म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुदाँ मत बदरको जोखिम उच्च हुन थालेपछि टोल–टोलमा दलका उम्मेदवारहरू मतदातालाई शिक्षा सिकाउन व्यस्त छन् । नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन भएका पालिकामा झनै मत बदरको जोखिम तथा निरक्षर मतदाता अलमलमा पर्ने भएकाले उम्मेदवार तथा दलका कार्यकर्ताहरू नै मतदाता शिक्षा कार्यक्रममा सक्रिय हुन थालेपछि तहलपहल सुरू भएको छ ।

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम नगर्दा अन्यौलमा रहेका मतदातालाई मतदान गर्ने तरिका सिकाउन उम्मेदवारहरु आँफै कस्सिएको दलका कार्यकर्ताको भनाई छ । स्थानीय तहमा प्रमुखका उम्मेदवार नै मतदातालाई कसरी मत हाल्ने भन्दै सिकाउनुपर्ने बाध्यतामा रहेका छन भने कार्यकर्तालाई मतदाता शिक्षाका लागि समेत परिचालन गरेको छन्।

घरदैलो अभियान सकेका उम्मेदवारहरु मतदातालाई प्रत्यक्ष भेटेर मदतान गर्ने तरिका सिकाउनै व्यस्त बनेको नेकपा माओवादी केन्द्र बेनी नगरपालिकाकी उपमेयरकी उम्मेदवार ज्योती लामिछानेले बताईन् । ‘आफ्नो मत बदर नहोस् भनेर मतदाताको घरघरै पुगेर सिकाइरहेका छौ,‘गठबन्धन भएकाले परिचालनमा सहज भएको छ’ लामिछानले भनिन् ।

वडाका उम्मेदवारहरूले समेत चुनाव चिन्हमा स्वस्तिक छाप लगाउन र मतपत्र पट्याउन सिकाइरहेका छन् ।नमूना मतपत्रमा स्वस्तिक छाप लगाएर नै उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई मतदान गर्न सिकाइरहेको भएपनि समय अभावका कारण निकै दौडधुप छ ।

बेनी नगरपालिका–५, का वडा अध्यक्षका उम्मेदवार यामबहादुर बानियाँले मतदाता पट्याउने मात्रै होइन मतपत्र पट्याउने तरिका पनि सिकाइरहेको बताए । भोट कसरी हाल्ने,मतपत्र कसरी पट्याउने, सदर र बदर कस्तो अवस्थामा हुन्छ भन्ने विषयमा मतदातालाई शिक्षा सिकाउन गठबन्धनका उम्मेदवारलाई अझै चुनौती बनेको छ। यसपटक उम्मेदवारले मतदाता शिक्षालाई धेरै चासो दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान गर्ने कार्य भएपनि समुदायमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने अवस्था नभएको निर्वाचन अधिकृत भिमप्रसाद घिमिरेले बताए । ‘मतदाता शिक्षाका लागि सबैको चासो आवश्यक छ,‘सरकारी संयन्त्रबाट मात्रै शिक्षा दिन सम्भव छैन’ उनले भने ।

Leave a Reply