पोखराको हेमजास्थित विष्णुपादुका माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न अल नेपाल इन्टर स्कुल यू-१८ फुटबल टुर्नामेन्टमा म्याग्दीको न्यू वेष्ट प्वाइन्ट माध्यमिक विद्यालय, बेनीको छात्रा टोली च्याम्पियन बनेको छ । आइतबार सम्पन्न भएको फाइनलमा सरस्वती माध्यमिक विद्यालय, पोखरासँग निर्धारित समयमा १-१ गोलको बराबरी भएपछि ट्राइब्रेकरमा ३-२ गोलले विजयी हुँदै वेष्ट प्वाइन्टले उपाधि जितेको हो ।
वेष्ट प्वाइन्टका लागि रोशिका घर्तीले निर्धारित खेलमा एक गोल गर्दै टोलीलाई बराबरीमा फर्काउन महत्वपूर्ण योगदान दिएकी थिइन्। ट्राइब्रेकरमा उत्कृष्ट प्रदर्शन गर्दै बेनीको टोलीले उपाधि आफ्नो पक्षमा पार्न सफल भएको थियो ।
प्रतियोगितामा उपाधिसँगै वेष्ट प्वाइन्टको छात्रा टोलीले बेनीको विद्यालय तथा जिल्लाको नाम खेलकुदमार्फत राष्ट्रियस्तरमा चिनाउन सफल भएको विद्यालयका खेल शिक्षक दिपेन राईले बताउनुभयो । म्याग्दीमा छात्रा फुटबलमा न्यू वेष्ट प्वाइन्टले बचस्व कायम गर्ने गरेको छ । जिल्लास्तरीय छात्रा फुटबलमा समेत उत्कृष्ट रहेको विद्यालयका विद्यार्थीले प्रदेशस्तरीय खेलमा समेत सहभागि हुने गरेका थिए ।













