Thursday, May 8, 2025
23 C
Beni
23 C
Beni
Thursday, May 8, 2025
Home Blog Page 819

ओमनमा रहेकी आमालाई स्वर्ण पदक सर्मपण

0

म्याग्दीको सदरमुकाम बेनीमा जारी राष्ट्रपति रनिङ शिल्ड विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा उसुमा स्वर्ण विजेता समीर किसानले बैदेशिक रोजगारमा गएकी आमा मायाँदेवीलाई पहिलो खवर सुनाए। घरेलु कामदारका रूपमा ओमनमा रहेकी मायाँदेवीले स्वर्ण पदक जितेको खवर सुन्दा वित्तिकै रोईन् । सन्तानको भविष्य सुनिश्चित गर्न र परिवारको खुसीका लागि खाडी मुलुकमा पुगेकी मायाँदेवीले खुसीको आँसु भन्दै छोरालाई थप सफलताको शुभकामना समेत दिईन्।

कालिपुलको कवर्ड हलबाट आमालाई स्वर्णपदक जितेको सन्देश सुनाएका किसानले घरमा पुगेर खेलका बारेमा जानकारी गराउँदा आमा पटक–पटक भाबुक भएको बताए ।‘मैले पदक जित्दा वित्तिकै आमालाई सम्झिएको थिए,‘हाम्रो खुसीका लाागि आमा विदेश जानुभएको छ’ किसानले भने ।

घरको आर्थिक अवस्था कमजोर भएकै कारण बिरामी बुबाको उपचार,शिक्षादीक्षाका लागि बाध्य भएर आमा विदेशमा जानुपरेको बताउँदै दुखःपीडाका बिचमा खेलमार्फत आमालाई पदक उपहार दिएको बताए । मार्सल आर्टस् अन्तरगत पर्ने उसु विधामा आफ्नो रुचीलाई आमाले निरन्तर साथ दिएकै कारण स्वर्णपदक जित्न सफल भएको बताए ।

बेनी नगरपालिका–६,खैरेनीका किसानले पहिलोपटक जामुनाखर्क माविलाई मार्सलआर्टस् विधामा स्वर्णपदक समेत दिलाए।बेनीस्थित बालमन्दिर आधारभुत विद्यालयलाई गएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उसुबाटै पदक दिलाउन सफल भएका किसानले राष्ट्रियस्तरका खेलहरूमा समेत पुग्ने लक्ष्य रहेको बताए।‘आमा घर आउँदा वित्तिकै आफूले पाएको मेडल लगाइदिन्छु,‘अबका खेलहरू आमाकै अगाडी खेल्ने धोको छ’ किसानले भने ।

उनले निरन्तर मेहनत र संघर्ष गरेमा अझै राम्रो खेल देखाउन सक्ने बताए ।नेपालबाट विदेशीसँग उसु खेल्ने लक्ष्य भएकाले निशुल्क तालिम सहितको अवसर पाएमा उत्कृष्ट खेल देखाउन सक्ने बताए । गएको जेठ १५ गते उपचारको क्रममा बुबाको मृत्यु भएपछि घरमा दुई दिदीसँगै रहेका समीरले उच्च शिक्षासँगै खेललाई समेत अगाडी बढाउने बताए । म्याग्दी उसु संघका कार्यवाहक अध्यक्ष अमृत बास्कुनेले उचित अवसर पाए समीरले उसुबाट देशकै नाम राख्न सक्ने बताए ।

जन्डिसको उपचारको क्रममा बुबाको मृत्यु भएपछि काजकृया सकेर नियमित अभ्यासमा जुटेको समीरकै प्रशिक्षणबाट यसपटक प्रमिसा बानियाँ र सज्जन कार्कीले स्वर्ण पदक जितेका छन् ।बेनीमा नियमित रूपमा उसु सिकाउने प्रशिक्षक नहुदाँ समीरले नै सिकाएर थप दुई खेलाडीले स्वर्ण जितेपछि उसु संघ समेत उत्साहित भएको छ । जिल्ला खेलकुद विकास समितिको आयोजनमा असार २० र २१ गतेसम्म हुने प्रतियोगिताका अन्य विधाहरूमा खेल जारी छ ।

पर्वतमा अलपत्र भेटिए बाँकेका ४ वर्षीय बालक

0

बाँकेको नेपालगन्ज घर बताउने एक बालक पर्वतमा अलपत्र अवस्थामा फेला परेका छन्। अन्दाजी चार वर्ष उमेर अनुमान गरिएका मनिष मगर नाम बताउने ती बालक पर्वतको कुश्मा नगरपालिका–९ कटुवाचौपारीमा अलपत्र फेला परेपछि जिल्ला प्रहरी कार्यालय पर्वतको संरक्षणमा राखिएको पर्वतका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए।

गहुँगोरो वर्णको अन्दाजी दुई फिट ६ इन्च उचाइ भएको, भन्टा रङको सेतो तारा भएको हुड, खैरो पाइन्ट र नीलो चप्पल लगाएको तथा दुवै कानमा मुन्द्रा लगाएको उक्त बालकको अभिभावक वा संरक्षक पत्ता लगाउनको लागि प्रहरीले मातहतका निकायमा खबर गरेको छ।यद्यपि बालकको जिम्मा लिन कोही पनि नआएको डिएसपी बुढाथोकीले बताए।

कटुवाचौपारीमा भेटिएका ती बालकलाई उद्धार गरेर प्रहरीको साथमा ल्याइएको र कसैले दाबी गर्ने भएमा जिल्ला प्रहरी कार्यालय पर्वतको फोन नं. ०६७–४२०१९९ वा ९८५७६३०५५१ मा सम्पर्क गर्न अनुरोध गरिएको पनि पर्वत प्रहरीले बताएको छ। Thakhabar

बेनीमा ‘राष्ट्रपति रनिङ शिल्ड’ सुरु

0

म्याग्दीको सदरमुकाम बेनीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता सुरू भएको छ। जिल्ला खेलकुद विकास समितिको आयोजनमा सुरू भएको प्रतियोगिता मंगलबार सम्म सञ्चालन हुने छ । प्रतियोगिताको उद्घाटन गदैं जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले विद्यालयस्तरको प्रतियोगिताले खेलाडीको पहिचान हुने बताए । उनले जिल्लाभरका खेलाडीहरूका पहिचान गरी थप सहयोग गर्ने स्थानीय तहले समेत चासो देखाउनुपर्नेमा जोड दिए ।

विद्यालयमा रहेका खेल प्रतिभाको पहिचान भई प्रदेश र राष्ट्रिय स्तरमा पुग्ने अवसर पाउने उनको भनाई थियो ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नगरप्रमुख केसीले आगामी कात्तिक मंसिरमा बेनीमा नगर स्तरीय रनिङ शिल्ड सञ्चालन गरिने बताए । कोरोना महामारीका कारण यसअघिका दुई वर्ष प्रतियोगिता सञ्चालन हुन सकेको थिएन् ।

राष्ट्रपति कप प्रतियोगितामा विजेता विद्यालयलाई ट्रफी, प्रमाणपत्र, मेडल प्रदान गरिने छ । असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने प्रतियोगितामा सहभागि हुने खेलाडी छनौटका लागि प्रतियोगिता आयोजना गरिएको समितिका अध्यक्ष दिनेश केसीले बताए ।

पालिकाहरुले छनौट गरेर पठाएका खेलाडीहरुबीच प्रतिस्पर्धा गराएर विभिन्न विधामा खेलाडी र प्रशिक्षक गरि १११ जनालाई प्रदेश स्तरीय प्रतियोगितामा सहभागी गराउने अध्यक्ष केसीले बताए । छात्र छात्रा भलिबल, कवड्डी, एथलेटिक्स, कराते, तेक्वान्दो र उसु बिधामा खेलाडी छनौट गरिने भएको छ । प्रतियोगितामा अनुमानित खर्च ५ लाख रुपैयाँ कार्यालयले जनाएको छ ।

 

मातृ तथा पेरिनेटल मृत्यु निगरानी सम्बन्धि कार्यक्रम

0

म्याग्दीको सदरमुकाम बेनीमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य कार्यक्रमसम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । बेनी नगरपालिकाको आयोजनामा आज (सोमबार) पेरिनेटल मृत्यु निगरानी प्रतिकार्य अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्युलाई न्युनीकरण गर्ने उद्देश्यसहित कार्यक्रमको आयोजना गरिएको बेनी नगरपालिकाले जनाएको छ । गर्भ रहेको २८ हप्तादेखि बच्चा जन्मिएको ७ दिनको अवधिलाई पेरिनेटल पिरियड भनिन्छ । महिला गर्भवती भएको २८ हप्तादेखि बच्चा जन्मिएको ७ दिनको यो अवधिलाई निकै जोखिमपूर्ण अवस्थाको रुपमा मानिन्छ।

गण्डकी प्रदेशमा कास्की र म्याग्दी जिल्लामा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य (एमपिडिएसआर) कार्यक्रम लागू भएको छ । कार्यक्रममा स्वास्थ्य कार्यालय म्याग्दीका पब्लिक हेल्थ नर्स दुर्गा शर्माले एमपिडिएसआर कार्यक्रमको विषयमा सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रमको समापन गर्दै बेनी नगरपालिकाका प्रमुख सुरत केसीले गर्भकै कारण कुनै पनि महिलाको ज्यान जान नहुने बताउँदै पेरिनेटल मृत्युलाई रोकथाम गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट पहल गर्नुपर्नेमा जोड दिनुभयो । सोही अवसरमा समुदायस्तरमा हुने मातृ तथा पेरिनेटल मृत्यु निगरानी एवं प्रतिकार्य गर्नका लागि बेनी नगरपालिकाका उपप्रमुख ज्योती लामिछानेको अध्यक्षतामा आमन्त्रित सदस्यसहित ९ सदस्यीय नगरपालिकास्तरीय समिति गठन गरिएको छ।

नगर उपप्रमुख लामिछाने, प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकाल, वडा अध्यक्षहरु र स्वास्थ्यकर्मीहरु सहभागी कार्यक्रम नगरपालिकाको स्वास्थ्य संयोजक लिला गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।यसैबीच सोमबार नै बेनी नगरपालिकाको आयोजनामा स्वास्थ्यचौकीहरुमा न्युनतम सेवा मापदण्डसम्बन्धी समीक्षा गरिएको छ । स्वास्थ्य सेवाको न्युनतम सेवासम्बन्धी गुणस्तर जाँच गर्ने उद्देश्यसहित आयोजित कार्यक्रम नगर प्रमुख केसीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अब पेट्रोल प्रतिलिटरको १ सय ८१ रुपैयाँ

0

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतीय आयल कर्पोरेसन्सले पठाएको नयाँ मूल्यसूची अनुसार इन्धनको मूल्य बढेको जनाउँदै निगमले सोमबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मटितेल र हवाई इन्धनको मूल्य बढाएको हो ।निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल/मटितेलमा प्रतिलिटर ९/९ रुपैयाँ र हवाई इन्धन आन्तरिकतर्फ ५ रुपैयाँ बढाएको छ ।

नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोल १ सय ८१ रुपैयाँ, डिजेल र मटितेल १ सय ७२/१ सय ७२ रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १ सय ९० रुपैयाँ पर्नेछ । निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ । भारतीय आयल निगमबाट इन्धनको मूल्य बढेर आएकाले नेपालमा पनि बढाउनुपरेको निगमले जनाएको छ । एक साताअघि मात्रै सरकारले पेट्रोलमा प्रतिलिटर २० र डिजेल तथा मट्टितेलमा २७ रुपैयाँ कर घटाएको थियो ।

 

बागलुङमा ठूलो मात्रामा लागु औषधसहित चार जना पक्राउ

0

बागलुङमा ठूलो मात्रामा लागु औषधसहित चार जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएका प्रहरीको टोलीले आइतबार दिउसो पाल्पाको मदनपोखरा गाउँपालिका वडा नम्बर ७ का ४५ वर्षीय कृष्णप्रसाद पुरी, गुल्मीका ३८ वर्षीय सुरथबहादुर घिमिरे, रुपन्देहीको देवदह नगरपालिका वडा नम्बर ६ का ३३ वर्षीय लोकबहादुर थापा र दाङको लमही नगरपालिका वडा नम्बर ७ का २५ वर्षीय शोसन चौधरीलाई पक्राउ गरेको हो ।

प्रहरीले ९०५ फेर्नागन, डाइजेपाम ९२४ एम्पुल र नुर्फिन ९१७ गरि दुई हजार ७४६ एम्पुल लागु औषधसहित उनीहरुलाई पक्राउ गरेका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्रबहादुर रानाले जानकारी दिनुभयो ।बुटवलदेखि बागलुङ तर्फ आउँदै गरेको लु २ ख ५३१६ नम्बरको बसमा लागु औषध ओसारपसार भएको सूचना पाएपछि प्रहरीले बागलुङ नगरपालिका वडा नम्बर ३ चिप्लेटी बसपार्कबाट उनीहरुलाई पक्राउ गरेको उहाँको भनाई छ ।

के गर्दैछ कुँवर नेतृत्वको एनआरएनए ?

0

गैर आवासीय नेपाली संघ पछिल्लो समय दुई धारमा विभाजीत भएको छ । संस्थापन पक्षबाट जम्बो कमिटिसहित  तीन जनाको नेतृत्व छ भने अर्कोतर्फ विनोद कुँवर नेतृत्वमा छुट्टै कमिटि छ । आधिकारिताको लागि सघर्ष गरिरहेको कुँवर नेतृत्वको एनआरएनए पछिल्लो समय कसरी अगाडि बढिरहेको छ र के के काम गरिरहेको छ भनेर हामीले अध्यक्ष कुँवरलाई सोधेका छौ ।कुराकानीमा आधारित कुँवरको भनाई जस्ताको तस्तै

गैर आवासीय नेपाली संघमा विधि, विधान र पद्धतिको लडाइ लडीरहँदा हामीले आफ्नो स्पष्ट अडान कायम राख्दै आएका छौ । विशेष गरि हामीले एनसीसीको माग बमोजीम विधानलाई टेकेर वैधानिक रुपमा महाधिवेशनमा भाग लियौ । एनसिसीको समर्थन र विधानलाई टेकेर मार्च २२–२५ तारिखसम्म काठमाडौंमा महाधिवेशन सम्पन्न गर्यौ । जुन अधिवेशनबाट हामीले नयाँ कार्यसमिति निर्माण गर्यौ । विशेष गरि निकै चुनौतीको सामना गरेर त्यो अधिवेशन सम्पन्न भयो । हामीले जुन तरिकाले महाधिवेशन गर्ने भनेर सोचेका थियौ, त्यो भन्दा निकै असहज भयो । चुनौतीको बाबजुत पनि हामीलाई दिएको जिम्मेवारी पूरा गर्न सफल भयौ ।

राष्ट्रिय समन्वय परिषद्को भेला आयोजना गर्दा विभिन्न राष्ट्रिय समन्वय परिषद्का साथीहरुले हामीलाई समर्थन गर्नु भयो र त्यसले गर्दा हामीलाई मान्यता प्राप्त भयो । साथै एउटा उत्साह थपियो र महाधिवेशन विधानलाई टेकेर गरियो । जुन अहिलेको २०२१–२०२३ को कार्यसमिति बन्यो र अब २०२३–०२५ को कार्यसमिति बनाउन विधान बनाउनु पर्ने भयो । २०१९–०२१ को विधानबाट हाम्रो कार्यसमिति बनेकाले विधान संशोधन गरेर परराष्ट्र मन्त्रालयमा दर्ता गर्यौ । त्यो विधान अहिले प्रक्रियामा नै छ ।

त्यसपश्चात हाम्रो कार्यसमितिले सल्लहकारहरु मनोनित गर्यो । सल्लाहकार मनोनीत गदै जादा हामीले विधानगत अपूरो कार्यसमितिलाई पूरा गर्नु पर्ने थियो । लगत्तै हामीले विभिन्न क्षेत्रगत रुपमा आवश्यक पर्ने पदहरुलाई पूरा गर्यौ । त्यसपछि हामीले प्रत्येक विभागहरु गठन गर्यौ । साथै अन्य विभिन्न टाक्सफोर्सहरु पनि बनायौ । टाक्सफोर्स बनाउदैं गर्दा सल्लाहकार र उपाध्यक्षको संयोजकत्वमा पनि बनायौं । जस्तै, श्रमीकहरुको हक हितका लागि हामीले साउदीका धरम केसीलाई टाक्सफोर्सको जिम्मा दियौ ।

त्यसैगरि, संस्था विस्तारको टाक्सफोर्समा म आफै बसे । गैर आवासीय नेपाली संघ नागरिकता ऐनलाई टेकेर संविधानले पनि गैर आवासीय नेपालीलाई नागरिकता प्रदान गर्नु पर्छ भन्ने कुराहरु थियो, त्यसैलाई टेकेर हामीले सरकारको ढोका ढकढकाउनु पर्ने भएकाले पूर्व उपाध्यक्ष सोनाम लामा ज्यूको नेतृत्वमा एउटा टाक्सफोर्स बनायौं । उहाँले अहिले त्यही प्रक्रिया अघि बढाईरहनु भएको छ । त्यस्तै नेपालमा सुरक्षा र टेक्नोलोजीलाई कसरी अघि बढाउन सकिन्छ भनेर हामीले उपाध्यक्ष थर्क सेनको नेतृत्वमा टाक्सफोर्स बनायौं । हाम्रो संस्था सञ्चालनको लागि फण्डको आवश्यकता पर्दछ । सोको लागि हामीले एसी शेर्पाको नेतृत्वमा टाक्सफोर्स बनायौं । यस्तै भवितब्य परेर वा देशमा विभिन्न किसिमका समस्याहरु आइपरेको अवस्थाको लागि त्रिलोक गुरुङको नेतृत्वमा टाक्सफोर्स बनाएका छौं ।

यसबीचमा हामीले ४० भन्दा बढी एनसिसीहरुको संयुक्त भेला पनि आयोजना गरेका छौ । हामीलाई एनसिसी भेलाले पूर्ण साथ र सहयोग तथा समर्थन गर्ने प्रतिबद्धता पनि जनाएको छ ।  अब हामी एनआरएनए एनसिसी विस्तारको कार्यमा लाग्नेछौ । जस्तो हामीले एनसिसी गठन नभएका ठाउँहरुमा पनि गठन गरेका छौ । साथै कति ठाउँमा विभाजित भएका देशहरु थिए । त्यहाँ विभाजनरहित होस् भनेर हामी मिलाउने प्रक्रियामा रहेका छौँ । र अहिले दुई धार देखिएको कारणले हामीलाई कतिपय साथीहरुले समर्थन गर्ने आधारहरु दिनु भएको छैन । हामीले समर्थन प्राप्त गर्ने आधारहरु बनाउँदैं लगेका छौँ । साउदी अरेयिबा, क्यानडा, अमेरिका लगायतका देशहरुमा सुरु गरिरहेका छौँ । अन्य विभिन्न देशमा हामीले काम अघि बढाइरहेका छौँ । भरसक हामी पूरानै साथीहरुलाई राखेर अघि बढ्छौ । परिस्थितीबस एनआरएनए दुई धारमा विभाजित भएपनि हाम्रो मन एउटै हुनुपर्छ भन्ने आधारमा हामी छौ र हामीलाई अवश्य सहयोग हुन्छ भन्ने हामीले आशा लिएका छौं ।

अहिले व्यवस्थापनको कामहरु अघि बढाउनुपर्ने छ । हामीसंग कार्यालय थिएन, त्यसको व्यवस्थापन भइसकेको छ । कर्मचारीको व्यवस्थापन भएको छ । अब उदेश्यहरु पूरा गर्नका लागि फण्ड कसरी जोड्ने भन्ने कुरा छ, त्यसका लागि हामी लागिरहेका छौं । राष्ट्रिय समन्वय परिषद् ५÷७ देशमा सुरु भइसक्यो, अरु धेरै देशमा विस्तार गर्नका लागि हामी यूरोप, अमेरिका गएर नबुझेका साथीहरुलाई बुझाएर राष्ट्रिय समन्वय परिषद् विस्तार गर्ने योजनामा लागेका छौ । एनआरएनए एनसिसी कम्तिमा ४० भन्दा बढी देश होस् भन्ने हाम्रो चाहना छ । यती नभएसम्म हाम्रो अन्तराष्ट्रिय समन्वय परिषद् पनि त्यती दह्रो हुदैंन भन्ने छ ।

यो पटक हामीले गएको अक्टोबरमा गर्नुपर्ने महाधिवेशन ६ महिना पछि गनुपर्ने अवस्था आयो र गएको मार्चमा भयो । यो महाधिवेशनले आफै धेरै समय लियो । अब कार्यकालको १२ महिना जति बाँकी छ । अब बार्षिक साधारणसभा गर्ने समय आइसक्यो । यो समयमा हामीले क्षेत्रीय र राष्ट्रिय सम्मेलन गर्नु पर्नेछ । रिजनल सम्मेलन गर्न सम्भव नभएकाले हामीले यूरोप सम्मेलन गर्ने भन्ने एउटा अठोट गरेका छौं । त्यो सेक्टेम्बरमा एउटा टार्गेट बनाएर अघि बढ्ने सोचेका छौ र त्यसको चाँडै निर्णय गर्नेछौ । वार्षिक सम्मेलन जुन एनआरएन डे छ, त्यसलाई हामीले लगानी तथा श्रमिकका समस्यालाई कसरी समाधान गर्न सकिन्छ भनेर योजना बनाएर काठमाडौँमा गर्नेछौं । त्यसलाई हामीले महत्वपूर्ण योजनामा राखेका छौं ।

नेपाल गएको बेला नेपालमा रोजगारको वातावरण कसरी बनाउन सक्छौं र लगानी भित्याउन सकिन्छ भनेर अध्ययन गरिरहेका छौ । त्यसै सिलसिलामा मैले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), परराष्ट्र मन्त्री डा. नारायण खडका, अर्थमन्त्री जनार्दन शर्मालगायतसँग भेट गरे ।भेटका क्रममा नेपाल सरकारको तर्फबाट परराष्ट्र मन्त्री खडकाले गैर आवासीय नेपाली संघको विवादका विषयमा बोल्दै अहिलेसम्म कसैलाई पनि आधिकारिकता दिइनसकेको र एनआरएनएका दुवै समूहलाई समान ब्यवहार गरेको बताउनु भयो ।

मैले भेटमा मन्त्री समक्ष आधिकारितका विषयमा छिटो भन्दा छिटो निर्णय लिन आग्रह गर्दै कुन आधिकारिक हो भन्ने कुराले अन्यौल छाएको र गैर आवासीय नेपालीहरुले नेपालमा लगानी गर्न आनाकानी गरिरहेको कुरा जानकारी गराएको थिए । साथै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहनु भएको प्रचण्डलाई मैले एनआरएनएको विषयमा राम्रोसँग जानकारी गराएपछि उहाँले आफू भ्रममा रहेको र अब दुई समूहलाई समान ब्यवहार गर्ने बताउनु भयो ।

विगतमा कतीपय गलत सूचनाले म भ्रममा परेछ अब भ्रमबाट मूक्त भए भन्दै निकै राम्रो प्रतिक्रिया दिनु भयो । यसर्थ पनि एनआरएनएको सवालमा पूर्वप्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री खडका र अर्थमन्त्री शर्मालगायतले हामीलाई निकै नजिकबाट बुझ्नु भएको रहेछ भन्ने कुरा थाहा भयो । तर हामी मन्त्रालयबाट आधिकारिता पाउँनेमा अझै पनि आशावादी छौ र सोही अनुसार आफ्ना कामकारवाही तथा गतिविधी अगाडि बढाइरहेका छौ । त्यसैले संस्थापन पक्षले आफूलाई आधिकारिक भनेर हल्ला चलाए पनि विधी र विधानको हिसावले हामीले नै आधिकारिक भएको कुरा स्वयं सरकारले स्वीकारिसकेकाले भ्रममा नपर्न हुन सबैमा हार्दिक अनुरोध गर्दछु । धन्यवाद । Source:bishwosandesh.com

यस्तो छ धौलागिरि बेसक्याम्पको भूगोल (फोटोफिचर)

0

धौलागिरि हिमाल आरोहणको पहिलो विश्राम स्थल र जैविक विविधता तथा प्राकृतिक सुन्दरताको अनुपम भण्डार हो धौलागिरि बेसक्याम्प । यो म्याग्दीको धौलागिरि गाउँपालिकामा पर्छ ।प्रकृतिले दिएको अनुपम उपहार जस्तो लाग्ने यस क्षेत्र हुँदै धौलागिरि शिखरमा मानव पाइला पुगेको पनि धेरै वर्ष भयो ।

विदेशी पर्यटकहरुको रोजाइमा पर्ने आकर्षक यो स्थल नेपालका सरोकारवालाहरुको प्राथमिकतामा भने कहिल्यै पर्न सकेन। सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिने धौलागिरि बेसक्याप तलका कैयौं गाउँका हजारौं युवाहरु खाडी मुलुक र युरोप,अमेरिकाका शहरको रमझमलाई आफ्नो गन्तव्य वनाइरहँदा विदेशका प्रकृति पारखीहरु भने यहाँ रमाइरहेका भेटिन्छन् ।

आफ्नै थाँतथलोमा सुनौलो भविष्य देखेका युवाहरु पनि नभएका होइनन् । तर,उनीहरुलाई राज्यले खासै सहयोग भने गरेको छैन । तिनै युवाहरुमध्येका एक युवा हुन् दिवान छन्त्याल । छन्त्यालले सिंगापुर र मलेशियाको रोजगारी र पोखराको पारिवारिक बसाइलाई छोडेर यहाँ ६ सय भेडा पालेका छन् । तिनै भेडाको घुम्तीगोठ लिएर उनी यतिबेला यही भूगोल (धौलागिरि वेस क्याम्प) मा ओडार र पाखोमा छाप्रो हालेर भेडाको हेरालु बनेका छन् ।

जडिबुटीको भण्डार मानिने यो क्षेत्र यार्सागुम्बा,पाँचऔंले,सतुवा लगाएतका बहुमूल्य औषधीहरुलाई आफ्नो गर्भमा लुकाएर जानकार खोजिकर्ताहरुको प्रतिक्षा गरिरहेको छ । चारैतिर हरिया खर्क,वादलले डम्मे डाकेको परिवेश,माथितिर धौलागिरि हिमाल र स्वच्छ र ताजा वतास अनि छङछङ गर्दै झेको झरनाको चिसो पानी यहाँका आकर्षण हुन् । अलिकति जोखिम मोलेर जाने होइन त धौलागिरि बेसक्याम्पमा रमाउन ?

अर्थुङ्गे-घतान सडक एक हप्ता बन्द

0

सडक विस्तार तथा स्तरोन्नतीका लागि बेनी-अर्थुङ्गे–पाखापानी सडकखण्ड अन्तरगत अर्थुङ्गे–घतान खण्ड एक हप्ताका लागि बन्द गरिएको छ । सडकखण्ड अन्तरगत बेनपा–६ को काफलबोट र वडा ९ घतानको माटोविसौनामा निर्माणकार्य भइरहेको अवस्थामा एक साता सडकमा सवारीसाधन सञ्चालन नहुने बेनपा ९ का वडा अध्यक्ष चक्र केसी बताउनुभयो।

‘बैकल्पिक सडक सहज भएकाले यात्रुलाई समस्या हुदैन्,‘बैकल्पिक सडक अवरुद्ध भएमा तत्काल मर्मत गरिन्छ’ वडा अध्यक्ष केसीले भन्नुभयो । शहरी विकास तथा ढल निकास आयोजना बागलुङ र कार्यशक्ति कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्रालि विच सम्झौता २८ लाख २३ हजारमा सम्झौता भएको थियो ।

वडा कार्यालयले आज सूचना जारी गदैं बन्द अवधीभर अत्यावश्यक सेवा सहित नियमित रुपमा सडकमा सवारी बेनी–गलेश्वर काउलेगौडाको सडक प्रयोग गर्न अनुरोध गरेको छ । उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गरी निर्माणकार्यलाई सघाउन अपिल गरिएको छ । सडकखण्डमा ढलान, ग्याविनजाली सहित अन्य संरचनाको काम भइरहेको छ ।

 

कति पुग्याे गण्डकीकाे प्रतिव्यक्ति आम्दानी ?

0

गण्डकी प्रदेशको प्रतिव्यक्ति आय वृद्धि भएको छ । अर्थ मन्त्रालयले आगामी वर्षको बजेट प्रस्तुत गर्दा प्रतिव्यक्ति आय बढेको विवरण संसदमा पेस गरेको हो । २०७५/०७६ मा एक हजार ४३ अमेरिकी डलर रहेको प्रतिव्यक्ति आम्दानी अहिले बढेर एक हजार ४३७ पुगेको छ । अर्थमन्त्री रामजी बरालले ३९४ अमेरिकी डलर आम्दानी बढेको विवरण पेस गरे । तर, आम्दानी वृद्धिको आधारहरू प्रष्ट्याइएको छैन ।

आगामी वर्षसम्म केन्द्रीय तथ्यांक विभागको राष्ट्रिय लेखाले गण्डकीका नागरिकको प्रतिव्यक्ति आम्दानी एक हजार ९५६ पुग्ने अनुमान गरेको थियो । त्यसकै आधारमा गण्डकीको नीति तथा योजना आयोगले आम्दानी बढेको विवरण तयार गरेको हो । तर, प्रथम पन्च वर्षीय योजनाले अनुमान गरेको लक्ष्य प्राप्ति भने नहुने आयोगका उपाध्यक्ष डा. रघुराज काफ्ले बताउँछन् ।

‘पहिलेभन्दा केही आम्दानी बढेको छ । तर, लक्ष्य हासिल गर्न सक्ने अवस्था छैन,’ उनले भने, ‘कोरोना र अन्य विभिन्न कारणहरूले प्रदेशको लक्ष्य अपेक्षाकृत हासिल हुन नसकेको हो ।’ संघीय प्रणाली भए पनि संघ सरकारले अधिकारमा संकुचन कायम राख्दा प्रदेशले खुलेर काम गर्न नपाएको र बजेटको आकार समेत अपेक्षाकृत नबढेको उनको तर्क छ । औसतमा गण्डकी प्रदेशका एक व्यक्तिले वार्षिक करिब एक लाख ८१ हजार रुपैयाँ कमाउँछ । कुल ग्रार्हस्थ उत्पादनलाई जनसंख्यामा भाग लगाएपछि आम्दानी देखिन्छ ।

गण्डकीको चालू वर्षमा कुल ग्रार्हस्थ उत्पादन ३ खर्ब ६४ अर्ब ९२ करोड अनुमान गरिएको थियो । गण्डकीले नेपालको ग्रार्हस्थ उत्पादनमा ८ दशमलव ९ प्रतिशत योगदान गर्छ । प्रतिव्यक्ति आम्दानीको आकार बढेपनि बहुआयामिक गरिबी भने खासै घटेको छैन । आधार वर्ष २०७५/०७६ मा १४.२ प्रतिशत बहुआयामिक गरिबी रहेको गण्डकीमा चालु वर्षको हालसम्म ९ प्रतिशतमा घटेको अनुमान छ । तर एकीन तथ्यांक भने छैन ।

‘आम्दानी बढे पनि लाभको समन्यायिक वितरण नहुँदा र सीमित व्यक्तिहरूमा मात्रै लाभ पुग्दा गरिबीको संख्या घटेको छैन,’ उनले भने, ‘गरिबहरू झन् गरिब बन्दै जाने र धनीहरु अझै धनी बन्ने क्रम तीव्र छ । कोरोना लगायत महामारी र विपद्ले पनि यस्तो समस्या बढाएको छ ।’आर्थिक वर्ष २०८०/०८१ मा बहुआयामिक गरिबी ७.३ प्रतिशतमा झार्ने सरकारी लक्ष्य थियो । चालु वर्षमा सरकारले ३० अर्ब ५ करोडको बजेट कार्यान्वयन गरिरहेको छ भने आगामी वर्षको लागि ३५ अर्ब ९० करोडको बजेट विनियोजन गरेको छ ।

error: Content is protected !!