पेयपदार्थलगायत दैनिक उपभोग्य सामानहरु उपभोग गर्ने म्याद सकिएको भेटिएका थिए । म्याद सकिएका दैनिक उपभोग्य खाद्यान्न सामानहरु भेटिएपछि जफत गरेर नष्ट गरिएको छ । अनुगमनको क्रममा तीन ठाउँमा गरी कुल ८२ हजार रुपैयाँ बराबरको म्याद नाघेको सामानहरु नष्ट गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका खाद्य निरीक्षक प्रेम अर्यालले बताउनुभयो ।

अनुगमन गरिएका पसलहरुमा साइनबोर्ड नटाँसेको, एउटा नाममा दर्ता गरेर अर्कै नामको पसल सञ्चालन गरेको, पसलमा मूल्यसुची नराखेको, होटल दर्ता गरी किराना पसल चलाएको, दर्ता भएको पसल लामो समयसम्म पनि नवीकरण नगरेको जस्ता कमी कमजोरीहरु भेटिएका छन् । पसलहरुमा अनुगमन गर्दा ठूलो मात्रामा म्याद सकिएका दैनिक उपभोग्य सामानहरु टाँसीमा राखेर बिक्री वितरण गरेको पाइएको छ ।

अनुगमन टोलीले दर्ता नभएको पसललाई तुरुन्तै दर्ता गर्न तथा कानुनी प्रक्रिया पुरा गरेर मात्रै सञ्चालन गर्न, पसल नवीकरण गर्न र म्याद नाघेका दैनिक उपभोग्य सामानहरु अलग्गे राखेर सम्बन्धित कम्पनीमा फिर्ता गर्नका लागि निर्देशन दिएको जनाएको छ । खाद्यान्न तथा किराना पसलहरुको अनुगमन गर्दा दैनिक उपभोग्य सामानहरुतर्फ चाउचाउ, बिस्कुट, आटा, घ्यु, दालमोठ, कोकाकाला, स्प्राइट, क्यानबियरलगायत चिसो पेयपदार्थहरुको म्याद सकिएको भए पनि पसलबाट बिक्री वितरण भैरहेको पाइएको थियो ।

म्याद सकिएका सामान बिक्री वितरण नगर्न र कानुनी प्रक्रिया पुरा नगरेका पसलहरुलाई तुरुन्तै प्रक्रिया पुरा गरेर मात्रै पसल सञ्चालन गर्न निर्देशन दिइएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका कम्प्युटर अपरेटर सन्तोष ढुङ्गानाले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको अगुवाइमा भएको अनुगमनमा पर्यटन तथा उद्योग कार्यालय म्याग्दी, जिल्ला प्रशासन तथा प्रहरी कार्यालय, अन्नपूर्ण गाउँपालिका लगायतको सहभागिता थियो ।