मानवअधिकार तथा शान्ति समाज म्याग्दीको सोमबार सदरमुकाम बेनीमा १९औं वार्षिक साधारणसभा तथा ११औं जिल्ला अधिवेशनबाट सन्तोष गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । शाखाको उपसभापतिमा हरिप्रसाद पौडेल, सचिवमा मुकुन्दप्रसाद आचार्य, कोषाध्यक्षमा विष्णुप्रसाद आचार्य र सहसचिवमा विष्णु गौतम सापकोटा चयन हुनुभएको छ।

यसैगरी सदस्यहरुमा नवराज रिजाल, सकुन्तला सापकोटा पौडेल, विनोद श्रेष्ठ, विज्ञान सुवेदी, हरि गिरी र सन्तोष ढुङ्गाना चयन हुनुभएको छ ।‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा सबैको अधिकार’ भन्ने मूल नारासहित १९औं साधारणसभा तथा ११औं अधिवेशन आयोजना गरिएको हो ।

साधारणसभा तथा अधिवेशनलाई सम्बोधन गर्दै मानवअधिकार तथा शान्ति समाज नेपालका केन्द्रीय महासचिव रामकृष्ण बरालले वर्तमान अवस्थामा शाखा सञ्चालन तथा कार्यक्रमहरु गर्न समस्या रहेको धारणा राख्नुभयो । उहाँले म्याग्दी शाखामार्फत पवित्र कालीगण्डकी नदी संरक्षण गर्नका लागि अभियान सञ्चालन गर्न सकिने बताउँदै वातावरण संरक्षण गरी मानव सभ्यता कायम राख्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सोही कार्यक्रममा बोल्दै मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय सभापति उत्तम पुडासैनीले शान्ति समाज तथा मानव अधिकारका शाखामार्फत समाजमा विभिन्न किसिमका सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्न सकिने बताउनुभयो । उहाँले पछिल्लो समय जलवायु परिवर्तनको कारण विभिन्न क्षेत्रमा असर परिरहेको भन्दै वातावरण संरक्षणका साथै हिमालय बचाउनुपर्नेमा जोड दिनुभयो । विद्यालयस्तरमा लागूऔषध दुव्र्यसनी तथा ड्रग्सको प्रयोगलगायत कुलतबाट टाढै रहनका लागि विद्यार्थीहरुलाई लक्षित गरेर सचेतनामूलक कार्यक्रम गर्नुपर्ने उहाँको भनाइ छ ।

केन्द्रमा प्रतिनिधि गएर मात्रै जिल्लामा तात्विक परिवर्तन नआउने भन्दै पूर्व केन्द्रीय सभापति पुडासैनीले जिल्ला शाखामार्फत समुदायस्तरमा पुगेर जनचेतना फैलाउन आवश्यक रहेको बताउनुभयो । उहाँले यो धर्ती सबै जीवित प्राणीहरुको साझा स्थल भएकाले मानवता बचाउने अभियानमा लाग्नुपर्ने बताउँदै बजार क्षेत्रमा छाडा छोडिने पशु, चौपायाको उचित व्यवस्थापनतर्फ लाग्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज नेपालका पूर्व केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामजीप्रसाद सुवेदीले वातावरणको संरक्षण गर्न, कालीगण्डकी नदीलाई स्वच्छ बनाउन र पशु, चौपायाको व्यवस्थापन गर्नका लागि सबै क्षेत्रबाट आवश्यक सहयोग हुनुपर्ने धारणा व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा मानवअधिकार तथा शान्ति समाज काठमाडौं जिल्ला शाखाका सभापति भगवान् पुडासैनी, म्याग्दी शाखाका निवर्तमान सभापति ठाकुरप्रसाद शर्मा र पूर्व सभापति लक्ष्मण शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभा तथा अधिवेशनमा मानवअधिकार तथा शान्ति समाज म्याग्दीका सचिव हरिप्रसाद पौडेलले प्रगति र कोषाध्यक्ष मुकुन्दप्रसाद आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अधिवेशनको उद्घाटनसत्र शाखाका सभापति नवराज पौडेलको अध्यक्षता, उपसभापति सन्तोष गौतमको स्वागत र सचिव हरिप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Reply