---Advertisement---

अन्नपूर्णको नारच्याङमा प्राकृतिक प्रकोप व्यवस्थापनको क्षमता विकास तालिम

On: September 21, 2026 8:42 AM
Follow Us:

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा प्राकृतिक प्रकोप व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । प्राकृतिक प्रकोपका समयमा बालबालिका र महिलाको तत्काल सुरक्षा, उद्धार तथा प्राथमिक उपचार सम्बन्धी ज्ञान, सिप र क्षमताको अभिवृद्धि गर्ने उद्देश्यले आइतबार तालिम आयोजना गरिएको हो ।

अन्नपूर्ण गाउँपालिका म्याग्दी, म्याग्दी जेसीज, मिलन म्याग्दी र शिक्षाका लागि राष्ट्रिय अभियान जिल्ला कार्यसमिति म्याग्दी (एनसिई)को संयुक्त आयोजनामा तालिम सञ्चालन गरिएको आयोजकले जनाएका छन् । तालिममा सशस्त्र प्रहरी बल, विपद् व्यवस्थापन बेस नारच्याङका प्रहरी निरीक्षक बिमल सिलवाल, अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन, एनसिईका केन्द्रीय उपाध्यक्ष तथा मिलन म्याग्दीका कार्यकारी निर्देशक दिलमाया बिटालु र स्वास्थ्यकर्मी डेकमाया केसी (सुप्रिया)ले सहजीकरण गर्नुभएको थियो ।

तालिममा विपद्को पूर्वतयारी तथा व्यवस्थापन, विपद्को समयमा गरिने उद्धारको प्रयोगात्मक अभ्यास, बालबालिका तथा महिलाको उचित व्यवस्थापन र सुरक्षा तथा आकस्मिक दुर्घटनाबाट घाइते वा चोटपटक लागेका व्यक्तिहरुलाई तत्काल प्रदान गर्नुपर्ने प्राथमिक उपचार लगायतका विविध विषयहरुमा प्रशिक्षण दिइएको थियो । अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवाकुमारी तिलिजा पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सहभागी दुर्गा पौडेलले तालिमबाट प्राप्त अनुभवका बारेमा जानकारी गराउनुभएको थियो ।

तालिमको समापनसत्रलाई सम्बोधन गर्दै गाउँपालिकाका उपाध्यक्ष पुनले म्याग्दी जिल्ला विपद् जोखिमका हिसाबले उच्च जोखिममा रहेको हुँदा त्यसमा पनि अन्नपूर्ण गाउँपालिका अझै अग्रस्थानमा रहेकाले त्यसको उचित व्यवस्थापन गर्न आवश्यक पूर्वतयारी गर्नुपर्ने बताउनुभयो । उहाँले विपद् जुनसुकै समयमा पनि आउन सक्ने भएकाले नआत्तिकन त्यसको सामना र व्यवस्थापन गर्नुपर्नेमा जोड दिँदै पालिका क्षेत्रमा हुने विपद्जन्य घटनाको व्यवस्थापनमा गाउँपालिका सधैँ क्रियाशील रहेको बताउनुभयो ।

तालिममा प्रभा माध्यमिक विद्यालय नारच्याङ र नारच्याङ आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थी, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि र स्थानीय सिर्जनशील आमा समूहमा आबद्ध महिलाहरुले उल्लेख्य सहभागिता जनाएका थिए । कार्यक्रम नारच्याङका वडा सदस्य श्याम पुर्जाको अध्यक्षता, म्याग्दी जेसीजका अध्यक्ष दिनेश विश्वकर्माको स्वागत र महासचिव गोकुल सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

Leave a Comment