---Advertisement---

अविरल वर्षासँगै म्याग्दीमा पहिरोले पुरिँदा ६ जनाको मृत्यु, दुई जना बेपत्ता

On: September 28, 2026 11:23 PM
Follow Us:

हरिकृष्ण गौतम
म्याग्दीमा अविरल वर्षासँगै आएको बाढीपहिरोका कारण सोमबारसम्म ७ जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन् । यही असोज ८ देखि ११ गतेसम्मको बर्षाका कारण पहिरोमा पुरिएर जिल्लाको अन्नपूर्ण गाउँपालिका–८ की १९ वर्षीय सबिन चोचाङ्गी,अन्नपूर्ण–३ फगामकी ५४ वर्षीया योगमाया पाईजा र ७५ वर्षीया शिलकुमारी गर्बुजा, अन्नपूर्ण–५ का ७५ बर्षिय ओमबहादुर तिलिजाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ ।

पहिरोले पुरिँदा मालिका गाउँपालिका–३ डाँडागाउँका ३१ वर्षीय चिरण पुन र २८ वर्षीय देवबहादुर पुन तथा अन्नपूर्ण–६ गिबाङका ५ वर्षीया बालिका जेनी पूर्जाको पनि मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी कुल प्रसाद आचार्यले बेनीअनलाइनलाई जानकारी दिनुभयो । पहिरोमा वेपत्ता भएकी बेनी नगरपालिका–३ छेपारेकी कुमारी वली, अन्नपूर्ण–८ का मनोज चोचाङ्गी बेपत्ता रहेकाले खोजी कार्य जारी रहेको सहायक प्रजिअ आचार्यको भनाई छ । बेपत्ता अन्नपूर्ण–५ का ७५ वर्षीय ओमबहादुरको सोमबार शव फेला परेको थियो ।

पहिरोमा परेर मृत्यु भएकाहरुको शव आफन्तको जिम्मा लगाइएको छ । हाल बेपत्ता भएका दुई जनाको स्थानीयवासी, आफन्तजन र प्रहरीबाट खोजीकार्य भैरहेको छ । पहिरोबाट म्याग्दी जिल्लाभर दुई सय घरपरिवार विस्थापित भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म नेपाली सेनाको अर्थुङ्घेमा अवस्थित नेपाली सेनाको गुरु गोरख गुल्मका गुल्मपति राकेश बस्नेतको कमाण्डमा अन्नपूर्ण–५, पाउद्धारबाट १ सय ६ जनाको उद्धार तथा स्थानान्तरण गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गणेश गैरेले राहत, उद्धार तथा बाढीपहिरोका कारण अवरुद्ध बनेको जिल्लाका सडक सञ्चालका लागि निरन्तर प्रयास हुने बताउनुभयो । सोमबार साँझसम्म बेनी–बागलुङ,बेनी–दरवाङ सडकको बेनी–तातोपानी खण्डमा आंशिक रुपमा सञ्चालनमा आएको छ ।जिल्ला सदरमुकाम बेनीमा सञ्चार र विद्युत सेवा सदरमुकाम बाहिर सुचारु गर्न प्राविधिकसहितको टोली खटिएको प्रजिअ गैरको भनाई छ।

म्याग्दीको रघुगंगा, अन्नपूर्ण गाउँपालिका हुदै मुस्ताङको कोरला नाका जोड्ने बेनी-जोमसोम–कोरला सडक सिधा सञ्चालनका लागि आयोजनासँग समन्वय भइरहेको भने क्षति विवरण संकलनका लागि प्रत्येक स्थानीय तहलाई दुई÷दुई जना जनशक्ति माग गर्ने जिल्ला विपद् ब्यवस्थापन समितिको बैठकले निर्णय गरेको प्रजिअ गैरेले बताउनुभयो।

यसैबीच जिल्लाभित्र अनावश्यक रुपमा बस तथा अन्य सवारीसाधनले इन्धन भण्डार गर्न खोजेको अवस्थामा म्याग्दी, मुस्ताङ जोड्ने जिल्ला राष्ट्रिय राजमार्ग तथा ग्रामिण क्षेत्रका सडक मर्मतमा इन्धन अभाव हुन सक्ने देखिएकाले मौजुदा पेट्रोलियम पदार्थको व्यवस्थापन गर्न पेट्रोल पम्पहरुलाई प्रशासनले निर्देशन दिएको छ । आपतकालिन अवस्थामा सञ्चालन हुने सेवालाई मात्रै वितरण गर्न पत्रचार गरिएको छ । मौजुदा पेट्रोलियम पदार्थ सुरक्षा निकाय, सञ्चार, एम्बुलेन्स, अस्पताल तथा सडक अवरोध खुलाउन प्रयोग गरिने सवारी साधनलाई उपलब्ध गराउने र अन्य सवारी साधनहरुको हकमा आवश्यकता अनुसार प्राथमकता अनुसार उपलब्ध गराउने ब्यवस्था मिलाएको छ ।

Leave a Comment