म्याग्दी बहुमुखी क्याम्पसको एक समारोहबीच २५औं क्याम्पस सभा सम्पन्न भएको छ । २५औं क्याम्पस सभाको उद्घाटन गर्दै म्याग्दी बहुमुखी क्याम्पसका संरक्षक, सल्लाहकार तथा पूर्व अध्यक्ष हरिकुमार श्रेष्ठले अग्रजहरुको महत्वपूर्ण योगदानको कारणले क्याम्पसलाई अहिलेको अवस्थामा ल्याउन सकिएको बताउनुभयो ।
क्याम्पस स्थापनाकालमा महत्वपूर्ण सहयोग पु¥याएका संस्थापकहरुलाई सम्झँदै संरक्षक श्रेष्ठले सीमित स्रोतसाधनका बाबजुद पनि म्याग्दी बहुमुखी क्याम्पसले स्नातकोत्तर तहसम्मको अध्ययनको सुविधा जिल्लामै उपलब्ध गराएको बताउनुभयो । उहाँले पछिल्लो समय म्याग्दी क्याम्पसमा उच्च शिक्षा अध्ययन तथा अध्यापनका लागि विभिन्न विषयका कक्षाहरु थपेर शैक्षिक क्रियाकलापहरु सञ्चालन भैरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस म्याग्दीका पूर्व सहसभापति तथा महासमिति सदस्य नेत्रबहादुर महतले म्याग्दी बहुमुखी क्याम्पसको स्थापनाकालदेखि नै पार्टीको तर्फबाट आवश्यक सहयोग गरिएको बताउँदै आगामी दिनमा पनि निरन्तर रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य एवं म्याग्दी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका पूर्व सभापति खुमबहादुर बानियाँले म्याग्दी बहुमुखी क्याम्पसलाई आम विद्यार्थीहरुको रोजाई तथा शैक्षिक हवको केन्द्रको रुपमा स्थापित गर्न आवश्यक योजना बनाउनुपर्ने बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेश कमिटीका सदस्य पदम किसानले स्नातकोत्तर तह अध्ययनको एक मात्र म्याग्दी बहुमुखी क्याम्पसमा विद्यार्थी आकर्षण गर्ने खालका शैक्षिक कार्यक्रमहरु ल्याउन अनुरोध गर्नुभयो । म्याग्दी बहुमुखी क्याम्पसको सञ्चालक समितिका पूर्व अध्यक्ष बालकृष्ण सुवेदी र निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गानाले म्याग्दी बहुमुखी क्याम्पसलाई समुदायसँग जोड्न आवश्यक रहेकोमा जोड दिँदै युजिसीबाट प्राप्त हुने अनुदानको दर बढाएर क्याम्पसको गुणस्तर वृद्धिमा उपयोग गर्नुपर्ने बताउनुभयो ।

क्याम्पस सभाको उद्घाटनसत्रमा म्याग्दी बहुमुखी क्याम्पस प्राध्यापक संघका सभापति प्रेमबहादुर जिसी र विद्यार्थी गुणस्तर समूहका संयोजक सुस्मिता पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्याम्पस सञ्चालक समितिका कोषाध्यक्ष सेरबहादुर केसीले संस्थाको आर्थिक र सदस्य–सचिव तथा म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख श्रीधर सुवेदीले शैक्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । सोही अवसरमा प्रकाशित क्याम्पसको फुलबारी प्रतिवेदनको विमोचन समेत गरिएको थियो ।

२५औं क्याम्पस सभाको उद्घाटसत्रको समापन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष दिपेन्द्र श्रेष्ठले धौलागिरि क्षेत्रमै पहिलोपटक विश्वविद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त म्याग्दी बहुमुखी क्याम्पसलाई शैक्षिक हवको केन्द्र बनाउन आवश्यक पहल भैरहेको बताउनुभयो । उहाँले क्याम्पसमा विभिन्न विषयको पढाई थप गर्न, आवश्यक शैक्षिक उपकरण जडान तथा आगामी दिनमा शैक्षिक गतिविधिलाई प्रभावकारी र गुणस्तरीय बनाउन स्थानीय तह, प्रदेश एवं केन्द्र सरकारसँग अनुरोध गरिएको बताउनुभयो ।

क्याम्पस सभाको उद्घाटनसत्र सञ्चालक समिति अध्यक्ष श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष प्रेमबहादुर कार्कीको स्वागत र सदस्य–सचिव सुवेदीको सञ्चालनमा सम्पन्न भएको थियो । सभाले यसअघि सभामा प्रस्तुत आर्थिक तथा प्रगति प्रतिवेदन समेत पारित गरेको छ । कक्षा ११ देखि स्नातकोत्तर तहसम्म अध्ययन हुने म्याग्दी बहुमुखी क्याम्पसमा १ हजारबढी विद्यार्थीहरुले अध्ययन गर्दै आइरहेका छन्भने म्याग्दीसहित पर्वत, मुस्ताङलगायत जिल्लाबाट यस क्याम्पसमा विद्यार्थीहरु अध्ययनका लागि आउने गर्दछन् । क्याम्पस सभाको अवसरमा हालै माध्यमिक तह प्रथम श्रेणीमा बढुवा हुनुभएका क्याम्पसका निवर्तमान अध्यक्ष सोमनाथ ढुङ्गानलाई सम्मान गरिएको थियो ।

वि.सं. २०४८ साल पुस १७ गते स्थापना भएको म्याग्दी बहुमुखी क्याम्पसमा हाल कक्षा ११, १२ देखि स्नातकोत्तर तहसम्म बिए, बिबिएस, बिएड, बिआईसिटीई, एमबिएस र एमएडका कक्षाहरु सञ्चालनमा भैरहेका छन् । ०७६ सालमा विश्वविद्यालय अनुदान आयोगबाट धौलागिरि क्षेत्रमै पहिलोपटक अन्तर्राष्ट्रिय गुणस्तरको मान्यता (क्युएए) प्राप्त गरेको म्याग्दी क्याम्पसले देशैभर करिब १२ वटा क्याम्पसहरुले मात्रै दोस्रोपटक क्युएए पाएकोमा म्याग्दी बहुमुखी क्याम्पस पनि पुनः क्युएए प्राप्त गर्ने दिशामा अगाडि बढेको छ ।












