बेनी । म्याग्दीमा चिकित्सकसहित ४६ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । बेनी अस्पताल र अन्य स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी कोरोनाबाट सङ्क्रमित भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

बेनी अस्पतालका ४१ स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएको छ । चार जना आज आइसोलेसन मुक्त भएका छन् । अस्पतालमा कार्यरत सात चिकित्सकमध्ये चारजनामा कोरोना सङ्क्रमण भएको छ । बेनी अस्पतालमा अहिले ३७ जना सक्रिय कोरोना सङ्क्रमित रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले जानकारी दिए।

स्वास्थ्यकर्मी र चिकित्सकमा कोरोना सङ्क्रमण भएपछि बेनी अस्पतालमा ओपिडी सेवा बन्द गरिएको छ । सेवा लिन आउने सर्वसाधारणमा अस्पतालबाटै कोरोना सङ्क्रमण फैलनसक्ने भएपछि गत आइतबारदेखि एक साताका लागि ओपिडी सेवा बन्द गरी आकस्मिक सेवाबाट मात्रै उपचार सेवा दिइएको कटुवालले जानकारी दिए।

अस्पतालको ओपिडी सेवा बन्द भएपछि आकस्मिक कक्षको सेवासँगै फिवर क्लिनिकसमेत सञ्चालन गरेर उपचार जाँच र उपचार गर्ने प्रबन्ध मिलाइएको छ । आगामी शुक्रबारसम्मको अवस्थालाई दृष्टिगत गरी ओपिडी सेवाको निर्णयमा पुग्ने अस्पतालले जनाएको छ ।

बेनी अस्पतालमा म्याग्दीको साथै पर्वतको जलजला गाउँपालिकाबाट समेत सर्वसाधारण उपचारका लागि आउने गरेका छन् । बेनी अस्पतालमा अहिले १२५ जना कार्यरत रहेका छन् । आजसम्म जिल्लामा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या २३५ पुगेको छ ।

Leave a Reply