लगातारको वर्षासँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ राम्चेस्थित काफलडाँडा क्षेत्रमा विभिन्न स्थानबाट पहिरो खसेको छ । एक दशकअघि यही क्षेत्रबाट खसेको भीषण पहिरोका कारण बैँसरीमा कालीगण्डकी नदी थुनिएको थियो । अहिले पुनः सोही क्षेत्रबाट पहिरो खस्न थालेपछि स्थानीयवासीमा त्रास बढेको छ ।
२०७२ साल जेठ १० गते काफलडाँडाबाट खसेको पहिरोले कालीगण्डकी नदी १६ घण्टासम्म थुनिनुका साथै बैँसरी बस्ती पुरिएको थियो । लगातारको वर्षाका कारण काफलडाँडा क्षेत्रका विभिन्न स्थानबाट पहिरो खसेको अन्नपूर्ण गाउँपालिका–८ का वडाध्यक्ष खमबहादुर गर्बुजाले जानकारी दिनुभयो । उहाँका अनुसार एक दशकअघि पहिरो खसेको क्षेत्रमा पुनः पहिरो खस्न थालेको हो ।
वडा अध्यक्ष गर्बुजाका अनुसार काफलडाँडाको करबाकेलीदेखि तल शिरबारी क्षेत्रबाट खर्क हुँदै खसेको पहिरो बेनी–जोमसोम सडकखण्डअन्तर्गत बैँसरीस्थित कालीगण्डकी नदीसम्म पुगेको छ । खर्कमा एक–दुई घर भए पनि वर्षायाममा पहिरोको जोखिमका कारण स्थानीयवासी अन्यत्र बस्ने गरेको उहाँले बताउनुभयो । पहिरो खसेको क्षेत्रको अवस्था बुझ्न नजिकका स्थानीयवासीलाई पठाइएको उहाँले जानकारी दिनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले पहिरोको जोखिममा रहेका बैँसरीका दुई घरधुरीलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिनुभयो ।
“बेनी–जोमसोम सडक गलेश्वरदेखि नै पूर्ण रूपमा अवरुद्ध भएकाले तत्काल पहिरोको स्थलगत अवलोकन गर्न जाने अवस्था छैन । पहिरो निकै माथिबाट खसेको देखिएको छ,” उहाँले भन्नुभयो, “तल बैँसरीमा जोखिममा रहेका दुई घरधुरीलाई सुरक्षित स्थानमा सार्न सुरक्षाकर्मी परिचालन गरिसकेका छौँ ।”
स्थानीयवासीबाट प्राप्त जानकारीअनुसार तत्काल ठूलो पहिरो खसेर कालीगण्डकी नदीको बहाव प्रभावित हुने अवस्था नरहेको उहाँले बताउनुभयो ।











