६५औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आज (आइतबार) दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले मुठ्ठीदान सहयोग गरेको छ । ‘मर्यादित व्यवसाय र प्रविधिमा सहकारी’ भन्ने मूल नारासहित दिवसको अवसर पारेर विपन्न र उपचाररत महिलालाई मुठ्ठीदानमार्फत सङ्कलित रकम हस्तान्तरण गरिएको हो ।

युएनडिपीको आर्थिक सहयोगमा संगम म्याग्दीद्वारा सञ्चालित प्रयास परियोजनामार्फत बेनी नगरपालिकाका अति विपन्न १० जना महिलाहरुलाई स्वास्थ्य बिमा वापतको रकम सहयोग गरिएको दिदीबहिनी सहकारीले जनाएको छ । स्वास्थ्य बिमावापतको रकम पाउनेहरुमा बेनी नगरपालिकाभित्रका विपन्न महिलाहरु उमादेवी किसान, माया सार्की, सुन्तली दमाई, शान्ति किसान, सुनमाया किसान, सुकमाया किसान, विस सार्की, अस्मिता पुन, बालकुमारी कामी र तिलकुमारी कार्की रहेका छन् ।

उनीहरुलाई स्वास्थ्य उपचारमा सघाउनका लागि बिमावापत प्रतिव्यक्ति तीनहजार पाँचसय रुपैयाँका दरले ३५ हजार रुपैयाँ आर्थिक सहयोग गरिएको सहकारीका अध्यक्ष ज्योती लामिछानेले बताउनुभयो । एक वर्षका लागि स्वास्थ्य बिमावापतको उक्त रकम सहकारीका अध्यक्ष लामिछाने र जिल्ला सहकारी संघ म्याग्दीका अध्यक्ष प्रेमबहादुर कार्कीले प्रयास परियोजनाको सामाजिक परिचालक बुद्धिमाया विकलाई हस्तान्तरण गर्नुभएको थियो ।

सोही अवसरमा बेनपा–१, रत्नेचौर निवासी क्यान्सरपीडित सेती विक र बेनपा–९, घतान निवासी गौमती विकलाई पनि उपचारका लागि जनही पाँचहजार पाँचसय ५५ रुपैयाँको दरले आर्थिक सहयोग हस्तान्तरण गरिएको सहकारीका अध्यक्ष लामिछानेले बताउनुभयो । सहकारीमा आबद्ध दिदीबहिनीहरुको सहयोगमा स्थापित मुठ्ठीदान अभियानबाट सङ्कलन गरिएको रकमले सानो भए पनि महिलाहरुलाई उपचारमा राहत मिलोस् भन्ने उद्देश्यसहित आर्थिक सहयोग हस्तान्तरण गरिएको उहाँको भनाइ छ ।

मुठ्ठीदान अभियानमार्फत सङ्कलित उक्त सहयोग रकम हस्तान्तरण कार्यक्रममा सहकारीका उपाध्यक्ष विष्णु गौतम सापकोटा, सचिव सुगम श्रेष्ठ, कोषाध्यक्ष जगतकुमारी बानियाँ खत्रीसहित सञ्चालक समितिका पदाधिकारी र कर्मचारीको उपस्थिति रहेको थियो । महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित दिदीबहिनी सहकारीले सामाजिक कार्यका रुपमा मुठ्ठीदान अभियानलाई निरन्तर रुपमा सञ्चालन गर्दै आइरहेको छ ।

Leave a Reply