नेपाल छन्त्याल संघको ७ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षका पुनः मनमोहन बुढाथोकी छन्त्याल निर्वाचित हुनुभएको छ । म्याग्दी सदरमुकाम बेनीमा आइतबार सम्पन्न भएको मतदानबाट छन्त्यालले २ सय ४ मत प्राप्त गर्नुभएको छ भने अध्यक्षका अर्का प्रत्यासी गजेन्द्र छन्त्याललाई १ सय १२ प्राप्त गर्नुभएको निर्वाचन समितिका संयोजक चित्र घरब्जा छन्त्यालले बताउनुभयो । महाधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा मनमोहन प्यानलबाटै मनमायाँ छन्त्याल १ सय ८५ प्राप्त गरी निर्वाचित हुनुभएको छ ।

महाधिवेशनमा अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष र तीन खुल्ला सदस्यहरु मतदान भएकोमा श्याम पाल्ताङे छन्त्याल, नरेन्द्र कुमार छन्त्याल र घनसा छन्त्याल विजय हुनुभएको छ । कुल खसेको मतमध्ये १० मत बदर भएको थियो । महाधिवेशनमा महासचिवमा कृष्ण पुराने छन्त्याल सहित अन्य पदाधिकारीमा निर्विरोध चयन भएका छन् । अध्यक्षमा निर्वाचित मनमोहन बुढाथोकी छन्त्यालले आफ्नो अधिल्लो कार्यकालमा अधुरा रहेका केही योजनाहरु पुरा गर्ने बताउनुभएको छ । ‘यो थप जिम्मेबारीलाई सफलतापूर्वक सम्पन्न गर्नेछु,‘मैले थप केही योजना सहित आउने प्रतिबद्धता जनाउँछु’ अध्यक्ष छन्त्यालले भन्नुभयो ।

महाधिवेशनले आगामी कार्यकालको लागि अध्यक्ष ,वरिष्ठ उपाध्यक्ष, पाँच उपाध्यक्ष ,महासचिव र उपमहासचिव एक÷एक ,सचिव एक ,कोषाध्यक्ष एक ,सह–कोषाध्यक्ष एक लगायत ३२ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेपछि आइतबार नै सपथग्रहण लगत्तै पहिलो बैठक बस्ने अध्यक्ष छन्त्यालको भनाई छ । ‘अस्थित्व, मौलिक पहिचान र अधिकारको लागि हाम्रो आन्दोलन।’ ऐतिहासिक छन्त्याल स्वायत्त क्षेत्रको पक्षमा सातौ राष्ट्रिय महाधिवेशन भन्ने मुल नाराका साथ आयोजित महाधिवेशनको बन्द सत्रमा विभिन्न ११ जिल्लाबाट प्रतिनिधि आएका थिए ।

बागलुङ र म्याग्दी जिल्लाका क्षेत्र÷इलाकाहरू मूल थातथलो भएता पनि सन् २०११ को जनगणनाअनुसार छन्त्यालहरू ४३ जिल्लाहरूमा रहेको देखिन्छ। छन्त्याल जातिको आफ्नो छुट्टै मौलिक संस्कृति, भाषा, धर्म, परम्परा, चालचलन, रीतिरिवाज, जीवनपद्धति र प्रथा रहेकाले प्राचिनकालको महत्वका बारेमा नयाँ पुस्तालाई जानकारी गराउने गरी थप नयाँ योजना बनाउने समेत संघले जनाएको छ । छन्त्याल जातिमा १२ थरहरू रहेका छन्ःखड्का, घर्ती, घरब्जा, घ्याप्चन, झिङ्राजा, डाँडामारे, तथप्जा, पुराने, पोत्लाङ्गे, बुढाथोकी, भलञ्जा र सिङ्ग रहेका छन्।छन्त्याल भाषा भोट–बर्मेली परिवारमा पर्दछ।

Leave a Reply