शुक्रबार हुन लागेको स्थानीय तह चुनावका लागि सबै तयारी अन्तिम चरणमा पुगेको छ । मतदानस्थलमा पुगेका कर्मचारी र सुरक्षाकर्मीले बुधबार सर्वदलीय बैठक गर्नाका साथै मतदानस्थल निर्माण गर्न थालेका छन् । मुख्य निर्वाचन अधिकारी भीमप्रसाद घिमिरेले मतदानस्थलबाट मतदाता परिचयपत्र वितरण गर्न थालिएको जानकारी दिए ।

“जिल्लाभरको मतदानस्थलमा चुनावको तयारी पूरा भएको छ”, उहाँले भने “आजसम्म मतदाता परिचयपत्र वितरण र मतदान केन्द्र (बुथ) बनाउने योजना छ ।” मतदानस्थलमा स्वयंसेवक परिचालन गरेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरिएको छ । पछिल्लो पाँच वर्षको अवधिमा १३ हजार ९१२ मतदाता थपिएका छन् । थपिएका र मतदानस्थल परिवर्तन गरेका मतदाताका लागि नयाँ परिचयपत्र वितरण गर्न थालिएको छ ।

विसं २०७४ को स्थानीय तहको चुनावमा ७१ हजार ४६३ मतदाता रहेकामा अहिले जिल्लामा कूल मतदाताको सङ्ख्या ८५ हजार ३७५ पुगेको छ । तीमध्ये एकचालीस हजार ४१४ पुरुष, ४३ हजार ९६० महिला र एक तेस्रोलिङ्गी छन् । सचतालिस मतदानस्थलका ११४ मतदान केन्द्रमा मङ्गलबार नै कर्मचारी र सुरक्षाकर्मी पुगेर तयारी थालेका मुख्य निर्वाचन अधिकृत पौडेलले बताउनुभयो । मतदानका लागि आवश्यक मतपत्र, मतपेटिका, मतदाता नामावलीलगायत सबै ६१ किसिमका सामग्री लिएर मतदान केन्द्रमा पुगेका छन् । चुनावका लागि म्याग्दीमा कूल दुई हजार २५ कर्मचारी र सुरक्षाकर्मी परिचालन गरिएको छ ।

मतदान केन्द्रमा ५६१ कर्मचारी र एक हजार ४६६ सुरक्षाकर्मी परिचालन भएका हुन् । एकसय चौध मतदान अधिकृत, ११४ सहायक मतदान अधिकृत, २२८ सहायक कर्मचारी, ११४ सहयोगी कर्मचारी गरी जिल्लाभर ५६१ जना कर्मचारी परिचालन भएका छन् । निर्वाचनमा ६१८ म्यादी प्रहरी, ३८० नेपाल प्रहरी, २०६ सशस्त्र प्रहरी, २६२ नेपाली सेना परिचालन भएका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए ।

सुरक्षा र अन्य ब्यवस्थापकीय तयारीलाई चुस्त पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले जानकारी दिए । मतदान र मतदानअघि तथा मतगणनासम्मका लागि तयार पारिएको सुरक्षा रणनीति कार्यान्वयन गरिएको छ । छवटा स्थानीय तह र ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । रासस

 

Leave a Reply