म्याग्दीको मंगला गाउँपालिका–३ मा रहेको ऐतिहाँसिक चिनाकोत दरबार क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माण भएको छ । गण्डकी प्रदेश सरकार, मंगला गाउँपालिका, चिनाकोत आमा समुह र देउराली सामुदायिक वन उपभोक्ता समूहको रु. ५० लाख भन्दा बढी लगानीमा पूर्वाधार निर्माण भएको हो ।
चिनाकोत संरक्षण तथा ब्यवस्थापन समितिका सचिव प्रकाश पुनले आर्थिक वर्ष २०७६÷०७७ देखि २०८२÷०८३ सम्म चिनाकोतको पर्यटन पूर्वाधार निर्माणमा प्रदेश सरकारबाट रु. ४० लाख, मंगला गाउँपालिकाबाट रु. आठ लाख र आमा समूहको रु. दुई लाख लगानी भएको बताउनुभयो ।
“एक किलोमिटर भन्दा बढी पक्की र करिब दुई किलोमिटर कच्चि पदमार्ग तथा सडक, दृष्य अवलोकन स्थल र आश्रयस्थल निर्माण भएको छ,” उहाँले भन्नुभयो “बरंजा गाउँदेखि चिनाकोट सम्म बिद्युत विस्तारमा देउराली सामुदायिक वन उपभोक्ता समूह तथा योजना कार्यान्वयनमा बिनियोजन भएको कुल बजेटको १० प्रतिशत स्थानीयबासीहरुले श्रमदान गरेका छौ ।” खानेपानीको पनि ब्यवस्था गरिएको छ ।
वि.स. २०७५ अघिसम्म सुनसान चिनाकोटमा पूर्वाधार निर्माण भएपछि पछिल्लो समय आन्तरिक पर्यटकहरु आउन थालेका देउराली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष टेकबहादुर छन्त्यालले बताउनुभयो । “संघीयताअघिसम्म एउटा टहरा मात्र रहेको चिनाकोटमा प्रदेश र स्थानीय तह मार्फत सुरक्षित रुपमा पुग्न सकिने पदमार्ग बनेपछि पाहुनाहरु आउन थालेका हुन्,” उहाँले भन्नुभयो “पहाडको टाकुरामा रहेको चिनाकोटमा सुरक्षाका लागि वरपर घेराबार र पुरातात्विक महत्वका सामग्रीको संरक्षणको आवश्यकता छ ।”
समुन्द्रि सतहदेखि दुई हजार दुई सय मिटर उचाईमा रहेको चिनाकोट देखि सुर्योदयको साथै अन्नपूर्ण, धौलागिरि, गुर्जा र माछापुच्छ्रे हिमशृङखलाको अवलोकन गर्न सकिन्छ ।
मंगला गाउँपालिकाको ३ र ४ नम्बर वडामा समेटिएको बरंजाको शिरमा रहेको चिनाकोट देखि म्याग्दीको पश्चिमी भेगका ग्रामिण बस्तिहरु, पहाडी भूगोल, नागबेली परेर बगेको म्याग्दी नदी अवलोकन गर्न सकिन्छ । बरंजाका अगुवा रणबहादुर रोकाका अनुसार भुरे टाकुरे राजाका पालामा चिनाकोटमा बरंजी राजाको दरबार रहेको किम्बदन्ति छ ।
“दरवारको पर्खालको भग्नाअवशेस, खाद्यान्न पिस्नका लागि प्रयोग हुने जातो लगायतका ऐतिहाँसिक बस्तुहरु अझै चिनाकोटमा छन्,” उहाँले भन्नुभयो “रानीको कपाल कोर्ने ढुंगा, बेहुला, बेहुली नाम गरेका ढुंगाहरु पनि अवलोकन गर्न सकिन्छ ।”
चिनाकोतको फेदीमा रहेको थर्पुगाउँको दरबारमा खुडा, तरबार, ढाल लगायत परम्परागत युद्धमा प्रयोग हुने हात हतियार छन् । मंगला गाउँपालिका–३ का कार्यबाहक वडा अध्यक्ष भेषकुमारी पुनले बर्खा याम बाहेकको समयमा बिदा मनाउनका लागि क्याम्पीङ गर्नका लागि यहाँ पाहुनाहरु आउने गरेका छन् । बस्ति देखि टाढा र एकान्त वातावरणमा रहेको चिनाकोतमा बनभोज खान आउनेहरुका लागि भाडाबर्तनको पनि ब्यवस्था मिलाइएको छ ।
चिनाकोत नजिकै रहेको घारसुन्ने डाडामा दृष्य अवलोकन स्थल बनाइएको छ । पहाडको टाकुरामा रहेको गोलो आकारको ढुंगामा वरपर घेराबार बनाएर त्यहाँसम्म पुग्ने पदमार्ग बनाइएको छ । म्याग्दीको सदरमुकाम बेनी बजारदेखि तातोपानी बरंजा हुदै गाडीमा एक घण्टाको यात्रापछि चिनाकोत पुगिन्छ । बरंजा देखि पैदलयात्रा गरेर चिनाकोत पुग्न दुई घण्टा लाग्छ । होटल तथा रेष्टुरेन्ट नभएकाले खाने सामग्रीहरु पाहुना आफैले ब्यवस्थापन गर्नुपर्छ ।
उक्त पर्यटकीय पूर्वाधारहरुको म्याग्दी १(ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली (सुविन)ले बुधबार उद्घाटन गर्नुभयो । उहाँले चिनाकोतको साथै झाँक्रीपानी र गम्फाधुरी लगायत बरंजाका पर्यटकीय स्थलमा पूर्वाधार निर्माणमा प्रदेश सरकारले लगानी गरिरहेको बताउनुभयो । पूर्वाधारको उपभोग गरि पर्यटक भित्र्याएर आयआर्जन, रोजगारी सिर्जना र आत्मनिर्भरता तर्फ अग्रसर हुन स्थानीयबासीलाई आग्रह गर्नुभयो ।
बरंजाका बासिन्दा समेत रहनुभएका संविधानसभा सदस्य गमबहादुर श्रीस, मंगला गाउँपालकाका उपाध्यक्ष पे्रमकुमारी क्षेत्री र मंगला–४ का वडा अध्यक्ष लालबहादुर रोकाले ऐतिहाँसिक स्थल, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण, प्रर्वद्धन र विकास मार्फत सम्बृद्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो ।








