---Advertisement---

प्रतिकूल मौसमपछि धौलागिरि आरोहण टोली फर्कियो

On: September 25, 2026 11:17 AM
Follow Us:

प्रतिकुल मौसमका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि हिमाल आरोहणका लागि आधार शिविर पुगेको ३० जना पर्वतारोही टोली फर्किएको छ । संसारको सातौँ अग्लो (८,१६७ मिटर) धवलागिरि हिमाल आरोहणका लागि आएको टोली भारी हिमपातका कारण इटली आधार शिविरतर्फ फर्किएको हो ।


आरोहण टोलीको समन्वय गरिरहेका म्याग्दीका पर्यटनकर्मी इन्द्रसिङ शेरचनले असोज ९ देखि ११ गतेसम्म भीषण वर्षा हुने पूर्वसूचना र प्रतिकूल मौसमका कारण हुनसक्ने जोखिमलाई ध्यानमा राखेर टोली सुरक्षित स्थानतर्फ फर्किएको बताउनुभयो । लगातार चारदिनपछि मौसम सफा भएमा आरोहणलाई निरन्तरता दिने निर्णय गर्दै तल्लो क्षेत्रमा रहेको इटली आधार शिविरमा सुरक्षित साथ झरेका भने भने केही पर्वतारोही भने हेलिकप्टरबाट पोखरा पुगेको शेरचनले बताउनुभयो ।


‘सेभेन समिट’, ‘एठ के’र ‘फोरटिन पिक्स’ ट्रेकिङ कम्पनीमार्फत गत शनिबार पर्वतारोही टोली धवलागिरि आधार शिविर पुगेको थियो । मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बिहीबारदेखि आइतबारसम्म भारी वर्षाका कारण म्याग्दीलाई जोखिमयुक्त क्षेत्रका रूपमा पहिचान गरेका छन् ।चालु शरदयाममा धवलागिरि आरोहणका लागि पर्यटन विभागबाट चार समूहका १० महिलासहित ३४ जनाले अनुमति लिएका छन् । उनीहरूबाट ७७ लाख ८२ हजार ४५० रुपैयाँ सलामी दस्तुर प्राप्त भएको विभागका शाखा अधिकृत सुधा रेग्मीले जारी गरेको सूचनामा उल्लेख छ ।


विभागको अभिलेखअनुसार गत वसन्तयाममा तीन समूहका १२ महिला र १६ पुरुष तथा २०८२ को शरदयाममा ३६ जनाले धवलागिरि आरोहणका लागि अनुमति लिएका थिए । सन् १९६० मे १३ मा अस्ट्रियाका कुर्ट डिम्बर्गरले पहिलोपटक धवलागिरिको सफल आरोहण गरेका थिए । डिम्बर्गरसहित पिटर डियनर, एन्स्ट फोरर, एल्बिन सेल्वर्ट, निमा दोर्जे शेर्पा र नवाङ दोर्जे शेर्पा पहिलोपटक धवलागिरिको चुचुरोमा पुगेका थिए । म्याग्दीको धौलागिरी र अन्नपूर्ण हिमालको आरोहणका लागि बिदेशी पर्वतारोही आउने गरेका छन् ।

Leave a Comment